चित्रीपाटनः विचित्र देशाटन (भाग-४)
मगा बेसक्याम्पबाट टेकअफको तयारी
अबको हाम्रो यात्रा झन्डै ४००० मिटरको उचाइको आरोह-अवरोह गर्दै चित्रीपाटनको दृश्यावलोकन गरेर समाप्त हुनेवाला छ । यो यात्रा अनिश्चित, सनसनीपूर्ण मात्र होइन, जोखिमपूर्ण हुने पनि सम्भावना छ ।
हामी बासको लागि मगास्थित रुपे भण्डारीको घरभित्र छिरिसकेका थियौँ । आजको एक दिनको एकछिनको हिँडाइले नै पाइताला भब्बाउन थालिसकेका थिए । पिँडौला र पिठ्यूँ कताकता चसकचसक गरिरहेको थियो । उकालोमा पसिनाको धारो छुटेकोले जिउका कपडाहरू जम्मै भिजेका थिए । गाउँमा चिसो सिरेठो चलिरहेकोले जिउ कठ्याङ्ग्रिएर मुटुमै जाडो घुस्ने बल गर्दै थियो । जाडो धपाउने एक मात्र उपाय अगेनामै पुगेर आगो ताप्नु थियो । अतः भान्छाघरतिर लाग्यौँ ।
हामी बास बसेको घरको छेउमा टिनले बारेर भान्छा बनाइएको थियो । भान्छाबाट आगो कम र धुवाँको मुस्लो बढी निस्किरहेको थियो । धुवाँले बसिखान नदिए पनि हामी आँखाबाट र नाकबाट पानी चुहाउँदै अगेनाको वरिपरि बसेर जिउ सेकाउन थाल्यौँ । अति थकान र भोकले लेकाली खाना निकै स्वादिष्ट हुन पुग्यो । रुपेका ससुराबुहारीले खाना पकाउन गरेको मेहनत यसै सराहनीय छँदै थियो, हामीउपर देखाएको आतिथ्यता जति न्यानो थिए उति नै हामीलाई उपलब्ध गराइएका ओढ्ने र ओछ्यानसमेत न्याना थिए । हामी चारैजनालाई भुइँमै बिछ्यौना लगाइएको थियो र लहरै लागेर ढलिसकेका थियौँ । निद्राले हामीलाई च्याप्ने अत्यन्तै अनुकुल वातावरण भए पनि भोलि हुने यात्राको कौतुहलताले हाम्रा परेलीहरू झप्किन मानेका थिएनन् ।
हाम्रो लेक आरोहरणको आधारभूमि अर्थात बेसक्याम्प नै यही घर भयो । सन्निकट शिखर आरोहणको लागि गर्नुपर्ने पूर्वतयारी ढलीढली गर्न थाल्यौँ ।
गोठालाहरूबाहेक अरुले हम्मेसी पाइला नचाल्ने जङ्गली भूभाग र त्योभन्दा माथिको नाङ्गो पाटनमा न कतै स्पष्ट देखिने पदमार्ग हुने सम्भावना थियो, न तिर्खा लाग्दा पानीको व्यवस्था वा भोक लाग्दा भोजन । ती अत्यावश्यकीय कुराहरूको विकल्प निद्रा नलाग्दै सोचिसक्नुपर्ने थियो ।
पहिलो कुरा त आरोहीको आँट नै अटल हुनुपर्ने थियो । जिउ स्वस्थ हुनुपर्थ्यो । जिउ तन्नेरी हुँदैमा लेक चढिँदैन, तन्नेरी जोस हुनु आवश्यक थियो ।
हामी चारैजना ५० वर्ष कटिसकेका युवा यात्री हौँ । उमेर र आँटमा सामञ्जस्यता भएकैले यहाँसम्म आइपुगेका छौँ ।
यो यात्राका सबैभन्दा जेष्ठ सदस्य छन् एक्कबहादुर केसी । उनी ६९ वर्षको उमेर टेकिसकेका लक्का जवान यात्री हुन् ।
प्रायःजसो ६८/६९ वर्ष पार गरिसकेका व्यक्तिहरूले आफूले आफैलाई वृद्ध घोषणा गर्छन् र हातगोडा छोडेर बिछ्यौनामा लम्पसार पर्छन् । परिवारजनबाट छिछि र दुरदुरको पात्र बन्दै असामयिक काल पर्खिरहेका हुन्छन् । ‘ए, काल छिटो आइज !’ भनी जति प्रार्थना गरे पनि कालले समेत पटकपटक जिस्क्याएर भागिरहेको हुन्छ । यस्तो अवस्थामा ती मनका वृद्धहरूले बिताउने प्रत्येक पल निकै कठिन, पीडादायी र अत्यासलाग्दा हुन्छन् ।
झन्डै त्यही उमेरका एक्कबहादुर केसी यो हिमाली यात्रामा जोसजाँगरका साथ आइपुगेका छन् । यस अर्थमा एक्कबहादुर साँच्चिकै लक्का जवान यात्री हुन् र एक बहादुर हुन् । उनको जोस देखेर नजिक परेको काल समेत सुइँकुच्चा ठोकेर भाग्दछ । उनको यस्तो आँट र काँट हुनुमा निरन्तर यस्तै यात्रामा सहभागी भइरहनु पनि हो । जर तनलाई अजर मनको काबुमा राख्नसके सधैँ युवा भइरहन सकिन्छ भन्ने एक उदाहरण एक्कबहादुर केसी हुन् । तर उनी ३००० मिटरभन्दा माथि नउक्लिएकोले उनको लागि यो यात्रा नयाँ उचाइको हो ।
एक्कबहादुर पछि उमेरले जेठो मै छु । छपन्नवटा भोटा च्यातिसकेको तन्नेरी ज्यान हो यो । यो ज्यानलाई कपडाको मुलायम बिछ्यौनामा होइन, उच्च शिखरको काँडेदार हिमभुवाको बिछ्यौनामा लेटेर अन्तिम सास फेर्ने उत्कट इच्छा छ । यो इच्छाको सामु मेरो परिवार कायल छ । इच्छा उम्रनासाथ जुनसुकै बन्धन पनि तोडेर म सुइँकुच्चा ठोकिहाल्छु र म अहिले यो यात्रामा जोसजाँगरका साथ सामेल भएको छु । तर यो उचाइ मेरोलागि नयाँ होइन । मैले ४००० मिटरमाथिका चारवटा लेक चढिसकेको छु र ४८०० मिटरको उचाइसँग तादात्म्यता कायम गरिसकेको छु । तथापि अरू तीनैजना यात्रीका लामा लामा खुट्टाहरू छन् उनीहरूले दुई पाइला हिँड्दा मैले तीन पाइला हिड्नुपर्ने हुन्छ । यस हिसाबले उनीहरूले ४००० मिटरको उचाइ पार गर्नु भनेको मैले ६००० मिटरको उचाइ पार गर्नु बराबर हो । तर पनि म पटक्कै लघुताभाष छैन ।
मपछि तीन/चार वर्षले पछि छन् मनलाल । उनी युवा मनका धनी हुँदै हुन् तनका पनि धनी नै छन् । स्वस्थ शरीर, लामालामा हातखुट्टा । उनी लेकाली भूभागमै खाइखेली आएका मृगशावक पनि हुन् । साहित्यिक कार्यक्रम चलाउने नाममा उनी हप्ताहप्तामा लेकबेँशी कुँदिरहेको हुँदा उनलाई उकाली र ओरालीमा खासै भिन्नता हुँदैन । उनले यो उमेरसम्म हजारौँ माइलको दुरीको यात्रा सम्पन्न गरिसकेका छन् तथापि उनी पनि ३००० मिटरभन्दा माथिको लेक चढेका छैनन् । तसर्थ यो यात्राको उचाइ उनको लागि नयाँ नै हो ।
सबैभन्दा कान्छा खगेश्वर भण्डारी ठहरिएका छन् । घर दाङ भए पनि जागिरको सिलसिलामा मुसीकोटमा छन् । रुकुमवासीले एउटै लेक पनि चढ्ने जाँगर नगरेको परिप्रेक्ष्यमा उनी रुकुमका जम्मै शिखर चढ्ने ध्याउन्नमा छन् र रुकुमका स्याँला, खदी, काँडेदहलगायत यहाँका ३५०० मिटरमाथिसम्म पुगिसकेका छन् । उनको लागि पनि यो यात्राको उचाइ नयाँ नै हो ।
सबै यात्रा सरल सहज र सोचेको जस्तो मात्र नहुन सक्छ । जस्तो आइपर्यो त्यसको सामना गर्नुको विकल्प छैन । त्यो कुरामा हामी सबै पूर्ण जानकार छौँ । यात्रामा केही दुर्घटना पो होला कि भनी डराउनेहरूले यात्रा नै थाल्न सक्दैनन् । तिनीहरू नै अकाल मृत्युका चारो हुन्छन् ।
लेकाली यात्राको लागि दोस्रो कुरा होः लुगा । एकएक जोर ताता लुगाहरू सबैसंग छन् । मेरो हकमा लुगाकै कमजोरीहरू देखिए । चिसोमा कान छोप्नको लागि ल्याएको ऊनीटोपी घरमै छुटेछ । लेक चढ्दा लगाउने बलिया र बाक्ला जुत्ता काठमाडौँमै छुटेछन् । एकजोर पुराना जुत्ताको भरमा आइपुगेको छु । पातलो कमिज त्यसमाथि पातलो स्वेटर र जाकेट पनि पातलो नै छ । शरीर चलुन्जेल त शरीरले आवश्यक पर्ने ताप आफै निकालिहाल्छ । तर बास बस्नु परेमा वा मौसम परिवर्तन भई कतै आश्रय लिनुपर्ने अवस्थामा यी लुगा पर्याप्त होइनन् ।
एक्कबहादुर र खगेश्वरजी सुटपाइन्टमा आइपुगेर सुटपाइन्टमै ओछ्यानमा ढल्नुभएको छ । जाकेट त हामीसँग पनि छ भन्नुहुन्छ तर झिक्नुभएको छैन । मनलालले इष्टकोटको भरमा हुनुहुन्छ । खगेश्वरजीले त छालाकै जुत्तासँगै आइपुग्नुभएको रहेछ ।
बाटोमा आवश्यक पर्ने जुस, चिउरा चाउचाउ आदि बाँकी नै छ । भोलि बिहान ४ बजे नै उठेर घरबेटी बुहारीले रोटी पकाइदिने र बाटोमा खाने अर्नीपर्नीको व्यवस्था गरिदिने समेत आश्वासन पाइसकेका छौँ । पानी मगाबाटै बोकेर जति पनि लान सकिन्छ । टेक्ने लठ्ठी जङ्गलमा जति पनि पाइन्छन् । प्राथमिक उपचारको सबै सामग्री बोकेको छु भन्नुभएको छ खगेश्वरजीले ।
फेरि पनि समस्या मसँगै थियो । मेरो मोबाइलको ब्याट्री सकिएकोले दिउँसैदेखि मोबाइल स्विचअफ भइसकेको थियो । पुनः चार्ज गर्नको लागि मगाको गाउँमा बिजुलीबत्ती थिएन । आफू कहाँसम्म आइपुगेँ भन्ने जानकारी काठमाडौँस्थित परिवारलाई पनि दिइरहनुपर्ने भएकोले मनलाल र एक्कबहादुरको मोबाइलबाट काम चलाइरहेको थिएँ । तर यात्रा गर्नु त यसै मनोरञ्जनपूर्ण काम हो, त्यसको फोटो र भिडियो लिएर यात्राको संस्मरणलाई चिरस्थायी तुल्याउनु अझ महत्त्वपूर्ण काम हुन्थ्यो । मोबाइल स्विचअफ भैसकेको र छुट्टै क्यामेरासमेत नबोकेको हुँदा मनलागी फोटो/भिडियो खिच्न नपाइने भयो भन्ने खिन्नतालाई बलजफ्ती दबाइरहेको छु ।
यहाँ आइपुग्दासम्म चित्रीपाटनको बारेमा अनुमानका भरमा भनिने कुराहरू मात्र सुन्दै आएका थियौँ र पत्याउँदै आएका थियौँ । जस्तो कि अधिकांशले तल्लुबगरबाट वा गोतामकोटबाट सिधै माथि देखिने लेक नै चित्रीपाटन हो भनिदिन्थे । यहाँ आइपुगेपछि मात्र तलबाट देखिने त्यो लेक चित्रीपाटनको काँध मात्र हो । चित्रीपाटनको शिरभाग त अझ निकै अग्लो छ भन्ने जानकारीमा आयो । चित्रीपाटन साँच्चिकै देखेका, टेकेका र भोगेका व्यक्ति, रुपे भण्डारी, जो हरेक वर्ष चित्रीपाटनमा भैँसी चराउन जाने गोठाला हुन्, उनकै मुखबाट सत्य-तथ्य कुराहरू सुन्न पाएका थियौँ ।
बेलुकाको खानापछि उनले चित्रीपाटनको बेलिबिस्तार लगाउन थाले: ‘हामी त एकघण्टामा तल्लुबगरबाट मगा आइपुग्छौँ । अढाइ घण्टामै चित्रीपाटन पुग्दछौँ । तपाईँहरूलाई बढी लागे पाँचै घण्टा लाग्ने हो । दिउँसो चित्रीपाटनमा घुमफिर गरेर भरे ५/६ बजे नै घरमा फर्किसक्नेछौँ ।’
उनले सम्भावित जोखिमको पनि बेलिबिस्तार लगाए । चित्रीपाटनभन्दा तलको जङ्गलमा हेर्दाहेर्दै एउटा भालुले गोठालाको हाडमासु लुछेको, हारगुहार गर्दागर्दै बाघले साथीलाई घाँटीमा च्यापेर लगेको, हरेक वर्ष भिरमा चिप्लिएर भैँसी र गुवाला मर्ने गरेको तर निकाल्नै नसकिएको, यार्चा खोज्न जाँदा हिउँमा चिप्लिएर मान्छेहरू मरेको आदि घटनाहरू सुनाउँदा जिउमा काँडा उमारिदिन्थे । ‘यो गाउँभन्दा माथि न त कतै बासस्थान भेटिन्छ, न ओत, न यथेष्ट पानी । कहिल्यै लेक नचढेकोलाई लेक लाग्न पनि सक्छ ।’ हामीले व्यग्रताका साथ उनका कुरा सुनिरहेका थियौँ । तर चित्रीपाटनको डरलाग्दो चित्रणबाट हामी आत्तिएनौँ बरू सम्भावित जोखिमबाट सतर्क हुने उपाय खोज्यौँ ।
यात्रामा सबैभन्दा महत्त्वपूर्ण कुरा बाटो नै हो । लेकमा बाटो भुलाएरै धेरै यात्रीहरू बेपत्ता हुन्छन् । बाटो अलिकति मात्र भुलियो भने पनि गन्तव्य पत्ता लगाउन गाह्रो हुन्छ । बाटो लम्बिँदा थपिने थकान र परेशानको हिसाबकिताब गरी साध्य हुँदैन ।
तसर्थ हामीले रुपे भण्डारीलाई हाम्रो पथप्रदर्शकको जिम्मा लिइदिन अनुरोध गर्यौँ । घरको काम छोडेवापतको उचित क्षतिपूर्ति दिने वचन पनि दियौँ । उनले सहर्ष स्वीकार गरे । यो निर्णय हाम्रो यात्रा सफल हुने एक महत्त्वपूर्ण आधार थियो । सायद रुपे भण्डारीको घरमा बास नबसेको भए पथप्रदर्शक पाइने सम्भावना र गन्तव्यमा पुगिने सुनिश्चितता बिरलै हुन्थ्यो । यो एउटा अनौठो संयोग थियो । हाम्रो यात्राको यानको चालक रुपे नै हुने भए । उनको योग्यता यस्तो थियोः
नामः रुपे भण्डारी । उमेरः साठी । मृगका जस्ता हातखुट्टा- उकालीओरालीमा बेगबान हुँदै बुर्लुकबुर्लुक उफ्रन सक्ने । घोडाका जस्ता पाइताला- काँडा उम्रिएका वनस्तपति, पत्थर र हिउँमा पनि नाङ्गै पाइताला टेक्न सक्ने । गिद्धका जस्ता आँखा- जति टाढाका हिँस्रक वन्यजन्तु पनि देख्न र चिन्न सक्ने । स्वानका जस्तै कान- वरिपरिको सुक्ष्म सङ्कट पनि सुन्न सक्ने । सलक्क परेको चिलको जस्तो जिउ- भिरपाखा र जति उचाइमा पनि उड्न सक्ने । हात्तीको जस्तो काँध- परिआए चारैजनालाई बोकेर कुद्न सक्ने । लेकाली मस्तिष्कः लेकका जम्मै वनस्पति, ढुङ्गो, माटोको नाम एकएक बताइदिन सक्ने ।
यसरी टेकअफको लागि सबै पक्षको जाँच गरेपछि यात्राको काल्पनिक रेखाङ्कन सम्पन्न भयो । भोलिपल्ट सखारै ५ बजे नै मगाबाट उडान भर्ने योजना सर्वसम्मतबाट पारित गरियो ।
भोलि सम्पन्न हुन गइरहेको निकै लामो यात्राको लागि जिउ र खुट्टालाई तन्दुरुस्त तुल्याउन तोरीको ताततातो तेल घसेर मात्र सुत्ने योजना थियो तर रुपे भण्डारीका कुरा सुन्दासुन्दै तेल नघसेरै भुसुक्क निदाएछौँ ।
क्रमशः