कवितापद्य कविता

चन्द्रप्रसाद

मेरा मित्र चन्द्रप्रसाद, कति भाग्यमानी !

श्रीमतीले सुधार्दैछिन्, दिनहुँ उनको बानी,

साथीभाइको संगत परे, बिग्रने छ डर

जमाना नै खराब आयो, कसको मान्ने भर ?

 

जाँड, रक्सी, जुवा, तास, चुरोट, बिँडी छुन्नन्

साथीभाइको बीचमा उनी, कहिले पनि हुन्नन्,

जम्काभेट् भो कुनै दिन, रोकेँ नाडी तानी

“मैले पिउँछु ‘सोम-रस’, तिमी खाऊ पानी”,

उनको भागमा पानी थियो, रक्सी पे’ को ठानी

पत्नी आई, घोक्‍र्‍याई लगिन्, लातैलातले हानी ।

 

मीठो बोली, मसिनो स्वर, एक्लै हिड्ने बानी

साथीभाइले गिज्याउँदैछन्, जोइटिंग्रे ठानी,

एकदिन ल्याएँ मेरै कोठा, करकापैले तानीः

“रङ्गीचङ्गी कार्ड मेरा, हेर छानी छानी”

हात्‍मा ‘भिजिट’ कार्ड थियो, तास खेलेको ठानी

कागजपत्र च्यातिदिइन्, खल्ती छामी छामी ।

 

बाहिर निस्के ‘फसाउने’ छन्, ढोका थुनी बस्छन्

मेलापात जानुभन्दा, कोठा रुङी बस्छन्,

दाजुभाउजू जागिर खाने, यत्ति कुरा जानी,

टाढैबाट आइपुगिछन्, भेट्न ‘बैनी’ नानी

नानीसंग ‘गफ’ गर्दै थे, ‘लभ’ गरेको ठानी

काँचीभारी गाली गरिन्, कर्कच्चेले हानी ।

 

डढेलोले बनै जल्यो, शंकाले मन जल्यो

वन त फेरि हरियाली, मन त गल्यो, गल्यो !

बिग्रिए जो ठान्छिन् उनी, कत्ति बिग्रिँदैनन्

सुधार्छु जो ठान्छिन् उनी, रत्ति सुध्रिँदैनन् ।

बाहिरी संसार रमाइलो छ, हेर आँखा तानी

कुवाभित्रै गुम्सिएर, बित्ला जिन्दगानी !

 

मेरा मित्र चन्द्रप्रसाद, साह्रै भाग्यमानी

श्रीमतीले सुधार्दैछिन्, दिनहुँ उनको बानी ।

  • २०७०।०४।०६
  • मुसिकोट रुकुम ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *