कथालेख/आलेखसंस्मरण

यालमाया र जितौरीपछि ‘घमण्डी स्यालको कथा’

पारि फल्यो काफलुए वारि फल्यो तिजु ।
बैँसले अत्तौलै भइयाँ, कोखा खोप्रा झिसू ?

सामान्यतया मलाई कसैले घमण्डी मान्छे भन्दैनन् । मसँग घमण्ड गर्नुपर्ने खालका कुनै भौतिक वा बौद्धिक सम्पत्ति छ जस्तो पनि लाग्दैन ।

तर पहिलोचोटी नै हुनुपर्छ, हिजोदेखि साँच्चिकै घमण्ड गरौँ गरौँ जस्तो भैरहेको छ । यो घमण्डलाई जति दमन गरौँ भने पनि सफल भैरहेको छैन । त्यसो त व्यक्तिमा घमण्ड सिर्जना आफै हुँदैन पनि । प्रायः उचाल्ने मच्चाउने र पछार्नेहरूको अदृश्य हात रहेको हुन्छ भनिन्छ ।

हिजो मात्रै, “लेखकले घमण्ड गर्नुहुँदैन है !” भनी मेरो गुरूजीले पाठ पढाउँदा पढाउँदै म आजै बैँसले अत्तौल (तौलिनसकिने ) भैसकेँ । माथि ठाडी भाकाको गीतले भने झैँ ममा यति घमण्ड चढेको छ कि मलाई कसैको खोप्रामा आगो झोसूँ झोसूँ भैरहेको छ । यो घमण्ड यति बढिसक्यो कि अहिले मैले आँखाकान केही देखिरहेको छुइनँ ।

मलाई थाहा छ मैले घमण्ड गरे वापत मेरो गुरूले आफ्नो उच्छृङ्खल चेलालाई चेतावनीस्वरूप शब्द-लठ्ठीले मुटुमा सुम्ला उठ्ने गरी हानेर सजाय दिनुहुनेछ । तर पनि मेरो घमण्डले आज त्यो शब्दलठ्ठीको प्रहारलाई सजिलै जिराइदिने र पचाइदिने सामर्थ्य बोकेको छ ।

मेरा नविन गुरूज्यूहरू मसँग चीरपरिचित हुनुहुन्नथ्यो । कक्षामा मैले गरेका उपद्रोहरूलाई कहिल्यै देख्नुभएको थिएन । मेरो चकचकलाई कहिल्यै सुन्नुभएको पनि थिएन ।

केही समयदेखि मेरो साथमा निरन्तर भैरहेका प्राथमिक शिक्षाका गुरू हरि भण्डारीरले भने पहिल्यैदेखि मेरो चकचक नजिकैबाट नियालिरहनुभएको थियो । मेरो चकचकलाई मिच मारेर टुलुटुल हेरिरहनुभएको थियो । मलाई तर्साइरहनुहुन्थ्यो, “ए, केटा धेरै चकचक नगर् है । म ऐले हेड्सरलाई तेरो चकचक सुनाइदिएँ भने नराम्रोसँग गोदाइ खानेछस् ।”

मैले हरि सर भन्दा माथिका गुरू नै देखेको थिइनँ, “तपाईँभन्दा अर्को गुरू को छ र मेरो ?” मैले पत्याइरहेको थिइनँ ।

एकदिन अलि बढी नै चकचक गरेको देखेपछि भन्नुभयो, “तेरा यी दुईथान कापी लगेर रजनी मिसलाई देखा ।”

उहाँले औँल्याएको बाटो पछ्याउँदै म लागेँ रजनी मिसको कोठातिर । मैले उहाँलाई सोधेँ, “म आउँदै त छु, तर कुन बाटो भएर आऊँ मिस ?”

उहाँले भन्नुभयो, “दाइने बाटो भएर आइज !”

म दाइने बाटाबाट धेरै परसम्म पुगेँ । तर हरि सरको हुलियाअनुसारकी रजनी मिसलाई कतै भेट्टाइनँ । कायल परेर फोनबाट सोधेँ, “म हराइसकेँ मिस । दाइनेतिर त तपाईँलाई कतै भेट्टाइन त ?”

“उल्लू कहीँको । तँ आफ्नो हात मात्र छन् भन्ने सोचेर दाइनेतिर लागिस् ? अरूका हात छैनन् यो संसारमा ? उसोभए आफ्नै हात मात्र छन् भन्ने सोचेको छस् भने, “तेरो हातकै देब्रे भएर आइज ।”

म देब्र हुँदै अगाडि बढेपछि ठ्याक्कै उहाँले दिएको हुलियाअनुसार रजनी मिसलाई भेट्टाइहालेँ । लागेको थियो हरि सरले चुक्ली लगाएको भए उहाँले कापी नसमात्दै मलाई दुईचार झापट लगाउनुहुनेछ । यही सोची छडी खान हत्केला सोझ्याएर उहाँको अगाडि उभिइरहेँ ।

“जा तँ अहिले फर्कीहाल् । यो कापी हेरेर तँलाई म उचित सजाय दिनेछु ।” उहाँले मलाई ठाडठाडै फर्काउनुभयो ।

हरि सरलाई भेट्ने बित्तिकै भनिहालेँ, “हरि सर ! हरि सर ! मलाई रजनी म्यामले तपाईँले भनेजस्तो केइ पनि सजाय दिनुभएन ।”

“उसोभए जा आज हेडसरलाई तेरा कापी बुझाएर आइज ।” हरि सरले मेरो शिर मुसार्दै भन्नुभयो ।

कहिल्यै डर नलाग्ने मजस्तो उपद्र्याहालाई हेडसरको नाम सुन्नेबित्तिकै सातोपुत्लो उड्यो ।
मैले उहाँको कार्यकक्षमा नपुगुन्जेल बाटोमा मैले देखे भोगेका धेरै गुरूहरूलाई सम्झन पुगेँ । मैले नयाँ नेपालको अभिभारा बोकेका महापण्डितहरूलाई सम्झन पुगेँ । उहाँको कार्यकक्षको प्रवेशद्वारमा जाँदा धेरै पटक कट्टूबाट पिसाब फुस्किएको थियो । बचेखुचेको पिसाब उहाँहरूका अनुहारले फुस्काइदिन्थ्यो । बाँकी बचेछ भने उहाँहरूको नजरले नै फुस्काइदिन्थ्यो र त्यतिले पनि पिसाब बचिहाल्यो भने उहाँहरूको शब्दवाणहरूले एकथोपा पनि बाँकी नबच्ने गरी फुस्काइदिन्थ्यो ।

मैले यस्तै कल्पना गर्दै जाँदा आधा पिसाब बाटोमै फुस्किसकेको थियो । कार्यकक्षभित्र छिरेपछि पनि स्वतःस्फूर्त फुस्काउनलाई अलिकित पिसाब चाहिनसक्छ भन्ने अड्कली सकीनसकी जोगाएरै हेडसरको कार्यकक्षबाहिर पुगेँ । जीउ घलघली काँपिरहेको थियो । मुटु उफ्रिएर बाहिरै खस्लाजत्तिकै भैरहेको थियो । अनुहारको चित्र काल्लिएको थियो ।

मैले यस्तै मनस्थितिमा ढोका ढकढक्याएपछि भित्रबाट आशा विपरीत घनिष्ठ मित्रको जस्तो मिठो स्वर आयो, “भित्रै आउनुस् । ढोका लगाएको छैन ।”
यो स्वर अरू कसैको होला भन्ने सोच्दै म हेडसरको कार्यकक्षभित्र पसेँ । कुर्सीमा विराजमान व्यक्ति देखेर म तीन छक परेँ । मैले कल्पिरहेका महागुरूहरूको अनुहारको विपरीत अनुहार त्यहाँ थियो । कार्यकक्षभित्र कुर्सी त एउटै थियो । अरू कोही हुनसक्छ भन्ने सोचाइले ठाउँ नै पाएन । शालीन, सदाबहार मुस्कान, सौहाद्रपूर्ण व्यवहारका धनी यिनी नै हेडसर होलान् भनी पत्याउने मुस्किल पर्‍यो मलाई । बाहिर नेमप्लेटमा लेखेकै थियोः ‘प्राज्ञ डा देवी नेपाल ।’

अपत्यार अलि वेशी नै चुलिएको र बाँकी बचेको पिसाब फुस्किनेछैन भन्ने आँट आएपछि सोधिहालेँ, “तपाई नै हो र यो स्कूलको हेडसर ?”

उहाँले हाँस्दै भन्नुभयो “कुन विधाको हेडसर चाहियो तपाईँलाई ? हेडसर त यो स्कूलमा अरू पनि छन् । कथा विधाको हेडसर त माया ठकुरी हुनुहुन्छ । पख्नुस् है त म उहाँलाई नै खबर गरिदिन्छु ।”
उहाँहरूबीच केही कुरा भएपछि कथा विधाका हेडसर माया ठकुरीले पनि मेरो कापि जाँचेर फैसला गर्ने निर्णय भयो । देवी नेपाल सरले भने मेरा कापी हेर्न चाहेको भन्दै कापि माग्नुभयो । मैले उहाँलाई मागेका दुईथान कापी सुम्पिएँ ।

पहिल्यै यी आँखाले देखी भोगिसकेका अन्य महागुरूहरूको अनुहारजस्तो उहाँको अनुहार एकरत्ति बिग्रिएन । छेपारोको जस्तै घरीघरी अनुहार बदलिँदै बदलिएन ।

मैले हत्तपत्त दुईथान कापी हात लगाएर कुद्दै हरि सरकहा पुगेँ र हेडसरको छडी खानबाट बचेका जसका तस रहेका हत्केला देखाउँदै भनिहालेँ, “हरि सर ! हरि सर ! हेडसरले पनि मलाई केही गर्नुभएन ।”हरि सर मुस्कुराउनुभयो मात्र । उहाँको अनुहारले बोलिरहेको थियोः ‘पख् न भोलि चाल पाउलास् ।’

०००

भोलिको दिन पनि आजै बनेर आइपुग्यो । बाल्यकालमा मध्धेनी बिदापछि आयोजना गरिने शुक्रबारे लेखन प्रतियोगिता जस्तै कार्यक्रम थियो त्यो । मेरा रफ कापीहरू सफ पुस्तकमा बदलिएको हेर्न पाइने कार्यक्रम थियो । त्यो यालमाया र जितौरी कथा सङ्ग्रहको विमोचन कार्यक्रमको कोठा थियो । त्यहाँ मेरा बाल्यकालीन गुरूहरू मलाई खोज्दै आउनुभयो । साहित्यिक गुरूहरू पनि मलाई रोज्दै आउनुभयो । सामाजिक गुरूहरू पनि आउनुभयो । केही प्रशासनिक गुरूहरू पनि आउनुभयो । पाठक गुरूहरू पनि आउनुभयो । कार्यक्रममा सबै खालका गुरूहरूको सन्तोषजनक उपस्थिति रह्यो ।

कार्यक्रममा आउने भनिएका हेडसर माया ठकुरी अस्वस्थ हुनुभएकोले डा देवी नेपाल नै हेडसरको जिम्मेवारी ग्रहण गर्न आइपुग्नुभयो ।

रूकुमेली साहित्यकी गुरू सिर्जना शर्माले कार्यक्रम सञ्चालन गर्नुभयो भने मेरा साहित्यिक गुरू हरि सरले कार्यक्रमको अध्यक्षता गर्नुभयो । पारिवारिक गुरू निशा ओलीले मेरो परिचय दिनुभयो । अर्का साहित्यिक गुरू अश्विनी कोइरालाले यालमायाभित्रका कथाहरूले ओगटेको क्षेत्रको बारेमा बखान गर्नुभयो । साथसाथै मैले साहित्यिक प्राङ्गणमा मच्चाएका उपद्रोहरूको बारेमा हल्का झलक दिन खोज्नुभयो । अर्का साहित्यिक गुरू मनोहर लामिछानेले जितौरीभित्रका कथाहरूको उद्देश्यको साथै कथा सङ्ग्रहले इङ्गित गर्न खोजेको दिशा र सार संक्षेपको बारेमा बखान गर्नुभयो ।

एउटै आँगनमा खेलेका, एउटै खाटमा सुतेका, मेरो सहपाठी समेत रहेका क्याम्पसकालीन एवम् राजनीतिक गुरू जनार्दन शर्माले मेरो चरित्रचित्रण गर्ने प्रयास गर्नुभयो । मेरा सामाजिक गुरू गोपालजीजङ्ग शाहले मेरो पारिवारिक पृष्ठभूमिको बारेमा बताइदिनुभयो ।

मेरो बारेमा बोल्न खोज्नुभएका मेरा अरू थुप्रै गुरूहरू पनि हुनुहुन्थ्यो । पारिवारिक गुरू मिठ्ठू मल्ल, राजनीतिक गुरू ठगेन्द्रप्रकाश पुरी, साहित्यिक गुरू युवराज नयाँघरे तथा साहित्यिक पाठशालाका गुरू कमल ढकालले समेत मेरो बारेमा बोल्न जमजमाइरहनुभएको थियो । तर पापी समयले उहाँहरूलाई मुख खोल्न समेत दिएन ।

०००

मलाई मस्तै डर लागिरहेको थियो, बाँकी अरू दुईजना गुरूहरूदेखि । उहाँ दुवैजनाले साहित्यमा विद्यावारिधी गरिसक्नुभएको थियो । उहाँहरू अरूजस्तो आलाकाँचा हुनुहुन्नथ्यो । काँचो माटोजस्ता लाखौँ साहित्यिक चेलाहरूलाई मुछेर पिटपाट पारेर निश्चित आकार दिइसकेका सिद्धहस्त गुरूहरू हुनुहुन्थ्यो । साहित्यिक सिद्धान्तलाई झोल तुल्याइकन पिएर पचाइसकेका गुरूहरू हुनुहुन्थ्यो ।

दुवैजना मेरो पृष्ठभूमिको बारेमा नितान्त अपरिचित हुनुहुन्थ्यो । अपरिचित चेलालाई निर्मम तरीकाले पिट्ने सम्भावना प्रबल थियो । अतः यिनी दुवैजनाको डर नलाग्ने कुरै हुँदैनथ्यो ।
डाक्टर रजनी ढकाल उठ्ने बित्तिकै मेरा आँख्लामुख्ला काँप्न शुरू गरिसकेका थिए । मुटुको ढुकढुकी बढिरहेको थियो । कापीमा मैले लेखेको कुन गल्ती उत्तरलाई समातेर झाँको झार्ने हुन् भनी थुरथुर भैरहेको थिएँ । पिसाब चुहिएला चुहिएला जस्तो भैसकेको थियो । छडी खानको लागि मैले दुवै पन्जा उहाँको अगाडि फैलाइसकेको थिएँ ।

तर उहाँले उठ्दा नउठ्दै केही उदाहरणहरू दिँदै भनिदिनुभयो कि, ‘जितौरी र यालमायाजस्ता कृतिहरू नेपालमा बिरलै सिर्जना भएका छन् ।’

यो सुन्नेबित्तिकै ममाथि रजाँइ गरिरहेको डर स्वाट्टै हरायो । चुपभान भाग्यो । उहाँले कथाहरूमा सामाजिक विकृतिको नाङ्गेझार पारिएको बताउनुभयो । प्रशासनिक विकृतिकहरूको सवाल उठाइएको कुरा पनि सप्रमाण देखाइदिनुभयो । यस्तै कथाहरूको सिर्जना र संरक्षण हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

मैले हरि सरलाई आँखा सन्काएँ, “मलाई केही पनि गर्नुभएन त रजनी मिसले ?”उहाँले आँखैले जवाफ फर्काउनुभयो, “कति हतार गरेको ? पख् न पख् ।”

नभन्दै सकारात्मक पक्षको बखान सकिनेबित्तिकै रजनी मिस ममाथि आगो भएर खनिन थाल्नुभयो । उहाँले मेरो कापीमा रहेका गम्भीर गल्तीहरू एकएक गरी औँल्याउन थाल्नुभयो । मैले छडीबाट बचेर तल झारिसकेका हत्केला फेरि अगाडि पसारेँ । फेरि थुरथुर काँप्न थालेँ । पिसाबले दिशा खोज्न थाल्यो ।

तथानाम भनिसकेपछि अन्तिममा रजनी मिसले भन्नुभयो, “सबै कथाहरू अध्ययन गरेपछि मलाई लाग्छ, यति सुन्दर तरीकाले चकचक गर्नसक्ने यो चकचकेले यी गल्तीहरू जानी जानी गरेका चाँहि होइनन् । तसर्थ यो चकचकेलाई मुटुमा सुम्ला उठ्ने गरी थप पिट्नुपर्ने आवश्यकता म देख्दिनँ ।”

यो भन्नुको अर्थ यो राख्दथ्यो कि, ‘आफ्नो उपद्र्याहा चेलाले गरेका गल्ती जति सबै गुरूले नै जिम्मा लिइदिएँ ।’

वाह रजनी मिस ! वाह डाक्टर साब् ! वाह समीक्षकज्यू ! लेखकका गल्तीहरूलाई पनि समन गरिदिने यति महान दिलका समीक्षक ? लेखकले चालेका दूरगामी पाइलालाई धरमराउन नदिने यति राम्रो काइदा ? गल्ती औँल्याइसकेर त्यत्तिकै छोडिदिएको भए म थुचुक्कै अधबाटोमै बस्ने सम्भावना कसरी देख्न सकिन् यिनले ?

पत्थरजस्तो भैसकेको मेरो दिल उहाँको अन्तिम क्षमादानले गर्दा नौनी बनेर पग्लन थाल्यो ।
मैले फेरि हरि सरलाई आँखैले भनेँ, “खुच्चिङ !”उहाँले आँखैले जवाफ दिनुभयो, “पख् न पख् । तँलाई हेडसरले ढाड खुस्किने गरी कुट्न बाँकी नै छ नि ।”

हो कि त ? भनी म फेरि तर्सिएँ ।

हेडसर पनि मुठ्ठी बटार्दै उठ्नुभयो । उहाँलाई त मैले हिजै जिराइसकेको थिएँ । उहाँको सौहाद्रपूर्ण व्यवहारमा भिज्नुसम्म भिजिसकेको थिएँ । मैले डर मान्नुपर्ने कारणहरूलाई उहाँले हिजै आफ्ना मायालु नजरले भष्म तुल्याइसक्नुभएको थियो ।

तसर्थ हेडसरदेखि म कत्ति पनि नडराएको बहाना झिकेँ । भित्रभित्रै मुटु नकाँपेको त कहाँ थियो र ? तैपनि आफ्नै मुटुलाई सम्झाएँ यिनले जातीविधि केही नभन्लान् ।

मैले अनुमान गरेअनुसार उहाँले पनि रजनी मिसकै शैलीमा प्रस्तुत हुन थाल्नुभयो ।
“सबै औपचारिक पदहरू भुपू हुन्छन्, तर श्रस्टाहरू कहिल्यै भुपू हुँदैनन् ।” भन्दै विभिन्न उदाहरणहरू पस्किनुभयो । यालमाया र जितौरीलाई स्थानीय स्तरमा तुरून्त समीक्षा गराई राष्ट्रिय पहिचान दिन अत्याउनुभयो । यस्ता अरू थुप्रै श्रष्टाहरू मुलुकका कुनाकन्दरा लुकेर रहेका हुनसक्ने भएकोले तिनीहरूलाई छिट्टो बाहिर निकाल्न रूकुमेलीहरूलाई घचघच्याउनुभयो ।

मेरा दुई पुस्तकमध्ये १३ वटा कथाहरू समेटिएको जितौरी कथासङ्ग्रह २६४ पृष्ठको छ । १५ वटा कथाहरू समेटिएको यालमाया कथासङ्ग्रह २२१ पृष्ठको छ । एकजना पाठकले नबिसाएर पढ्दै गए २८ वटै कथाहरू पढिसिध्याउन कम्तीमा तीन दिनदेखि सात दिन लाग्नुपर्ने थियो ।

तर हेडसरले भनिदिनुभयोः “मैले सुत्दै नसुती अठ्ठाइसवटै कथाहरू एकरातमा पढिसिध्याएँ ।”
“होइन होला हौ । ध्वाँस दिए यिनी बड्डाजीले । ह्वाँ भने एउटै कथा सक्न पनि महाभारत पर्‍यो होला बड्डालाई ।” भन्यो मेरो मनले ।

उहाँले मेरो अविश्वासलाई धुलो चटाउँदै र मलाई चित खुवाउँदै प्रत्येक कथाको रौँचिरा विश्लेषण गर्न थाल्नुभयो । प्रत्येक कथालाई साहित्यिक सिद्धान्तको कसीमा घोटेर देखाइदिनुभयो । प्रत्येक कथाको छुट्टाछुट्टै मूल्य रहेको भन्दै तराजुमा जोखेरै देखाइदिनुभयो ।

म चकित नपर्ने कुरै थिएन । मैले जिब्रो नटोक्नुपर्ने वैकल्पिक अवस्था नै छोड्नुभएको थिएन ।
“नभन्दै बूढाले त अठ्ठाइसवटा लामालामा कथाहरू एकरातमै पढिसिध्याएकै रहेछन् त ! एक रातमै कसरी पढिसिध्याए होलान् ?” भन्ने कुराले होइन कि एकजना विशिष्ट श्रष्टा त एकजना विशिष्ट पाठक पनि हुन सक्दोरहेछ त ? पढ्न मन लागे रातभर नसुते पनि हुँदोरहेछ त ? एक विशिष्ट स्रस्टाले रातभरि नसुते पनि अनुहारमा उस्तै आभा र उस्तै सुन्दरता जोगाउन सकिँदो रहेछ त ? वाह मेरा हेडसर !” म यस्तै सोच्दै रमाइरहेको थिएँ । उनलाई कोटीकोटी धन्यवाद दिइरहेको थिएँ ।
पछाडिबाट मलाई कोट्याउँदै कमल ढकाल गुरू र युवराज नयाँघरे गुरूले मलाई बूढी औँला देखाइरहनुभएको थियो ।

हेडसर देवी नेपालले पनि अन्तिमतिर रजनी मिसझैँ कथामा रहेका मेरा गल्तीहरूलाई औँल्याउँदै मउपर खनिन थाल्नुभयो ।

उहाँले भन्नुभयोः “एकजना श्रष्टाले के लेख्दै छु भन्ने कुराको गन्तव्य थाहा हुनुपर्छ । त्यो गन्तव्य आफ्नो मनचिन्त गन्तव्य मात्र होइन, सार्वजनिक गन्तव्य हो । समाजले उठाएको सामाजिक सवालको जवाफ दिन लेखक पटक्कै धरमराउनुहुँदैन । लेख्दा लेख्दै खुट्टा कँपाउनु हुँदैन । श्रष्टाले दिने निश्कर्षले समाजलाई सही बाटो देखाउनुपर्दछ । स्रस्टा पनि शिक्षकजस्तै हो । एकजना श्रष्टाले आफ्ना चेलाहरूको अगाडि कदापि निराशावादी कुरा गर्नुहुँदैन । सामाजिक बेथिति र विसङ्गतिप्रति शून्य सहनशीलता कायम गर्नुपर्नेमा उल्टै त्यस्ता गलत प्रवृत्तिहरूलाई मलजल पुग्ने खालका कुनै हर्कत गर्नुहुँदैन ।”

त्यसपछि मलाई चोरऔँला ठड्याउँदै भन्नुभयो, “गर्नुहुँदैन भनी निषेध गरेका कुरालाई दोहोर्‍याइस् भने आइन्दा बेसरी चुटाइ खानेछस् । अहिले आफ्नो कर्मक्षेत्रमा ढुक्कसँग जा । मैले तोकेका यी सीमाहरूको चौघेँराभित्र रहेर जति सक्छस् चकचक गर् । मेरो अनुमति भयो जा । गैहाल् ।”
मैले मनलागी गर्न पाउने भएँ भनी मेरा मनका खुट्टाहरू भुइँमा रहेनन् । म बुर्लुक बुर्लुक उफ्रिन थालेँ ।

यसैबेला हरि सर जुरूक्क उठेर झापट हान्ने ध्येयका साथ आफ्ना पन्जा मलाई देखाउन थाल्नुभयो । उहाँले उठेर भन्नुभयोः “हो!!! देखिस् ? बुझिस् कि बुझिनस् ? यही कुरा राम्रोसँग बुझाउनलाई मैले तँलाई यी दुवैजना गुरूहरूको अगाडि उभ्याएको हुँ । कुरो बुझिस् नि ? अब त चेत खुले होलान् नि तेरा ? जा । चौघेरालाई अड्कलेर जतिसक्दो चकचक गर् । अनुमति भयो मेरो पनि ।”
वाह हरि सर ! यति निस्वार्थ सहयोग ? एकजना सामान्य चेलोलाई बाहिरतिर समेत चिनाउन यति विघ्न हुटहुटी ? सानो मुटुकाले गर्नसक्ने सहयोग यो हुँदै होइन । कसैले गर्न चाहेका थिए यस्तो सहयोग ?

अब भन्नुहोस् त यी तीनैजना साहित्यिक गुरूहरूले यसरी स्वतन्त्र छोडिदिएपछि म चकचक नगरेर के गरुँ ? म उपद्रो नमच्चाएर कसरी ठहरुँ ? मज्जाले चकचक गर्न हौस्याउने यी गुरूहरूलाई सच्चा गुरू नमानी अरू कसलाई सच्चा गुरू मानूँ ?

०००

सुनाउनको लागि एउटा कथा अझै बाँकी छ । फुल नकोरल्दै चल्ला गन्ती गर्ने एकजना घमण्डी स्यालको कथा ।


एउटा स्याल अहिले पनि मनचिन्ते घैँटो आफ्नो गोर्‍यानमा राखेर चल्ला गन्ती गरिरहेको छ । घैँटोमा भने आजै शिकार गरेर ल्याएको एउटा कुखुरो छ । उसले आज त्यो कुखुरो नभुत्ल्याउने बिचारमा छ ।

ऊ मनकुरा खेलाउँदै छ ।
“यो चकचके यालमाया र जितौरीको एक भारी बोकेर आजभोलि नै ठसठसी कन्दै मेरो अगाडि लुरूक्क हाजिर हुनेवाला छ ।”

“मैले, तेरा पुस्तक एउटा पनि लिँदिनँ भन्नेछु ।”

“उसले, ‘बिन्ति छ हजुर । आधा भए पनि किन्न लगाइदिनोस् !’ भन्नेछ ।”

“मैले, ‘बजेट नै छैन । हुँदैन, हुँदैन !’ भन्नेछु ।”

उसले मेरो अगाडि हातपाउ जोड्ने छ ।

“मैले, ‘तेरा पुस्तक उता लैजा । म एउटा पनि हेर्दिनँ !’ भन्नेछु ।”

“उसले, ‘नाइँ हजुर, बरू आधा मूल्यमा भए पनि टक्र्याउँछु !’ भन्नेछ ।”

“मैले, ‘सित्तै दिए पनि लिँदिनँ’ भन्नेछु ।”

“उसले, ‘म हजुरले अह्राएका जायज नाजायज सबै कुरा मान्न मन्जुर छु । सित्तै लिइदिनोस् हजुर, लिइदिनोस् !’ भन्दै रुँदै कराउँदै मेरो पाउ पर्नेछ ।”

“मैले उसको शिर ताकेर भुक्क लात्तीले हान्नेछु ।”
अनि के हुनेछ त ?

उसको लातको प्रहार उसकै घैँटोमा बज्रिनेछ ।

०००

यो कथा मैले किन सुनाएँ भने केही निरीह श्रष्टाहरूको अवस्था हुबहु यही हालतमा भएको देखेको छु । मैले यो अवस्था दर्जनौँ प्रशासनिक महापण्डितालयहरूमा देखेको छु । त्यहाँभित्रका थुप्रै महापण्डित श्रष्टाहरूलाई देखेको छु । उहाँहरूका सिर्जनाहरूले पण्डितालयहरूका कुनाकुनामा थुप्रिएर धुलो चाटिरहेको प्रत्यक्ष देखेको छु । भोगेको छु ।

त्यो अवस्थाले उहाँहरूको रत्तिभर चित्त दुखेको छैन । विडम्बनाको कुरा यो छ कि बजारमा उहाँको पुस्तक नपुगे पनि त्यसले उहाँहरूलाई एकसुको पनि घाटा लगाएको छैन । बरू नाफा मात्र आर्जन गर्नुभएको छ । महापण्डितालयको त्यही धुलोमैलोको थुप्रोमुनि उहाँको कृति मात्र होइन अन्य धेरै थरी कुराहरू छोपिएका छन् ।

०००

मलाई दिनरात कान समाएर उठबस गराउँदै लेख्नमा अभिप्रेरित गर्ने सदाकालकी गुरू पनि छिन् मेरो साथमा । उनको साथ सहयोग नपाएको भए मैले साहित्यिक गुरूको शिष्य बन्न योग्य हुने थिइनँ ।

मैले वर्णन गरेका सच्चा गुरूहरूले मलाई यस्तो के घमण्डी रस पिलाइदिनुभयो कुन्नि ? मलाई आज छाती ठोकेर भन्न मन लागेको छ, मलाई मुठी बजारेर शंखघोष गर्न मन लागेको छ कि मेरा एउटा पनि प्रकाशित पुस्तक कुनै कुनामा मिल्किने छैनन् । एउटा पनि पुस्तक अपठित रहनेछैनन् भनेर ।
तर मैले उल्लिखित कुरा मुखबाट निकालिहालेको भने छुइनँ है । यी कुराहरू मनमनै कल्पिएको कुराहरू मात्र हुन् । मैले तपाईँहरूले नसुन्ने गरी गुनगुनाएका कुराहरू मात्र हुन् । किनकि ममा आज त्यो घमण्डी स्यालको भन्दा पनि निकै घमण्ड चढिसकेको छ । यो घमण्डले कसको निवासमा आगो झोसूँ भैरहेको छ ।

मेरो चढ्दो घमण्डलाई मैले सकी नसकी दमन गरिरहेको छु । किनकि मेरा वास्तविक गुरूहरू त यो पर्दा बाहिर नै हुनुहुन्छ । उहाँहरूले आ-आफ्नो हातमा सिस्नोपानी बोकेर मेरै प्रतिक्षा गरिरहनुभएको छ । उहाँहरूको सिस्नोपानीको स्वाद चाख्न बाँकी नै छ । उहाँहरूको अगाडि नाङ्गेझार हुन बाँकी नै छ । उहाँहरूको तराजुको पल्लामा जोखिन म बाँकी नै छु । उहाँहरूको न्यायको कठघरामा उभिन म बाँकी नै छु ।

मेरा पाठकहरुले पनि मलाई घमण्ड नै चढाएर पठाइदिए भने के गरुँला म ? म मेरो हेडसरको उपदेश हरघडी मनन गर्नेछु, “एकजना लेखकले कहिले पनि पाठकको अगाडि घमण्ड गर्नुहुँदैन ।” अनि मेरो घमण्डी बैँस झुप्रातिर नभई खोप्रा (खोपी/खोपडी) तिर सोझिनेछ ।

ममा घमण्ड चढाइदिनेहरूप्रति सदा नतमस्तक रहनेछु ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *