कवितापद्य कविता

गौँथली र गुँड

(‘राम्रो रुकुम, हाम्रो सेवा राष्ट्र सेवक अभियानको सन्दर्भमा लेखिएको)

मेरो घरको दलिनमा, बस्तछन् जोडी गौँथली

बचेरा काढ्ने लक्ष्य रे, सुरक्षित बाँच्ने दृष्टि

रुखको ओत छोडेर,  स्वाभिमानमा रमाउने

माटोको बुँद थपेर, बलियो गुँड बनाउने ।

 

जोडी नै कूद्छन् आकाशमा, हावामा कावा खानलाई

छेक्तछ कसले यिनलाई, अनन्त टाढा जानलाई

तैपनि फर्की आउँदछन्, मिलनको गीत गाउँदछन्

आफ्नै गुँडमा बसेर, निश्छल प्रीत लाउँदछन् ।

 

ओथेरो बस्दा पोथीले, खोज्दछ चारो भालेचाहिँ

सामान्य कार्य विभाजन, बित्दछ जीवन सजिलै

हुर्केर बढ्दछन् बचेरा, खुशीले नाच्दछन् दम्पति

यत्ति नै उनलाइ काफी छ, चाहिन्न थुप्रै सम्पति ।

 

पुरानो गुँड भत्केमा, गर्दछन् नयाँ श्रृष्टि

बचेरा काढ्ने लक्ष्य रे, खुशीले बाँच्ने दृष्टि ।

 

सोचेर दाँज साथी हो, गुँड हो हाम्रो रुकुम

आफैलाइ सेवा पुर्‍याउन, चाहिन्न कुनै हुकुम

सुन्दर गुँड बनाउन, गरौँ न नयाँ श्रृष्टि

सरल सेवा लक्ष्य लिई, सुशासन दूरदृष्टि ।

 

प्रतिस्थापन गर्नुछ, पुराना जति प्रथा यी

सरल, सुगम, मितव्यी, तुल्याउन सेवा प्रणाली

आफैँले गरौँ शुरुवात, निरन्तर बुँद बूँदले

जसरी बन्छ बलियो, सुन्दर गौँथली गुँड हे ।

 

पुरानै ढर्रा अंगाली, हुँदैन डुब्न निर्लिप्त

सेवोको चारो खोजेर, पार्नुछ सेवित तृप्त

सामान्य कार्यविभाजन, प्रक्रिया छरितो दुरुस्त

विश्वास जित्न सके भो, सार्थक सेवा समस्त ।

 

मेरो घरको दलिनमा, बस्तछन् जोडी गौँथली

बचेरा पाल्ने लक्ष्य रे, मर्यादित बाँच्ने दृष्टि ।

 

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *