संस्मरण

गोजीमा गाँठ भा’का, मनमा आँट भा’का

शुरुमा त कति ठूलो बिरालो अगेनाको छेउमा गुडुल्किएको रहेछ भनेर म छक्क परिरहेको थिएँ, तर बिरालो होइन रहेछ । सायद टीकाजीले पनि त्यही ठाने होलान्, किनकि उनले पनि एउटा मुड्कोमा अल्छि जीउलाई बलजफ्ती अडेस लगाउँदै निद्रा नपुगेका रातारात आँखा मिन्दै घरिघरि त्यतै नजर फ्याँकिरहेका थिए । त्यो त एकजना १७/१८ वर्षकी तरुनीको जीउ पो रहेछ । ती केटी चीसो भुइँमा एउटा कार्टुनको पातलो बोक्रा बिछ्याएर त्यसैमा असरल्ल पर्दै आफ्नै दुईखुट्टाको बीचमा आफ्नो टाउको घुसाएर घुरिरहेकी थिइन् । उता होटेल गर्ने साउनी भने चीसा दाउरा ठोसठास पार्दै आगो बाल्ने प्रयास गर्दै थिइन् । अघिल्लो दिनको हुरी बतास सहितको वर्षाले भुइँ, कपडालत्त, दाउरा, बेञ्च, टेबुल, खाटहरु कतै बाँकि नराखी  सबै भिजाइदिएकोले बिहानैको चीसो सिरेठोले भुइँको माटोको गन्ध बुङ्बुङ्ती सबैको नाकमा पस्किरहेको थियो । मुटुनै ठिहिर्याउने यस ठण्डा वातावरणले यस वर्षको जाडो यामले सितिमिति विदा नलिने छनक दिइरहेको थियो ।

“मेरो त मुटुमै चीसो पस्यो, सर । फेरि चीया खानुपर्यो ।” टीकाजीले मसंग प्रस्ताव राख्दै साउनीलाई अह्राए, “ए, साउनी, छिट्टै चिया तताउनु त, हामी दुईजनालाई दुई कप बनाइहाल्नू ।” साउनीले आफूलाई नदेखून् भनी म अलि पर सरेँ ।

“यस्तो चीसो दाउरा कतिखेर बल्ला र चिया तातिएला ? गाडी छुट्ने बेला भैसक्यो होला । भ्याइएला र चिया खान ?” मैले संशय प्रकट गरेँ । म साउनीको नजरबाट छलिने हिसाबले अलि परकै बेञ्चमा बसेको थिएँ ।

“केको गाडी अहिल्यै छुट्नू ? लाग्ला, अझै दुईघण्टा गाडी छुट्नलाई त । मजाले चिया नास्ता यतै खाए हुन्छ । बरु के खानुहुन्छ ? चिसो चिया कि तातो ? चिसो चिया खाने भए भुटुन तताइदिन्छु ।” म बसेको बेञ्चमा अरु दुईचारजना मान्छेहरु पनि बसेकाले सबैतिर एकैसाथ सरसर्ती नजर दौडाउँदै  साउनीले सोधिन् ।

साउनीको यस जवाफले म यसमानेमा ढुक्क भएँ कि मसंग पूर्ण परिचित साउनीले मलाई देखेकी रहिनछिन् । नत्रभने मेरो अगाडि चिसो चियाका कुरा गर्न उनले धक मान्नुपर्ने थियो ।

टीकाजीले, “एकाबिहानै के को चिसो नि तातो चिया बनाउनुस्” भन्दै पेट मिचिमिचि हाँस्न थाले । अनि साउनीसंग प्रतिवाद गर्दै उनले भने, “हामी त दोस्रो बसमा जान थालेका हौँ र ? २ घण्टा लाग्नलाई ! हाम्रो त फस्ट बस हो, साउनी, साढे पाँच बजे छुट्ने । अब पन्ध्र मिनेट मात्र बाँकि छ । सवा पाँच बजिसक्यो ।”

टीनले बेरबार पारेको त्यस होटेलको पछाडिसम्म मेरा आँखा पुगे । फ्ल्याकले बारेका सात आठवटा क्याबिन पनि बनाइएको रहेछ, ती क्याबिन छोप्न च्यातिएका र मयलले खुम्चिसकेका पुराना पर्दा पनि झुण्ड्याइएको रहेछ, जसलाई हावाले परपरसम्म उछिट्याइरहेको थियो । भित्रतिर चुक घोप्ट्याए जस्तो अँध्यारो भए पनि त्यहाँ बसेर मुलाको चाना टोक्दै चीसो चिया तन्काउँदै गरेका मानव आकृतिहरु पनि प्रष्टै देखिए ।

साउनीले थर्मसबाट चारपाँचवटा गिलासमा नापेर चिया खन्याइन् । टीकाजीले दुई गिलास चिया टिपे र एउटा मलाई दिए । चियाबाट थर्मसको ढुसीको नमिठो गन्ध आइरहेको थियो । चिया मनतातो भइसकेको रहेछ, सायद हिजो बेलुका नै तताएर राखेको होला । यसैबेला बस कानै खानेगरी हर्न बजाउँदै गुड्न थाल्यो । हामीले हतारहतार चिया पिउन थाल्यौँ ।

टीकाजीले चिया एकघुट्कामै रित्याउँदै साउनीलाई भने, “अर्डर गर्ने बित्तिकै दिने, गज्जबको काइदा सिक्नुभएको रहेछ । तर ताततातो चिया खान पाइएला भनेको त चिसो भइसकेछ । चियाको कति पैँसा हो ?” टीकाजीले पाकेट छामछुम पारे ।

“हतार गर्नुपर्दैन । बस प्यासेन्जर खोज्न हिड्न थालेको हो । थर्मसको चियाको बीस रुप्प्या हो । दाउरामा पकाएको भए पन्ध्र मात्रै पर्थ्यो । के गर्नु, रातभर गाडी आइराख्छन् । गाडीबाट झर्नेबित्तिकै ताततातो चिया खोज्छन् सबैले । त्यसैले थर्मस किनेर राखेकी छु । थर्मसको भाडा उठाउनैपर्यो ।” साउनीले आफ्नो तर्क प्रस्तुत गरिन् ।

टीकाजीले रिसाउँदै भने, “पहिल्यै भन्नुपर्छ नि त । आगोमै तताएको तातो चिया खान छाडेर कसले खान्छ थर्मसको चिसो भइसकेको चिया ? तैपनि झनै महंगो तिरेर ।”

“खानेले आफै थाहा पाउनुपर्दैन ? आफैले सोध्नुपर्दैन ? कि एककप चियाको तिर्ने पैंसा छैन ?” साउनी पनि के कम थिइन् र झनै चर्को स्वरमा उल्टै टीकाजीलाई हप्काउन खोजिन् ।

अब भने म अगाडि पर्नैपर्ने भयो । ती साउनी मेरै नजिककी नातेदार भतिजी थिइन् । उनले पसल चलाउनु अघि हाम्रो घरमा बाउरेको रुपमा काम गर्न वा त्यसै पनि गाउँ बस्न आउँथिन् र त्यस क्रममा सैयौँ कप चिया र सैयौँ छाक खाना सित्तैमा खाएकी थिइन् होला । उनी पहिले निकै लजालु स्वभावकी थिइन् । कसैसंग पनि सितिमिति नबोल्ने । बजारमा बस्न थालेदेखि कति बाठी भैसकिछिन् । उनले त पहिलेपहिले हातै तानेर ढोक पनि गर्नेगर्थिन् मलाई भेटेको बखत ।

“भयो टीकाजी, पैँसा मै दिउँला । अँ नानी, कति भयो रे ?” मैले पनि पाकेटबाट पचास रुप्प्या अघि सार्दै थिएँ, टीकाजीले पैँसा तिरिहाले ।

“तपाइँको मात्र कटाउँ कि ? उहाँको पनि ?” मलाई इङ्गित गर्दै टीकाजीलाई सोधिन् साउनीले ।

“पहिल्यै दुई कप बनाउनुस् भनेको होइन मैले ? दुइटैको काट्नू ।” टीकाजीले फेरि चर्को स्वर लगाए ।

“छ्या ! कस्तो छुचो मान्छे रहेछ यो ! कुरै नबुझ्ने !” चियाको पैंसा कटाएर फिर्ता पैँसा टीकाजीतिर हुर्रयाउँदै भनिन् साउनीले ।

हो, टीकाजीलाई थाहा थिएन, यी मेरै नातेदार हुन् भन्ने र यो कुरा पनि थाहा थिएन कि ‘दुइटैको कटाउँ कि’ भन्नूको तात्पर्य । म नजिकको नातेदार भएकोले सायद ‘एक कप चियाको पैंसा पनि किन तिर्नुपर्ला र भनी मैले नतिर्न पनि सक्थेँ ।’ त्यही कुरा बुझाउन उनले भनेकी हुन् भन्ने मैले बुझिहालेँ, तर टीकाजीले बुझेनन् ।

बस हर्न बजाउँदै विपरीत दिशातिर लाग्यो । टीकाजी र म त्यस होटेलबाट अर्को पसलको बेञ्चमा गएर बस्न पुग्यौँ । पसलहरु पनि एकएक गर्दै खुल्न थाले । बजारको चहलपहल बढ्न थाल्यो । प्यासेन्जरको संख्या बढ्दै गयो । दुध विक्री गर्न आउने र बजारमा किनमेल गर्नेको संख्या पनि बढ्दै गयो ।

“ए, दाइ बेञ्चमा नबसिदिनोस् त ! यो त फलफूल र सामान राख्ने बेञ्च हो । किनमेल नगर्ने मान्छेले केको बेञ्च ओगटेर बसेको नि ?” मेरो चिरपरिचित अर्को पसलेले टीकाजीतिर हेर्दै भन्यो ।

हामी फेरि कठ्याँग्रिदो जीउलाई गह्रुंगो झोलाको भारीले तताउँदै केहीबेर बीच सडकमै उभियौँ । अनि बस फिर्ता आएपछि बसमै आआफ्नो सिटमा बस्यौँ । सिन्थेटिकको कभर लगाइएका सिटहरु हिउँभन्दा चिसा थिए । दुई घण्टाको पर्खाइपछि अर्को बसले माथिबाट हर्न दिएपछि मात्र हाम्रो यात्रा शुरु भयो । यात्रीहरु सबैको अनुहारमा खुशीको रङ छायो । सबैको गफ निस्कन थाल्यो, “बाटोको धेरै सुधार भइसकेको छ । हामी सरासर गयौँ भने खाना खान त आरामले दाङ पुगिन्छ । तीनचार घण्टा मात्रै त हो नि । कति छ र एकसय तीस किलोमिटर मात्र त हो नि बस पनि नयाँ छ ।”

यात्रा त शुरु भयो तर प्रत्येक बस स्टपमा उस्तै पर्खाइ । अर्को बसले पछाडिबाट हर्न नदिउन्जेल चालकले बस अड्याइराख्थ्यो । यात्रीहरु, “छिटो जाउँ न हो दाइ ! यहाँ मान्छेलाई कहाँकहाँ पुग्नुछ । अबेर भैसक्यो ।” भन्दै कराइरहेका थिए । बस स्टपमा यात्रु भए पनि नभए पनि चालक र खलासी भने गाडीलाई बीच बाटोमा तेर्स्याएर घाम ताप्न हिड्थे । एवम् रितले अर्को बस स्टपमा पुगेपछि अघिल्लो बस पनि भेटियो । हाम्रो बसले भेट्टाएर नलखेटेसम्म त्यो बस पनि प्रत्येक बसस्टपमा कुरिरहँदो रहेछ । प्रत्येक बसवालाले सम्भव भएसम्म कुनै यात्रुलाई पनि पछिल्लो बसको लागि नछाडी बटुल्दै लगे । तर न त उनीहरुले त्यसरी यात्रुलाई कुर्दा थप फाइदा प्राप्त हुँदैन भन्ने बुझ्न सके न त यात्रुहरुले नै समयमा आफ्नो गन्तव्यमा पुग्न पाए ।

यस्तै पट्यार लाग्दो बसको कठिन यात्रा १२ घण्टापछि दाङमा पुगेर समाप्त भयो । बेलुकाको पाँच बजिसकेकोले धेरैको ‘आजै काम सक्ने योजना’ वा अर्को गन्तव्यसम्म पुग्ने योजना यस यात्राले तुहाइसकेको थियो । तसर्थ बास बसाइको लागि होटेल खोज्नुपर्ने बाध्यात्मक स्थिति सबैको सामू उपस्थित भयो । हामी पनि आजै नेपालगञ्ज पुग्नुपर्नेमा नेपालगञ्जको अन्तिम बस चार बजे नै छुटिसकेकोले योजनाविमुख भइसकेका थियौँ ।

“के गर्नु सर, मैले त खाना पकाउनू भनी घरमा खबर गरिसकेको थिएँ । केटाकेटीहरु आशले पर्खिराखेका होलान् । अब यतै बास बस्नुपर्ने भयो ।” टीकाजीले मसंग गुनासो पोखे ।

“यस यात्राले हाम्रो भन्दा पनि अरुको कति महत्वपूर्ण काम छुटिरहेको होला । ती महत्वपूर्ण कामको लागतको बोझ कति थप भयो होला अनुमान गर्नै सकिँदैन । के गर्नुहुन्छ त टीकाजी, अर्काको खुट्टाले हिड्नु परेपछि हाम्रो के लाग्यो र ?” मैले शान्त्वना दिएँ ।

यसैबेला एकजना चालकले पन्ध्रजना मान्छे पुगेमा नेपालगञ्ज जान सकिने कुरा हामीलाई बतायो । हामीसंगै एकदुईजना अरु नेपालगंज पुग्ने यात्री पनि थिए । यस कुराले हामीहरु धेरै खुशी भयौँ । हामीहरु सबैले अब थप यात्री खोज्नुपर्ने भएकोले बसपार्कमा भेटेजतिलाई ‘कहाँ जाने हो, दाइ ? नेपालगञ्ज जानेभए जाउँ’ भन्दै घुम्न थाल्यौँ । बल्लतल्ल आठजना पुगेपछि हामी त्यस चालकको माइक्रो बसमा बस्यौँ । उसले यात्रु चाहार्न दुईतीन फन्का तुल्सीपुरको बजार परिक्रमा गरायो । हुँदाहुँदा नेपालगंज जाने यात्री सोह्रसत्र जना नै पुग्यौँ । बसको सिट भरिएपछि अब भने बस नेपालगंजको बाटोतिर हानियो । बाटोमा अरु यात्रीहरु पनि चढे । पन्ध्रजनाको सिटमा पच्चीसजनासम्म खाँदिएर बस्नुपर्नेभयो ।

दाङको उपत्यका काटेपछि केही बेरमै हामी अमिलियामाथिको घनाजङ्गल हुँदै ओरालो झर्न थाल्यौँ । अत्यधिक यात्रुका कारणले त्यस बसको ब्रेक नै फेल भएछ । ठूलो आवाज निकाल्दै बस  अनियन्त्रित हुनपुग्यो । बसलाई चालकले पहाडका भित्तापट्टिको नालामा जोताएकोले बस सडकमै अडियो । यात्रुहरुको होशहवासै उड्यो । बसबाट झरेपछि अँध्यारोमा सडकछेउको भीरलाई हेर्यौँ । अँध्यारोमा भीरको फेद त देखिँदैनथ्यो, तर केही गर्दा बस सडकदेखि तल झरेको भए कसैको पनि जिवितै उद्वार हुन नसक्ने भने पक्का थियो । अमिलियादेखि हामी अझै पाँचसात किलोमिटर माथि नै थियौँ । केही यात्रुहरु ‘ब्रेक फेल भएको गाडीमा चढेर प्राणको बाजी किन थाप्ने ?’ भन्दै पैदल यात्रा नै शुरु गरे । अमिलियाको जङ्गलमा प्रायजसो चोर लागेर बस तथा यात्रु लुटेको खबर
आइरहन्थ्यो । अतः ‘एक्लै हिड्नुभन्दा समूहमा त्यतै बस्नु नै बेश’ भनेर बाँकि यात्रु त्यतै बस कुरेर बस्यौँ । चालक तथा खलासीले बसका पुर्जा तथा तारलाई जोडजाड पारी यात्रीलाई अमिलियासम्म पुर्याइदिने आश्वासन दिए । घण्टौँको कुराइपछि बसलाई अमिलिया पुर्याउने सम्मको मर्मत काम सकिएको जानकारी पाएपछि हामी बसमा बस्यौँ । बसलाई बिस्तारै हाँक्यो चालकले । बसलाई अत्यन्तै बिस्तारै हाँकेकोले खतरा अझै उस्तै रहेको बुझ्यौँ हामीले । अनजान खतराभन्दा जानिएको खतरा अत्यन्तै पीडादायक हुँदोरहेछ क्यारे, हामीलाई अमिलिया पुग्न घण्टौँ लागेजस्तै भयो । जाडोमा पनि केही यात्रुका त अनुहारैभरि चिटचिट पसिना आइसकेका थिए । हातगोडा लल्याकलुलुक भइसकेका थिए र ओठमुख सुकेका थिए । अमिलिया पुगेपछि माइक्रो बसवालाले गाडी त्यतै रोकेर अब ब्रेकफेल भएको गाडी लिएर अगाडि बढ्दा जनधनको जोखिम हुनसक्ने कुरा बुझायो र नेपालगंजसम्मको लागि तिरिसकेको भाडा फिर्ता नगरेर त्यसको सट्टा हामीलाई तीनवटा ट्रकमा चढाएर कोहलपुरसम्मको लागि पठायो । तुल्सीपुरबाट नेपालगंजसम्म एकसय किलोमिटरभन्दा बढीको दूरीको लागि भाडा रु. प्रति यात्रु ३५० को दरले जम्मा रु ७००० भन्दा बढी रकम उसलाई भुक्तानी गरी, हामीले जम्मा २२ किलोमिटर मात्र पार गरेका थियौँ । बसवालाले भने तीनवटै ट्रकलाई सबै यात्रुको जम्माजम्मी रु पाँच सयभन्दा बढी भुक्तानी गरेन । यसबाट के देखियो भने गाडी मर्मतलाई लाग्ने खर्च बाहेक उसले पाँच हजारभन्दा बढी  हामीबाट नै कमाइसकेको थियो ।

ट्रकको कोचाकोचको कठिन यात्रा फेरि शुरु भयो । आखिरमा हामी राति १ बजेपछि मात्र कोहलपुर पुग्यौँ र टीकाजीको घर त्यतै भएकोले हाम्रो त्यतै बास भयो । भोलिपल्ट हामी गोष्ठीको लागि तयार भयौँ । कोहलपुरबाट नेपालगंज पुग्न विभिन्न सवारी साधनको विभिन्न प्रकारको भाडा दर रहेको रहेछ । ‘कुन सवारी साधनमा चढ्दा कति भाडा दर तिर्नुपर्छ’ भन्ने कुरामा यात्रु अन्यौलमा रहने भएकोले यात्रु र कन्डक्टरबीच कचकच भइराख्दो रहेछ । त्यस्तै हाम्रो भाडामा पनि भयो ।

मैले भनेँ, “छाड्दिनोस् टीकाजी, पाँचदश रुपैयाँको लागि कति कचकच गर्नू ?”

टीकाजीले भने, “होइन सर, तपाईँ पो वर्षौँ वर्षमा एकपटक मात्र आउँदा पाँचदश रुपैयाँको हिसाब नगर्नुहोला । हामी त दैनिक अपडाउन गर्दा पाँचदश रुपैयाँले महिनामा छ सयभन्दा बढीको दरले वर्षमा दश हजार रुपैँयाँ त अनावश्यक रुपमा ठगिन मात्र पुग्छौँ । कसरी छाड्ने यिनीहरुलाई ? यी पनि कम्तीका छन् र यात्रुपिच्छे अलगअलग भाडा लिन्छन् ।”

तीनदिनसम्मल नेपालगंजदेखि कोहलपुर र कोहलपुरदेखि नेपालगंजसम्म ओहोरदोहोरको यात्रामा यस्तै कचकच सुनिराख्नु पर्यो ।

गोष्ठीको अन्तिम दिनमा अलि छिट्टै समापन भएकोले मैले टीकाजीलाई रुपइडिया घुम्न जाने प्रस्ताव राखेँ ।

टीकाजीले भने, “आऽऽऽ सर, किन जानू त्यो बजारमा ? किनमेल केही भए यतै नेपालगंज गरे भैहाल्छ । त्यो बजार सम्झ्यो कि मेरो त टाउको मात्र दुख्छ ।”

“जाउँ न जाउँ । यता नआएको वर्षौँ भयो, किनमेल नभए पनि छिमेकी मुलुकको बजार कस्तो भएछ । बिहार प्रदेशले त विकासमा फड्को नै मार्यो रे । नजिकैको बजार त हेरौँ ।” मैले टीकाजीलाई कर गरेँ । टीकाजीले मन नभई नभई मेरो साथ दिने भए । रिक्शावालसंग मोलतोल गरी असी रुपैयाँ दिने शर्तमा हामीले एउटा रिक्शामा चढ्यौँ र नेपालगंजबाट रुपइडिया बजारतिर लाग्यौँ ।

रिक्शाबाट झर्नेबित्तिकै एकजना मगन्ते आइमाइ पैंसा माग्न आइपुगी । हामीले एक रुपैयाँ दियौँ, उसले साथ छोडिन, पाँच दियौँ, छोडिन, दश दियौँ, छोडिन । ऊ हाम्रा पछिपछि लागिरही । हाम्रो किनमेल खासै केही थिएन । मालवाहक गाडीको लाम, हजारौँ रिक्शा र सैयौँ मोटरसाइकलको हर्न, बजारियाहरुको हल्लाखल्ला, किनमेल गर्नेको घुइँचो, गाडी र सडकको धुलोधुइरो, त्यसैमा “………… जाने/लिने हो, दाइ ?” भन्दै खल्ती छामछुम पार्नेको पनि उत्तिकै भीड, पीच उध्रिएको सडकमा महिनौँ थुप्रिएको फोहोर, भुसिया कुकुरहरुको भुकाइ र घुराइ, वश्, यस्तै थियो, त्यस बजारको विशेषता । हामी यही भीडलाई छिचोल्दै रेल हेर्ने भनी रेल स्टेशनतिर लाग्यौँ ।

“यतै हो सर, अस्ति जाजरकोटतिरका कालापारेहरुलाई ‘……. सुँघाएर’ बेहोश पारी तिनीहरुको वर्षौँको कमाइ लुटेको । यस्ता लुटाइका घटना दैनिक घटिरहन्छन् यता, खबरमा थोरै आउँछन् मात्रै ।” टीकाजीले थकित हाँसो हाँस्दै सुनाए ।

मैले भने यस्तै हो, “विकृत बजारको विशेषता !” म उनीभन्दा अलि बढी जान्ने कहलाएँ ।

“यहाँ त बजारमा चोरिएको पैंसा घुम्दैघुम्दै सुरक्षाकर्मीको पञ्जाबाट निस्किन्छ, भन्छन् । हामीसंग पो अहिले पैंसा छैन र ढुक्कसंग हिँडेका छौँ । दशबीस हजार गोजीमा भैदिए कति त्राहीत्राही भइ हिड्नुपर्दो हो यहाँ !” टीकाजीले यसलाई कसरी डराउन सकिन्छ भनी तौलिए जस्तो लाग्यो मलाई ।

मैले आफ्नै ठूल्दाइ बम्बैबाट पैंसा कमाइ फर्किँदा यसै ठाउँमा वेहोश भई नेपागंज हस्पिटलमा एकजोर लगाएको कपडासंग मात्र भेटिएको कुरा पनि सम्झिएँ ।

टीकाजीले फेरि थपे, “के गर्नु सर, हामीलाई पनि शान्तिपूर्ण रुपमा बाँच्न गाह्रो भइसक्यो । यताका यस्ता कुरा सबै सिकिसके हाम्रातिरकाले पनि ।”

“खुल्ला सिमाना छ । वस्तु, विचार, प्रविधि, संस्कृति, सबै कुरा सजिलै आदानप्रदान हुन्छन् । विश्वबजार अझै खुल्ला हुँदैछ । सबैले सबै कुरा सिक्नै पर्यो नि !” मैले व्यङ्ग्य गरेँ ।

“यस्तै हो त सर, बजार भनेको ?” रेलवे स्टेशनको कुर्सीमा बसेपछि टीकाजीले मलाई सोधे । मैले अर्थशास्त्रमा डिग्रि सकेको बीस वर्ष नाघिसकेकोले बजारको परिभाषा भुलिसकेको थिएँ, के हो ठ्याक्कै भन्न सक्दैनथेँ । सायद शिक्षक जागिरी नछाडेको भए यी परिभाषा मलाई कण्ठस्थ हुन्थे होलान् । अहिले मेरो जागिरी फरक छ । यस्ता कुरा मैले जान्नु र सिक्नु पनि आवश्यक छैन । तर टीकाजीलाई जवाफ दिनैपर्नेछ ।

अतः म जानिटोपलेँ, “टीकाजी, बजार भनेको यसरी बुझ्नोस्, कोमल वलीको ‘गोजीमा गाँठ भा’को, मनमा आँट भा’को’ भन्ने गीत त सुन्नुभाको होला हैन ? हो त्यही हो बजार भनेको । न त बजार भनेको शहर हो, न मान्छेको समूह मात्र हो । मान्छेमा किन्ने क्षमता र तत्परता नभई बजार सिर्जना हुँदैन । आफूसंग वस्तु वा सेवा हुनेले ग्राहकको गोजीमा कति पैंसा छ भनी अड्कल गर्नुपर्छ र सकेसम्म बढी भुक्तान गराउन प्रेरित गर्नुपर्छ बजारको सिद्धान्तमा ।”

“उसोभए यी मगन्ते र चोरहरु पनि बजारकै अंश हुन् त सर ? हाम्रा गोजीमा भएको पैंसा त अड्कल गरेर नझारि छाड्दैनन् नि यिनीहरुले त ।” मगन्ते अलि परको बेञ्चमा गएर बसेकी थिई ।

“हैन टीकाजी, उनीहरुले बलजफ्ती ग्राहकको इच्छाविपरीत गोजीको गाँठ फुत्क्याउने कोशिस गर्ने भएकोले ती त लुटेरा हुन् । बजार होइनन् । बजार हुनलाई त ग्राहकको चित्त बुझ्दो र सक्दो सेवा प्रदान गरेर गोजी रित्याउने प्रयत्न हुनुपर्छ ।”

“ए त्यसो हो सर बजार भनेको ? मैले त बजार भनेको सानो शहर होला पो भनठानेको थिएँ त । उसो भए हाम्रो यात्राको क्रममा घटेका सानातिना सबै घटना बजारकै उदाहरण हुन् त सर ?” टीकाजीले ठट्टा गर्दै सोधे ।

“किन नहुनू ? हुन् नि । कुनै वस्तु, कुनै सेवा र कुनै क्याश इन ह्याण्ड हुन् । गोजीमा गाँठ नभए पनि वस्तु वा सेवा त छ नि उनीहरुमा । यसैगरी हामीले यो यात्रा थालनी गर्दादेखि यहाँसम्म आइपुग्दा घटेका सबै घटनाहरु लगायत हाम्रा दैनिक जीवनमा घट्ने सबै आर्थिक क्रियाकलापहरु बजारसंगै सम्बन्धित छन् । यस्ता क्रियाकलापहरुले भने विकृत रुप लिइरहेका छन् । अमिलियाको जङ्गलमा भएको बसको ब्रेकफेलको घटना पनि बजारको घृणित तर सुनियोजित उदाहरण हुनसक्छ । माइक्रो बसवालाले हाम्रो तिर्ने क्षमता तथा तत्परता बुझ्यो र हामीले बुझ्न नसक्ने हिसाबले तार्किक घटना रच्यो, अनि बीच बाटोमै अलपत्र पारी पैंसा असुल्यो र आफ्नो स्वार्थ पूरा गर्यो बस् ।” मैले जानी नजानी जवाफ दिएँ ।

हामी बस्दै गर्दा रेलले सिठ्ठी फुक्यो । मान्छेहरु गुड्दै गरेको रेलमा कुद्दै पक्रन खोज्दै गरेको दृश्य रमाइलो थियो । रेल हिँडिसकेपछि हामी त्यहाँबाट फर्कियौँ । त्यसपछि एउटा रिक्शामा चढ्यौँ र भन्सारको गेटसम्म पुर्याउन भन्यौँ । त्यहाँबाट मगन्ते पनि, त्यतै छुटी  रिक्शावालले तोकिएको स्थलसम्म छाडेपछि रिक्शा भाडा पचास रुपैयाँ दिन भन्यो ।

बजारदेखि भन्सार गेटसम्म पैदल दश मिनेट पनि थिएन र सालाखाला दश रुपैँया लाग्ने भाडादरको सट्टा पचास रुपैँया माग्दा कसको रिस उठ्दैन्थ्यो र । मनपरी भाडा मागेकोमा हामीले उसलाई हप्काउन खोज्यौँऽ उसले झनै हामीसंग पाखुरा सुर्कन थाल्यो । हामीले लाचार भई पचास रुपैयाँ फालिदियौँ । अनि फेरि अर्को माइक्रो बस समात्यौँ ।

रुपइडिया बजारदेखि नेपालगंज पुग्दासम्म झण्डै दश ठाउँमा हाम्रो रित्तो झोलाको चेकजाँच गरियो । बाटाभरि बीचबीचमा मुन्द्रेहरुसंगको हाम्रो वार्तालाप, उनीहरुको आश्चर्यजनक सम्बन्धको प्रत्यक्ष दर्शन लगायत अनेक हाँसउठ्दा बिडम्बनापूर्ण घटनाहरु घटिरहे ।

यी घटनाहरु देखेर टीकाजी भने हाँसो थाम्न सकिरहेका थिएनन् । उनले घरिघरि भन्दै थिए, “गोजीमा गाँठ भा’का, मनमा आँट भा’का हैन त सर ?”

२०७० माघ २८, तुलसीपुर, दाङ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *