व्यक्ति विशेष

गुरूपूर्णिमाका गुरू

करिब तेह्र वर्ष शिक्षण सेवामा संलग्न रहेर निजामती सेवातिर लागियो । शुरुमा त यता छिरेर ठीकै गरेछु कि जस्तो लागेको थियो तर त्यो भ्रम मात्र रहेछ । शिक्षण पेशा अरु पेशाहरुभन्दा किन सम्मानित पेशा हो भन्ने कुरा गुरु पूर्णिमाले पनि छर्लङ्ग पार्दो रहेछ ।

धन्न शुरुमा शिक्षण पेशातिर नलागेको भए गुरुपूर्णिमाको दिनमा पूरै जीवन खेर गएको अनूभूति मात्र हात लाग्दोरहेछ ।खुशी लागिरहेको छ कि शुरुमा कमाएका शिक्षार्थीहरुको अनुहारको खुशीको रङ हेरेर उनीहरुको खुशीमा आफ्नो खुशी देख्ने दिन आएका छन् । आफूले जमानामा रोपेको वृक्षबाट फलफूलहरु लटरम्म फलेको अनुभूति हात लागेको छ ।

आज यो विशेष दिनमा धेरै विद्यार्थीहरुले मलाई सम्झिए । कतिले फोन गरे । कतिले मेसेन्जरमा मेसेज गरे । कतिले सामाजिक सञ्जाल रङ्गाउँदा मेरो रङ पनि प्रयोग गरे । त्यसो त मैले पनि मेरा धेरै गुरुहरुलाई सम्झिएँ पनि । सामाजिक सञ्जालमा केही महत्त्वपूर्ण गुरुको नाम उल्लेख गर्दा झन् महत्त्वपूर्ण गुरु छुट्ने पनि उत्तिकै सम्भावना देखेकोले आफ्ना गुरुहरुको नाम भने उल्लेख गरिनँ ।

आजको यस विशेष दिनमा विभिन्न चेलाहरुको फेसबुक स्टाटसहरुमध्ये खासगरी Binaram को स्टाटसले मलाई चुम्बकले झैँ तान्यो र फुत्कने बल नगरेसम्म त्यही स्टाटसमा अँठ्याइराख्यो । हामी गुरुहरुले बिनाराम जस्ता शिष्यहरुले चाहना गरेजस्तै गुणहरु अवलम्वन गर्न सक्यौँ या सकेनौँ ? भन्ने कुरामा दिमागले चक्कर काटिरह्यो । उनले गुरुको महिमा गाउँदै भनेका छन्

* आफ्नो पहिचान र स्वत्व गुमाएर असत्यको अगाडि नझुक्ने

* चाकडी¸ चाप्लुसी¸ षडयन्त्र¸ तिकडम¸ दाउपेच र धोकाधडीभन्दा बरु एकल संघर्षकै बाटो रोज्ने

* आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्न तत्पर रही स्वावलम्बी र स्वतन्त्र नागरिक बन्न प्रेरित गर्ने

* निरन्तर शारीरिक परिश्रममा जोडिइ आफुलाई चाहिने अन्नपानी आफै उत्पादन गर्ने आदि

असल गुणहरु अवलम्बन गर्नसक्नेलाई असल गुरु भन्न खोजेको जस्तो देखिन्छ । हुन पनि गुरुहरुमा यस्ता गुणहरु कायम भएमा त्यस्ता गुरुलाई यो वा त्यो नभनी असल गुरु मानेर सबैले पुज्छन् । गुरुको भूमिका अक्षर चिनाउने मात्र होइन चेलाहरुलाई सुशिक्षित र सुसंस्कृत तुल्याउने हो । गुरुको भूमिकामा रहनुभएका सबै व्यक्तिहरुको लागि यी कुराहरु मननीय छन् ।

यदि गुरुहरुले उल्लिखित गुणहरु कायम राख्न सक्नु भएन भने यो गुरुहरुप्रति गरिएको मजाक एवम् खिसिट्युरी सावित हुनेछ । किनभने गुरु समाजको यस्तो वर्ग हो जुन अरु कुनै वर्गसँग तुलना गर्न सकिँदैन । शिष्यहरुले तुल्याइदिएको उच्चासनबाट एक इन्च पनि ओर्लने छुट छैन र हुनुहुँदैन पनि ।‍यस विशेष अवसरमा विभिन्न माध्यमबाट गुरुको रुपमा मलाई सम्झने तथा सम्झन चाहने लगायत मेरा सम्पूर्ण शिष्यहरुलाई उत्तरोत्तर प्रगतिको शुभाशिष । सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *