गुप्ता दह यात्राका जिद्दीवालहरू
गुप्ता दहको यात्राको क्रममा ज्यानै फाल्न तम्सने कीर्तिमानी जिद्दीवालहरूको कथा
जिद्दी नं ८: महेश कठायत (जाजरकोट, खलङ्गा)
महेश कठायत गुप्ता यात्राको लागि मुटु कँपाउने चिसो सिरेठोसँग पौँठेजोरी खेल्दै चौरजहारीबाटै देउखोलासम्म बाइकमा बेपत्तासँग बत्तिने एक मात्र व्यक्ति हुन् । बाइकमा तीब्र बेगमा बत्तिँदा पनि एक हातले बाइक अड्याएर अर्को हातले वरपरको भएभरको फोटो तथा भिडियो खिच्दै गए, टिकटक बनाउँदै गए । देउखोलापछिको पैदल यात्रामा तेर्सोमा होस् वा उकालीमा, बगरमा होस् कि पहरमा निरन्तर कम्मर मर्काएर नाचे, कन्दरा थर्काएर गाए । यसरी उनले यात्रीहरूको थकाइलाई मेटाउँदै बाटो काट्न सजिलो तुल्याएका थिए ।
बाटोमा उनी कतै पछि परेनन् । खानपिनमा पनि उनी पछि परेनन् । गुप्ताको किनारैभरि हिउँको ठाँड थियो । रगत जमाउने गुप्ताको तालमा अरू दुईजना साथीहरू पसेको देखेपछि उनी त्यहाँ पनि पछि परेनन् । उनले आफूले पनि कपडा खोलेर साथीहरूलाई साथ दिए । गुप्तालाई गोठका भैँसीहरूले नराम्रोसँग गिजोलेकोले पानी निकै धमिलो थियो । दहको तल्लो सतह हिलाम्मे थियो । दहको गहिराइको कुनै भरपर्दो अनुमान थिएन । कहाँनेर खसिने हो कहाँनेर फसिने हो कुनै ठेगान थिएन । तथापि अरू दुईजना साथीहरूसँगै कुमकुमसम्म पानी आउन्जेल दहमा रह खेल्दै केन्द्रतिर हेलिए । वरफिलो दहको ठण्डी खपिनसक्नु भएपछि उनी हत्तपत्त बाहिर निस्किए ।
उनले वरफिलो दहमा थप समय बिताएको भए बाहिर निस्कन उनलाई धौधौ पर्ने थियो ।
जिद्दी नं ७: पृथ्वी रिजाल (तिपतारा, रुकुम पूर्व)
तिप्तराका पृथ्वी रिजाल गुप्ता दहमा भैँसी चराउने लेकाली क्षेत्रका अनुभवी गोठाला हुन् । तथापि उनलाई हिउँदमा गुप्ता कस्तो हुन्छ पटक्कै अनुभव थिएन । उनी गुप्तामा नपुगेको बीसौँ वर्ष भइसकेकोले गृष्मको गुप्ता र शिशीरको सिस्ने पनि भुसुक्कै बिर्सिसकेका थिए । ओलीबाट अकस्मात् गुप्ता जाने प्रस्ताव आएपछि उनी दोधारमा परे । तर ओलीको बोलीलाई खेर फाल्ने उनको मनले मानेन । बरू त्यो मनले ओलीको टोलीलाई झोली बोकेर साथ दिन जिद्दी गर्यो ।
उनका छिमेकीहरूले यस्तो जाडोमा गुप्ता जाँदा जिउँदै फर्कन सम्भव नभएको भन्दै नजान बिन्ती गरे पनि उनले मानेनन् र यी नौरङ्गे जिद्दीवालहरूको पछि लागे । उनले तिप्तरादेखि भट्टेचौरसम्मको भौगोलिक, ऐतिहासिक तथा सामाजिक पक्षहरूको बारेमा यात्रीहरूलाई एक एक जानकारी दिँदै गए । उनले ओख्रेनाकै बाटो जान जिद्दी गरिरहे, तथापि भट्टेचौरबाट सिधै उक्लन खोज्ने जिद्दीवालहरूसँग हारे । गुप्ता पुगेर फर्कँदातक मृत्युको नजिकै गुज्रिरहेका जिद्दीवाल साथीहरूको क्रियाकलाप हेरेर उनले मन दुखाए, मुटु कँपाए ।
जिद्दी नं ६: नरेन्द्र बुढामगर (चौरजहारी, रुकुम पश्चिम)
यस यात्राका मुख्य सवारी व्यवस्थापक चौरजहारीका नरेन्द्र बुढामगर थिए । यस हिसाबले यो यात्राको श्रेय प्रमुख उनलाई नै जान्छ । उनले गाडी पूर्वनिर्धारित समयमै चौरजहारीबाट हिडाएको भए यो यात्रामा २ घण्टा बच्ने थियो र यात्रा टोली सजिलै ओख्रेना पुगेर बास बस्ने सम्भावना थियो । उनले आफू साविकमा कार्यरत रुकुमकोटस्थित कार्यालयमा पुर्याएर यात्री टोलीलाई खाना खुवाउने जिद्दी गरे ।
भोकाएका साथीहरूले फ्वाँसे मिष्ठान्न भोजन गर्न त पाए तर त्यहाँ यात्रा अरू १ घण्टा ढिला हुन पुग्यो । धेरै लामो यात्रामा ननिस्केका नरेन्द्र नाच्दै गाउँदै हिँडाइमा समेत तन्नेरीको झाँक त देखाए, तर हिड्न नसक्नेलाई छोड्नसक्ने स्थिति थिएन । फलस्वरूप जति बल गर्दा पनि रात परिसकेपछि बल्लबल्ल टोली बल्लेचौर मात्र पुग्न सक्यो र ओख्रेनाको लक्ष्य भेटिएन । ओख्रेना पुगेको भए त्यहाँबाट गुप्ता पुग्न बाटो छोटो पर्ने भएकोले छिटो हिड्ने र ढिला हिड्ने यात्रीबिच धेरै अन्तर पर्ने थिएन र ब्याट्री सकिएको ड्रोन पुनः उडाउन जिद्दी गर्ने अवस्था सिर्जना हुने थिएन, न गुप्ता दहको अतल गहिराइमा मुख बाएर पर्खीबसेको कालको मुखमा साथीहरूलाई धकेल्ने वातावरण बन्दथ्यो ।
जिद्दी नं ५: ताराप्रकाश पुनः (भलाक्चा, रुकुम पश्चिम)
ओलीकै लहैलहैमा लागेर विपरीत परिस्थिति प्रतिकूल मौसम र प्रतिकूल स्वास्थ्यको परवाह नगरी ताराप्रकाशले पनि यो जोखिमयुक्त यात्रामा सहभागी हुने निर्णय गरे । उनी लामो समयदेखि पायल्सको उपचार गराइरहेका दीर्घबिरामी यात्री थिए र उनलाई अत्यधिक यात्रा, अतिरिक्त खानपिन वर्जित थियो । देउखोलातकको यात्राको लागि गाडी पूर्वनिर्धारित समयभन्दा निकै ढिला गरेकोले गाडी नआउन्जेल जत्ता पुगिन्छ त्यत्तै पुग्ने भन्दै मोटरबाटोमा फालहालिरहेको ओलीकै मतिमा लागी उनी पनि ६ किलोमिटरजति पैदल फालहाल्न बाध्य भए । जबकि यही बाटो हुँदै गाडी आउँदै थियो र मोटरबाटो सकिएपछि २० घण्टातक त जसरी पनि हिड्नु नै थियो ।
देउखोलापछिको पैदल यात्रामा पछिपछि परिरहेको ओलीलाई साथ दिने ताराप्रकाश नै एक सहयात्री थिए । जब सानीभेरीको बगरमा बाटो हरायो नयाँ यात्रीहरू अलमलमा परेको मौका छोपी ओली बाटो देखाउने कहलिँदै अघि लागेकोले ताराप्रकाशले ओलीलाई पछ्याउन छोड्नन् । बाटो भुलिसकेर पनि नभुलेको बहाना गर्दै तारेभिरतिर सोझिएको ओलीका पछिपछि लागेका तारालाई अन्य यात्रीहरूले त्यता नजानुहोस् तारा सर भन्दै सतर्क गराउँदा गराउँदै पनि केही लागेन । उनलाई के लागेछ भने यो फिस्टे ओली चढ्ने भिरमा मैले चढ्न नसक्ने हुन्छ ?? उनी पनि जिद्दी गर्दै भिरमा उक्लन जोसिए । तर उनलाई भिर पार गर्न झनै महामुस्किल पर्यो किनकि उनको जिउ नै बडेमानको थियो । उनले बाँदर हिड्ने बाटोमा हात्ती हिड्न सक्दैन भन्ने कुरा चटक्कै बिर्सिए । उनी भिरको बिच भागमा पुगेर फसे । तर ओली त माथि पुगिसकेको थियो अतः उनले भिरभन्दा चुनौती ओलीको जिद्दीलाई देखे र ऊदेखि नहार्न भिरको माथितिर घस्रिन थाले । उनी भिरमा मुख बाइरहेको कालबाट बालबाल बच्न सफल भए ।
उनले पायल्सले अधोअङ्गबाट धावा बोलिरहेको परवाह गरेनन् । साथीहरूसँगै उफ्रीउफ्री नाचे, कम्मर दश ठाउँमा भाँचे । बेलुका साथीहरूको मत लागेर डाक्टरले जे नखानू भनेका त्यही खाए । जे नगर्नू भनेका थिए त्यही गरे । जे गर्नू भनेका थिए, त्योचाँहि गरेनन् ।
जिद्दी नं ४: काशीराम ओली (चौतारा, रुकुम पश्चिम)
मुसीकोट १२ का बासिन्दा तर मुसीकोटभन्दा लामो समयतक सिस्नेलीहरूको स्वास्थ्य सेवामा बिताएका काशीरामले यो टोलीलाई गुप्तातिरको यात्रामा भट्टेचौरबाट साथ दिएका थिए । कहिल्यै नदेखेका र कतै नचिनेका यात्रीहरूलाई आफ्नो अपरिहार्य काम छोडेर रात बिरात साथ दिन खोज्नु उनको बिराट हृदयको परिचय थियो । उनले भट्टेचौर बास बस्न पुगेका यात्रीहरूलाई कुनै कसर बाँकी नराखी सहयोग गरे । उनले अन्तिममा सुत्ने र सर्वप्रथम उठ्ने दुवैखाले यात्रीहरूलाई मद्दत गर्न खोज्दा त्यो रात एक झप्का पनि सुत्न पाएनन् ।
उनले यस यात्रा टोलीलाई भट्टेचौरबाट बिहान भाले नबास्दैदेखि पथप्रदर्शन गर्न थालेका थिए । पछि परेको टोलीलाई बिचबिचका दोबाटोहरूमा हरिया स्याउलाहरू राखिदिएर तथा फोनबाट गोडा फाट, सतर्क, दायाँ हिँड, बायाँ हिँड भन्दै मार्ग निर्देशन गरेर सबै यात्रीलाई समयमै सकुशल गुप्ता पुर्याइछोडे ।
जब गुप्तामा आफ्नो टोलीका साथीहरू दुर्बोध्य ठण्डा दहमा पसे उनले पनि सहयोग गर्नुपर्ने कर्तव्य ठानेर आफ्नो ज्यानको परवाह नगरी वरफिलो दहमा सँगसँगै पसेर नवपरिचित साथीहरूलाई सकेको साथ दिए । दहमा डुब्नै थालेका कविन्द्रलाई अँठ्याएर तानेर उचालेर बचाइरहे । चिसो खप्न गाह्रो भएपछि उनी तालबाट बाहिर निस्किए । बाहिर निस्कँदा उनको शिरभन्दा मुनिको जम्मै अङ्ग रगत जमेर निलो भइसकेको थियो । हातखुट्टा अचल हुँदै थिए । बाहिर निस्किएपछि आफूलाई निल्न आँटेको सन्निकट कालबाट बचाउन बेपरवाहसँग तालको वरिपरि बेसमारी कुदिरहे । यदि १ मिनेट मात्र तालमा ढिला गरेको भए काशीरामको रगत परोपकारको खातिर सदाको लागि जम्ने सम्भावना थियो ।
जिद्दी नं ३: दिलबहादुर खडका (रातामाटा, रुकुम पश्चिम)
दिलबहादुर खडका पनि एक महिनाअघि ओलीकै टोलीमा मिसिएर गुप्ता पुगिसकेका थिए र फेरि यो प्रतिकूल मौसममा लहडी ओलीसँगै गुप्ता पुग्न जोसिएका थिए । बाटोमा उनको उमेर मझधारमा भएकोले घरी ओलीसँगै पछि पर्थे भने घरी तन्नेरी यात्रीहरूसँग अघि पुग्थे । तर उनले मधुपानको हिसाबमा भने कसैलाई उछिन्न दिन्नथे । उनी घरीघरी भन्थेः म गुप्ता ताल हेर्न आएको होइन, म त यताको मधुरसको तालमा डुब्न पो आएको हुँ ।
मुस्किलले राति साढे ७ बजेतिर यो यात्री टोली भट्टेचौरको एक मामुली होटेलमा आश्रय लिन पुगेको थियो । उनी होटेलमा पुग्नेबित्तिकै मधुपानको तालमा पौडी खेल्न थालिहाले । होटेलमा खाना पाक्नै २ घण्टा लाग्यो । सबै यात्रीहरू निद्रामा डुबिसक्दा पनि उनी मधुरसकै बटुकामै डुबिरहेका थिए ।
बिहान ४ बजे नै हिड्ने योजनाअनुसार यात्री टोली सखारै साढे तीनबजे नै उठिसकेको थियो । हिड्ने तयारी थाल्दा त्यहाँ दिलबहादुर देखिएनन् । उनी कता हराए भनेर एकछिन हल्लीखल्ली मच्चियो । सोधखोजपछि थाहा भयो उनी एकजना स्वास्थ्यकर्मीसँग पछि लागेर हिजो राति नै अर्कै ठाउँ सुत्न पुगेछन्। फोन गर्दा उनले आफू कहाँ छु भन्ने समेत थाहा नभएको र कुन बाटोबाट आए टोली भेटिन्छ भन्ने कुनै जानकारी नभएको बताए । हामीले स्वास्थ्यकर्मी काशीराम ओलीलाई यी जिद्दीवाललाई ल्याइदिएर छिट्टै आउन आग्रह गर्यौँ । तर उनले फोन साइलेन्ट मोडमा राखेर काशीरामलाई समेत नटेरेर फेरि मधुरसमा डुब्ने जिद्दी थालिसकेछन् । उनलाई पर्खँदा पर्खँदा चार बज्यो । साढे चार बज्यो र पाँच नै बज्यो तर दिलबहादुर छिट्टै आइपुग्ने कुनै सम्भावना देखिएन । उनी कतिखेर आउनेछन् भन्ने पनि अनिश्चित भएकोले यात्री टोली बाध्य भएर उनलाई त्यहीँ गाउँमा छोडेर गुप्ताको उकालो बाटो लागिहाल्यो ।
गुप्ता दह पुग्नुको मुख्य तात्पर्य हिमाल र प्रकृतिको दृश्यावलोकनको अतिरिक्त सिस्ने हिमाल तालमा पौडिरहेको सुन्दर एवम् अलौकिक दृश्य हेर्नु नै हो । त्यो दृश्य बिहान उज्यालो भएदेखि बिहानको नौ-दश बजेसम्म मात्र देखिन्छ । गुप्तादेखि नजिकका गाउँ लैपा र भट्टेचौरबाट गुप्ता पुग्न उस्तै समय अर्थात् करिब ५ घण्टा लाग्दछ । अतः बिहान ४ बजे नै यात्रा थालनी नगरे नौ-दश बजेभित्र गुप्ता पुगिँदैन र त्यसै दिनमा हेर्नैपर्ने मनमोहक दृश्य हराइसक्दछ । त्यो दृश्य हेर्न कि त त्यस दिन पनि त्यतै बास बस्नुपर्छ नत्र जुन दृश्य हेर्नुपर्ने थियो त्यो हेर्नै नपाएर यात्री फर्कनुपर्ने बाध्यता हुन्छ ।
अतः यहाँ एकजना दिलबहादुरको जिद्दीले गर्दा सबै यात्रीहरूले त्यो दृश्यावलोकनको अवसर गुमाउँदै थिए । यही परिस्थितिले गर्दा दिलबहादुरलाई त्यहीँ छोडेर हिड्न टोली बाध्य भयो ।
केही उकालो काटेपछि स्वास्थ्यकर्मी काशीराम ओली दिलबहादुरलाई ल्याएर यात्री टोलीलाई भेटाउन आइपुगे र हाम्रो पथप्रदर्शकको भूमिका निर्वाह गरे । यदि काशीराम नआइदिएको भए दिलबहादुरले एक्लै जङ्गलको यात्रा गर्नुपर्थ्यो । जङ्गलमा बाटो बिराएर वा जङ्गली जन्तुले आक्रमण गरेर धेरै मान्छे हराएको स्थानीयहरू बताउँछन् । यी जिद्दीवाललाई पनि यिनकै जिद्दीको कारण गुमाउने सम्भावना काशीरामको आकस्मिक र अतुलनीय सहयोगले गर्दा टर्यो ।
उनले गुप्ता पुगिसकेपछि ड्रोन पुनः उडाउन कविन्द्रसँग जिद्दी गरेका थिए । उनले यात्रा अवधिभर मधुरसको चुस्की लगाउन कतै पनि बाँकी राखेनन् । गुप्तादहभन्दा गहिरो ताल उनले बोत्तलमै भरेर ल्याएका थिए र त्यसैको करामतले उनलाई सिस्ने हिमालभन्दा अग्लो उचाइमा उचालिरहेको थियो । मधुरसपानमा झुमेका दिलबहादुरको अगाडि सबै प्राकृतिक दृश्यहरू फिका थिए ।
जिद्दी नं. २: पूर्ण ओली (सोलाबाङ, रुकुम पश्चिम)
मंसिरमा एकचोटि गुप्ता पुगिसकेको दुर्बल बबुरो यात्री एक महिनाकै अन्तरमा (पुसको सुरूमै) फेरि पनि २० घण्टाको पैदल यात्रामा निस्कन खोज्नु ओलीको दुस्साहसपूर्ण जिद्दी थियो । यस बिचमा न मौसममा उल्लेख्य फेरबदल थियो, न प्राकृतिक दृश्यावलोकनमा । उसो त उमेरले ५८ वर्षको यात्रा गर्दै गरेको ओलीको न शक्ति थियो, न सामर्थ्य । यसपालिका सबै यात्रीहरू ऊभन्दा बाह्रपन्ध्र वर्षभन्दा बढीले कान्छा थिए । उनीहरूसँग हिँडाइमा जोरी खोज्नु उसको अर्को दुस्साहस थियो ।
ओली यसअघि नै गुप्ता पुगिसकेको नाताले कविन्द्रले, ‘यो समयमा गुप्ता पुग्न सकिन्छ कि सकिँदैन र सकिने भए ३ जना यात्रीको टोलीबाट सम्भव छ कि छैन ?’ भनी सोधेका थिए । ओलीले चाहेको भए यो समयमा यात्रा थाल्दा मौसम प्रतिकूल भई निकै दुक्ख पाइने र एक्लै यात्रा गर्दा हुने सम्भावित दुर्घटनाहरूको उदाहरण दिँदै कविन्द्रलाई तर्साएर यो यात्रा रोक्न सक्थ्यो । तर उसले कविन्द्रलाई सजिलै जान सकिन्छ भनी झन् उचालिदियो । आफूले पनि यात्रा साथ दिने वचन दियो र केही यात्रीहरू थपथाप समेत पारिदियो ।
यसै त हिमाल आरोहीको लागि जहाँतहीँ जाडोले ठिहिर्याउने पुस महिना लेक आरोहणको हिसाबले झन् प्रतिकूल थियो । तर अल्लारे साथीहरूको लहैलहैमा ऊ पनि जोसियो । अघिल्लोचोटि पुगिसकेको हुँदा ऊ पथप्रदर्शक भई टोपल्यो र यात्राको नाइके पनि भयो । देउखोलापछि भालुखाप्चेको भिरमा खनिएको बाटोमा अरू साथीहरूलाई डोर्याउँदै ऊ अगाडि बढ्यो ।
सानीभेरीको बगरमा नयाँ काठेपुल हालिएको रहेछ । पहिलोचोटिजस्तो पहिरोको उकालो चढ्नु नपर्दा ऊ मख्ख पर्यो । जब बाटोले पुल तर्यो अनि तितरबितर हुन पुग्यो । ओलीले एउटा सानो डोरेटोबाट अरू यात्रीलाई डोर्याउन थाल्यो । अरूले, ‘यो त नाइगार जाने बाटोजस्तो छैन ? भन्दा भन्दै सही बाटो यही हो भन्ने जिद्दी कस्दै ओलीले सबै यात्रीहरूलाई सानीभेरी साँघुरिएको भयङ्कर ओढारको मुखमै पुर्यायो ।
माथितिर छङ्गाछुर भिर थियो । अगाडि सानीभेरीको हुङ्कारसहितको विशाल मल्टो । यहाँसम्म पछ्याइएको डोरेटो बिलाइसकेको थियो । बाँकी यात्रीहरू बिलखबन्दमा परेर अलि परै विश्राम गरिरहेका थिए । ओली भने भिरको पहरमा उक्लिन खोज्यो, सकेन । अनि आफूलाई भिरमा उकाल्न ताराप्रकाश पुनलाई आह्वान गर्यो । ताराप्रकाशले ओलीलाई काँध थापेर भिरमा दुई पाइला माथि चढाइदिए । ऊ फेरि आफ्नै बलले अर्को चार पाइला भिरमाथि सर्यो । त्यहाँबाट तलतिर हेर्दा पनि आँखा रिङ्ने घोप्टे भिर र माथिपट्टि पनि निकै अग्लो भिर थियो । अब न माथि जान सकिने अवस्था थियो न तल झर्न सकिने सम्भावना थियो । काँध थाप्ने ताराप्रकाश तलै छुटिसकेकाले उनको काँधको सहयोग लिने सम्भावना टरिसकेको थियो ।
उसको जिउ मात्र होइन पाइतालामा समेत खलखली पसिनाको खोलो बग्न थाल्यो । हजारौँ वर्ष पहिलेदेखि सानीभेरीको प्रबल बेगले ताछिएका चिप्ला पत्थरहरू त्यस भिरभरि टाँसिएका थिए । ती पत्थरका कापकापबाट सुकिसकेका झुलेखरका (सिताको कपाल) बुटा निस्किएका थिए । हात र खुट्टाका सहारा ती झुलेखर (तारे) मात्र थिए । हातले झुलेखर समातेर झुलखरमै पाइताला अड्याउँदै कि वार कि पार भन्दै ऊ तारेभिरको माथितिर घस्रन थाल्यो । सुकेको खर सजिलै उखेलिन पनि सक्थ्यो टेकेको खरको चिप्लिन पनि सक्थ्यो । यात्राको नायक नै भिरबाट चिप्लिएर ढुनमुनिँदै सानीभेरीको मुल्टोमा पर्ने प्रबल सम्भावना टार्दै मुस्किलले ऊ बाँच्न सफल भयो । बिचमै यात्रा टुङ्गिने सम्भावना पनि टरेर गयो ।
उकालोमा उसलाई एक पाइला पनि सार्न धौधौ पर्थ्यो । उसले एक पाइला चाल्दा अरूले चार पाइला चालिसकेका हुन्थे । ऊ एकबाँस उकालो काट्दा अरूले चारबाँस उकालो काटिसक्थे । दमको स्याँस्याँले घरीघरी सास नै बुजिएला झैँ हुन्थ्यो । बेलाबेला अत्यधिक थकान र कमजोरीले आँखामा झ्वाँला छुट्थे । रिँगटा लागेर ताराका फूलहरू देखिन्थे । तर उसले कदापि यात्रा त्यागेन । उकालोमा निरन्तर घस्रिरह्यो घस्रिरह्यो । भट्टेचौरमा उसको लागि पकाइएको खाना अरूले उछिट्याउँदा पनि उसले परवाह गरेन र आधापेट नै सुत्यो । भट्टेचौरदेखिको उकालो झनै दुरुह थियो, तथापि उसले हार खाएन । गुप्ता पुगेपछि स्यानीदहलाई पनि एक चक्कर लगायो र कोही नघुमेको ठुलीदहमा पनि एक फन्का मार्यो ।
जिद्दी नं १: कविन्द्र पुन (चाइनाबगर, रुकुम पश्चिम)
यसपालिको यात्राको प्रस्ताव गर्ने मुख्य व्यक्ति कविन्द्र पुन नै हुन् । उनकै जिद्दीले गर्दा यो यात्राको सुरुवात भएको थियो । उनी सबै प्रकारका कलाका सौखिन पनि हुन् । बहुमुखी प्रतिभाशाली व्यक्तित्व हुन् । इनडोर र आउटडोर खेलका प्रतिष्पर्धी पनि हुन् ।
उनले ड्रोनको सहायताले बनाएका विभिन्न स्थलहरूको भिडियोक्लिपहरू निकै भाइरल भएका थिए । ३ जनाले मात्र गुप्ताको यात्रा सम्भव छ छैन भनी उनले मसँग जिज्ञासा राखेका थिए । यस जिज्ञासामा मैले नै उच्च हिमालहरूको उदाहरण दिँदै यात्रीलाई मौसमले अवरोध नगर्ने बताएको थिएँ र उनलाई यात्रा गर्न आफूले पनि साथ दिने भन्दै हौस्याएको थिएँ । यात्राको एक दिन अघि, ‘बादल आइरहेकोले यस्तो अवस्थामा यात्रा तय गर्दा यात्रामा कठिनाइ होला नि ?’ भनी उनको मन जाँच्न खोज्दा उनले, ‘यात्रीले कहिले पनि हुरी, बतास, झरी, चर्को घाम र हिम वर्षा, जङ्गल, जङ्गली जन्तु भिर पाखा भनेर देखि डराउँदैन । बरु यात्रामा यस्तै विपरीत परिस्थितिहरू सिर्जना भए झन् रमाइन्छ भन्दै उच्च आत्मबलको परिचय दिएका थिए ।
उनले यात्रालाई सक्दो मनोरञ्जक तुल्याउन लाउडस्पिकर तथा माइक समेत बोकेर ल्याएका थिए र बाटोभरि साथीहरूलाई नचाउँदै बाटो काट्न सहज बनाएका थिए । भर्जिन लेकको गुप्ताङ्गहरूको फोटो खिचेर भाइरल तुल्याउने उद्देश्यले उनले भर्खरै किनेको ड्रोन पनि साथमा ल्याएका थिए । उनको भनाइअनुसार उक्त ड्रोनको मूल्य दुई लाख पचास हजारको थियो ।
भट्टेचौरबाट भने उनी ढिला हिड्ने साथीहरूलाई पछाडि नै छोडेर अघिअघि लागे । अरूभन्दा अघि नै गुप्ता पुगेर ड्रोनबाट चारैतिरको फोटोहरू लिन भ्याए । पछिल्लो टोली आइपुगेपछि उनीहरूले पुनः ड्रोन उडाउन माग गरे । पुनले ड्रोनको ब्याट्री सकिएको जानकारी दिए । तर साथीहरूको जिद्दीबाट हारेर पुनः ड्रोन उडाए । जब ड्रोन उड्यो उनी साथीहरूलाई नचाउन गीत खोज्न थाले । ड्रोन तालको माथि आइपुगेको उनलाई हेक्कै रहेन । ड्रोनलाई सुरक्षित अवतरण नगराउँदै ड्रोन एक्कासि तालमा डुब्न पुग्यो । लाम्चो तालको एकातिर यात्री टोली नाच्ने तयारीमा थियो भने विपरीत भागमा ड्रोन खसेकोले कसैले पनि खसेको ठाउँ अड्कल गर्न सकेन ।
उनको बहुमूल्य सम्पत्ति मात्र होइन, यात्रा अवधिभर विभिन्न स्थलहरूमा ड्रोनबाट लिइएका सबै फोटो र भिडियोहरू तालमा डुबिसकेका थिए । उनको गुप्ता भ्रमणको मूल प्रयोजन नै कसैले खिच्न नसकेका गुप्ता वरपरका स्थलहरूको नविनतम् भिडियोहरू खिचेर भाइरल बनाउनु थियो । उनको त्यो इरादा पनि डुबेको थियो ।
उनलाई आफ्नो ज्यानको भन्दा ड्रोनको माया बढी लाग्यो । उनी ताल भित्रबाट खोजेर ड्रोन झिकिछाड्न तम्सिए । यसको लागि साथीभाइहरूलाई हारगुहार गरे । महेश र काशीरामले उनलाई साथ दिनेभए । ताल वरिपरि हिउँ टम्म जमेको थियो । पानी छुँदा पनि आगोले पोलेजत्तिकै ठण्डीपनले रननन पोल्थ्यो । त्यति ठण्डा वरफिलो दहमा उनी सर्वाङ्ग नाङ्गिएर झ्वाम्मै हाम फाले । उनलाई बचाउन नवपरिचित यात्री काशीराम पनि वरफतुल्य तालमा हाम फाले । तालको पानी औधी ठण्डा मात्र होइन हिलाम्मे थियो । कति गहिरो छ भन्ने कुनै अनुमान नै थिएन । यही तालमा केही महिनाअघि एकजना डुबेर मरेको पृथ्वीराज रिजालले बताउँदै थिए । कविन्द्रलाई सघाउन महेशले पनि तालमा पछ्याए तर उनी चिसोको मारवश् टिक्न नसकेर तुरुन्त फर्किए । छन त ड्रोनको रिमोट कविन्द्रकै हातमा थियो तर त्यसले दिएको सिग्नलले घरी दायाँ र बायाँ देखाएर छक्काइरहेको थियो ।
उनीहरूले करिब १० मिनेटतक तालको वरफतुल्य पानी घाँटीसम्म नआउन्जेल खुट्टाले छाम्दै डुबेको ड्रोन यताउता खोजिरहे । रिमोटको सेन्सरले केही गरी पनि ड्रोन फेला पार्न सकेन । शरीरमा रक्तसञ्चार बन्द हुन आँटेको चाल पाएपछि मात्र कविन्द्र तालबाट बाहिर निस्किए । उनी तालको किनारमा मुस्किलले फर्किए र करिब करिब बेहोसी अवस्थामा अत्यधिक ठण्डीले गर्दा धेरै बेरसम्म लुगलुग काँपिरहे । उनले १ मिनेट मात्र ढिला गरेको भए वा उनको खुट्टा हिलोमा फसेको भए अढाइ लाखको ड्रोनसँगै कविन्द्रको अमूल्य शरीर पनि डुब्ने थियो । उनी मात्र डुब्ने थिएनन् उनकै जिद्दीका कारण उनीसँगै सहयात्री महेश र नव सहयात्री काशीराम पनि डुब्ने थिए र यात्री टोली सबैभन्दा अपृय एवम् दुखद समाचार मात्र ल्याएर फर्कन बाध्य हुनेथियो ।
उनलाई ड्रोन डुबेको पीडा त छँदै थियो, त्यो निकाल्नको लागि सबै यात्रीहरूले आआफ्नो तरहबाट सहयोग गर्न नसकेको खेद पनि थियो । सबै यात्रीले ड्रोनलाई साझा सम्पत्ति ठानेर सायद एकैचोटि तालमा पसेको भए ड्रोन भेटिन पनि सक्थ्यो तर कहिल्यै तालमा नपसेका र रह खेल्न नजानेकाहरू तालमा पस्दा मानवीय क्षति भएको भए त्यसको दोष भने कविन्द्रमा नै जान सक्थ्यो ।
यो यात्रामा लाखौँको भौतिक क्षति बहोर्नुपरे पनि बलियो भाग्यले गर्दा मानवीय क्षति हुनबाट टोली जोगियो । अनेकथरी जिद्दीहरूले गर्दा यात्रामा अनेकौँ जोखिम सिर्जना भए पनि एक एक टरेर गए । यात्रीहरूले नजिकैबाट सेताम्य हिमलहरको अनुपम दृश्य हेर्न पाए । हिउँको तन्ना बिछ्याएर निस्लोट सुतेका दुई गुप्तादहहरू घण्टौँतक मनग्गे हेर्न पाए । गुप्ताको दुवैतिरको प्रकृति भूगोल र सामाजिक अवस्थालाई नजिकैबाट नियाल्न पाए । अन्तमा अनेकौँ अनुभूति सँगालेर यात्रा टोली सकुशल आआफ्नो घरमा फर्कियो ।
यति उत्तेजक र रोमाञ्चक यात्रा न कहिले भएको थियो न पछि कहिले हुने नै छ । सकुशल फर्कनुपर्छ यात्राको मज्जा यसैमा छ ।





![]()
Post Comment