व्यक्ति विशेषसंस्मरण

के तपाईँ यो मान्छेलाई चिन्नुहुन्छ ?

जब मेरो दिमागमा केही खेल्छ, त्यो कुरा चालपाएर यो मेरो दिलको आँगनीमा झोला लिएर टुप्लुक्क देखा परिहाल्छ । यसले दिमागमा खेलिरहेका मेरा शब्दहरु माग्छ । ती शब्दहरुमा रस भर्छु भनेर लोभ देखाउँछ, आकार भर्छु भनेर मरिहत्ते गर्छ । म पत्याउँदिन । ऊ मेरा हरेक शब्दहरुलाई सजाएर सुरक्षित राखेको भकारी नै ल्याएर देखाउँछ । म तीनछक् पर्छु योसँग ।

मैले यो मान्छेबाट यस किसिमको आशा कहिले पनि गरेको थिइनँ । मेरै लागि यतिविधि श्रम, सिप र लागत ऊ एक्लैले किन खर्च गर्यो ?

मैले यसलाई राम्रोसँग चिन्दिन । हामी उमेर, पढाइ, जागिरी, मित्रता तथा अन्य सामाजिक सम्बन्धको हिसाबले समकालीन वा नजिकका हुँदैहोइनौँ । अहिले त ऊसँग जिल्लाकै अन्तर छ । सुन्छुः ऊ प्रगतिको पाइलामा अघि लम्किरहेको छ । हाम्रो संवाद शून्यप्रायः छ । तै पनि किन ऊ मलाई यतिविधि गुण लगाइरहन खोज्छ ?

मैले कतै व्यक्त गरेका शब्दहरुलाई यदि साहित्यको नाम दिन लायक छ भने त्यो साहित्यमा ९० प्रतिशत भूमिका यही मान्छेको रहेको छ । यसले नै कुतकुत्याइरहन्छ मलाई केही कुरा अभिव्यक्त गर्न । किनकि ती शब्दहरुको बीउ राख्ने अभियानमा छ ऊ ।

उसलाई नै महत्त्व दिन चाहेको मुख्य दुई कारण छन् ।

एकः मैले साहित्यतिर कलम चलाउन थालेदेखि ३८ वर्षको होउन्जेलसम्म सिर्जना गरेका सबै रचनाहरु तत्कालीन राजनीतिक परिवेशको भयवश् मेरो बाले पाखोमा लिएर खौलो खनेर गाडिदिनुभएछ । जब धेरैपछि यो कुरा थाहा पाएर बाले देखाएअनुसारको ठाउँहरुमा मैले खौलाहरुका डोब उधिनेर हेरेँ, पन्ध्रबीस वर्षसम्मको वातावरणीय तथा जैविक प्रभावले मेरो वर्षौँवर्षको सबै परिश्रम माटोतुल्य भैसकेको रहेछ । म पश्चात्तापको भूमरिमा फसेँ । यो पीडाले म झण्डै एक दशक लेखन कार्यमा हात बाँधेर बसेँ । अब न त ती रचनाहरुलाई पुनर्जिवित गर्न सकिन्छऽ न त त्यस परिवेशमा लेखिएका शब्दहरु यो प्रौढावस्थाको दिमागमा पुनःउत्पादन गर्न सकिन्छ ।

यो मान्छेले अब त्यसरी क्षति हुने सम्भावनाबाट मेरा लेखाइहरुलाई जोगाउने उद्देश्यले वातावरणीय तथा जैविक प्रतिरोधक भकारी निशुल्क उपलब्ध गराइदिएको छ । त्यो भकारी हेर्न चाहनुहुन्छ भने purnaoli.com.np मा पुग्नसक्नुहुन्छ तपाईँहरु पनि ।

दुईः यो कहिल्यै भुल्ननसकिने गुणस्वरुप उपहार प्राप्त गरेपछि यति शब्द खर्चिनको लागि आफ्नै जीवनका आरोहअवरोह र त्यसले छोडेको दीर्घकालीन छापले मलाई उपयुक्त अवसरको खोजी गर्नबाट टाढै अलमल्याईरह्यो । मेरो लागि आज त्यो अवसर प्राप्त भएको ठानेको छु र यो दिनमा मैले दुईचार शब्द खर्च नगर्दा यो मान्छेप्रति न्याय नहुने देखी आज यी शब्दहरु खर्च गरिरहेको छु ।

………………..आज मेरो अति नै पृय यो मान्छेको जन्मदिवस रहेछ ।……………..यहाँले चालेका हरेक पाइलाहरु सफल बनून् । परिवार सधैँ सुखमय रहोस् । सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको मस्तै मस्तै कामना ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *