कल्चु
मेरी बहिनी सानी छँदा हाम्रो परिवारले उसलाई ‘काली’ भनी बोलाउने गर्थे । उसलाई अरुले काली भने पनि म त उसको नाम बिगारेर अझ ‘कल्चु’ भन्थेँ । ऊ सानी छँदा निकै ढिपाहा थिई । उसलाई मन परेको कुरा भएन कि रडाको मच्चाउँथी । सबैभन्दा बढी आमालाई सताउँथी ऊ । आमालाई राम्रोसंग आराम गर्न त के सुत्नखान समेत दिँदैनथी, दिनभर, रातभर । मलाई भने उसले देखी सहँदैनथी । म उसको नजिक परेँ कि ‘ऐया ! मलाई यल्ले कुट्यो आमा !’ भनी आमालाई उजुर गर्थी, जबकी मैले उसलाई कुट्न त के छोएको समेत हुँदैनथेँ ।
उसले मलाई किन यसो गर्थी भने मैले पनि उसलाई हैरान पार्थेँ । अरुले ‘काली’ भन्दा मैले ‘कल्चु’ भन्थेँ । आधा भाँडो पानी राखेर हल्लाउँथेँ । भाँडोले ‘कल्चेकल्चे’ आवाज निकाल्थ्यो । अनि त के चाहियो र ! ‘मलाई दाइले गाली गर्यो, आमा !’ भन्दै डागो छोडेर रुन्थी । उसलाई नजिक पायो कि मैले कि उसको चिउँडी समातेर उचाल्थेँ कि चिमोट्थेँ, कहिले त पिटिदिन्थेँ । ऊ रोएको खुब आनन्द आउँथ्यो मलाई । आमाले कुचैकुचोले पिट्नुहुन्थ्यो मलाई, अनि ऊ खुब रमाउथी ।
ऊ अलि ठूली भई । अब पढ्नुपर्ने बेला पनि आयो । उसले ‘अ आ क ख’ सिक्न थाली । मैले नै उसलाई बाह्रखरी सिकाउनु पर्थ्यो । बडेमानको ‘क’ लेखेर उसलाई जिस्क्याउँथेँ । किनकि ‘क’ बाट कल्चु आउँथ्यो । अनि ऊ रुँदै सिलोटपाटी लात्तीले हिर्काएर त्यहाँबाट आमा भएतिर कुद्थी । मैले फकाई फकाई पढाउँथेँ । मेरो अगाडि उसले कहिले पनि ‘क’ उच्चारण गरिन । अरु अक्षर भने मैले सोचेभन्दा धेरै छिटो सिक्न पुगी । उसको सिकाइमा कुन मनोविज्ञानले काम गर्यो ? म अहिलेसम्म पनि भन्न सक्तिन । उसले पढ्दै गई, सिक्दै गई, तर बच्चाबच्ची देख्यो कि मेरो जिस्क्याउने बानीले गर्दा मेरो नजिक पर्न ऊ सँधै डराउँथी । उसलाई पढाउन मैले उसका गल्ती पनि देखाइदिन्थेँ र उसका राम्रा पक्षको पनि प्रशंशा गरिदिन्थेँ ।
स्नातक तह पास गरेपछि उसले स्थायी जागिरी खोज्ने प्रयत्न गरी । त्यसबेला उसको तयारीको लागि वातावरण पूरै प्रतिकूल थियो । मैले कुनै सहयोग गर्न सक्तैनथेँ उसलाई । खालि दुई कुरा मात्र सिकाउँथे उसलाई ।
एउटा, ‘धैर्य र आफूलाई विश्वास गर्न सिक्’ भन्ने कुरा,
अर्को, ‘कुनै कुरालाई पनि सतही रुपमा नहेर् । कम्तीमा तीन चार पटकको सुक्ष्म अध्ययन गरेर विश्लेषण गर् र त्यसको निचोड निकाल् ।’
ऊ ठूली होउन्जेल जिस्क्याइरहन्थेँ – ‘क’ देख्ने बित्तिकै रुने कराउने होइन नि फेरि ।’
आखिर उसले सोचेको समयभन्दा छिट्टो स्थायी जागिरीमा नाम निकालेर छोडी । ऊ अहिले कृतज्ञ हुँदै भन्छे- ‘दाइ, तपाईँले जे गर्नुभएको थियो, मेरै लागि गर्नुभएको रहेछ ।’
मेरा मित्रहरु, मैले कहिले पनि र कसैलाई पनि होच्याउन बिगार्न वा कुनै नियोजित स्वार्थ लुट्न अरुलाई आलोचना गरेको छैन । मेरो डिस्नरीमा शत्रु भन्ने शब्द नै छैन । तर सबैले मप्रति पनि यस्तै भावना राख्नुपर्छ भन्ने पनि छैन । मलाई विभिन्न मान्छेले विविध कोणबाट हेर्ने गरेको म पनि बुझ्छु, जुन कुरा स्वाभाविक नै हो । सबैले एकनाश भावना राख्ने भए, यो संसार स्वर्ग बन्थ्यो होला ।