×

“कर्णाली घुमाउरै पर्यो लौरी बगाउँदैन, बैरागीको जल्ने मन डुली अघाउँदैन ।”

“कर्णाली घुमाउरै पर्यो लौरी बगाउँदैन, बैरागीको जल्ने मन डुली अघाउँदैन ।”

मध्यपश्चिम तथा सुदूरपश्चिमतिर गाइने ठाडी भाकालाई हामीले बेबास्ता गर्दछौँ र “क्याम्पस पढ्न आउनी, ………..चित्त बुझाउनी” जस्ता गीतहरु सुनेर मख्ख पर्छौँ । त्यसैको फर्माइस गर्छौँ । साहित्यका अर्थ, रस र अनुरागले हामीलाई छुने गर्दैन । त्यसो त यहाँका कलाकारहरुले ठाडी भाकामा आधारित धेरै गीतहरुको रचना गर्ने, गाउने र गीतबाट आफ्ना भावना आम श्रोतासम्म पुर्याउने काम नगरेका होइनन् । तर जति गर्नुपर्ने हो त्यति खोजी, संरक्षण तथा प्रसारका कामहरु नभएजस्तो अनुभूति हुन्छ ।

आधुनिक गीत तथा साहित्यका विभिन्न विधामा जति भाव खाँद्ने प्रयास गरेको पाइन्छ त्योभन्दा सैयौँ गुणा बढी भाव ठाडी भाकामा लुकेको हुन्छ । गीतमा अनुराग हुने मित्रहरुले मनन गर्नहोस् त, यी ठाडी भाकामा आधारित दुई लहर  :-

“कर्णाली घुमाउरै पर्यो लौरी बगाउँदैन

बैरागीको जल्ने मन डुली अघाउँदैन ।”

मैले यसरी  बुझेँ :-

नेपालको सबभन्दा लामो नदी एवम् विशाल नदीहरुमध्ये तेस्रो कर्णाली नदी, जो निरन्तर आफ्नै गन्तव्यतिर बगिरहेको थियो, अद्यापि बगिरहेको छ र बगिरहनेछ । तर परिस्थिति यस्तो सिर्जना भयो कि बग्दाबग्दै कतै घुमाउरो पर्नुपर्ने अवस्था आइपर्यो । प्राकृतिक रुपमै नदीका आफ्नै भिन्नै र थुप्रै विशेषता छन् । ती मध्ये बगाउने काम पनि एउटा हो । पूरै गाउँ नै बगाउने क्षमता राख्ने विशाल नदी यस्तो अवस्थाबाट गुज्रनु पर्यो कि एउटा सानो काठ समेत बगाउन सक्ने क्षमता उसमा बाँकी रहेन ।

अनि नदीकै विशेषता र विशालता बोक्ने एकजना मान्छे । होला, कुनै आर्थिक  वा सामाजिक वा राजनैतिक वा सांस्कृतिक वा पारिवारिक वितण्डाहरुबाट वाक्क भएर बैरागी हुन पुग्यो । बैरागी भएकै कारणले अझै उसको मन जलिरहेको छ । त्यो ज्वलनले छटपटाइरहेको छ ऊ । जलिरहेको मुटुलाई शितलता प्रदान गर्न उ डुल्न/घुम्न चाहन्छ र भुल्न चाहन्छ विगतलाई । भुल्न पटक्कै सक्तैन ।

कठै ! कर्णाली बनेर आफ्नो निश्चित उद्देश्यमा लम्कन खोजेको एउटा व्यक्तिलाई घुमाउरो परिस्थितिले बैरागी तुल्याइ सिन्कै भाँच्न नसक्ने अवस्थामा पुर्याएको दर्दनाक घटना र यो परिस्थितिबाट उम्कन प्रयास गर्दागर्दै असफल भएको व्यक्तिको सम्पूर्ण कथाव्यथा माथिका दुई लहरमै अटाएको छ । ठाडी भाकाका यस्ता कैयौँ गीतहरु छन् जो इतिहासको गर्तमा बिलाइरहेका छन् । हाम्रो संस्कृतिलाई धनी तुल्याउन सक्ने र अर्थमा सम्पूर्णता बोक्ने ठाडी भाकाका यस्तै लहर जस्ता कुनै एक लहर आधुनिक साहित्यलाई पूरै उधिन्दा पनि भेट्टाउन मुश्किलै पर्ला ।

Loading

Post Comment

You May Have Missed