“कर्णाली घुमाउरै पर्यो लौरी बगाउँदैन, बैरागीको जल्ने मन डुली अघाउँदैन ।”
मध्यपश्चिम तथा सुदूरपश्चिमतिर गाइने ठाडी भाकालाई हामीले बेबास्ता गर्दछौँ र “क्याम्पस पढ्न आउनी, ………..चित्त बुझाउनी” जस्ता गीतहरु सुनेर मख्ख पर्छौँ । त्यसैको फर्माइस गर्छौँ । साहित्यका अर्थ, रस र अनुरागले हामीलाई छुने गर्दैन । त्यसो त यहाँका कलाकारहरुले ठाडी भाकामा आधारित धेरै गीतहरुको रचना गर्ने, गाउने र गीतबाट आफ्ना भावना आम श्रोतासम्म पुर्याउने काम नगरेका होइनन् । तर जति गर्नुपर्ने हो त्यति खोजी, संरक्षण तथा प्रसारका कामहरु नभएजस्तो अनुभूति हुन्छ ।
आधुनिक गीत तथा साहित्यका विभिन्न विधामा जति भाव खाँद्ने प्रयास गरेको पाइन्छ त्योभन्दा सैयौँ गुणा बढी भाव ठाडी भाकामा लुकेको हुन्छ । गीतमा अनुराग हुने मित्रहरुले मनन गर्नहोस् त, यी ठाडी भाकामा आधारित दुई लहर :-
“कर्णाली घुमाउरै पर्यो लौरी बगाउँदैन
बैरागीको जल्ने मन डुली अघाउँदैन ।”
मैले यसरी बुझेँ :-
नेपालको सबभन्दा लामो नदी एवम् विशाल नदीहरुमध्ये तेस्रो कर्णाली नदी, जो निरन्तर आफ्नै गन्तव्यतिर बगिरहेको थियो, अद्यापि बगिरहेको छ र बगिरहनेछ । तर परिस्थिति यस्तो सिर्जना भयो कि बग्दाबग्दै कतै घुमाउरो पर्नुपर्ने अवस्था आइपर्यो । प्राकृतिक रुपमै नदीका आफ्नै भिन्नै र थुप्रै विशेषता छन् । ती मध्ये बगाउने काम पनि एउटा हो । पूरै गाउँ नै बगाउने क्षमता राख्ने विशाल नदी यस्तो अवस्थाबाट गुज्रनु पर्यो कि एउटा सानो काठ समेत बगाउन सक्ने क्षमता उसमा बाँकी रहेन ।
अनि नदीकै विशेषता र विशालता बोक्ने एकजना मान्छे । होला, कुनै आर्थिक वा सामाजिक वा राजनैतिक वा सांस्कृतिक वा पारिवारिक वितण्डाहरुबाट वाक्क भएर बैरागी हुन पुग्यो । बैरागी भएकै कारणले अझै उसको मन जलिरहेको छ । त्यो ज्वलनले छटपटाइरहेको छ ऊ । जलिरहेको मुटुलाई शितलता प्रदान गर्न उ डुल्न/घुम्न चाहन्छ र भुल्न चाहन्छ विगतलाई । भुल्न पटक्कै सक्तैन ।
कठै ! कर्णाली बनेर आफ्नो निश्चित उद्देश्यमा लम्कन खोजेको एउटा व्यक्तिलाई घुमाउरो परिस्थितिले बैरागी तुल्याइ सिन्कै भाँच्न नसक्ने अवस्थामा पुर्याएको दर्दनाक घटना र यो परिस्थितिबाट उम्कन प्रयास गर्दागर्दै असफल भएको व्यक्तिको सम्पूर्ण कथाव्यथा माथिका दुई लहरमै अटाएको छ । ठाडी भाकाका यस्ता कैयौँ गीतहरु छन् जो इतिहासको गर्तमा बिलाइरहेका छन् । हाम्रो संस्कृतिलाई धनी तुल्याउन सक्ने र अर्थमा सम्पूर्णता बोक्ने ठाडी भाकाका यस्तै लहर जस्ता कुनै एक लहर आधुनिक साहित्यलाई पूरै उधिन्दा पनि भेट्टाउन मुश्किलै पर्ला ।