अन्तर्वार्ता

कथा सिद्धान्तको कसीमाः यालमाया र जितौरी

 (नेपाल टकको सम्पादनमा अन्तर्वार्ताकार आनन्द पुनले कथाको सिद्धान्तको कसीमाः जितौरी र यालमाया सम्बन्धमा कथाकार पूर्ण ओलीसँग लिएको अन्तर्वार्ताको मूल अंश यस्तो थियो । टिभि कार्यक्रममा उपलब्ध गराइएको समयअनुसार मूल अन्तर्वार्तालाई सम्पादन गरी नाइस टिभिबाट आँशिक प्रसारण गरिएको हो ।)

आनन्द पुनः छुट्टै पहिचान बोकेका तपाईँका दुई कथासङ्ग्रहहरु एकै दिन विमोचन भएर बजारमा पुगिसकेका छन् । ती पुस्तकहरुको बारेमा संक्षेपमा बताइदिनुहोस् ।

भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको जितौरी र साहित्यपोष्ट समूहले सम्पादन तथा प्रकाशन गरेको यालमाया अहिले बजारमा छन् । यालमायामा खासगरी सामाजिक सम्बन्ध उद्घाटन गर्न लेखिएका कथाहरु छन् भने जितौरीमा प्रशासनिक र राजनीतिक प्रणालीको यथास्थितिवादलाई व्यङ्ग्य गरिएका कथाहरु संग्रहित छन् ।

आनन्द पुनः कथा सुन्ने र सुनाउने परम्परा कहिलेदेखि चलेको हो ? संक्षेपमा बताइदिनुहोस् ।

पूर्ण ओलीः यो परम्परा भाषाको शक्ति प्राप्त भएदेखि नै चलिआएको हो । शिकारी युगमा पनि मान्छेले शिकार कसरी गरियो भन्ने विषयमा प्रत्यक्ष भोगेको कुरामा थपथाप पारी सुनाउँथे । त्यो मौखिक परम्परा अहिले पनि कायमै छ । साहित्यका अन्य विधाजस्तै यसमा धेरै सीमाहरुमा बाँधिनु नपर्ने भएकोले र रोचक चमत्कारिक मनोरञ्जनपूर्णको साथसाथै शिक्षाप्रद हुने हुँदा कथाको महत्त्व बढेको हो । लेख्ने र छाप्ने परम्पराको विकास भएपछि गद्यआख्यानहरुले मौलाउने अवसर पाए । पूर्वीय इतिहासलाई खोतल्ने हो भने इपू १५०० तिरको ऋग्वेद, पुराण, रामायण तथा महाभारतहरु कथै कथाले भरिएका छन् । यसै गरी कवि गुणाढ्यको वृहत्कथा, विष्णु शर्माको पन्चतन्त्र, वाणभट्टको कादम्बरी, दण्डीको दशकुमार चरित्, सोमदेवको कथा सरित्सागर, आदि पूर्वीय साहित्यका परम्परागत कथाहरु हुन् ।

पश्चिमी इतिहासलाई खोतल्ने हो भने इपू ३००० तिर नै कथाको परम्परा बसिसकेको सुन्न पाइन्छ । ईपू २००० तिर लेखिएको द शिपरेक्ड सेलर, त्यसपछिको किङ कियाप्स खुफू एण्ड द म्याजिसयन, द टु ब्रदर्स, सम्म पुग्न सकिन्छ । छैठौँ शताब्दीमा ईशप्स फेबल्सलाई फिड्रसले ल्याटिन भाषामा अनुवाद गरी युरोपमा खैलाबैला मच्चाएका थिए । स्हेराजाडको अरबेयिन नाइट पनि प्रसिद्ध हुन पुग्यो । बाइबलमा पनि निकै कथाहरु समेटिएका छन् । जेफ्री चेसरको क्यान्टवेरी टेल्स कथाको क्षेत्रमा नयाँ योगदान दिएको पाइन्छ । पश्चिमी जगतमा आधुनिक कथाहरुको लेखन परम्परा भने उन्नाइसौँ शताब्दीदेखि शुरु भएको हो । एड्गार आलन पो (१८०९-१८४९) लाई आधुनिक कथा चिन्तकको रुपमा लिइन्छ । उनको कथा सङ्ग्रह टेल्स अफ द ग्रोटेस्क एण्ड एरोबेस्क हो । यसै गरी नथ्यानियल हथर्नको ट्वाइस टोल्ड टेल्स । एच जेम्सको द प्रिन्सेज कारामसिमा । लियो निकोलेभिज टोल्स्टोयको वार एण्ड पिस, अन्नाकारिनिना । एन्टन पाभ्लोभ चेकभको द नेम डे पार्टी, द डोयल र द मेन इन अ केश तथा फ्रान्ज काफ्काको द मेटामर्फसिस आदि चर्चित छन् । ।

नेपाली भाषामा कथाको विकासक्रमलाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ ।

विसं १८२७ देखि १९५७ सम्मको रचना काललाई प्रारम्भिक काल भनिन्छ । शक्ति बल्लभ अर्ज्यालले वि.सं. १८२७ मा महाभारत विराटपर्व रचनालाई प्रारम्भिक कथा मानिन्छ । त्यसपछिका कथाहरु हितोपदेश मित्रलाभ, लक्ष्मीधर्म संवाद, हास्यकदम्ब, बेताल पञ्चाविशति, पिनासको कथा, दशकुमार चरित्र, मुन्सीका तीन आहान, स्वस्थानी व्रतकथा, मुद्राराक्षस कथा, सत्यनारायण कथा, गोर्खा हास्य मञ्जरी आदि हुन् । यी कथाहरु धार्मिक, पौराणिकमूलक, नीतिमूलक, मनोरञ्जनात्मक हुने गर्दथे ।

विसं १९५८ देखि १९९० सम्मको रचना काललाई माध्यमिक काल भनिन्छ । १९५८ मा गोरखापत्रको प्रकाशन हुन थालेपछि आफ्नै छापाको शुरुवात भएको हो । यस कालका कथाहरुमा प्राचीन प्रपञ्च, प्रत्यागमन, उट्पट्याङ हँस्सी, बदला, स्वर्गको साँचो, कर्मको फल, भूतलीला, फुट्कर कथा आदि हुन् । यी कथाहरु सामाजिक कथा, मनोरञ्जनात्मक कथा, धार्मिक, पौराणिक, नीतिमूलक, जासूसी प्रकारका हुन्थे । यस कालका कथाकारहरु शम्भूप्रसाद ढुंग्याल, शदाशिव शर्मा, सूर्यविक्रम ज्ञवाली, रुपनारायण सिंह, प्रेमसिँह आले, राममानसिँह गोर्खा आदि हुन् ।

आधुनिक कालको सुरुवात गुरुप्रसाद मैनालीले विसं १९९१ शारदा पत्रिकामा नासो कथा प्रकाशन गरेपश्चात् भएको मानिन्छ । यसै कालदेखि कथाहरुमा  विशुद्ध गद्यरुप, वस्तुपरकता, अतिमानवीय तत्त्वको वहिष्कार, बौद्धिक जागरण, संरचनात्मक परिपुष्टता देखिन थालेको हो । यस बेलाका कथाहरुलाई मुख्य गरी दुई भागमा बाँड्ने गरिन्छ । सामाजिक यथार्थवादी कथाकारहरुको रुपमा हृदयचन्द्रसिँह प्रधान, इन्द्र सुन्दास, पूर्णदास श्रेष्ठ, पुष्कर शमशेर, कृष्णवम मल्ल, पूर्णप्रसाद ब्राह्मण, भीमनिधि तिवारी, केशवराज पिँडाली, शिवकुमार राई आदिलाई लिइन्छ भने मनोवैज्ञानिक यथार्थवादी कथाकारहरुमा विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, गोविन्द गोठाले, विजय मल्ल, देवकुमारी थापा, परशु प्रधान, पारिजात, भाउपन्थी, माया ठकुरी, ध्रुवचन्द्र गौतम, मन ब्राजाकी आदिलाई लिइन्छ । आधुनिक कालका कथाहरुमा राष्ट्रिय स्वतन्त्रताको पक्षमा दृढोक्ति सीमा अतिक्रमणको विरोध, सामाजिक विकृति, नारी शोषणको विरोध, मानव अधिकारको स्थितिको विरोध, जनआन्दोलनको संस्मरण, राज्य आतङ्कको तिब्र विरोध, सहिद प्रति सम्मान, बामपन्थी आचरणमा देखिएको मूल्यहिनता, पलयान आदिको धज्जी उडाउनु, व्यवस्थामा परिवर्तन आए पनि शासन शैलीमा पुरानै प्रवृत्तिको विरोध, जातीय असमानता छुवाछुतको विरोध गरिएका कथाहरुको रचना गर्न थालिएको पाइन्छ ।

यसरी विभिन्न रचना कालमा विभिन्न कथाकारहरुले विविध रचनाशिल्पको प्रयोग गरेको पाइन्छ ।

आनन्द पुनः साहित्यको एक महत्त्वपूर्ण पाटो कथा विधामा आधुनिक कालका कथाहरुमा कस्ता कस्ता कथाशिल्पको प्रयोग भएका छन् त ?

पूर्ण ओलीः विभिन्न कथाकारहरुले आआफ्नै तरीकाले विभिन्न शिल्पको प्रयोग गर्न सक्तछन् । जस्तो कि घटनाप्रधानभन्दा चरित्रप्रधान कथाहरु रचना गर्ने । घटनाप्रधान कथाहरुमा पनि घटनालाई सजीव तुल्याउन सदृश्य घटनाको प्रयोग गर्ने, व्यक्ति-व्यक्ति, व्यक्ति-समाज, व्यक्ति-संस्कृति, व्यक्ति-प्रकृति, व्यक्तिको आफ्नै बिचार, व्यक्ति-नैतिकता द्वन्द्व निर्माण गर्ने,  द्वन्द्वमा सकभर उल्झन भर्ने, कौतुहल सिर्जना गर्ने आदि भयो । कथा रुढीको प्रयोग पनि पाइन्छ । जस्तैः कथामा आदि मध्य र अन्त्यको निर्वाह गर्ने । कथामा पाठकलाई संवेगात्मक उच्च बिन्दु क्लाइमेक्समा पुर्‍याउने र त्यसपछि कथालाई निर्णयमा पुर्‍याउन अवरोहात्मक वा सङ्घर्षह्रासको विधि अपनाई निष्कर्ष दिने पनि गरिन्छ ।

वैचारिक हिसाबले कथालाई आदर्शवाद, स्वच्छन्दतावाद, यथार्थवाद, प्रकृतवाद, मनोविश्लेषण, प्रगतिवाद, विसङ्गतिवाद, अतियथार्थवाद, नारीवाद आदि ढाँचामा ढाल्न पनि सक्ने भए । पछिल्लो समयमा आफ्नो स्थान परिवेशलाई झझल्क्याउन स्थानीय रङको प्रयोग/आञ्चलिकताको प्रयोग गर्ने गरिएको पनि पाइन्छ । तल्लो वर्गका चरित्रलाई नायकत्व प्रदान गर्ने यथार्थवादी कथाको प्रयोग पनि हुने गरेका छन् भने अन्य विविध खालका चरित्रहरुको प्रयोग पनि गर्ने गरिएको पाइन्छ । समाख्याता कथाभित्र पसेर कथा भन्ने आन्तरिक दृष्टिबिन्दुको प्रचलन पनि छ । यथार्थ स्वैरकल्पनाको प्रयोग पनि गरिन्छ । लोककथा र मिथकलाई समकालीन धरातल सुहाउँदो प्रयोग पनि हुने गरेको छ । कथा रचनामा पनि इन्डक्टिभ र डिडक्टिभ मेथडको प्रयोग पनि हुन सक्तछ । केही कथाकारहरुले भावुकताको सट्टा वैचारिकताको प्रयोग पनि गर्न सक्तछन् । आख्यानभित्रको एक महत्त्वपूर्ण विधा कथालाई रोचक एवम् सुन्दर तुल्याउन उपयुक्त बिम्ब तथा प्रतीकहरुको प्रयोग पनि गरिन्छ ।

आनन्द पुनः कथामा आख्यानको कुरा पनि आयो । आख्यान के हो ?  संक्षिप्तमा बताइदिनुहोस् न ।

पूर्ण ओलीः आख्यान संस्कृत स्रोतको तत्सम शब्द हो । ‘ख्या’ धातुमा ‘आ’ उपसर्ग र ‘अन’ प्रत्यय लागेर आख्यान बनेको हो । ‘ख्या’ को अर्थ बोल्नु घोषणा गर्नु भन्ने हुन्छ । आख्यान बुझाउने अङ्ग्रेजी शब्द फिक्सनको अर्थ बनाउने कला भन्ने हुन्छ जुन ल्याटिन भाषाको फिक्टियोबाट आएको हो । 

घटनालाई कल्पनाको माध्यमबाट अभिव्यक्त गर्ने कला नै आख्यान हो । सत्यकथा वा अवस्था भए पनि तथ्यका आधारमा नभई कल्पनाका आधारमा सिर्जना गरिने साहित्यलाई आख्यान भनिन्छ । बनाइएको कथा हो । आख्यानको उद्देश्य पाठकलाई मनोरञ्जन दिँदै बिचार सम्प्रेषण गर्नु हो । यो गद्यमा लेखिन्छ । आख्यानमा पनि कथानक, चरित्र, परिवेश, आदि तत्त्वहरुको प्रयोग हुन्छ । आख्यान कुन स्रोतबाट आयो भन्ने कुरामा पनि यसको विशेषता निर्भर रहन सक्तछ ।

आनन्द पुनः आख्यानका स्रोतहरु के कस्ता हुन्छन्  ?

पूर्ण ओलीः पूर्वीय आचार्यहरुले आख्यानलाई प्रख्यात उत्पाद्य र मिश्रित गरी तीन भागमा बाँडेको पाइन्छ । पहिले लेखिसकिएकोलाई प्रख्यात भनिन्छ लेखकले नयाँ सिर्जना गर्दछ भने उत्पाद्य र दुवैको प्रयोग भएमा मिश्रित हुनजान्छ । सामान्यतया आख्यानको प्रमुख स्रोत यथार्थ धरातल हो । त्यही धरातलभित्र सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक, वैज्ञानिक अवयवहरु हुन्छन् । जीवनको वास्तविकतालाई प्रतिबिम्बित गर्ने लेखन नै यथार्थवाद हो । यो वस्तु, समय र वातावरणको प्रत्यक्षीकरणसँग सम्बन्धित हुन्छ । अनुभवको संसारलाई प्रस्तुत गरिन्छ । कथाकारले मनोवैज्ञानिक तथा समाजशास्त्रीहरुसँग आफ्नो अनुभव साट्ने अवसर पाउँछ । यथार्थ चरित्र तथा घटनाहरुको प्रयोग हुन्छ । यसै गरी इतिहास दोस्रो महत्त्वपूर्ण स्रोत हुने भयो । ऐतिहासिक घटनाहरुलाई आधार तुल्याई रचना गरिएका आख्यानको स्रोत इतिहास हुने भयो । मिथक, रोमान्स, स्वैरकल्पना पनि आख्यानका स्रोतहरु नै हुन् । रोमान्स यथार्थवादको विपरीत हो जसमा आदर्श चरित्रको साहसिक आख्यान हुन्छ । प्रेमलाई सर्वोपरि महत्त्व दिइएको हुन्छ । अतिप्राकृतिक तथा अतिमानवीय विषयवस्तु समेटिएका मिथक पनि प्रचलनमा छन् जसमा अतिप्राकृतिक तथा अतिमानवीय विषयवस्तु समेटिएको हुन्छ । प्रागऐतिहासिक समयको कथा पुराकथा, लोककथा, लोकगाथा  आदि मिथककै अवयवहरु हुन् । समाजको चेतनामा आएका विश्वब्रह्माण्डको उत्पत्ति र ईश्वरको बारेमा कथा रचिँदै आएका छन् । जीवनमृत्यूको दर्शन तथा पुनर्जीवनका कथाहरु अद्यापि लेखिइरहेका छन् । काल्पनिक संसारमा जोड दिँदै अयथार्थ, जादू, असम्भव कुराहरु समेट्न स्वैरकल्पनाको प्रयोग हुन्छ । आधुनिकतम् विज्ञानको विकास तथा सूचना प्रविधिको द्रुततर परिवर्तनलाई पनि आख्यानको स्रोत मान्न सकिन्छ ।

आनन्द पुनः आख्यान कति प्रकारका छन् ? जितौरी र यालमाया कथा सङ्ग्रहरुमा कथाहरुको उदाहरण दिएर प्रष्ट पारिदिनुहोस् न ।

पूर्ण ओलीः शुरुमा काव्य बाहेक सबैलाई आख्यानको क्षेत्रभित्र राखिन्थ्यो । तर अहिले कथा, आत्मकथा, उपन्यास तथा नाटकलाई मात्र आख्यानभित्र समेटिएको पाइन्छ । अहिले त प्रविधिको माध्यमबाट सुन्ने कथा र हेर्ने कथा पनि रचिएका छन् । तथापि नाटक र हेर्ने कथालाई दृश्य आख्यानभित्र पर्ने भएकोले कथा र उपन्यासलाई मात्र आख्यान मान्ने पनि गरिन्छ । कथाभित्रका लामा कथा, छोटा कथा, लघुकथा तथा सूत्रकथा र उपन्यासभित्रका उपन्यास र बृहत उपन्यास आख्यानभित्र पर्दछन् । सूत्रकथा एक वाक्यमा लेखिन्छ । लघु कथा एकहजार शब्दभित्र अटाइन्छ । कथा बीसहजार शब्दसम्मको हुनसक्छ । लामो कथा तीसहजार शब्दसम्मको हुनसक्तछ । त्योभन्दा लामो कथाहरु उपन्यासभित्र राखिन्छ ।

आयतनको हिसाबले जितौरी र यालमायाभित्रका कथाहरु कथाभित्र पर्दछन् । अझ पाश्चात्य मतअनुसार त हामीले लेख्ने कथाहरु लघुकथा भित्र पर्दछन् । हाम्रा कथाहरुलाई Short Stories भन्ने गरिन्छ । मेरा कथाहरु दुईहजार शब्ददेखि सातहजार शब्दसम्मका मात्र छन् ।

सूत्रकथाः एक वाक्यको कथा
लघुकथाः एकहजार शब्दसम्मको कथा
कथाः एकहजारदेखि बीसहजार शब्दसम्मको कथा
लामाकथाः बीसहजारदेखि तीसहजार शब्दसम्मको कथा
उपन्यासः दुईलाख शब्दसम्मको  उपन्यास
बृहत उपन्यासः दुईलाख शब्दभन्दा बढी शब्दहरु भएको उपन्यास

शब्द सङ्ख्याकथाहरु
२००० देखि ४०००बढुवा, कृष्ण सुदामाको कथा, शम्भुदाइको विदाइ, माछे आँखो, खाजाखर्च प्रतिशोध, मालप्रेमी, यालमाया, मायाको पर्दा, ज्यानमाया, महामाया
४००० देखि ६०००मितज्यू, देशीचश्मा, अयोग्य लडाकुको कथा, अंशियार, केइहैना, मोराबाङ परिशीलन, लोककथा, गलफन, जालीमाया, देखीमाया, योगमाया,  प्रेमप्रस्ताव, माइसारा,
६००० देखि ८०००जितौरी, नौलो सेवा जेडप्रेस निर्माया

आनन्द पुनः कथा र उपन्यासमा मूलभूत भिन्नताहरु के के छन् ?

पूर्ण ओलीः कथा र उपन्यास दुवै आख्यानकै प्रकार भए पनि यिनीहरुको रचनापद्धति अलि फरक हुन्छ । माथि शब्द संख्याको आधारमा कथा र उपन्यासलाई अलग्याइएता पनि यी दुई अलग्गिने आधार त्यति मात्र नभई अरु धेरै अन्तरहरु छन् । कथा एकै बसाइमा पढिसकिन्छ । उपन्यास एक बसाइमा पढ्न सकिँदैन, धेरै विश्रामको आवश्यक पर्दछ । कथामा एउटै घटनाको उपस्थिति र विस्तार हुन्छ । उपन्यासमा धेरै घटनाहरु हुन्छन् । कथामा सहायक कथानक हुँदैन । उपन्यासमा सहायक कथानकको सम्भावना रहन्छ । कथामा थोरै पात्रहरु हुन्छन् उपन्यासमा धेरै पात्रहरु हुन्छन् । कथामा जीवनको एउटा पाटो व्यक्त हुन्छ, उपन्यासमा समग्र जीवनको प्रस्तुति हुन्छ । कथा कसिलो हुन्छ र अर्थका अनेक प्रभाव छोड्दछ । उपन्यासमा फुर्सद हुन्छ विश्लेषणात्मक हुन्छ । कथा संवेगले घचघच्याउँदा अकस्मात लेखिन्छ । उपन्यास लेखनमा गहन प्रतिबद्धता चाहिन्छ । कथा सुक्ष्म कला हो । उपन्यास जीवनलाई प्रस्ट्याउने हिसाबले अगाडि बढ्ने भएकोले बृहत हुन्छ ।

आनन्द पुनः कथा के हो ? थोरै परिभाषाले प्रस्ट्याइदिनुहोस् न !

पूर्ण ओलीः कथा कथ् धातुमा अङ तथा टाप् प्रत्यय लागेर बनेको तत्सम शब्द हो । यसको अर्थ वृत्तान्त भन्ने हुन्छ । अंग्रेजीमा यसलाई सर्ट स्टोरी भनिन्छ । पहिले टेल वा स्केच पनि भनिन्थ्यो । कथा एक वर्णनात्मक गद्याख्यान हो जसमा थोरै चरित्र, सीमित घटना र एउटा अवस्थाको एउटा सिलसिलावद्ध चित्रण हुन्छ । यसले संवेगको माध्यमबाट एउटै तर पूर्ण प्रभाव छोड्ने गर्दछ । यो एकै बसाइमा पढ्न सकिन्छ । कथानकको आरम्भ र अन्त्य विशेष हुन्छ । घटना, चरित्र, भाषा शैली र आदर्शको प्रयोग रोचक ढङ्गले गरिएको हुन्छ ।

आनन्द पुनः रचनाको आधारमा कथाको वर्गीकरण कसरी गरिएको हुन्छ ?

पूर्ण ओलीः कथालाई विभिन्न कोण तथा विभिन्न आयामबाट वर्गीकरण गर्न सकिन्छ । खासगरी विचारको आधारमा शैलीको आधारमा र धाराको आधारमा वर्गीकरण गर्ने चलन बढी छ । विचारको आधारमा वर्गीकरण गर्दा सामाजिक कथा, मनोवैज्ञानिक कथा, प्रगतिवादी कथा, अस्तित्ववादी कथा आदि हुन् । शैलीको आधारमा वर्गीकरण गर्दा पत्र शैलीका कथा, डायरी शैलीका कथा, घटना प्रधान शैलीका कथाः चरित्र प्रधान शैलीका कथा, प्रयोगवादी कथाहरु आदि पर्दछन् । यसैगरी       धाराको आधारमा वर्गीकरण गर्दा यथार्थवादी कथा, स्वच्छन्दतावादी कथा,  अस्तित्ववादी,  विसङ्गतिवादी,  निस्सारवादी प्रकृतिवादी,  प्रगतिवादी,  नारीवादी,  धार्मिक, पौराणिक, नैतिक उपदेशात्मक सामाजिक सुधारात्मक, यौन मनोविश्लषणवादी भनेर वर्गीकरण गरेको पाइन्छ ।

मेरा कथाहरुमा महामाया, परिशीलन, निर्माया, यालमायालाई मनोवैज्ञानिक कथा अन्तर्गत राख्न सकिन्छ । जितौरीका अधिकांश कथाहरु प्रगतिवादी कथा हुन् । मायाको पर्दा अस्तित्ववादी कथा हो । प्रेम प्रस्ताव, महामाया, निर्माया      घटना प्रधान शैलीका कथाहरु हुन् । जालीमाया, देखीमाया, मालप्रेमी, ज्यानमाया, गलफन चरित्र प्रधान शैलीका कथाहरु हुन् । मायाको पर्दा प्रयोगवादी कथाहरु हो । प्रतिशोध यथार्थवादी कथाः आदर्शोन्मुख कथा हो । सामाजिक यथार्थवादी कथा योगमाया हो । आलोचनात्मक अतियथार्थवादी कथा शम्भु दाइको विदाइ र नौलो सेवा जेडप्रेस हुन् । अस्तित्ववादी स्वच्छन्दतावादी कथा मायाको पर्दा हो । जालीमाया, मालप्रेमी आदि कथाहरुलाई विसङ्गतिवादी कथा मान्न सकिन्छ । देखीमाया प्रकृतिवादी हो । प्रगतिवादीः नारीवादीः प्रेम प्रस्ताव, यालमाया, योगमाया नारीवादी कथाहरु हुन् ।

आनन्द पुनः कथाका तत्त्वहरु के के हुन्

पूर्ण ओलीः कुनै रचना कथा बन्नका लागि कथामा हुनुपर्ने आधारभूत तत्त्वहरु विद्यमान हुनुपर्दछ । कथाका तत्त्वहरुमा कथावस्तु, कथानक, चरित्र र चरित्रचित्रण, दृष्टिबिन्दु, पर्यावरण, भाषा, बिम्ब, प्रतीक, मानवीकरण र अलङ्कार,  गति र लय, सारवस्तु  आदि हुन् ।

 आनन्द पुनः कथानक भनेको के हो ? जितौरी तथा यालमाया कथा सङ्ग्रहहरुमा कथानकका के कस्ता तत्त्वहरु विद्यमान छन् ?

पूर्ण ओलीः कथानक कथाको भवन निर्माणको सिलसिलामा प्रयोग हुने इँट्टा एवम् सिमेन्टजस्तै हो । अंग्रेजीमा कथानकलाई प्लट भनिन्छ । कथालाई कति अग्लो तुल्याउने. कति फराकिलो तुल्याउने, कति गहन तुल्याउने र कति बलियो तुल्याउने भन्ने कुरा कथानकमा नै भर पर्दछ । कथाकारले कथामा गर्ने घटनाहरुको व्यवस्थापन नै कथानक हो । घटनाको क्रमलाई कारणसहित विविध किसिमले व्यवस्थापन गर्ने गर्दछ । घटना घट्नुको कारण, तर्क, बुद्धि, कल्पना तथा कौतुहलता मिश्रण गर्दै प्रस्तुतिलाई कलात्मक तुल्याइएको हुन्छ । स्टोरी प्लटको कच्चा पदार्थ मात्र हो जसलाई पुनरव्यवस्थापन गरेर कथानकको निर्माण गर्दछ । कथानक कसरी विकास हुन्छ भन्ने चरणलाई कथानकका तत्त्व मानिन्छ । कथानकको विकास हुँदा प्रारम्भ हुन्छ सङ्घर्ष विकास हुन्छ । कथा चरम स्थितिमा पुग्दछ । बिस्तारै सङ्घर्ष ह्रास हुन्छ र कथा निष्कर्षमा पुग्दछ । कथाको आरम्भ हुँदा मेरा कथाहरुमा प्रेम-प्रस्ताव, प्रतिशोध, योगमाया, मितज्यू, कृष्ण सुदामाको कथा, नौलो सेवा जस्तो सुरुवातमा परिचयात्मक पनि हुनसक्छ । महामाया, जालीमाया, लोककथा, अंशियार, माछे आँखो वर्णनात्मक पनि हुनसक्छ । परिशीलन, ज्यानमाया, गलफन, बढुवा जस्तो विवरणात्मक पनि हुन सक्छ । निर्माया, यालमाया, मायाको पर्दा, देशी चश्मा, शम्भू दाइको विदाइ जस्तो आकस्मिक पनि हुन सक्छ । माईसारा, देखीमाया, खाजाखर्च, एउटा अयोग्य लडाकुको कथा, जितौरी, केइ-हैना, मोराबाङ जस्तो संवादात्मक पनि हुनसक्छ । आरम्भ पछि कथामा सङ्घर्षको विकास हुन्छ । यस चरणमा चरित्रहरुबीच द्वन्द्वको सिर्जना हुन्छ र भागदौड सुरू हुन जान्छ । कथाले केन्द्रीय मान पकड्न थाल्दछ । सङ्घर्षले उच्चतम् विन्दु प्राप्त गरेपछि चरम अर्थात क्लाइमेक्सको स्थिति हुन जान्छ । कथाले नाटकीय स्थितिको रुप धारण गर्दछ । कथाकारले या त पाठकलाई डोर्‍याउँदै लगेर आकासमा पुर्‍याएपश्चात् एकैचोटि खसालिदिन सक्छ या डोर्‍याउँदै पात्तालमा पुर्‍याइएको पाठकलाई एकैचोटि आकासमा पुर्‍याउन सक्छ । कथाको चरमस्थिति पछि सङ्घर्ष ह्रास सुरु हुन्छ । अर्थात् कथालाई कथाकारले सेफ ल्यान्डिङ गराउन थाल्छ । अनि निष्कर्ष दिँदै कथाको अन्त्य गरिदिन्छ । कथा अन्त्य गर्दा पनि एउटा अयोग्य लडाकुको कथा जस्तो विवरणात्मक पनि हुन सक्छ । यालमायाको जस्तो उत्सुक्तामूलक पनि हुनसक्छ । परिशीलन कथा जस्तो संवेदनात्मक पनि हुन सक्ने भयो । नौलो सेवाको जस्तो व्यङ्ग्यात्मक पनि हुन सक्छ । प्रयोगवादी कथाहरुमा भने यही क्रममा कथा विकास हुन्छ भन्ने होइन । चरणमा तल माथि त पर्न सक्छ तर चरम बिन्दुलाई सुरुवातमै प्रयोग गर्न खोज्नु हास्यास्पद हुन जान्छ । कथाकारले कथा रेखा कसरी प्रयोग गर्दछ भन्ने कुराको आधारमा कथाका चरणहरु व्यवस्थित गरिएका हुन्छन् ।

कथानकका उपतत्वहरु
बिचार वाक्यः कथाको उद्देश्य र निचोड दिने एउटै वाक्य
पूर्व सङ्केतः कथामा पछि घट्ने कुरालाई पहिले नै सङ्केत दिनुपर्छ: यालमायाः अनौठो प्रेमकथा अन्त्य गरिदिने मुग्लु खोला । मायाको पर्दाः मेरो विगत बनिसकेको मेरो घरतिर मलाई गलहत्याउँदै लग्न सक्छन् ।
बिम्ब र प्रतीकः कथालाई सजीव तुल्याउन प्रयोग गरिने मानसिक तस्बिर
कथानक रुढीः सौख/षडयन्त्र, जालझेल/पराक्रम, कमिला/हात्ती, कुकुर/बिराला
आग्रहीकरणः सोझो रुपमा आफूले भन्न खोजेको

कथानकको विकास निम्नानुसार हुने गर्दछः

  • आरम्भ: परिचयात्मक (प्रेम प्रस्ताव प्रतिशोध योगमाया मितज्यू कृष्ण सुदामाको कथा नौलो सेवा), वर्णनात्मक(महामाया जालीमाया लोककथा अंशियार माछे आँखो), विवरणात्मक(परिशीलन ज्यानमाया गलफन बढुवा), आकस्मिक(निर्माया यालमाया मायाको पर्दा देशी चश्मा शम्भू दाइको विदाइ), संवादात्मक(माईसारा देखीमाया खाजाखर्च एउटा अयोग्य लडाकुको कथा जितौरी केइ हैना मोराबाङ)
  • सङ्घर्ष विकासः द्वन्द्व केन्द्रीयमान भागदौड
  • चरमः नाटकीय स्थिति
  • सङ्घर्ष ह्रास
  • उपसंहारः विवरणात्मकः एउटा अयोग्य लडाकुको कथा  उत्सुकतामूलकः गोरेले यालमायालाई गुमाउनु संवेदनात्मकः परिशीलनः छोरासँग घरमा जान नपाउनु व्यङ्ग्यात्मक (नौलो सेवाको गाडी पल्टनु, गाइड बालेर खाजा बनाउनु)
शीर्षकसङ्घर्ष विकासचरमसंघर्ष ह्रासउपंसहार
द्वन्द्वकेन्द्रीयमानभागदौड
प्रेम प्रस्तावमहत्वपूर्ण कुराको प्रस्तावप्रणय प्रियंकालाई भेट्न जानुप्रियंका र प्रणयबिचको संवादके तीस वर्षको बूढाले दश वर्षकी बच्चीलाई प्रेम गर्ने जमाना हो योप्रियंकाले उपहारहरु झोलामा राखी प्रणय पछि पछि लाग्योतपाइँको हातबाट चिप्लिएको प्रणयलाई तपाईँकै हातमा थमाइदिएकी छु ।
पद्मा क्वाँ क्वाँ रुन्छेप्रणयले क्यामेरा आक्रमण गर्न खोज्छ
यालमायागोरेकी स्वास्नीले जङ्गलमा गोरे र यालमायालाई एक्लै भेट्टाईगोरेले यालमायालाई पछि लगाएर घरमै ल्यायोयालमायाले गोरेलाई प्रेम र माया फरक भएको बताईगोरेको हातबाट यालमाया नारायणको हातमा पुगी ।गाउँमा हल्लाः गोरेको मद्दतले नारायणले यालमायालाई भगायोपाखाको नाम गोरे पाखो । मुग्लुखोलाले अमर कहानी सुनाउँदै बग्नु ।
गोरेले भेलमा हाम फाल्यो ।
अंशियारकुमारले हरिलाई नागरिकतामा सही गर्न अवरोध गर्नुकुमारको जन्मकथा र अंशको लोभहरिले गवाहीहरु झिकाउनुकुमारले देख्दा देख्दै गणेशले नागरिकता पाउनु हरि गाउँबाट निस्केर काठमाण्डौ हुँदै बद्रीबास आइपुग्नुजसले जनताका भलाइको लागि काम गर्‍यो उही गाउँमा अटेन ।
जितौरीजिते, खट्के, आमा र मूनाबीचको द्वन्द्वजुवाको लतले भुइँचालोउपर बाजी थाप्नुजित हात पर्दै नपर्दा जितेले गरेका प्रयत्नजुवाका सबै दाउमा बाजी थापेर जुवा जित्नु ।शहर छोडेर गाउँमा आइपुग्नुआमा र मूना आफ्नो हातबाट फुत्केपछि जुवाको मुख्य कारण खट्केलाई सिध्याउनु

आनन्द पुनः कथामा कथारेखा भनेको के हो

पूर्ण ओलीः कथालाई कतातिर फर्काउने भन्ने कुरा नै कथारेखा हो । घटीसकेको घटनालाई अगाडि ल्याएर वा अतितको घटनालाई परावर्तित गरेर कथा रचना गरिएको हुनसक्छ । यदि कथावस्तु वर्तमानबाट भूतकालतिर फर्किएको छ भने परावर्तित रेखा भनिन्छ । जस्तो कि यालमाया, मायाको पर्दामा प्रयोग गरिएको छ ।  जुन क्षणमा कथा लेखिएको हो त्यहीँबाट कथा प्रारम्भ हुन्छ भने तत्क्षणिक भनिन्छ । जस्तो कि शम्भू दाइको विदाइ कथा । यदि कथाको विकासक्रमलाई तोडेर वा क्रमभङ्ग गरेर लेखिन्छ भने वृत्ताकारीय कथारेखा भन्ने गरिन्छ । कथालाई कता फर्काउने भन्ने कुरा कथानकमा निर्भर रहन्छ । कथानकका प्रकारअनुसार पनि कथारेखा निर्मित गरिएका हुन्छन् ।

आनन्द पुनः कथानकका प्रकार के कस्ता हुन्छन्

पूर्ण ओलीः कथानकका प्रकार छुट्याउने पनि विभिन्न कोणहरु हुन्छन् । विभिन्न आधारहरु हुन सक्छन् । जस्तो किव्याप्तीको आधारमा मुख्य र सहायक कथानक हुने भयो । प्रयोगको आधारमा सरल र संयुक्त कथानक हुने भयो । घटना व्यवस्थापको आधारमा सुगठित र अव्यवस्थित कथानक हुन्छ । ढाँचाको आधारमा रैखिक र वृत्ताकारीय कथानक हुन्छ । उपकरणको आधारमा द्वन्द्व र क्रिया कथानक हुन्छ । अन्त्यको आधारमा बन्द, खुला, आश्चर्यजनक र वैकल्पिक कथानक प्रयोग गरिन्छ । तर अकथामा भने कथाकारले छुट्टै कथानक प्रयोग गर्न पनि सक्तछ ।

आनन्द पुनः अकथा भनेको के हो ? कथाबाहेकका अन्य विधालाई अकथा भनिएको हो कि ?

पूर्ण ओलीः होइन होइन । अकथा भनेको पनि कथा नै हो । सुगठित तथा रैखिक कथानक भएका कथाहरुलाई कथा भनिन्छ । तर कथाका सिद्धान्तको प्रयोग नगरी वा ख्याल नगरी लेखिएका अव्यवस्थित कथाहरु अकथा हुन् । प्रयोगवादी धाराका कथाहरुलाई अकथा भन्ने गरिन्छ । कथा जति प्रभावकारी हुन्छन् अकथा पनि उत्तिकै प्रभावकारी हुन सक्तछन् ।

आनन्द पुनः कथामा चरित्र र चरित्रचित्रण भनेको के हो

पूर्ण ओलीः चरित्र कथाको सर्वोपरि महत्त्व बोक्ने तत्त्व हो । कथा वा अन्य साहित्यिक विधामा प्रयोग गरिने पात्र जस्तैः व्यक्ति, जीवजन्तु वा वस्तुलाई चरित्र भनिन्छ । कथा चरित्रकै कृयाकलापसँग सम्बन्धित हुन्छ । समाख्याताले चरित्रकै बारेमा टिप्पणी गरिरहेको हुन्छ । चरित्रकै संवाद क्रियाकलापबाट कथानक अघि बढ्छ । चरित्रकै गुण दोषबाट पाठकले कथाको अनुमान गर्दछ । चरित्रहरुमा नायक वा नायिका हुन्छ । द्वन्द्वोन्मुख कथामा प्रतिनायक हुन्छ । अन्य चरित्रहरुमा कुनै सजिलै अनुमान गर्न सकिने गुण बोकेका च्याप्टा वा बुझ्न नसकिने गोला चरित्र पनि हुनसक्छन् । कुनै चरित्र गतिशील हुन्छन् कथाको गति अनुसार विभिन्न चरणमा चलायमान भैरहन्छन् त कुनै गतिहीन पनि हुनसक्छन् । सबै क्षेत्रको गुण बोक्ने सार्वभौम पनि हुन सक्छन् वा कुनै स्थान विशेषको गुण बोक्ने आञ्चलिक पनि हुनसक्छन् । कथाको वैचारिक प्रकारअनुसार वर्गीय वा व्यक्तिगत चरित्रहरु पनि छनोट गरिएका हुन सक्छन् । अन्तर्मुखी बहिर्मुखी पारम्परिक तथा मौलिक चरित्रहरु पनि हुन्छन् । मेरा कथाहरुमा प्रणय र प्रियंका जस्ता नायक नायिका भएका कथा पनि छन् । अंशियारको कुमारजस्तो प्रतिनायक पनि छ । केइ हैना कथामा पूर्णप्रसादजस्ता गोला चरित्र छन् । अयोग्य लडाकुको कथामा  आशाराम जस्तो च्याप्टो चरित्र पनि छ । कृष्ण सुदामाको कथामा कालीबहादुर र दामु गतिशील चरित्र हुन् । देखीमायामा बर र पीपल गतिहीन चरित्र हुन् । खाजाखर्च कथामा जगत, विधान, राजाराम आदि सार्वभौम चरित्रहरु हुन् । यी चरित्रले मुलुककै समग्र प्रशासनिक पात्रका विशेषता बोकेका छन् । माछे आँखोकी पटाउकी आञ्चलिक पात्र हो । एक प्रकारको चरित्रलाई अर्को प्रकारको चरित्र चित्रण गरिँदा वा पाठकले कथा बोध गर्दा अर्कै खालको चरित्रको पनि अनुमान गर्न सक्ने भयो ।

कथानायक नयिकाप्रतिनायकगोला
च्याप्टा
गतिशील
गतिहीन
सार्वभौम आञ्चलिकवर्गीय
व्यक्तिगत
अन्तर्मुखी
बहिर्मुखी
पारम्परिक
मौलिक
अंशियारहरि सरकुमार  गणेशजङ्गबहादुर देवबहादुरसबै
आञ्चलिक
वर्गीयदेवबहादुरपारम्परिक
खाजाखर्चजगत कमलाविमलच्याप्टाविधान रामराजासबै सार्वभौमवर्गीयअन्तर्मुखीपारम्परिक
माछेआँखोपटाउकीलोग्ने गतिहीनआञ्चलिकवर्गीयअन्तर्मुखीमौलिक
अयोग्य लडाकुआशारामकेशव सरगोलागतिशीलसार्वभौमवर्गीयअन्तर्मुखीपारम्परिक
जितौरीजितेखट्केच्याप्टामुना आमा
गतिहीन
सार्वभौमवर्गीयअन्तर्मुखीपारम्परिक
केइहैनापूर्णप्रसाद केइहैनाश्यामप्रसाद
खलासी
गोला
च्याप्टा
गतिशीलसार्वभौमवर्गीयबहिर्मुखीकेइहैना
मौलिक
मितज्यूरामबहादुरशशिरामगोलागतिहीनसार्वभौमवर्गीयअन्तर्मुखीपारम्परिक
मोराबाङरमेश र रानूराजनीतिगोलागतिशीलसार्वभौमवर्गीयबहिर्मुखीपारम्परिक
बढुवानियमप्रसादकलमप्रसादगोलागतिशीलसार्वभौमवर्गीयअन्तर्मुखीमौलिक
कृष्ण सुदामाकालीबहादुरदामूगोलागतिशीलआञ्चलिकवर्गीयअन्तर्मुखीपारम्परिक
देशी चश्माकेशवहाकिमच्याप्टागतिहीनसार्वभौमवर्गीयअन्तर्मुखीपारम्परिक
शम्भु दाइशम्भुप्रशासकगोलागतिहीनसार्वभौमवर्गीयअन्तर्मुखीपारम्परिक
नौलो सेवानौलो सेवागोलागतिहीनआञ्चलिकव्यक्तिगतअन्तर्मुखीमौलिक
प्रेम प्रस्तावप्रणयकुमारपद्मा प्रियंकागोलागतिशीलसार्वभौमव्यक्तिगतबहिर्मुखीपारम्परिक
महामायापूर्ण प्रजितागोलागतिशीलसार्वभौमव्यक्तिगतअन्तर्मुखीपारम्परिक
परिशीलनपरिशीलनगोलागतिहीनआञ्चलिकव्यक्तिगतअन्तर्मुखीमौलिक
जालीमायाप्रेम प्रितीविनोदगोलागतिशीलसार्वभौमव्यक्तिगतबहिर्मुखीपारम्परिक
माइसारानीतासुरक्षाकर्मीगोलागतिशीलआञ्चलिकव्यक्तिगतबहिर्मुखीमौलिक
देखीमायाबर र पीपलमान्छेच्याप्टागतिहीनसार्वभौमवर्गीयअन्तर्मुखीमौलिक
निर्मायामिलन मङ्गलआकाशगोलागतिशीलआञ्चलिकव्यक्तिगतबहिर्मुखीपारम्परिक
मालप्रेमीशिशीर र मप्रभाकरगोलागतिशीलआञ्चलिकव्यक्तिगतबहिर्मुखीमौलिक
यालमायायालमाया गोरेनारायणगोलागतिशीलआञ्चलिकवर्गीयबहिर्मुखीमौलिक
प्रतिशोधलोकबहादुरतिवारीगोलागतिशीलआञ्चलिकव्यक्तिगतबहिर्मुखीमौलिक
योगमायायोगमायागोलागतिशीलआञ्चलिकवर्गीयअन्तर्मुखीमौलिक
मायाको पर्दाशक्ति र सुन्दरगोलागतिशीलसार्वभौमवर्गीयबहिर्मुखीपारमरिक
ज्यानमायाज्यानमाया र मगोलागतिशीलआञ्चलिकव्यक्तिगतबहिर्मुखीमौलिक
लोककथालोकबहादुरगोलागतिशीलआञ्चलिकवर्गीयबहिर्मुखीमौलिक
गलफनम र देवकुमारीच्याप्टागतिशीलआञ्चलिकव्यक्तिगतबहिर्मुखीमौलिक

आनन्द पुनः कथामा चरित्र चित्रण के कसरी गरिन्छ ?

पूर्ण ओलीः काल्पनिक व्यक्तिको व्यक्तित्वलाई प्रकाश पार्दै तिनीहरुको चरित्र कस्तो छ भनी देखाउने लेखकको तरीकालाई चरित्रचित्रण भनिन्छ । यो चरित्रलाई पाठकसँग परिचय गराउने प्रविधि हो । चरित्रचित्रण गर्दा पात्रहरुको बनावट भेषभुषादेखि लिएर मानसिक स्थितिसम्मको चित्रण गर्ने गरिन्छ । जस्तो कि पात्रको शारीरिक बनावट कस्तो छ ? उसले के गर्दै छ ? उसको मनोवैज्ञानिक स्थिति कस्तो छ ? उसले के सोच्दै छ ? उसले के भन्दै छ ? कसरी भन्छ ? भन्ने कुराहरुलाई मिहिन तरीकाले शब्दजालमा बुनिन्छ । चरित्र कस्तो प्रकारको छ भन्ने विषयमा खुलस्त राखेर प्रत्यक्ष विधि अपनाउन पनि सक्दछ । कार्यमा चरित्र स्वयंको सहभागिता बनाएर वा चरित्रहरुको एकापसमा संवाद राखेर उनीहरुको विषयमा बुझाउँदै अप्रत्यक्ष विधि अपनाउन सक्तछ । जटिल विधि प्रयोग गर्दा  चरित्रको बिचार र संवेगको बयान गरिन्छ । कथाकारले कथामा कुन दृष्टिबिन्दु प्रयोग गर्दछ भन्ने आधारमा पनि चरित्र चित्रणमा फरक पर्न जान्छ ।

आनन्द पुनः कथामा दृष्टिबिन्दू भनेको के हो ?

पूर्ण ओलीः अंग्रेजीको प्वाइन्ट अभ भ्यूको नेपालीकरण नै दृष्टिबिन्दु हो । दृष्टिबिन्दुले आख्यानमा समाख्याता कहाँ बसेर स्रोताहरुलाई कथा सुनाउँदै छ भन्ने कुरालाई बुझाउँछ । समाख्याताले कथा भन्छ । पाठक वा स्रोतालाई कथा बताउँछ । हेर्दा लेखक नै समाख्याताजस्तो लागे तापनि समाख्याता लेखकभन्दा भिन्न खालको कथाको एक चरित्र मात्र हो र ऊ त्यो कथामा मात्र सीमित हुन्छ । सामान्यतया कथाहरु तृतीय पुरुष वा बाह्य दृष्टिबिन्दु प्रयोग गरेर लेखिएका पाइन्छन् ।  समाख्याता कथाभित्र पसेर आफैले कथा भन्छ भने यस दृष्टिबिन्दुलाई प्रथम पुरुष वा आन्तरिक दृष्टिबिन्दु भनिन्छ । अहिले प्रथम पुरुष दृष्टिबिन्दु प्रयोग गरेर लेखिएका कथाहरु थुप्रै पाइन्छन् । मेरा कथाहरुमा हेर्ने हो भने महामाया, परिशीलन, मालप्रेमी, मायाको पर्दा, मोराबाङ शम्मुदाइको विदाइ आदि सर्वज्ञ प्रथम पुरुष दृष्टिबिन्दु प्रयोग गरिएको छ भने निर्माया, प्रतिशोध, ज्यानमाया, अंशियारमा सीमित वा अप्रधान प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । बाँकी कथाहरु तृतीय पुरुष अर्थात् बाह्य दृष्टिबिन्दु प्रयोग गरिएका कथाहरु हुन् । कथामा द्वितीय पुरुष दृष्टिबिन्दु पनि हुनसक्ने भए तापनि अत्यन्तै कम र जटिल प्रविधि मानिन्छ । मनोवादपरक कथा वा आत्मकथामा द्वितीय पुरुष दृष्टिबिन्दु हुन्छ र यसमा चरित्र पनि आफू र दोस्रो व्यक्ति गरी दुईजना मात्र पात्र हुन सक्तछन् । मायाको पर्दा कथामा द्वितीय पुरुष दृष्टिबिन्दु प्रयोग गर्न खोजिएको मात्र छ । पूर्ण रुपमा भने होइन ।

दृष्टिबिन्दुका प्रकार निम्नानुसार हुन्छन्

  • तृतीय पुरुष वा बाह्य दृष्टिबिन्दुः सर्वज्ञ र सीमित
  • प्रथम पुरुष वा आन्तरिक दृष्टिबिन्दुः प्रधान वा अप्रधान । केन्द्रीय वा सहयोगी वा परिधीय । प्रमुख पात्रको रुपमा सहयोगी पात्रको रुपमा र निरीक्षकको रुपमा ।
  • द्वितीय पुरुष दृष्टिबिन्दु

यालमाया र जितौरी कथा सङ्ग्रहहरुमा दृष्टिबिन्दूको प्रयोग

दृष्टि बिन्दूसर्वज्ञ/प्रधानसीमित/अप्रधान
तृतीय पुरुष/बाह्यजालीमाया, माईसारा , देखीमाया, यालमाया, योगमाया, लोककथा, गलफन, खाजाखर्च, माछेआँखो, जितौरी, केइहैना, मितज्यू, बढुवा, कृष्ण सुदामाको कथा प्रेम प्रस्ताव,एउटा अयोग्य लडाकुको कथा ,नौलो सेवा जेडप्रेस ,
प्रथम पुरुष/आन्तरिकमहामाया, परिशीलन, मालप्रेमी, मायाको पर्दा, मोराबाङ शम्मुदाइको विदाइनिर्माया, प्रतिशोध, ज्यानमाया, अंशियार
द्वितीय पुरुषमायाको पर्दा 

आनन्द पुनः कथामा पर्यावरण भनेको के हो ? यसको के भूमिका हुन्छ ?

पूर्ण ओलीः घटना घट्ने स्थान, समय तथा पाठकको मनोभाव वा वातावरण नै कथाको पर्यावरण हो । पर्यावरण पनि दुई प्रकारका हुन्छन् देशकाल setting र वातावरण Atmosphere । देशकालले भौगोलिक स्थान तथा समयको ऐतिहासिक गतिका साथै कथा पढ्दा उत्पन्न हुने मुडलाई बुझाउँछ । यस अन्तर्गत प्राकृत, वाह्य जगत र मानवद्वारा निर्मित सम्पूर्ण वस्तुहरु पर्दछन् । स्थानको उचित प्रयोगबिना कथामा साहित्यिक विश्वसनीयता उत्पन्न हुन सक्दैन । यसको मुख्य कार्य नै कथामा यथार्थ र सत्याभाष उत्पन्न गर्नु हो । पाठकमा हुने संवेगात्मक परिवर्तन वा मनमा उत्पन्न हुने भाव नै कथाको वातावरण हो । कथाका तत्त्वहरुले पाठकलाई भावुक तुल्याउन सहयोग गर्छन् । पाठकमा चिसो, तातो, अन्धकार, उज्यालो, सुख, दुख, हाँसो, रुवाइको भाव उत्पन्न गराउन कथाको वातावरणले सहयोग गर्दछ । यालमाया र जितौरी दुवै कथासङ्ग्रहहरुमा अधिकांश परिवेश मध्यपश्चिम क्षेत्रको राखिएको छ ।

आनन्द पुनः कथामा गति र लय के कस्तो हुने गर्दछ ?

पूर्ण ओलीः गतिको शाब्दिक अर्थ चाल हो । कथाको परिवर्तन बेगलाई गतिले बुझाउँदछ । कथामा गतिको तिब्रता वा मन्दतालाई गाडीको एक्सेलेटर र ब्रेकसँग तुलना गर्न सकिन्छ ।  कथामा घटित हुने क्रियालाई लगातार अगाडि बढाउनुपर्‍यो भने समाख्याताले एक्सिलेटरको प्रयोग गर्दछ भने चरित्रले चिन्तन गर्दा वा विशेष कुराको वर्णन गर्दा ब्रेकको प्रयोग गर्दछ । लय तत्सम शब्द हो जसको अर्थ टाँसिनु, पग्लनु आदि हुन्छ । गद्यमा वाक्यको सन्तुलन तथा शब्दको व्यवस्थापनमा यसले गर्ने कामसँग जोडिएको हुन्छ । कथामा भइरहने पद तथा पदावलीको र विषयवस्तुको आवृत्ति, विश्राम व्यवस्था तथा शब्दालङ्कारको अनेकौँ प्रयोगले पनि कथामा लयको सिर्जना हुन्छ ।

आनन्द पुनः कथामा सारवस्तु कसरी प्रयोग गरिएको हुन्छ ? तपाईँका कथा सङ्ग्रहहरुको नाम यालमाया र जितौरी राखिनुको तात्पर्य के हो ।

पूर्ण ओलीः कथामा सारवस्तु भनेको गुदी वा मुख्य बिचारलाई बुझिन्छ । कथालाई  कथानक, चरित्र, परिवेश, दृष्टिबिन्दु प्रतीक र बिम्बमा बाँध्ने काम सारवस्तुले गर्दछ । कुनै कथामा शुरुमै सारवस्तु राखिन्छ भने कुनैमा अन्त्यमा । कथाको शीर्षकले वा चरित्रले  के संकेत गरेको छ ?  कथामा कुनै उत्सुकता बढाउने वस्तु छ कि छैन ? कुनै प्रतीक बिम्ब मानवीकरण आदिको प्रयोगले कथाको सारलाई समेटेको छ छैन ? कुनै कथनले सिङ्गो कथालाई बोकेको छ कि छैनः ? समाख्याताले कुनै निश्कर्ष दिएको छ कि छैन ? भन्ने कुराहरु सारवस्तुमा पर्दछन् ।

प्रेम प्रस्ताव महामाया जालीमाया देखीमाया मालप्रेमी प्रतिशोध मायाको पर्दा गलफनले शीर्षकले नै कथाको सारवस्तूको वकालत गर्दछन् ।  यालमाया, योगमाया, परिशीलन, ज्यानमाया, लोककथा जस्ता चरित्रप्रधान कथाका चरित्रहरुले नै कथाको उद्देश्यलाई झझल्क्याउन खोजेका छन् ।  शम्भू दाइको विदाइ, खाजाखर्च आदि कथामा जीवन वा मानवीय स्वभावप्रति निरीक्षण गर्न खोजिएको छ । मुग्लुखोला सानीभेरी ठूली भेरी आदि कथामा उत्सुकता बढाउने साधनहरु हुन् । मायाको पर्दामा समाख्याताले मेरो कथा सुनाउन आइपुगेकी छु भनेर कथा सार दिएकी छिन् । जितौरीको जितेले जितेको मात्र सपना देख्दछ ।

यालमाया उच्चारण गर्दा नै आनन्द प्रदान गर्ने शब्द हो । मायामा चुर्लुम्म डुबेर थिलथिलो भएको अवस्थालाई यालमाया भनिन्छ तथापि यसको परिभाषा शब्दकोषमा छैन । हाम्रो गाउँतिर उखान नै छः यालमायको गन्ती छैन गोरे बाजे सकसक भन्ने । यसै उखानलाई चरितार्थ गर्नको लागि विविध माया, समेटिएका कथाहरु समेटिएको कथासङ्ग्रहलाई यालमाया शीर्षक जुराइएको हो । अपितु यालमाया कथामा यालमाया नै पात्र छिन् ।

जितौरीः जित शब्दबाट बनेको हो । जितहार र जितौरी खाने प्रचलन राजनीतिमै खुल्ला प्रयोग हुन्छ भने प्रशासनमा अदृश्यरुपमा प्रयोग भएको हुन्छ । जितौरीको शाब्दिक अर्थ भने जुवा जितेकाबाट जीतको खुशी वापत पैँसा थाप्नु हो । खेलाडीहरु अलग हुन्छन् । जित्ने हार्ने अलगअलग हुन्छन् । तर जितौरी थाप्ने भिन्नै हुन्छ । यही कुरालाई प्रतीकात्मक रुपमा देखाउनको लागि अर्को कथासङ्ग्रहको शीर्षक जितौरी राखेको हुँ ।

आनन्द पुनः यसभन्दा अघि धेरैचोटि बिम्ब शब्द प्रयोग भएको थियो । खासमा बिम्ब के हो ? कथामा यसको प्रयोग कसरी गरिन्छ ?

पूर्ण ओलीः बिम्ब तत्सम शब्द हो । यसको शाब्दिक अर्थ छाया, प्रतिबिम्ब, प्रतिमा, चन्द्रमा भन्ने हुन्छ । अंग्रेजीमा बिम्बलाई बुझाउन इमेज प्रयोग गरिन्छ । बिम्बलाई दुईप्रकारमा विभक्त गरिन्छः भौतिक दृश्यावली र आलङ्कारिक भाषा । कथा पढ्दै गरेको पाठकलाई बिम्बले कथाको काल्पनिक परिवेशसम्म घचेट्दै लान्छ र वास्तवमा त्यहीँ पुगेको झझल्को दिलाउँछ । पाठकका ज्ञानेन्द्रीयहरुलाई एकदमै सक्रिय तुल्याइदिन्छ । बिम्बहरु विभिन्न प्रकारका हुन्छन् जस्तो कि दृश्यबिम्ब, श्रव्यबिम्ब, गतिबिम्ब, स्पर्शबिम्ब, घ्राणबिम्ब आदि । महामायामा प्रजिताको चरित्र चित्रण गर्दा पाठकले प्रजिता र पूर्ण दाइलाई आफ्नै आँखा अगाडि अस्तव्यस्त अवस्थामा उभिएको देख्न सक्तछन् । गलफनमा दमदमे र गाईबाख्राका घण्टीले पाठकको कानमै टिनिनिनिनि घण्टी बजाइदिन्छन् । सानीभेरीको तिब्र कुदाइमा पाठक स्वयम् बग्दै जान्छ । नौलो सेवाको बसको ढिलासुस्तीले पाठकलाई वाक्क दिक्क तुल्याइदिनुको साथै नाकमा दुर्गन्ध पसेको जस्तो तुल्याइदिन्छ ।

कथालाई कलात्मक तुल्याउन बिम्ब मात्र नभई उपमा प्रतीक तथा मानवीकरणले पनि भूमिका खेल्दछन् ।

आनन्द पुनः उपमा र प्रतीक के हो ? यसको प्रयोग कथामा के कसरी गरिन्छ ?

पूर्ण ओलीः उपमा र प्रतीक दुवै तत्सम शब्द हुन् । उपमाको शाब्दिक अर्थ कुनै एक वस्तुलाई अर्को वस्तुसँग दाँज्नु वा तुलना गर्नु हो । उपमाको प्रयोग काव्यमा बढी हुन्छ । प्रतीकको शाब्दिक अर्थ उल्टो प्रतिकूल भन्ने बुझिन्छ । अंग्रेजीमा यसलाई सिम्बोल भनिन्छ । मेरा कथाहरुमा उम्लिएर पोखिनै आँटेको मादकतामा पानी हालेर ओरालेजस्तो, तितरबितर भइसकेका विद्यार्थीहरुलाई लाइनमा लगाउन हम्मेहम्मे परेजस्तै, मेरो आँखामा सुनामीले भर्खरै छोडेकोजस्तो अश्रु सागर उर्लिएको छ, प्रजिताको आभूषणको हल्का सुगन्धले मेरो पसिनाको दुर्गन्धलाई अझै पनि निलिरहेको जस्तो, उसको दाजु रस र रङ चढ्दै गरेको बेलौँतीजस्तो देखिँदै छ, झाङमै पाकेको स्याउजस्तो अनुहार, नासापुट पनि जुम्ल्याहा ओढारजस्तै देखिए, उसको घाँटी बाख्री बाँध्ने किलोजस्तै अनावश्यक लामो देख्यो, पाखुरासम्म खँदिलो मासु पुच्च पारी खादएको जस्तो थियो, तेलमा मोसेको मोसोजस्तो, निसम्ताल अँध्यारो, युवकले मादलको स्वरजस्तो कर्णप्रिय खितखिताहट छोड्यो, कोरी भ्यागुताको जस्ता हातगोडा, तोरीको सागजस्तै रातारात हलक्क बढ्ने आदि उपमा तथा प्रतीकको प्रयोग गरिएको छ ।

आनन्द पुनः मानवीकरण कसरी गरिन्छ ?

पूर्ण ओलीः निर्जीव वा अमूर्त वस्तुहरुमा मानवीय गुणहरु भर्नु नै मानवीकरण हो । देखीमायामा बर र पीपलको वार्तालाप र अनुभूतिको वर्णन । यालमाया कथासङ्ग्रहभित्रको देखीमाया कथामा बर र पीपलले मान्छेजस्तै वार्तालाप गेरको सुखदुख साटेको अनुभूति व्यक्त गरेको देखाइएको छ ।

आनन्द पुनः जितौरी र यालमायामा भाषाको प्रयोग कस्तो छ ?

पूर्ण ओलीः कथा भाषामै लेखिन्छ । भाषाको आधारमा नै पाठकले कथा बुझ्छ । चरित्रहरुले भाषाकै माध्यमबाट संवाद गर्दछन् । कथाका अन्य तत्त्वहरुलाई सार्थक तुल्याउन पनि भाषाले नै काम गरेको हुन्छ ।

कथामा सबैले बुझ्ने भाषा हुनुपर्दछ । खासगरी समाख्याताको भाषा मानक नेपाली भाषा हुनु राम्रो हो । किनभने उसले कथालाई सबै भाषाभाषीसमक्ष बुझाउने क्षमता राख्नुपर्दछ । तर पात्रहरु भने देश काल र परिस्थितिअनुसार सबै क्षेत्रका हुनसक्ने भएकोले उनीहरुले बोल्ने भाषा जनजिब्रोको हुनु राम्रो हुन्छ । कताट बाटो बिराउनुभो ?

कुन दिशाबाट मार्ग परिवर्तन गर्दै आगमन भयो ? उल्लिखित दुई भनाइमा कुनमा साहित्यको सटिक प्रयोग छ । तल्लो वाक्यमा पारिभाषिक शब्दहरु जति थुपारे पनि पहिलोजत्तिको आकर्षक छँदै छैन । न त बोधगम्य नै छ ।

कथा सङ्ग्रहमा प्रयुक्त ग्रामीण भेकका शब्दहरु जस्तै जुम्लाहात, प्याक्प्याक्ती, निज्याइ निज्याइ, फ्वाँसे, मस्तै, भस्मेइ नामरी प्रयोग गरेर आञ्चलिक शब्दलाई नेपाली शब्दभण्डारमा थप्न खोजेको छु ।

आनन्द पुनः के तपाईँका कथाहरु आञ्चलिक हुन् ?

पूर्ण ओलीः आञ्चलिक हुनको लागि कथानक कहाँको छ परिवेश कस्तो छ कथा पढेपछि पाठकको मानसिक वातावरण कस्तो हुन्छ । भाषा कहाँको प्रयोग गरिएको छ । चरित्रहरु कहाँका छन् । कहाँका शब्दहरु प्रयोग गरिएका छन् । आदिमा निर्भर गर्दछ ।

मेरा कथाहरुमा प्रायजसो मध्यपश्चिमी क्षेत्रको जनजीवनको चित्रण गर्न कोशिस गरिएको छ । सानीभेरी मुग्लुखोला सिस्ने गाविस आदि रुकुमकै हुन् । मलाई चिन्ने पाठकहरुले कथा पढ्नुपूर्व नै रुकुमकै कथा होलान् भनी अनुमान गरिहाल्छन् र पढेपछि पनि रुकुमकै परिवेशका कथाकारका आफ्नै भोगाइका कथा होलान् भन्ने निश्कर्ष निकाल्दछन् । केही चरित्रहरुको नाम जस्तो पटाउकी खट्के आदि रुकुममै प्रचलित छन् । शब्दहरु मस्तै भस्मेइ आदि रुकुमतिर मात्र बोलिने शब्दहरु हुन् । यस हिसाबले कथाहरु आञ्चलिककै परिभाषाभित्र अटाउन सकिन्छ ।

तर सबै कथाहरु त्यस्ता छैनन् । जस्तो कि महामायामा पूर्वी जिल्लाहरुको वर्णन छ । देखीमाया, मालप्रेमी, ज्यानमाया आदिमा परिवेश पात्र सबै रुकुम बाहिरका हुन् । खाजाखर्च, एउटा अयोग्य लडाकुको कथा, केइ हैना बढुवा शम्भू दाइको विदाइ पनि रुकुम बाहिरकै परिवेश र पात्रहरु छन् । यिनीहरुलाई मेरो दृष्टिमा आञ्चलिक भन्न मिलेन ।

कथाहरुको आञ्चलिकता छुट्याउने आधार त्यति मात्र नभई पाठकको अनुभूति पनि हो । यदि पाठकले कथा पढ्दा पाठक स्वयम् आफ्नै भोगाइ वा घटनामा हराउन थाल्यो भने सार्वभौमिक हुन पुग्दछ । परिशीलन कथामा व्यक्त द्वन्द्वको घटना आञ्चलिक नभई सार्वभौमिक हो । किनकि पाठकहरु मेचीदेखि महाकालीसम्म छरिएका छन् । पाठकले संकुचित धारणा राखी कथाकारले आफ्नै घटना लेखेको हो भन्ने ठान्दछ भने उक्त पाठकको लागि स्वतः ती कथाहरु आञ्चलिक हुन पुग्दछन् ।

आनन्द पुनः तपाईँका दुई कथाहरुमध्ये जितौरीलाई प्रगतिशील मानिए पनि यालमायालाई रोमान्टिक दृष्टिले हेर्ने गरिन्छ । साथै केही कथाहरुमा तपाईँको निश्कर्ष निस्सारवादी भएको पनि आरोप लाग्ने गरेको छ । के यो सत्य हो ?

पूर्ण ओलीः राज्यलाई प्रभावित गर्ने मूल तत्वहरु राजनीति र प्रशासन नै हुन् । मैले जितौरीमा ती दुवै राजनीति र प्रशासनको यथास्थितिको विरोध र व्यङ्ग्य गरेको छु । तसर्थ ती कथाहरुलाई प्रगतिशील भन्नु स्वाभाविक नै हुन्छ । यालमायामा सामाजिक सम्बन्धहरुलाई चिरफार गर्न कोशिस गरेको छु । त्यसमा कल्पना र प्रतीकलाई बढी प्रयोग गरेको छु । कथाको शुरुवात रोमान्सबाट भए पनि निश्कर्षमा पुग्दा मोडिदिएको छु । तसर्थ रोमान्टिक नै भए भन्नचाँहि नमिल्ला । नारीवाद तथा सामाजिक कुप्रथालाई चिरफार गरिएकोले प्रगतिहीन हुन् भन्न नमिल्ला ।

जहाँसम्म निस्सारवादी भन्ने आरोप छ । त्यो भने सही होइन । किनकि बच्चालाई आगोले पोल्छ भन्ने सिकाउन आगोको नजिकको तातोको महसुस गराउनै पर्छ । सिस्नाले पोल्छ भन्ने सिक्न एकपटक सिस्नोले छोएकै हुनुपर्छ र सिस्नो छुनदेखि तर्सनुपर्छ । आगो वा सिस्नोबाट जोगाउनु मात्र सिकाइ होइन । त्यस्तै कथाको निश्कर्षमा पनि कुनैको बिछोड आत्महत्या देखाएर पनि समाजलाई सतर्क गराउन सकिन्छ । कुनै नेताको पुत्ला जलाइनुको अर्थ मुलुकलाई नै नष्ट गरियो भन्ने होइन त्यस नेताको चरित्रको विरोध गरेको मात्र हो । तसर्थ निश्कर्षमा निराशा पस्किएर पनि पाठकलाई आशा दिलाउन सकिन्छ । यस अर्थले सकभर मैले पाठकमा नकारात्मक सन्देश नजाओस् भनी सतर्क रहेर कथाको निश्कर्ष दिएको छु ।

साहित्यका पाठकहरुले कोर्सका पाठ्यपुस्तक पढेझैँ रट्दैनन् । प्रश्नको उत्तर कुन प्याराग्राफमा दिइएको छ भनेर त्यो प्याराग्राफ मात्र हेर्न थालेपछि साहित्यिक पठन हुँदैन । रस लिएर पढ्नुपर्छ । समय दिएर पढ्नुपर्छ । आफू हराएर पढ्नुपर्छ । अनि मात्र कथाको सार पत्ता लाग्दछ । पढ्नको लागि मात्र पढियो भने कथाहरुले कुनै निश्कर्ष दिँदैनन् ।

अतः पाठकले कसरी ग्रहण गर्छ भन्ने कुरा पाठककै क्षमता, स्तर, दृष्टिकोणमा भर पर्ने कुरा हुन् । नाच्न नजान्नेले आँगन नै टेढो भयो भनेर दोष लगाएजस्तै हो ।

आनन्द पुनः के नेपालको परिवेशमा पुस्तक लेखेर एकजना लेखकले जिविकोपार्जन गर्न सक्तछ ?

पूर्ण ओलीः नेपाली पाठक बजार अत्यन्तै सानो छ । छापाबाट मुद्रित पुस्तकहरु पढ्ने जमाना बिस्तारै हराउँदै गएको छ । पाठकहरुलाई सूचना प्रविधिले अन्यत्रै डोर्‍याउँदै लगेको छ । यस्तो अवस्थामा हाम्रोजस्तो मुलुकमा एकजना लेखकले लेखेर जिविकोपार्जन गर्छु भन्नु त आकाशको फलजस्तै लाग्दछ । केही औँलामा गन्न सकिने सुप्रसिद्ध लेखकहरु जसका कृतिहरु ठूला ठूला पुरस्कारबाट पुरस्कृत भई पाठक बजारलाई केही फराकिलो बनाइदिएका हुन्छन् उनीहरुको हकमा भने लेखन पेशाबाटै जिविकोपार्जन गर्न पनि सकेका होलान् । मुख्य कुरा लेखाइ स्तरीय हुनुपर्‍यो । लेखनको सार पाठकको मनमाफिकको बनाउन सक्नुपर्‍यो । यति कुरामा ध्यान दिँदै मिहेनत गर्ने हो भने जिविकोपार्जनको मुख्य आधार तुल्याउन पनि सकिएला । बजार छैन भन्दैमा लेख्नै छोड्नु भने हुँदैन । लेखकहरुले लेखिरहनुपर्छ । आफ्नो वातावरणको जानकारी लिखित रुपमा पाठकलाई गराइरहनु लेखकको धर्म हो ।

आनन्द पुनः अन्तमा कथा लेख्ननुको प्रेरणा ककसबाट प्राप्त गर्नुभएको हो संक्षिप्तमा भनिदिनुहोस् न ।

पूर्ण ओलीः मेरो मुख्य प्रेरणाको स्रोत मेरी आमा नै हुनुहुन्छ । उहाँले रामायण महाभारतका श्लोकहर कण्ठस्त गरेर सुनाइरहनुहुन्थ्यो । बेलुका बेलुका विभिन्न आहान पौराणिक तथा दन्त्य कथाहरु सुनाएर साहित्यिक प्रेरणा दिनुभएको थियो । सानै छँदा मामा खड्कबहादुर खडकाले आफ्नो घरको सानोतिनो पुस्तकालय नै उपलब्ध गराएर कथा कविता नाटकहरु छानी छानी पढ्ने अवसर दिलाउनु भएको थियो । क्याम्पसमा पढ्दा दाइ जनार्दन शर्मा मोहन लाल ओली तथा हेमन्त प्रकाश ओलीको लेखाइबाट पनि प्रभावित तुल्यायो । सरकारी जागिरमा प्रवेशपछि मुर्झाइसकेको साहित्यिक भोकलाई जागिरको क्रममा रुकुममा पुग्दा गिरिप्रसाद बुढा, मनलाल ओली तथा सिर्जना शर्माले पुनः घचघच्याएर साहित्यमालाका कार्यक्रम सञ्चालन गरी लेखिरहन घचघच्याउनु भयो । घोष्टराइटिङ नेपाल तथा सोका सञ्चालक कमल ढकालले तीन महिने सिर्जना पाठशालामार्फत लेख्ने तौरतरिकाहरु सिकाउनुभयो । पुस्तक प्रकाशनको लागि घचघच्याएर हरिप्रसाद भण्डारी अश्विनी कोइराला, हर्कसिँ केसीले यी पुस्तकहरु बजारमा लैजान समेत भूमिका खेल्नुभयो । पुस्तक विमोचनको क्रममा उपस्थित महानुभावहरु एवम् समीक्षकहरु डा. देवी नेपाल, डा रजनी ढकाल, अश्विनी कोइराला,  मनोहर लामिछाने आदिले कथा पठनीय र उत्कृष्ट रहेको मन्तव्य दिई लेखन कार्यमा अझै जोश जाँगर थपिदिनुभयो । उल्लिखित महानुभावहरु पनि मेरा प्रेरणाका स्रोतहरु हुनुहुन्छ । हरघडी साथमा रहेर लेखन कार्यलाई सहजता प्रदान गरिदिने पत्नी देवकुमारी ओली प्रेरणाकी मुख्य स्रोत हुन् । मेरो व्यक्तिगत, सामाजिक, राजनीतिक तथा प्रशासनिक जीवनको संसर्गमा आएर कथा लेख्न बाध्य तुल्याउने विभिन्न पात्रहरुलाई पनि प्रेरणाका सहायक स्रोतमा लिनुपर्ने हुन्छ ।

आफ्ना बिचारहरु राख्न अवसर दिने अन्तर्वार्ताकार आनन्द पुन र यस नाइस टिभिका सम्पूर्ण व्यवस्थापक टिमलाई हार्दिक धन्यवाद ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *