ओपेन्द्र शर्मा
जन्म मितिः २०२३।०२।१२
जन्मस्थानः सेरीगाउँ रुकुम
बाबु आमाः बाबुः स्कन्द शर्मा आमाः
राजनैतिक जीवनः
२०३७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्गठनको सदस्यता प्राप्त
२०४१ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त
२०४६ सालमा नेपाल कम्युनिष्ट पार्टीको एरिया कमिटि मेम्बर
२०४८ सालमा जिल्ला कमिटि मेम्बर
२०६८ सालमा Kyara Cit को सिएम्
पत्रकारिता जीवन
२०५५ देखि जनयुद्ध पत्रकार
प्रेस सेन्टर नेपालको संस्थापक केन्द्रीय सदस्य
गोरखापत्रको समाचारदाता
२०५७/०५८ मा दाङबाट निस्कने जनउभार साप्ताहिक को सहसम्पादक
२०६१ देखि प्रेस सेन्टर नेपालको सचिव
मिडिया सेन्टर प्रालिको अध्यक्ष
शैक्षिक जीवन
२०४१ सालमा प्राथमिक विद्यालयमा स्थायी नियुक्ति
२०५१ देखि २०५५ सालसम्म त्रिवेणी माध्यमिक विद्यालयको माध्यमिक तहको शिक्षक
प्रशासनिक जीवनः
Great Way Investment Company को GM
२०७४ देखि २०७८ सम्म राष्ट्रिय समाचार समितिको महाप्रबन्धक
आफूभन्दा एक ब्याच मात्र अघिको भए पनि ओपेन्द्र दाइलाई सेरीगाउँ र खलङ्गा स्कूलमा दशकक्षा पढ्दासम्म चिनेको जस्तो लाग्दैन । क्याम्पसमा पढ्दा भने एउटै ब्याचका सहपाठी र एउटै बेन्चका सहवासी भएको नाताले नजिकबाट चिन्न करै लाग्यो । एक दिन उहाँकै घरमा पुगेपछि उहाँका आमाबाबुसँग समेत चिनजान भयो । उहाँहरूले मलाई भान्जको नाताले निकटको व्यवहार गर्न थालेपछि उहाँको घर आफ्नै मावलीजस्तो लाग्न थाल्यो । क्याम्पसबाट फर्किँदा पानी वा मोही खान मावल नगई चित्तै बुझ्दैनथ्यो ।
जनार्दन दाइ र ओपेन्द्र दाइले क्याम्पसमा पढ्ने क्रममा के गर्ने, के नगर्ने भन्ने विषयमा मलाई आफ्नै सहोदर भाइजस्तै सल्लाह सुझाव दिन थाल्नुभयो । दाइहरूको व्यवहारले उहाँहरूप्रति आत्मीयता र आदरभाव अरु बढेर गयो । उहाँको भाइ टेकनाथ (हाल अनिल शर्मा) तथा बहिनीहरू केदार, विजया र नारायणीले समेत मलाई सहोदर दाइतुल्य व्यवहार गर्थे ।
मुसिकोट खलंगा क्याम्पसबाट आइए पास गरेपछि ओपेन्द्र दाइ र म बीकम पढ्न नमूना मच्छिन्द्र क्याम्पस लगनखेलमा पुग्यौँ । सातदोबाटो (चापागाउँ जाने बाटो) मा एउटा सानो कोठामा डेरा लियौँ । दुई वर्षतक एउटै भुइँमा बसेर पढ्यौँ । पढ्ने पुस्तक एकसेट मात्र थिए । एउटै खाटमा सुत्यौँ । एउटै साबुन र एउटै तौलिया प्रयोग गर्थ्यौँ । उचाइ र मोटाइ एउटै भैदिएको भए सायद एउटै लुगा फेरीफेरी लगाउँथ्यौँ होला । मन उस्तै थियो । दुवैको सिधासाधा व्यवहार थियो । हाँस्न थाले संगै हाँस्थ्यौँ । घर सम्झेर एकजना रुन थाले अर्को पनि रोइहाल्थ्यौँ । जोसँग हुन्थ्यो उसैले खर्च गर्थ्यौँ । एकेक हिसाबको दरकार थिएन । सातदोबाटोदेखि रत्नपार्कसम्म र त्यही बराबरको दुरीमा रहेका अन्य बजारमा पैदलै हिँड्थ्यौँ । भक्तपुर जानुपरे मात्र बस चढ्थ्यौँ ।
दोस्रो वर्ष जनार्दन दाइ, हेमन्तप्रकाश ओली दाइ, भिमप्रकाश शर्मा, यज्ञेश्वर शर्मा, प्रेम विष्ट पनि स्नातक तहको पढाइको सिलसिलामा काठमाण्डौमा आउनुभयो । उहाँहरू आएपछि सातदोबाटोस्थित ताराप्रसाद घर्तीमगरको घरमा हाम्रो बसाइ सर्यो । उहाँहरू सांगठनिक क्रियाकलापमा सक्रिय हुनुहुन्थ्यो । म मेरो स्वभावैले त्यतातिर सक्रिय हुन सकिनँ । ओपेन्द्र दाइ भने बिचको भूमिकामा हुनुहुन्थ्यो ।
काठमाण्डौ पढुन्जेल रुकुम-दाङ-रुकुमसम्म दाइहरूसँग मार्चपास गरियो । लार्दा, सिउरत, चलाउने, फलाबाङका उकाली ओराली सँगसँगै काटियो । उहाँहरूका खुट्टा अलिक लामा भएकोले यात्रामा बतास चलाउँदै बत्तिनुहुन्थ्यो र मलाई भेट्टाउन मुस्किल पर्थ्यो । म पछि पर्दा ओपेन्द्र दाइले नै पछि रहेर मलाई साथ दिनुहुन्थ्यो ।
बीकम सकेपछि केही वर्ष दाइ र म अलगअलग बाटो हिँड्यौँ । रुकुमका केही माविहरू चाहार्दै म ४७ सालको कार्त्तिकमा विश्राम लिन सिम्रुतुमा पुगेँ । ५१ सालमा ओपेन्द्र दाइलाई पनि सिम्रुतुमै जागिरको बन्दोबस्त मिलाइयो । मुसिकोटदेखि सिम्रुतुसम्मको हाम्रो दैनिक सहयात्रा फेरि सुचारू हुनपुग्यो । मैले ५४ सालमा सिम्रुतु छोडिदिएँ । केही महिनापछि ओपेन्द्र दाइले पनि सिम्रुतु छोडनुभएछ ।
त्यसको दुई वर्षपछि ओपेन्द्र दाइ र मेरो भेट फेरि काठमाण्डौमा भयो । बेरोजगारीको चर्को समस्या भोग्दै आएका दुवैजनाले जागिरको स्थायित्व खोजीमा थियौँ । लोकसेवाको घोकन्ते बाटो दाइलाई मन परेन । फलस्वरुप गठ्ठाघरमा स्कुल चलाउने कुरा मिल्यो । तर त्यो स्कूल पनि धेरै समय फापेन । चारपाँच महिनामै हामी अलग्गियौँ ।
त्यसपछि निकै लामो समयसम्म हामी दुईभाइको भेट भएन । चौहत्तर सालमा दाइ राससको महाप्रबन्धकमा नियुक्ति पाएपछि मात्र हाम्रो भेटघाट हुनथाल्यो । उतिबेला उहाँसँगै भक्तपुरको कैलाश डाँडा र रानीकोटको दिनभरको पैदलयात्रा अविस्मरणीय छन् । भेटघाट उति बाक्लो नभए पनि फोन तथा मेसेन्जरमार्फत हप्ता नबिराई अहिले पनि ओपेन्द्र दाइसँग भेट भैरहन्छ । उहाँले बेरोजगार छु भन्दा मुटु च्वास्स घोच्छ । दाइ अर्थमन्त्री भाइ बेरोजगार ? यस्तो पनि कहीँ हुन्छ ? अहिले उहाँले जोडदार समर्थन गर्ने पार्टी नै सरकारमा छ, तथापि उहाँको यस अभिव्यक्तिले उहाँको संघर्षको मूल्याङ्कन उचितरूपमा भएन कि भन्ने लाग्छ ।
यहाँ जतिसुकै व्यवस्था बदलिए पनि बोल्नेकै पिठो बिक्ने गर्छ । सुर खेल्न जान्नेले नै रुख चढ्न पाउँछ । दाइको सिधासाधापनले नै उहाँभित्रको बासमती चामल खेर गैरहेको छ । सुर खेल्न नजान्नाले यामानका पाखुरा र पाँसुला भए पनि फेदबाट रुखको उचाइँ चियाएर बस्नुपर्ने बाध्यता छ ।
दाइसँग परिचित नहुनेहरू उहाँको बोल्ने शैली र सुरुवाती खस्रो व्यवहारले तर्सन पुग्छन् । दाइ कतिसम्म क्रेजी छन् भने कसैलाई जिस्क्याउनुपर्योे भने धुरूक्कै रुवाइ छोड्छन् । तर जे बिकार छ उनको मुखमा मात्र छ । मुखभन्दा तल सबथोक सफा छ । मनमा कालोमैलो पाप कतै केही पनि छैन । कसैले उनलाई दुर्व्यवहार गरे पनि त्यसलाई छिट्टै बिर्सिदिने उनको व्यवहार सबैभन्दा राम्रो छ ।
सँगै बस्दा हात लाग्छ । सँगै सुत्दा खुट्टा लाग्छ नै । तर हामीबिच बाल्यकालदेखि आजपर्यन्त कहिल्यै हात पनि लगाउनुपरेन र खुट्टा पनि लागेन । मित्रसँग कुनै अपेक्षा नराखेपछि मित्रता सधैँ बचिरहँदो रहेछ । पछिल्लो अवस्थामा राजनीतिक, सामाजिक र अन्य यात्राहरूमा मलाई छोडेर अरू दाइहरू कहिल्यै भेट्टाउन नसक्ने गरी निकै अगाडि पुगिसक्नुभएको छ । तर ओपेन्द्र दाइ भने मलाई पर्खेर साथ दिएजस्तो लाग्छ ।
अतः ओपेन्द्र दाइ मेरो अभिभावक मात्र नभई मेरो सबैभन्दा असल मित्र पनि हुनुहुन्छ । यी पृय एवम् आदरणीय मान्छेको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको कामना गर्दछु ।