ए सानो मान्छे
ए सानो मान्छेयो संसारमा तिमीजत्तिकै राम्रो कुन छ ? तिमीमै शितल जून जस्तो गुण छ । तिमीमै सुनौँ सुनौँ लागिरहने मीठो धुन छ । तिमीमा शुद्ध खुन छ । त्यसैले पनि मलाई तिम्रै संगत असाध्य मन पर्छ ।
उसै त सानोमान्छे म । तिम्रै अनुहार र व्यवहारले आकर्षित गर्छ । बदलामा तिमीजस्ता सानै मान्छेहरुले धेरै मन पराउँछन् मलाई । सानाहरुको समूह झन् सानो हुन्छ । सानाहरु यति साना हुन्छन् कि आँखामा पनि बिलाइदिन्छन् । मुटुमा पनि अटाइदिन्छन् । मनमा सजिलै भिजिदिन्छन् । छातिभरि फिँजिइन्छन् । सानै प्रयासले रिझिइन्छन् ।
ठुल्लिएका ठूला मान्छेहरु जति सस्तो अरु कुन छ ? कतै अटाउन नसक्ने तर बिझाउन वा तर्साउन मात्र गुण छ । बिग्रिएको अशुद्ध खुन छ । मुटुभरि नुन र चुन छ । ठूलोमा उपेक्षा, उपहास, रिस र घृणाको थुप्रो ठूलै हुन्छ । सानोमा त माया र विश्वास मात्र अट्ने मुटु पनि खुलै हुन्छ । विकारहरुको बन्धन कहाँ हुन्छ ?
सानामै छ सुन्दरता र सरलता । सानामै छ शान्ति र निश्चलता । ठूलाका अगाडि सानाहरु झन् साना भैदिएकैले तिनीहरु झन् ठूला देखिएका हुन् । नत्र त ठूलाहरुजत्तिकै सानो त को हुन्छ ? ठूलाको आँखा सानै हुन्छ । ठूलाको मन झन् सानो हुन्छ । ठूलाको मुख सानै हुन्छ । चित्त पनि सानै हुन्छ र पित्त पनि सानै हुन्छ ।
ठूलाहरुको बीच ठूलै पर्खाल ठडिएको हुन्छ । सानाको बीच सानो ढिस्को समेत हुँदैन । फलस्वरुप जता पनि पुग्न सक्छन् । सानाको आवश्यकता पूरा हुन सानै समय भए पुग्छ । ठूलाको रहर र हर गर्जो टार्न पो ठूलै समय खर्चनुपर्छ । ठूलाजत्तिकै जता पनि स्याउँस्याउँति भेटिँदैनन् साना मान्छेहरु ।
कुनै आकारले तुच्छ भए पनि अहंकारले उच्च कहलिन्छन् । कुनै व्यवहारले निच भए पनि विकारले उँच कहलिएका हुन्छन् । जति ठूलो, उति दूलो । ठूलाहरु झन् ठूला र सानाहरु समेत ठूलै भैदिएपछि त सानो मान्छे पाउन पनि मुश्किल हुन्छ । किनकि ठूलो मान्छे बन्नु जत्तिकै ‘सजिलो’ सानो मान्छे बन्न कहाँ हुन्छ ?
ए ठुल्लिएका ठूला मान्छेहरु हो, सानो मान्छे बनी त हेर । सानो हुनु जत्तिको मज्जा अरु कुन छ ?