एक रुपैँयाको ढ्याक
एक व्यापारीका आफ्ना दुई जना छोराहरु थिए । उसका ती दुई जना छोराहरु हुर्कँदै जानथालेपछि ती मध्ये कुनचाँहि बाठो छ र आफूले कमाएको धनराशीलाई कुनचाँहि छोराले अझै फैलाउँदै लैजानसक्छ भन्ने जान्ने इच्छा भयो । यसैले एक साँझ उसले दुवैजना छोराहरुलाई बोलायो र भन्यो बाबुहरु लौ तिमीहरु एकएक रुपैँयाको ढ्याक लैजाऊ र बजार जाऊ । बजारमा गएर यस्तो वस्तु किनेर ल्याऊ कि त्यस वस्तुले पूरै कोठा भरियोस् । बाबुको आज्ञा पाउने बित्तिकै दुवै छोराहरु ढ्याक लिएर बजारतिर लागे । जेठोचाँहि पसल पसलमा हेर्दै गयो कि कुन सामानको परिमाण धेरै छ र एक रुपैँयामा पाउन सकिन्छ तर कुनै पसलमा पनि उपयुक्त सामान भेट्टाउन सकेन । आखिरमा ऊ एउटा खेतमा गएर एकमुठा पराल किनेर ल्यायो र घरमा आइपुग्ने बित्तिकै पराल कोठाभरि छर्यो ।
कान्छोचाँहिले पनि पसलमा गएर सामानहरुको मूल्य त सोध्दै गयो तर एक रुपैँयाको ढ्याकले किन्न सकिने धेरै परिमाणको मूल्यवान चिज केही भेट्टाएन । उसले सोच्यो कि उसका बाबु व्यापारमा निकै चतुर भएकोले अवश्य पनि वाहियात माग नराखेको हुनुपर्छ । अतः केही सोचेर एक रुपैँया जाने मैनबत्ती किनेर घरमा फर्कियो । अनि मैनबत्ती बालेर कोठाको एकछेउमा राखिदियो । मैनबत्तीको उज्यालोले पूरै कोठा उज्यालोले भरियो ।
यो देखेर बाबुले जेठोलाई भन्यो हेर बाबु तिमीले ल्याएको एक रुपैँया मूल्य पर्ने सामानले पूरै कोठा भरिन सकेन । पुगनपुग भुँइमात्र भरियो । तर कान्छोलाई पनि त्यति नै रुपैँया दिएको थिएँ र उसले ल्याएको त्यति नै मूल्य बराबरको चिजले भुइँमात्र नभएर भित्ता र सिलिङ समेत भरियो ।
अनि बाबुले कान्छो छोरालाई स्याबासी दियो र जेठोलाई अझै विवेकशिल हुन सुझाव दियो ।