संस्मरण

उहिल्यैको त्यो सांस्कृतिक कार्यक्रम

मैले अआ कख सिकेको बाल कल्याण माध्यमिक विद्यालय सोलाबाङ (रुकुम पश्चिम) को आज ५७ औँ वार्षिकोत्सव । यस सुखद अवसरमा विद्यालयको उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

उमेरको हिसाबले यस विद्यालय मभन्दा केही महिनाले मात्र कान्छो । मैले धेरै वर्षपछि आफूलाई प्राथमिक शिक्षा प्रदान गर्ने आफ्नो समकालीन विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाएकोमा औधी खुसी लाग्यो ।

यस विद्यालयमा मैले २०२९ साल फागुनमा पाइलो टेकेको हुँ । हामी चारै भाइबहिनी (धन, मन, कर्ण, पूर्ण) एकै दिन यस विद्यालयमा भर्ना भएका थियौँ । विद्यालयको पहिलो दिन उति याद छैन मलाई । उति वेला म परिवारको सबैभन्दा कान्छो सन्तान भएको फाइदा उठाउँदै ५ वर्षसम्म पनि मैले आमाको दूध चुस्न छोडेको थिइन रे । म विद्यालयमा दिनभर रोएर बस्थेँ रे । आमाले दिउँसो आएर अर्नीको रुपमा दूधविनाका लाम्टा चुसाएर फस्ट्याउनुहुन्थ्यो रे । सुत्केरी भएको पाँच वर्षसम्म आमाका दूध आउने कुरै थिएन । मलाई यो लतबाट छुटाउन इन्द्रेणी फल, ऐरेलु र करेलाको तितो स्तनमा घोट्दा घोट्दा बल्ल दूध चुस्न छोडेछु । ती कुरा अलि अलि झल्याकझुलुक मात्र सम्झन्छु ।

हामीले पढेको विद्यालय अहिलेका भवनहरूको पूर्वपट्टि थियो । त्यस वेला चारवटा कोठा भएको एकतले छाप्रो थियो । पहिले पाँच कक्षासम्म पढाइ हुने विद्यालय हाम्रो पालामा ३ कक्षामा झर्‍यो । सोलाबाङबाट ४ कक्षा पढ्न डेढ घण्टाको घना सालघारीको उकालो काटेर सेरीगाउँ पुग्नुपर्थ्यो । पढाइको लागि सेरीगाउँसम्म जान नपाउनेहरूले बिचमै पढाइ छोड्नुपर्थ्यो ।

मैले २ कक्षामा पढ्दाको धेरैजसो याद भने अहिले पनि छ । हामीलाई पढाउने गुरूहरूमा मेरो ठूलोमामा खड्कबहादुर खडका, काइँला काका तुलाराम ओली, कल्पना पुन, लोकबहादुर पुन (बैदारका साइँला) आदि हुनुहुन्थ्यो । ३ कक्षाको अन्त्यतिर भूपेन्द्र पुन आउनुभएको थियो । ठुलामामा प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँ बम्बै गएको वेला लक्षिराम खडका (मेरो माइलामामा) ले सट्टे शिक्षकको रूपमा पढाउनुभएको थियो । विद्यालयको सरसफाइको लागि डिलबहादुर ओलीले काम गर्दै आएकोमा पछि दुर्गाबहादुर ओलीले काम गर्न थाल्नुभयो । पछि लक्षिराम खड्का र कल्पना पुनको मायाप्रीति बसेर त्यो माया बिहेमा परिणत भयो । जातभातमा अत्यन्तै कडा त्यो वेलाको समाजमा मामा माइजूको अन्तरजातीय विवाहले गाउँलाई नै हल्लाइदिएको थियो ।

प्रधानाध्यापक खडकबहादुर खडका एक सिर्जनशील व्यक्ति हुनुहुन्थ्यो । पछि उहाँ गाउँपञ्चायतको उपप्रधानपन्च पनि हुनुभयो । २ कक्षामा पढ्दा नै हामीलाई उहाँले जोडघटाउ र भाग मात्र होइन २० सम्मका दुना कण्ठस्थ गर्न लगाउनुभएको थियो । २ र ३ कक्षामा पढ्दा नै आफूले नेपालीको एक एक शब्द उच्चारण गरेर शब्दलाई शुद्धसँग लेख्न लगाउनुहुन्थ्यो । उति वेला पानी खान वा दिसापिसाब गर्न कुइनेटा टोलको पछाडि पुग्नुपर्थ्यो । उहाँले दिएको कक्षाकार्य बुझाएमा मात्र पानी खान वा दिसापिसाब गर्ने अनुमति पाइन्थ्यो । प्राथमिक शिक्षा पढ्दादेखि नै अहिलेका विद्यार्थीहरूले दश कक्षा पढेजत्तिको ज्ञान दिलाइसक्नुभएको थियो ।

उहिले वार्षिकोत्सवलाई नाटक भन्ने चलन थियो । विद्यालयको नाटकलाई पूरै गाउँलेहरूले ठुलो उत्सवको रूपमा मनाउँथे । नयाँ ड्रेस सिलाएर वार्षिकोत्सवको दिनदेखि लगाइन्थ्यो । महिनादिन पहिलेदेखि नै बेलुका बेलुका नाटकको रिहर्सल गरिन्थ्यो । विद्यालयको रिहर्सल सुरू भएपछि गाउँमा बेग्लै प्रकारको खुसीको रौनकता छाउँथ्यो ।

हप्तादिन पहिले कागजका पतङ्गहरू बनाई रङ्गाएर सुकाउने गरिन्थ्यो र विद्यालयलाई दुलही सिँगारेझैँ सिँगारिन्थ्यो । गाउँलेहरूले खेतबारीको सबै काम सकेर वा थाँती राखेर नाटक हेर्न आउँथे । ३ दिनसम्म धुमधामका साथ विभिन्न खेलकूद र अतिरिक्ति क्रियाकलाप प्रतियोगिता गराइसकेपछि अन्तिम दिन बिहान विद्यार्थी शिक्षक तथा अभिभावकको समूहले शैक्षिक नारा घन्काउँदै विभिन्न झाँकीका साथ फनक्कै गाउँभरि प्रभातफेरी गर्दथ्यो । प्रभातफेरी सकेर पिटि खेलाइन्थ्यो । त्यसै दिनको रातमा भव्य सांस्कृतिक कार्यक्रम देखाइन्थ्यो । रातिमा पनि कुनै घर खाली नराखी गाउँगाउँबाट झिर बालेर अबालवृद्धा नाटक हेर्न ओइरिन्थे ।

सुरिलो स्वर भएका म्याडम र विद्यार्थीले गीत गाउँथे । कल्पना पुन म्याडमको स्वर अत्यन्तै मिठो थियो । गाउँमा सबैभन्दा मिठो गीत गाउनेहरूलाई आमन्त्रण गरिन्थ्यो । पीमाकली वादी, जगतप्रसाद शर्मा, डीला खडकाले गीत गाउनमा सहयोग गर्न आउनुहुन्थ्यो । कुशल वाद्यवादकहरूले मादल, मुरली, डौँरी र झ्याली बजाउँथे । गाउँबाट वाद्यवादनमा सहयोग गर्नेहरूमा डिलबहादुर ओली, धनवीर बादी, मानबहादुर बादी आदि थिए । सायद खडकबहादुर मामाले नै ल्याएको हुनुपर्छ एउटा हार्मोनियम थियो । चाँफाका ध्रुवजङ्ग मल्ल र लोकबहादुर पुन सरले हार्मोनियम बजाउनुहुन्थ्यो । विभिन्न उमेरका नर्तक नर्तकीहरू खुट्टाभरि चाँप लगाएर मादलको तालमा छमछमी लोकनाचहरू नाच्थे । हरिबहादुर खडका, यज्ञबहादुर खडका र मोहलाल ओली हस्यौली गर्नमा माहिर हुनुहुन्थ्यो । नाच हस्यौली र नाटकका दृश्यहरूको कुशल व्यवस्थापनले दर्शकलाई बसेको स्थानबाट चलमल गर्न दिँदैनथे । नाटक (Drama) को मुख्य कलाकारको भूमिका लोकबहादुर पुनले खेल्ने गर्नुहुन्थ्यो । चौरको बिचमा डोरी लगाएर महिला र पुरुष दर्शकलाई छुट्याइएको हुन्थ्यो । दर्शकलाई हल्ला गर्न नदिन र अनुशासनमा राख्न स्वयमसेवकहरू खटिएको हुन्थे । दर्शकहरूले रातभर एकनिमेष ननिदाएर शान्तपूर्वक नाटक हेरेपछि बिहानपख मात्र दर्शकहरू आँखा मिच्दै घरघर फर्कन्थे । नाटक सकिएपछिको विद्यालय तिजब्रत सकिएका महिलाहरूझैँ केही हप्तासम्म सुनोसुनो देखिन्थ्यो ।

वार्षिकोत्सवमा प्रधानाध्यापक खड्कबहादुर खडकाले गरेको मन्च व्यवस्थापन पनि सुन्दर तथा अनौठो हुन्थ्यो । उहाँले नृत्य, हस्यौली र नाटक प्रदर्शनमा पनि नयाँ नयाँ तरिका प्रयोग गर्नुहुन्थ्यो । एकपटक उहाँले नाचिरहेका कलाकारको समूहबाट दुरुस्तै पुतली तयार गर्नुभएको थियो । मन्च खुला वा बन्द गर्दा ठुलोठुलो स्वरमा पर्दाको कापबाट उद्घोषण गर्दै सिठ्ठी बजाइन्थ्यो । यसले दर्शकमा व्यग्र कौतुहलता सिर्जना गर्थ्यो । हातले पर्दा सार्ने गरिएकोमा पछि पर्दा सार्नको लागि चर्खाजस्तो घुमाउने काठ बनाउनुभएको थियो । पर्दामा तलमाथि झुम्मर राख्ने र मुख्य पर्दा मलमल कपडाको गराउने जुक्ति उहाँले नै सुरु गरेको भन्ने भनाइ छ ।

उति वेला गाउँमा हम्मेसि मट्टीतेलसमेत पाइँदैनथ्यो । लालटिनको उज्यालोले नाटक देखाउने गरिएकोमा प्रधानाध्यापक खडकाले एउटा नाटकमा बाहिरबाट मगाई सयौँ मैनबत्ती बालेर मन्च झलमल्ल पार्नुभएको थियो । भिमलको झिर, सल्लाको झर्को र हटारुले ल्याएको मट्टीतेलको टुकीबत्त्ती वा तोरीको टुकीबत्तीबाहेक उज्यालोको अर्को विकल्प नेदेखेका गाउँले मान्छेहरू मैनबत्ती देखेर अच्चिम्मित भएका थियौँ । नाटकमा बलिनसकेका मैनबत्ती खोज्न हामी केटाकेटीहरू बिहानसम्म ढुकेर बस्थ्यौँ ।

हामी सेरीगाउँमा पढ्न थालेपपछि पेट्रोमेक्सको सहायताले नाटक देखाउन थालियो । आँखै खाने पेट्रोमेक्सले नाटकको तयारीलाई निकै रोमाञ्चक बनाउँथ्यो । खलङ्गा उक्लिएपछि त जेनेरेटरबाट बलेको बिजुलीबत्ती देख्दा हामीहरू तिनछक परेका थियौँ ।

अहिले त्यो परम्परामा आमूल परिवर्तन आइसकेको छ । यस विद्यालयमा दश कक्षासम्म पढाइ हुनथालेको दशकौँ भइसक्यो । गाउँमा बिजुली फोन र मोटरलगायतका सुविधाहरू आइपुगेको वर्षौँ भइसक्यो । अहिले रातिमा नाटक देखाइँदैन । सबै वार्षिकोत्सवका कार्यक्रमहरू दिउँसै सम्पन्न गरिन्छन् ।

अहिले यस विद्यालयका आफ्नै ४ वटा बडेमानका बिल्डिङहरू छन् । पाँच सयभन्दा बढी विद्यार्थीहरू छन् । आफ्नै पुस्तकालय छ, विज्ञान प्रयोगशाला छ र प्रशस्त शैक्षिक सामग्रीहरू छन् । एक दर्जनभन्दा बढी दक्ष शिक्षकहरू छन् । विद्यालयमा स्वास्थ्यकर्मीको समेत व्यवस्था छ । यस विद्यालयले नगरस्तरीय परीक्षाहरूमा र एसइइमा समेत राम्रो परिणाम ल्याइरहेको छ । यस विद्यालयमा शिक्षा पाएका विभिन्न विद्यार्थीहरूले अहिले देश विदेशका विभिन्न उच्च ओहदामा समेत पुगिसकेका छन् ।

वार्षिकोत्सवको सांस्कृतिक कार्यक्रममा आधुनिक नाचले प्रश्रय पाएको छ । मोबाइलमै अनेकौँ सङ्गीतवद्ध चर्चित गीतहरू पाइनेभएकोले गायक र वाद्यवादकको दरकार छैन । हप्तौँसम्म रिहर्सल गर्नुपर्दैन ।

विभिन्न विद्यालयहरूमा वार्षिकोत्सवको संस्कृति नै हराउँदै गएको परिप्रेक्ष्यमा यस विद्यालयले वार्षिकोत्सवलाई निरन्तरता दिएकोमा खुसी लागेको छ । यसको प्रश्रय बिस वर्षदेखि निरन्तर प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहनुभएका अनुभवी व्यक्ति भक्तबहादुर खडका, यहाँका शिक्षकहरू, व्यवस्थापन समिति, अभिभावकहरू र विद्यार्थीहरूलाई जान्छ ।

वार्षिकोत्सव चल्दै गर्दा बाल वैज्ञानिकहरूले तयार पारेका पानीबाट चल्ने मेशिनहरूको अवलोकन गर्ने अवसर पायौँ । यसले हाम्रो गाउँ पनि अत्याधुनिक वैज्ञानिक युगमा प्रवेश गरिसकेछ भन्ने गौरवको अनुभूति भयो ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा भए पनि आफ्नो मौलिक संस्कृतिलाई बचाइराखोस् भन्ने कामना गर्दै पुनः उज्ज्वल भविष्यको कामना गर्दछु ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *