अबको यात्रा रुसतर्फको!
बाई बाई नेपाल!
अबको यात्रा रुसतर्फको!
अबको ४ महिना मेरो बसाइ सबैभन्दा ठुलो र निकट पनि, विकट पनि भूगोल ‘रुस’ मा हुनेछ । रुस सम्झँदा पनि घरी घरी रोमाञ्चित भइरहेको छु । यो अवसर मेरो लागि कल्पनातीत छ । यो खुसी वर्णनातीत छ । म अबको केही घण्टाभित्र त्यहाँ पुग्दै छु र त्यसैका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छु भन्ने आफैलाई विश्वास लागिरहेको छैन ।
यतिखेर सीमाविहीन हर्षलै मेरा भुइँखुट्टा छैनन् । आँखा विस्फारित भइरहेका छन् । जिउ चङ्गा बनिरहेको छ । कानले रुरुरुरुरु ससससस को कर्णपृय सुमधुर ध्वनि मात्र सुनिरहेको छ । छाती अस्वाभाविक फराकिएको छ । मुटुको धड्कन अस्वाभाविक रूपमा तलमाथि भइरहेको छ ।
जीवनभर जागिरमा इमान्दारितापूर्वक, नियमिततापूर्वक, निष्ठापूर्वक समर्पित भएको फल ठानेको छु मैले यस अवसरलाई । जागिरको सिलसिलामा यसअघि दुईचोटि त्यहाँ पुगिसके तापनि यो मेरो अन्तिम अवसर भएको हुँदा म धन्य धन्य भएको छु ।
अनपेक्षित रूपमा यो महत्त्वपूर्ण अवसर दिलाउने मेरो तालुक अड्डाका हाकिमसाबहरू र प्रशासन शाखाका कर्मचारीहरूको गुण कहिल्यै तिरिनसक्नु र धौबिर्सनु छ । ख्याल ख्यालमै यो अवसर दिलाउने अड्डा परिवारप्रति हार्दिक नमन छ । (भर्खरै मेरो घरमै पुगी यथार्थ अवस्था बुझेर आउने दिलदार शाखा प्रमुखले यसको विकल्पमा अर्को ठाउँको अवसरको अफर दिनुभएकै हो। तर, रुसका लागि भिसा पहिले नै लागिसकेपछि मन डुलाइरहन उपयुक्त जँचेन ।)
त्यसो त पहिलो पोस्टिङ भएदेखि नै मलाई नै सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ। सबैभन्दा बढी विश्वास गरिएको छ । कार्य सम्पादन मूल्याङ्कनमा अरूलाई छोडी सबैभन्दा बढी अङ्क मलाई नै प्रदान गरिएको सर्वविदितै छ ।
नेपालमा सुशासनका ज्ञाताहरू, महान विचारकहरू, लोकसेवाका ख्यातिप्राप्त लेखकहरूको नामले विख्यात विशिष्ट प्रशासकहरू अक्सर गरेर यही अड्डाबाटै सेवा प्रारम्भ गर्नुहुन्छ । कर्मचारी प्रशासनका सिद्धान्तहरू अक्षरशः कार्यान्वयनमा ल्याउन उहाँहरूको ज्ञान, गुणको सुरु अभ्यास स्थल यही अड्डा हुने गरेको छ । यसै कारणले पनि म यस अमूल्य अवसरको प्रमुख भागीदार बन्न पाएको हुँ । यो अभिभारा मेरोलागि आमाको दशधारा दूधभन्दा ठुलो महत्त्वको छ ।
यो अड्डापछि मेरो जागिर अवधिभर विनापूर्वाग्रह सम्भावित अवसरहरूमा मलाई नै खोजीखोजी रोजीरोजी पहिलो प्राथमिकतामा राख्ने कर्मचारी संघ. संगठनहरूको गुण यस जुनीमा मात्र होइन पुनर्जुनीमा समेत कहिल्यै तिरिनसक्नुको छ । यी अवसरहरूमा कर्मचारी संगठनको भूमिका हुँदैनथ्यो भने अड्डाले मात्र दया गरेर सम्भव नै थिएन भन्ने म पूर्णरूपमा जान्दछु । कर्मचारी संगठनहरूको सिफारिसबिना कुनै पनि अड्डाले सिन्कोसमेत भाँच्न सक्दैनन् भन्ने कुरा स्थापित भइसकेकोले यो अवसर दिलाउन कर्मचारी संगठनहरूको मुख्य हात रहेको सहजै बुझ्न सकिन्छ । मह लागेको भाँडामा झुन्डिरहने डाइनाजस्ता आफ्ना पदाधिकारीहरूलाई
पछि पारेर भए पनि मलाई छनौट गर्नु कर्मचारी संगठनको मप्रतिको चानचुने विश्वास होइन । जागिरे अवधिमा मैले पाउनुपर्ने अवसरको तुलनामा कर्मचारी संघसंगठनहरूबाट मैले निकै धेरै पाएको छु । सबैभन्दा बढी गुण लगाउने कर्मचारी संघ/संगठनको गुण पनि यसै जुनीमा तिर्ने प्रयास गर्ने नै छु ।
यो अवसरलाई मैले सामाजिक न्यायको ठुलो उपलब्धिको रूपमा लिएको छु । संविधानप्रदत्त सामाजिक न्यायको अधिकार खासगरी सीमान्तकृत नेपालीहरूको लागि ख्यालख्यालको उपलब्धि होइन। संविधानसभाको सर्वसहमत निर्णय हो सामाजिक न्याय र समाजवाद । सामाजिक न्यायको अक्षरशः कार्यान्वयन भैरहेकोले नेपालीहरूले यही देशमा जन्मन पाउनु र देशको सीमानासमेत देख्न नपाएर यहीँको माटोमा अस्ताउन पाउनु महान गौरव ठान्ने गर्दछन् । त्यसैले पछिल्लो समयमा विदेशिएका नेपालीहरू विदेश नै रित्तो पारेर धमाधम नेपाल फर्किरहेका छन्। यसको मूल श्रेय विश्वकै उत्कृष्ट सुशासनको अभ्यास गरिरहेका यहाँका राजनैतिक दलहरूलाई जान्छ । संघीयता घोषणा गरेको १० वर्षभित्रै सोको कानुन निर्माण गर्न सुरसार कस्नुले पनि यो कुरा प्रमाणित हुन्छ।
एउटा विद्यार्थी पनि एक वर्ष पढेर अर्को कक्षामा चढ्छ। पार्टी सदस्यता लिएको एक कार्यकर्ता १० वर्षभित्रै मन्त्रीसम्म पुगिसकेको हुन्छ। मेरो सरकारी जागिरे अवधि अर्थात् पच्चीस पच्चीस वर्षतक एउटै सेवा र एउटै ओहदामा रहेर अन्तमा यो भ्रमणको सुनौलो अवसर पाउनु मैले तपाईँकै करुणा ठानेको छु, अहोभाग्य ठानेको छु । किनकि राजनीतिले हरियो सलाई नकोरी प्रशासनको चुलोमा आगोसमेत सल्कँदैन ।
तपाईँहरूले मलाई एक असल राष्ट्रसेवकको रूपमा मूल्याङ्कन गरिरहनुभयो । कहिल्यै आखापाखा गर्नुभएन । पक्षपातको नाम कहिल्यै लिनुभएन । मेरो मनोबल कहिल्यै खस्किन दिनुभएन ।
संघीय कानुनहरू नबने पनि यो रुस यात्राको लागि मनोनित गर्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारसम्म निर्बाध अगाडि बढ्नको लागि समयोचित नीतिनियम कानुनहरू, कार्यविधिको निर्माण तथा अद्यावधिक गर्नमा दत्तचित्तपूर्वक लागिरहनुभयो, मलाई उडाउनमा सहजीकरण गरिरहनुभयो । यात्राको क्रममा आकर्षित हुने कुनै पनि मन्त्रालयमा प्रकियागत झन्झट बेहोर्नुपरेन र पाइलो समेत हाल्नुपरेन । कहिल्यै नपाक्ने वीरबलको खिचडीझै निजामती विधेयकको आशामा नेपालकै भूमिमा ढुकिरहनु परेन । यो उन्मुक्तिको गुण के गरी तिरौँ?
मैले यो अवसर प्राप्त गर्नुमा मेरा प्रतिष्पर्धी मित्रहरू र अवसरका लागि सम्भावित कर्मचारीहरूको भूमिका पनि कम ठानेको छैन। यो अवसरको लागि तपाईँहरूले दावी गरेको भए मैले यो अवसर कदाचित् पाउँदैनथेँ । मेरा सहृदयी मित्रहरूको उदार मन र सौहाद्रताको कारण यतातिर आँखा चिम्लिदिएर भए पनि म यस अवसरमा चुनिन पुगेँ।
जागिर छँदै रुस त फेरि जानैपर्छ भनेर घचघच्याइरहने मेरो परिवारको भूमिकालाई पनि यो अवसरमा कम आँक्नुहुँदैन ।
४ महिनापछि अनिवार्य अवकाशमा जानुपर्ने भएकोले त्योभन्दा बढी रुसमा बस्न वैधानिक रूपले मिल्दैन भन्ने जानकार नै छु । अरु विभिन्न खेलका खेलाडीहरूजस्तै उतै नहराई (मन बिग्रिएन भने) ४ महिनापछि पेन्सनपट्टा थाप्न जरुर आइपुग्नेछु ।
भाग्यले मेरो शिर नै ताकेर यति धेरै खुसीको पुष्पवृष्ट गराएर देश छोड्दैन गर्दा पनि हृदयमा अगाध माया, आँखामा आँशु र हातमा बिदाइको माला लिएर मलाई विमानस्थलमा छोड्न आउने निकटतम् आफन्तहरू र साथीभाइको यतिखेर अभाव खट्किएको छ। तथापि म कदापि निराश हुनेछैन । संसदीय निर्वाचन जितेबराबरको यो अवसर दिलाउन तपाईँहरूको पनि आआफ्नो क्षेत्रबाट अमूल्य भूमिका रहेको छ भन्ने कुरा राम्ररी बुझ्दछु ।
यो जित मेरो मात्र नभई तपाईँहरू सबैको जित ठानेको छु । तसर्थ बधाईको हकदार आफू मात्र नभई तपाईँहरू सबै हुनुहुन्छ । तपाईँहरू सम्पूर्णमा मेरोतर्फबाट मुरी मुरी बधाई छ ।
दुईवटा महादेशमा फैलिएको रुस भनेको सानो भूगोल होइन । पटक पटक टुक्रिँदा पनि ३ वटा महादेशभन्दा पनि यसको भूगोल ठुलो छ । भनिन्छ पूर्वदेखि पश्चिमसम्म स्थानीय रेलमा यात्रा गर्न नै यहाँ ११ दिनभन्दा बढी लाग्दछ ।
धेरै टाढा गयो भन्ने नठान्नुहोला । शरीर टाढा भए पनि मेरो मन तपाईँसंगै छ । सम्झना तपाईँहरूसँगै छ । सामाजिक सञ्जालको जमानामा दिनरात छिनको छिन भेट भइहाल्छ । नोस्टाल्जियाले सताए तपाईँहरूको शब्दचित्र कोरेर बस्ने छु।
बाइ! छिट्टै भेटौँला है मित्रहरू! बाइ! सियु! लभ यु!
(नेपालभित्रकै दुई जिल्ला रुकुम र सल्यानको सुरु अक्षरहरूबाट बन्ने यो रोमाञ्चक यात्राको नाम ‘रु स यात्रा’ राखिदिने आदरणीय साहित्यकार कमदेप्रति हार्दिक आभार व्यक्त गर्दछु।)

![]()