अपेक्षा त्यस्तो केही होइन
लामालामा कोमल हातहरुले पहाडका जराहरु समाती
अलमस्त खुट्टाहरु परपर पसारेर
तिमी लम्पसार उत्तानो सुतेर चिप्लिरहेकी छ्यौ बगरमा
हामीहरुले गिजोलेर छोडेकी
तिम्रो धमिलो धमिलो छातिमा
चलमलाइरहेको देखिरहको छु आफ्नै सर्वाङ्ग धरमर धरमर
आफैलाई ठम्याउन मुश्किल छ
बढ्दैछ ढुकढुकी, आँखा रिङे, आँखा रिङे,
म तिमीलाई ग्वामलाङ्ग अंगालो मार्नलाई हामफाल्न
जमजमाइरहेको छु ।
तिमीबाट ध्यान खिँचेर फैलाउँछु वरिपरि
मसंगै थुप्रै हामीहरु उभिएका छन् तिम्रो बगलमा
हामीको पुछारतिर म झुण्डिएको छु अपेक्षाविहिन्
तर अनगिन्ति अपेक्षा छन् हामीहरुका
कोही तिमीलाई हंगालोमा चिरेर आफ्नो बारीमा हुल्न व्यग्र छन्
कोही अंगालोमा बाँधेर गाग्रीभरि उभाउन लालायित छन्
कोही हामी तिमीलाई छाङ्गो भीरबाट खसालेर
अँध्यारा कोठाहरु उजिल्याउन तल्लिन छन्
कोही अञ्जुलीभरि उभाएर मुख पखाल्न वा शिरमा चढाउन शौखिन छन्
कोही तिमीमै डुबुल्की मारेर शितलता प्राप्त गर्न उत्सुक छन्
कोही तिम्रो भङ्गालोमा दुवाली बाँधेर गीतमै र्यानल काढ्छन्:
“माछी मार न हे दाइ हो, साँझलाई चटनी, माछी मार न ।”
हो सानीभेरी तिमीलाई भिन्नाभिन्नै उपयोगका देख्छन् यी हामीहरुले ।
तिम्रो बुझाइमा
केही फरक छैन म र हामीहरुबीच
किनकि म र ‘म’हरुको समष्टि रुप नै हामी हो
मेरो स्पष्टीकरण:
बिलकुल फरक छ म र हामीहरुबीच
किनकि ‘हामी’मा ‘ह’, ‘आ’कार र ‘ई’कार पनि थपिएका छन्
र मेरो अपेक्षा बिलकुल फरक छ तिमीसंग
यो अपेक्षा तिमीले सोचेझैँ अरु हामीहरुको जस्तो त्यस्तो केही छैन ।
यही सुनाउन उपस्थित छ यो ‘म’ यी ‘हामी’ हरुबीच
यी नजर सिर्फ तिम्रो शान्त र कञ्चन रुपको प्यासी हुन्
यी कानहरु सिर्फ तिम्रो मीठो कलकल गीतका शौखिन हुन्
यी ओठहरु सिर्फ तिम्रो स्थायी बहावको प्रशंसक हुन्
मेरा अपेक्षा यतिमै मात्र सिमित छन्
तर
हाम्रा असिमित अपेक्षाहरु तिम्रो बहावमा कतै पनि बाधा नबनून्
तिमी बग्दै जाऊ, अविरल बग अनन्तसम्म ।
मूल अपेक्षा यो पनि:
तिमी यति शान्त, कञ्चन र पारदर्शी बनिदेऊ कि
म अरु हामीहरुसंगसंगै तिम्रोसामु उपस्थित भइदिँदा
ऐनारुपी तिम्रो आवरणमा मेरो र हाम्रो प्रतिच्छायाँमा
निर्भय, निसंकोच
मैले आफूलाई ‘मै हुँ’ भनेर स्पष्ट ठम्याउन सकूँ
मैले मेरा वरिपरिका हामीहरुलाई ‘मेरै हुन्’ भनी स्पष्ट चिन्न सकूँ
हामीहरुको ठीक बीचमा मेरो अस्तित्व सुन्दर, स्वाभिमान र समुन्नतजस्तै देखियोस्
र स्वतन्त्र भई तिम्रो कलकल गीतमा हाम्रो गीत मिसाउन सकियोस् ।
२०७२।०४।०२