प्रवचन संग्रह

अन्धकारबाट उज्यालोतिर

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

भक्तिमार्गमा हामी सबैले भगवानसंग प्रार्थना गर्दै आएका छौँ कि ‘हे भगवान अन्धकारबाट हामीहरुलाई प्रकाशतिर लैजानुहोस् ।’ संस्कृतमा भनाइ छः तमसोमा ज्योतिर्गमय…. । जसरी कहिलेकाहीँ गाडीमा पहाडी भेगतिर जाँदा बाटोमा सुरुङ्गहरु आइपरे भने यिनीहरुको बीचमा यति अन्धकार हुन्छ कि वरिपरि केही पनि देखिँदैन । कुनै कुनै सुरुङ्ग त यति लामो हुन्छ कि कुनबेला सकिएला भनी अत्यासै लाग्छ । तर यतिसम्म भने विश्वास गरिन्छ कि आखिर अन्धकार समाप्त नै हुनेछ र अवश्य पनि प्रकाश आउने नै छ । साना बच्चाहरु हो ! जो पहिलो पटक सुरुङ्ग हुँदै गइरहेका छौ भने सोच्नेछौ कि यसले हामीलाई कहाँ लगिरहेको छ ? भक्तिमार्गमा हाम्रो स्थिति यस्तै थियो । अन्धकारतिर गइरहेका थियौँ र भगवानलाई खोज्न गइ नै रहेका थियौँ । हामीलाई यतिसम्म पनि थाहा थिएन कि यस सुरुङ्गको अन्तमा प्रकाश आउला या नआउला ? भन्ने । यसको कुनै भरोशा थिएन । खोजी थियो तर आशा थिएन । सुरुङ्गको अन्तमा प्रकाशलाई देखेपछि यात्रीहरुलाई यति खुशी मिल्छ कि आखिरमा हामी प्रकाशमा आइपुग्यौँ भनेर । यसरी नै जब हामीहरु बाबालाई प्राप्त गर्छौँ या ईश्वरीय ज्ञान प्राप्त गर्छौ, हाम्रो जीवनमा प्रकाश नै प्रकाश आउने गर्छ । अन्धकार नै बाँकि रहँदैन । ती अन्धकार दिनहरु समाप्त हुनेछन् र हामी प्रकाशमा आइपुग्ने छौँ ।

बाबाले हामीलाई धेरै प्रकारका प्रकाश दिनु भएको छ । संसारमा धेरै प्रकारका प्रकाश हुन्छन् र ती धेरै प्रकारको काममा आउँछन् । त्यसैगरी बाबाले हामीलाई जुन अलग अलग प्रकाश दिनुभएको छ तिनीहरु अलग अलग कामका लागि हुन् । जसरी हामीले देखेका छौँ कि ट्राफिकका लागि पनि अलग अलग बत्ती हुन्छन् जस्तो रातो, हरियो आदि । यदि हामीले रातो बत्तीमा कार लिएर गयौँ र अर्को कार पनि त्यसरी नै आयो भने के होला ? अवश्य पनि हामी दुवैजना अस्पत्ताल जानुपर्ने हुनसक्छ । जब हरियो बत्ती बल्दछ, त्यसबेला एकथरी गर्नुपर्ने हुन्छ भने रातो बत्ती बल्दा अर्को थरी । यसैगरी ट्रेनको गार्डले जब रातो बत्ती देखाउँछ, त्यसैबेला ड्राइभरले गाडी चलायो भने अगाडि लिग लिगसंग नमिले के होला ? गाडी लिगबाट खस्न सक्छ । जसरी हरेक रोशनीको आ-आफ्नो महत्त्व हुन्छ, त्यसरी नै बाबाले पनि हामीलाई धेरै प्रकारका रोशनी दिनुभएको छ । बाबाले कति प्रकारका रोशनी दिनुभएको छ भन्ने कुरा आज हामी चर्चा गर्दैछौँ ।

सबभन्दा पहिले हामीहरु ईश्वरीय विश्व विद्यालयमा आयौँ र हामीले साप्ताहिक कोर्स गर्‍यौँ फलस्वरुप हामीलाई प्रकाश मिल्यो । ज्ञानको प्रकाश जसलाई रोशनी पनि भनिन्छ । प्रकाश के को सम्बन्धमा मिल्यो ? सामान्यतया जब कसैले कुनै कुराको सम्बन्धमा समाधान चाहन्छन् भने भन्दछन् कि यस कुरामा प्रकाश पारिदिनुहोस् । यहाँ प्रकाश पार्नुको अर्थ टर्चको प्रकाश पार्नु भनेको होइन । उनीहरुले त ज्ञानको प्रकाश पारिदिन भनेका हुन्छन् । बाबाले के के कुराको सम्बन्धमा प्रकाश पार्नुभएको छ ? हामी भन्छौँ कि अन्धकारबाट प्रकाशतिर लैजाउ । हामीलाई यतिसम्म पनि थाहा थिएन कि के के अँध्यारो थियो ? र के कस्तो प्रकारको प्रकाश चाहिएको हो ? यो बारे बाबाले नै तमाम आवश्यक कुराहरु बताइदिनुभयो । तीमध्ये सबभन्दा पहिले म को हुँ ? हामी यति अँध्यारोमा थियौँ कि हामी को हौँ ? भन्ने कुरा हामीलाई नै थाहा थिएन । जसरी निष्पट्ट (घटाटोप) अन्धकारमा व्यक्तिको आफ्नो शरीर नै देखिँदैन अर्काको शरीर देखिनु त धेरै परको कुरा थियो । उसले आफू स्वयमलाई देख्न सक्दैनथ्यो । यस्तो अन्धकारमा थियौँ हामी । ती मध्ये पहिलो अन्धकार भनेको म को हुँ ? मैलाई थाहा नहुनु थियो । बाबाले सबभन्दा पहिले म को हुँ ? र के हुँ ? भन्ने सम्बन्धमा प्रकाश पारिदिनुभयो । त्यसपछि परमपिता परमात्मा को हुनुहुन्छ ? भन्ने सम्बन्धमा प्रकाश पारिदिनुभयो । यसलाई अलिफ और बे भनिन्छ अर्थात रचयिता र रचनाको प्रकाश । दुवैको ज्ञान आवश्यक थियो । बच्चा भएपछि उसको बाबु पनि हुनैपर्‍यो । जुन कुरा स्वाभाविक नै हो । लौकिक जीवनमा जे कुराको फाराम भराए पनि, चाहे राशन कार्ड होस् चाहे पासपोर्टको होस्, त्यसमा आफ्नो मात्र नाम नलेखेर बाबुको नाम समेत लेख्न आवश्यक पर्छ । यदि तपाईँ यसै दुनियाँमा हुनुहुन्छ भने तपाईँको बुबा पनि अवश्य हुनुहुन्छ । यसको लागि म को हुँ ? र मेरा परमपिता को हुनुहुन्छ ? यस ज्ञानको प्रकाश अवश्य नै चाहिन्छ । बाबाले यी दुवै कुरामाथि प्रकाश पार्नुभएको छ । फेरि हामी कहाँ रहनेवाला हौँ ? हामी कहाँबाट यहाँ आयौँ ? र कहाँ जानेवाला हौँ ? यस कुराको प्रकाश पनि हामीलाई मिल्यो । किनकि दुःख र सुखको सम्बन्ध हाम्रो कर्मसंग छ । यसको लागि बाबाले कर्मको सम्बन्धमा पनि प्रकाश पार्नुभयो । सबैसंग हाम्रो के सम्बन्ध छ ? यस कुराको सम्बन्धमा पनि बाबाले प्रकाश पार्नुभयो । दुनियाँमा जति पनि लडाइ-झगडा भए वा भइरहेका छन् वा हुनेवाला छन्, यी सब आपसमा सम्बन्ध ठीक नहुनुकै कारण हुन् । चाहे सासुबुहारीको झगडा होस्, चाहे छिमेकी-छिमेकीबीचको झगडा होस्, चाहे भाइभाइबीचको अंशबण्डा सम्बन्धी झगडा होस् । जब आपसी सम्बन्ध बिग्रिन पुग्छ, उनीहरुमा घृणा, द्वेष आउँदछ, तब संसारमा दुःख र अशान्ति आउँछ । यसै कारणले हामी देह र यस देहसंग सम्बन्धित नातेदारहरुको बारेमा तथा देह र आत्माको सम्बन्ध के छ ? यो कुरा भुलिसक्यौँ । जसलाई देह-अभिमान भनिन्छ । यही देह-अभिमानबाटै दुःख, अशान्ति, द्वेष, ईर्ष्या उत्पन्न हुन्छन् । जब हामी आफ्नो सम्बन्धको बारेमा सही कुरा बुझ्दछौँ, व्यवहार गर्दछौँ, तब दुःख र अशान्तिबाट मुक्त हुन्छौँ । यो ज्ञानको प्रकाश हामीलाई बाबाले दिनुभएको छ ।

यदि कसैको आँखाको प्रकाश छैन भने सूर्यको प्रकाश हुनु र नहुनुमा बराबर हुन्छ । यदि बाहिर प्रकाशै प्रकाश छ, तर यो देख्नको लागि नेत्र छैन भने जीवनमा अन्धकारै अन्धकार मात्र हुन्छ । भनिन्छ कि आँखा नहुनेको लागि संसार हुनु र नहुनु एकै हो । यसरी नयनको ज्योति एकदमै महत्त्वपूर्ण छ । बाबाले हामीलाई ज्ञानको चक्षु र बुद्धिको नेत्र दुवै दिनुभएको छ । यदि तपाईँ कसैलाई सुनाउनुहुन्छ, तर उसंग तेस्रो नेत्र वा बुद्धिको चक्षु छैन भने उसलाई ज्ञान समझमा नै आउँदैन । जसरी जसको नयनको ज्योति छैन भने उसको लागि सूर्यको रोशनी नभए बराबर हो, त्यसरी नै बुद्धिरुपी चक्षुबाट रहित व्यक्तिको हाल त्यस्तै हुन्छ । उसलाई तपाईँले आत्मा नै सबै थोक हो भन्नुभयो भने पनि उसले मान्दैन, उसले त मस्तिष्क नै सबैथोक हो, आत्मा होइन भन्ने छ । यसरी बाबाले हामीलाई ज्ञानको प्रकाश मात्र दिनुभएन कि त्यसद्वारा हामी को हौँ ? यस संसार के हो ? हामीले यहाँ के गर्नुपर्नेछ ? यी कुराहरु देख्नको लागि अर्थात बुझ्नको लागि दिव्य चक्षु अर्थात तेस्रो नेत्र पनि दिनुभयो । दिव्य नेत्रद्वारा आवृत्त मायाको पर्दा हटाइदिनुभयो । एउटा गीत पनि छ – ‘नयनहिनहरुलाई बाटो देखाइदेऊ प्रभू ।’ तर प्रभूले बाटो मात्र देखाइदिनुहुन्न कि सो बाटो हेर्ने नयन पनि दिनुहुन्छ । सबैभन्दा ठूलो कुरा नै यही हो ।

मैले भनिरहेको थिएँ कि कैयौँ प्रकारका लाइटहरु हुन्छन् जस्तो कि ग्रीन लाइट तथा रेड लाइट, अर्थात के गर्नुपर्ने र के नगर्नुपर्ने । बाबाले यो पनि बताउनुभएको छ कि कस्ता-कस्ता कर्म गर्ने र कस्ता-कस्ता कर्म गर्न नहुने । बाबाले भन्नुभएको छः बच्चाहरु हो, संसारमा बस, खाऊ, पिऊ, लगाऊ, आरामसाथ र खुशीसाथ बाँच, यो ग्रीन लाइट हो । काम, क्रोध, लोभ, मोह, अहंकार, ईर्ष्या, द्वेष आदि छोड, यो रेड लाइट हो । घरबार नै छोड त भन्नुभएको छैन । बाबाले भन्नुभएको के हो भने सबलाई स्नेह दिएर कतै फस्ने, कसैलाई घृणा गर्ने, ईर्ष्या गर्ने कार्य रेड लाइट हो । यस्तो कार्य गर्न बन्द गर । बाँकी यस संसारमा बस, मिल, गर र बाँच । यो संसार हाम्रो सुखको लागि हो, मोजको लागि हो, हाम्रो लागि नै हो । दुनियावी सुख र मोज चाँहि होइन, जसबाट श्रृष्टिको आदि-मध्य-अन्त्यमा दुःखैदुःख मिल्छ । बाबाको ज्ञान नै एक यस्तो प्रकाश हो, जसद्वारा हामीले सबै वस्तुहरु स्पष्ट देख्न सक्छौँ । बाबाले सिर्फ एक रङ मात्र दिनुभएको छैन, धेरै रङहरु हामीलाई दिनुभएको छ ।

हामीले देख्छौँ कि प्रकाश सूर्यको पनि हुन्छ र चन्द्रमाको पनि हुन्छ । दुवै प्रकाश आफ्नो-आफ्नो प्रकारको हुन्छ । चन्द्रमा कति राम्रो लाग्छ, शितल लाग्छ । सूर्यका प्रकाश कति तेज र शक्तिशाली हुन्छ, जसले फोहोर भष्म गरिदिन्छ र कीटाणु नाश गरिदिन्छ । यसप्रकार बाबाले हामीलाई दुवै प्रकारको प्रकाश दिनुभएको छ । अरुहरुलाई चाँदनीको जस्तो शितलता पनि दिनुहुन्छ र सूर्यको किरणको जस्तै आफ्ना अवगुण र पापलाई भष्म पनि गरिदिनुहुन्छ । पुरानो संस्कारलाई पगालेर, गलाएर, जलाएर बदलिदिनुहुन्छ । शितलता पनि आवश्यक छ र उष्णता पनि आवश्यक छ । यस लाइट त संसारमै चलि आएको छ कि आत्मा अमर छ, शरीर नश्वर छ, यो शरीर पाँच तत्वको कंकाल हो । कुनै न कुनै सत्संगहरुमा यस आध्यात्मिक लाइट हुन्छ नै, तर बाबाले हामीलाई नयाँ रोशनी दिनुभएको छ । बाबाले आत्माको बारेमा, परमात्माको बारेमा जो लाइट दिनुभएको छ, त्यो लाइट पुरानो होइन, प्रचलित लाइट होइन । यो त न्यू लाइट हो, नयाँ रोशनी हो । तपाईँ देख्नसक्नुहुन्छ कि संसारमा बालिएको ज्योतिको अगाडि सबैजना झुक्छन्, निभेको ज्योति अगाडि होइन । बाबाले हाम्रो दीपक जगाउनुभएको छ, यो निरन्तर बलिरहन्छ । बाबाले हामीलाई यही तरीका बताउनुभएको छ कि हामीले यसलाई कहाँसम्म बालेर पुर्याउन सक्छौँ, पुरुषार्थ हामीले कसरी गर्छौँ । बाबाले यस्तो लाइट दिनुभएको छ कि यस दीपकलाई हामीले मायाबाट कसरी जोगाएर राख्न सक्छौँ । म आत्मा हुँ, यो ज्ञान दिने एकप्रकारको लाइट भयो र म आत्मा हुँ यसलाई नभूल, यसको लागि के गर्नुछ ? भन्ने अर्को प्रकारको लाइट भयो । यसप्रकार बाबाले हामीलाई धेरै प्रकारका लाइटहरु दिनुभएको छ जसबाट हाम्रो जीवन प्रकाशै प्रकाशले भरिपूर्ण बनाइदिनुभएको छ ।

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *