लेख/आलेख

दुःखी आत्माको नरकयात्रा

(गाईजात्रे लेख)

ऊ जागिरे जीवनका ८४ लाख नरकका ८४ लाख जुनी भोगाइको अन्तिम यात्रामा छ । आजभन्दा झन्डै २५ वर्षपहिले कालो साउनको ९ गते जुन दिन उसले त्यो नरकयात्रा सुरू गरेको थियो, त्यसै दिनदेखि यमदूतहरू उसको काउन्टडाउन गर्दै नजिक नजिक सरिरहेका छन् ।  यो अन्तिम यात्राको मलामी भने पनि शव भने पनि स्वयम् ऊ मात्र छ ।

अन्तिम घडीमा एकजना यमदूतले उसलाई सोधेका थिएः तँ झुन्डी मर्छस् कि, डुबी मर्छस् कि, फालहाली मर्छस् ?

उसले तेस्रो विकल्प रोजेको छ ।

*********

छाङ्गेभीरको थाप्लोमा पुगेर दुवै खुट्टा बुर्लुक्क उफार्न पहिले वरिपरि हेर्छ ।

उसका समकालीन र ऊभन्दा धेरै पछाडिका साथीभाइहरू धेरै माथि पुगिसकेका छन् । उनीहरूले कष्टपूर्ण यममार्ग नसमातेर यज्ञ, दान, तप, तीर्थ आदि शुभ कर्मद्वारा सिधै स्वर्ग जाने आ-आफ्नो सुन्दर एवम् बलियो भर्‍याङ निर्माण गरेका छन् । त्यो भर्‍याङले स्वर्ग समेत जोड्ने भएकोले उनीहरूले यस मर्त्यलोकमा मात्र होइन, स्वर्गलोकमा समेत विशिष्ट पहिचान बनाइसकेका छन् । कोही त्यो बनाउने लाइनमा छन् । उसले न त त्यस्तो भर्‍याङ बनाउने कुरामा दिलचस्पी दियो, न त भर्‍याङको जटिल प्रविधिबारेमा नै जानकारी लियो । फलस्वरूप यो नरकमा उसको जुन पहिचान बाँकी रह्यो, त्यसलाई न छोपेर छोप्न सकिने खालको भयो, न त कतै देखाउनलायक नै ।

फालहाल्ने आँट जुटाउँदै आँखा चिम्लन्छ र मुठ्ठी कस्छ । उसको विगत आँखा वरिपरि घुम्न थाल्योः

************

बाबुबाजेले अपनाएको परम्परागत कृषि पेशामा दुक्ख देखेर, व्यापार व्यवसाय गर्नमा घाटा देखेर, आफूले सिकेको ज्ञान बाँड्न अल्छी मान्दै एकजना दुःखी आत्मा उत्तानाटाङ हालेर विकल्प खोज्दै थियो । वरपरका सङसाथीहरू भकाभक सरकारी जागिरतिर हामफालेर स्वर्गीय सुखसयलमा रमेको देखेर उसले थुक निल्न थाल्यो । तत्पश्चात् छँदाखाँदाको घरछेउको १४ वर्षे शिक्षक जागिरलाई लत्याएर यौवनको उत्तरार्धतिर (३३ वर्षे उमेरमा) सरकारी जागिरीतिर हाम फाल्यो । उसका टाङ छोटो र भाग्य खोटो भएकोले उसले टेक्न पुगेको दुरी पनि छोटै भयो । हुन खोजेको थियो गुभो, तर भयो सुब्बो । पुग्न खोजेको थियो माणिक्यपुर, तर पुग्यो साप्रमपुर राज्यको बाणिक्यपुर ।

जम्मा अवधिको एकचौथाइ समयसम्म बाणिक्यपुरमा नै बितायो  । मच्चियो मच्चियो थच्चियो भनेझैँ मच्चिँदा मच्चिँदा त्यो ६ वर्षको अवधिमा हातखुट्टा मात्र होइन दिमाग समेत भुत्तो भइसकेको थियो । त्यहाँ रहँदा बस्दा बाबुबाजेले कमाइदिएको ३ रोपनीजति आहा जग्गासमेत बेचेर स्वाहा पार्‍यो ।

त्यहाँबाट भड्किएर त्यो दुःखी आत्मा पन्निकापुर पुग्यो । त्यहाँका धनिका मनिकाहरूको सानसौकात अर्कै थियो । उसको भाग पर्‍यो कनिका मात्र । त्यो कनिकाले उसको बढ्दै गएको परिवारको जिविका चल्न मुस्किल पर्न थाल्यो । फेरि त्यहाँबाट भड्किएर लोसेवापुरतिर हानियो ।

लोसेवापुरले पनि उसको भोकसेवा पूरा गरेन । उसले सुब्बा पदको भन्दा निम्नस्तरका काम गर्दागर्दै हाकिमको ट्वाइलेट सफा गर्नेसम्म आदेश पाउन थाल्यो । उसले कवितामार्फत् इन्कार गर्दा अभिलेख शाखामा पुर्‍याइयो । त्यहाँ रहँदा लोसेवापुरको वातावरण बुझ्यो । घोकसेवा गर्न सके यज्ञ, दान, तप, तीर्थ आदि शुभ कर्म नगरेरै स्वर्ग पुगिनेरहेछ भन्ने बुझ्यो र लाग्यो घोकसेवातिर । नभन्दै त्यहीँबाट अधिकृतमा नाम निकाल्न सफल भयो । ठान्यो अब उसको स्वर्गयात्रा सुरू हुनेछ । उसको मार्ग मोडियो । ऊ साप्रमपुरबाट यमलीनपुर राज्यपट्टि लाग्यो ।

त्यो दुःखी आत्माले सेवा प्रवेशको दुःख निवारक तालिम पनि पायो । तालिममा यमलीनपुरका केही चित्रगुप्तहरूले तालिममा प्राप्त नम्बरको आधारमा स्वर्ग र नरकको फैसला हुनेछ भनेर खुब बाइफसङ्गा लगाए । तर पछि कोही जान नचाहेको सोचनापुरमा उसलाई घोक्र्याइयो ।

ऊ सोचनापुरमा रहँदा चौधमहिनाभित्र ७ जना त सचिवै फेरिए । सचिवहरूलाई समेत घोक्रेठ्याक लगाएर पठाइने सोचनापुरबाट उम्किने जुक्ति खोज्यो र तहाँबाट दुर्गम रुकुमको कोलेनिपुरमा पुर्‍याइँदो भयो ।

यमलीनपुर वा कोलेनिपुरमा बसी यज्ञ, दान, तप, तीर्थ आदि शुभ कर्म गरेकाहरूलाई रोजेको ठाउँमा पठाउने प्रचलन र मापदण्ड यमलीनपुरमा उहिले पनि थियो र अहिले पनि छ भनिन्छ । (अझ यमलीनपुरका चित्रगुप्तहरू, जसले अरूलाई छानीछानी स्वर्गको पुलो वा नरकको धुलो चटाउँछन्. उनीहरूचाँहि सडक वा मालदार प्रोजेक्टजस्ता अद्भूत स्वर्गको बारम्बार रमण गर्न मरिहत्ते गर्दछन् ।)

दुर्गमको कोलेनिपुरमा अढाइ वर्ष बिताउँदा पनि उसलाई रोजीबिनी अर्को ठाउँमा जानपाइने तथाकथित यमलीनपुरको मापदण्डले छोएन । त्यसताकाका चित्रगुप्तहरूले कोलेनिपुरबाट चुनाव सकिइसकेको ठण्डाराम निर्वाचनपुरमा पुर्‍याएर उसलाई निर्वासित गरिदिए ।

निर्वाचनपुरमा छँदा उसले हुर्किसकेको सन्तान गुमाउन पुग्यो । त्यसैको फलस्वरुप शोक र सन्तापबाट केही त्राण पाउनको लागि बाँकी रहेका सन्तानको आधार खोज्दै ऊ भैरहवाको सिँचितपुर पुग्यो । तर ऊ पीडैपीडाबाट किञ्चित पनि वञ्चित हुन सकेन । त्यहाँबाट ऊ भैरहवाकै घरेलुपुरमा पुर्‍याइयो ।

घरेलुपुरबाट अझै पश्चिम दिशातिर सल्यानको कोलेनिपुरमा पुर्‍याइयो । फेरि पनि प्रचलन र मापदण्डविपरीत यमलीनपुरका चित्रगुप्तहरूले कोलेनिपुरबाट ‘डिरेल’ गरेर विनाकामको रेलपुरमा पुर्‍याइदिए । लगत्तै कोरोनाकाल सुरू भएकोले उसले रेलपुरको स्वैरकाल्पनिक रेलयात्रा गर्नुपरेन ।

रेलपुरपछि पुरापुरमा पुर्‍याइयो र तत्पश्चात् वन्धनपुरमा पुर्‍याइयो ।

वन्धनपुरमा भोग्नुपरेको अनेकौँ शारीरिक तथा मानसिक बन्धनहरूबाट आजित भएर उसले यमदूतहरूसँग हारगुहार गरेको थियोः बिन्ती छ, मलाई यस घोर नरकबाट छिट्टै बाहिर निकाल ।

उनीहरूले सोधेः तेरो यज्ञ, दान, तप, तीर्थ आदि शुभ कर्म नपुगेकोले यस्तै नरकहरू अझै भोग्नैपर्छ । भन् तँ अन्तिमचोटि झुन्डी मर्न चाहन्छस् कि ? डुबेर मर्न चाहन्छस् कि ? फालहालेर मर्न चाहन्छस् ?

उसले अनेकौँ रोगले ग्रस्त अर्धाङ्गिनीलाई सम्झियो । दिनदिनै उनलाई डुलाउनुपर्ने अस्पत्तालहरू तथा रिपोर्ट र बिलहरू सम्झियो । पढ्दै गरेको पुत्रलाई सम्झियो । गैरीखेतहरू बेचेर ठड्याएको आफ्नो नामको एक मात्र रित्तो घर सम्झियो । काम पर्नेबित्तिकै फत्ते गर्न सकिने विभिन्न सहरी सुविधाहरू सम्झियो । अनि हात जोड्दै यमदूतहरूलाई भन्योः मेरो बसाई र बाँकी रहेको जम्मै परिवार भक्तपुरतिरै छ । २५ वर्षे जागिर अवधिभर हरेकपटक भक्तपुरमै पठाइदिन निवेदन चढाएँ, तर कहिल्यै पनि त्यो अवसर मिलेन । म यो वा ऊ ठाउँ रोज्दिनँ । बिन्ती छ मलाई भक्तपुरमै झुण्डी मर्न देऊ ।

उनीहरूले यो खबर चित्रगुप्तहरूकहाँ पुर्‍याएर त्यहाँबाट प्राप्त आदेश त्यस दुःखी आत्मालाई सुनाएः तैँले सुविधायुक्त ठाउँमा झुन्डिएर आफ्नो पाप कटाउन पाउँदैनस् । तैँले जे गरे पनि यो उपत्यकाबाहिर नै रोज्नुपर्छ ।

पटक पटक मर्नु त छँदै छ । तै पनि अलिकति सजिलो तरिकाले किन नमरूँ भन्ने हिसाबले उसले हात जोड्दै बिन्ती चढायोः उसोभए चिनेजानेको पुरानै पानीपँधेरोछेउको भीरबाट फालहालेर मर्छु ।

उसको माग यमदूतहरूबाट चित्रगुप्तसम्म पुग्यो । चित्रगुप्तलाई उसको माग उपयुक्त नै लागेकोले यमराजकहाँ सिफारिश गरिदिए ।

यमराजले तथास्तु भनिदिए ।

*****************

ऊ फालहाल्न तम्सियो । उसले किन फालहाल्दै छ भनी यसो गम्योः

जुन समयमा उसले अधिकृतमा नाम निकाल्यो त्यो समय परेछ भुतले खाजाखाने बेलाको । हिमवत्खण्ड परम्परागत देवराज्यबाट गणराज्यमा परिवर्तन भएको भर्खरै भर्खरै थियो । नयाँ गणराज इन्द्रले १०/१२ वर्ष कर्म गरेका झन्डै एक अक्षौहिणी गणलाई यज्ञ, दान, तप, तीर्थ आदि शुभ कर्म नगरेरै स्वतः स्वर्ग उक्लन मिल्ने गरी एकएक थान भर्‍याङ उपलब्ध गरायो र त्यो भीडलाई दुःखी आत्माको मुखैअगाडि ल्याएर खडा गरिदियो । अतः ऊ न उनीहरूभन्दा अगाडि जान पायो, न चलमल गर्न । त्यसताकाको गणराज सिर्फ त्यही ताकाको गणको लागि मात्र फलीफाप सिद्ध भयो । तत्पश्चात् त्यो आँट गर्ने कुनै गणराज इन्द्र हिमवत्खण्डको सत्तामा आएन । त्यस्तो सोच भएको कुनै ब्रह्मा, विष्णु, महेश्वर कहिल्यै विधायनमा पुगेन । नरकमा भड्किरहेको कुनै दुःखी आत्मा कालान्तरमा आफ्नो वृत्तिको भर्‍याङ चढ्न चाहन्छ भन्ने बुझ्दै नबुझेका वा त्यस कुरामा नजरअन्दाज गरिदिने बुद्धु विधायकहरू एवम् गणराज इन्द्रहरू नै बारम्बार दोहोरिए ।

अरू त अरू गर्भ रहिसकेको संघीय निजामती विधेयक समेत पटक पटक गर्भबाटै तुहाउन सक्ने आँट मात्र देखाए । यही अवधि जागिरे मनुवाहरूको वृत्तिविकासको हिसाबले निकै लामो शीतकाल सावित भयो । यो अवधिमा साविक ८४ लाख नरकमा अर्को एउटा वृत्तिविनास नरक पनि थपियो । यति कष्टपूर्ण नरक न पहिलेका कुनै जागिरे मनुवाले भोगेका थिए, न त भविष्यमा नै कसैले भोग्नेछन् ।

महादेवलाई राहुग्रहले समातेपछि राहुले नछोडुन्जेलसम्म गोबरको डल्लाभित्र धेरै अवधि बिताएजस्तै गरी पन्ध्र सोह्र वर्षतक एउटै ओहदामा टाँसिइरहनू त्यो दुःखी आत्मालाई कम कष्टकर रहेन । त्यसमाथि उसलाई कटाक्ष गरेर सोधिने प्रश्नहरूले ऊ झनै पिरिन्थ्यो । यस्तो प्रश्न गर्नेहरूको आधिक्य यही उपत्यकामा थियो । अतः उसले फालहाल्न पुरानै ठाउँ रोज्न बाध्य भयो ।

*********

यति  मात्र उसको फाल हाल्ने आँट जुटेन । उसले यमलीनपुरका चित्रगुप्तहरूको करतुतको स्मरण गर्‍योः

हिमवतखण्डमा जुन गणराज इन्द्र सत्तामा आए तिनैबाट निर्देशित चित्रगुप्तहरू यमलीनपुरमा सक्रिय भएर बर्खाका जुकाजस्तै सलबलाउँछन् । यसको अलावा कर्मचारी सङ्गठनका नेताहरू, ठेकेदारहरू, दलालहरू र यही खेलोमा खप्पिस यमलीनपुरका कर्मचारीहरूले नै चित्रगुप्तको भूमिकाको बाँडफाँड गर्दछन् । उनीहरूको भूमिका नै पापीलाई धर्मी अर्थात् कालोलाई सेतो र सेतोलाई कालो देखाएर नक्कली खाता तयार गरी मनुवाहरूलाई स्वर्ग वा नरक पुर्‍याएर सकेसम्म धेरै पिण्ड प्राप्त गर्नु हो । पिण्डका प्रकार, परिमाण, प्रयोगविधि आदिबारे छिट्टै प्रकाशित हुने ‘यमलीनपुरको गरुडपुराण’मा विस्तार गरिनेछ ।

यमलोकमा यति नाटक चलुन्जेल पनि त्यहाँका यमराज लीन मुद्रामा रहन्छन् । सेक्रेटरीको हैसियतले ‘मिनिष्ट्रि’ चलाउन पाउनुपर्नेमा गणराज इन्द्रद्वारा ‘मिनि-स्ट्रिट’ पखाल्न पठाइएको हुनाले पनि उनी लीन मुद्रामा रहेका हुनसक्छन् । यमको यही सर्वकालीन लीन अवस्थालाई दृष्टिगत गरी यस पुरको नाम यमलीनपुर रहन गएको हो भन्ने भनाइ मर्त्यलोकमा रहेको छ । चित्रगुप्तहरूले तयार गरेको नक्कली खातालाई नै सर्वोपरि आधार बनाउँदै कानमा तेल हाली तथा आँखामा पट्टी बाँधी लीन यमराजले अन्धाधुन्ध फैसला हान्छन् । यही फैसलाको मारमा ऊ पटक पटक पर्ने गरेको छ ।

उसले अन्तिममा यमलीनपुरका एकजना यमराजलाई पनि स्मरण गर्‍योः

यमराजको सभाकक्षमा ऊ हत्पत्ति पस्ने गरेको थिएन । उनको दरबारको भयानकताबारे विभिन्न धर्मशास्त्रमा वर्णित छ । पटकपटक मापदण्ड मिचेर यो दुःखी आत्मालाई किन चरम नरकयातना भोगाइँदै छ ? कतै यज्ञ, दान, तप, तीर्थ आदि शुभ कर्म नपुगेको पो हो कि ? वा कतै चित्रगुप्तहरूले यमराजलाई नै गुमराहमा पारेका त छैनन् ? भन्ने जान्न एकपटक द्वारपालेको आँखा छल्दै त्यो दुःखी आत्मा यमराज गोपीको कक्षमा पुगेको थियो । उनी तीनैलोकका सर्वज्ञाता हुन् भनेर हजार नाग भएका शेषनागले पनि वर्णन गरी थाक्दैनथे । जब ऊ यमराजको कार्यकक्षमा छिर्‍यो उनले त त्यो दुःखी आत्मालाई देख्नेबित्तिकै ज्ञान, बुद्धि र विवेकको सट्टा मुठी कस्दै मुढेबलले हप्कीदप्की र झम्टीफन्की पो गर्न थाले । उसलाई लाग्यो शेषनागका हजार जिब्रोले अवर्णित यम देवताको रूप र सारमा धेरै अन्तर हुँदोरहेछ । अब यस्ता ढोँगी यमराजको कार्यकक्षमा कहिल्यै पस्ने छैन भन्ने किरिया खाँदै ऊ फनक्क फन्केर बाहिर निस्किएको थियो ।

उसले नारकीय उत्पीडनका यस्ता कुराहरू सम्झेपछि फालहाल्ने आँट बढेर गयो । उसले पछाडितिर पिच्च थुक्यो र छाङ्गेभीरको थाप्लोबाट बुर्लुक्क उफ्रिएर अनन्त गहिराइको कोलेनीपुरमा झ्वाम्मै फालहाल्यो ।

*******

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *