मेरो बारेमा

……………………………………………………………………………………………………………………………………………………………………….
२०७० पाैष २० गते

प्राय सबै महत्वपूर्ण मान्छेको मात्र परिचय पठनीय हुन्छ । तर म अमहत्वपूर्ण मान्छे । मेरो परिचय आम मान्छेको लागि कुनै महत्वको छैन ।

मेरो भन्नुको तात्पर्य मेरा जीवनका कुनै पनि घटना महत्वपूर्ण छैनन् । मेरो २६ वर्षे नोकरी अवधिमा १३ वर्ष शिक्षणमा र १३ वर्ष निजामती सेवामा बित्यो । सरकारी कर्मचारीहरुको  संख्याको आधारमा मेरो पद बीचतिर पर्छ । मैले हालसम्म काम गरेका कार्यालय सबै अमहत्वपूर्ण अन्तर्गत पर्दछन् ।

मेरो पारिवारिक पृष्ठभूमि पनि महत्वपूर्ण छैन । मेरो बुबा, आमा र श्रीमती सामान्य साक्षर मात्र हुन् । उनीहरुको राजनैतिक तथा प्रशासनिक हैसियत आम नेपालीको तुलनामा औसत पनि छैन ।

मेरो शैक्षिक इतिहास पनि महत्वपूर्ण छैन । १ कक्षादेखि स्नातकोत्तरसम्मका विभिन्न शैक्षिक योग्यता आर्जनको क्रममा शारीरिक, पारिवारिक तथा मनोगत परिस्थितिका कारण म कुनै पनि कक्षा/तहमा नियमित विद्यार्थीको रुपमा उपस्थित हुन सकिन । मेरो हाजिरी वर्षभरिमा १०० दिनभन्दा बढी कुनै पनि कक्षा/तहमा पुगेको छैन फलस्वरुप आजसम्म दोस्रो श्रेणीभन्दा माथिको (प्रथम श्रेणी निकट मात्र) प्रमाणपत्र हासिल गर्न सकेको छैन ।

मेरो जन्मस्थल रुकुम जिल्लाको खलंगा गाविस वडा नं ६ हो । भौगोलिक हिसाबले पनि मेरो जन्मस्थल महत्वपूर्ण छैन किनकि न त यो आरक्षण प्राप्त जिल्लामा पर्छ न त सुविधायुक्त जिल्लामा । सम्पत्तिको हिसाबले मैले आफै कमाइ आएको कुनै घर वा जग्गा त्यहाँ अहिले छैन । त्यहाँका केही जग्गा बेची वा बन्धक राखी पाएको पैंसाले प्राप्त तथा निर्माण गरेको जग्गा तथा घर भक्तपुर जिल्लाको दुवाकोट गाविस वडा नं १ मा छ । कानूनी तथा व्यवहारगत रुपमा भन्ने हो भने त्यो घरजग्गा पनि पूर्ण रुपमा मेरो स्वामित्वमा छैन ।

आम मान्छेले बुझेको अर्को महत्वपूर्ण विषय भनेको राजनीति हो । आजसम्म मैले कुनै पनि दलको विश्वासपात्र बन्ने गरी राजनीतिक दललाई लाभ पुर्याउने काम गर्न सकेको छैन । आर्थिक सहयोगको मामलामा  हरेक दलको मान्छे बनेको हुन्छु भने अवसर प्राप्तीको मामलामा इतर दलको मान्छे भनिइन्छु । अतः   यससंग मेरो चासो र गुनासो दुवै छैन । कुनै राजनीतिक दललाई फाइदा पुर्याउँदै अर्को दललाई नोक्सानी पुर्याएर स्वार्थ सिद्ध गर्ने मेरो कुनै पनि लालसा र आवश्यकता दुवै छैन ।  तसर्थ म राजनैतिक हिसाबले झनै अमहत्वपूर्ण मान्छे हुँ ।

म सबैको हुँ । सँधै सबैको हुने प्रयास गर्नेछु ।

?

?

………………………………………………………………………

375 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *