Free songs
Home / मेरो बारेमा / पेन्सनसम्मको मेन्सन

पेन्सनसम्मको मेन्सन

“कता ओली सर ?”

“अफिस !”

“होइन होला !”

“हो । साँच्चिकै हो ।”

“अझै रिटायर हुनुभाछैन र ?”

“रिटायर हुन त अझै पाँच वर्ष बाँकी छ ।”

“होइन होला हौ । मजाक गर्नुहुन्छ तपाईँ पनि । उमेर घटाको हो र ?”
अन्तिम प्रश्न मेरो लागि यति जटिल भइदिन्छ कि म नाजवाफ भैहाल्छु । एकदिन होइन, दुईदिन होइन, हिजोआज यो संवाद दिनहुँजसो चल्छ । चीरपरिचितदेखि नवमित्रहरुसम्म सित । मलाई नरोकी वा नकोट्याई अलिकति टाढाबाट यस्ता प्रश्न सोधियो भने त सुनेको नसुनेइ गर्ने विकल्प मसँग मौजुदा छँदै छ ।

आजभन्दा बीस वर्षअघि सोधिने प्रश्नहरु पनि यस्तै हुन्थे, तर उल्टापाल्टा । जस्तो कि, मैले यस्तै प्रश्नको जवाफमा, “अफिस जाँदै छु !” भन्थेँ भने प्रश्नकर्ताले संशय पोख्थ्योः “होइन होला हौ । उमेर बढाको हो र ?” 
उस्तैउस्तै तर आकाशपात्तालका प्रश्नहरुको तुलना गर्दा म जिल्ल पर्छु । मेरो यो कस्तो प्रकारको कद हो ? जुन बीस वर्षको अन्तरालमा पचास वर्षको अन्तरालजत्तिकै फराक देखियो ?

मलाई यो संवादले समयरुपी अजङको रुखको फेदसम्मै पुर्‍याइदिन्छ । कता हो कता धेरै तल निस्सास्सिने गहिराइतक । सुरेली खेल्दै म आजभन्दा ठ्याक्कै बीस वर्षअघिसम्म पुग्छु । 
२०५७ साल साउन ०९ गते राजाको सिँदुर निधारमा दलेर सरकारी जागिरीमा छिरेको दिन । जुन दिन संसार नै जितेझैँ लागेको थियो । एकताकाका आफ्नै चेला रमेशकुमार केसीको मोटरसाइकलको पुछारमा बसेर लोकसेवा आयोगको मध्यमाञ्चल कार्यालयदेखि वाणिज्य विभागसम्म दुईमिनेटको यात्रा गर्दा पुष्पक विमान चढेर स्वर्ग नै पुगेको जस्तो भान भएको थियो । अहिले रमेशजी सचिवको लाइनमा हुनुहुन्छ ।यस्तो लाग्यो कि उपभोक्ता हित संरक्षण शाखा खोल्नको लागि वाणिज्य विभाग मैलाई पर्खी बसेको रहेछ । मैले नियुक्ति पनि पाउनु र उक्त शाखा पनि खुल्नु गज्जबकै संयोग भैदियो । 

“तिमी पनि फस्ट क्लास, म पनि फस्ट क्लास ! हामीबिच ओहदाको खास के नै अन्तर छ र ?” भन्दै कृष्णहरि बाँस्कोटाले मेरो पुच्छर निमोठिदिएपछि जस्तै बाँजो खेत पनि मखनीमैदान पारिदिन्थेँ । महानिर्दशक कृष्णहरि बाँस्कोटाले वाणिज्य विभागमा राम्रो काम गर्ने कर्मचारीलाई उत्कृष्ट कर्मचारी घोषणा गर्ने शुरुवात गर्नुभएको थियो । त्यस सम्मानबाट सम्मानित हुने पहिलो भाग्यमानी कर्मचारी म नै छानिएँ । एकपटक भैरहवातिर अनुगमनमा गएको बखत बास्कोटाले मलाई तुरुन्त प्लेनमा फिर्ता हुन आदेश दिनुभएको थियो । कारण बजार मूल्य सङ्कलन सफ्टवेयरमा मेरो सल्लाह लिनु रहेछ । फस्ट क्लासको अफिसरले फस्ट क्लासको सहायकलाई यतिसम्म विश्वास गर्नु आफैमा अर्को अविस्मरणीय सम्मान थियो । उक्त सफ्टवेयर चलाउने जिम्मा पनि मलाई नै दिइयो । म वाणिज्य विभागमा रहुन्जेल सो सफ्टवेयर पनि मेरै हातले चल्यो । मैले छोडिदिएपछि उसले पनि छोडिदियो ।
वाणिज्य विभागका अधिकाँश दिनहरु निर्देशक ऋषिकेश पौडेल तथा गोविन्दप्रसाद सुवेदीसँगै बिते पछि सोही शाखामा मेरो अभिभावकीय भूमिका निभाउन रुपमा ईश्वर बस्नेत र कमल तिमिल्सिना आउनुभयो । निजामती कर्मचारीमा इमान्दारिताका पाठहरु उहाँहरुसँगै घोकेँ । उहाँहरुको अतिरिक्त हरिशरण श्रेष्ठ, गजबहादुर राना, उमेश पोखरेल, प्रेमप्रसाद घिमिरे, देवीप्रसाद थपलिया, कृष्ण लम्साल, नारायण निरौला, रामप्रसाद ढकाल, नारायणप्रसाद सापकोटा आदिसँग पनि सुमधुर सम्बन्ध कायम रह्यो ।

त्यतिबेला बसाई सानोठिमी थियो र अफिस बबरमहलमा थियो । धन्न डेरा नजिकै तत्कालीन शाखा अधिकृत भागवतप्रसाद खनालको डेरा रहेछ । समय मिलेमा उहाँले आफ्नै मोटरसाइकलमा अफिसमा ल्याउने लैजाने गर्नुहुन्थ्यो । मोटरसाइकलमा लिफ्ट पाउनु मेरो लागि सहुलियत मात्र नभई गर्वको विषय थियो । उहाँको पछि बसेपछि सय मिटर परसम्म कोही चिनेको देखेमा बोलाउँदै भनिन्थ्यो, “ए फलाना, म अफिस जाँदै छु । देखिनस् ?” मेरो धाक रवाफ देखेर उसले जलेर हो वा गलेर हो जिब्रो टोक्थ्यो । भागवत खनाल अध्ययन र अनुशासनका धरोहर हुनुहुन्थ्यो । बिहानबेलुका उहाँको डेरा छेवैबाट हिँड्दा हरघडी कितामै घोप्टो परेको देखिनुहुन्थ्यो ।

केही समयपछि वाणिज्य विभागले मलाई साइकल उपलब्ध गरायो । खुला बाटोमा साइकल कुदाउने रहरले घरबाट बिहान सातैबजे निस्कने र राति सातबजे घर पुग्नेसम्मको अनुभव सँगालियो । बजार अनुगमनको दिनमा कृष्णहरि बास्कोटालाई अनुगमनको रिपोर्टिङ त्यसै दिन गर्नुपर्थ्यो र त्यसको समाचार तयार पारेर सबै पत्रिकाहरुमा फ्याक्स गर्दागर्दा आधा रात पनि बित्थ्यो । आयस्तरको हिसाबले भने एकजोर लुगा किन्न दशैँपेश्की नै पर्खनुपर्थ्यो । 

विन्द्रा हाडा आएपछि कृष्णहरि बास्कोटाकै कार्यशैलीको पदचाप पछ्याउनुभयो । मेरो दयनीय अवस्था देखेर महानिर्देशक विन्द्रा हाडाले आफूले बुझेको बैठक भत्ता रकम मेरो हातमा थमाउनुहुन्थ्यो । उहाँकै सदाशयताले इरानको लागि इकमर्श तालिममा मेरो नोमिनेशन भएको थियो । तर इरानइराक युद्धको कारण त्यो कार्यक्रम रद्द भैदियो ।

वाणिज्य बसाइको अन्तिमतिर बबरमहलमै कोठा सारियो । त्यसले मलाई अर्को फाइदा भयो । परम्परागत घरभेटीबाट आफ्नै निजी घर हुनुपर्ने पाठ राम्रैसित सिकियो । फलस्वरुप रुकुमका गैरी खेतहरु र सदरमुकामको घरघडेरी विक्री गरी दिदी समेतको सहयोगमा ६१ सालमा दुवाकोटमा तीनआनाको जग्गा लिई टिनको छाप्रो बनाएर परिवार हुर्काउन थालियो । पछि कसैले सञ्चयकोषबाट घर बनाउन ऋण लिनसकिने बुद्धि फिराइदिएकोले आफ्नै पक्की घरको चारदिवारभित्र हुलिने अवसर प्राप्त त भयो, तर अहिलेसम्म पनि त्यसको साउँ र चक्रवर्ती ब्याजले ढाड सेकिरहेको छ । 

यसरी नै वाणिज्य विभाग ६ वर्षसम्म चल्यो । त्यसपछि मात्र  एउटै अफिसमा अलि बेसी नै बसिएजस्तो लागेकोले सानोठिमीतिरै सरुवा हुने इच्छा पलायो । संयोगवश सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत कुलप्रसाद काप्रीसँग चिनजान भयो । उहाँले मेरो निवेदन स्वीकार गरी २०६३ जेठ १५ गते परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सरुवा मिलाइदिनुभयो ।

वाणिज्य विभागबाट रमाना त लिइयो तर सरुवा भएको कार्यालयमा हाजिर हुन फलामका चिउरा चपाएजस्तै भैदियो । अपितु पनिकामा नासु दरबन्दी रिक्त नै थियो । नासु दरबन्दी कम्प्युटर अपरेटर दरबन्दी रुपान्तरणको लागि शिक्षा मन्त्रालयमा प्रक्रिया अगाडि बढाइसकेकोले हाजिर गराउन नसकिने भनियो । मुखमै पुर्‍याइदिएको भाग खोसिएजत्तिकै अनुभूति भयो । कसैले यो समस्या समाधान कृष्णहरि बास्कोटाबाट हुनसक्छ भनी मेरो कानमा फुकिदिएपछि मैले पूर्व चिनजानको हैसियतमा उहाँसँग हात जोडेँ । उहाँले शिक्षा मन्त्रालयका तत्कालीन प्रशासन महाशाखाका सहसचिव बोधराज निरौलालाई भनिदिनुभएछ कि, ‘ओली नासु भए पनि कम्प्युटर अपरेटरको काम पनि मजाले गर्न सक्छ ।’ त्यही शर्तमा म ६३ साल जेठको अन्त्यतिर परीक्षा नियन्त्रण कार्यालयमा हाजिर हुन पाएँ ।

त्यो खुशी पनि केही दिनमै खोसियो । किनभने निधारबाट राजाको सिँदुर खोसिएको थियो । बल्लतल्ल मिलेको मेरो सरुवा असार अन्तिम सातामा रद्द हुन पुग्यो । पनिकामा हाजिर भएपछि मात्र थाहा भएको थियो कि त्यहाँ त एउटा मात्र नभई आफ्नो पदमिल्दो दुईदुई दरबन्दी खाली पो रहेछन् । हाजिर गराउन आनाकानी गर्नु खरिदार साथीहरुले आफ्नो बढुवाको लागि चालेको चाल मात्र रहेछ भन्ने कुरा खुलस्त भैसकेको थियो । मैले पुनः पनिकामै सरुवा गराउन जोडबल गरेँ । यसैबेला उद्धव रिजालसँग चिनजान भयो । परीक्षा नियन्त्रक सहदेव भट्ट र उद्धव रिजालको मद्दतले म पुनः पनिकामा सरुवा मिलाएर हाजिर पनि हुन पाएँ । चाँदोमा गणतान्त्रिक सिँदुर रिप्लेस भैसकेको थियो । शाखा तोकियो कोठा नम्बर नौ । नौ नम्बरका शाखा प्रमुख हुनुहुन्थ्यो खगेन्द्रप्रसाद नेपाल । उहाँसँग काम गर्न थालेको एकदुई हप्तामै उहाँसँग घनिष्ठ हुन पुगेँ । उहाँको सामान्य जीवनशैली तर गहन खटनबाट धेरै कुराहरु सिक्न पाइयो ।

पनिकामा कर्मचारी कल्याण कोषको शुरुवात मेरै पहलमा भएको थियो । चन्द्रकान्त भुषाल, सुनिल अधिकारी, चेतकुमार पोखरेल, अशोक झा, सुदर्शन मरहठ्ठा, फणिन्द्र घिमिरे, नारायण निरौलाहरुसँग राम्रो सम्बन्ध विकास भयो । पनिकामा प्राप्त सुविधाका कुरा गर्ने हो भने ट्रक चढ्ने अभागीहरुबाट अझै माथि पुगी प्लेन चढ्ने भाग्यमानीमा दरिन पुगियो । यही मौकामा सोलुखुम्बुको सल्लेरी, भोजपुर लगायत थुप्रै पहाडी भूभागमा पुग्ने अवसर प्राप्त भयो ।

पनिका दुई वर्ष पुगेपछि बसाइ अलि बढी भएजस्तो अनुभूति हुनथालेकोले सामान्य प्रशासन मन्त्रालयमा सरुवाको टेन्डर हालिदिएँ । फलस्वरुप भाग्यले २०६५ फागुनमा लोकसेवा आयोगमा पुर्‍यायो । त्यसताका लोकसेवा आयोगमा गोपीनाथ मैनाली लेखा उपसचिव हुनुहुन्थ्यो, म उहाँलाई सहसचिवको बढुवाको हर्षबढाँइमा बधाई दिन र विदाइ गर्न पुगेको थिएँ । लोकसेवामा शाखा पाइयो डा निरन्जनप्रसाद उपाध्यायको निजी सहायकको । वाणिज्यको ६ वर्षसम्मको थकाइलाई पिए जागिरले ६ महिनामै बिर्साइदियो । जङ चल्यो र आफ्नो दुरुस्त अवस्थाको वर्णन गर्दै एउटा कविता लेखिदिएँ । त्यो कविता त फोटोकपि हुँदै प्रत्येक कर्मचारीको हातहातमा तुरुन्तै पुगिहालेछ । जसले गर्दा लोकसेवा आयोगको नयाँ भवनलाई नब्बे सालको भुइँचालोजसरी हल्लाइदियो । फलस्वरुप मलाई डम्पिङ शाखाको रुपमा चिनिने अभिलेख शाखामा सारियो । मैले त्यस शाखाको सदुपयोग गर्दै लोकसेवाकै पुस्तकालयमा समय बिताउन थालेँ । लोकसेवा आयोगमा लोक सेवाको परीक्षाको तयारी गर्ने भन्ने विषयमै अधिकांश बहस चल्ने माहौल हुनेभएकोले म पनि प्रभावित भैहालेकोले लोकसेवाका पुस्तकहरु रट्ने मौका पाएँ । फलस्वरुप २०६७ मा लेखा अधिकृतमा नाम निकाल्न सफल भएँ । सायद नेवबहादुर ओली र रोमनाथ न्यौपानेले पढ्नको लागि उत्प्रेरणा, कोठा एवं सामग्रीहरु उपलब्ध नगराएको भए नाम निकाल्न अलि मुस्किल नै पर्ने थियो ।

पोष्टिङ हुनु अघि सेवा प्रवेश तालिम लिनुपर्ने भएकोले राजस्व प्रशासन तालिम केन्द्रमा हाजिर हुन थालियो । त्यसैबेला जगदिशराज बराल, योगेन्द्र गौचन, राजेन्द्रप्रसाद नेपाल लगायतसँग चिनापर्ची भयो । तालिममा मलेनिकाका सहसचिव चुडामणि शर्माले तालिममा प्राप्त गरेको अङ्कको आधारमा पोष्टिङ गर्ने वचन दिनुभएको थियो । त्यसैको करामत हो या तजबिजी करामत म सूचना आयोगमा पोष्टिङ भएँ । कर्मचारी प्रशासन शाखा प्रमुख रमेश सिवाकोटी हुनुहुन्थ्यो ।

२०६७ माघमा सूचना आयोगमा हाजिर भएपछि डेढ वर्षको अवधिमा आधा दर्जन सचिवहरुसँग काम गर्ने अवसर जुट्यो, जसमध्ये श्रीराम पन्त, विन्द्रा हाडा,  आनन्दराज पोखरेल, उमाकान्त झा, नाथु प्रसाद चौधरी, सुरेशमान श्रेष्ठ आदि हुनुहुन्थ्यो । अधिकांश समय त सचिवहरुको स्वागत र विदाइको व्यवस्थापनमै बित्थ्यो । कृष्णहरि बास्कोटाकै शैलीमा  चल्ने सुरेशमान श्रेष्ठको व्यवहारले प्रभावित तुल्यायो । विनय कसजू, श्री आचार्य, सविता भण्डारी बराल लगायतका आयुक्तहरु, सहसचिवहरु बालकृष्ण घिमिरे, चन्द्रमान श्रेष्ठ, कृष्णप्रसाद लम्साल तथा उपसचिवहरु ज्ञानराज सुवेदी र दिवस आचार्य एवं सहायक सचिव गौलोचन सैँजू तथा मनिता कार्कीसँग काम गर्ने अवसर जुट्यो । आफ्नो निरन्तर परिश्रम, नियमितता र लगनशिलताले उहाँहरुको मन पनि राम्रैसँग जितियो ।

डेढ वर्ष पुग्दा नपुग्दै कोलेनिका रुकुममा कोष नियन्त्रक पद रिक्त रहेको खबर पाएकोले निवेदन गर्न तत्कालीन सचिव प्रतापकुमार पाठकसमक्ष पुगेँ । निवेदन गरेकै भोलिपल्ट रुकुममा मेरो सरुवा भइहाल्यो । 

२०६९ जेठ ९ गते म रुकुम पुगेँ । रुकुममा साहित्यिक क्रियाकलापहरु सञ्चालन गरिरहेका गिरिप्रसाद बुढा, मनलाल ओली, सिर्जना शर्मा, कमप्रसाद देवकोटाहरुसँग सम्पर्क बढ्यो । बाह्र वर्षसम्म वरफसरि जमेको मेरो साहित्यिक भोक रुकुमेली साहित्यकारहरुको न्यानोले पग्लन थाल्यो । रुकुममा जिल्ला न्यायाधीशहरु यज्ञराज भट्ट, हेमन्त रावल, प्रजिअहरु कृष्णप्रसाद अधिकारी, भविश्वर पाण्डे, हरिप्रसाद भण्डारी, स्थानीय विकास अधिकारी भरतकुमार शर्मा, कर्णेल अभिराज आचार्य, रोशन खडका, प्रहरी उपरीक्षकहरु किसनसिँ थापा, राजेन्द्रप्रसाद भट्टसँग परिचित हुने सुअवसर मिल्यो । उहाँहरुसँग सम्पूर्ण रुपमा भिजेर काम गर्न सफल भइयो । 

रुकुममा सरकारी कर्मचारीहरुलाई हरेक शनिबार मुसिकोट नजिकका रमणीय स्थलहरुमा पुर्‍याउने काममा अगुवाइ गरियो । न्यायाधीश हेमन्त रावलसँग यति नजिक भइयो कि रुकुम बसाइको कुनै सार्वजनिक विदाका दिनमा पनि उहाँसँगको साथ छुटेन । उहाँका ज्ञानगुण र मायाले भिज्नुसम्म भिजियो । नियाज वारिश, नरेश शाह, कुलप्रसाद अधिकारी, ऋषिकेशव वस्याल, रमा पौडेल, गोविन्द पोखरेल, कृष्ण आचार्य आदिले पनि राम्रै साथ दिनुभयो ।

 जिल्लाको चौतर्फी बिकासमा थप गति प्रदान गर्ने दिशामा रुकुम जिल्लाका सम्पूर्ण राष्ट्रसेवकहरुको ज्ञान, सिप, क्षमता, विवेकशीलता, इमन्दारितालाई अधिकतम रुपमा उपयोग गर्दै रुकुमेली भुमी र जनतालाई केन्द्रविन्दुमा राखी यथास्थितिमा सुधार, बिकास र नयाँ सम्भावनाहरुको खोजी गर्ने लक्ष्यका साथ “राम्रो रुकुम, हाम्रो सेवा” अभियानको अवधारणापत्र तयार गरियो । यो अभियानमा रुकुमेली कर्मचारीहरु नरेन्द्र राना, अर्जुन भण्डारी, चिन्तामणि दाहाल, पहलबहादुर पुन, हरिचन्द्र बुढा, बिनाराम खडका, चन्द्रबहादुर मल्ल, देवीलाल विष्ट, तिलक गौतम, ताराप्रकाश पुन, खिमबहादुर खडका, ज्ञानु शर्मा, देवबहादुर चन्द लगायतले सहकार्य गर्नुभएको थियो भने मुख्य उत्प्रेरक हुनुहुन्थ्यो स्थानीय विकास अधिकारी भरतकुमार शर्मा । तर राजनैतिक तथा प्रशासनिक नेतृत्वको आडभरोसा प्राप्त नहुँदा त्यो अभियान त्यत्तिकै सेलाएर गयो ।दुई वर्षको अवधि पुगेपछि पुनः काठमाण्डौ सरुवा हुने मेरो मनाशय बुझेर मलेनिकाका कर्मचारी प्रशासन शाखाका प्रमुख शालिग्राम पौडेलले मेरो निवेदन माग गर्नुभयो । मैले नौवटा कार्यालयहरु इच्छाइएको निवेदन पेश गरेँ । तर मेरा शुरु प्राथमिकताका आठैवटा कार्यालयमा मेरै समतुल्य र कनिष्ठ साथीहरु त्यसमा अटे तर म अट्न सकिनँ । २०७१ असोजमा नवौँ नम्बरको प्राथमिकताक्रमको निर्वाचन आयोगमा  सरुवा गरिएँ । जुनबेला सबै प्रकारको निर्वाचन सिद्धिइसकेको थियो । 

पछि मलेनिकाको कर्मचारी प्रशासन शाखामा हरि फुयाँल आउनुभएपछि मेरो गुनासो सुन्ने प्रयत्न गर्नुभएको थियो ।

निर्वाचन आयोगमा पुग्नुको फाइदा के भयो भने बाबुराम श्रेष्ठजस्ता सकारात्मक सोचका प्रकाशपुञ्जको नेतृत्वमा काम गर्ने अपूर्व अवसर मिल्यो । त्यहाँ लेखा शाखाको टिम सातजनाको थियो । मलाई विनियोजन शाखाको काम तोकिएकोले आफ्नै प्रयासमा विनियोजनको सफ्टवेयर तयार गर्ने अवसर मिल्यो । कमलमणि देवकोटा, गिरिराज ज्ञवाली मधुकर पोखरेल लगायत ७५ जिल्लाका निर्वाचन अधिकारीहरुसँग परिचित हुने अवसर जुट्यो । सचिवहरुमा क्रमशः मधुप्रसाद रेग्मी, शारदाप्रसाद त्रिताल हुनुहुन्थ्यो । सचिव गोपीनाथ मैनाली मलाई विदाइ गर्न आइपुग्नु भएको थियो । सहसचिव बीरबहादुर राई पूर्व परिचित हुनुहुन्थ्यो भने सहसचिव वासुदेव गुरागाँइ तथा साहित्यिक मित्रहरु भेषराज रिजाल, देशबन्धु अधिकारी, प्रदिप अधिकारी,  टोलराज उपाध्यायसँग परिचित हुन पाइयो । सुशिल कोइराला र लक्ष्मीदेवी हुमागाईँ दैनिक यात्राका साथी हुनुभएको थियो । 

निर्वाचन आयोगमा रहँदाको बखत नै मेरो जीवनमा अकल्पनीय दुर्घटनाले हुर्किसकेको सन्तान गुमाउनुपर्‍यो । पछुतोले सताइरहन्छ कि निर्वाचन आयोगमा मेरो सरुवा नभइदिएको भए मैले सो दुर्घटना बेहोर्नुपर्दैनथ्यो कि ? निर्वाचन आयोगमा पुगेपछि दुईतीन वर्षमै हरेक कर्मचारीले कुनै न कुनै विदेश भ्रमण गर्ने अवसर प्राप्त गर्छ, तर म भने त्यस प्रकारको अवसरबाट वञ्चित भएँ । 
एकातिर मानसिक तनाव अर्कोतिर बारम्बार चक्कर लाग्ने रोगले म ग्रसित हुँदै गइरहेको थिएँ । भीमकाय दुर्घटनाको सामना गर्नुपरेपछि पीडाको भारी सहनै नसक्ने भैरहेको थियो । उता सन्तान गुमाएर शोकसन्तप्त एक आमालाई म एक्लैले सम्हाल्नु निकै कठिन थियो । मेरा छोराछोरी भैरहवा मेडिकल कलेजमा पढिरहेका थिए । सचिव शारदाप्रसाद त्रिताल र उपसचिव बाबुराम श्रेष्ठको सहयोगले मेरो काज सरुवा भैरहवा निर्वाचन कार्यालयमा भयो । मेरो चहराइरहेको रहेको घाउमा रुपन्देहीका निर्वाचन अधिकारी हुमनाथ शर्माले सक्दो मलहमपट्टी लगाइदिनुभयो । 

जहाँ आफ्नो परिवार हुन्छ त्यही नै घर हो, त्यहीँ पुग्नु नै घरपायक हो । संरचना त घरको बोक्रो मात्र हो । मेरो अवस्थाको हृदयङ्गम गरिदिई २०७३ साल असोजमा मलेनिकाका गजेन्द्र श्रेष्ठले सिँचाइ कार्यालय भैरहवामा मेरो सरुवा मिलाइदिनुभयो । उक्त कार्यालयका अत्यन्तै व्याहारिक हाकिमहरु अक्षर गोपाल श्रेष्ठ तथा ध्रुवराज पौडेलसँग सहकार्य र भरथेगले खेपिरहेको पिडालाई हल्का तुल्याउन सकियो । उहाँ दुवैजनाले उत्कृष्ट कर्मचारीको सम्मानको लागि मलाई छनौट गरी जलस्रोत मन्त्रालयमा पठाउनुभएको थियो । टङ्क केसी मलाई विदाइ गर्न सिँचाइ कार्यालय आइपुग्नुभएको थियो । 

भैरहवामा अर्को अविस्मरणीय गुण ओम् शान्ति मण्डलीले लगायो । पश्चिम प्रमुख शान्ति सुवेदी, भूपेन्द्र अधिकारी, कृष्ण भाइजीको दम्पति, रीता गुप्ताको परिवार आदिले हामीलाई दुःखको सागरबाट माथि उतार्न मायाको पम्प नै चलाइदिनुभयो । भैरहवा बसाइमा लक्ष्मीप्रसाद पन्थीजीको साथ सहयोग पनि बिर्सिनसक्नुको छ ।

यसै अवधिमा देशमा संघीयताको कार्यान्वयनस्वरुप कर्मचारी समायोजनले निकै तताइरहेको थियो । कर्मचारीहरुलाई आआफ्नो नागरिकतामा ठेगाना भएको जिल्लामा समायोजन गरिने हल्लाले म पनि बेसरी हल्लिएँ । गलहत्त्याएर पठाइनुभन्दा मागेरै जान्छु भनी मुसीकोट नगरपालिकामा सरुवा मागेँ । सरुवा मागेकै दिनमा मेरो सरुवा मुसीकोट नगरपालिकामा भैहाल्यो । तर मलाई रमाना दिन सिँचाइका प्रमुख ध्रुवराज पौडेल राजी हुनु भएन । कारण मेरो कार्यकुशलताको साथसाथै जेठ असारको कामको चाप थियो । बरु उहाँले मलाई पन्ध्र दिनको विदा दिनुभयो र म बजेट निर्माणमा सहयोग गर्न मुसिकोट नगरपालिका पुगेँ । बजेट निर्माणमा मेरो विशेषज्ञता र क्रियाशिलता देखेर मेयर देविलाल गौतम तथा प्रमुख कार्यकार्यकारी अधिकृत माधवप्रसाद पौडेललगायतका पदाधिकारी एवम् नगरपालिकाका कर्मचारीहरु सन्तुष्ट हुनुभयो । जसको ब्याजस्वरुप हरेक वर्ष नगरपालिकाको बजेट निर्माण हुँदा उहाँहरुले मलाई सम्झनुहुन्छ र म खुशीले गदगद हुँदै साउँ नै भुक्तान भएको अनुभूति सँगाल्न पाउँछु ।

सिँचाइ कार्यालय प्रदेश अन्तर्गत परेपछि लेखा अधिकृतको दरबन्दी कटौती हुनपुग्यो । मैले सिँचाइ छोड्नुपर्ने भयो तर परिवार छोड्ने साहस जुटाइसकेको थिइनँ । फलस्वरुप मलेनिकाका कर्मचारी प्रशासन शाखा प्रमुख सुवासचन्द्र शिवाकोटीको सहयोगले २०७५ असोजमा घरेलु कार्यालय भैरहवामा सरुवा भएँ । तर केही समयमै म संघमा समायोजन हुन पुगेँ । घरेलु कार्यालय प्रदेश अन्तर्गत समायोजन भएको थियो । अतः घरेलु कार्यालय पनि छोटो समयमै मैले छोड्नुपर्ने भयो । मेरो प्राथमिकतामा नपरे पनि सुबासचन्द्र शिवाकोटीकै सदाशयताले २०७५ चैत्रमा म सल्यान कोलेनिकामा सरुवा भएँ । भैरहवाबाट विदाइ हुँदा उद्योग अधिकृत युवराज पौडेल र रुपन्देही लेखा समूहका अध्यक्ष एवम् कोष नियन्त्रक देवबहादुर घर्तीले दिएको विदाइ मन्तव्यले जस्तोसुकै टेन्सनबाट पनि मलाई मुक्ति दिन्छन् । उहाँहरुले रुपन्देही जिल्लामा लेखापालनमा उत्कृष्ट कार्यकुशलता देखाएको भनी मेरो खुलेर प्रशंशा गर्नुभएको थियो ।

सल्यानमा मेरो घर नभए पनि त्यहाँका कर्मचारीहरुको सदाशयताले आफ्नै घरतुल्य बनाइदिनुभएको थियो । न्यायाधीश कुलप्रसाद न्यौपाने, प्रजिअ चुडाराज न्यौपाने, सहायक प्रजिअ नारायण लामिछाने, अनुसन्धान अधिकृत अशोक कार्की लयातको मन जितेर काम गरियो । सार्वजनिक विदाका दिनहरुमा सल्यानका पहुँचयोग्य रमणीय स्थलहरुमा पैदलयात्राको कार्यक्रमको श्रीगणेश गरियो । जसमा बलबहादुर केसी,  नारायण लामिछाने, थमन खडका, लालबहादुर घर्ती, कृष्णप्रसाद पोखरेल, चेतविक्रम अधिकारी, केशवराज न्यौपाने आदिले नियमित साथ दिनुहुन्थ्यो । रुकुमेली राष्ट्रसेवक समूह निर्माण गरी क्रियाशिल तुल्याउने सोच भने कारणवश पूरा हुन सकेन ।
सल्यान पुगेपछि मेरो लागि त निकै सहज भयो तर श्रीमतीको स्वास्थ्य दिन प्रति दिन नराम्रोसँग बिग्रँदै जानथाल्यो । दिलदार मित्रहरु बुद्धिमान, कृष्ण र महेन्द्र तथा शेरबहादुर विष्टले गर्नुसम्म सहयोग गर्नुभयो ।

मलाई आफ्नो र श्रीमतीको उपचारको लागि घरिघरि काठमाण्डौ नपुगी नहुने अवस्था सिर्जना हुनथाल्यो । मैले पुनः काठमाण्डौ सरुवा मागेँ । यसअघि दुई दुईचोटीको छोटो अवधिमा सहकार्य गर्न पाएका सचिव गोपीनाथ मैनाली मलेनिकामा आइपुग्नुभएको थियो । म सरुवा हुने कुरामा पूर्ण विश्वस्त भएँ । नभन्दै मेरो अनुरोध र उहाँको सदाशयताले मेरो सरुवा काठमाण्डौमै भइदियो । अपितु मैले सरुवा निवेदनमा भक्तपुर वा ललितपुर जिल्ला बाहेक अन्यत्र सरुवा नगरियोस् भनी खुलाएको थिएँ । छोरी पनि पाटन अस्पत्तालमा पढिरहेकीले ललितपुरमा श्रीमतीको उपचार गरिरहनुपर्ने अवस्था थियो । म भने भक्तपुर र ललितपुरका विभिन्न कार्यालयहरुमा दरबन्दी रिक्त हुँदाहुँदै पनि अट्न सकिनँ ।

मेरो सरुवा रेल विभागमा भयो र रेल विभाग रहेको काठमाण्डौको विशालनगरमा २०७६ मंशिरदेखि हाजिर हुन थालेँ । मेरो बसाइ चाँगुनारायण नगरपालिकाको दुवाकोटमा छ । चाँगुनारायणबाट लोकल बसहरुमार्फत विशालनगरस्थित कार्यालयमा पुग्न तीनवटा गाडी फेर्नुपर्नुका साथै एकतर्फी यात्रा तीन घण्टा लाग्न थाल्यो । तीन घण्टामा काठमाण्डौबाट मुग्लिन पुगिन्छ । बिहान सातबजे नै खानपिन गरी निस्कनुपर्ने र बेलुका घरमा पुग्दा रातको आठनौ बज्न थाल्यो । मेरो सरुवा घरपायक हुँदाहुँदै पनि घरपायकजस्तो भएन । न त बिरामी श्रीमतीलाई स्याहार्ने फुर्सद मिल्यो न त परिवारमा बसेजस्तै भयो । यति मात्र होइन दुवाकोटको गाडीमा सल्लाघारीतक त छतमा चढेर समेत कठिनतम् यात्रा बेहोरिरहनुपर्‍यो । तलबभत्ता बाहेक अन्य शीर्षकमा अत्यन्तै नोमिनल बजेट भएको कारणले अफिस धाइरहनु आवश्यकता छैन भन्ने सदाशय त विभागमा सबैतिरबाट पोखिन्थ्यो तैपनि अफिस नगई आफ्नो चित्त बुझ्दैनथ्यो ।

तीन महिनासम्मको काठमाण्डौ-मुग्लिन-काठमाण्डौ जत्तिकै लामो यात्राले मलाई हुनसम्म हैरान तुल्यायो । अब मैले दुईवटा विकल्प रोज्नुपर्ने भयो कि त विशालनगरतिरै डेरा लिने कि त माउ अड्डामा पुगेर पुनः सरुवाको लागि अनुरोध गर्ने । जति बल गरे पनि दुवाकोटमा घर हुँदाहुँदै विशालनगरतिर डेरा लिन आर्थिक एवम् पारिवारिक स्वीकृति प्राप्त हुन सकेन । माउ अड्डाका अधिकारीहरुसँगै पुनः सरुवा माग गर्ने एउटै विकल्प मसँग बाँकी रह्यो । फलस्वरुप सम्बन्धित अधिकारीहरुसँग अनुनय विनय गर्न माउअड्डामा पुगेँ । तर मेरो मर्काको सुनुवाइको लागि कसैले कान फटफट्याउन आवश्यक ठानेन । उहाँहरुलाई पहुँचवाला कर्मचारीहरुकै कुरा सुन्नाले फुर्सद थिएन । बरु मैले जागिरको यति लामो अवधिमा कहिल्यै सुन्नु नपरेका तिक्त वचन र दृश्यहरु आँखाकानमा भरेर रित्तो हात फर्किनुपर्‍यो । 

जागिरे जीवनका मेरो सरुवा निवेदनमा सडकहरु, आयोजनाहरु एवम् सरुवा मापदण्डका एकनम्बरी आकर्षक कार्यालयहरु कहिले पनि पारेको छैन । सामान्यस्तरका कार्यालयहरु नै मेरा प्राथमिकता परे पनि मेरो कुनचाँही अक्षमताले ती सामान्य कार्यालयहरुमा पनि म अट्दिनँ भन्ने कुरा बुझिनसक्नु छ । माउअड्डाको सरुवा मापदण्ड मेरो लागि चरीको दूध सावित भैरह्यो ।
दुःखीको पिडा मान्छेले सुनेन भने दैवले सुन्छ भन्ने उखानअनुसार मैले दैवलाई पुकार्नुको विकल्प देखिनँ । नभन्दै मेरो पुकारको सुनुवाइ भएर दैवसंयोगले चैत्रदेखि लकडाउन शुरु भैदियो । केही महिनासम्म दिक्कलाग्दो कठिनतम् यात्रा पनि गर्नुपरेन, आफूलाई त हाइसन्चो पो भयो । 
लागेको थियो अब बीस वर्ष नपुग्दै कोरोनाले पो लग्छ कि ? मनले भन्थ्योः लगिहाले पनि यत्रै सित्ति !  मलाई एक्लै लाने हो र ? मेरा शुभचिन्तक र अशुभचिन्तक पनि अघिपछि लागेर जालान् केरे !! 
धन्न पेन्सन पाक्ने दिनसम्म कोरोनाले कानका रौँ पनि हल्लाएन । मेरो पेन्सन मज्जाले पाक्न दियो ।
तर पेन्सन पनि खुल्नु र लकडाउन पनि खुल्नु सँगसँगैजस्तो परेको छ । अब के हुने हो  यसै भन्न सकिँदैन । यी जागिरसँगै सम्बन्धित मेन्सन र टेन्सनका शब्दहरुवापत स्पष्टीकरण पो खानुपर्ने हो कि ? 

तपाईँले पनि मेरो जागिरे यात्राको यो अनुभूति शेयर गर्दै पुछारमा आइपुग्नुभएको छ भने दिक्क लागिसकेको हुनुपर्छ कि जागिरे जीवनका कर्त्यव्यभित्र गरेका कामहरु मैले पटक्कै उल्लेख गर्न सकिनँ । हो पनि । मेरो तीनसय साठीडिग्रीको मूल्याङ्कनकर्तामध्ये एकसयअसी डिग्री ओगट्ने अंश यिनै हुन् जसलाई मैले मेन्सन गरेँ । बाँकी एकसयअसी डिग्रीको औपचारिक तर गोप्य मूल्याङ्कन अन्तैबाट भैरहेको होला । तसर्थ यहाँ उल्लेख गर्नुको औचित्य ठानिनँ ।

पख्नुस् है त कसैले मलाई परबाट सोधिरहेको छः “ओली सर कता ?”

यो प्रश्नको जवाफ दिन अब मेन्सन बन्द गरौँ  कि टेन्सन बन्द गरौँ ?

 31 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top