Free songs
Home / मेरो बारेमा / उहाँ र म

उहाँ र म

हामीले हाम्रो ऐतिहासिक एकता मजबुत भएको देखाउन चाहन्थ्यौँ । अप्ठ्यारो के थियो भने हामीबिच एकतामा पनि अनेकता थिए । समानताबिच पनि विभिन्न विभेदहरु थिए । म एउटा स्कूलिङबाट आएको थिएँ, उहाँ अर्कै स्कूलिङबाट । अर्थात म ओलीपथमा अविचल लम्किरहेको एक होनहार कार्यकर्ता, उहाँ खडकापथमा अविरल बगिरहनुभएकी एक जुधारु कार्यकर्ता । हाम्रो पथ नितान्त फरकफरक भएकोले मतभेद हुनु स्वाभाविक थियो । स्वाभाविक हुँदाहुँदै पनि हामीबिच कुनै मतभेद थिएनन् । कुनै मतभेद नहुँदा नहुँदै पनि कहिलेकाँही मतभेद देखिइहाल्थे ।

उहाँ हुनुहुन्थ्यो कट्टर नारीवादी । म परेँ कट्टर पुरुषवादी । नारीका हकअधिकारहरु सुरक्षित राख्नु उहाँको प्राथमिकता थियो । पुरुषको परम्परागत हकअधिकारबाट आफूलाई कुनै हालतमा वञ्चित नराख्नु मेरो प्राथमिकताका विषय थिए । समष्टिमा भन्नुपर्दा म पितृसत्तात्मक राज्यप्रणाली स्थापित गर्न चाहन्थेँ, उहाँ मातृसत्तात्मक राज्यप्रणाली प्राप्त गर्न चाहनुहुन्थ्यो ।

एकतापूर्व हाम्रो इतिहास निकै चाखलाग्दो थियो । कहिले हामीहरु अलिअलि नजिक हुन्थ्यौँ त कहिले निकै टाढा पनि पुग्थ्यौँ । विभिन्न मामलाहरुमा कार्यगत एकता गर्न मन उम्लिएर आउँथ्यो । कहिले एकअर्काको सिद्धान्तप्रति औधि घृणा जाग्थ्यो र घोर विरोध पनि गर्थ्यौँ । ओलीबा र खडकाबाको आँखा छलेर कति जिन्दावाद पनि भनियो । बाहरुले देखेपछि मुर्दावाद भन्दै टाढै रहेको नाटक पनि रचियो ।

हामीहरु परिपक्व हुँदै थियौँ । आफ्नाआफ्ना धारहरु गतिलोसँग समात्दा समात्दै पनि कहिले हात लुला हुन जान्थे । कहिले खुट्टा काँप्न थाल्थे । तैपनि मुटु दरो नै थियो जाबो हातखुट्टाको कुरा के भयो र ।

यस्तैमा एकपटक ओलीबा र खडकाबाले चुनावको घोषणा गरिदिए । भएन फसाद ? अब कुन क्षेत्रबाट लड्ने ? कसरी जित्ने ? हामीले चुनावी घोषणापत्र तयार गरेर एकअर्कालाई घोकाउन थाल्यौँ । एक्लाएक्लै चुनाव लड्दा हार हुने आँकलन गरिरहेका थियौँ तसर्थ चुनावमा दुवै पक्षको विजयको लागि चुनावी कार्यगत एकता गर्ने निर्णय गरियो ।

अरु पथहरुलाई हराउनकै लागि भए पनि मिलेर चुनाव लड्ने कुरा निस्कियो । उहाँले भन्नुभयोः हो हो मिलेरै लड्नुपर्छ । मैले पनि हो मा हो थपिदिएँ । हामी मिलेरै चुनाव लड्ने निश्कर्षमा पुग्यौँ । कहिले ओलीपथको चुनावचिन्ह लिएर उहाँ लड्नुभयो । कुनै निर्वाचन क्षेत्रमा खडकापथको चुनावचिन्ह लिएर म भिडेँ । कतै उहाँले सहयोग नगर्दा नगर्दै पनि मैले जित हात पारेँ । कतै मैले सहयोग गर्दागर्दै पनि उहाँले हार खानुभयो । मिलेरै लड्दालड्दै पनि समग्रमा हामीहरुको हार भैरहेको थियो । उहाँ भन्नुहुन्थ्योः तिमीले ममाथि अन्तरघात गर्‍यौ । मैले भन्थेः हजुरले पो ममाथि मन्तरघात गर्नुभयो ।

हाम्रो हारलाई नजिकबाट नियालिरहेका दक्षिणतिर मुख फर्केका ओलीबा र उत्तरतिर मुख फर्केका खडकाबाले सल्लाह गरेछन् कि अब यिनीहरुको पार्टी एकता गराइदिऔँ । हामीले प्रकट गर्न नसकेको चाहना पनि त्यही थियो । फलस्वरुप धुमधामका साथ बाजागाजा बजाएर, पण्डितबाट मन्त्र फुकाएर, हाम्रो पार्टी एकता सम्पन्न भयो । एकतापछि मित्रशक्ति र बैरीशक्ति दुवैलाई स्यानोमन पटक्कै नगरी मनग्गे भोज पनि खुवाइयो ।

पार्टी एकतापछि पार्टीको अध्यक्ष को हुने भन्नेमा विवाद शुरु भयो र छिट्टै त्यो विवाद उत्कर्षमा पुगिहाल्यो । दुवैले आआफ्नो अडान नछोडेकोले पार नलागेपछि दुईअध्यक्षात्मक प्रणाली लागू गर्न प्रस्ताव पेश भयो र सर्वसम्मतिले पारित भयो । त्यतिबेला उत्कर्षमा पुगिसकेको सो समस्या समन हुनपुग्यो । नत्र त एकताको त्यति छिट्टै पार्टी विघटनको संघारमा पुगिसकेको थियो । अब यो विशाल पार्टीका दुवै प्रथम अध्यक्ष कहिलियौँ ।

यता पार्टी चलाउनु थियो, उता सरकार चलाउनु थियो । पार्टीको जिम्मा मैले लिएँ । उहाँले सरकारको जिम्मा लिनुभयो । दुवैजना प्रथम अध्यक्ष हुँदाहुँदै पनि पार्टीको हकमा उहाँ द्वितीय अध्यक्षको भूमिकामा रहनुपर्थ्यो । सरकारको हकमा म द्वितीय अध्यक्षको रुपमा रहनुपर्थ्यो । चित्तबुझ्ने कुरा त थिएन । तर मन चसक्कै घोचे पनि चित्त बुझे झैँ गर्नुको विकल्प थिएन । किनभने समयको हावाको कुनबेला कता चल्छ भन्न सकिन्नथ्यो । कुनैबेला पार्टीलाई फाइदा हुन्थ्यो त कुनैबेला सरकारलाई । जता फाइदा देख्यो उतै हस्तक्षेप गर्ने हामी दुवै अध्यक्षको मूलभूत संस्कारको अन्त्य भैसकेको थिएन ।

अघिपछि नभए पनि यसैबेला हाम्रा मूलभूत विभेदहरु छिटफूट बाहिर देखिन्थे । तिनले ग्रहण गर्ने आकारप्रकार बारे केही भन्न सकिन्नथ्यो । कहिले सुक्ष्म रुपमै बिलाउँथे त, कहिले सिँह बनेर गर्जन्थे । त्यसो त समानताहरु पनि कायमै थिए । पार्टी एकतालाई बचाइ राख्न समानता कायमै राखेर विभेद हटाउनु हाम्रो मूल दायित्व थियो । कस्तो भैदियो भने विभेद अन्त्य गर्न खोज्यो, समानता अन्त्य भैदिने । समानता जोगाउन खोज्यो विभेद पनि जोगिइहाल्ने । अनेक गरियो केही पार लागेन ।

एकता गराइदिने बाहरुले आफ्नो जिम्मेवारी समाप्त भैसकेको ठानेकोले समाधानार्थ मुन्टो भाँचेर तटस्थ बसिरहे । हाम्रो द्विपक्षीय उच्चस्तरीय गहन छलफलपछि के निश्कर्ष निस्कियो भने दुनियाँलाई देखाउनकै लागि भए पनि पार्टी एकतालाई मजबुत तुल्याउँदै जाने । त्यही सिद्धान्त र मूलभावनाअनुरुप निर्णय कार्यान्वयन गरिँदै गइयो । कतै गम्भीर क्षति हुन गयो । कतै गम्भीर सफलता हात पारियो ।

पार्टी एकता भएको तीन दशक पूरा भैसकेको थियो । यो उपलक्ष्यमा धुमधामका साथ एकता दिवस मनाउनुपर्ने कुरामा एउटै पार्टीका दुवै अध्यक्ष सहमत भयौँ । जब एकता दिवस नजिक नजिक हुँदै आयो, कुन दिनलाई एकता दिवस मान्ने भन्ने कुरामा नै हामीबिच मतभेद उत्पन्न भैहाल्यो ।

उहाँको तर्क थियोः ओलीपथ आफ्नो घरबाट निस्केर दलबलसाथ खडकापथको सामू घुँडा टेकेको दिनलाई एकता दिवसको रुपमा लिनुपर्छ, तसर्थ जेठ एघार गते यो दिवस मनाउनुपर्छ । मेरो अडान थियो: त्यसो होइन, खडकापथकी होनहार नारी कार्यकर्तालाई साविकको घरबाट निकालेर ओलीपथको पितृसत्तात्मक राज्यप्रणालीमा घुँडा टेकाएर ओलीपथीय पार्टीमा प्रवेश गराएको दिनलाई एकता दिवस मान्नुपर्छ । तसर्थ जेठ बाह्र गते नै यो दिवस मनाइनुपर्छ ।

दुवै अध्यक्षको आआफ्नो अडान कायम नै रह्यो । आफ्नो अडानबाट एक इन्च टसकोमस हुने कुरै थिएन । अडानबाट दायाँबायाँ हुनु भनेको आआफ्नो इज्जतको सवाल थियो नि त । कुरा केही गरी मिलेन । एकताको कुरा झिक्यो कि विभेदको कुरा आइहाल्थ्यो । विभेद बिर्सन खोजे, एकता नै बिर्सिइने प्रबल सम्भावना थियो ।

अब के गर्ने त ? एकता बिर्सने कि विभेद बिर्सने ?

त्यसमा आजपर्यन्त लोडसेडिङ नभएको कुलमानपथले नै हार खाएर हामीलाई नै त्यो ऐतिहासिक दिन झलझली सम्झाउन मद्दत गरिरहेको थियो । अर्थात हामी पनि छौँ है यता भनेर हल्ली खल्ली मच्चाउनको लागि सामाजिक सञ्जालमा दरो उपस्थिति जनाउन दिनभर न बत्ती आइदियो, न त नेट नै । बिर्सने प्रयत्नमा जोडतोडसँग लाग्दा दुवै अध्यक्षलाई कस्तो भैदियो भने मलाई जेठ एघार गतेको दिन धौबिर्सनु भयो, जुन उहाँले अडान लिएको दिन थियो ।

उहाँलाई जेठ बाह्र गतेको दिन धौबिर्सनु भयो, जुन मैले अडान लिएको दिन थियो ।

हामीलाई एकता गराइदिनेहरुले त एकता दिवस मात्र होइन, हामीलाई समेत चटक्कै बिर्सिसकेका थिए ।जेठ ११ गतेको एउटा दिन हामीबाट फुत्किएर गइसकेको थियो, अर्को दिन जेठ १२ पनि ढल्कँदै गइरहेको थियो । जति दिन ढल्कँदै थियो, उति उति हामीलाई ऐतिहासिक एकताको त्यति महत्त्वपूर्ण दिन झन् झन् धौबिर्सनु भैरहेको थियो ।

धौबिर्सनु भैसकेपछि हामीले पूर्ववत् अडान त्यागिदियौँ । आत्मालोचना गर्न बाध्य भयौँ कि हामीले सम्झनुपर्ने कुरा बिर्सिरहेका छौँ र बिर्सनुपर्ने कुरा सम्झिरहेका छौँ ।

अब एकता दिवस मनाउनको लागि पर्याप्त समय त छैन ? भएको समय पनि घर्किएर छुट्न थालिसक्यो । गर्ने के त ?अरुलाई देखाउनको लागि मात्र भए पनि केही न केही गर्ने । हामीले आफूले देख्नको लागि के पो गरेका छौँ र जे गरेका छौँ अरुलाई देखाउनकै लागि त गरिरहेका छौँ ।अतः यी दुईदिनलाई समेटेर अनुभूति मात्र प्रकाशित गरेर व्यापक प्रचारप्रसार गर्ने, दुवै अध्यक्षका कुनै पनि ऐतिहासिक फोटोहरु सामाजिक सञ्जालका भित्ताहरुमा नटाँसिकनै ।

दुवै पूर्ण सहमत भयौँ । हातमा हात मिलायौँ ।

जब सामाजिक सञ्जालका विशाल जनसमुदायमा अनुभूति शेयर गर्न तयार भयौँ । यति विशाल पार्टी सञ्चालनमा जीवन नै उत्सर्ग गरेका अध्यक्षहरुको फोटो नै नराख्ने यस्तो कुरा पनि कुनै दुनियाँमा हुन्छ ? भन्दै मन भने कटकटी खाइरह्यो । आss यति अनुभूति राखिसकेपछि जाबो फोटो टाँस्नलाई कन्जुस्याइँ किन गर्ने ?

म ढल्कू दरबारबाट निस्किएर मालुवाटारमा बिराजमान हुनुभएका अर्का अध्यक्षको कानसम्म पुगेर फुस्फुसाएँ: “के गरौँ ? सामाजिक भित्तामा फोटो टासौँ ?”

उहाँले त कानमा प्रस्ताव नचुहाउँदै बुर्लुक्क उफ्रिएर भनिहाल्नुभयोः “आss टाँसिदिनोस् । हाम्रो फोटो नटाँसे यो बन्दाबन्दीको समयमा घरघरमा थुनिएका आम जनताले हाम्रो पूजा कसरी गर्ला ? बिचरा जनताले यही फोटो हेरेर वा पुजेर भए पनि चित्त बुझाउन् । यो अभूतपूर्व जनपक्षीय काम हुनेछ । परेको म बेहोरौँला !”

परेको उहाँले बेहोर्ने भएपछि मलाई फाइदै भयो । एउटै अध्यक्षको फोटो मात्र राख्न कुनै हालतमा सम्भव नभएकोले दुई अध्यक्षको फोटो समेत सामाजिक भित्तामा टाँसिदिएँ ।

जति कर्णाली प्रदेशम् रुकुम पश्चिम खण्डम् दम्पत्ति व्रत कथामम् मध्यभागम् पुगियत्, उति सम्वत् २०७७ साल ज्येष्ठ महिनाम् बाह्रौँ गतेम् सोमबारम् शुभम् ।

पार्टी एकताको तीतोमीठो अनुभूति एकअर्कालाई सुनाएर मात्र भए पनि हामीले ऐतिहासिक एकता दिवस धुमधामसाथ मनायौँ । ऐतिहासिक एकताको खुशी मनग्गे लुट्न सफल हुँदा भयौँ । अँ एउटा कुरा त भन्नै बिर्सेछुः यही ऐतिहासिक एकता दिवसको अवसर पारेर अर्को महत्त्वपूर्ण निर्णय पनि गरिएको थियो ।त्यो के थियो भनेः“अब पार्टीबाट दुईअध्यक्षात्मक प्रणाली खारेज गरिदिने र पार्टीलाई बहुसदस्यात्मक प्रणालीमा लैजाने । जसमा छोराबुहारी, छोरीजुवाइँ, नातिनातिना, आमाबा, भाइबहिनी सबै अटून् र पार्टी सन्चालनमा सबैको योगदान बराबर रहन पुगोस् ।“

 37 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top