Free songs
Home / संस्मरण / दुई शिष्ट विशिष्ट व्यक्तिहरु

दुई शिष्ट विशिष्ट व्यक्तिहरु

मेरो लागि सबै परिचित अपरिचित व्यक्तिहरु महत्त्वपूर्ण हुनुहुन्छ । परिवार, इष्टमित्र, व्यावसायिक वा साहित्यिक वा सामाजिक सञ्जालमा मसँग मित्रतामा गाँसिनुभएका सबै व्यक्तिहरु मेरो लागि आदरणीय हुनुहुन्छ । आदरणीय व्यक्तित्वहरुमा जो अलि शिष्ट हुनुहुन्छ, उहाँहरु मलाई विशिष्ट लाग्दछ । विशिष्ट व्यक्तिहरुमध्येका शिष्ट केही व्यक्तिहरुको समीपताको एकदुई उदारण दिँदै छु ।

म रुकुममा सरकारी सेवामा कार्यरत थिएँ । हरिप्रसाद भण्डारी नामका नयाँ सिडिओसाब आएको खबर पाएकोले म पनि जिल्ला प्रशासन कार्यालय पुगेँ । सिडिओसाबले अरु कानुनी अधिकारका घुर्कीधम्की लगाउन छोडेर खाली, ‘सबैले राम्रोसँग काम गर्नुहोला । तपाईँहरुले गरेको राम्रो कामको जस म लिन चाहन्छु !’ मात्र भनेर प्रशासनिक र गैरप्रशासनिक आगन्तुकहरुको मन जित्नुभयो ।

उहाँ आएको दुई दिन नहुँदै मैले उहाँलाई रुकुमको कुमारी पर्यटकीय स्थल ठूलीदह घुमाउने प्रस्ताव राखेँ । त्यो ठाउँ सदरमुकाम खलंगादेखि पैदल झण्डै चारघण्टाको दुरीमा छ । जान आउन त आठ घण्टा लाग्ने भैहाल्यो । उहाँले दुरीको कुरा गर्दा प्रस्ताव अस्वीकार गर्नुहोला भन्ने डर थियो ।

उहाँले सहजै स्वीकार्दै भन्नुभयोः “म जान त जान्छु तर मेरो पनि शर्त छ !”

म तर्सिँदै भनेँ, “के होला हजुर ? सक्ने भए पूरा गरौँला ।”

“जो जो त्यो ठाउँमा पुग्छन्, सबैले त्यस ठाउँको संस्मरण लेखेर बुझाउन कबोल गर्नुपर्छ ।”

उहाँको ईच्छा देखेर म छक्क परेँ ।

उहाँले आफ्ना कृतिहरु कालासर्पको खोजी, कुनमिनको सेरोफेरो र अस्वीकृत कथाहरु दिएर पढ्न लगाउनुभयो । मेरा लेखको टिप्पणी गर्दै सुझाव दिइरहनुहुन्थ्यो । त्यसपछि उहाँसँगको निकटता झनै साँघुरो पार्दै लगेँ मैले ।

उहाँको घरसम्मै मेरो ओहोरदोहोर बाक्लिँदै जान थाल्यो । शुरुको दिन फलफूल बोकेर गएको थिएँ । त्यो पनि उहाँले मनाही गरिदिनुभयो । घर पुग्दा आफै चिया नास्ता पकाउन र भाँडा धुन अगाडि सर्नुहुन्थ्यो । उहाँले मेरो रुचि र भावनाअनुसारको जीवन जगतमा काम लाग्ने सुझाव दिइरहनुहुन्छ । उहाँको बोली व्यवहारको शिष्टता र मिष्ठताको बयान गरी साध्य छैन ।

मैले फोन गर्न बिर्सिएँ भने पनि आफै फोन गरेर सम्झाइबुझाइ गरिरहनुहुन्छ । उहाँको शिष्टताको विशिष्टता देखेर म कायल छु ।

अर्को विशिष्ट व्यक्तिउहाँको नाम र कामको बारेमा म सुपरिचित हुनु पूर्व नै उहाँले भान्जा उज्ज्वल बिरामी हुँदा गरेको उहाँको सहयोग स्मृतिपटलमा अमिट थियो । धेरै पछि उहाँसँग पोखराको एक अधिकृतस्तरीय प्रशिक्षण कार्यक्रममा भेट भयो । उहाँ हुनुहुन्थ्यो दिपेन्द्रविक्रम थापा ।

कक्षा अवधिभर उहाँको नजर मतिर केन्द्रित भैरहेको महसुस भैरह्यो । मैले प्रत्येक प्रशिक्षार्थीहरुको आइ कन्ट्याक्ट गर्नु कुशल प्रशिक्षकको गुणको रुपमा लिएँ । खाना खाने बेलामा उहाँलाई घेरेको प्रशिक्षार्थीहरुको घेराबाट जुरुक्क उठेर एक्लै बसेको मेरो नजिक आएर बस्नुभयो ।

मैले पुनः नमस्कार गर्दै आफ्नो परिचय दिएँ । मेरो विषयमा पूर्व जानकार भए पनि मसँग प्रत्यक्ष भेटघाट नभएको बताउँदै उहाँले मेरो इतिहास सबै खोतल्न थाल्नुभयो । अरुसँग छुट्टिएर उहाँको लन्च समय मसँगै बित्यो । मैले भन्न सकिनँ कि तपाईँको लागि म कुनै महत्त्वपूर्ण व्यक्ति होइन ।

त्यस प्रशिक्षण कार्यक्रमका प्रशिक्षकहरु विशिष्ट श्रेणीका थिए र सहभागीहरु अधिकृत, उपसचिव र सहसचिवसम्मका थिए ।दिउँसोको खाजा समयमा पनि मलाई नै आफ्नो अमूल्य समय उपलब्ध गराएर आफूलाई एक्लो महसुस गर्नबाट मलाई मुक्त गरिदिनुभयो । त्यसपछि सामाजिक सन्जालमा पनि हामी जोडिन पुग्यौँ ।

मेरा लहडहरु बाहेक सुख दुःखका अभिव्यक्तिहरुमा उहाँले सन्निकटता बोध गराइरहनुभयो । सुखमा सन्तोष प्रकट गरेर । दुःखमा समवेदना प्रकट गरेर ।

औपचारिक हिसाबले विशिष्ट श्रेणीमा पुगेकाहरुले पद र प्रतिष्ठाको मादकतामा मुटु छियाछिया पारी घोचेका थुप्रै उदाहरणहरु सुरक्षित छन् । तर यी महान व्यक्तिलाई म औपचारिक श्रेणीको आधारमा विशिष्ट ठान्दिनँ । यिनको हृदयको अतल गहिराई देखेर विशिष्ट ठान्दछु । यिनको शिष्टताको अमापनीय उचाइ देखेर विशिष्ट ठान्दछु ।

मेरो साहित्यिक यात्राहरुमा साथ दिनेहरुलाई पनि मैले विशिष्ट दर्जा दिने गरेको छु । लाग्दछ ती सबै विशिष्ट व्यक्तिहरुसँग मेरो भेट भएको पनि छैन र केहीसँग सामान्य परिचय समेत छैन, म उहाँहरु सबैको पृष्ठभूमिप्रति परिचित छैन । अद्यापि उहाँहरुको प्रोफाइल उधिनेर हेरेको छुइनँ र हेर्न आवश्यक ठानेको पनि छैन ।

मेरा साहित्यिक अभिव्यक्तिहरुमा समिप रहेको महसुस दिलाइरहने उहाँहरुको विशालताको परिचय नै मलाई काफी छ ।

 27 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top