म ढलेँ

म जन्मिएदेखि आजसम्म कैयौँपटक ढल्दै र उठ्दै गरेँ हुँला ।

ढल्न थाल्दा स्मृति पनि ढल्दो रहेछ । संकुचित भएर एकमुठी हुने । निकटस्थ व्यक्ति पनि त्यो मुठीमा नअटाउने ।

ढलेर उठ्दा भने स्मृति फैलिएर आकाशभरिको हुँदोरहेछ । निकटजन, घरपरिवार, छिमेकी, इष्टमित्र, साथीभाइ हुँदै आजसम्म जोजतिसँग भेटियो सबै ओइरिएर अटेसमटेस हुन थाल्छन् त्यो स्मृतिपटलभित्र ।

ढलेपछि उठ्न सक्नुपर्छ । संसार सारा आफ्नै स्मृतिको कब्जामा हुन्छ ।
म उठ्न थाल्दा स्मृतिमा आइपुगेका यस्ता हजारथरि कुराहरुमध्ये एउटा रमाइलो कुरा समातेर तपाईँहरुसमक्ष पेश गर्दैछु ।

रुकुम जागिरीको सेरोफेरोको कुरा हो । एक बेलुका जि.न्या.व. ऋषिकेशव वस्याल (Rishi) को फोन आयोः “तपाईँ आज किन आउनुभएन ?”

प्रश्न किन सोधिएको थियो भने हामी हरेक बिहान वा बेलुका कि त जिल्ला न्यायाधीश हेमन्त रावल (Hemanta), कि त प्रजिअ भविश्वर पाण्डे (Bhabi) को निवासमा जम्मा हुन्थ्यौँ । त्यहाँ समसामयिक विषयमा तार्किक विचारविमर्शहरु हुन्थे । त्यो समूहमा एलडिओ भरतकुमार शर्मा (Bharat), करसाब् अभिराज आचार्य (Abhirajj) (पछि करसाब् रोशन खडका (Roshan) प्रनाउ राजेन्द्र भट्ट (Rajendra) सिँचाइ डिप्र नियाज वारिश (Niaz), सप्रजिअ अर्जुन भण्डारी (Arjun), मालपोत अधिकृत (Harichandra) मविअ रमा पौडेल (Rama), भूसंअधिकृत राजु गुरुङ (Raju) लगायत जिल्लाका विभिन्न कर्मचारीहरु हुन्थ्यौँ ।

सधैँ उपस्थित भैरहने कर्मचारीमध्ये त्यहाँ कुनै एकजना अनुपस्थित भैहालेमा सोधखोज गरिन्थ्यो । कुनै शनिबासरीय कार्यक्रम हुँदा पनि उपस्थित नहुनेहरुबाट स्पष्टीकरण माग हुन्थ्यो । तसर्थ त्यस दिन मलाई अनुपस्थितिको प्रश्न सोधिनु स्वाभाविक थियो ।

त्यस बेलुका म अलि छिट्टै आराम गर्ने हेतुले सातबजेतिर खाना खाइवरी साढेसाततिर बिछ्यौनामा पल्टिसकेथेँ र पल्टिनेबित्तिकै निद्राले झुङ्न थालेछु । फोनको घण्टीले तन्द्राबाट ब्यूँझिएपछि जवाफ दिएँः “म त ढलेँ ।”
अनि फोन काटिदिएछु । त्यतिबेला मेरो अफिस मठमा थियो । खलंगा बजारदेखि थोरै दुरीमा ।

फोन कटेको केही समयमै नियमित विचारविमर्श हुने स्थलबाट उपस्थित सबै साथीहरु कसैले सिटामोल र ब्रुफिन, कसैले थर्मोमिटर, कसैले स्टेथेस्कोप, कसैले फलफूलको जुश बोकेर हतारहतार मेरो कोठामा आइपुगे । अरुलाई पनि के के न भयो भन्न लाग्योहोला । बिच बाटोमा अरु चिनजानका साथीहरु समेत थपिएछन् ।

कोठामा आइपुगेपछि मलाई ब्यूँझाएर ऋषिकेशवले नै अत्तालिँदै सोधे: “के भयो अकस्मात तपाईँलाई ?”

“के भयो र ? मलाई केही पनि भएको छैन । निद्रा लाग्यो वश् ।”

“अनि किन ढलेँ भनेको त ?” ऋषिकेशवलाई मेरो साविकको जवाफ अलिकति असहज र अनर्थ लाग्न पुगेछ ।

“सुत्नको लागि ढल्कनुलाई हामी ‘ढल्नु’ पनि भन्दछौँ । अन्यथा अर्थ लाग्न गयो कि ?”

अनि त्यहाँ हाँसोको फोहोरा नै छुट्यो र त्यही फोहोरामा साथीहरुको भव्य नुहाइधुवाइ समेत भयो । संयोगवश् त्यस दिनको विचारविमर्शको थलो मेरै अफिस हुनपुग्यो ।

त्यसबेला जिल्लाका सम्पूर्ण कर्मचारीहरु एउटै परिवारका सदस्य जस्ता थिए । हरेकको दुःखसुख बराबार बाँड्न खोज्ने । एकदिन एउटाकहाँ चुले निम्तो भए अर्को दिन अर्काकोमा । यो क्रम पहिले जिल्ला न्यायाधीश यज्ञराज भट्ट हुँदा नै प्रारम्भ भएको थियो र हेमन्त रावलको टिम हुँदा उत्कर्षतिर पुगेको थियो । प्रजिअ हरिप्रसाद भण्डारी (Hari) आएपछि पनि कायम नै रह्यो ।
जिल्ला छोडेर राजधानीतिर लागेपछि भने त्यस्तो टिम निर्माण नभए पनि सद्भाव राख्नेहरुको खाँचो कहिल्यै भएन ।

अहिले भने साँच्चिकै बारम्बार ढलिरहेको छु म । ढलेर उठ्दा यस्ता अनुभूतिहरु पनि स्मृतिको परिधिभित्र आइदिन्छन् र कसैले सोधून् भन्ने लाग्छः “किन ढलिस् हँ तँ ?”

86 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *