द जङ्गल बुक

द जङ्गल बुकको संक्षिप्त पृष्ठभूमि

द जङ्गल बुक नोबेल पुरस्कार  विजेता अंग्रेजी लेखक रुडयार्ड किपलिंग (३० डिसेम्बर १८६५ – १८ जनवरी १९३६) को एक कथा संग्रह हो । यी कथाहरु पहिलो पटक सन् १८९३-९४ मा विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएका थिए ।

रुडयार्ड किपलिङको जन्म भारतको बम्बईमा भएको थियो । भारतमा ६ वर्षजति बाल्यकाल बिताएर उनी बेलायत गएका थिए । बेलायतमा करिब दश वर्ष बसेर पुनः भारतमा फर्केका थिए र दोस्रो पटक भारतमा करिब ६ वर्ष बिताएका थिए । यी कथाहरु त्यसै समयमा लेखिएका थिए र त्यतिबेला उनी वर्मौटमा बस्दथे । उनका अन्य कथाहरु किम १९०१ (साहस की कहानी), द मैन हु वुड बी किंग (१८८८) र उनका कविताहरु मंडालय (१८९०), गंगा दीन (१८९०),  इफ (१९१०) आदि हुन् । उनलाई “लघुकथा को कला मा एक प्रमुख अन्वेषक” मानिन्छ ।  उनले अन्तर्राष्ट्रिय बाल-साहित्यमा कालजयी कृतिहरु समर्पित गरेका छन् । उनका हरेक कृतिहरु विशिष्ट महत्त्वका छन् ।

द जङ्गल बुकका कथाहरु मध्ये मुग्ली प्रमुख कथा हो ।  मुग्ली एक मानव बालक हो जो जङ्गलमा हराउँदछ । उसलाई जङ्गलमा एक ब्वाँसोले भेट्टाउँछ र आफ्नो खोरमा लग्छ । त्यहाँ जङ्गली ब्वाँसोको एक झुण्डले उसको पालनपोषण गर्दछ ।

अन्तमा मुग्ली आफ्नै गाउँमा फर्कन्छ ।

द जङ्गल बुकका मुग्ली लगायत अन्य कथाहरुमा जनवारहरुलाई मानवीकृत गरेर मानव समाजलाई नैतिक शिक्षा दिन प्रयास गरिएको छ । जङ्गलमा रहने अनेक जनावरहरुको क्रियाकलापहरुको सुक्ष्म विश्लेषण गरेर कथा बुनिएको छ । कथाहरु मनोरञ्जनपूर्ण छन् । हृदयश्पर्शी छन् र सन्देशमूलक छन् ।

जङ्गलको कानुनले मानव समुदायमा पनि कानुनको महत्त्व विशिष्ट छ भन्ने देखाउँछ । उनले भारतको त्यतिबेलाको समाजलाई नै कथाहरुबाट व्यङ्ग्य गरेका छन् । जुन समाज अहिले पनि भारत लगायत पिछडिएका मुलुकहरुमा विद्यमान छ ।

द जङ्गल बुकको कथालाई आधार बनाएर विभिन्न फिल्महरु निर्माण भएका छन् । बच्चाहरुको लागि सयौँ कार्टुनहरु बनाइएका छन् । धेरै भाषामा अनुवादित छन् यी कथाहरु ।

यी कथाहरु पढ्दा अहिले पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण लाग्दछन् ।

कथाको अनुवादित अंश तल हेर्नुहोस् । (पात्र तथा स्थान विशेषको नामलाई नेपालीकरण गर्न प्रयास गरिएको छ ।)

……………………………………………………………

द जङ्गल बुक (अनुवाद)

  • मुग्लीका दाजुभाइ

(१)

“सन्ध्यातिर बल्ल राने चिल बासस्थान धायो

अनि मात्र माने चमेरोले स्वतन्त्रता पायो

डिङाबाछाका हुलहरु गोठभित्रै थुनायो

सखारै हामीलाई पो फुक्काफाल बनायो !

 

यो समय गर्व र शक्तिको पो हो

अधैर्यसाथ नङ्रा/पन्जा कहाँ बाँधिएको हो ?

आहा कुशल शिकारको बहार ल्यायो

जङ्गल कानुनले हर सम्भव तुल्यायो !!”

एउटा जङ्गलमा वन्यजन्तुहरुको रात्रीकालीन सुमधुर गीत घन्किरहेको थियो ।

शिवानी पहाडमा बेलुकाको सात बजेतिरको औधि न्यानो वातावरण थियो । ब्वाँसो बाबा दिउँसोपखको आराम गरिसकेर जुरुक्क उठे । आफ्नो जीउ बेसरी कन्याए । हाई काढे र आफ्ना पन्जाहरुलाई अल्छाइँबाट मुक्त गर्न एकपछि अर्को गर्दै तन्काए ।

ब्वाँसी आमा भने आफ्ना वरिपरि ‘चाँचाँ-चुँचुँ’ गरिरहेका चारवटा छाउराहरुमाथि नाक जोत्दै अझै ढलिरहेकी थिइन् । यसै बेला जूनले तिनीहरुको चर्तिकला हेर्ने उद्देश्यले ओढारभित्र पुलुक्क चिहाए ।

“उहुहुऽऽ हाइएऽऽऽऽऽ !”, ब्वाँसो बाबाले भनेः “अब फेरि शिकार खेल्ने बेला भयो !”

यति भन्दै उनले जब पहाड मुन्तिरको कुनाकन्दरातिर झर्ने सोचेर ओढारको संघार के नाघेका थिए, एउटा घोर्ले पुच्छरले उनको बाटो छेकिहाल्यो । त्यसले त रुँलारुँला जस्तो स्वर लगाएर पुकारा पो गर्नथाल्यो: “हे, ब्वाँसोहरुका राजा, हजुरसितै शिकारमा जाने साइत जुरेकोमा आफूलाई भाग्यमानी ठानिरहेको छु । बधाई ! हजुरका ती बलिया सेता दाह्राहरुलाई, जसले सुकुमार बच्चाहरुलाई कहिल्यै भोको राखेको यो संसारलाई थाहा छैन ।”

त्यो जुठाभाँडा चाट्दै हिड्ने टाउके नामको स्याल थियो । टाउकेलाई भारतवर्षका ब्वाँसा समुदायले असाध्यै घृणा गर्दथे किनकि ऊ हमेशा बदमाशी गर्दै हिँड्थ्यो, अनावश्यक हल्लाहरु मच्चाउँदै हिँड्थ्यो, बजारका फोहरको थुप्रोहरुमा थाङ्नाहरु खोस्रँदै हिड्थ्यो । उनीहरु टाउकेदेखि डराउँथे पनि किनकि ऊ अकस्मात् भिन्नै खालको पागलपनको पराकाष्ठामा पुगिहाल्थ्यो र त्यसबेला उसलाई कसैको पनि डरभर हुन्नथ्यो । जे पायो त्यसलाई टोक्दै हिँड्थ्यो । ऊ बहुलाइरहेको बखत बाघहरु समेत ऊबाट उम्केर लुक्न पुग्दथे । जङ्गलराजमा बहुलठ्ठीपन नै वन्यजन्तुको लागि शर्मनाक कुरा ठहर्थ्यो । जसलाई पानीमरुवा भनिन्छ नि ती जन्तुहरु त्यस्तालाई प्रेमान्ध-पागल भन्थे र देख्नेबित्तिकै भागिहाल्थे ।

“भो भो, धेरै चाकडी बजाउनुपर्दैन ! आइहाल उसोभए !” रुखो स्वरमा ब्वाँसो बा बोलेः “भन्नेबित्तिकै यतातिर त्यस्तो खाने कुरा केही पाइन्न भन्ने त थाहै होला नि ?”

“ब्वाँसो राजाको लागि पो नहोला त, मजस्ताको लागि त सुख्खा हड्डी नै पाए पनि ठूलै भोज भैहाल्यो नि !! हामी को हौँ र शिकार रोजीरोजी खानुपर्ने ? भारतवर्षका जम्बुलोक न पर्‍यौँ !!!” टाउकेले भन्यो । ओढारको पछाडिपट्टि एउटा मृगको हाड देख्नेबित्तिकै ऊ त्यतै फालहाल्यो र मीठासपनको र्‍याल चुहाउँदै हाड चुस्न थालिहाल्यो ।

“यति राम्रो भोजनको लागि धन्यवाद है राजा !”, उसले आफ्ना ओठहरु चाट्दै गर्दा सुटुक्क ओढारभित्र नजर पुर्‍यायो र छाउराहरु देख्नेबित्तिकै भनिहाल्योः “बाब्बा हो ! कति सुन्दर ती कुलीन बच्चाहरु ! कति ठूलाठूला आँखाहरु ! कति सुकुमार कलिला पनि ! साँच्चिकै, साँच्चिकै, धरोधर्म, मैले त के ठानिरहेको छु भने यिनीहरु ब्वाँसो राजाका बच्चाहरु नभई मान्छे जातिकै बच्चाहरु हुन् ।”

वास्तवमा उसले प्रशंसाको आकाशमा उचालिरहेका बच्चाहरुजस्ता अभागी भने कोही देखिँदैनथे । उसको व्यङ्ग्यले ब्वाँसो बा र ब्वाँसो आमा बेसरी अँध्यारिएको देखी ऊ भित्रभित्रै खुब रमायो ।

टाउकेले आफूले गरेको छाडा छेडछाडप्रति अझै हौसिँदै जालसाँजीपूर्वक भन्योः

“थाहा छ ? ‘शेरे खाँ’ महानले आफ्नो शिकार क्षेत्र परिवर्तन गरेका छन् र उनले ‘ अब म यिनै पहाडहरुको यताउति शिकार गरिरहेको भेटिनेछु !’ भनेर मलाई सुटुक्क भनेका छन् है, ख्याल गर्नुहोला ।”

शेरे खाँ यहाँदेखि बीस माइलजति टाढा बग्ने विनगङ्गा नदीको छेउछाउमा बस्ने एउटा बाघ थियो ।

(२)

“त्यसलाई त्यस्तो अधिकार छैन ।” ब्वाँसो बाबाले क्रोधित हुँदै भने, “जङ्गलको कानुनबमोजिम कुनै पनि जानकारी नगराई उसले आफ्नो निवास परिवर्तन गर्न पाउँदैन । उसले दश माइलभित्र मात्र शिकार गर्न पाउँछ । हिजोआज मैले दुई माइलसम्म पाएको छु ।”

“त्यसकी आमाले उसलाई त्यत्तिकै कहाँ लङ्गडी भन्थिन् र !”, ब्वाँसो आमाले बिस्तारै भनिन्, “उसको जन्मँदैदेखि एउटा खुट्टा लङ्गडो छ । त्यसैले गर्दा उसले गाईवस्तुको मात्र शिकार गरिरहेको छ । हिजोआज वेनगङ्गाका गाउँलेहरु ऊसँग ज्यादै रिसाएका छन् । ऊ ती गाउँलेहरुलाई अझै क्रोधित तुल्याउन आउँदै छ । ऊ नभएको बखत गाउँलेहरु यहाँ आउनेछन् र जङ्गलमा आतङ्क मच्चाउनेछन् । यतातिर शिकार हुँदाहुँदै बच्चाहरुसहित हामीहरु कुलेलम ठोक्नुपर्नेछ । शेरे खाँदेखि हामी आवश्यकताभन्दा धेरै शिष्ट भैसकेका छौँ !”

“तिमीहरुको यतिविधि शिष्टाचार उसलाई सुनाइदिऊँ त ?” टाउकेले भन्यो ।

“गै हाल् !”, ब्वाँसो बाबाले उसलाई हप्काए, “यहाँबाट निस्किहाल् ! तेरै मालिकसँग शिकार गर्न मर् ! तैँले त एक रातमै हामीलाई धेरै हानी पुर्‍याइसकेको छस् ।”

“जान्छु नि त !”, टाउके फुसफुसायो, “तिमीहरुले यही झाडीको वरपर शेरे खाँ घुरेको सुन्नेछौ । यो खबरले म मेरो जोगाउ आफै गर्छु ।”

ब्वाँसो बाबाले उपत्यकाको पुछारतिरको नदी छेउछाउ भद्दा, क्रोधित र एकोहोरो घुराइ सुने । त्यो केही पनि शिकार गर्न नपाएको बाघको स्वर थियो । जङ्गलवासीलाई थाहा हुँदाहुँदै पनि उसलाई कुनै परवाह थिएन ।

“मूर्ख कहीँको !” ब्वाँसो बाबाले भने, “त्यो स्वरले के त्यसले रात्रिकालिन शिकार गर्न खोज्ने हाम्रा मृगहरु वेनगङ्गाका साँढे ठानेको छ ?”

“हाssहाssहाssहाss, आज राति त्यसले न मृगको न त साँढेको शिकार गर्न सक्छ । मान्छेको भने शिकार गर्नसक्ला !”

घुराई हरेक दिशाबाट आइरहेको बिरालाको सुस्त ङ्यार्रङ्यार्र जस्तो सुनिइरहेको थियो, जुन आवाजले दाउरे वा खुला आकाशमुनि सुतेका बटुवाहरुलाई समेत भ्रमित तुल्याई बाघको मुखमै पुर्‍याउन सक्थ्यो ।

“मान्छे ?” आफ्ना सेता दाँतका लहर देखाउँदै ब्वाँसो बाबाले भने, “धिक्कार छ ! बरु हाम्रो क्षेत्रतिर आएर मान्छे खानुभन्दा त किराफट्याङ्ग्रा र भ्यागुता घिचे पनि हुने ।”

जङ्गलको कानुन कस्तो छ भने बिनाकारणै कसैमाथि जाइलाग्न पाइँदैन । यदि कुनै मान्छेले आफ्नो वा बच्चाको शिकार गर्न खोजेको अवस्थामा बाहेक कुनै पनि मान्छेको शिकार गर्न पाइँदैन । समुदायको बासस्थानभन्दा बाहिर मात्र शिकार गरिनुपर्छ । यसको खास कारण के हुन सक्छ भने मान्छेको शिकार गर्नु भनेको ढिलो वा चाँडो हातहतियार सहितका हात्तीमा सवारसेता मान्छेको लस्कर निम्त्याउनु हो । हातहातमा घण्टाहरु धनुकाणहरु र मशाल बोकेका सयौँ काला मान्छेहरुको सामना गर्नु हो । यसले त जङ्गलनिवासीहरुलाई सास्ती मात्र बेहोर्नुपर्ने हुन्छ । जङ्गलबासीहरुले के ठान्छन् भने मान्छे नै सबैभन्दा कमजोर र प्रतिरक्षाहिन प्राणी हो । तसर्थ मान्छेसँग खेलाँची गर्नु हुँदैन । तिनीहरुले भन्ने मात्र होइन सत्य पनि हो कि मानवभक्षीको बरबादीका दिन शुरु हुन्छन् र शिकारी दारा नै गुमाउनुपर्ने हुन्छ ।

‘ङ्यार्रङ्यार्र’ झन् झन् बढ्दै गयो र बाघको ‘घ्वार्रघ्वार्र’ मा बदलियो । त्यसपछि एउटा डरलाग्दो चित्कार अबाघीय चित्कार ‘शेरे खाँ’ बाट ।

“त्यसले शिकार फुत्काएजस्तो छ !”, ब्वाँसो आमाले भनिन्, “तर त्यो के होला ?”

ब्वाँसो बाबा बाहिर निस्किए र केही छलाङ मारे । शेरे खाँ ङारङारङुरङुर गर्दै जङ्गली पाराले मुर्मुरिइरहेको थियो र शिकार झम्टने हिसाबले खुम्चिँदै थियो ।

“त्यो मुर्खले कुनै दाउरेलाई झम्टिन खोज्दा आगोको फिलिङ्गोमा खुट्टा झुसिल्टिएजस्तो छ !”, ब्वाँसो बाबाले घृणा व्यक्त गरे, “टाउके पनि त्यतै छ ।”

“कोही यतै उक्लँदै छ !”, कान थाप्दै ब्वाँसो आमाले भनिन्, “होशियार है !”

झाडीबाट सर्‍याकसुरुक नजिकनजिक सर्दै आयो । ब्वाँसो बाबा त्यसलाई झम्टने हिसाबले पछाडिको खुट्टा खुम्च्याए । त्यसपछि यदि यो दृश्य देखिरहनुभए तपाईँ तीनछक खानुहुन्थ्यो कि ब्वाँसोबाबाले जुन चिजलाई झम्टिन खोज्दै थिए, त्यो झम्टनुपर्ने चिज रहेनछ भन्ठानी अकस्मात खङ्ग्रङ्ग भएका थिए र चारपाँच माथि फिट हावामा उफ्रेर मात्र फेरि यथास्थानमै गुल्टिएका थिए ।

“धत्तेरिका ! मान्छे पो रैछ !!” उनी चिच्याए, “हेर तै, मान्छेको बच्चो !”

 

क्रमशः

290 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *