कथित यात्राका थकित यात्रीहरु

जाम् जाम् गुरुजी !”

“यात्री सबैलाई बस्न लायौ ? ढोका लगायौ पछाडितिरका सबै ?”

लाएँ गुरुजी, लाएँ !”

पानी, ड्राइफुडहरु हाल्यौ त ?”

पहाडतिर जानलाई कसैले तराइको पानी, खाजा बोक्छ ? बाटोमै पाइहालिन्छ नि गुरुजी, खानपिनका चिजबिज जे खोजे पनि ।

ल ल ठीक छ । हामी सबै नयाँ छौँ, तिमीले नै यो यात्रालाई सक्दो सुविधाजनक बनाउनुपर्छ है । गुरुजीले यात्राको बाह्रौँ घण्टी बजाउनुभयो ।

बिहानको १० बजे गाडी नं बा.१३ च ३६१३ बाट रुकुमतिरको हाम्रो यात्रा श्रीगणेश हुन्छ तुल्सीपुर बसपार्कबाट । खम्बु भाइ टर्कीतिरको यात्रामा रहेकोले उनको गाडी भाडामा लिएर हामी रुकुम हानिँदै छौँ । हेमन्त रावलले मेरै गाडीमा जाउँ न त भन्दै हुनुहुन्थ्यो । समस्या कस्तो भयो भने न उहाँ हाम्रो गाडीमा अटाउने, न त हामीहरु उहाँको गाडीमा अटाउने ।

पातुखोला पुरेर बनाइएको बसपार्कलाई पछाडि छोडेर हामी तुल्सीपुरबजारतिर उक्लँदै छौँ । बजारतिर मान्छे, रिक्सा, गाडी, मोटरहरुले धुमलिएको भेल तर्नै सास्ती हुने गरी उर्लिएको छ । दशैँतिहारको समय, चारैतिरका मान्छेहरु ओइरिएका छन् । त्यही भेलमा बग्दै गरेका हर्कभाइ सल्यानरोडको चोक वारिपट्टि नै देखिन्छन् । तिनचारदिनसम्म ‘कोरियातिरै छु’, भनेका मान्छे यहाँ पो टुपुल्किएछन् । उनी हाम्रो गाडी देखेर हात हल्लाइरहेका छन् । मलाई चिने कि ?

दशैंको समयमा अरु लोकल बसहरुको यात्रा चुनौतीपूर्ण हुन्छ । टिकट पाएर पनि बसमा उठीउठी वा छतको यात्रा गर्नुपर्छ । यस्तै सानासाना गाडी भेटिएमा यात्रा सुविधाजनक पनि हुने र छिटो पनि पुगिने आशामा बाटोबाटोमा बसेका हुन्छन् रुकुमतिरका यात्रीहरु ।

बायाँ मोडौँ, गुरुजी ! सिधै पूर्व गए घोराही पुगिन्छ । सल्यान तथा रुकुमतिर जानलाई अब हामी उत्तरतिर लाग्नुपर्छ ।

मैले साइड हेरेर ढ्याक्ढ्याक्को संकेत दिएपछि गाडीले बायाँतिर मोडिएर अब रुकुमतर्फको यात्राको दिशा पक्रिइसकेको छ, तर गति पक्रिन सकेको छैन ।

अलिकति अगाडि बाटोको किनारतिर भीम वली सपरिवार देखिए । त्योभन्दा माथि रम्भा म्याडम नातिहरुलाई च्यापेर गुन्टा कसेर छेउ लागेर गजधम्म बसिरहेकी रहिछन् । त्यहीँनेर चन्द्रा वली पनि दाङतिर झरेकी रहिछन् क्यारे गाडी रोक्न हात हल्लाउँदै छिन् । दौडधुपले असिनपसिन देखिन्छिन् उनी ।

म भने छातेटोपी ढल्काएर गलबन्दीले मुख छोपेर गुरुजीको देब्रेपट्टिको सिटमा बसेको छु परिचितहरुले नचिनून् भनेर । चिने कि यिनीहरुले ? सातो जान्छ मेरो ।

अलिकति माथि जयन्ती थापा सिलवाल र सन्जु दाहाल म्याडमहरु एकअर्काको हात समात्दै टहलिएको पनि देखिए । सायद दाङसम्म मात्रैको घुमघाम थियो कि ? कहाँसम्मको यात्रा हो, म्याडम ?” जिब्रोबाट फुत्किनै आँटेको बोली मुखभित्रै थामथुम पारेँ ।

जागिरतिर बढ्दो असन्तुष्टीको कारणले मैले भर्खरै राजिनामा दिएर यो पेशा अंगाल्ने सोचेको छु । म नयाँ जागिरको संघारमै छु । आफूलाई बरु गाइड सम्बोधन गरुन् भन्ने चाहन्छु तर मेरो गुरुजीले मलाई काँचै खलासी नै भन्छन् र सोहीमुताबिकको व्यवहार पनि गरिरहेका छन् । बाटोमा देखिने परिचितहरुले साविकको जागिरी छाडेर खलासीको काम गरिरहेको थाहा पाए भने ? यही भयवश् परिचितहरुको आँखा छल्ने प्रयत्न गर्दैछु । उनीहरुको आँखाबाट छलिनुको अर्को फाइदा के छ भने चिनेकाले फाइदा उठाउँदै लिफ्ट मागे भने मिल्दैन भन्न नपरोस् ।

के सोच्दै छौ भाइ ? पहाडी बाटो कतिखेर शुरु हुन्छ अब ?”

/८ किलोमिटर हो । अब दशपन्ध्र मिनेटमा । म गुरुको आँखातिरको सट्टा कानतिर हेरेर जवाफ दिन्छु, बाध्यता यस्तै छ ।

अनि रुकुम पुग्न ?”

त्यस्तै एकसय पैँतीसछत्तीस किलोमिटर जति होला । आफ्नै गाडीमा सरासर गए चारपाँच घण्टा हो ।

दिउँसोको नास्ता खान रुकुम नै पुगिने भइयो उसोभए । कमलसरको अड्कल ।

हेरौँ । जाँदै गरौँ । मौसम त सुधार भैसकेको बुझेको छु ।

मतिर मात्र हेर्ने होइन । बाहिर साइड पनि हेर, अगाडितिरको अवस्था पनि बुझ र यात्रीहरुतिर पनि आँखा पुर्‍याउँदै गर है खलासी भाइ । तीनवटै कुराहरुमा तालमेल भएन भने यो यात्रा खल्लो हुनेछ बुझ्यौ ?”

म यस यात्राका यात्रीहरुतिर फर्कन्छु ।

“चिन्छौ नि आफ्ना यात्रीहरुलाई ? चिन्दैनौ भने सर्टको रङअनुसार नाम दिए पनि हुन्छ उहाँहरुको । बाटोमा छुटेमा गन्ती गर्नभन्दा सजिलो हुन्छ क्या !”

किन नचिन्नु ? मजासँग चिन्छु सबैलाई ।

ल भन त उसोभए, को को हो उहाँहरु ?

“हजुरको सिधा पछाडि बस्ने खैरो चेक सर्ट लगाउने निबन्धकार युवराज नयाँघरे सर हुनुहुन्छ । एक हातको ताली, काठमाण्डौलाई कोर्रा, औँलाओँलामा अष्ट्रेलिया आदिका रचनाकार । मेरो सिधा पछाडि बस्ने गुलाबी टिसर्ट लगाउने जल्दाबल्दा आधुनिक कवि विप्लव ढकाल सर हुनुहुन्छ । च्याउको जङ्गल, प्रोफेसर शर्माको डायरी आदि उहाँका कविता संग्रह मैले पढेको छु । युवराजसरको सिधा पछिल्तिर बस्ने खैरो ज्याकेट र नीलो जिन्स पाइन्ट लगाउने अमर न्यौपाने सर हुनुहुन्छ । उहाँ जनपृय उपन्यासकार हुनुहुन्छ । उहाँको पानीको घाम, सेतो धरति र करोडौँ कस्तुरी मैले पढेको छु । विप्लव सरभन्दा पछि बस्ने सेतो वस्त्रधारी अग्लाअग्ला व्यक्ति कमल ढकालसर हुनुहुन्छ । घोष्टराइटिङ नेपाल र कुन्ज नाटकघरका अध्यक्ष र गो अहेडका रचनाकार पनि हुनुहुन्छ । यो यात्रामा तपाईँहरुलाई ल्याउन भूमिका खेल्ने उहाँ नै हुनुहुन्छ र त्यो आग्रह मैले गरेको हुँ ।

अरे ! अरे ! सबलाई चिन्दा रहेछन् त यिनले त !

अनि म ?

तपाईँ जुकर्वर्ग क्याफे, प्रेमालय, उनी कथासंग्रहका कथाकार अश्विनी कोइराला सर हुनुहुन्छ । मेरै आग्रहमा तपाईँलाई चालकको सिटमा राख्ने चाँजोपाँजो मिलाइएको हो ।

वा रे वा । हो र भन्या ? लुगाको रङ छुट्ट्याएर आफ्ना यात्री चिन्ने खलासी हुन् कि भनेको त यात्रीका आन्द्राभुँडीको रङ नै चिन्ने खलासी परेछन् । जे होस् रमाइलै हुनेभयो यात्रा ।गुरुजीले ब्याकमिररले यात्रीहरुको अनुहार जाँचेको देख्छु ।

 यात्रीहरुका जोरजोर आँखाहरु अभूतपूर्व चनाखा भएका छन् । चारैजनाको गलामा क्यामेरा झुण्डिएको छ । यो यात्रा अहिले बजारकै आसपासमा भएकोले उनीहरु बाहिर देखापर्ने गाउँलेहरुको भेषभुषा र बोलीचालीमा आकर्षित भैरहेका छन् ।

गाडी गोटीखोला पुगेपछि पातुखोलाको किनारैकिनार अघि बढ्दछ । सिधा बाटो बाङ्गोटिङ्गो हुन थालेको छ र बस्ती जङ्गलमा जङ्गलमा परिवर्तन हुँदैछ ।

अब दश किलोमिटर जतिमा कपुरकोट पुगिन्छ गुरुजी । बाटो साँगुरो छ । मोडैमोडहरु छन् बिस्तारै हाँक्नुहोला । दुर्घटना भइरहने ठाउँ हो !” यो मैले खलासीको कर्तव्य निभाउन चुक्दिन ।

स्टेरिङ मेरो हातमा छ बुझ्यौ ? नडराऊ । यो हातले अहिलेसम्म कुनै दुर्घटना भएको छैन ।

यात्रीहरुतिर आँखा पुर्‍याएँ । चारैजना झुङ्न थालिसकेछन् ।

राम्री पुगेपछि गाडीमा ब्रेक लाग्दा चारैजना अगाडि हुत्तिएकोले ब्यूँझिए । डाँडाको पारितिर भन्ज्याङमा एउटा गाउँ देखियो ।

ल पिसाबसिसाब फेरौँ है । अब गाडी उता रोकिँदैन । मैले उर्दी फिराएँ ।

हात हातमा क्यामेरा भिरेर सबै गाडीबाट ग्वार्ग्वार्ती ओर्लिए । युवराजसर खुट्टा झड्कार्दै बोलेः ऐया नि बाबाबा… खुट्टै निदाएछ । कुन गाउँ हो त्यो पारिको ?” बजारतिर औँला सोझ्याए उनले ।

कपुरकोट । त्यहाँदेखि दाङको सीमा समाप्त भई सल्यान शुरु हुन्छ ।

एक किलोमिटर जति लाग्ला हैन त्यहाँ पुग्न ?”

“६ किलोमिटर जति बाँकी छ”, अझै भन्दै म कान्लातिर उक्लिएँ । उद्देश्य थियो परिचितले बाटोमै आफूलाई नभेट्टाउन् । माथिबाट उनीहरुको कुरा सुन्दै छु । तत्कालीन कर्म सकेर क्यामेरा ताकिरहेका छन् सबैले ।

हातैले छोइएला जस्तो छ त्यो बजार । ६ किलोमिटर त कुनै हालतमा छैन । कमलसरले मेरो अनुमानलाई चुनौति दिए ।

अमरसरले पनि, त्यो बजार त धेरै नजिक पो देखिन्छ त हौ भन्दै कमललाई साथ दिए, ६ किलोमिटर त कहाँ हुनु । यस्ता पहाडी ठाउँ त कति घुमिएको छ कति । अमरसरले गाडीबाट झर्दा पनि झोला छोडेका छैनन् ।

हुनसक्छ । सयौँ पटक हिँडेका होलान् ओली यो बाटो । विप्लवसरले मेरो भनाइको नजिकतिर अमरसर र कमलसरलाई ल्याउन खोजे ।

युवराजसरले पनि टाढै होला नि त !” भन्दै विप्लवसरकै समर्थन गरे ।

६ किलोमिटर त छँदैछैन, बरु एकको सट्टा दुई होला !” कमलसरको जिद्दि यथावत छ ।

दुई किमिमात्र त छैन होला हौ । ६ को सट्टा बरु पाँच होला !” विप्लवसरको पनि नछाड्ने जिद्दि ।

,, भयो मैले चारमा मिलाइदिएँ, हुन्छ ?” अश्विनी सर गाडीकै चालक सिटछेउको झ्याल समातेर झुण्डिएका छन् । मानौँ उनले गाडी छोडिदिएमा गाडी त्यहाँबाट भागिहाल्नेछ ।

बढी त हुँदैन हुँदैन । कमल र अमरको बिरोध छ ।

घटी त हुँदैन हँदैन । विप्लवसर र युवराजसरको पनि अस्वीकृति ।

उनीहरुको रस्साकस्सी पर्न थाल्यो । बाजी नै थापे । जसले जित्यो उसैले दिउँसोको खाजा खुवाउने गरी ।

केही बेर पहाडको गोर्‍यानमा बगेको पातुखोला फलाबाङसँग नारिएका अरु पहाड राम्रीभन्दा माथिको रानीवनको दृश्य क्यामेरामा कैद गरिसकेपछि गाडी अगाडि बढ्यो । सानासाना टाकुराहरुको गला भएर बाटो घुम्न थाल्यो । मोडैमोड र खोँचैखोँचले गर्दा कपुरकोट पुग्न पन्ध्र मिनेट नै लाग्नेभयो । आफूले बाजी हार्ने लक्षण देखेपछि कमल र अमर चुप लागे ।

हामी कपुरकोट पुग्यौँ । एउटा बाटो कपुरकोट भन्ज्याङबाट ओरालो लाग्यो अर्को कपुरकोटबाट अझै उकालो ।

त्यो प्रसिद्ध स्वर्गद्वारीमन्दिरतिर अर्थात् रोल्पा तथा प्युठानतिर जाने बाटो । मैले उकालो बाटोतिर औँल्याउँदै भनेँ ।

“जाऊँ न रोल्पा जाने बाटोतिर अलिकति माथिसम्म ।”

कपुरकोट बजारबाट अलिकति माथि पुगेर वारिपारि हेर्नथाल्यौँ । हामी माथितिर लागेको बेला बसमा आइरहेका देखिए चन्द्रा तथा रम्भाहरु । मैले उनीहरुलाई देखेँ उनीहरुले मलाई देखेनन् हाइसन्चै भो । अर्को माइक्रो बसमा हर्क र भीम पनि देखिए र कपुरकोट नरोकिएर काटिहाले ।

यताउता हेरिसकेपछि हामी तल बजारतिर झर्‍यौँ ।

खै बाजीको पैँसा ? अब यतै चियाखाजा खाऊँ !” युवराजसरको चिया खाने तलतल बुझियो ।

खाना खाएर तुल्सीपुरबाट हिँडेको एक घण्टा भएको छैन । अहिल्यै चिया नखाऊँ भो ।

जाबो एक कप चिया त बाजी नहारे पनि खुवाइन्छ के । गाडी छोडेर भागिहालौँला जस्तै कति हतार हो यतिविधि । अमरसरको चोटिलो व्यङ्ग्य । युवराजसर र कमलसर अलि परै तरकारी बजारको भाउताउ सोध्दै छन् । थरिथरिका ताजा तरकारीले मात्र ढाकिएको बजारले उनीहरुलाई लोभ्याएछ ।

गुरुजी भने उनीहरुको वादविवादतिर नमुछिई गाडी स्टार्ट गर्दै यात्रीहरुलाई गाडीमा फर्कन संकेतको हर्न बजाउन थाले । सबै यात्रीहरु गाडीमा चढिसक्नेबित्तिकै गाडी कपुरकोट ‌ओरालोतिर कुद्न थाल्यो ।

 हाम्रो यात्रा छोटोमीठो यस्तो होस् कि हाम्रा मनले खिचेका दृश्यहरु धेरै परसम्म आँखैमा नाचिराखून् । जति विलम्ब गर्‍यो उति दृश्यहरु मधुरा हुन्छन् । सायद गुरुजीको हामीप्रतिको व्यङ्ग्य थियो यो ।

केही गानासाना लाउनू न ओलीजी, यात्राको कुनै मज्जै आएन क्या !” कमलसर अलि रसिक छन् ।

के गाना लाऊँ ? हिन्दी गाना ?”

भैहाल्छ नि !” भन्ने कमलजीको स्वीकारोक्ति भुइँमा झर्न नपाउँदै हुँदैन !”, हुँदैन !!” हुँदैन !!!” भन्ने बिरोध स्वरहरुले कमलजीको बचनलाई मुखभित्रै पुर्‍याउलान् झैँ गरे ।

नेपाली गाना लगाइदिऊँ त ? कुन चाँहि ?”

हुँदैन । विप्लवसरले पुनः ठाडै विरोध गरे । यहाँ गीतको पारखी को होला र ? बरु मेरा च्याउका जङ्गलका कविताहरु लगाउनू न ईः भन्दै मेरो नाकैमा पेनड्राइभ पुर्‍याउनुभो ।

तपाईँका कविता मात्र सुनिदिएर हामीले बाटो काट्ने ? उसोभए मेरा निबन्धहरु पनि सुनिदिनुपर्‍यो नि । मैले पनि ल्याको छु के औँलाऔँलामा अष्ट्रेलिया भित्रका निबन्धहरुको अडियो रेकर्ड । यी लानुस् ओलीजी यही लगाइदिनुस् । उहाँले पनि अर्को पेन ड्राइभ तेर्स्याइदिनुभयो ।

तपाईँहरुका मात्र छन् र रचना ? सेतो धरतिको अडियो रेकर्ड मसँग पनि छ । यी लानुस् !” अमरसरले त भिरिरहेको झोलाबाट डिभिडि नै झिकेर दिनुभयो ।

डिभिडि नै राख्ने साउण्ड सिस्टम त छैन होला हौ यो गाडीमा ।

सिस्टम रहेछ नै भने पनि उहाँको उपन्यास सुनिभ्याउन त कम्तीमा दशदिन लगाउनुपर्ला नि । सुन्या छ, सुन्या छ । बरु मैले घोष्टराइटिङका कक्षाहरु र कुन्जघरका नाटकहरुको भिडियो ल्याको छु । यही सुनौँ । कमलसर पनि के कम !

कमलजीको कुराले गाडीको छत नै उडाउनेगरी हाँसो गुन्जियो ।

,, उसोभए अमरजीको उपन्यास बाहेक अरुहरुको पेन ड्राइभको एउटाएउटा आइटम पालैपालो लगाइदेऊ न त ! बरु जुकरवर्ग क्याफेका मेरा कथाहरु पनि लगाइदेऊ !” अश्विनी सरले पारिपारिसम्मको बाटो नियाल्दै आफ्नो इरादा मिसाउन भ्यासक्नुभएको छ ।

मैले पेनड्राइभहरुको साङ्लोबाट पालैपालो अडियो लगाइदिन्छु ।

हेर भाइ यता । गाडी उकालोमा कुन गतिमा चलाउनुपर्छ, तेर्सोमा र ओरालोमा कसरी चलाउनुपर्छ ध्यान दिएर यता पनि हेर्दै गर । जे कुरामा लागेको छ तनमन त्यतै दिनुपर्छ अलिकति चुक्यो कि खत्तम ।

मैले भने न त बजिरहेका कथा कवितातिर ध्यान दिनसकेको छु न त गुरुजीबाट निस्कने निर्देशनात्मक भनाइहरुतिर । म प्रकृति र धरातल हेर्नमै भुलेको छु यतिखेर र भन्छुः

यो अरिङ्गाले फेदी । कृष्णभीरजस्तै एकताका पहिरो झरेकोझर्‍यै गरेर निकै दुःख दियो यसले । गाडी पहाडको फेदीमा पुगेर खोला तर्दैछ ।

कथा कविता र निबन्धहरु बजिरहेका छन् । अमरसरको ध्यान भने त्यता छैन । एरफोन कानमा कोचेर आफ्नै दुनियामा विचरण गरिरहेको जस्ता छन् । कमलसर, विप्लवसर र युवराजसर अडियो सुन्दै समीक्षा गर्दै गर्नमा व्यस्त । गुरुजी पनि उहाँहरुको समीक्षा सुनेर बेलाबेलामा छोटाछोटा एकदुई प्रतिक्रिया दिनुहुन्छ ।

यो टुनीबोट । यो एरियामा ठूलाठूला बस दुर्घटनाहरु भएका छन् ।

दुर्घटना नै निम्तिने खालको अवस्था त देख्दिन त म । बाटो फराकिलो नै छ र मोड पनि त्यतिविधि तीखा छैनन् । गुरुजी आश्चर्य व्यक्त गर्नुहुन्छ ।

बाटोको कारणले नभई ब्रेक नै बिग्रिएका पुराना थोत्रा गाडीहरु र चालक तथा समितिको छिट्टै कमाउने लोभको प्रतिष्पर्धाले यतातिरको दुर्घटना हुने देखिन्छन् । मेरो तर्कले स्वीकृतिसूचक अनुहारहरु देखिन्छन् ।

अब यो लुहाम । यताबाट आउने ठूलो खोला ‘शारदा’ । सल्यानका अधिकांश खेतहरु सिंचित गर्ने मूख्य नदी । यसैको मुख्य मुहानदेखि उता शुरु हुन्छ रुकुम । हामी अब यो खोलालाई नछोडेर यसैको किनारैकिनार भएर रुकुमको सीमाना पुग्छौँ ।

भोक लागेको छैन कसैलाई ? कि कथा/कविताले नै पेट भरियो ?” अमरसरले भोक लागिसकेको छनक दिनुहुन्छ । अरुहरुको ध्यान अमरसरकै भनाइमा तानिएको देखिएको छ ।

बल्ल त एक बज्दै छ । अब शितलपाटीतिर खाउँला खाजा त । मैले थामथुम पार्न खोज्छु ।

ए उसोभए रुकुम पनि पुग्न थालियो होला हैन ? नास्ता खानेबेला त रुकुम पुग्ने अनुमान थियो । कमलसर अनुमान गर्नुहुन्छ ।

रुकुम पुग्नलाई त एकतिहाइ बाटो पनि कटेको छैन ।

उसोभए रुकुम पुग्दा रातै पर्छ कि क्या हो ?” विप्लवसरले शंका व्यक्त गर्नुहुन्छ  ।

सरासर गए त उज्यालोमै पुगिएला कि । म उहाँहरुको अत्यासलाई थामथुम पार्ने प्रयत्न गर्छु ।

हामी भोटेचौर हुँदै लान्ति पुग्छौँ ।

सडक सुविधा नहुँदा रुकुमतिरबाट आउने बाटो यहीँ मिसिन्थ्यो ।

पहाडी बजार त ठूलै पो रहेछ । कुन बजार हो यो ?” लान्ति कटेपछि गुरुजीले अगाडिको बजारतिर औँल्याउनुहुन्छ । प्रतिक्षित बजार आइपुगेको आभाषले सबैका घाँटीहरु तनक्क तानिन्छन् ।

शितलपाटी । एकछिन यतै रेष्ट गरौँ, चियाखाजा पनि खाऊँ ।

औधि थकाइ लाग्यो मलाई त, ज्यान पनि बुढिएछ कि क्या हो ? कतै यस्सो चिरिप्प पार्ने ठाउँतिर रोकौँ न अश्विनी सर । युवराजसरले आफ्नो तलतल लुकाउन सक्नुहुन्न ।

हुँदैन, हुँदैन । मेरो हातमा स्टेरिङ छ । मलाई मापसेमा पार्ने बिचार छ कि क्या हो ? मैले मात्र गाडी चलाउने ठेक्का लिएको हो र । पालैपालो सबैले चलाउनुपर्छ अब ।

यात्राको थकाइ बूढाहरुभन्दा पनि तन्नेरीलाई बढी लाग्छ क्या !” अमरसरको ठम्याई ।

तपाईँ चारैजनाको उमेर उस्तैउस्तै होला तर युवराज सर त पूरा असी काटेजस्तै बूढो पो देखिनुहुन्छ त ?”

उसोभए बढी थकाइ त कमलसरलाई लागेको हुनुपर्छ, ज्यान कति लामो छ भने कम्फर्टेबल सिट भको गाडीमा पनि नअटेका हातखुट्टा र जीउ फोल्ड गरेरै सिटमुनि कोच्नुपर्ने बाध्यता !” विप्लवसर पनि छेड हान्न माहिर हुनुहुन्छ ।

गाडी एउटा मीठाइ पसलमा गएर रोकिन्छ ।

हेर न आजभोलिका चालकहरु ताल,  भट्टीपसलतिर देखिने गुरुजी मीठाइपसलमा । यस्ता मीठाइप्रेमी गुरुजी !” विप्लव सर पनि मीठाइ पसलमा गाडी रोकिएकोमा सन्तुष्ट हुनुहुन्न भन्ने बुझियो । 

××××××××××××××××

मैले यति संस्मरण लेखिसक्छु र अश्विनी कोइराला सरलाई मेसेन्जरको माध्यमबाट सेन्ड गरिहाल्छु । तल लेख्छुः

माइन्ड नगर्नुहोला है सर मैले हजुरलाई ड्राइभरको भूमिका दिएको छु र आफूलाई खलासीको । यात्रीहरुलाई जिन्दगीमा पुग्दै नपुगेको ठाउँमा पुर्‍याउँदैछु है ।

….

एकछिनपछि रिप्लाइ आउँछ 

….

अरु ठीक छ ।

……

अब टुङ्ग्याउनतिर लागिहाल्नुस् ।

….

हामी अझै सल्यानको पुछारतिरै छौँ ।  यात्रीहरुलाई रुकुमसम्मै पुर्‍याउँछु भनी यहाँसम्मै ल्याइसकेपछि बीचमै छाड्न अलि नमिल्ला कि ?”

ल ल बाँकी लेखेर पठाउनुहोस् ।

××××××××××××××××

खाजा खाइवरी शितलपाटीबाट गाडी पुनः अगाडि बढ्यो ।

अब बायाँतिरबाट दश किलोमिटर जति माथि सल्यानको सदरमुकाम खलंगाबजार रहेको छ । दायाँतिरबाट अगाडि बढे करिब ८५ किमिको दूरीमा रुकुमको मुसीकोट पुगिन्छ ।

अझै पऽऽचाऽऽसीऽऽ किमि ? आम्मामामामामा…….  आज पुगिँदैन कि क्या हो ?” कमलसर सशंकित देखिनुहुन्छ ।

पुनः कथा कविता र निबन्धको अडियो बज्न थाल्छ गाडीभित्र ।

भयो अब भयो अडियो सुन्नलाई पनि । बरु आफै रचना गरौँ । चुट्किला लघुकथा मुक्तक आदि । जजसलाई मन पर्छ, सुनाऊँ हुन्न ?”

बाहिरतिर पनि सबै उस्तै हो । टाढा केही देखिँदैन, उही खोला हेर्‍या छ, कुद्या छ वश् ।  हाम्रो गुरु पनि बेसरी खट्नुहुँदोरहेछ । गफसफ केही नगरी हाँक्या छ हाँक्या छ । कमलजीको असन्तुष्टि छताछुल्ल हुन्छ ।

“मैले गाडी हाँक्नुमा मेरो स्वार्थ पनि लुकेको छ, कमलजी । म यताको प्रेमको बीउको रङ र आकार हेर्न चाहन्छु । त्यसको बीरुवा कस्तो हुन्छ नजिकबाट हेर्न चाहन्छु । त्यो कस्तो पाखामा हुर्कन्छ त्यो जान्न चाहन्छु । बीउको मुहान कहाँ छ त्यो कुरा बुझ्न चाहन्छु । यदि म यात्रीको भूमिकामा हुन्थेँ भने तपाईँहरु जस्तै निदाइरहेको हुन्थेँ र म यी कुराबाट बन्चित हुन्थेँ । मैले यी कुराहरु आँखा नझिम्क्याएर हेरिरहेको छु नि त ।” गुरुजीले कमलजीको नाममा सबै यात्रीहरुको ध्यान खिच्ने प्रयत्नमा हुनुहुन्छ ।

गुरुजीको तर्कको प्रभाव के परिरहेको छ पछिल्तिर भनेर मैले टाउको मोडेर फर्किएँ । उहाँहरु त कुरा सुन्दासुन्दै झुङ्न थालिसक्नुभएछ ।

सल्यानको बरेला, ढोरचौर, चाख्लीघाट, पटारे, मोख्ला, कालाखेत, थारमारे, खरीबोट पछाडि छोड्दै रफ्तारमा गाडी कुदाइ नै रहनुभएको गुरुजीले । आफ्ना कुराहरु सुनिदिने यात्रीहरु नै निदाइसकेपछि गुरुजीले मलाई नै पढाउन थाल्नुभयो :-

हेर भाइ, जिन्दगीका पाटाहरु हेर्ने आआफ्नै दृष्टि र आफ्नै कोण (एङ्गल) हुन्छ । म अगाडि छु र तिम्रो दायाँपट्टि छु । मेरोतर्फबाट नजिक आउने हरेक प्राणी र प्रकृतिबीचको प्रेमलाई म दायाँपट्टिबाट र प्रत्यक्ष अगाडिबाट देख्नसक्छु । तिमी देब्रेपट्टि छौ । तिम्रो हेराइ देब्रे हुनसक्छ । विप्लव र युवराज बीचमा बसेका छन्, उनीहरुले हेर्न सक्ने बीचको दृश्य हो । अमर र कमल पछाडि छन् । उनीहरु पछाडिबाट अगाडिको थोरै दृश्य हेर्न सक्छन् । पछाडि बसेकाहरुलाई अर्को के सुविधा छ भने उनीहरु पछाडि फर्केर पछाडिको दृश्य परपरसम्म हेर्न सक्छन् । ब्याकमिररबाट म पनि साइडमा आइसकेको कुरालई हेर्न त सक्छु । तर निरन्तर हेरिरहने सुविधा छैन मलाई । किनकि म चालक सिटमा बसेको छु र सधैँ सिधा अगाडि हेर्नुपर्छ ।

मैले केही बुझेजस्तो र केही नबुझेजस्तो गरी टाउको हल्लाइरहन्छु ।

अब गाडी उकालो चढ्न थालेपछि विप्लव सर ब्युँझदै भन्नुहुन्छः रुकुमको सिमाना शुरु भयो अब ? खोला छोड्नेबित्तिकै रुकुम शुरु हुन्छ भन्नुभएको हैन ?”

छैन । मुसीकोट नै पुग्न त अझै दुई घण्टा लाग्छ । सानो डाँडा काटेर पुनः यही खोलामा मिसिन्छौँ हामी ।

यो ठाउँ त जताकतै उजाडैउजाड मात्र देखिन्छ त ।हाम्रो कुराकानीले युवराजसरलाई पनि ब्यूँझाएछ ।

रुकुमको सीमाना शुरु हुनेबित्तिकै हरियाली पनि शुरु हुन्छ सर । खोल्साखोल्साहरुमा पानीका मुहानहरु छन् । टाउको उचाल्ने बित्तिकै पूर्व उत्तर र पश्चिमतिर हिमाली श्रृङ्खलाहरु देख्न सकिन्छ । अब २० किलोमिटर पार गरेपछि रुकुमको सीमाना शुरु हुन्छ ।

अब हामी शिवरथ पनि पछि पारेर बाङ्गेलाँकुरी पुगिसकेका छौँ । सिधा पूर्वतिर औँल्याउँदै भन्छुः त्यही हो रुकुमको सीमाना । त्यसलाई खौला भनिन्छ । त्यो भन्ज्याङ हो । भन्ज्याङलाई यताको भाषामा छेर्ना भनिन्छ । त्यसलाई खौलाउ छेर्ना भन्छन् यतातिरकाले ।

बाङ्गेलाँकुरीमा एकछिन गाडी रोकेर सबै साथीहरु त्यतातिरको दृश्यमा लोभिन्छन् ।

चिया नास्ता खाऊँ कि यतै ?”

अब कति समयमा पुगिएला त्यो छेर्नामा ? दूरीमा पनि बट्टा लाग्ने ठाउँ रहेछ । एक किलोमिटर अनुमान गर्‍यो दश किलोमिटर पुग्दो रहेछ यतातिर त । अमरसरले जिज्ञासा पोख्नुहुन्छ ।

धेरै टाढा छैन, अब बाह्रतेह्र किलोमिटर जति होला ।

भोक त लागिसक्यो, के गर्ने होला ?” युवराज सरको अन्यमनस्कता ।

तपाईँहरु त आरामसँग बस्नु मात्रै भएको छ । ड्राइभिङ गर्दागर्दा अनवरत मिहेनत त मेरो परेको छ । मलाई झन् कति भोक लागेको होला ?” गुरुजीले बिहानैदेेखिको आफ्नो जोशजाँगरलाई अनुमोदन गराउन खोज्नुहुन्छ ।

खै अरुलाई ड्राइभिङको चान्स दिने होइन, हामी के भनम् त अब ?” कमलजीका हातले पनि ड्राइभिङ गर्न हात सकसकाए जस्तै बुझियो ।

, ल दशबाह्र किमि मात्र भए त्यहाँ दशदेखि बीस मिनेटमा पुगिने देखियो । त्यहीँ पुगेर खाउँला ।”

“जाऊँ, जाऊँ !”

सबैको मिश्रित सहमति प्राप्त भयो गुरुलाई, जाम्, जाम् !”

हामी सीमखोलीलाई पनि पछि पारेर उकाला घुम्तीहरु पार गर्दै माथि उक्लन थाल्यौँ ।

के हो ? पारि गाडीहरुको त लामो लाइन देखिन्छ त ! के को जाम हो त्यो फेरि ?”

त्यता अलि चिस्यान भइरहने ठाउँ हो । बर्खाले सबैभन्दा बढी त्यतैको बाटो बिगार्छ ।  गाडी पूरै डुब्ने हिलो छ । अगाडिको गाडी फस्यो होला हिलोमा ।

मारेन त अब ? कतिबेरसम्म रोकिनुपर्ने हो अब ?”

हामी केही बेरमा गाडी जाम भएको ठाउँमा पुग्छौँ । एउटा बोलेरो गाडी खुट्टा झिक्नै नसक्नेगरी फसेको छ ।

केही चियासिया पाइन्छ यतातिर ?” भोक खप्न नसक्नेमा युवराजसर नै अगाडि देखिनुभएको छ ।

के को चिया पाइनु यो जङ्गलमा ? अब कि त पाँच किलोमिटर जति तल सीमखोलीमै पुग्नुपर्छ, कि दुई किलोमिटर माथि जलेखर्क पुग्नुपर्छ ।

अगाडि हिलो नै हिलो छ मान्छे हिड्न सक्ने अवस्था समेत छैन । अलिअलि ओबानो बचेको ठाउँमा अगाडिका गाडीहरुका यात्रुले ठेल्लम्ठेल छ ।

अब स्काभेटर नआएर त्यो जीप उक्लन सक्दैन, कुन बेला आउला स्काभेटर ?” गाडी बीचबाटोमै रोक्दै गुरुजी दुवै हातले टाउको थिच्न थाल्नुहुन्छ ।

मुसीकोटबाट आउन दुईघण्टा लाग्ला, शितलपाटीबाट पनि त्यस्तै लाग्ला ।

त्यो पनि खबर पुग्यो भने वा आयो भने त हो ! आएन भने त मारिहाल्यो नि !!”

यत्रो यात्रीहरु छन् र सबै पर्खेरै बस्छन् त त्यतिन्जेल ।

अर्को उपाय पनि त छैन ।

ए भाइ, जाऊ तिमी अगाडिको अवस्था बुझ !”

अगाडि गएर पनि के बुझ्नु र ? जे देखिएको छ त्यही त हो नि । म अगाडि बढ्न जाँगर लाउँदिन ।

जाऊ न जाऊ । जाऊ भनेपछि पनि नमान्ने कस्तो खलासी तिमी ?”

त्यति बुझ्नलाई त अरु गए पनि त हुन्छ । जानुस् कमल सर तपाईँ । मैले अह्राउन सक्ने बढीमा उहाँलाई नै हो ।

! त्यस्तो हिलोमा जाँदिन म । मेरा सेता लुगा बिग्रे भने को जिम्मेवार ? जानुहोस् अमर सर तपाईँ ।

अनि नयाँ लुगा तपाईँका मात्र छन् ? मेरा छैनन् ? जानुस् विप्लव सर तपाईँ ।

विप्लव सर युवराज सरलाई घच्घच्याउनुहुन्छ, “जानुस् युवराजसर, बढी भोक तपाईँलाई नै लागेको छ क्यारे !”

भोक नलागेको त को होला र यहाँ ? बेलुकाको खाना खाने बेला भइसक्यो नि । वारिपारि अँध्यारो हुन थालिसक्यो ।

चालकको नाताले अश्विनी सर दायाँबायाँ चल्नै मिलेको छैन । के गर्ने अब गाडी पछाडि पनि फर्कँदैन । पछाडि पनि अरु गाडीहरु आएर रोकिइसकेका छन् ।

जाऊ न जाऊ, अगाडि के भन्छन् बुझ न यार्, बरु पछाडि फर्कौँला ।” गुरुजी मलाई अगाडि जान बाध्य पारिरहनुभएको छ ।

म मन नलागी नलागी अगाडि बढ्छु । अगाडि बस, माइक्रो, जीप, ट्रक, ट्याक्टर गरी दशपन्ध्रवटा ठूला गाडीहरु र मोटरसाइकल एक दर्जनजति बीचमै तेर्सिएका छन् । पारिपट्टि पनि यतातर्फ सोझिएका त्यति नै गाडीमोटरहरु छन् ।

हर्क भाइको स्वर सुनेर झसङ्ग हुन्छुः हेडसर ? तपाईँ यहाँ ? कताबाट आउनुभो ?”

भीमभाइ बोल्छन्, पूर्ण दाइ, तपाईँ पनि यतै ?”

कुन गाडीमा आउनुभो तपाईँ ?” म करैले आफ्नो गाडी देखाउँछु, ऊ त्यही रातो जीपमा !”

चन्द्रा बोल्छिन्: चिन्याचिन्या जस्तो त लाग्याथ्यो, दाइ हुनुहुन्छ कि भनेर । दाइ तुल्सीपुरमा मिलिक्क मिल्किहाल्नुभो । आखिर यो समस्या त सबैले भोग्नै पर्‍यो क्यारे अहिले ।चन्द्राले मेरो व्यवहारको पैँचो फेर्ने अवसर भेट्टाइहालिन् ।

भावना पनि त्यतै रहिछन् थपिन्: मेरो त चारमहिनाको बच्चा थियो । दाइ आफू जीपमा आउने भएपछि बच्चालाई मात्र भए पनि ल्याइदिनुपर्छ नि ! गाडीमा यसैसँग सिन्कीखाँदेको जस्तो भइयो । यो रुँदारुँदा अहिले यसरी झोक्राएको छ । दाइको मन यस्तो होला भन्ने सोचेकै थिइन मैले ।

अरुहरु पनि बोल्न थाले, पूर्ण सर कता हो ?” मेरो चेहरा कालोबाट नीलोमा घनीभूत हुँदैछ । दिने उपयुक्त जवाफ केही पनि छैन मसँग । 

एकएकजनासँग दुईदुई सन्चोबिसन्चोको आदानप्रदान गर्दागर्दै समय बितेको पत्तै पाउँदिन म ।

भाइ ! ए भाइ छिटो आऊ यहाँ ! कति कुरामा व्यस्त हो ?” गुरुजी कराउन थालिसकेका छन् । मैले सुनेको नसुन्यै गरिरहेको छु । आफ्नो यो यात्राको असली पहिचान खुल्दै छ । अब के भन्नेहुन् यिनीहरुले ।

तपाईँ आएको गाडीको गुरुले कसलाई बोलाउँदैछ ? भाइ, भाइ, भनी घाँटी सुकाइरहेको छ अघिदेखि ।

खोइ ? होला कसैलाई ।मैले परवाह गरेको छैन ।

ए रातो सुरुवाल लगाउने बहिनी, तपाईँसँगै उभिने होचोहोचो त्यो भाइलाई यता पठाइदिनू न । कान फुटे कि क्या हो त्यसका ?”

बित्याँस परेन अब जे कुरा लुकाइरहेको छु त्यसको पोल खोलिदिँदैछन् गुरुजीले परिचितहरुका सामू । दाइलाई नै हो कि क्या हो । चन्द्रा चकित पर्दै बोलिन् ।

भाइ ? यति बूढो मान्छेलाई किन भाइ भन्नुपरेको होला ?” हर्कले अर्को वक्र वाण हान्छन् ।

गुरुजी अब गाडी छोडेर मतिरै अगाडि बढ्न थाल्नुभयो ।

मलाई त किन हुन्थ्यो र ? तर म गइदिन्छु त्यतातिर । म फटाफट उनीहरुलाई छोडेर गाडीतिर लागेँ ।

मैले सामना गर्नुपरेको त्यो विडम्बनायुक्त परिस्थितिले मुखामुख गर्न थाले चिनेजानेकाहरुले ।

गाडी नजिक पुगेपछि गुरुजीले मलाई झम्टौँलाझैँ गरी भन्नुभोः अर्काको ठाउँमा ल्याएर यसरी अलपत्र पार्ने ? अनि त्यत्रोबेरदेखि बोलाउँदा पनि आफूँचाँहि टेर्दै नटेर्ने ? के हो यो चाला ?”

के भयो र गुरुजी ? के गर्नुपर्‍यो मैले ?” मैले पनि अलि कडा स्वर लगाउनै पर्ने भयो ।

खै यो गाडीका यात्रीहरु ? गाडी रित्तो देखेनौ ? गाडी पछि चिप्लेला जस्तो भैराछ । टेकासोको लागि ठूलो ढुङ्गा खोजेर ल्याऊ ।”

यतैकतै त हुनुहोला,  किन आत्तिनुहुन्छ त्यसरी ? सबै गाडीका यात्रीहरु बाहिर ओइरिएका छन् । उहाँहरु  अगाडितिर कतै देखिनुभएन, म पछाडितिर खोज्छु ।”

कुरा सामान्य छैन । पिसाब लाग्यो भनेर पहिले युवराजजी पछिल्तिर जानुभो । उहाँ दशपन्ध्रमिनेटसम्म पनि नआएपछि हेर्न भनेर विप्लवजी जानुभो । उहाँ पनि नआएपछि अमर र कमलजी जानुभो । एक घण्टा बित्न थालिसक्यो कोही पनि फर्केर आएका छैनन् । फोनको टावर पनि लाग्दैन । के गर्ने अब ?” अँध्यारो हुँदै गएको वातावरणमा उहाँको अनुहार औधि अँध्यारो देखिएको छ ।

म हेरिहाल्छु है त । म दौडिँदै पछाडितिर गएँ । हामीभन्दा पछाडितिर उभिइरहेका यात्रीहरुका सबै अनुहारहरु कोट्याएर र छामेर हेरेँ । अँहँ कोही पनि फेला परेन । फेरि दौड्दै अघिल्तिर पुगेँ । अँध्यारो बढ्दै छ । हराएका साथीहरु कोही फेला परेनन् । प्रत्येक गाडीको भित्र छिरेर पनि हेरेँ । अँहँ कोही फेला परेनन् ।

अब मेरो म पनि आत्तिन थालेँ । कहाँ गए होलान् तिनीहरु ?

गाडीको जाममा पछिल्तिर थपिँदै जाने गाडीका सबै यात्रीहरुलाई चारैजनाको हुलिया दिएर सोधेँ । कसैले पनि देखेको भन्दैन ।

म निराश हुँदै फर्किएँ । गुरु रिस आवेग र चिन्ताको कोलाज भैसकेका थिए । अब त यति अँध्यारो भैसकेको थियो । को आफ्नो गुरु हो को अर्काको हो त्यही छुट्ट्याउन पनि मुश्किल ।

गाडीको नजिक गएर भनेँ, गुरुजी कतै भेटिएनन् तिनीहरु । सबैलाई भोकले च्यापेको थियो तिनीहरु कि त सीमखोली नै पुगे, हैन भने पारितिरका घरहरुमा आश्रय लिन पुगेका पनि हुनसक्छन् । चिन्ता नगर्नुहोस् । स्काभेटरको आवाज सुन्नेबित्तिकै वा पेट भर्नेबित्तिकै अवश्य आउनेछन् । हामीलाई पनि खाना यतै ल्याइदेलान् ।

उनी झण्डै डाँको छोड्लान् जस्तै बोलेः चिन्ता उनीहरुको मात्र होइन, आफ्नो पनि हो र यो गाडीको पनि हो । यो गाडी यतै छोडेर जाउँ, जाम खुल्यो भने के गर्ने ? नजाऊँ यो गाडी रुङेर कति घण्टा बस्ने ? कति दिन बस्ने ? सोच्नै नसकेर म त हैरान भैसकेँ ।” 

तपाईँ गाडी नछोड्नुहोस् गुरुजी, तपाईँले नै छोड्नुभो भने मेरो गाडी चलाउने लाइसेन्स छैन । अलिअलि सिकेको मात्र हो । यो हिलोबाट उकासेर रातको बेला दुई किमि दूरीको जलेखर्कसम्म पनि पुर्‍याउन सक्दिन होला म । तपाईँ र म यही गाडीलाई कुरेर बसौँ । यत्रा यात्रीहरु बसिरहेका छन् । भोकलाई गोली मारिदिऊँ ।

अनि दाङबाट हिँड्दा भनेको होइन तिमीले बाटोभरि जति पनि पाइन्छ, यताको केही बोक्नुपर्दैन भनेर ? ड्राइफुड मात्रै ल्याएको भए पनि त भोकका कीरा मार्न हुन्थ्यो ।

यस्तो होला भन्ने थाहा भएको भए यहीँ पाँच किलोमिटर तल पनि त बजार थियो । त्यहीँबाट पनि त हाल्न सकिन्थ्यो ड्राइफुड । पर्‍यो यस्तो के गर्ने ?”

हाम्रो बातचित हुँदै थियो । मलाई खोज्दै आइपुगे अघिल्तिरका चीरपरिचितहरु । म छिटोछिटो गाडीमा छिरेँ र बत्ती निभाइदिएँ । उनीहरुले बोलाए पनि बोलिन ।

अब चिन्ता गर्नुको कुनै विकल्प थिएन । गुरुजी छट्पटिँदै हातखुट्टा सिटमा फैलाएर गाडीमै पल्टिराखे म पनि निशब्द पछिल्लो सिटमा घुस्रिरहेँ ।

करिब चार घण्टापछि स्काभेटर आइपुग्यो र केही प्रयासपछि पालैपालो अरु गाडीहरु पनि तान्न थाल्यो ।

बाटो खुल्ने भयो । सबै गाडीहरुले हर्न दिन थाले । यात्रीहरुको चहलपहल ह्वात्तै बढ्यो । तर हाम्रा यात्रीहरु अझै आइपुगेका छैनन् ।

“बाटो त खुल्यो अब के गर्ने ? जो हाम्रा मुख्य सेवाग्राही हुन् उनीहरु नै छैनन्” गुरुजी फेरि आत्तिए ।

जाऊँ गुरुजी, बीचमा हामीलाई एकछि पर्खन दिँदैनन् अब । करिब दश किलोमिटर पर झुल्नेटा बजार छ । त्यहाँ फोन पनि लाग्छ । कोशिस गरौँला त्यतैबाट ।

गाडी स्टार्ट गर्दै गुरु जङ्गिँदै बोलेः हाम्रो मात्र फोन लागेर हुन्छ ?  उनीहरुको नलागे के काम छ यो ठाँडोको ?”

उनीहरु पनि फोन लाग्ने ठाउँमा पुगेका हुन सक्छन् नि !” म तर्क गर्न छोड्दिन ।

केही बोलेनन् उनी । हाम्रोभन्दा लगत्तै अगाडिको बस पनि अगाडि बढ्यो । गुरुजी अलमलमै थिए ।

पछाडिको गाडीले तारन्तार हर्न दिन थालेपछि अगाडि नबढी सुखै थिएन ।

सँगै आएका यात्रीलाई त्यतैकतै छोडेर हामी पनि अगाडि बढ्दै गयौँ । जलेखर्क पुगेपछि एकछिन रोकिए गुरुजी ।

यताबाट पनि रुकुमको भाग देखिन्छ गुरुजी । मैले चुक घोप्ट्याएको अँध्यारोतिर औँल्याए । उनले के देखे वास्ता गरिन । सायद पारितिरको भाग त के उनले मेरा औँला समेत देखेनन् होला ।

म ढुक्क थिएँ कि उनको क्रोधाग्नि मैले देख्नुपरेको छैन । बोलीले आक्रोस व्यक्त गर्नु पनि व्यर्थ छ भनी उनका चेत आइसकेको हुनुपर्छ ।

हामी अझै अगाडि बढ्यौँ ।

यही हो गुरुजी खौलाको छेर्ना । यहाँदेखि सल्यानको भाग समाप्त भयो र रुकुमको हरियाली भाग शुरु भयो अब । उनी केही बोलेनन् । एकछिन गाडी रोक्दै पछाडि फर्केर परपरसम्म हेरेर पुनः खुइए सुस्केरा हाले र पुनः गाडी अगाडि बढाउन थाले । उनी मौनतामा रमाउन खोजेका छन् । म मौनता चिर्न चाहन्छु ।

आइपुग्यो गुरुजी, झुलनेटा यही हो । साइड लाउनुहोस् । अब हामी छुटेका यात्रीलाई यतै पर्खौँ ।

गाडी घ्याच्च रोकियो । म हत्तपत्त गाडीबाट ओर्लिएँ ।

धेरै पर उत्तरपूर्वको डाँडोतिर बिजुलीबत्तिको झिलिमिलि देखिएको थियोः ऊ त्यही हो मुसीकोट बजार । अझै पच्चीस किमि जति बाँकी छ त्यहाँ पुग्न । मैले आफ्नो भूमिका निभाउन चुकिन ।

गुरुजी मैले औँल्याइरहेको ठाउँतिर हेर्दै थिए थिएनन् मैलै पनि वास्ता गरिन ।

ऊ पारि क्षितिजतिर हेर्नुस् । उत्तरतिर सिस्ने हिमाल छ गुरुजी । हिउँ पग्लिसकेको हुँदा त्यो रातिमा देखिँदैन । पश्चिमतिर पनि हिमश्रृङ्खला छ । पूर्वतिर पुथा हिमाल छ । बादल नलागेको भए त्यो त अवश्य देखिन्थ्यो अँध्यारोमा पनि । त्योभन्दा वारिका पहाडहरुमा जताकतै हरियाली मात्रै छ । हरियाली रातको अँध्यारोमा देख्न सकिँदैन ।

अब त बाटो पनि राम्रो छ गुरुजी । अब त सुलुलुलुलु आधा घण्टामै पुग्न सक्छौँ मुसीकोट ।

गुरुजीले चालकपट्टिको बत्ती पनि निभाइसकेछन् । सीसाको पर्दामा अँध्यारोको लेप लागेकोले भित्र केही पनि देखिएन । सीसा पूरै लगाइएकोले उनले मेरो कुरा सुन्नसकेका थिएनन् । मलाई भने भन्न मन लागिरहेको थियो: गुरुजी हजुरसँग उज्यालोमा चलाएको ड्राइभिङको लाइसेन्स त छ तर अँध्यारो खोँचहरुमा डुबेका बाइरोडहरुमा ड्राइभिङ गर्न र आइपरे घण्टौँसम्म भोकभोकै धैर्य गर्नसक्ने लाइसेन्स पनि प्राप्त गर्नुपर्ने हो कि ?”

मैले खौलातिरबाट आउने एकएक गाडीलाई रोक्दै आफ्ना छुटेका यात्रीहरु खोजिरहेको छु । रातको दुई बजिसकेको छ । पसलहरु सबै बन्द छन् । खाना त के नास्ता समेत जुटेको छैन हाम्रो । म छुटेका साथीहरुलाई फोन लगाउने कोशिस गरिरहेको छु । सबैको फोनको रिप्लाइ एउटै छः सम्पर्क हुन सकेन । पुनः प्रयास गर्नुहोला ।

र म पनि पुनः प्रयास गर्ने प्रयत्नहरुबाट पछि हटेको छैन । कमलसरको फोन बल्लतल्ल उठ्छ ।

कहाँ हराउनुभयो तपाईँहरु ? तपाईँहरु छुटेर हामीलाई कत्रो आपत परिसक्यो !”

,, तपाईँहरुका आपतहरु पनि सुनौँला र हाम्रा आपतहरु पनि भेटेरै सुनाउँला । झुल्नेटा भन्ने ठाउँ छ रे, त्यतै पर्खनू । हामी यताबाट हिडिसक्यौँ ।

गाडीमा हो कि हिँड्दै ? हेलो !!! हेलो !!!” कुरा गर्दागर्दै फोन कटेको फेरि लाग्दै लागेन ।

म अब एकप्रकारको अपृय आतङ्कबाट मुक्त भैसकेको थिएँ । छुटेकाहरु भेटिने भएपछि भोकप्यास चिन्ता छटपटी अब गायब भैसकेको थियो ।

सायद हाम्रो बातचित सुनेर होला । गुरुजी झट्पट बत्ती बाल्छन् र कापीमा केही कोर्न थालेको देखिन्छन् ।

म हौसिँदै भन्छुः भयो अब अँध्यारोको कथा नलेख्नुहोस् गुरुजी । अबको केही समयमा नै उज्यालो भइसक्नेछ । सायद अँध्यारोको अनुकुलतामा अँध्यारोको कविता विप्लव सरले पनि लेखे होलान् । अँध्यारोको निबन्ध युवराज सरले लेखे होलान् । अँध्यारोको उपन्यास अमरसरले तयार गरिसकेहोलान् । उनीहरुले लेखेका कथा कविताहरु हामी अँध्यारोको साम्राज्यमा मात्र हेर्नेछौँ र सुन्नेछौँ ।

अबको केहीबेरमै छुटेका साथीहरु आइपुग्दैछन् । अब यताबाट उज्यालोको कथा शुरु गर्नुपर्छ हामीले ।

म ढोका खोल्दै पुनः थप्छुः

अब तपाईँ मेरो सिटमा बस्नुहोस् गुरुजी र आरामसँग प्रेमका कथाहरु लेख्न शुरु गर्नुहोस् । तपाईँको अनवरत ड्राइभिङको पालो म दिन्छु अब । मैले पाइलापाइला चिनेको ठाउँमा मजाले यो गाडी हाँक्न सक्छु । मलाई यता लाइसेन्स कसैलै खोज्दैन ।

×××××××   ×××××××××

मैले यति लेखेर अश्विनी सरलाई पुनः मेसेन्जरमा सेन्ड गरिदिएँ ।

फाइलको तल मेसेजमा लेखेँ :-

“यो मध्य भाग हो । निश्कर्ष भाग पछि पठाउनेछु ।”

……………………….

रिप्लाइ आइसकेको छैन । म रिप्लाइ पर्खेर बसिरहेको छु ।

……………………………

 

512 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *