एउटा अयोग्य लडाकूको कथा

“चिया पनि सेलाइसक्यो, अझैसम्म केमा घोत्लि’रा ?” उसकी स्वास्नी भान्छाकोठाबाट फतफताई, “घरायसी काममा सिन्को नभाँचे पनि पकाइदिएको कुरा समयमै खाइदिए कति सन्तोष हुँदो हो !”

हरिबहादुरलाई विद्यालयले स्वर्ण वार्षिकोत्सवको उपलक्ष्यमा निकाल्ने स्मारिकाको लागि एउटा रचना नदिई भा’छैन । तीन दिन मात्र बाँकी छ रचना बुझाउने अन्तिम म्याद । तर उसले लेख्ने मेलोमेसो केही पाएको छैन आजसम्म । त्यसैमा विचारमग्न छ ऊ ।

उसले स्वास्नीको आवाजमा प्रिन्सिपल कराएको सुन्यो र तर्सँदै भन्योः “हस्, हस्, म सिध्याएर बुझाइहाल्छु ।“

स्वास्नी अक्क न बक्क परी, “चिया पिइदिए पुग्यो, मलाई अरु केही बुझाउनुपर्दैन ।“

प्रिन्सिपलले हिजै खै गरेका थिए, “नेपाली शिक्षकले त एउटा राम्रो रचना छिटो बुझाउनुपर्‍यो नि” भन्दै ।

राम्रो केलाई मान्ने ? भाव ? शैली ? दिन खोजेको सन्देश ? समसामयिक घटना ? प्रभावकारी पात्र विषयवस्तु ? कसरी समायोजन गर्ने यी सबै कुरा एउटा रचनामा ? कम्ती चुनौतिपूर्ण थिएन ।

साहित्यप्रति उसको झुकाव सानैदेखि हो । मायाप्रिति सम्बन्धी अलिअलि फुट्कर कविता गजल नलेखेको पनि होइन उसले । तीमध्ये केही त सानातिना पत्रपत्रिकामा प्रकाशित पनि भएका हुन् । ती आफ्नै पुराना रचनाहरुमा ऊ आफै सन्तुष्ट छैन । विद्यालयले निकाल्ने स्मारिकामा मायाप्रितिका गीत कविता छपाउनु पनि उसको आदर्शले दिँदैन । विद्यार्थीलाई सिकाउने गरेको निबन्ध लेख्ने तरीका पनि मौकामा काम आउन सकेको छैन । त्यसरी लेखिएको रचनाभन्दा आजकालका विद्यार्थीहरुले नै राम्रो लेखिदिन सक्छन् ।

खासमा उसले कुन विषयमा लेख्ने र कुन विधामा लेख्ने भन्ने अद्यापि सोच्न सकेको छैन । सोच्न फूर्सद पनि कहाँ र उसलाई ? दिनमा आठ-आठ पिरियड कक्षा नै लिनुपर्छ । होमवर्कका कापी घरमा ल्याएर चेक गर्नैपर्‍यो, दैनिक पाठयोजना तयार गर्नैपर्‍यो, भोलिका पाठहरुको पूर्वतयारी गर्नैपर्‍यो, घरमा जहानपरिवारलाई समय दिनैपर्‍यो, बालबच्चासँग एकछिन खेल्नैपर्‍यो, घरमा आएपछि एकछिन छोड्दैनन् साने र ठूलीले । दुवैजना बाबुको काखमा बस्न तँछाडमछाड गरिरहन्छन् । उनीहरुलाई तिमालेर आफ्नो भूमिका निभाउन संघर्ष नै गर्नुपर्छ उसले । गाउँमा जान्नेसुन्नेहरुमध्ये ऊ पनि एक हो । तर सामाजिक क्रियाकलापमा सिन्को नभाँच्ने बुज्रुक भन्दै साथीभाइहरुले समेत गिज्याउन बाँकी राख्दैनन् ।

आफ्नो भूमिका र रचनाको विषयको गहिरो डुबानलाई किरिङकिरिङ किरिङकिरिङ गर्ने मोबाइलको लामो घण्टीले उसलाई ब्यूँझाइदिन्छ र तानिदिन्छ चुलोचौकोमा व्यस्त उसकी स्वास्नीको ध्यानलाई पनि ।

हरिबहादुरको कान मोबाइलमा पुग्छन् त आँखा उसकी स्वास्नीले गनगन गर्दै अघिदेखि चिसिइरहेको चिया झ्यालबाट हुत्याइदिएको दृश्य ।

“बधाइ छ है, बधाइ ! त्यति ठूलो र प्रतिष्ठित विद्यालयमा सरुवा भएकोमा……..” मोबाइलबाट आइरहेको आवाज यसभन्दा बढी सुन्न धैर्यता गुमाउँछ उसले, कन्सिरि तातेर आउँछ आफ्नी स्वास्नी र फोन गर्ने व्यक्तिप्रति । फोन काटिइसकेपछि पनि लगातार बजिरहेको मोबाइलनै स्वीचअफ गरी खाटमा मिल्काइदिन्छ ।

आफै रन्किन्छ “के को बधाइ ? भुत्रो बधाइ ! भुत्रो बधाइ !!” भन्दै ।

“आज पनि खाना नै नखाएर भोकै सवारी हुने, स्कूलतिर ?” फेरि कटाक्ष गर्छे उसकी स्वास्नीले । समय हेर्छ नौ बजिसकेछ । ओहो दारी नै काटेको छैन । एक घण्टा त जाममै परिन्छ । १५ मिनेट पहिले नै पुग्नैपर्छ विद्यालयमा । छिटोछिटो दारी काटी मुखसुख पुछी पहिल्यैदेखि चिसिइरहेको खाना कपाकप निल्छ र झोलामा कागजपत्र कोची हानिन्छ विद्यालयतिर ।

बसमा चढेपछि थाहा पाउँछ, उसले त ड्रेसको सर्ट लाए पनि पाइन्टको सट्टा ट्राउजर पो लगाएको रहेछ ! अब के गर्ने ? परेन बित्यास ?? बल्लतल्ल ठेलमठेल भइ कोचिएको गाडीबाट कसरी झर्ने ? ओर्लिए पनि घर पुगेर समयमै स्कूल पुग्न सकिने सम्भावना छैन । सवा दश बजेपछि आउने शिक्षक विद्यार्थीलाई प्रवेश निषेध छ ।

यो शहरको जनसङ्ख्या पनि कति विधि बढेको हो ! मान्छेभन्दा बढी त गाडीमोटर नै छन् कि क्या हो ! सडक कब्जा गर्दै गगनचुम्बी घरहरु थपिएका थपियै छन् । नयाँनयाँ उद्योग, व्यापार, व्यवसायहरु थपिइरहेका छन् फुटपाथसम्म ढाकेर । सक्नेले सार्वजनिक जग्गा कब्जा गरी निजी ऐशआरामको खेती गरिरहेको छ । अनि किन नहोस् जाम् ? गाडी अझै जाममै छ ।

‘हुँदैन, हुँदैन, यस्तो दशामा स्कूल जानुहुँदैन’ पुरानै जुक्ति फुर्छ र फोन लगाउँछ प्रिन्सिपललाई, “सर, घरमा बच्चा फेरि बिरामी पर्‍यो । म स्कूल आउन सकिन”, ‘हुँदैन’ भन्ने सम्भावित जवाफदेखि डराएर फोनको स्वीचअफ गरिदिन्छ ।

गलल हाँस्छन् यात्रुहरु ।

ऊ भाडा तिरेर बसबाट निक्लिन्छ । सोच्छ, विदाको सदुपयोग थाँति रहेको रचना रच्नको लागि किन नगर्ने ? तर जाने कहाँ ? रचनाको आइडिया पो कसैसँग लिने कि ? को छन् त्यस्ता ? भीम सर ? सरोज सर ? प्रतिक सर ? गीता म्याडम ? साहित्यिक यात्रामा हिँडिरहेका मध्ये उसले नजिकबाट चिनेका यिनै हुन् । पत्रपत्रिकामा उनीहरुका रचनाहरु आइरहन्छन् । यिनी नै उपयुक्त व्यक्तिहरु हुनसक्छन् रचनाको लागि सुझाव लिन ।

सोच्दासोच्दै उसका खुट्टा विमल सरको तिर डोर्‍याइन्छन् ।

“समसामयिक विषय, जसले आर्थिक सामाजिक साँस्कृतिक रुपमा समाजमा प्रभाव पारिरहेको होस् लेख्नु उपयुक्त हुन्छ”, भीम सरको सुझाव,

“समावेशिताको विषयमा लेख्नु राम्रो । जे भएपनि सन्देशमूलक हुनुपर्छ रचना”, गीता म्याडमको सुझाव,

“आफूलाई जानकारी भएको विषयमा मात्र लेख्नुपर्छ, पूर्ण जानकारी नभएको विषयमा हात हाल्नुहुँदैन”, प्रतिक सरको सुझाव,

“आफ्नै भाषाशैलीमा लेख्नुपर्छ, अरुको देखासिकी गर्दा प्रस्तुति खिचडी बन्नजान्छ”, सरोज सरको सुझाव !

यी सुझावहरुको पोको बोकेर बेलुका घर फर्किन्छ ।

……………………………………..   ………………………………………………….

उसलाई आजको तालीममा जान नपाएकोमा खिन्नता बढिरहेको हुन्छ ।

आजदेखि उसको एक हप्ते तालिम थियो तालिमकेन्द्रमा । ऊ नेपाली विषयशिक्षक भएर पनि जान पाएन । जान दिइएन भनौँ कि जान नै चाहेन भनौँ । नेपाली विषयको तालिममा गणित विषयशिक्षक केशवलाई तालिममा पठाइएको छ । गणित विषय शिक्षक किनभने केशवले प्रा.वि. तहमा दुई वटा कक्षा गणितको लिन्छ भने सामाजिक, शारीरिक, जनसंख्या तथा वातावरण विषयको एकएक कक्षा मात्र लिन्छ । त्यसैकारण त्यस विद्यालयको गणित-विषय-शिक्षक समितिको संयोजक केशवलाई नै तोकिएको छ । खासमा प्रतिदिन चार पिरियड मात्र पढाउनुपर्छ विशेष सुविधायुक्त केशवले । ऊ विशेष सुविधायुक्त, किनभने, भनिन्छ कि ऊ शिक्षा समितिका पदाधिकारीहरुको नजिकको मान्छे हो । राजनीतिक रुपमा पनि गतिलो पहुँच छ उसको । तालिमकेन्द्र छेउछाउ घर भएकोले अघिपछि पनि तालिम काज भनेर काजविदामा हप्तौँ बस्नसक्छ ऊ । स्कूलमा सहायक प्रिन्सिपललाई आफ्नै तुल्याइसकेको छ । यो पनि भनिन्छ कि सहायक प्रिन्सिपल जङ्गबीर उच्च राजनैतिक पहुँचका मान्छे हुन् र उनको कम्यान्डिङ लिडरसिप पनि गजबको छ । यो स्कूलमा जङ्गबीरले जस्तो चाहन्छन् त्यस्तै हुनुपर्छ । केही सुविधाको कुरा आयो भने जङ्गबीरले केशवले नै यो सुविधा पाउनुपर्छ भनी बलिया तर्कहरु प्रस्तुत गर्छन् ।

तालिममा सहभागी हुने त हरिबहादुरको इच्छा र अधिकार दुवै हो तर प्रिन्सिपलले सम्झाइबुझाइ गरेपछि तालिममा नजान राजी भयो हरिबहादुर । प्रिन्सिपललाई जङ्गबीरले राम्रै सम्झाइबुझाइ गर्छन् । जङ्गबीरलाई राजनैतिक नेताले सम्झाउँछन् र ती नेतालाई सम्झाउने हैसियत केशवले राख्दछ ।

स्टाफ मिटिङमा हिजै कुरा उठेको थियोः

“हरिबहादुर सर त नेपाली विषयको राम्रो ज्ञाता हो, साहित्यकार पनि हुनुहुन्छ ।“ शिक्षक बाबुकाजीको प्रशंशा थियो यो । बाबुकाजी त्यस विद्यालयका सामाजिक शिक्षक । सामाजिक शिक्षक हुनुका थुप्रै गुणहरु छन् उनीसँग । तीमध्ये सकारात्मक सोच उनको उल्लेखनीय गुण हो ।

जङ्गबीरले उत्तिखेरै प्रतिवाद गरेका थिएः “हरिबहादुर भुत्रो, साहित्यकार ? केशवजी गणित शिक्षक भएर पनि उनले कविता, कथा, निबन्ध, गीत, गजल गरी पाँच पाँच विधामा रचना बुझाइसकेका छन् । केशवमा देशविदेश घुमेको कति धेरै ज्ञान छ । हरेक सार्वजनिक समारोहमा केशवकै रचना सुन्न पाइन्छ । यो योग्यता खै हरिमा ? अरु त अरु स्मारिकाको लागि हरिबहादुरबाट एउटा रचना पनि आजसम्म प्राप्त हुनसकेको छैन ।”

यो अपमानले काँचा आन्द्रा खाएतुल्य भएको थियो हरिबहादुर । त्यसैले पनि हुनुपर्छ उसले एउटा रचना नबुझाइनहुने भएको थियो । केशवको रचनाभन्दा अलि राम्रो ।

किरिङ किरिङ फोनको घण्टीले उसलाई ब्यूँझायो । ऊ त लोकन्थली झर्नुपर्ने सल्लाघारी पुगिसकेछ । हत्तपत्त ओर्लँदै फोन उठायो । उताबाट गुनासो पोखियोः “के हो ? तपाईँ त धेरै ठूलो भैसक्नुभएछ, कि त मेरो फोन काट्नुहुन्छ, कि फोन उठाउनुहुन्न, कि स्वीचअफ हुन्छ मोबाइल ? मेरो एकदमै जरुरी कुरा पनि त हुनसक्छ ।“

झिँजिँदै हरिबहादुरले जवाफ दियो, “म निकै उल्झनमा छु । प्लिज भोलि गर्नु न है । मैले उठाइन भने अनि जे भन्नुपर्छ भन्नुहोला ।“ यति भन्दै फोन काटेर फेरि स्वीचअफ गरिदियो हरिबहादुरले र अर्को बसमा चढेर लोकन्थलीतिर फर्कियो ।

……………………………………..   ………………………………………………….

 

शान्तराम हो यसको नामऽ जसले आज बिहानै हरिबहादुरलाई बधाइ दिएको थियो र अहिले भर्खर फोन नउठाइदिएकोमा गुनासो गर्‍यो । पहिले हरिबहादुरले पढाउने विद्यालयको अंग्रेजी शिक्षक थियो ऊ । त्योभन्दा पहिले सहपाठी थिए शान्तराम र हरिबहादुर । शान्तराम आफ्नो कक्षाको सधैँ गोल्डमेडलिस्ट । केही राजनीतिक मान्छेको लसपसबाट एकदिन विद्यालयको स्थायी जागिर नै छाडेर गाउँमा चलिरहेको युद्धमा लाग्यो । त्यहाँ पनि विद्वतवर्गमा राम्रै स्थान थियो रे उसको । पार्टी शान्ति प्रक्रियामा आएपछि भने योग्य लडाकू बन्न सकेन ऊ । के कारणले हो कुन्नि अयोग्य लडाकू वर्गमा पर्न गयो । सो वापत पाएको पैंसामध्ये एकलाखको त मोबाइल नै किन्यो रे । ऊ विक्षिप्तजस्तै छ आजभोलि, घरमा केही काम छैन । ‘स्कूलमा वा ट्यूशनस्यूसन पढाउ’ भन्दा पढेको जति सबै बिर्सिसकेँ भन्छ रे । र यस्तै झिज्याउने कुरा मात्र गरी हिँड्छ रे गाउँमा ।

हरिबहादुरलाई पनि युद्धमा लाग्न धेरै जोरबल गरिएको थियो तर उसले जान मानेन । केही पछि दुई गाउँ टाढाको स्कूलमा जागिर पायो उसले । जागिरमा सन्तोष नै थियो । विद्यार्थी अभिभावक र स्टाफमा सबैभन्दा प्यारो उही नै थियो । त्यस स्कूलका हेडमास्टरले सर्वोत्कृष्ट शिक्षक भनी पटकपटक पुरस्कृत पनि गरेका थिए उसलाई । आवधिक सरुवा हुँदा घर पायक मागेकोमा फेरि अर्को गाउँको विद्यालयमा सरुवा गरिनपुगेको थियो ऊ ।

शुरुशुरुमा त ठीकै थियो नयाँ स्कूल । विद्यार्थीलाई प्रभावित पार्ने शिक्षणकलाका कारण प्रिन्सिपल लगायत शिक्षक विद्यार्थी र अभिभावकमाझ प्यारो हुँदै गएको थियो हरिबहादुर । यो सुमधुर सम्बन्ध चित्त बुझेको थिएन केशवलाई । उसले के के चुक्ली वा बहकाउ लगाइदियो कुन्नि सहायक प्रिन्सिपलले मन पराउन छोडेका थिए हरिबहादुरलाई । अब सहायक प्रिन्सिपल र केशवको साँठगाँठ दिनप्रतिदिन बलियो हुँदै जाँदो थियो । सहायक प्रिन्सिपलसँग हरिको उपस्थिति भने असह्य हुन्थ्यो केशवलाई ।

उता उसको सहपाठी त्यो गोल्डमेडलिष्ट अंग्रेजी शिक्षक शान्तराम भने हुँदाहुँदा अयोग्य लडाकूमा परिवर्तित भइदियो ।

हो यही व्यक्तिले बधाइ दिएकोमा हरिबहादुरका कन्सिरी तातेका थिए एकाबिहानै । बाहिरबाट देख्दा खुब सन्तोषमा रहेको ठान्दा हुन् हरिबहादुरलाई उसका पुराना साथीहरुले । उसको पिरलो भने बेग्लै थियो । के यस्तै पिरलो होला त शान्तरामहरुलाई पनि ? खुलदुली चल्यो हरिबहादुरको मनमा ।

यस खुलदुलीले उसलाई खोज्दै हिँडेको उपाय सुझाइदियो । ऊ “यूरेका ! यूरेका !!” भन्ला जस्तो हर्षोन्दमादको मूडमा पुग्यो र हत्तपत्त निर्णयमा पुगिहाल्योः

‘अब यसैको बारेमा कथा किन नलेखूँ म ? सामाजिक, साँस्कृतिक, आर्थिक रुपमा बोझ यिनीहरु । यिनीहरुको बिजोग देखाएर समाजमा पनि राम्रो सन्देश दिन सकिने । पहिल्यैदेखि जानकारीमा रहेको साथी पनि । हो, यसैको विषयमा लेख्नुपर्छ अब ।‘

हत्त न पत्त उसले शान्तरामलाई कलब्याक गर्‍योः “शान्तराम, म तिम्रो विषयमा कथा लेख्दैछु ।“

उताबाट पनि उत्सुकतामिश्रित स्वर आयोः “कस्तो लेख्छौ मेरो विषयमा ? कसरी लेख्छौ मेरो विषयमा ? कुन पत्रिकामा छाप्छौ मेरो कथा ? लेखिसकेपछि छाप्नुपहिले मलाई देखाऊ है ? ….. “ उसले के के भन्दै थियो फोन काटेर गाडीभित्रै कलमकापी झिकेर लेख्न शुरु गर्‍यो उसले, कथाको शीर्षक लेख्योः

“एक अयोग्य लडाकूको कथा”

कथा शुरु गर्न खोज्यो केही लेख्न आएन । वास्तवमा युद्धपूर्व पो उसको विषयमा हरिबहादुर जानकार थियो । युद्धभित्रको विषयमा त छेउटुप्पो नै थाहा थिएन । अनि खोतल्न थाल्यो मोबाइलमा डाटाकेबल चलाएर नेट । अयोग्य लडाकूहरुको अकर्मण्यताबाट समाजले बेहोर्नुपरेको क्षतिको लामै विवरण भेट्टायो । फेसबुक वालमा कमेन्ट गरिएका पोष्टबाट पनि थुप्रै सूचना प्राप्त गर्‍यो । पत्रपत्रिकाहरुमा लेखिएका लेखहरुबाट पनि पर्याप्त सूचना संकलन गर्नसकिने देख्यो ।

अयोग्य लडाकूहरुको विषयमा सूचनाहरु संकलन गर्न सकिने अरु पनि माध्यमहरु बिचार गर्दै गयो, सम्झँदै गयो, टिप्दै गयो ।

यसै बीचमा फेरि शान्तरामले फोन गर्‍यो । अहिले भने हरिले उसको फोन उठाउनै फाइदा हुने ठान्यो र हत्तपत्त कापीकलम ठीक पारेर शान्तरामले भनेका कुराहरु टिप्न थाल्यो ।

“जनताको अधिकारको लागि बलिदानीको लागि तयार भएका कथाहरु…, कैयौँ दिन भोकभोकै रहेका घटनाहरु…., शत्रुपक्षलाई झुक्याएर बाँच्न सफल भएको र उल्टै शत्रुलाई एम्बुसमा पारेका उदाहरणहरु…, जुत्ताचप्पल नलगाएरै लगातार महिनौसम्म लेकलेक हिँडेका कथाहरु…, आखिर गणतन्त्र ल्याइछाडेको सफलताको बाबजुद जनताले वास्तविक स्वतन्त्रता प्राप्त गर्न नसकेको व्यक्तिगत बुझाइहरु…, यी सफलता र संघर्षपछि बिनाकारण अयोग्य लडाकूमा दर्ज हुन पुगेका तीतो यथार्थताहरु….”

उसले फोन राखिसकेपछि आफूले लेख्दै गरेको कथामा यी टिपोटहरु कहाँनेर मेल खान्छन् भनी बिचार गर्नथाल्यो ।

शान्तरामले भोगेको कथा लेख्नु थिएन उसलाई । उसले त अयोग्य लडाकूको कारणले समाजले भोग्नुपरेको बर्बादी र दर्दनाक पारिवारिक बिचल्लीको अवस्थाको चित्रण पो गर्नु थियो । उसको कथा लेख्नुको उद्देश्य थियो – वर्तमान राष्ट्रको लागि सन्देशमूलक । सामाजिक साँस्कृतिक र आर्थिक प्रभाव बारे एक ससक्त कथा । अहँ कहिँकतै लेख्न आवश्यक थिएनन्, यी शान्तराम कथाहरु । अतः टिपोट च्यातचुत पारेर मिल्काइदियो ।

……………………………………..   ………………………………………………….

 

“आज किन ल्याउनुभएन त, विद्यार्थीका होमवर्कका कापीहरु ?” केरकार गरी स्वास्नीले ।

“हिजो होमवर्क दिएको थिएन, त्यसैले”, ढाँट्यो हरिबहादुरले आफ्नी स्वास्नीलाई ।

“अनि हिजोका कापीहरु नि ?”

“बुझाइसकेँ विद्यार्थीहरुलाई”

“भुत्रो बुझाउँछौ !” यी के हुन् त ? बुझाइसकेको भए” भन्दै हिजोका कापीहरु हरिका अगाडि छरिदिई स्वास्नीले ।

ऊ झल्याँस्स भयो, उसले हतारमा होमवर्कका कापीहरु नै राख्न बिर्सिएको थियो । अनि ठान्योः ठीकै भयो विद्यालय नगएको पनि ।

स्वास्नीसँग वादविवाद गरेर कुनै फाइदा थिएन, उसलाई बरु सम्झाउनु नै उपयुक्त हुने ठान्यो, “हेर, तिमीहरुकै लागि म दिनरात खाईनखाई घोटिएको छु । त्यसमा पनि विद्यालयको स्वर्ण वार्षिकोत्सवको लागि निपर्सीसम्म एउटा कथा बुझाउनुपर्नेमा भ्याएकै छैन । म त्यही चिन्तनमा डुबेको छु, बरु आजको रात मलाई स्वतन्त्र रुपमा लेख्नदेऊ ।“

बुझाएपछि बुझ्ने खालकी थिई उसकी स्वास्नी, “परेको समस्या व्यक्त नगरे कहाँ थाहा हुन्छ ? जानुस् कोठाभित्र म बाहिरबाट चुकुल लाइदिन्छु ।“

हरिबहादुर स्वास्नी राजी भएकोमा खुशी भयो र कोठामा पसी संकलित सूचनाहरु जोडजाड पार्न थाल्यो,

“दूरदराजको एउटा गाउँमा शान्तराम भन्ने अयोग्य लडाकू थियो । ऊ समाजको लागि बोझ बन्दै गइरहेको थियो । किनभने ……”

त्यसपछि वाक्य थप्न मरिगए सकेन । बरु शुरुमै ‘अयोग्य लडाकू’ लेख्न पुगेको आफ्नो गल्तीमा दुईहातले आफैलाई ल्वाप्पा खुवायो र त्यही पहिलो वाक्य पनि मेटिदियो । अब ऊ कथाका लागि संकलन गरिएका टिपोटहरु पन्छाउँदै भोलिको लागि प्रिन्सिपललाई कसरी सफाइ दिने भन्ने चिन्तनमा डुब्यो । प्रिन्सिपलको डरलाग्दो छायाँ उसको अगाडि उभियो, त्यस छायाँमा थपियो सहायक प्रिन्सिपलको बाङ्गोटिङ्गो छायाँ, अनि गणित शिक्षक केशवको गतिशील छायाँ । छायाँको एकत्रित रुप भयानक थियो । ऊ डरले लगलग काँप्न थाल्यो ।

एक हप्ता अगाडिको घटना थियो । केशवले प्रिन्सिपललाई नेपाली विषय शिक्षकले गलत कुराहरु सिकाउँदैछन् भन्ने चुक्ली लगाइदियो । ती विवादास्पद शुद्धाशुद्धी सम्बन्धी कुराहरु थिए, शब्दार्थका कुरा थिए, भावार्थको कुरा थियो ।

स्टाफ मिटिङ बोलाइयो । छलफल भयो । कुनै निचोड निस्कन सकेन । बरु हरिबहादुरप्रति सहानुभूति राख्ने शिक्षक बाबुकाजीले जिज्ञासा राखेः “यी कुराहरु नीतिगत हुन् । भाषिक नीति फेरबदल भैरहेको वर्तमान परिप्रेक्ष्यमा एक्लो हरिबहादुरले के गर्न सक्छ ? बरु एकजना गणित शिक्षकको लागि नेपाली विषयमा किन चासो रह्यो ? नेपाली विषय पनि उहाँलाई नै पढाउन दिए भैगयो नि ।“

“बच्चाबच्चीलाई गलत सिकाउनु उनीहरुलाई बर्बाद पार्नु हो । यो विषयसँग सरोकारको विषय होइन, सिङ्गो समाजलाई पतनोन्मुख बनाउने पाइला हो यो…” चर्कियो केशव पनि ।

“त्यो त मलाई पनि थाहा छ । पाठ्यक्रममा जे छ, त्यो सिकाउनु कि ? चलिआएको प्रचलन सिकाउनु ? भन्न खोजेको हो मैले । पाठ्यक्रममै त्यही छ त …. । तपाईँले पनि आफूलाई जिम्मा दिइएको कुनै पनि कोर्स वर्षान्तसम्म पनि आधा पनि पूरा नगर्दा बच्चाको भविष्य कता जान्छ भन्ने सोच्नुभए पनि हुने ?”

अब तात्तिने पालो जङ्गबीरको थियो, “यो शैक्षिक थलो हो कि युद्ध मैदान ? तपाईँहरु सबैको आशय बुझेको छु मैले । अब भोलिदेखि केशवले पढाएको कक्षा ५ को सामाजिक विषय पनि बाबुकाजीले नै पढाउनुपर्नेछ र श्यामले पढाइरहेको नेपाली विषय हरिबहादुरलाई जिम्मा दिइनेछ ।“

बहस गरेको सजाय वापत बाबुकाजी र हरिबहादुरले ७ पिरियडबाट ८ पिरियड अर्थात् होल पिरियड पढाउनुपर्नेभयो भने केशवले ५ बाट ४ विषय मात्र पढाउनुपर्ने फैसला प्रिन्सिपलबाट गराइयो ।

त्यसै दिनदेखिको बोझले आत्तिएको छ हरिबहादुर ।

समय हेर्‍यो रातको बार बजिसकेछ । उसलाई निद्रा लागेको छैन । अब भोलि पनि रचना बुझाउन नसक्नुको चिन्ताले फेरि छटपटिन थाल्यो ।

भोलिपल्ट बिहानै शान्तरामको फोनले उसलाई ब्यूँझाइदियो, “कति लेख्यौ त मेरो कथा ? अरु सूचना चाहिएको भए टिप ।“

“पर्दैन, पर्दैन, मेसेज गरेर पठाइदिनु । तिम्रा कथा आधा जति लेखियो ।“ ढाँटिदियो हरिबहादुरले । ढाँट्नु सिवाय अर्को विकल्प पनि थिएन हरिबहादुरको सामू । हाँस्यो ऊ बेसरी आफैआफ र भन्यो, ‘खुब आफ्नो गुणगान गाएर कथा लेख्ला भन्ठानेको होलास् । पख् न, तँलाई समाज भँडुवा ! लेखिसकेपछि थाहा पाउँछस् ! तेरो चुरीफूरीलाई निस्तेज पार्ने कथा । पख् न….’ भन्दै मरीमरी हाँस्यो ।

“बुबा, ढोका खोल्नू न ! दिदीले मलाई पिटी…..” बाहिर ढोका लगातार ढ्वाक् ढ्वाक् पारिरह्यो सानेले । ढोका खोल्नेबित्तिकै “बुबासँग म सुत्ने, बुबासँग म सुत्ने…” भन्दै तँछाडमछाड गर्दै भित्र पसे उसका मायालु चल्लाहरु । उसले ग्वाम्लाङ्ग उमालो हाल्यो तिनीहरुलाई । एकछिन भए पनि मत्थर भयो उसको चिन्ता ।“

……………………………………..   ………………………………………………….

 

त्यस विद्यालयको लागि पनि एकजना सामाजिक विषय शिक्षकलाई जापान विदेश भ्रमणको अवसर आयो । यो अवसर पाउने अधिकार सामाजिक शिक्षक भएको नाताले बाबुकाजीको थियो ।

तर दबाब आइरहेको थियो केशवले जान पाउनुपर्ने भनेर । केशवले विगतमा पढाइ आएको एउटा विषय सामाजिक पनि बाबुकाजीलाई दिइएकोले सामाजिक विषयशून्य भएको थियो केशव । एक/एक विषय मात्र पढाउनुको गूढ रहस्य नै विषयगत तालिम भ्रमण वा अन्य अवसर जुन विषयको आए पनि छोप्नु हुन्थ्यो । खासमा विज्ञता त कुनै विषयको पनि थिएन केशव ।

यस पटक पनि जङ्गबीरले बाबुकाजीलाई फकाए, “केशवको माथि-माथिसम्म पहुँच भएकोले विद्यालयमा आउने अवसर र योजना पार्न सजिलो भइरहेको छ । उसलाई त्यो अवसर नदिने हो भने यस्ता अवसर र योजना नआउने मात्र होइन, यहाँ अहिले कार्यरत प्रिन्सिपल म र तपाईँलगायत अरु शिक्षकहरुलाई छानीछानी छिन्नभिन्न तुल्याइने बेर छैन । मुख्य दोष त तपाईँलाई नै आउने छ र तपाईँले जागिर जोगाउन समेत मुश्किल पर्नेछ ।“

आफ्नो कारणले विद्यालयको व्यवस्थापनमा आँच पुर्‍याउन चाहँदैनथ्यो बाबुकाजीले पनि । तसर्थ सहमत त भयो, तर त्यस दिनदेखि हरिबहादुरको पक्षबाट बहस गर्न बन्द गरिदियो, किनकि, यो हुनुको कारण हरिबहादुरको पक्ष लिनु नै हो भन्ने बुझिसकेको थियो उसले ।

एक महिनाको लागि फेरि सामाजिक विषयशिक्षक बन्नपुग्यो केशव र ऊ नै जापानको लागि रवाना हुने भयो । रवाना हुँदा बधाइ र अबीरको धुइरोले नचिनिने भएको थियो केशव । हरिबहादुर र बाबुकाजीले पनि सक्दो अबीर घसाइदिए केशवलाई ।

 

त्यसै दिन छुट्टीपछि हरिबहादुर र बाबुकाजीसँगै फर्किए ।

बाटोभरि बाबुकाजीले दुःखेसो पोखेः “हेर्नुस् हरिबहादुरजी, यी महलहरु, यी उद्योग, व्यवसायहरु । रातारात मालामालहरु हुनेहरुको कथाले भरिएको छ यो सहर । तपाईँ हाम्रा कथाहरु यहाँ अट्दैनन् । हामीले संघर्ष नै गर्न जानेनौँ । तसर्थ दिन-प्रतिदिन हरेक सामुन्नेका व्यक्तिहरुबाट पछारिइरहेका छौँ । यो संसार जित्नेहरुको मात्र हो । जित्नेलाई जित्नेकै साथ चाहिन्छ, हार्नेहरुको होइन । जसले संघर्षको सही तरीका जान्यो, त्यसले नै बाजी मार्ने हो । संघर्षको प्रथम खुड्किला आफूसरहका वा आफूसरह हुन खोज्नेहरुलाई अगाडि बढ्न नदिएर पछार्नु हो । यसले आफूभन्दा माथि रहेका स्वतः आफूसरह हुन आइपुग्छन्, अनि तिनीहरुलाई पनि पाखा लगाउँदै अगाडि बढ्न सक्नुपर्‍यो । कि त संघर्ष गर्न जान्नुपर्‍यो नत्र त हारेको हारेइ हो यहाँ ।“

 

आज उसलाई बढी पीडा भयो होला । ऊ यस्तै कुरा फतफताइरह्यो । तर हरिबहादुरलाई भने लेख्न थालेको कथा नसिध्याइ भा’थेन । अब केही बेरमै शान्तरामको फोन आउनेवाला थियो । तसर्थ हत्त न पत्त उसले मोबाइलको स्वीच अफ गरिदियो ।

घरमा कथा लेखिसिध्याउने सम्झौता भइसकेको थियो । बिचरा अबोध बच्चाहरुले बुझे होलान् बाबुको मर्का । दूधे छँदादेखि नै आमाको दूध छोडेझैँ बाबुलाई साँझको बेला झिज्याउन छोडे । ऊ कोठामा थुनिएर मजासँग एउटा ससक्त कथालाई निरन्तरता दिन थाल्यो ।

……………………………………..   ………………………………………………….

 

अर्को दिन स्टाफ मिटिङ बसिरहेको थियो । कुरैकुरामा केशवले हरिबहादुरलाई सोध्यो, “हरिबहादुरजी, तपाईँले लठ्ठी बोक्ने गर्नुभएको छैन ?”

अनपेक्षित प्रश्नले तर्सियो हरिबहादुर । अनि सम्हालिँदै बोल्यो, “आजको शिक्षा लठ्ठीहीन शिक्षा हो । लठ्ठीबिना पनि मैले आफ्नो कक्षाका विद्यार्थीलाई नियन्त्रित गरेकै छु । लठ्ठी त तपाईँले बोक्नुपर्ने हो । जसको ध्यान खाली जोसुकैलाई ठीकठाक पार्नेतर्फदिशामा गइरहेको हुन्छ ।“

केशव नीलोकालो हुँदा जङ्गबीरलाई असह्य भइहाल्छ र जङ्गबीरले तुरुन्तै प्रतिक्रिया जनाइहाल्योः “उसोभए हरिको पछाडि बहादुर होइन लठ्ठक जोड्नु राम्रो हुनेछ । हरिलठ्ठक ! जसको सिङ छैन उसको नाम तिखे ! कि कसो हो साथी हो ? हा, हा, हा, हा, हा…” आँखा झिम्क्याउँदै अफिसकोठा थर्किने गरी हाँस्यो जङ्गबीर ।

हरिबहादुरजस्ता शिक्षकहरुप्रतिका यस्ता हस्सीमज्जाकहरु दिन दुगुणा रात चारगुणा बढ्दै जान थाले ।

एक शैक्षिक संस्थाभित्र वाहियात आरोप प्रत्यारोप ! जङ्गबीर बोल्नथाल्यो भने सबै चुप हुनुपर्ने विद्यालयमा नियम नै स्थापित छ । फलस्वरुप मनमनैको हुड्हुडी दबाएर चुप रहन्थ्यो हरिबहादुर पनि ।

स्कूल छुट्टी भइसकेपछि घर फर्कँदा बाबुकाजीले हरिबहादुरलाई भनेः “हरिबहादुरजी, यो स्कूलमा तपाईँको नेगेटिभ मार्किङ भैरहेको छ । खासमा संघीयता विरोधीहरुसँग तपाईँको गहिरो साँठगाँठ छ रे । शान्तराम त तपाईँको आफ्नै साथी रे । तसर्थ तपाईँको विशेष निगरानी भइरहेको छ । आफ्नो ज्यान र जागिर जोगाउने काम गर्नुहोला ।“

झस्कियो हरिबहादुर, “हैन, मैले के गरेको छु र ? दिनमा आठआठ पिरियड पढाउनाले र होमवर्कको कापी जाँच्नाले खाना खान समेत फूर्सदै छैन । मैले न कुनै पार्टीको न कुनै संगठनको सदस्यता लिएको छु, न त कसैको प्रचार गर्दै हिँडेको छु । मौन बस्दाबस्दै पनि ममाथि किन यस्तो आरोप ?”

कहाँको संघीयताविरोधीहरु, कहाँका अयोग्य लडाकूहरु ! तर पनि जोडिए तर्कहरु, जेलिए तर्कहरु ।

“मौनता नै खतरनाक कुरा हो रे । देखिनेहरुबाट बरु त्यति डर हुँदैन रे…”

असिनपसिन भयो हरिबहादुर । अनि भन्यो, “यसको सफाइ कहाँ पेश गरुँ म ? कसलाई भनूँ कि कसैलाई हानी हुने काम गरेको छैन भनेर ?”

“तपाइँको सफाइ कसैले सुन्नेवाला छैनन्…”

त्यस दिन बेलुका निकै निराश भएर फर्क्यो घरमा । स्वास्नीले सोधखोज गर्दा पनि थप चिन्ताको विषयमा केही पनि भनेन । शान्तरामको फोन पनि आयो, उसप्रति झनै रिस उठ्यो । फोनको लामो घण्टीलाई वास्ता नै गरेन ।

“अझ सकिएको छैन कथा ?” खनी स्वास्नीले । ऊ स्वास्नीमाथि नै खनियो, “तिमीहरुले गर्दा मैले के नै गर्न सकेको छु र ? हरेक असफलतामा तिमीहरुकै हात छ । खालि तिमीहरु डिस्टर्ब मात्र गर्छौ मलाई..”

उता स्वास्नी पनि हरिबहादुरको व्यवहारबाट आजित भइसकेकी थिई । स्वास्नी पनि च्याँठ्ठिई… “थाहा छ, थाहा छ । कसको कथा लेख्दै हुनुहुन्छ भन्ने । खुब अयोग्य लडाकूको कथा लेख्न खोज्ने ? घरमा, जागिरमा, समाजमा, व्यवहारमा आफै अयोग्य हुँदै गइरहेको थाहा छैन । उल्टै …..”

“के भनिस् रे ? के भनिस् ? चुप् ! चुप् ! एक शब्द थपिस् भने गलहत्त्याएर निकालिदिन्छु..” के कम थियो र हरिबहादुर पनि । उसले कहिल्यै स्वास्नीसँग हारेको थिएन । ऊ स्वास्नीको अगाडि सँधै योग्य लडाकू नै थियो ।

“उसोभए एक्लै राज होस् । जे जे गर्न मन लाग्छ गर्नू, म माइत हिडेँ,” स्वास्नीले कपडाको पोको पारी दुवै बच्चालाई लतार्दै बाहिर निस्किई । बच्चाहरु ‘बाबा ! बाबा !’ भनी रोइरहेका थिए, तर यो रुवाइले दुवैको दिल पगाल्न सकेन र हरिबहादुरले पनि फर्काउन आवश्यकता ठानेन । मूल ढोका थुनेर कोठामा फर्कियो ।

अब यही शान्तरामको खनिखेदो गर्न सकेमा मात्र उचित सफाइ मिल्ने सोच्यो र कनिकुथी लेख्न थाल्यो । के लेख्नु थियो र कोर्दै र मेट्दै मात्र गर्‍यो रातभर । मुड सप्रेला भनेको त झनै बिग्रिँदै पो गइरहेको थियो ।

……………………………………..   ………………………………………………….

 

भोलिपल्ट एसएलसीको रिजल्ट पनि आयो । यस विद्यालयबाट नेपाली विषयमा ३० प्रतिशत परीक्षार्थी मात्र पास भएछन् । अंग्रेजी र गणितमा झन् २० प्रतिशत मात्र । रिजल्टसँगै ३३ प्रतिशत उत्तीर्ण गराउन नसक्ने शिक्षकलाई कारवाही गरिने जिशिअको वक्तव्य पनि आइपुग्यो । खासमा हरिबहादुरले यो विद्यालयमा पढाउन थालेको ६ महिना मात्र भएको थियो । ऊ सरुवा भई कक्षा सम्हाल्दा १० कक्षाको नेपाली विषयको कोर्स ९ महिनासम्म आधा पनि अगाडि बढेको थिएन । ३ महिनामा बिहानबेलुका गरी सम्पूर्ण कोर्स सिध्याएको थियो उसले । तर पनि अपजस उसले नै खेप्नुपर्ने भयो ।

त्यसै दिन विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक पनि बस्यो । केशव र जङ्गबीरले कम प्रतिशत उत्तीर्ण हुने विषयका विषय शिक्षकलाई माथिबाट पछि जे परिपत्र आउँछ सोही बमोजिम हुनेगरी

तत्काल निलम्बन गरी कारवाही चलाउने प्रस्ताव राखे । ताततातो रिजल्टको खबरले अभिभावकहरु पनि यस्ता शिक्षकहरुप्रति रुष्ठ नै थिए । विद्यार्थी आन्दोलित नहुने झन् कुरै थिएन । विद्यालयले एउटा प्रभावकारी कदम चालेको जस पनि पाउँथ्यो । कसैले यस प्रस्तावको विरुद्धमा बोल्ने साहस गरेनन् । निलम्बन पर्नेमा हरिबहादुर मात्रै पर्‍यो । गत वर्षान्तका गणित-शिक्षक र अंग्रेजी-शिक्षकको सरुवा अन्यत्रै भइसकेको थियो । हरिबहादुरलाई भाउन्ने भएर आयो । यो परिणामको भागिदार आफू होइन भनी सफाइ पेश गर्ने ठाउँ नै पाएन ।

ऊ निलम्बनको पत्र बुझेर नुन खाएको कुखुरोझैँ लखतरान परेर घरमा फर्किइरहेको थियो । आज सँधै सकारात्मक चिन्तनको उपदेश दिने बाबुकाजी पनि साथमा थिएन । जङ्गबीर र केशवका विजयोन्मत्त आकृतिहरुले उसलाई खिज्याउँदै खिज्याउँदै घरसम्मै लखेटे ।

एफएममा समाचार आइरहेको थियोः अयोग्य लडाकूले आफ्नै पार्टीका नेतामाथि आक्रमण गरेको सम्बन्धमा । उसले सोच्यो यो उपाय पनि, तर उसको काँतर मनले मरिगए मानेन, ऊ त हात उठाउन पनि अयोग्य थियो ।

घरमा आउनेबित्तिकै अहिलेसम्म लेखेको कथाको पाना धर्धरी धुजाधुजा पार्न थाल्यो । त्यसैबेला शान्तरामको फोन आयोः “मेरो कथा सकियो कि सकिएन ?”

“सक्क्यो, सक्क्यो ! राम्रैसँग सिध्याइदिएँ !!” विक्षिप्त तरीकाले फतफताउँदै जवाफ दियो उसले ।

“हँ ? हो ? राम्रो छ ?..” भनी सोध्दै थियो शान्तरामले, उसले फोनको स्वीच अफ गरिदियो । केही बेरपछि के सम्झेर हो, उसले मोबाइल अन गर्‍यो र हरिबहादुरलाई मेसेज पठायोः

“मैले सकिन, शान्तराम, सकिन तिम्रो कथा लेख्न । एक अयोग्य लडाकूले अर्को अयोग्य लडाकूको कथा पूरा गर्न किमार्थ सकिन ।“

स्वास्नीको अगाडि भने सँधै योग्य लडाकू कहलाउने हरिबहादुरले आज यो योग्यता समेत गुमाइसकेको थियो । उसको योग्यताको आधार नै जागिरीको फूर्ति न थियो ।

स्वास्नी र बच्चाहरुको आश्रित निन्याउरा अनुहारहरु सम्झेर बेसरी अत्तालियो ।

एकमात्र आश्रयको आधार खाइपाइ आएको जागिर नै निलम्बनमा परेको कुरा कसरी स्वास्नी र अबोध बालबच्चालाई बुझाउने र उनीहरुलाई के भनेर माइतीघरबाट फर्काएर ल्याउने भन्ने पिरलो हरिबहादुरमा अरु घनीभूतरुपमा बढ्दै जानथाल्यो ।

२०७३।०९।०७ भैरहवा

58 total views, 1 views today

Leave a comment

Your email address will not be published.

*