Free songs
Home / दैनिक संक्षिप्त समाचार / विभिन्न अनलाइन पत्रिकामा प्रकाशित समाचारहरु

विभिन्न अनलाइन पत्रिकामा प्रकाशित समाचारहरु

२०७३ कार्त्तिक २४ गते बुधबार प्रकाशित समाचारहरु (अपडेट दिउँसो १ः०० बजे)

abhiyan.com.np

दूधकोसी जलविद्युत आयोजना ‘फास्ट ट्रयाक’मा शुरु गरिने : निर्देशक घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्रयाक’मा लैजाने काम भइरहेको बताएका छन् ।

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग मङ्गलवार खोटाङ आएका  निर्देशक घिसिङले दूधकोसी जलविद्युत आयोजनालाई तामाकोसीकै मोडलमा सञ्चालन गरिने जानकारी दिए । सांसद पाँचकर्ण राई (पिके)लगायत जिल्लावासीले दूधकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय महत्वको आयोजनाका रुपमा राखेर कामलाई तीव्रता  प्रदान गर्न माग राखेपछि तामाङले आयोजनालाई स्वदेशी मोडलमा सञ्चालन गर्न कम्पनी दर्ता गर्ने तयारी भइरहेको बताए ।

annapurnapost.com

राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पको पहिलो शब्द ‘थ्याङ्क्यू भेरी मच’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा सभामा सम्बोधन गर्दै आफूलाई विजयी गराउन मतदान गर्ने सबैलाई धन्यवाद दिएका छन् । खुसी मुद्रामा मन्चमा उपस्थित भएका उनले माइक्रोफोन समाउँदै भने-‘थ्याङ्क्यू, थ्याङ्क्यू भेरी मच’

अमेरिकाको ४५ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प को हुन् ?

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन अघि सार्वजनिक भएका सर्वेक्षण विपरित ट्रम्प निर्वाचित भएका हुन् ।

३० वर्षदेखि अमेरिकाको राजनीतिमा सक्रिय पूर्वविदेशमन्त्री समेत बनिसकेकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्न्टिनलाई पछि पार्दै अमेरिकी अर्बपति व्यापारी ट्रम राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ मा भएको हो । ट्रम्प अमेरिकाका नामी अर्बपति हुन्। ट्रम्पले २००६ मा पहिलो पटक आफ्नै भोड्का बजारमा ल्याएका थिए । सन्काह स्वभावका ट्रम्पले २०११ मा भोड्काको व्यापार बन्द गरेका थिए ।

ट्रम्प अमेरिकाको नाममा बोर्ड गेम भएका पहिलो राष्ट्रपति हुन् । उनको व्यापारमा मनोपली छ । फोर्स म्यागजिनका अनुसार अमेरिकाको सर्वाधिक धनीको सूचीमा ट्रम्प १५६ औ स्थानमा छन् भने संसारकै धनी मध्ये ट्रम्प ३२४ औँ व्यक्ति हुन् । फोर्सले यसै वर्ष सार्वजनिक गरेको विवरण अनुसार ट्रम्पको नेटवर्थ करिब ३.७ अर्ब डलर रहेको छ ।

baahrakhari.com

सम्झौता कार्यान्वयन गर्न डा. गोविन्द केसीको दुईहप्ते अल्टिमेटम, वरिष्ठताका आधारमा डिन नियुक्त नभए तत्काल आमरण अनशन बस्ने चेतावनी

डा. गोविन्द केसीले सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयनका लागि दुई साताको अल्टिमेटम दिएका छन् ।
उनले बिहीबारसम्म डिन नियुक्त गर्न आग्रह गर्दै वरिष्ठताका आधारमा नभई भागबण्डामा नियुक्त गरिए तुरुन्त आमरण अनशन बस्ने चेतावनी पनि  दिएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीले पछिललो समय आइओएमको डिन नियुक्तिमा वरिष्ठताको आधार लागु भएपछि सम्भव भएका सुधारका काम भएको भए पनि अहिले सो आधार छाडेर दलीय वफादारी र भागबण्डाबाट पदाधिकारी नियुक्ति गर्ने प्रयास भएको भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।

enayapatrika.com

भारु पाँच सय र हजारका नोटको कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

भारतले गएरातिदेखि भारु ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ ।

भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।

भारतसँग एक हजार ८०० किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु नचल्ने भएका छन् । भारतसँग परम्परागतदेखि कारोबार भारतीय रुपैयाँमा नै हुने भएकाले त्यहाँका लाखौँ नेपाली नागरिकसँग अर्बौ रकम भएको अनुमान छ ।

gorkhapatraonline.com

गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।

सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आज यहाँ आयोजित ‘जनआन्दोलन स्वर्ण पदक’ विभूषित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजकीय पद र प्रतिष्ठालाई अस्वीकार गर्दै लोकतन्त्रको स्थापना र सुदृढीकरणका निम्ति अनुकरणीय योगदान गर्ने गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।

kantipur.ekantipur.com

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

कार्तिक २४, २०७३- चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् ।

बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् ।

राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो ।

ट्रम्पको जितसँगै हजारौं समर्थकले खुशीयाली मनाइरहेका छन् ।

karobardaily.com

ट्रम्पको आँधीले एक मिनेटमा सात लाख करोड डुबायो

अमेरिकामा रिपब्लिकनका उम्मेदवार डोनाल्ड राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा विश्वभरको सेयर बजारमा उथलपुथल आएको छ।

डोनाल्डको आर्थिक नीति स्पष्ट नभएको सन्दर्भमा उनी नै अमेरिकाको राष्ट्रपति पदमा पुग्ने अवस्था देखिनेबित्तिकै सेयर बजार सिधै ओरालो झर्‍यो

अमेरिकी चुनावमा ट्रम्पको जीतको संकेतसँगै ग्लोबल मार्केटमा तीब्र गिरावट आएको हो । नेपालको सेयर बजार दिउँसो सवा दुई बजेसम्म २९ अ‌ङ्कले ओरालो लाग्दा यसको डरलाग्दो असर भारतयीय बजारमा देखियो ।

५०० र १००० का नोट बन्द गरेको असर कायमै रहेका बेला डोनाल्ड राष्ट्रपतिमा निर्वाचित हुने दिन भारतको सेयर बजार पुरै ओरालो लाग्न पुग्यो ।

बम्बे स्टक एक्सचेन्जको तथ्याङ्क अनुसार ग्लोबल स्टक मार्केटमा खलबली मच्चियो । बम्बे स्टकमार्केटमा १ मिनेटको बीचमा स्थानीय लगानीकर्ताले ७ लाख करोड रुपैयाँको नोक्सानी भोग्नुपर्‍यो ।

nagariknews

यसरी निकाल्थे रोमानियनले एटिएमबाट पैसा

केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका घिता हुजुम, लोसिफ मोराउ,  र एलेक्स क्रिस्टियन बुघिरुलानमध्य घिता बारम्बार एटिएम बुथमा रकम निकाल्न गएको भिडियो प्राप्त भएको हो। घिताले चोरी गरेका गोप्य सूचना आँफुले बनाएको नक्कली कार्डमा राख्थे यसका लागि लोसिफ मोराउ,  र एलेक्स क्रिस्टियन होटलको कोठामा बसेर प्राविधिकको कार्य गर्थे।

भिडियोमा घिताले एकपछि अर्को कार्डको सहयोगमा लगातार एटिएम बुथबाट रकम निकालेको देख्न सकिन्छ। उनले लगातार १० पटक गरि एक लाख निकालेका थिए।

१८ हजार एटिएम डाटा लिक भएको अनुमान

केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका तीन रोमानियन नागरिक काठमाडौं र पोखराका विभिन्न स्थानका एटिएम बुथबाट करिब १८ भन्दा बढि डाटा बाहिर पठाएको अनुमान गरेको छ।

onlinekhabar.com

ट्रम्प राष्ट्रपति बन्दा नेपालीलाई के असर गर्छ ?

अमेरिकामा अहिले एक करोडभन्दा धेरै अवैधानिक आप्रवासीहरु बसोबास गरिरहेका छन् । ट्रम्पले उनीहरुलाई देश निकाला गर्ने वाचा मतदाता माझ गरेका छन् ।

यस्तै, ट्रम्पले विदेशी आप्रवासीहरुले अमेरिकीहरुको रोजगारी खोसिदिएको हुँदा कामदार भिषा (एचवानवी) पनि बन्द गर्ने र विदेशीलाई अमेरिकामा काम गर्न आउन नदिने बताइरहेका छन् ।

उनी राष्ट्रपति बनिसकेपछि एचवानवी भिषामा आप्रवासीहरु अमेरिकामा काम गर्न आउन समस्या हुन सक्छ । कतिपय अमेरिकी कम्पनीहरुले आउटसोर्सिङ गरी चीन वा भारतमा काम दिएकोमा पनि ट्रम्पले विरोध गरेका छन् । अमेरिकी कम्पनीले अमेरिकाभित्रै काम दिनुपर्ने भन्दै आउटसोर्सिङ गर्न नपाउने गरी उनले नीति बनाउन सक्छन् ।

ratopati.com

प्रतिबन्धित ५०० र १००० का भारु नोटबारे राष्ट्र बैंकले गर्‍यो यस्तो निर्णय

भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने जनाएको छ ।

बुधबार बिहान बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारीको काउण्टरमा भएको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गरेको ।

setopati.com

धन्य सुन्तली!

सत्र सय रुपैयाँ लिएर राजधानी छिरेको मलाई विस्तारै कलाकारिताको भूतले छोयो। अनेक प्रकारका अभावसँग जुधायो। थुप्रै मान्छेसँग भेटायो। कलाकार बन्न गरेका संघर्षले केही अवसर दिलायो। दमन दाइको हास्य टेलिशृंखला ‘लौ न सतायो’ मा व्यवस्थापक भएर काम गर्ने मौका मिल्यो। यही टेलिशृंखलाले पहिलोपटक कुञ्जना घिमिरे (सुन्तली) सँग साक्षात्कार गरायो।

जसोतसो अस्थायी टहरा बन्दै गर्दा भूकम्पपीडित १९ घरपरिवारका लागि सुरक्षित एकीकृत आवास बनाइयो। तराईमा आन्दोलनको आगो बल्दै गर्दा मुसहर बस्तीमा सद्भाव र सहयोगका लागि पुगियो। उनीहरूको दिमागमा सकारात्मक प्रभाव छाड्न सुन्तलीको सहयोग अतुलनीय छ।
पहिलो बस्ती सोचेअनुरुपको नहुँदा कुञ्जना बेलाबखत भन्थिन्, ‘यस्तो सहर बनाउन मन छ, जहाँ एकै प्रकारका चिटिक्कका घर हुन्। चौडा बाटो होस्, बगैंचा होस्, बालबालिका खेल्ने खेलमैदान होस्। समाज एक भएर रमाइलो गर्ने सामुदायिक भवन होस्। त्यो बस्ती नै मानिसको आयआर्जनको माध्यम बनोस्। अनि त्यहाँका मनिसको जीवनस्तर सुध्रिएको सबैले महशुस गर्न सकुन्। यस्तै बस्तीको आवश्यकता बुझेर समाज मिलाउने, सद्भाव फिजाउने र शान्ति फैलाउने बाटोमा देश अघि बढ्न सकोस्।’
उनको यो सपनाले मेरो मन छोएको थियो। त्यही सपना पूरा गर्ने प्रयासमा गिरानचौर एकीकृत नमूना बस्ती निर्माण भएको हो।

ujyaaloonline.com

प्रधानमन्त्री दाहाल निरंकुश बने : कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्री पुष्पकमल दाहाल निरंकुश तरिकाले अगाडि बढेको आरोप लगाउनुभएको छ ।

प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री दाहाल आफ्नै ढंगले निरंकुश तरिकाले अगाडि बढेको आरोप लगाउनुभएको हो । नेता पौडेलले सरकारले नागरिकको आसा अनुसारको काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

कांग्रेससहितको सरकार भएर पनि प्रधानमन्त्री दाहालले साझा कार्यक्रमहरु ल्याउन नसकेका बताउनुभयो । नेता पौडेलले स्थानीय निकायको चुनाव जसरी भएपनि गर्नुपर्ने बताउँदै स्थानीय निकाय पुनर्संरचनामा भने आफू असन्तुष्ट रहेको बताउनुभयो । नगरिकसँग छलफलनै नगरी गर्न लागेको पुनर्संरचनाले फाइदा नगर्ने बताउँदै उहाँले अहिलेकै अवस्थामा निर्वाचन गरेर स्थानीय पुनर्संरचना गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस कोषाध्यक्ष एवं शान्ति मन्त्री सितादेवी यादव, केन्द्रीय सदस्यहरु एनपी साउद, कमला पन्त, सीता परियार, प्रदिप पौडेललगायत नेताको सहभागिता थियो । बुधबार र बिहीबार दुई दिन चल्ने कार्यक्रममा देशभरका दुई सय १७ नगरपालिकाका कांग्रेस नगर सभापतिहरु, पर्यवेक्षकसहित एक हजार प्रतिनिधि सहभागी छन् ।

२०७३ कार्त्तिक २० गते शनिबार प्रकाशित समाचारहरु (अपडेट अपरान्ह ४ः०० बजे)

abhiyan.com.np

उच्चस्तरीय स्वास्थ्य नीति समन्वय समिति गठन

कात्तिक २०, काठमाडौं । सङ्घीय नेपालमा स्वास्थ्य सेवा र संरचना कस्तो हुने भन्ने विषयमा खाका तयार गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनःसंरचना समन्वय समिति गठन गरेका छन् । उनले आफ्नो अध्यक्षतामा बिहीवार स्वास्थ्य, कानुन, सङ्घीयता र पुनःसंरचना क्षेत्रका विज्ञ रहेको १३ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिले दुई महिनाभित्र स्वास्थ्य मन्त्रालयको संरचना कस्तो हुने, विद्यमान स्वास्थ्य कानुन समयानुकूल बनाउन केके गर्ने र संविधानमा उल्लेखित स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाका रुपमा विस्तार गर्न कसरी अगाडि बढ्नेलगायतका विषयमा अध्ययन, अनुसन्धान र सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गरी खाका तयार गर्ने मन्त्री थापाले जानकारी दिए ।

annapurnapost.com

किन स्थगित भयो चीनसँगको पारवहन बैठक?

काठमाडौं: नेपाल-चीनबीच हस्ताक्षर भएको पारवहन यातायात सम्झौताको प्रोटोकल टुंग्याउन अर्को साताका लागि तय भएको महत्त्वपूर्ण द्विपक्षीय बैठक ‘अचानक’ स्थगित भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा आइतबारदेखि मंगलबारसम्म हुने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको हो । चिनियाँ पक्षले दुई दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर बैठक प्रस्तावित मितिमा हुन नसक्ने जानकारी गराएको छ ।

baahrakhari.com

तीनदिने राजकीय भ्रमण पूरा गरि भारतीय राष्ट्रपति स्वदेश फिर्ता 

काठमाडौं । नेपालको तीनदिने राजकीय भ्रमण पूरा गरेर भारतीय राष्ट्रपति प्रणव मुखर्जी स्वदेश फिर्ता भएका छन् ।
शुक्रबार बेलुका उनी स्वदेश फिर्ता भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले त्रिभुवन विमानस्थलमा भारतीय राष्ट्रपति मुखर्जीलाई विदाई गरेका थिए ।
बुधबार नेपाल आएका राष्ट्रपति मुखर्जीले नेपालमा रहँदा उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्नुका साथै जनकपुर र पोखराको पनि भ्रमण गरेका थिए ।

enayapatrika.com

ठोस प्रस्ताव नआउँदा सहमति भएनः गच्छदार

मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा दिँदै अध्यक्ष गच्छदारले सीमाङ्कनदेखि मोर्चाले उठाएका विषयका बारेमा छलफल भए पनि ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताए । एमाले, काँग्रेस र माओवादीबीचमा सहमतिको वातावरण बनेर अघि बढ्ने हो भने संविधान संशोधन र अन्य विषयले छिट्टै पूर्णता पाउने जिकिर गरे । नेता गच्छदारले १६ बुँदे सहमतिका जगबाट उठाइएको आठ प्रदेशका पक्षमा आफू रहेको उनको भनाइ छ । रासस

gorkhapatraonline.com

मानसरोवर पुग्नका लागि उराई भञ्ज्याङ नाका खोल्न माग

धनगढी, कात्तिक २० गते । बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ ।

नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो ।
अभियानको समर्थन गर्दै शुक्रवार यहां आयोजित कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसद प्रेम आलेमगर, लगायतले हस्ताक्षर गर्नु भयो ।
बझाङ जिल्लाबाट थालिएको यो अभियानले सरकारलाई ज्ञापन पत्र समेत बुझाउने नेपाल पर्वतारोहण संघ सैपाल हिमाल बझाङ शाखाका अध्यक्ष कटकबहादुर कठायतले बताउनु भयो ।
हिन्दुहरुको आस्थाको केन्द्र तिब्वतको मानसरोवर पुग्न सबै भन्दा छोटो दुरी बझाङको उराई भञ्ज्याङ नाका हुन सक्ने भएकोले यो नाका खोल्नु जरुरी रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
दिल्लीवाट धनगढी,डोटी, बझाङ, उराई, ताक्लाकोट हुँदै मानसरोवर सम्म मार्ग खोल्न सके सुदूरपश्चिमको समृद्धि मार्ग बन्न सक्ने पर्यटन व्यवसायीहरुको भनाई छ । रासस

kantipur.ekantipur.com

कांग्रेस महाअभियोगको विपक्षमा जानै सक्दैन : पोखरेल

कार्तिक २०, २०७३- एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेस कुनै हालतमा अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा जान नसक्ने बताएका छन् ।

‘कांग्रेसबाहेकका सबै राजनीतिक दल महाअभियोगका पक्षमा छन्, एउटा व्यक्तिको पछाडि लागेर सिंगो राज्य लतारिनु हुँदैन’ ओखलढुंगा सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले भने, ‘काँग्रेसले निर्णयमा पुग्न ढिलो गरे पनि महाअभियोगको विपक्षमा उभिँदैन भन्नेमा म विश्वस्त छु ।’

कार्यकर्ता प्रशिक्षणका लागि ओखलढुंगा पुगेका पोखरेलले संविधान कार्यान्वयनको गतिरोध समाधान गर्न राजनीतिक दलहरुको इच्छाशक्ति प्रमूख भएको बताए ।

karobardaily.com

तीन महिनामा डेढ अर्ब भन्दाबढी राजस्व उठ्यो

पोखरा: आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३÷ ७४ को तीन महिनामा रु .एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले सो आवको साउन, भदौ र असोज महिनामा रु एक अर्ब सात करोड ४९ लाख ४४ हजार राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो ।

राजस्व सङ्कलन १४३ प्रतिशतसम्म भएको छ । जस अन्तर्गत आयकरमा ३६ करोड २५ लाख ८२ हजार, मूल्य अभिवृद्धि करमा २८ करोड ८२ लाख ७४ हजार, अन्त शुल्कमा रु ७९ करोड ८४ लाख ६५ हजार, घर भाडामा तीन करोड १५ लाख २७ हजार र स्वास्थ्यमा एक करोड ९६ लाख ९२ हजार र बाँकी अन्य शिर्षकमा राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले बताए ।

कार्यालयले आयकरमा १५३, घर भाडामा १२८, मूल्य अभिवृद्धिकरमा ११९, अन्तशुल्कमा १६४ र स्वास्थ्य सेवामा १६४ प्रतिशत कर सङ्कलन गरेको छ ।

nagariknews

विषादी प्रयाेग गरी मारिए १८ लाखका माहुरी

दाङ–स्थानीय किसानले माहुरी पालन व्यवसायमा लगाएको सिण्डिकेट तोड्दै चितवनबाट चराउन दाङ ल्याइएका १८ लाख रुपैयाँ रकम बराबरका माहुरी विषादी प्रयोग गरेर मारिएका छन्। मह उत्पादनको पकेट क्षेत्र दाङमा चराउनका लागि ल्याइएका चितवनका दुई कृषकका ७५ घार माहुरी बिषदी प्रयोग गरी मारिएको हो। पीडितले व्यक्तिगत रिसिइबीका कारण माहुरी मारिदिएको दाबी गरेका छन्।

onlinekhabar.com

सरकारले नेपाली जनताको अपमान गर्‍योः भीम रावल

२० कात्तिक, काठमाडौं । सरकारले विदेशीलाई बोलाएर संविधानको विषयमा छलफल गर्नु नेपाली जनताको अपमान गरेको प्रमुख विपक्षी दलका नेताले आरोप लगाएका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले सावैभौम संविधानसभाबाट जारी भएको संविधानबारे सरकारले कहिले विदेशको राजधानीमा त कहिले विदेशी नेतालाई बोलाएर छलफल गराएको आरोप लगाए । साथै यो नेपाली जनताको अपमान भएको टिप्पणी गरे ।

पूर्वउपप्रधानमन्त्री समते रहेका रावलले संविधान संशोधन गर्ने वा नगर्ने विषय आन्तरिक मामिला भएकाले विदेशीलाई बोलाएर छलफल गर्नु गलत भएको बताएका छन् ।

आफैंले अभिनन्दन गर्ने सार्वजनिक कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले संविधान कार्यान्वयन गर्न सबै पक्षलाई समेटेर लैजान सुझाव दिँदा पनि कुनै प्रतिक्रिया नदिएर हिनताबोध देखाएको उनको आरोप छ ।

उनले छिमेकी देशका पाहुनालाई सम्मान गर्ने बहानामा स्वेदश तथा कुटनीतिक नियोगमा समेत बिदा दिइनु कुटनीतिक अभ्यास र मर्यादा विपरीत भएको बताएका छन् ।

ratopati.com

कुरा नमिले समानन्तर कमिटि गठन गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

काठमाडौं– नेपाल तरुण दल असन्तुष्ट पक्षले संस्थापन पक्षले एकलौटी ढंगले यही कार्तिक २७, २८, २९ गते चौथो महाधिवेशनको मिति तय गरेको भन्दै असन्तुष्ट पक्षले आफूहरुले उठाएका कुराहरु सम्बोधन नभए समानन्तर समिति गठन गर्ने चेतावनी दिएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षहरुले ७५ वटै जिल्लाहरुको अधिवेशन विधिसम्मत ढंगले सम्पन्न गरेर मात्रै महाधिवेशन गर्नुपर्ने माग गरेको हो ।

setopati.com

साझा समानताको पर्व ‘छठ’

नदी, पोखरी र जलासय यतिखेर सिँगारिएका छन्। विशेष गरी मधेसी समुदयाले प्रमुख पर्वको रूपमा मनाउने ‘छठ’मा ‘श्रीसोप्ता’ (विषेश किसिमको सानो स्तुप) र बर्तालुले सूर्यलाई अर्घदिने घाट बनाउन नदी, पोखरी र जलासय सिंगारिने गरिन्छ।

यसै क्रममा वीरगन्जसहित मुलुकभरका प्रमुख छठघाटहरु तयार पार्ने कार्य तिब्र गतिमा अगाडि बढेको छ। वीरगन्जको सिर्सिया नदी र बेग्लाबेग्लै पोखरीको किनारमा करिब ४० हजार ब्रतालु बस्ने पूजास्थल बनाउने काम अन्तिम चरणमा छन्।

ujyaaloonline.com

लोकमानको बिषयले अख्तियारको मोडलमै प्रश्न !

विराटनगर, कात्तिक २० – नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव गर्नुमा लोकमानकै कमजोरी रहेको बताउनुभएको छ ।

ऐन कानुनलाई आफ्नो हातमा लिन खोजेकाले अख्तियार प्रमुख कार्कीमाथि महाअभियोग प्रस्ताव पेश भएको उहाँले तर्क गर्नुभयो । उहाँले लोकमानको घटनापछि अख्तियारको काम कारबाही र अबका दिनमा अख्तियारलाई कुन मोडलमा लग्ने भन्ने बारेमा प्रश्नहरु पैदा भएको बताउनुभयो ।

उहाँले भारतीय राष्ट्रपति प्रवण मुखर्जी आएको दिन बिदा दिइने निर्णय राष्ट्रपतिको आग्रहमा प्रधानमन्त्रीबाट भएको बताउनु भएको छ । सकारात्मक सन्देश दिनको लागि सम्मान ब्यक्त गर्नको लागि राष्ट्रपतिबाट आएको प्रस्तावलाई प्रधानमन्त्रीले अघि बढाउनु भएको उहाँले बताउनुभयो ।

बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले आन्तरिक रुपमा दलहरु बिचमा भएको बेमेलको कारण भारतीय राष्ट्रपतिको भ्रमणमा गलत प्रचार भएको उहाँको भनाई छ । उहाँले  दलहरु आफू दह्रो रुपमा प्रस्तुत हुने हो भने वाह्य चिन्ता र चासो हटेर जाने तर्क गर्नुृभयो ।

762 total views, 3 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top