Free songs
Home / प्रवचन संग्रह / हामीले मुरली कसरी सुन्नुपर्छ ?

हामीले मुरली कसरी सुन्नुपर्छ ?

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

सुन्ने सुन्नेमा पनि धेरै फरक छ । तपाईँले देखेको हुनुपर्छ कि कसैले कुनै व्यक्तिसंग कुरा गरिरहेको बखत बीच बीचमा भनिरहन्छ, ‘ए भाइ सुनिरहेका छौ ?’ दोस्रोले भन्छ, ‘हो, सुनिरहेको त छु, किन यसरी सोध्छौ ?’ पहिलोले भन्छः ‘होइन । मलाई लाग्छ कि तिमी सुनिरहेका छैनौ ।’ किन ? किन यसरी सोधिन्छ ? किनकि सुनेपछि पनि दोस्रो व्यक्तिको चेहरामा खुशी, उमंग, उत्सुकता देखिँदैन भने ऊ सिर्फ तनले मात्र त्यहाँ बसिरहेको छ, तर सुनिरहेको छैन ।

बाबाको यहाँ सुन्ने विधि विशेष छ । कसरी ? तपाईँ कुनै सत्संगमा जानुभयो भने भन्नुहुन्छ, ‘आज फलानो साधु महाराजको फलाना सन्त महात्माको प्रवचन छ ।’ त्यहाँ कुनै न कुनै मनुष्य, महात्मा वा पुण्यात्माको याद आउँछ । बाबाले पहिल्यै हामीलाई बताउनुभएको छ कि यो ईश्वरीय विश्व विद्यालय हो । यहाँ स्वयम् ईश्वर प्रजापिता ब्रह्माको तनमा आएर यो ज्ञान सुनाउनुहुन्छ । यही ज्ञान अन्यत्र सेवाकेन्द्रमा सुनाइन्छ । यहाँ परमात्मा ज्ञान सुनाउनुहुन्छ र आत्माले ज्ञान सुन्छन् । यसैले यहाँ ज्ञान-पाठ हुनुभन्दा पहिले योगको क्लास चल्छ, यसैले कि पहिले पहिले आत्माको स्थितिमा स्थित भइयोस्, ताकि आत्मा ठीक तरीकाले ज्ञान सुन्न सकोस् । मुरली सुन्नुभन्दा पहिले हाम्रो भूमिका तयार हुनुपर्‍यो कि म एक आत्मा हुँ, म ज्योतिबिन्दू हुँ, म शिव बाबाको सानो बच्चा हुँ, ईश्वरीय विद्यार्थी हुँ । यस बखत म डाक्टर हुँ, म वकिल हुँ, म ठूलो व्यापारी हुँ, म एक गृहिणी, हुँ म बच्चाकी आमा  हुँ, म बच्चाको बाबु हुँ, ईत्यादि कुरा ख्याल नगरेर ‘म एक ज्योति बिन्दू आत्मा हुँ, बाबाको सानो बच्चा हुँ’ यस स्थिति हुनुपर्‍यो । तब ईश्वरीय ज्ञानको बुद्धिमा यसरी छाप लाग्छ कि त्यसले धारणाको रुप लिन्छ र कुनै समयमा काममा आउँछ ।

कुनै राजाको साथमा तरवार छ, उनले त्यो तरबार पेटीमा राखेका छन् र दुश्मन आउँदा पेटीको चाबी नै भेटिएन भने त्यो तरवार राख्नुको कुनै फाइदा छैन । हतियार त्यसलाई भनिन्छ, जुन समयमा काम लाग्छ । यस प्रकार सारा ज्ञान हामीले सुनेका छौँ र समय आउँदा याद आएन भने के फाइदा ? सुन्नु भएकै होला कि ज्ञान समयमा त्यसबेला याद आउँछ, जब त्यो ज्ञान अथवा बाबाको मुरली हाम्रो बुद्धिमा छाप परेको हुन्छ । ज्ञानको त्यसबेला छाप पर्छ, जब हामीले ध्यानपूर्वक सुन्छौँ । यसैले मुरली सुन्नको लागि जब हामी क्लासमा बसेका हुन्छौँ, तब सबभन्दा पहिले यो चेक गर्नपर्‍यो कि हामी आत्मिक स्थितिमा बसेका छौँ कि छैनौँ ?

हाम्रो मुख्य पुरुषार्थ योगयुक्त हुनु हो । अनुशासनको नाम नै योग हो । मनको अनुशासित गर्ने वा सुधार्ने कुरा नै योग हो । यसलाई भनिन्छ सेल्फ कन्ट्रोल, माइन्ड कन्ट्रोल । बीच बीचमा हाम्रो मन कतै भाग्छ । आमाहरुको मन घरमा जान्छ, डाक्टरहरुको मन डिस्पेन्सरीमा जान्छ । वकिलको आफ्नो क्लाइन्टमा जान्छ, आमाबाबुको मन आफ्ना बच्चामा जान्छ, बच्चाको मन परीक्षामा जान्छ । यहाँ केवल शरीर बसेको हुन्छ तर मन अन्यत्र कतै सयर गरिरहेको हुन्छ र मुरली सुनिरहेको हुँदैन । हामी यहाँ छौँ र अन्यत्र कतै पनि छौँ । जब हामी सुनिरहेका हुन्छौँ, हामीले हाम्रो मनमाथि पूरा कन्ट्रोल गर्नुपर्छ । यसो भएमा सारा दिन हामी जहाँ भए पनि योग लगायौँ भने हाम्रो मन शिव बाबामा टिक्छ र योग सहज लाग्दछ । नत्र मुरली अथवा ईश्वरीय ज्ञान सुन्ने बखत मनको खुला छुट्टी दिने हो भने तपाईँ जहाँ चाह्यो त्यहीँ पुगिरहनुभएको हुनेछ र योग गर्ने समयमा मन एकाग्र हुन मुश्किल पर्दछ । यसैले जेसुकै भए पनि हामी सारा संसारबाट कट अफ भएर आफूलाई आत्मा सम्झेर पूरै मुरली सुन्नु पर्दछ ।

कहिलेकाहीँ जब हामी मुरली सुन्छौँ र ठान्छौँ कि यी कुरा हाम्रा लागि होइनन्, अरु कसैका लागि हुन् । सुन्नुको अर्थ यो हो कि त्यो कुरा आफूउपर पनि लागू गर्नुपर्‍यो । जस्तो भक्तिमार्गमा गीता सुनाइन्छ कि ‘हे अर्जुन काम, क्रोध, लोभ, मोहादि नरकका द्वार हुन् ।’ गीता सुन्ने वाला र सुनाउने वाला दुवैले यो सोच्छन् कि यो अर्जुनलाई नै भनिएको हो, आफूलाई होइन । यसरी नै मुरली पनि सुनियो भने सुन्नु र नसुन्नु बराबर हो । सारा मुरली हामी बच्चाहरुको लागि नै हो । बाबा खूद भन्नुहुन्छ कि म बच्चासंग कुरा गरिरहेको छु । जो मुरली हामी सुन्छौँ, तिनीहरुको हरेक कुरा आफ्नो उपर पनि लागू गरिनुपर्छ । यसैलाई भनिन्छ- सुन्नु । होइन भने सुन्नै पर्ने कुरा अनसुना गरेमा के हाल होला ? बाबा भन्नुहुन्छ खराबको अनसुना गर मुरलीको होइन ।’ तपाईँ दुनियाँमा देख्नुहुन्छ जो प्रसिद्ध डाक्टर छ, उसको appointment मिल्न एकदमै मुश्किल हुन्छ । मिल्यो भने पनि फिस कति लिन्छ नि ? तपाईँ उससंग परामर्श गर्नुहोस् कि नगर्नुहोस् कति धेरै फिस तिर्नुपर्छ ! देशका प्रधानमन्त्री वा राष्ट्रपतिसंग भेट गर्ने हो भने कति मुश्किल हुन्छ ? तर हाम्रा बाबा कति महान हुनुहुन्छ, उहाँ कति दूरबाट हाम्रो लागि नै आउनुहुन्छ । यस्ता परमशक्तिको कुरा हामीले अनसुना गर्ने हो भने हाम्रो जस्तो महाभूल अरु के हुनसक्छ ? यसैले सुन्नको भाव हो कि जुन मुरली सुनिन्छ, त्यसको आफ्नो उपर लागू गरौँ ।

सुन्नुको दोस्रो अर्थ हो सुनाउने वाला जुन भावको स्पष्ट गर्न चाहन्छ अर्थात जुन भावद्वारा बताइरहेको छ त्यसै भावमा कुरा सम्झने । सम्झनुहोस् कि कुनै भाइ धेरै दिनदेखि क्लासमा आउन पाएको छैन । एक दिन अकस्मात बाटोमा भेट भयो । सोध्दा उसले आफ्नो समस्या र कठिनाइको सम्बन्धमा बतायो । उसको कुरा पुरै नसुनेरै पहिल्यै उसलाई भनिदिनुभयो कि ‘तिमी आउन चाहेका छैनौ, त्यसैले यति धेरै बहाना बनाइरहेका छौ ।’ यो पनि सुनेको होइन । केही मान्छे यस्ता पनि हुन्छन्, साम्नेवालाले के भनिरहेको छ त्यो पूरै नसुनेर आफ्नो निर्णय सुनाइहाल्छन् । यस व्यवहारबाट कहिलेकाहीँ झगडा समेत हुन जान्छ । यसलाई पनि सुन्नु भनिँदैन । कुनै व्यक्तिले केही सुनाउन चाहन्छ भने पूर्ण रुपमा हामीले सुनिदिनुपर्छ र उसले जुन भावबाट व्यक्त गर्न खोजेको छ त्यही भावबाट बुझिदिनुपर्छ । न्यायाधीशले जबसम्म पूरै वाद-विवाद सुन्दैन, तबसम्म फैसला दिँदैन । दुवैतर्फको कुरा सुनेपछि मात्र उसले फैसला गर्छ । यो सरकारको नियम हो । सुन्नु अर्थात कुराको रीतपूर्वक सम्झनु ।

कुनै व्यक्तिले कुनै कुरा भनिरहेको भए यसको अर्थ हो उसले कुनै कुरामा विशेष जोड दिइरहेको छ । उदाहरणको लागि ‘भगवान त श्रृष्टिका रचयिता हुन् ।’ यो चार शब्दले बनेको एक वाक्य हो । तर उच्चारण गर्दा कसैले ‘भगवान’ प्रति जोड दिन्छ कसैले ‘श्रृष्टि’ प्रति र कसैले ‘रचयिता’ प्रति । यस एउटै वाक्यको अलग अलग तीन अर्थ लाग्दछ । जुन व्यक्तिले ‘भगवान’ प्रति जोड दिएको छ, यसको अर्थ लाग्छ कि ‘श्रृष्टिको रचना गर्नेलाई भगवान भनिन्छ’ भन्ने, अरु कुनै भगवान हुन सक्तैन । केही मान्छेले भन्छन् कि आत्मा नै परमात्मा हो, तर त्यही व्यक्तिले भन्छन् ‘भगवान श्रृष्टिका रचयिता हुन् ।’ कहाँ भोजराज कहाँ गंगूतेली दुवैमा अन्तर छ । आज दुनियाँले बाग र बाघको अन्तर नै थाहा पाउँदैनन् । यस्तो छ दुनियाँको हाल, रुने वाला, रुवाउने वाला, जीउने वाला, मर्ने वाला व्यक्तिलाई नै भगवान भनिरहेका छन् र गल्ली-गल्लीमा एक टुक्रा रोटीको लागि भड्किने कुकुरलाई पनि भगवान मानिरहेका छन् । यसैले त्यो व्यक्तिले यस कुरामा जोड दिइरहेको छ कि कुकुर-बिराला, देहधारी मानिस भगवान होइनन् । भगवान ती हुन् जसले यो श्रृष्टिको रचना गरे । जुन व्यक्तिले ‘रचयिता’ प्रति जोड दिन्छ, उसले भन्न खोजेको ‘भगवान रचयिता हुन्, सबका आमाबाबु हुन् ।’ ‘श्रृष्टि’ शब्दलाई जोड दिनेले यो श्रृष्टि अनादि, अविनाशी छ । यसमा जो व्यक्ति, शक्ति तथा वस्तुहरु छन्, ती सबका रचयिता भगवान नै हुन् । यस प्रकार एक वाक्यमा तीन अर्थ छन् । यस वाक्य बोल्ने वालाले कुन अर्थमा जोड दिन खोजेको हो, त्यही अर्थमा बुझ्नु नै सुन्नु हो ।

यस प्रकार बाबा जब मुरली सुनाउनुहुन्छ, तब कुन कुरामा जोड दिइरहनुभएको छ ? भन्ने कुरा बुझ्ने, होइन भने सुन्नु र नसुन्नु एकै हुन्छ । कसैले भन्छ ‘भाइ, सुन ।’ यहाँ ‘सुन’ को अर्थ ‘ध्यान देऊ’ भनेको हो । हाम्रो योग पनि ध्यान योग हो । योगमा हामी आत्माको ध्यान राख्दछौँ, परमधाममा ध्यान राख्दछौँ । त्यहाँ ज्योतिर्बिन्दू परमात्मा हुनुहुन्छ, यसमा मनलाई टिकाउँछौँ । यो ध्यान हो, हामी ध्यान दिन्छौँ, एटेन्सन हुन्छौँ । यस ध्यानबाट अर्थात एटेन्सनबाट सुन्नुलाई नै सुन्नु भनिन्छ । बाबाले जे सुनाउनुहुन्छ त्यसलाई दत्तचित्त भई सुनौँ, एकाग्रतासाथ सुनौँ । यसरी होइन कि बाबाले भनेको कुरालाई आफ्नो मतबाट, आफ्नो विश्लेषणबाट आफ्नो तरीकाले सुन्ने । बाबाले जुन अर्थबाट जुन रुपमा बुझाउन चाहनुहुन्छ, त्यसै रुपमा सुन्नु र स्वीकार गर्नु नै सही सुन्नु हो । यसैले बाबाले भन्नुहुन्छ ‘म जो हुँ, जस्तो हुँ, यसको पूरै तरहबाट र यथार्थ रीतिबाट धेरै थोरैले बुझ्दछन् ।’ किनकि जसले बुझ्दछन्, उनीहरुले पनि आफ्नै तरीकाले अर्थ लगाउँछन् । अतः बाबालाई र बाबाका महावाक्यलाई जे छन्, जस्ता छन्, त्यसै तरीकाबाट बुझ्नु नै सुन्नु हो । यो तब सम्भव हुनसक्छ जब हामी पुराना मान्यताहरु जो लौकिकमा पढेका थियौँ, सुनेका थियौँ, जोमाथि विश्वास गर्दै आएका छौँ, तिनलाई बाबाको महावाक्यसंग मिक्स नगरौँ । मन-बुद्धिको एकदमै खाली सफा राखेर बाबाले जे भन्नुहुन्छ त्यसलाई ध्यानपूर्वक सुनौँ र सुनाऔँ । आफ्नो कुनै पनि मिक्स नगरौँ । श्रीमतमा मनमत नमिलाऔँ ।

अर्को कुरा हो यस शक्तिको विकास गर्ने । अभ्यास गरेपछि नै विकास अथवा प्रगति हुन्छ । यसको लागि सँधै अभ्यास गरौँ, प्राक्टिस गरौँ । Practice Makes Man Perfect. अभ्यासले मान्छेलाई पूर्ण बनाउँछ । सँधै यो चेक गर कि आज मैले जब मुरली सुनिरहेको थिएँ, त्यसबेला कति समयसम्म आत्माको स्मृतिमा थिएँ ? कति समय मलाई याद थियो कि ज्योतिर्बिन्दू परमात्मा अर्थात बापदादाको मुरली सुनिरहेको छु ? कति समयसम्म म यहीँ थिएँ ? अर्थात मेरो मन कतै गएको थियो कि मुरलीमा केन्द्रित थियो ? यस सुन्ने शक्तिको विकास गरौँ । जति सुन्ने शक्तिको विकास गरिन्छ, उति नै बाबाको भाव बुझ्न सकिन्छ र बाबाबाट शक्ति लिएर आफूमै भर परिन्छ । जब तपाईँ मुरली सुनेर उठ्नुहुन्छ, तब तपाईँलाई लाग्नेछ कि आज ब्याट्री चार्ज भयो ।

अर्को हो बुझ्ने शक्ति । जुन कुरा हामी सुन्छौँ, त्यसलाई पूरै तरहले सम्झौँ । बाबा भन्नुहुन्छ, ‘मेरा केही बच्चा बफादार छन्, केही छैनन् ।’ वफादारको अर्थ के हो ? हामी मुरली ध्यानपूर्वक पनि सुन्छौँ, आत्मनिष्ठ भएर पनि सुन्छौँ, मनलाई यताउता जानबाट रोकेर पनि सुन्छौँ । बफादारको अर्थ के हो ? यो नबुझेर सुनेको के फाइदा होला ? बाबाले भन्नुहुन्छः ‘फलो फादर’ । ‘फलो फादर’ त हामीले धेरै पटक सुनेका हौँला, तर यसको अर्थ बुझेका छौँ त ? बाबाले यो पनि भन्नुभएको छ कि पाँच कुराको फलो गरेमा ‘फलो फादर’ भइन्छ । ती पाँच कुराहरु के के हुन् ? बाबाले भन्नुभएको छ, पहिलो हो – सर्वश्व त्याग । अर्थात तन-मन-धन सब त्याग । ब्रह्माबाबाले यो गरेर देखाउनुभयो । दोस्रो हो – आज्ञाकारी । शिव बाबाको हर आज्ञाको पालना गर्ने । तर हामी सबै आज्ञा फलो गर्दैनौँ । हामी भन्छौँ हाम्रा बाबा शिव बाबा कल्याणकारी हुनुहुन्छ । भगवानको नाम नै कल्याणकारी छ भने उहाँले जे आज्ञा दिनुहुन्छ के त्यो कल्याणकारी नहोला ? फेरि पनि हामी गर्दैनौँ । यो कति ठूलो भूल हो ! भन्छौँ- उहाँ कल्याणकारी हुनुहुन्छ, सत्यं-शिवं-सुन्दरम् हुनुहुन्छ, फेरि पनि उहाँको आज्ञाको उल्लंघन गर्छौँ भने यो कति ठूलो पाप भयो । यदि हामीले उहाँको आज्ञाको पालना गर्दैनौँ भने यसको अर्थ हो हामीले बुझेकै छैनौँ । बुझेको भए त उहाँको आज्ञाको पूरै तरहले फलो गर्थ्यौँ । तेस्रो कुरा हो – श्रीमत । ब्रह्माबाबाले कहिले पनि आफ्नो मत चलाउनुभएको छैन । जब यज्ञमा माताहरु र कन्याहरुले पवित्र रहन शुरु गरे, माछामासु खान छाडिदिए, अनि उनका नातेदारहरु आएर ब्रह्माबाबालाई भन्न थाले कि ‘बाबाजी, यिनीहरुलाई भनिदिनोस् पवित्र रहनुपर्दैन, माछामासु खाए हुन्छ ।’ ब्रह्माबाबाले भन्नुभयो, ‘त्यस्तो म कसरी भन्नसक्छु ? यो त परमात्माको आज्ञा हो । म यस आज्ञाको कसरी मनाही गर्नसक्छु ? बरु यो नियमको पालना गर्नु, नगर्नु उनीहरुकै मर्जी हो । मैले आफै केही भन्न सक्दैन ।’ यस प्रकार ब्रह्माबाबाले कहिले पनि आफ्नो मत चलाउनुभएन । मान्छेहरुले कति जोरजबर्जस्ती गरे, समाजले कति विरोध गर्‍यो, परन्तु ब्रह्माबाबाले शिव बाबाकै आज्ञा परिपालना गर्नुभयो । किन ? उहाँमा अटल निश्चय थियो कि शिव बाबा सारा विश्वका कल्याणकारी हुनुहुन्छ, उहाँको आज्ञामा नै सबैको भलाइ छ, उहाँको आज्ञामा चल्नाले सबैको कल्याण हुन्छ । चौथो कुरा हो – बफादार । बफादार शब्दको अर्थ दिँदै बाबाले भन्नुभएको छ कि एक पतिब्रता नारीले स्वप्नमा पनि आफ्नो पति बाहेक अरु कसैलाई देख्दिन । पति नै उसको सर्वस्व हो । पति सिवाय अरु सब उनका लागि पर हुन् अर्थात पराया परपुरुष हुन् । परपुरुषको स्मरण गर्नु उसको लागि महापाप हो । भारतीय नारीको यस विश्वासले नै भारतको सभ्यता पूरै विश्वमा उच्च र पवित्र छ । हामी भन्छौँ पतिहरुका पति परमेश्वर हुनुहुन्छ । तर हामीले के गर्छौँ ? घरमा सबै देवीदेवताको मूर्तिहरु संकलन गर्छौँ र सबैलाई पुज्छौँ । यसै कारणले पुज्छौँ कि एउटालाई मात्र पुज्ने हो भने बाँकी देवताहरु नाराज हुनेछन् । एकै पटक पूजा गर्दा सबैलाई संगसंगै पूजा गर्छौँ । बाबा भन्नुहुन्छ, ‘म नै एक मात्र परमात्मा भगवान ईश्वर हुँ । मेरो सिवाय अरु कसैलाई आराधना उपासना गर्ने व्यक्ति व्यभिचारी भक्ति हो ।’ जसरी आफ्नो पति बाहेक अरु परपुरुषलाई देख्नेलाई पतिव्रता भन्न सकिँदैन । त्यसरी नै एक परमात्मा बाहेक अन्य देवताहरुको देहधारीहरुको पूज्ने वाला व्यभिचारी हो । जो बच्चा आफ्ना बाबाको हर आज्ञा र हर आशाको पूरा गर्दछ, त्यस बच्चालाई नै वफादार भनिन्छ, जसरी कि सेनाको लागि आफ्नो कमाण्डरको आज्ञा पालन गर्नुलाई वफादार भनिन्छ । प्रजाले आफ्नो राजा विरुद्ध विद्रोह गरेमा त्यसलाई वफादार मान्न सकिँदैन । यस प्रकार वफादार मित्र कसलाई भन्न सकिन्छ ? जसले कठिनाइको समयमा मदद गर्दछ, उसैलाई । यस्तो होइन कि जब व्यापारमा फाइदा हुन्छ, तब अघिपछि घुम्दै मुखस्तुति गर्दै हिड्ने र नोक्सान भएर हात खाली हुनेबित्तिकै उसलाई देखनासाथ टाढैबाट बाटो बदल्ने, यस्तालाई वफादार मानिँदैन । दुनियाँको हिसाबबाट पनि पति पत्नीका साथ, पत्नी पतिका साथ, राजा प्रजाका साथ र प्रजा राजाका साथ, सेना सेनापतिका साथ र सेनापति सेनाका साथ, बच्चा बाबुका साथ र बाबु बच्चाका साथ वफादार रहन्छन्, त्यसरी नै हामी पनि बाबाका साथ सर्वसम्बन्धमा वफादार रहनुपर्छ । आत्माको सर्वसम्बन्ध बाबासंग जोडेका छौँ कि सारा दिन मन यताउता भड्किरहन्छ ? यो चेक गरौँ । यदि सम्बन्ध जोडेका छैनौँ भने हामीले बुझ्यौँ के ? यसैले सुनेपछि सम्झनु अत्यन्त जरुरी छ । सम्झनको लागि हरेक कुराको गहिराइमा जानु पनि अति आवश्यक छ । यसको प्राक्टिस गर्नुपर्छ । यसको लागि बाबा भन्नुहुन्छ ‘मुरली सुनेपछि त्यसलाई पढ, अध्ययन गर, त्यसको गुह्यतामा जाऊ ।’

बाबा भन्नुहुन्छ, ‘म हरेक बच्चाको शिरमा ताज देख्दछु । तिमी बच्चाहरु होनहार राजारानी हौ । विश्व महाराजा महारानी हौ ।’ यो सुनेर हामी खुशी भइहाल्छौँ । हरेक बच्चाको दुई ताज छ, संगम युगको ताज र भविष्यको ताज । के हामीले यसको अर्थ बुझेका छौँ ? सत्ययुगको ताज के विना मतलब विना परिश्रम-मर्तबा मिल्ला ?  यो नियम हो, जसले गर्छ, उसैले पाउँछ । यहाँ हामीले केही गरे त उहाँ ताज-तख्ता मिल्ला । हामी कसैलाई ज्ञान नै दिँएनौँ, योग नै सिकाएनौँ, गुण नै दिएनौँ भने कन्जुस बनिराख्यौँ भने ताज मिल्ला त ? दुईवटा ताज भनेको कुन कुन हुन् ? हामीलाई थाहा छ । यसको अर्थ यो हो कि हामी सुन्छौँ, तर त्यसको अर्थ बुझ्दैनौँ । यो चेक गरौँ कि हामी यी सब बुझ्छौँ कि नाइ ? फेरि त्यसलाई आचरणमा ल्याऔँ । यसैलाई नै बुझ्नु भनिन्छ ।

हरेक बाबुले यो चाहन्छ कि उसका बच्चा ठूलाभन्दा ठूला डाक्टर बनून्, इन्जिनियर बनून, वकिल बनून, बिजिनेशम्यान बनून । यी बेहदका बाबुले के चाहन्छन् ? मेरा हरेक बच्चा नरबाट नारायण बनून्, नारीबाट लक्ष्मी बनून्, सदा सुखी र सम्वृद्ध रहून् । श्रीलक्ष्मीनारायण को बन्ला ? बाबा भन्नुहुन्छ, ‘जो फराकदिलको छ, अर्थात विशाल दिल वा बेहद दिलवाला छ । ब्रह्माबाबाले के गर्नुभयो ? आफ्नो तन-मन-धन सबै ईश्वरीय सेवामा लगाइदिनुभयो । मनुष्यलाई देवता बनाउने सेवामा लगाइदिनुभयो । तर हामीले के गरिरहेका छौँ ? बेहदको ज्ञान चाहिएको छ भने बेहदको सेवा गरौँ, गन्ति गरेर सोचविचार गरीकन सेवा गर्ने होइन । विशाल दिलबाट ज्ञान, योग, तन, धन, सम्बन्ध, सम्पर्कबाट सेवा गर्ने हो भने बेहदको ज्ञानको अधिकारी बनौँला । त्यसैले बाबाले सोध्नुहुन्छ – ‘बुझ्यौ ?’ भनेर । बाबा भन्नुहुन्छ, ‘मलाई समझदार बच्चा चाहिएको छ, बफादार बच्चा चाहिएको छ, फरमानदार बच्चा चाहिएको छ र मलाई फलो गर्ने बच्चा चाहिएको छ ।’

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 937 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top