Free songs
Home / व्यक्ति विशेष / हर्कभाइ

हर्कभाइ

गत वर्ष लामो समयपछि विदेशबाट फर्कँदै थियो ऊ । उसले मलाई भेट्न जति चाह बोकेको थियो, त्यत्तिकै चाहनाको भारी मसँग पनि थियो । विदेशबाट काठमाण्डौ आइपुगेको थियो ऊ । काठमाण्डौ केही दिन बस्छु भनेकोले र मेरो पनि काठमाण्डौ जाने काम परेकोले ऊसँग भेटिने सम्भावना प्रबल थियो । एकदुई दिन भएथ्यो ऊसँग कुरा नभएको ।

“कुन होटेलमा बसिरहेका छौ भाइ तिमी ? म पनि आजै आइपुग्दै छु काठमाण्डौ ।” मैले काठमाण्डौ जाने तुलसीपुरको बस पक्रिएर आफ्नो सिटमा बसेपछि फोन लगाएँ । कुरा राखिनसक्दै फोन काटिइहाल्यो ।

“कुन भाइलाई फोन गर्नुभाको ?” बर्कोले अनुहारको पसिना पुछ्दै छेउको सिटमा बसेकी देवकुमारीले मलाई कोट्याइन् ।

“मेरो सहोदर भाइजत्तिकै अर्को भाइलाई । आज बेलुका भेट भएपछि को रैछ थाहा पाउँछ्यौ तिमी ।”

“अहिल्यै भने के बिग्रन्छ र ?” उनले अनुहार खुम्च्याइन् । उनलाई मैले अलिकति कुरा लुकाएजस्तो लाग्यो कि उत्तिखेरै फुकाउन झन् खसखस लागिहाल्छ ।

“दोहोरो संवाद हुनै सकेको छैन । कसलाई भनूँ त अहिल्यै ?”

उसको फोनको घण्टी आयो । मैले मोबाइलको स्पिकर अन गरिदिएँ । देवकुमारीले स्वर पहिचान गर्ने हिसाबले फोनतिर जिउ ढल्काइन् ।
“कहाँ काठमाण्डौ बस्न पाइयो र सर ! म त दाङ फर्कनलाई गाडी चढिसकेँ ।”

“अनि बिहानै भन्नुपर्दैन त ? मैले आजैको टिकट लिँदैनथेँ नि । म पनि आजैको गाडीमा काठमाण्डौ आउँदै छु । घोराही आइसकेँ । यसपालि त पक्का भेट हुन्छ भन्ने कत्रो आशा थियो ! योजना भताभुङ्गै पारिदियौ तिमीले !”

“थै । मलाई पनि त सरसँग भेट्न रहर थियो नि ! सर पनि आजै यतातिर लाग्नुहोला भन्ने के थाहा भयो र ?” उसले पनि उताबाट पछुतो व्यक्त ग¥यो ।
“चिने चिने जस्तो त लाग्यो । स्वर बेग्ल्याउनै सकिनँ ।” फोनको वार्तालाप सुनेर देवकुमारीले भनिन् ।

“तिमीले जुन फोन समातिरहेकी छ्यौ नि । त्यही उपहार दिने भाइ हो क्या !”
“एऽऽऽ हर्कभाइ ?”
“अँऽऽऽऽ होऽऽऽऽ त्यइ हर्कभाइ ।”

घोराही केही बेर हाम्रो बस रोकियो । त्यताबाट हिँडेपछि गल्ली गल्ली र चोकचोकबाट यात्री चढाउन थाल्यो । आफ्नो सिट खोजिरहेका र सामान बसमा कोचिरहेका यात्रीहरुको हल्लीखल्लीले हाम्रो ध्यान उता तान्यो । तुलसीपुर चोकमा अलिबेर रोकेर ट्राफिक चोकमा लगेर गाडी अड्यायो । त्यहाँबाट बिस्तारै गाडी अगाडि बढ्यो ।

“सिम्रुतुतिरको केटा हो नि त्यो ?” बसको हल्ला कम भएपछि उनले बाहिरतिर डोरिइरहेको मेरो ध्यान आफूतिर खिँचिन् ।
“अहिलेसम्म थोरै केटो छ त ऊ ? अहिले त लक्का जवानबाट पनि ओरालो लागिसक्यो । सिम्रुतु उसलाई मैले पढाको हो । उसको घरको रुँघाको दहभागे हो ।”
“सिम्रुतुबाट कतातिर ?”
“सिम्रुतुबाट पूर्वपट्टिको अग्लो डाँडो छ नि । खाराको उत्तरपट्टि । होऽऽ त्यही डाँडाको थाप्लोमा हो उसको घर । त्याँदेखि उता रोल्पा पर्छ ।” मैले बुझाएपछि उनले बुझेझैँ टाउको हल्लाइन् ।

“अहिले कहाँ बस्छ त ?”
“कतिपटक भन्नुपर्छ तिम्लाई पनि ? कोरिया ! कोरिया ! कोरिया !! पैँसा डोकोभरि फल्ने ठाउँ ।” मैले दुईहात फैलाएर राङ्ङे डोकोको संकेत गरेँ ।

“एउटा कुरा सोध्यो कि तपाईँलाई झन्किनै पर्छ त ?” उनले मुख बिगारेर अर्कोतिर टाउको भाँचिन्, “मैले त उसको जहान परिवार कता बस्छ भनेर पो सोधेकी थिएँ ।”

म उनीसित बिनसित्ति झन्किएछु । पछुतो लाग्यो । लोकल गाडीमा यस्तै हुन्छ । ड्राइभर झन्किरहेको, कन्डक्टर झन्किरहेको, अरु यात्रीहरु झन् झन्किइरहेको अवस्थामा त्यसको प्रभाव आफूलाई पनि पर्दोरहेछ ।

गाडी सिमेन्ट कारखाना पुगेपछि भनेँ, “नेवबहादुर ओलीले जागिर खाने ठाउँ ऊ त्यतै हो ।” आफूलाई अलि शान्त तुल्याउँदै झ्यालबाट आफ्नो हातल उत्तरतिर औँल्याउँदै भनेँ ।

उनले मैले औँल्याएतिर टाउको सोझ्याइन् मात्र केही बोलिनन् । सायद आफ्नो प्रश्नको जवाफ नपाएर होला भन्ठानेँ ।

“रिसायौ कि तिमी ? सुन । हर्कभाइको परिवार यतै घोराही बस्छ रे । एउटी स्वास्नी छिन् । दुइटा छोरा । छोराहरुले समेत एसएलसी पास गरिसके रे ।”

उनले मलाई कुमले धक्याउँदै भनिन्, “स्वास्नी भने त भैहाल्छ नि एउटी भनिरहनुपर्छ त ?”

“दुइटा छोरा भन्नलाई एउटी भनेको हो । कस्ती तिमी पनि ?” मैले उनलाई नै गिज्याएँ । उनी केही बोलिनन् ।

“कति सुधो थियो हर्क । पढाइमा कति तकडा थियो । पक्का यसले भविष्यमा केही गर्छ भनेको विदेशको पैँसा ढुकेर जीवन खेर फालिरहेको छ ।”
“जीवनको उद्देश्य नै आफू र आफ्नो परिवारलाई सुखी तुल्याउनु होइन र ? उसले पाखुरी ख्याएर प्रशस्त पैँसा कमाइदिएकै छ त !” उनले मेरो कुरालाई काटिन् ।

“आफ्नो अमूल्य जीवन विदेशी भूमिमा पसिना चुहाएर कटाइरहेको छ । पैँसा कमाउनु मात्र ठूलो होइन लाटी । परिवारदेखि टाढिएर रहरले नभई कहरले पैँसा कमाइरहेको होला । सामाजिक पाटाहरु धेरै छन् । हाम्रोजस्तो देशमा गर्नुपर्ने कुराहरु थुप्रै छन् । उसले त्यो गर्न सक्थ्यो भनेको मैले ।”

“जे भए पनि परिवार सन्तुष्ट भए त भैहाल्यो नि !” उनले मसँग सहमत हुने लक्षण देखाइनन् ।

“हुन्छन् थोरै सन्तुष्ट । एकमहिना अघि छोरा बिरामी भयो भनेर खबर गरेको थियो । त्योभन्दा पहिले छोरालाई कता पढाऊँ के गरौँ भन्दै थियो । त्योभन्दा पहिले घरमा अन्टसन्ट प¥यो अलिकति पैँसा सापटी दिनु न सर भन्दै थियो । त्यसबेला परिवारको अवस्था कस्तो थियो होला । ऊ कता हो कता सातसमुन्द्र पारि रहँदा घरायसी समस्या हल हुननसक्दा पारिवारिक चिन्ताले कति गल्यो होला ?”

हाम्रो गाडी जङ्गल काटेर लमहीतिर रफ्तारमा कुदिरहेको थियो । उनी आफूतिर फर्किएपछि आवेशमा नआउनको लागि सक्दो प्रयास गरेँ ।
“ऊ स्कूलमा फस्ट हुन्थ्यो र ?”

मैले टाउको हल्लाएँ, “कहिले फस्ट भएन होला बेग्लै कुरा । सधैँ फस्ट हरेक अतिरिक्त क्रियाकलापमा भाग लिन्थ्यो । कुनै न कुनै पोजिशन ल्याएर छोड्दैनथ्यो । शिक्षक विद्यार्थी सबैको आँखाको नानी थियो । केही कुरा सिकायो भने ट्याप्पै टिपिहाल्थ्यो ।”

“ऊ मात्रै त्यस्तो थियो कि ?”
“छन त अरु पनि थिए नि । अहिले हर्ककै कुरा भैरहेकोले उसैको कुरा गरेको मैले । उसले आठ कक्षा पढ्दै गर्दा खीमा पनि आइपुगेकी थिई । ऊ पनि कम्ता तकडा थिइनँ । विश्वेश्वरका छोराहरु हरिहर, किरण, भद्रबहादुर, रुद्रमणि आदि पनि थिए । निशा, बिनाराम, देवी, नारायणीहरु अघिल्लो कक्षामा थिए । यस्तो थियो कि सिम्रुतु स्कूल यिनीहरुको विद्वताको रापले धपक्कै बलेको थियो ।”
लमही खाजा खान गाडी रोकिएकोले हामी पनि झ¥यौँ । मैले आङ तान्दै भनेँ, “भाइ शिव पनि यतै छन् । कलेज खोलेका छन् रे । राम्रै प्रगति गरेका छन् ।“
शिव भन्नेबित्तिकै उनी खुशी भइन्, “त्यो हामीलाई भेट्न आउँछ कि ? फोन लगाउनू न ।”

“उनीहरु हामीलाई फोन कहिल्यै गर्दैनन् । नम्बर कहाँ सेभ छ त मसँग ?”
उनले शिवको नम्बर माग्नको लागि डम्बर चन्द्रालाई फोन लगाइन् । देवी, निरालाई पनि लगाइन् । तर फोन पत्ता लगाउन सकिनन्, बरु मलाई नै सोधिन्, “हर्क कहाँ आइपुग्यो होला ?”

मैले हर्कलाई फोन लगाएँ ऊ धार्के आइपुगेर खाजा खाँदै रहेछ । मैले, “नारायणघाटदेखि बुटवलबिचको बाटोमा हाम्रो गाडीहरु भेट हुनसक्छ । मिल्यो भने भेटौँला” भन्ने प्रस्ताव गरेँ उसलाई ।
खाजा र केही छिनको विश्रामले शरीरमा ऊर्जा थपिएछ । जिउ हलुका भयो । गाडी त्यताबाट अगाडि बढ्यो ।
“हर्ककै अरु कुरा सुनम् न त ।“ देवकुमारीले नै कुरा उकालिन् ।
मैले भन्दै गएँ ।

२०४८/४९ सालतिरको कुरा हो । मैले सिम्रुतु हाइस्कूलमा पढाइरहेको थिएँ । म हेडमास्टरको भूमिकामा थिएँ भने सहायक शिक्षकहरु जितबहदुर शाह, ओपेन्द्र शर्मा, पहल पुन, गंगालाल ओली, धनबहादुर ओली, छबिलाल खड्का, कृपाराम पुन, मोहन डाङ्गी, राधारमण झा, बेचनलाल यादव, चन्द्रबहादुर केसी आदि शिक्षकहरु थियौँ त्यस स्कूलमा ।
एकदिन नौकक्षाका विद्यार्थीहरु भुपेन्द्र केसी र हरिभक्त ओलीको साथ लागेर एउटा दुब्लो पातलो केटो भर्ना हुन आइपुग्यो, नाम हर्कसिँ केसी रहेछ । हेर्दा छिटोछरितो देखिन्थ्यो । तर अनुहार निन्याउरो थियो ।
.शुरुशुरुमा नयाँ ठाउँमा यस्तै हुन्छ, बिरानो मानेको होला !’ सोचेँ मैले । पढाइमा एकदमै अनुशासित व्यवहार देखाउँथ्यो । रुँघातिर आउने विद्यार्थीहरुको बीचमा घेरिएर बस्थ्यो । ऊ उनीहरुको पृयपात्र रहेछ भन्ने अड्कल काटेँ । रुँघा गाविसकै स्कूल भएकोले त्यस स्कूल रुँघाकै विद्यार्थीहरुले भरिएको हुन्थ्यो । ऊ रुँघा स्कूलबाट सात कक्षामा फस्ट भएर आएको रहेछ । पढाइमा मात्र होइन विद्यार्थीका हकहितका कुरामा समेत चासो लिने ऊ त लिडर नै पो रहेछ । यस्तो मरन्च्याँसे केटाले अधिकांश विद्यार्थीहरुको नेतृत्व लिएको देख्दा ताजुब लाग्थ्यो ।

पढाए सिकाएको कुरा त ट्याप्पै टिपिहाल्थ्यो । स्कूलबाट सञ्चालित अतिरिक्त क्रियाकलापहरुमा कुनैमा भाग लिन छुटाउँदैनथ्यो । नयाँगाउँबाट आएकी खीमा पनि ऊभन्दा पहिल्यै भर्ना भएर त्यसै कक्षामा फस्ट गर्लको पहिचान बनाएर पढिरहेकी थिई । आठकक्षामा पढिरहेकाभद्रबहादुर, हरिहर, रुद्रमणि, किरण, तुल्सीराम, बालकृष्णहरु पनि प्रतिष्पर्धामा खरा नै थिए । नौ दशकक्षमा पढिरहेका ज्ञानी, डाइमन, कविता, पविता, कृष्ण, टीका, लालबहादुर, कुलबहादुर, लोकबहादुर बोहरा आदि समेतका खराहरुको जमातले स्कूलको भविष्य उँभो लाग्ने कल्पनाले रोमाञ्चित हुन्थेँ म ।

एउटा जिल्लाव्यापी सांस्कृतिक कार्यक्रममा उसको अगुवाइमा बेदराम पुन (बाँसुरी), भुमबहादुर बिक (मादल), तारा ओली, सुरशा बांठा (गायन), भुपेन्द्रा केसि, विष्णु चन्द, कालिन्दा कठायत, बालकृष्ण ओली, नारायण खड्का, डायमन पुन (नृत्य) आदि विद्यार्थीहरुलाई प्रतिष्पर्धामा पठाएँ ।
हाम्रो स्कूलको गीतको बोल थियोः
रेलैको झ्यालझ्यालैमा रुमालै फिरिरी
फर्केनन् मेरा प्रदेशी दाजु बजाउदै बासुरी !
हाइ हाइ बाटो छेकु कि जाले रुमालै राखुकी ………

उक्त टोली नृत्य, गायन र वाद्यवादन तीनवटै बिधामा प्रथम एवं दोस्रो स्थान हासिल गरेर फर्किएको थियो । हाजिरीजवाफ खेलकूद आदिमा पनि एकपटक मात्र होइन पटकपटक जिल्लास्तरीय प्रतियोगितामा रित्तो हात फर्किँदैनथ्यो उसको टोली ।ऊजस्तै मेधावी खेलाडीहरुको अर्को टोलीले चौरजहारीमा आयोजना गरिएको बीरेन्द्र शिल्डमा प्रथम स्थानको शिल्ड नै बोकेर ल्याएको थियो ।

ऊ स्कूलबाट बिचबिचमा हराउने पनि गथ्र्योे । केही दिनपछि स्कूलमा झुल्किएपछि उसले शिक्षक एवम् स्कूल प्रशासनलाई स्पष्टीकरण दिनुपथ्र्योे । कहिले खुशी भएर स्पष्टीकरण दिन्थ्यो त कहिले दुखित हुँदै ।

मलाई कुनै पनि विद्यार्थीले स्कूल छोडेको पटक्कै मन पर्दैनथ्यो । स्कूलबाट निर्देशित अतिरिक्त क्रियाकलापहरु बाहेक अन्य क्रियाकलापमा लागेको उति मन पर्दैनथ्यो ।
बारम्बार हराउन थालेपछि एकदिन मैले हर्कलाई बेसरी हप्काएँ । सधैँ निडर हुने विद्यार्थी आज एकदमै हतप्रभ देखियो । उसले शिर निहुराउँदै ओठ फरफरायो र पिलपिल पा¥यो । केही भन्न खोजिरहेको थियो तर भन्न केही सकेन । अरु विद्यार्थीहरुले पनि मलाई उसको बारेमा बुझाउन चाहन्थे । तर मैले उसको पक्षमा गरेका उनीहरुका कुरा पनि सुन्न चाहिनँ ।

“मलाई अरु केही थाहा छैन । वश् आइन्दा नियमित स्कूल आउनू, होइन भने यो स्कूल छोडिदिए हुन्छ ।”

नभन्दै भोलिपल्टदेखि ऊ स्कूल आउनै छोड्यो । एकदुईदिनमा आउला भनेर पर्खिँएँ तैपनि ऊ आएन । ऊ धेरै दिनसम्म स्कूल नआउँदा लाग्यो यसले त स्कूल नै छोडिदिएछ । मेरो आफ्नो व्यवहारप्रति पछुतो लाग्नथाल्यो । उसलाई त्यतिविधि नहप्काको भए पनि हुने । उसले के बिगारेको थियो र ? अनुपस्थित हुँदाहुँदै पनि अब्बल नतिजा ल्याइरहेको थियो । स्कूलमा अनुशासनमा रहन्थ्यो । अरु विद्यार्थीहरुलाई अनुशासनमा राख्न मद्दत गथ्र्योे । उसले त स्कूलको शोभा नै बढाइदिएको थियो ।
अन्तत्वगत्वा मेरै कारणले उसले स्कूल छोडिदियो । म कसरी गरुँला अब्बल गुणको विद्यार्थीको क्षतिपूर्ति ? जति दिनको अन्तराल बढिरहेको थियो त्यति त्यति पछुतो र ग्लानीले छाति पोल्थ्यो मेरो । प्रकट गर्न प्रशासकलाई छुट थिएन ।”

“कुन ठाउँको पुल हो यो ?” कुरा सुन्दासुन्दै देवकुमारीले सोधिन् । मैले उनलाई हर्कको कथा सुनाउन रोकेर बाहिर हेरेँ । राप्तीको पुलमा रहेछौँ । यो राप्ती नदी नि । प्युठान र रोल्पा जाने बाटो यतैबाट छुट्टिन्छन् । ऊः उता हेर त त्यता भएर जान्छ बाटो रोल्पा जाने बाटो । मैले उत्तररतिर औँल्याएको पहाडतिर उनका नजर दौडिए ।
“अनि हेर त पुलको पारिपट्टिको गाउँ ।”
“कुन गाउँ हो र त्यो ?”
“गाउँको नाम त आएन तर त्यहाँका एकजना मान्छे हाम्रो घरमा बास बस्न पुगेका छन् ।“

“को हुन् र ?”
“कृष्णसेन इच्छुक । नेपालका प्रसिद्ध क्रान्तिकारी कवि ।”
“कहाँ छन् त तिनी अहिले ?”
“उनी द्वन्दव् कालमै पक्रिए र जेलमै मारिएछन् ।”
उनी कोही बितेको कुरा सुन्न सक्तिनन् भन्ने बिर्सिएछु मैले । अनुहार अँध्यारो पारिन् । गाडी पुल तरेर अगाडि हुत्तिइसकेको थियो, “हर्कको प्रसङ्गमा कसरी आइपुगे कृष्णसेनका कुरा ?”

“बाटोमै परेकोले चिनाइदेको । सायद विदेशतिर नगएको भए हर्क पनि त्यही उचाइमा पुग्थ्यो होला ।”
लफङ्ग्याउनकै लागि पनि उनले भनिन्, “हर्ककै बाल्यकालका कुरा सुनाउनू न बरु !”
मैले हर्कको प्रसङ्ग फेरि जोडेँ ।

एकदिन स्कूलमा चलेको हल्ला मैले पनि सुनेँ, हर्क स्कूल फर्केर आयो ।
हर्क स्कूल आयो भन्ने खबरले म पनि हर्षले हल्का भएँ । तर प्रकटमा उसलाई धम्क्याउने लहडले अझै छोडेको थिएन । उसको कक्षाको पहिलो पिरियड मेरै थियो । हाजिर लगाउँदा उसको नाम बोलाउनेबित्तिकै उसले दबेको स्वरले एस सर भनिहाल्यो । उसलाई निज्याएर हेरेँ पछिल्लो बेन्चमा शिर झुकाएर बसेको रहेछ । धेरै दिन स्कूल नआएकोले स्पष्टीकरण खाने डरले होला भन्ठानेँ । हाजिरी रजिष्टर बेन्चमा थन्काउँदै उसलाई अगाडि बोलाएँ, “ए हर्के ! तँ अगाडि आइज !”

ऊ शिर निहुराएर मेरो अगाडि प्रस्तुत भयो । यसै त दुब्लो झन् ख्याउटे भएको रहेछ ।
“भन् ! आजसम्म किन बेपत्ता भइस् स्कूलबाट हँ ? यही हो तेरो अनुशासन ? यही हो तेरो नियमितता ?”
ऊ त घुँक्कघुँक्क गर्दै धर्धरी रुन थाल्यो । टाउको झुकाएर दुवै हातले आँशु पुछ्दै थियो ।
“अझ रुन्छस् ?” मैले हात उचालेँ ।
खीमा नै उठी, “सर, कुरा त सुन्नुहोस् !”
“के कुरा सुन्ने मैले ? किन कुरा सुन्ने मैले ?” म खीमाप्रति नै राँकिएँ ।
“सर उसकी आमा बितेकीले ऊ स्कूल आउन नसकेको हो ।” खीमालाई मैले कुरा सुन्दिनँ कि भन्ने लागेछ । छिटो छिटो भनीसकी ।
“हँऽऽऽ ?” म स्तब्ध भएँ ।

“हो सर । ऊ, उसको दाजुभाइ दिदीबहिनी तथा बाबुलाई समेत छोडेर परलोक भइन् उसकी आमा । ऊ शोकमा छ ।” पछाडिबाट अर्को कसैले भन्दै थियो । मैले उसको अनुहार हेर्न सकिनँ । मेरो होस् हवास गुम होला जस्तो भयो । उसको पीडाबोध हुँदा चक्कर लाग्ला जस्तो भयो । हे भगवान, मैले के गरेछु यस्तो ? जसलाई यो बच्चो उमेरमा प्रमुख आधार आमा नै खोसिदिएर भयानक सजाय दैवले दिइसकेको थियो, उसैलाई पो म थप सजाय दिन उद्यत भैरहेको रहेछु । हरे ।

मैले पनि आँशु थाम्न सकिनँ । मेरो र हर्कको आँशुले सम्पूर्ण कक्षा रूलाइदियो ।
“जा बस् बाबु । जे हुनु भयो अब । पढ्ने मनदेखि नहार्नु ।” हर्क दुवै हातले आँशु उभाउँदै धरमराउँदै पछिल्लो बेन्चमा गएर टुक्रुक्क बस्यो । उसलाई विद्यार्थीहरुबाट आँशु लुकाउन पछिल्लै बेन्च सजिलो रहेछ । ऊ त्यहीँ घोप्टो प¥यो ।

म बाँकी हाजिर नलगाएरै अफिस कोठामा फर्किएँ । त्यो दिन कक्षामा आफ्नो पिरियड पढाउनै सकिनँ । उसमाथि त्यति ठूलो दैवी विपत्ती खनिँदा पनि म यतिसम्म बेपरवाह भएछु । सुनाए होलान् उसको कुरा विद्यार्थीले र शिक्षकहरुले पनि । तर मैले कान थुनेछु । सुन्दै सुनिनछु । उफ् । आत्मग्लानीले झन् झन् छाति पोल्न थाल्यो ।

केही दिनपछि उसलाई फकाउँदै भनेँ, “अब तँ मैसँग बस् ।”
उसले सहर्ष स्वीकार ग¥यो र मसँगै बस्न थाल्यो । त्यसै दिनदेखि मैले उसलाई हर्क मात्र नभनी हर्कभाइ भन्न थालेँ । सँगै बस्दा उसको पीडाको घाउ हेर्न मात्र सक्थेँ । कोट्याउन सक्दिनथेँ ।

शुक्रबारको दिनमा उसलाई आमा नभएको आफ्नो घर उक्लिन निकै गाह्रो हुन्थ्यो । मैले यो कुरा बुझ्थेँ र भन्थेँ, “हिँड मेरै घरमा ।“ ऊ लुरुलुरु हाम्रो घर सोलाबाङमा आउँथ्यो ।“

“हो त नि, अलिअलि सम्झिएँ, मैले हर्कभाइको अनुहार । त्यतिविधि पीडामा पनि सधैँ हँसिलोतसिलो देखिन्थ्यो ।” देवकुमारीका पनि आँखाबाट आँशु बगिरहेका रहेछन् ।
“हो त । घर आएको बेला आफ्नी आमाको अनुहार तिमीहरुकै अनुहारमा हेरेर भुल्दथ्यो ऊ । भुल्दथ्यो होला कि सम्झन्थ्यो होला !” मैले थपेँ । यतिबेलै हाम्रो गाडी घच्याक्क रोकिनेबित्तिकै कन्डक्टर करायो “खाना खान झरम् है सबै । अब उता गाडी कतै रोकिँदैन ।”
यतिबेला नै हर्कको फोन आयोः “सर, म नारायणघाट आइपुगेँ । खाना खान झरेको छु ।”

मैले जवाफ दिएँ, “हामी पनि गोरुसिँगे आइपुग्यौँ भाइ । हाम्रो भेट दाउन्नेको आसपासमा हुनसक्छ ।”
खाना खुवाइसकेपछि गाडी नयाँ झाँकले बत्तिन थाल्यो ।
“अनि के भयो ?” देवकुमारीले फेरि हर्ककै प्रसङ्ग कोट्याइन् ।

“उसको स्कूलमा निरन्तरता उस्तै रह्यो । कक्षा त के स्कूलका सबै विद्यार्थीहरुको मन जित्यो र स्कूलको नेतृत्व पनि उसैले लियो । केही समयपछि बिचबिचमा स्कूलबाट हराउन छोडेन । मैले उसलाई आफैसँग बसाल्दा पनि उसको इच्छालाई नियन्त्रण गर्न छोडिदिएँ । ऊ कुनै सांगठनिक कार्यक्रममा भाग लिन जाँदा मेरै स्वीकृतिमा गएको ठान्थे अरु विद्यार्थी एवम् सरोकार राख्नेहरुले । तर ऊ मबाट यस्ता कुराहरु छिपाएरै जान्थ्यो । मेरो अवरोधले उसको मन नबिझाओस् भनेर सतर्क हुनथालेको थिएँ म ।

ऊ स्कूल, परिवार, समाजको दृष्टिमा अझै अनुशासित बन्दै गयो । पढ्नमा अझै तेजिलो बन्दै गयो । उसको विविध क्रियाकलापले उसको प्रगतिलाई कुनै रोकावट नल्याइदिँदा मैले नै अवरोध गरेर के हुन्थ्यो र ? केही समयपछि उसले अकल्पनीय पीडाको वावजूद पनि सबैभन्दा तेज ठानिएकी खीमालाई टक्कर दिन थाल्यो । यी दुईभाइबैनाको प्रतिष्पर्धाले स्कूलमा नयाँ तरङ्ग ल्याइदियो ।
प्रतिष्पर्धाले मलजल पाउन थाल्यो । यी दुवैजनालाई पछार्ने हिसाबले तुलसीराम, हरिहरहरु पनि प्रतिष्पर्धामा उत्रिन थाले । मैले विद्यालयलाई नै ट्युशन सेन्टर बनाइदिएर उनीहरुलाई पढाइको प्रतिष्पर्धालाई अझै धारिलो बनाउन खोजेँ ।

यत्तिकैमा खीमा अकस्मात स्कूलबाट हराई । ऊ पनि फर्केर आउनेछे भन्ने लागेको थियो, तर फर्किनँ । ऊ त सिम्ली स्कूलमा भर्ना भैसकेको खबर पाएँ । मलाई यसले अरु दुखित बनायो । मेरो सपनामा ठेस लाग्न पुग्यो । लाग्यो, खीमालाई पनि मैले कुनै वचन लगाएँ हुँला । त्यसैले ऊ पनि भागी ।

तर बुझ्दै जाँदा कुरा त्यस्तो होइनरहेछ । एकजना शिक्षकले शिल्ड हार्नुमा तेरै गल्ती हो भनिदिएकोले सहन नसकी भागेकी पो रहिछ । यो कुरा उसैबेला थाहा पाएको भए ती शिक्षकसँग झगडा गर्थे हुँला । उसलाई आफ्नै बहिनीभन्दा बढी माया गर्दा पनि मलाई जानकारी नै नदिएर निस्किई ।

जे होस् उसको भगाईले स्कूलको समस्त प्रतिष्पर्धामा केही न केही ह्रास नआइछोडेन । हर्कलाई सबै विषयमा टक्कर दिने प्रतिष्पर्धीको अभावजस्तै भइदियो ।”


“अनि एसएलसी पास गरेपछि उसले आफ्नो प्रगतिलाई निरन्तरता दिएन त ?”

“त्यसपछि म पनि स्कूल छोडेर काठमाण्डौ आइसकेकोले उसले के के गर्दैछ भन्ने जानकारीमा आएन । कम्तीमा उसको क्षमतालाई मलजल गर्ने वातावरण भैदिएको भए अरु सामाजिक कार्यमा लाग्दो हो । केही पछि ऊ काठमाण्डौ पुगेर कोरियन भाषा सिक्न थालेछ । भाषा पास गर्ने बित्तिकै कोरियातिर हानिएछ । उसको जीवनको लागि पैँसा ठूलो थियो होला तर गाउँ र देशको लागि उसको क्षमता महत्त्वपूर्ण थियो । यो कुरा कसैले बुझ्न सकेन ।”

यसैबेला हर्कको फोन आयो “सर म त दुम्कीबास आइपुगेँ ।”
“हो ? हामी पनि बर्दघाट आइपुगेछौँ । अब हाम्रो भेट दाउन्नेमा हुन्छ भाइ । कति हो तिम्रो गाडी नम्बर ? गाडी रोक्न लगाउनू । अनि हाम्रो गाडी नम्बर पनि टिप त …. …. …. ।”

हर्कको कथा रोक्नु थियो अब, कथाको हर्के त प्रत्यक्ष भेटिँदै थियो । ऊ नजिकै आइपुगिसकेको थियो । पाँचदश मिनेटमै भेटिनेवाला थियो ।

बर्दघाटबाट उकालो लागेपछि दाउन्ने आइनपुग्दै मैले ड्राइभरभाइलाई अनुरोध गरेँ, “गुरुजी, एक्कैछिन दाउन्नेमा काम छ रोकिदिनू है ।”

“कहाँ रोक्न मिल्छ दाउन्ने ? लोकल गाडी हो यो थोरै ? गाडी रोकिँदैन ।” ड्राइभर च्याँठ्ठियो मात्र । उसले मान्ने छाँटकाँट देखाएन । केही पर दाउन्नेका होटेलहरु देखिन थाले ।
कन्डक्टरलाई अनुरोध गरेँ, “भाइ, एक्कै छिन रोकिदिनू न । अर्जेन्ट काम छ कि । म एक मिनेट पनि लाउँदिनँ के ।”

“हुँदैन, हुँदैन । यहाँ काम भए लोकल गाडीमा आउनुपर्दैनथ्यो ? रोक्न त सकिएला, तर पर्खन सकिँदैन, अर्कै गाडीमा आउनू ।” उसले पनि मानेन ।
दाउन्नेको उकालोको बजार पछि परिसकेको थियो । मैले देवकुमारीलाई चिमोटेँ । उनले कुरा बुझिहालिछन् । उनी त साँच्चिकै हो कि जस्तो गरी कराउन पो थालिन्, “ऐया नि मरेँ ! पेटै खायो ! आत्थुथुथु ! पखाला चल्ला जस्तो भयो लौन नि ! ए गाडी रोक्, छिट्टो रोक् !”
उनको विलाप सुनेपछि सबै यात्रीहरुले ड्राइभर र कन्डक्टरलाई नै हप्काए, “मान्छेको ज्यानै जाला भैसक्यो ! के हो यस्तो तिमीहरुको चाला ? यात्री पाए पाइलापाइलामा रोक्छौ । नपाइँदा मात्र एक्सप्रेस हुन्छ ?” सबैको होहल्लापछि गाडी घच्याक्क रोकियो । गाडी रोकिनेबित्तिकै देवकुमारीलाई समात्दै बाहिर तानेँ । उनी जङ्गल पसेजस्तो गरिन् । दुम्कीबासतिर आइपुगेको बस पनि हाम्रो छेउमै रोकियो । त्यसबाट हर्कभाइ ओर्लिएका देखिए ।

“सर, नमस्कार ।” उनले छिटोछिटो बोल्दै थिए, “यी यो कोसेली ल्याइदेको छु । बातचित फोनबाटै गरौँला । एकछिन रोक्न पनि गाडीले मान्दै मानेन । बल्लतल्ल रोकेको । म जान्छु है त ।”
“म्याडम आउँदैछिन्, पर्ख पर्ख !”

म्याडम घारितिरबाट हामीतिरै दौडिँदै थिइन् । हाम्रा गाडीहरु हर्न बजाउँदै विपरीत दिशातिर बिस्तारै घिस्रिरहेका थिए । हर्कले हत्तपत्त मेरो हातको कोसेली तानेर म्याडमसम्म पुगी उनको हातमा राखिदिए “ल गएँ है त ! राम्रोसँग जानुहोला ।” भन्दै आफ्नो गाडीतिर कुदे । हाम्रो गाडी पनि हामीलाई छोडेर धेरै पर पुगिसकेकोले हामी पनि भेट्टाउन कुद्यौँ ।

“कोसेली थाप्नलाई मात्र थियो त त्यसरी गाडी रोकेको ?” आफ्नो सिटमा पुगिसकेपछि देवकुमारीले स्याँस्याँ गर्दै चित्त दुखाइन् ।
“के गर्छ्यौ त ? गाडी रोक्नै मानेका थिएनन् । झण्डै गाडी छुटाएका । अधबाटोको भेट यस्तै हो ।”

 36 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top