Free songs
Home / लेख/आलेख / हजारी

हजारी

तपाईँहरु उसलाई ‘सयपत्री’ भन्नुहुन्छ । तर म उसलाई ‘हजारी’ भन्छु । ‘सयपत्री’ भने पनि ‘हजारी’ भने पनि उही ‘फूल’ लाई जनाउने हो । यो मेरो दृष्टिकोण हो । यसमा तपाईँ सहमत हुनुहुन्न, किनकि तपाईँको दृष्टिमा यो ‘हजारी’ शब्दभन्दा ‘सयपत्री’ शब्द धेरै दृष्टिले सभ्य भाषा हो । तर मैले उसलाई ‘हजारी’ नै भन्न मन पराउँछु । उसलाई भने ‘हजारी’ भनेको पटक्कै मन पर्दैन । तपाईँले ‘सयपत्री’ भन्नुभो भने उसले, “हजूर ! ज्यू ! के भनी बक्स्यो ? फेरि भनिबक्स्योस् न” भनी ऊ नरम बन्छे । तर मैले उसलाई ‘हजारी’ भनी बोलाउँदा ऊ, “के भनिस् रे ? फेरि भन्, भन् त ! तेरो थुतुनो च्यातिदिन्छु !” भनेर आँखा तर्छे ।

उसले मलाई आँखा तरोस् कि गाली गरोस् मलाई केही फरक पर्दैन, किनकि म उसलाई तपाईँहरुभन्दा सैयौँ गुणा बढी मायाँ गर्छु । उसलाई मैले नै फूलबारीमा रोपेको हुँ, मैले नै गोडमेल गरेको हुँ । उसको वरिपरि उम्रेका झारहरुलाई उखेलेर मैले नै फालेको हुँ । मैले नै मलजल गरेको हुँ, मैले नै दिनहुँ पानी हालेर सुन्दर फूल फुल्ने अवसर दिएको हुँ । मैले नै माली बनेर उसलाई दिनदिनै स्याहारसम्भार गर्दै आएको हुँ । ऊ कोपिला होउन्जेलसम्म ऊप्रति तपाईँहरुको पटक्कै ध्यान गएको थिएन । तर जब ऊ पूर्ण रुपमा फक्रिई अनि तपाईँहरु ऊप्रति लोभिनुभो । उसको वरिपरि झुम्मिनुभो । उसलाई धेरै मायाँ गरेको नखरा गर्नुभो, ‘आहा क्या राम्रो फूल ! यो फूललाई म नै दिलमा सजाउँछु’ भनी लुँछाचुँडी गर्नुभो । यो कुरा उसलाई बढी मन पर्यो । उसले पनि जबसम्म उसमा कोपिला नै लागेको थिएन तबसम्म आफूलाई कसले हेरबिचार गर्दैछ भन्ने बुझ्नसक्ने भएकी थिइन । जब फूल फक्रिने अवस्था भयो तब उसले बुझ्न थाली, त्यसबेला मभन्दा तपाईँहरु नै उसका अगाडि देखा पर्नुभो र तपाईँहरुजस्तै लोकाचार पार्नेहरुलाई नै उसले मन पराउन थाली ।

तपाईँहरु उसलाई ‘सयपत्री’ भन्नुहुन्छ । अर्थात सयओटा पत्र भएको फूल । मैले उसलाई ‘हजारी’ भन्न किन मन पराउँछु भने ऊ सय होइन हजार पत्र भएकी फूल हो । तपाईँहरुभन्दा मैले ९०० पत्र बढी भएको फूलको रुपमा लिएको छु उसलाई । तर यो कुरा कहिले पनि उसले सम्झन सकिन । ऊ त भन्छे, ‘सयपत्री शब्द त्यत्तिकै राम्रो छ, थप त्यसमा चारवटा अक्षर छन् । तर हजारी शब्दमा तीन अक्षर मात्र छन् । हजारी गँवार शब्द हो, पाखे शब्द हो । एउटा सुन्दर फूल गँवार र पाखे नाम लिएर बाँच्न सक्दिन । तसर्थ म चाहन्छु ‘हजारी’ भनी सम्बोधन गर्ने कुनै पनि व्यक्ति मेरो अगाडि नआओस् ।’

हो, मैले पनि उसलाई सुन्दरताकै लागि फूलबारीमा रोपेको हुँ, मैले तरकारी खान वा फलफूल खान रोपेको होइन । सुन्दरता मेरो नजरको लागि मात्र होइन । सुन्दरतामा तपाईँहरुको जति बढीको नजरमा पर्यो उसको सुन्दरता त्यति नै माझिने कुरा हो । तसर्थ तपाईँहरुले उसलाई सुन्दर देखेकोमा मेरो कुनै आपत्ति छैन । तर तपाईँहरुले उसलाई सुन्दर देखेर टिप्दै, कुल्चिँदै गरेकोले यसै कुरामा मेरो घोर आपत्ति हो । तपाईँहरुमध्ये एकजना साथीलाई पनि ‘सयपत्री’लाई ‘हजारी’ भनेकोमा पटक्कै मन परेको थिएन । उहाँले मलाई सँधै गिज्याइराख्नु हुन्थ्यो । एकदिन मलाई झनक्क रिस उठ्यो र भनिदिएँ, “यो मैले रोपेको फूल हो, तसर्थ यसलाई म ‘हजारी’ भनूँ कि ‘लाखे’ भनूँ कि, तपाईँलाई किन टाउको दुखाइ ?” तर उहाँले, “म यस कुरा प्रमाणित नगरी छाड्दिन” भन्नुभो । अनि बारीमा गएर मेरो एउटा हजारी बोटको फक्रिनै थालेको कोपिलालाई नङले कोट्याउँदै जानुभो र एकैछिनमा सबै कोपिला च्यातचुत पार्नुभयो । अनि त्यस फूलको पत्रहरु गन्न थाल्नुभयो । उहाँले जति गने पनि पचास पत्र भन्दा बढी पुर्याउनसक्नु भएन । फेरि अर्को कोपिला कोट्याउनुभो । फेरि अर्को कोपिला कोट्याउनुभो । यसैगरी धेरै कोपिला परीक्षणमै बिगारिदिनुभो र अन्ततः जति गने पनि पचास पत्र भन्दा बढी पुर्याउनसक्नु भएन अनि, “देख्यौ ? सयओटा पत्र नै नहुनेलाई किन ‘हजारी’ भन्ने ?” भनेर म माथि प्रश्नचिन्ह लगाइदिनुभयो । त्यसपछि ती कोट्याइएका कोपिलाहरु ‘घोपे हजारी’ नभई सबै ‘केचे’ ‘केचे’ भई फुले ।

मैले भनेँ, “अनावश्यक ठाउँमा कोट्याउँदै जाँदा कुनै वस्तुमा पनि राम्रो कुरा पत्ता लाग्दैन । तपाइँकै जीउ कोट्याउँदै गएँ भने एकपटक तपाईँ सर्वाङ्ग नाङ्गो हुन सक्नुहुन्छ । त्यसपछि पनि कोट्याउँदै गएमा तपाईँको पेटभित्र ठूलो आन्द्रा भेटिन सक्छ र त्यसपछि कोट्याएमा तपाईँभित्र गुहु नै गुहु भेटिने छ । यसको अर्थ तपाईँलाई ‘गुहुको भण्डार’ हुनुहुँदो रहेछ भन्न मिल्दैन क्यारे ! अनि सानो भुँडी हुनेलाई ‘गुहुको सानो भण्डार’ र ठूलो भुँडी हुनेलाई ‘गुहुको विशाल भण्डार’ भन्नुपर्ने होला हैन ?”

उहाँले केही नभनी मलाई आँखा तरेर जानुभो ।

पछि तपाईँहरु धेरै व्यक्तिहरु एकएक गरेर मेरो बारीमा आउनुभो । मेरो बारीको हजारीलाई फकाउँदै एकजनाले भन्नुभो, “नानी, तिमीलाई म मन्दिर लैजान्छु है ? त्यहाँ देवीदेवताको दर्शन गर्न पाउँछ्यौ” अर्कोले भन्नुभो, “नानी, म तिमीलाई गलामा लगाउँछु है ? मेरो गलामा तिमी सुहाउँछ्यौ” अर्कोले भन्नुभो, “नानी, तिमीलाई म कानमा सजाउँछु है ? तिमीले मेरो अनुहारमा सुन्दरता थपिदिन्छ्यौ ।” अर्कोले भन्नुभो, “नानी, म तिमीलाई मेरो कोटमा सिउरिन्छु है ? तिमीले मेरो भद्रता थपिदिन्छ्यौ ।” अर्कोले भन्नुभो, “नानी, म तिमीलाई गुच्छा बनाएर ठूलो मान्छेलाई उपहारको रुपमा भेट गराइदिन्छु है ? तिमीले सम्मानमा उँचाइ थपिदिन्छ्यौ ।” अर्कोले भन्नुभो, “नानी, म तिमीलाई कलशमा सजाइदिन्छु है ? तिमीले शुभ लक्षण भित्र्याइदिन्छ्यौ ।”  “………तिमी मेरो घरमा सुगन्ध फैलाइदिन्छ्यौ”, “………” आदि के के हो के के अनेक चिप्ला कुरा गर्दै मेरो हजारीबाट एकएक फूल टिप्तै, लग्दै गर्नुभो । तर मेरो हजारी उसको काण्डमा फुलेको अन्तिम फूल नचुँडिएसम्म तपाईँहरुप्रति नतमस्तक भइरही ।

जब उसबाट सबै फूलहरु चुँडिइसके ऊ कंकालजस्तै जिङ्रिङ्ङ ठडिन पुगी । अनि तपाईँहरु सबैले उसलाई हेर्नसम्म पनि छाडिदिनुभो । तपाईँको प्रत्येक चुँडाइको पिडा मेरो हजारीले बेहोरिरहेकी थिई । उसको आँत सुकिरहेको थियो । तर “पानी खाऊ, सयपत्री” भन्न तपाईँ कहिल्यै मेरो बारीमा आउनुभएन । उसका पात पनि सुक्तै झर्दै गर्न थालेका थिए । तर तपाईँहरुले “त्यति सुन्दर ‘सयपत्री’ का पात किन सुके ?” भनेर कहिल्यै सोधखोज गर्नुभएन । अनि मात्र बुझी मेरो हजारीले कि,  ‘तपाईँहरु कत्तिको स्वार्थी हुनुहुँदो रहेछ’ भन्ने कुरा । तर उसको बैंस लुटिइसकेको थियो, उसको विगत, वर्तमान र भविष्य सबै लुटिएको थियो । अब मेरो हजारीको होश् खुले पनि केही काम थिएन ।

मैले यो अवस्था हेर्न सकिन । मैले हजारी बारीको गोडमेल गर्न फेरि शुरु गरेँ । दिनहुँ पानी हालिदिएँ, अनि उकेरा लगाउँदै मल पनि हालिदिएँ । अनि मात्र उसले हरिया पात फेर्न थाली । फेरि मेरो हजारीको बैंस भरिएला जस्तो हुन थाल्यो । तर मैले मेरो हजारीलाई कहिले पनि ‘सयपत्री’ भनी तल्लो मान दिन सकिन !

1,828 total views, 2 views today

About Purna Oli

One comment

  1. nice creation Purna sir.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top