स्वर्ग र शान्ति दिदी

 

(१)

निरव आँगनमा यात्रारत रवि । अनगिन्ति सन्तानहरुको दिनभरिको धरालोको कर्तव्य निभाएर शान्त शशीलाई जिम्मा लगाउँदैछन् ।उनी आफ्ना सन्तानहरुको अनियमित उखरमाउलोले अत्यन्तै थकित देखिन्छन् । आफ्ना सन्तानतिर प्यारको मुस्कान सहित ‘गएँ है त, राम्रोसँग बसे है’ भन्दै लत्रिँदैलत्रिँदै डाँडो काट्दैछन् । उनको प्रस्थानको बेला उपस्थित एकदुई ताराहरु अकमकाइरहेका जस्ता देखिन्छन् । खासखुस चल्छ,‘केले विदाइ गर्ने ?’त्यतिखेरमै वायु एक मुठी अविर सहित उपस्थित भइदिन्छन् । त्यही अविर मुहारभरि दलिदिएर ताराहरुले रविको विदाई गर्छन् । अविर आँगनभरि पोखिएको छ । हावाले परपर पुर्‍याइदिँदा सिँगो आकाश रङमङिएको छ, लालित्य चढ्दै छ । झन्झन् अन्तरिक्ष लाललाल हुँदै जाँदो छ ।
लाल अन्तरिक्षको सुदूर पूर्वमा अत्यन्तै तेज एक बिन्दू चम्चम्चम्चम चम्किरहेको छ । ताराहरु त के सूर्यभन्दा पनि लाखौँ गुणा वेशी प्रकाशले प्रज्वलित छ । ती बिन्दूलाई ठीक बीचमा पारेर वरिपरि अनगिन्ति बिन्दूहरु चम्किरहेका छन् । तिनै ज्योतिर्मय बिन्दू स्वरुपलाई अरु बिन्दूहरुले नियमित रुपमा चक्कर लगाइरहेका छन् ।
चम्चम्चम् चम्किने किरण फैलिएर बूँदबूँदमा आकाशको दशैदिशातिर उडिरहेका छन् । आकाशतिर मात्र होइन केही किरणहरु तलतिर झरिरहेका छन् । झरिरहेको किरण त खँदिलो प्रकाशको मुस्लो पो बन्दै छ ! ओहो ती किरणको मल्टो मतिर खनिन पो थाल्यो । स्पर्श कति शितल छ ! के ममाथि शित ओइरिरहेको हो ? ओहो यो के भइरहेको छ ? ती किरणको स्पर्शमा आउनेबित्तिकै म यतिविधि हलुङ्गो कसरी भएँ ? हावाको मन्दमन्द सिरसिरमा पनि म उचालिँदैछु ! म शान्तपनको परमानन्दको अनूभूति सँगालिरहेको छु । म अडिएको जमिनभन्दा म धेरै माथि माथि आइसकेछु । ती किरणहरुको मल्टोसँगै म पनि घुमिरहेको छु । म कसरी उड्न पुगेँ ? खोइ मेरो शरीर? म कसरी यतिविधि निर्मलीकृत भएँ ? ओहो मेरो काखीमा त सेतासेता तर धेरै पातला एकजोडा पखेट्टाहरु पनि उम्रिसकेछन् । मेरा पखेट्टाहरु फ्याट्टफ्याट्ट गर्दै मलाई गति र दिशा प्रदान गरिरहेका छन् ।
म त देवदूत पो भएछु ! सपनामा विरलै देख्ने गरेको देवदूतमा कसरी म परिणत भएँ ?
त्यो पारिको लालित्यको केन्द्रमा गोलोगोलो आकृति कसैको शिरझैँ प्रतित भइरहेको छ । त्यो आकृति मुस्कुराइरहेको छ र ओठ फर्फराउँदै मलाई नै लक्षित गरेर साउती मार्दैछ । आहा ! कति कर्णपृय ध्वनि !! यो सङ्गीतमय लयमा उसले भन्दैछः ‘मेरो पृय मीठो बच्चा, आऊ, आऊ । म नजिकै आऊ । म तिम्रो गालामा चुम्बन गर्न चाहन्छु । म तिमीलाई पाएर आज धन्यधन्य भएको छु ।‘
ती प्रकाशका किरणहरु त लाखौँलाख देवदूतहरुमा परिवर्तन भइरहेका रहेछन् । हावामा कावा खाँदै परपर जाँदैछन् र त्यो विशाल आकृतिलाई चुम्बन गर्दैछन् । म पनि मच्चिँदै जान्छु त्यतैतिर । ती आकृतिले मलाई हातमा लिन्छन् र मलाई म्वाइँ खान्छन् । म पनि ‘मेरा परमपिता’ भन्दै उनको गालाभरि बारम्बार म्वाइँ खाइदिन्छु । मलाई परमानन्दको अनुभूति भइरहेको छ ! मैले आफूलाई भाग्यशाली ठानिरहेको छु ! म धनधान्यले परिपूर्ण भएको अनुभूति गरिरहेको छु !!
म त्यहाँबाट पनि अझै परपर जान्छु । सम्पूर्ण आकाश शान्त विशाल समुन्द्रमा परिणत भइसकेको छ । म अरु देवदूतसँग पौडिँदै पौडिँदै किनार लाग्न चाहन्छु । किनार फेला पर्छ । किनारमा पुष्प बाटिका र जूनकिरीहरुले सुसज्जित शिखर छ । अरुसँगै शिखरको तलतल झर्दैजान्छु र सानो फाँटको एउटा सफेद भवनभित्र म पनि छिर्छु ।
बजिरहेको सुमधुर गीत बन्द हुन्छ । झलमल्ल बत्तीहरु बल्छन् । मेरा आँखाहरु उज्यालोको तिरिमिरिले खोलिन्छन् । म आफ्नो वरिपरि हेर्छु । एउटा ठूलो व्यवस्थित हलमा आफूलाई पाउँछु । पुरुषार्थ गरिरहेका दर्जनौँ सफेदपोशी लाइनबद्ध शान्त र निश्चल बसिरहेका छन् । सिधा अगाडि हेर्छुः सुसज्जित मञ्चमा शान्ति दिदी तीनचार ब्रह्मकुमारीहरुद्वारा घेरिएर योगासन मुद्रामा बस्नुभएको छ । अगाडिको भित्तामा ब्रह्माबाबा (ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक) को विशाल तस्बिर छ । तस्बिरको पार्श्वभागमा लाल क्षितिजको परतिर एक बिन्दू चम्किरहेको छ । म यसै बिन्दूको श्वैरकल्पनामा डुबिरहेको रहेछु ।

म यथास्थितिमा आइपुग्छु । परतिर मेरी पत्नी आँशु बर्बर्ति झारेर टोलाइरहेकी छिन् । ती आँशुले मैले भर्खरै आर्जन गरेको परमानन्दको अनुभूतिलाई खिर्लिप्पै पारेर बगाइदिन्छ ।
ब्रह्मकुमारीहरु त्यहाँबाट प्रस्थान गरिसकेछि शान्ति दिदीले मुरली सविस्तार सुनाउन थाल्नुहुन्छ ।
……………………………. …

(२)
त्यसताका मेरो सानो परिवार पीडाको आहालमा चुर्लुम्ब डुबेको थियो । पीडाबाट त्राण पाउन र पीडालाई पारिवारिक भरथेगबाट थामथुम पार्न म निवासस्थानबाट पलायन हुनुपर्ने बाध्यताले आफ्नो नियमित कामबाट अस्थायी अवकाश लिएर परिवारसहित भैरहवा पुगेको थिएँ । सम्झाउनेहरुले जसरी सम्झाए पनि मनले पटक्कै मान्दैनथ्यो । आफूले आर्जन गरेको सन्तानरुपी विशाल एउटा हाँगो चुँडिएको मर्म भोग्नेहरुलाई मात्र अनुभूति हुँदो हो । पश्चात्तापका ठूलाठूला भूमरीहरु चल्थे । पीडाका आँधीबेहरी कसैगरी थामिनसक्नुका थिए ।
यत्रो समयसम्म जोगाएर हुर्काएर खुट्टा आफै टेक्ने अवस्थामा पुर्‍याउनै आँट्दा अपूरणीय क्षति बेहोर्नुपरेको थियो । यो दोषको भागीदार आफै हुँ भन्ने निश्चय गर्थ्यो हृदयले । सबैलाई आफन्तजस्तै ठान्नु, आफ्नो पछि को लागेको छ भन्ने चासो नदिनु, सन्तानलाई कहिल्यै पनि जीवनको महत्त्व बुझाउँदै सतर्क नगराउनु, उनीहरुले चाहेको चिज मरीमरी पुर्‍याउनु, उनीहरुको आवश्यकता र परिपूर्ति गर्ने साधनस्रोतबीच तालमेल मिलाउन नसक्नुको परिणति नै यो क्षति हो भन्ने लाग्थ्यो र आफ्नो किँकर्तव्यमूढताप्रति ग्लानी जाग्दथ्यो । फलस्वरुप अरुले थाहा नपाउने गरी आफूलाई सर्वाधिक सजाय दिन मैले केही जोखिमपूर्ण उपायहरु खोज्न तल्लिन हुन्थेँ । आश्रय लिएको डेरामा नेटको सुविधा थियो । How to suicide ? What is the easy method of killing own self ? टाइप गर्दै गुगल सर्च इन्जिन प्रयोग गर्थेँ । उपायहरु खोजेभन्दा पनि पर्याप्त पाइन्थे । तर प्रत्येक उपायको निश्कर्षमा लेखिएको हुन्थ्योः ‘काल नआई मर्नु सजिलो छैन । यो उपायको साइड इफेक्ट भनेको केहीगरी मर्न सकिएन भने अङ्गभङ्ग भइने निश्चित छ । अङ्गभङ्गरुपमा पराश्रित भएर बाँच्नु भनेको वर्तमानमा भोग्नुपरेका सम्पूर्ण पीडाहरुभन्दा पनि भयानक पीडा हो ।‘
आफ्नो इहलीला समाप्त पार्न खोज्ने चाहनालाई यही निश्कर्षले तर्साउँथ्यो । केही समयपछि यस विषयमा गुगलसर्च गर्न समेत छाडिदिएँ ।
छोरी अस्मिता र कान्छो छोरा परिक्षीत हामीभन्दा धेरै बुझाउ थिए । भैरहवा पुगेपछि यिनीहरुले हाम्रो अगाडि कहिले पनि एकथोपा पनि आँशु देखाएनन् । त्यो पीडा हाम्रो लागि पचाइदिए नभनौँ लुकाइदिए । फलस्वरुप अस्मिताले हाम्रो जलिरहेको मनमा शितलता छर्किन धार्मिक चिन्तनको लागि मन्दिर मन्दिरमा पुर्‍याकउँथी भने छोरा अलि वैज्ञानिक चिन्तन गर्ने खालको भएकोले भौतिक उपायहरु सुझाउँथ्यो । अपितु मैले भागवत गीता नपढ्दै उसले धेरैपटक दोहोर्‍याइसकेको रहेछ भन्ने यस दुर्घटनापछि मात्र थाहा भयो । उसले एमबिबिएसका वजनदार पुस्तकको साथसाथै भागवद्गीता लगायतका धार्मिक ग्रन्थ सँगसँगै अध्ययन गर्ने गरेको रहेछ । ‘यो पढ्नुस् बा !’ भनेर आफ्नो किताबको थुप्रोबाट गीता निकालेर दिएपछि म जिलखाएँ । गीतालाई एक भौतिक ग्रन्थको रुपमा हेर्ने हो भने यो विभिन्न योगविधिहरु सविस्तार बताइएको व्यावहारिक पुस्तक पनि हो । पढेको कुरा मनसम्म पुगेन भने पढाइको अर्थ रहँदैन । अतः पढाइबाट योगविधिहरुबारे जानकारी लिनुपर्ने र योगकै माध्यमबाट मनलाई शान्त पार्नुपर्ने उसको सुझाव हुन्थ्यो ।

मैले गीता तीनचार चोटी दोहोर्‍याएर पढेँ र संस्कृत श्लोक तथा नेपाली विस्तार कम्प्युटरमा उतारेँ । महाभारतको श्लोकहरु पनि दोहोर्‍याएर पढेँ । यी ग्रन्थद्वारा केही दिनसम्म मनलाई बुझाउन सकिए पनि महाभारत युद्ध अन्यायबोधको कारण प्रतिशोध स्वरुप लडिएको लडाइ हो भन्ने निश्कर्ष निकाल्न पुग्थेँ । कुमारावस्थाका अबोध अभिमन्यूलाई दुषचक्रमा फसाएर मारिएको जस्तै आफ्नो सन्तानलाई मारिएको अर्थ लगाउन पुग्थेँ । दुर्घटनाकालमा त्यसको बदला लिन केही पनि गर्न नसकेकोमा हृदय विदीर्ण हुनपुग्थ्यो ।

गीता ज्ञानले कृष्णभक्तितिर चासो बढाइदियो । त्यसपछि हामीहरु कृष्ण मन्दिरहरु खोज्दै हिड्न थाल्यौँ । कृष्ण मन्दिरमा मङ्गलबारको दिनमा विशेष भजन हुँदोरहेछ । भजनपूर्वका पूजाआजाका विधिविधानहरु लम्बेतानका हुन्थे । ती विधिविधानको लागि आवश्यक पर्ने पात्रहरु (शंखघण्ट तथा पूजाका भाँडाहरु) ले मन्दिरको प्राङ्गन सबै ढाकेको हुन्थ्यो । ती पात्रहरु तथा प्रसादहरु प्रदर्शनमा सम्पन्न भक्तजनहरुले प्रतिष्पर्धा गरेझैँ प्रतित हुन्थ्यो । फलस्वरुप पूजारीहरुको ध्यान हामी पाँचदश रुपैँया चढाउनेप्रति उति जाँदैनथ्यो । अपितु गीतामा पुष्प, जल र पत्र बाहेक आफूलाई अरुथोक केही नचाहिने कृष्णजीले बताइरहेका हुन्थे ।

भाइ मुकुन्द शर्माले यस दुर्घटनापछि पूरै समय दिएर मलाई यथास्थितिमा ल्याउन सहयोग गरेका थिए । भैरहवा आइसकेपछि पनि उनीसँग बारम्बार फोन हुन्थ्यो । उनको सुझावअनुसार शुरुमा क्रिश्चियन मण्डलीसँग हाम्रो भेट भयो । हामी भजनमण्डलीमा पनि जानथाल्यौँ र उनीहरुका प्रतिनिधिहरु पनि हाम्रो डेरामा आउन थाले । उनीहरुले दिने आशिर्वादले कताकता पूरै शरीर शितल भएझैँ लाग्थ्यो । हाम्रो घरभेटी क्रिश्चियनहरुप्रति अति क्रुद्ध रहेछन् । उनीहरु घरमा पसेपछि हामीहरुलाई नकारात्मक दृष्टिबाट हेर्ने मात्र होइन कोठा नै सार्न बाध्य पार्न थाले । हामी उनको इच्छाविरुद्ध उनीहरुसँग सम्पर्क गर्न सक्दैनथ्यौँ । भैरहवास्थित पाष्टर भोज चौधरीजीले बाइबल र क्रिश्चियन धर्मसम्बन्धी विभिन्न पत्रपत्रिकाहरु उपलब्ध गराइदिनुभएकोले भजनमण्डलीतिर नलागी कोठामै ती पुस्तकहरु अध्ययन गरेर केही दिन बितायौँ ।

यो अध्ययनले पनि हाम्रो मन दीगो रुपमा शान्त हुने लक्षण देखिएन ।
कसैको सल्लाहअनुसार विपश्यना ध्यानयोग केन्द्र पुग्ने उपाय सोच्नथाल्यौँ । संयोगवश भैरहवा मिलनचोकस्थित नारायण क्लोथ स्टोरका मालिक नै यसका सम्पर्क बिन्दू हुनुहुँदो रहेछ । विपश्यनाको लागि मेरो तीन महिनापछि मात्र पालो आउने भयो भने भनसुन गरेर पत्नीलाई भने एकमहिनापछिको समूहमा मिलाइदिने वचन दिनुभयो । तर एक्लै उनले विपश्यनामा जान मानिनन् ।
भैरहवामै आर्ट अफ लिभिङको कक्षा पनि हुँदोरहेछ । हामीले त्यो कक्षा पनि लिन चाह्यौँ केही समय दाङतिर कक्षा भइरहेकोले एकमहिना कुर्नुपर्ने भयो । पछि सञ्चालकको खुट्टा फ्र्याक्चर भएको कारणले त्यो कक्षा पनि रोकिन पुग्यो ।

हामी पानीबिनाका माछाझैँ छटपटाइरहेका थियौँ । प्रतिशोध लिन सकेमा मात्र मनले शान्ति पाउने निश्कर्ष निकाल्थ्यो आलो घाउमा । प्रतिशोध लिनमा मुस्लिमहरु नै अगाडि रहेको विभिन्न घटनाहरु देखेसुनेको थिएँ । प्रतिशोधका विधिहरु मुस्लिम धार्मिक ग्रन्थहरुमा उल्लेख भएको हुनुपर्ने अड्कल गरेँ । हाम्रो डेरा भैरहवा मेडिकल कलेजको छेवैमा थियो । हाम्रो डेराको उत्तरपश्चिममा खजनहा गाउँ थियो । खजनहा गाउँ मुस्लिमहरुको बस्ती भएको गाउँ हो । गाउँमा मस्जिदहरु थिए । मस्जिदबाट माइकमार्फतका अल्लाह अल्लाहका ध्वनिहरु घरका भित्ताहरु फोरेर कोठासम्म गुन्जन्थे । हामीले किनमेल गर्ने पसलहरु मुस्लिम समुदायकै हुन्थे । मस्जिदमा र मुस्लिममा पुगेर मुस्लिम ज्ञान बारे सोधखोज गर्नथाल्यौँ । छोरी अस्मिताले कुरान नै खोजेर ल्याइदिई र कुरान पनि अध्ययन गर्न थालियो । तर कुरानमा प्रतिशोधको कुनै नामोनिशानै थिएन । हिन्दू धार्मिक ग्रन्थ र बाइबलको मिश्रणजस्तै लाग्यो कुरान पनि ।

मैले त जसोतसो मन थामथुम पार्न सक्दथेँ । तर मेरी पत्नीको मन थाम्न यी कुनै विधिहरुबाट सम्भव भइरहेको थिएन । पत्नीले हरेक मन्दिरहरुमा पूजारीहरु भेटिनेबित्तिकै आर्तनाद गर्दै प्रश्न गर्थिन् कि ‘छोराको आत्मासँग कुरा गर्ने विधि के छ ? यदि कुरा गर्न पाइन्छ भने म जुनसुकै मूल्य चुकाउन तयार छु ।’
हाम्रो अवस्था नजिकबाट नियालिरहेका व्यक्तिहरुले आत्मासँग कुरा गर्न सकिने विश्वास दिलाउँथे । उनीहरुकै सुझावअनुसार आत्मासँग कुरा गराइदिने देवीहरु भेट्नको लागि ठूटीपिपल कटैया र बर्दघाटसम्म पुग्यौँ । तर उनीहरुले गराएको प्रत्यक्ष भनिने तर केही बनावटी कुराकानीबाट पनि हाम्रो चित्त बुझ्दैनथ्यो ।

(३)
अस्मिता र परिक्षीतको पढाइ चलिरहेको थियो । कडा मिहेनत गर्नुपर्ने बेलामा एकातिर सबैभन्दा बढी माया गर्ने भाइ गुमेको पीडा अर्कोतिर वेदनाले विक्षिप्तजस्तै बन्न पुगेका आमाबाबुलाई समेत स्याहार्नुपर्ने अवस्था ! तसर्थ उनीहरुले हाम्रो मन भुलाउनसकिने उपाय खोजी गरिरहन्थे । उनीहरु हाम्रो लागि उपयुक्त धरालोको खोजीमा थिए । नचिनेको ठाउँमा अस्मिता र परिक्षीतका साथीहरु कोठामै आएर हाम्रो अवस्थाप्रति पीर लिन्थे र पीर कम गर्ने सकिने वैकल्पिक उपायहरु सुझाउँदा हामीलाई ठूलो राहत मिलेको थियो ।
तिनीहरुमध्ये कसैले सुझाएअनुसार एक दिन हामी भैरहवाका गाउँहरुमा ओम् शान्तिका अनुयायीहरुलाई सम्पर्क गर्न भौँतारिन थाल्यौँ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको साविकको भवनमा पुग्दा शान्तिनगर सरिसकेको जानकारी दिइयो । शान्तिनगर पक्लिहवाबाट टाढा पर्ने भएकोले त्यहाँसम्म पुग्नसकेनौँ । अर्को दिन पुनः मैत्रीपथतिर ओम् शान्तिको ज्ञान दिइने स्थान खोज्दै जाँदा भाइ कृष्णजीको घर फेला पर्योे कृष्णभाइजीले हाम्रो स्वागत गर्दै हाम्रो दुखेसो दिल दिएर सुनिदिनुभयो । उहाँले हाम्रो समस्याको मूल समाधान भनेको ईश्वरीय ज्ञान नै भएको बारे उदाहरण सहित धेरै कुराहरु बताउनुभयो र हिन्दी प्रकाशनहरु: ओमशान्ति मिडिया, ज्ञानामृत, मुरलीहरु लगायत नेपाली पत्रिका ईश्वरीय उपहार र ज्ञानकुञ्ज नामक पुस्तकहरु दिनुभयो । भोलिपल्टबाट सातदिने कोर्षको लागि बिहानै साढे पाँचबजे आइसक्न सल्लाह पनि दिनुभयो ।
ज्ञानकुञ्ज पुस्तकमा लेखिएको एउटा कथाले मन बेसरी छोयो । कथा यस्तो थियोः
‘कुनै जङ्गलमा आफ्नो दुःखी जीवनका भोगाइहरुबाट विरक्तिएका बाँदर र बाँदर्नी एउटा अग्लो रुखको एउटा हाँगामा बिलौना गर्दै बसिरहेका हुन्छन् । त्यसैबखत एउटा मैनाचरा उडेर उनीहरु बसेकै रुखको अर्को हाँगामा आएर बस्छ र उनीहरुलाई भन्छः ए बाँदरबाँदर्नी हो । तिमीहरुको लागि यो अति नै उत्तम क्षण आइपुगेको छ । यदि तिमीहरुले अहिले तुरुन्तै हामफाल्यौ भने तिमीहरु राजकुमार र राजकुमारी भएर सुख सुखैको जीवन पाउनेछौ । यति भनेर मैनाचरा भुरुरु उडेर गइहाल्यो । चराको कुरा सुनेर बाँदर्नीले तुरुन्तै हामफाल्न बाँदरसँग जिद्दी गर्न थाली । तर बाँदरले अरुको लहैलहैमा नलाग्न यस्ता बगमफुस कुरा नपत्याऊ भन्दै सम्झाउँछ । बाँदरले नमानेपछि बाँदर्नी तुरुन्त भुइँमा हामफाल्छे । भुइँमा झर्नेबित्तिकै बाँदर्नी एक सुन्दरी युवतिमा परिवर्तित हुन्छे । त्यसैबेला कुनै देशका राजकुमारसहितको टोली राजकुमारीको खोजीमा नजिकै आइपुग्छन् र खोजेकै जस्तो गुण र रुप भएकी सुन्दरीलाई राजकुमारी बनाएर लैजान्छन् ।
बाँदर्नी राजकुमारी बनेर हिँड्नेबित्तिकैप्रायश्चित गर्दै बाँदरले पनि राजकुमार बन्ने आशाले हामफाल्छ । उसको भाग्य उदाएको समय घर्किसकेको हुन्छ । त्यसैबेला एउटा बाँदर नचाउने मदारी आइपुग्छ र बाटोमा लडिरहेको बाँदरलाई हत्त न पत्त डोरीले बाँध्छ । बाँदरले आफूलाई जङ्गलमै छाडिदिन रोइकराई गर्छ । तर मदारीले छाड्दैन बरुलठ्ठीले बाँदरलाई चुट्दै लतार्दै राजकुमार गएतिरको बाटो लाग्दछ ।‘
कृष्ण भाइजी नामका मैनाचरीले कतै आफू बाँदर जस्तो दुःखीलाई तुरुन्तै हामफाल्न सुझाव दिएका त होइनन् ? मनमा अनेक हो र होइनका प्रश्नहरुले पिङ खेल्न थाल्दछन् । भोलिपल्ट बिहानै हामी दुईजना मैत्रीपथ स्थित ओम् शान्ति सेन्टरमा जान थाल्छौँ । ब्रह्मकुमारी बहिनी ज्योतिबाट ७ दिने कक्षाबाट हामी दिक्षीत हुन्छौँ ।

७ दिने कक्षामा नर्सरीमा ओम् शान्तिको ज्ञानको बीजारोपण हुने र त्यसपछिका दैनिक मुरलीहरु (प्रत्येक दिन माउण्ट आबूः मधुवनबाट निस्कने करिब पाँचसय शब्दको ओम् शान्तिको सैद्धान्तिक ज्ञानगुण सम्बन्धी उपदेशात्मक कुराहरु) बाट गोडमेल तथा मलजल गर्दै ज्ञानको फूल फुलाउनु मुख्य उद्देश्य हुँदोरहेछ । ज्ञानका आधारभूत कुराहरुमा :आत्माको अस्तित्व बुझ्नुपर्ने र देहको आसक्तिबाट अलग रहनुपर्ने,आकाशीय पिण्ड ऋतुहरुको चक्रजस्तै युग र प्राणी गतिविधि पनि प्रत्येक पाँच हजारमा दोहोरिने, ती युगहरुमा सत्ययुग, द्वापरयुग, त्रेतायुग र कलीयुग मुख्य र थोरै समयको लागि संगम युग हुने, संगम युगपछि जीवनचक्र ध्वस्त हुने र पुनः सत्ययुग दोहोरिने, सर्वशक्तिमान निराकार शिव बाहेक अरु कुनै भगवानको अस्तित्व नहुने, संगमयुगमा मात्र परमात्मा शिव जीवनको मुक्तिको लागि संसारमा ज्ञान सुनाउन आउने, हिन्दू धर्ममा वर्णित अन्य भगवान र देवताहरु सत्ययुगका राजा तथा प्रजाहरु भएका देहधारीहरु हुन्, हामीले पनि देवीदेवता बन्न उनीहरुको सात्विक पक्षको (सोह्रकला सम्पन्न) अवलम्बन गर्नुपर्छ, भागवत् गीता सम्बन्धी पृथक व्याख्या, हिन्दू धर्मसम्बन्धी शब्दहरुको पृथक अर्थ (जस्तैः हिन्दू भनेको धर्महिन अवस्था हो पार्वती भनेको पारिको बत्ती हो र सुदर्शन चक्र होइन स्वदर्शन चक्र हो । हामी सीताजस्तै अशोक होइन शोक वृक्षको तल दुखित भएर बसेका छौँ, आदि), काम, क्रोध,लोभ, मोह, अहंकार आदिरुपि रावणले हामीलाई दुःख दिइरहेकोले यसैसँग हाम्रो युद्ध निरन्तर जारी राख्नुपर्ने, त्यसको लागि विशुद्ध शाकाहारी खानपान र सात्विक जीवनशैलीमा ध्यान दिनुपर्ने, ब्रह्मचर्यमा रहनुपर्ने,जीवनचक्रलाई अवश्यम्भावी नाटकको रुपमा लिइने,आत्मा आत्माको सम्बन्ध भाइभाइको बाहेक अन्य कुनै नातासम्बन्ध नहुने,अरु सबै धर्मसँग सद्भाव राख्ने तर यस ज्ञानलाई कुनै धर्म नमानिने आदि ज्ञानहरु दिइँदोरहेछ ।

प्रत्येक दिन मुरली सुनाउनुपूर्व ॐकार तथा अन्य संगीत ध्वनिसँगै परमात्मा शिवको करिब आधा घण्टाको ध्यानयोग हुने । क्रमशः ज्ञानको सारखण्ड, प्रश्नउत्तर खण्ड, विस्तार खण्ड, धारणा खण्ड, वरदान खण्ड र स्लोगन खण्ड गरी ६ खण्ड रहेको मुरली सुनाइसकेपछि पुनः ध्यानयोग गराएर कक्षा समाप्त हुँदोरहेछ । यस ध्यानयोगलाई राजयोग भनिँदो रहेछ ।
हरेक दिनका मुरलीहरुबाट बारम्बार,‘शरीर नाशवान् छ, आत्मा कहिले पनि मर्दैन,जीवन चक्र जस्तै युग पनि दोहोरिरहने भएकोले हाम्रा सन्तान र अभिभावकको भूमिका बदलिँदै बदलिँदै पुनः सोही भूमिकामा आइपुग्छ’ भनी दिइने ज्ञानले गर्दा हाम्रो चहराइरहेको मुटूमा मलहम लगाउन र पश्चात्तापलाई न्यून गर्न केही हदसम्म सफल भयौँ ।

‌ओम् शान्तिमा ज्ञान सिक्नको लागि धेरैजसो वृद्धहरु र केही दुःखी आत्माहरु दुःखबाट उन्मुक्ति पाउने उद्देश्यले आउँदा रहेछन् । समान पीडा, समान आकांक्षा र सबैसँग सद्भाव राख्नुपर्ने,अरुलाई सेवा गर्नु सबैभन्दा ठूलो धर्म हो भन्ने विश्वासले ज्ञान सिक्न आउनेहरुबाट हामीले चाहेको भन्दा बढी चासो र माया पाउन थाल्यौँ ।
मैत्रीपथकै सेन्टरमा तारा भाइजीको परिवारसँग चिनजान भयो । सबै परिवार नै यही ज्ञानमा चलेको रहेछ ।दुई छोरी र रामु भाइ एक्ला छोरा । रामु पनि यही ज्ञानको उत्कर्षमा पुगेकोले सामान्य व्यक्तिहरुले मानसिक रोगीको रुपमा बुझ्दा रहेछन् । छोराछोरी सबै ब्रह्मचर्यमा रहेका । कमाउने एकजना तारा भाइजी मात्रै । दाङको घरबारी त्यागेर भैरहवामा डेरा लिएर बसेका छन् । रामुलाई ओम् शान्तिको ज्ञान सम्बन्धी जानकारी माग्दा उनी धाराप्रवाह बग्न थाले :“अबको एकदुई वर्षभित्रै यो युगसँगसँगै सांसारिक रचना ध्वस्त भई सत्ययुगको प्रारम्भ हुने र श्रीकृष्ण जन्मिसक्ने” उनको ठम्याई छ । उनले,“धेरै पटक आफूलाई शिवबाबाको साक्षात्कार भएको र शिवबाबाले प्रत्येकपटक स्वर्ग देखाउन लगेको” अनुभव बताउछन् । ज्ञानमा चलेका अरुहरुजस्तै मधुवन पनि उनी दुईचारपटक पुगिसकेका रहेछन् । उनको मुखबाटै मधुवनको वर्णन सुन्ने हो भने सुन्नेवालानै मधुवन पुगेको अनुभूति दिलाइदिन्छन् । परिवारका सबै सदस्य सुखी देखिन्छन् । सबै सन्तुष्ट छन् । मानौँ कुनै कुराको पनि अभाव छैन, दृढ विश्वास छः सबै अभावहरु शिवबाबाले नै टारिदिएका छन् । हरेक पटक श्वास फेर्दा शिवबाबा, शिवबाबा गुन्जन मुखबाट निस्किरहने । रामु भाइले ब्रह्माबाबाको परिचयात्मक पुस्तक र ब्रह्मकुमार जगदिश चन्द्रका प्रवचनहरु संग्रहित ‘ज्ञानसुधा’ पुस्तक उपलब्ध गराए । ज्ञानसुधामा दिइएका प्रवचनहरु मैले सबै नेपालीमा उल्था गरेर कम्प्युटरमा राखेँ । यसले पनि समय काट्न हामीलाई हल्का बनायो ।

अर्को दिन भगवती दिदीले कर गरिरहनुभएकोले उहाँको घरमा पुग्यौँ । उहाँले आफ्नो लोग्ने विष्णुभाइजीसँग परिचय गराइदिनुभयो । विष्णुभाइजीले आत्मा र शरीरको सम्बन्धमा अझै स्पष्ट हुनेगरी ज्ञान दिलाइदिनुभयो । भगवती दिदीले थपथाप पार्नुभयो । भगवती दिदीको दालमोठको ठूलो फ्याक्ट्री रहेछ । दिउँसो प्लास्टिकका सानासाना थैलीहरुमा दालमोठ भर्नेकामदारहरुको भीड लाग्दोरहेछ । हामीहरुले पनि दालमोठ भर्ने काम पायौँ । एउटा प्लाष्टिकमा दालमोठ भरेको एक रुपैयाँ पाइँदोरहेछ । हामीले दिनभरि कामदारहरु र भगवती दिदीछेउ आफ्नो पीडा पोख्थ्यौँपीडा पोखेवापत ज्ञान सुन्थ्यौँ र ज्ञान सुने वापत प्लाष्टिकमा दालमोठ भर्थ्यौँ । परिश्रमको पैँसा थाप्न कर गर्नुहुन्थ्यो भगवती दिदी तर हामीले मानेनौँ । हामीलाई कष्टपूर्ण समय काट्नको लागि व्यस्त रहने काम पाइसकेका थियौँ र केही हप्ता यो काम जारी रह्यो ।
अर्को हप्ता पवित्रा दिदीले निम्तो दिनुभयो । हामी उहाँको पक्लिहवास्थित घरमा पुग्यौँ । त्यस सेन्टरकी सबभन्दा पुरानी अनुयायी उहाँ नै हुनुहुँदोरहेछ । उहाँले पनि ज्ञानमा चल्नु चानचुने कुरा नभएर अहोभाग्य र धेरै मिहेनत गर्नुपर्ने बताउनुभयो । उहाँको लोग्नेको धेरै वर्ष पहिले मृत्यू भइसकेको रहेछ । उहाँले पनि पुराना पुराना पुस्तक तथा मुरलीहरु हामीलाई उपलब्ध गराउनुभयो ।
ओम् शान्ति सेन्टरमा धाउने यी दिदी दाइहरु सबै सत्तरी वर्ष माथिकै उमेरका हुनुहुन्थ्यो । एकजना त नब्बे वर्षमाथिको अनुयायी पनि हुनुहुन्थ्यो । सत्तरी वर्ष माथिका वृद्धवृद्धा भन्नेबित्तिकै लठ्ठी टेकेर खोकिरहने, लुगलुग काँप्दै बल्लतल्ल उभिने, हिड्नै नसक्ने, आँखा नदेख्ने कान नसुन्ने, पराश्रित दृश्य हाम्रो मनमष्तिष्कमा चित्र बनिसक्छ । तर ओम् शान्तिका यी अनुयायीहरुमा कल्पना गरिएका कुनै लक्षणहरु पनि देखिँदैनन् । पीडाको एक धर्का पनि अनुहारमा उत्रदैँन । १५/१६ वर्षे ठीटाहरु जस्ता हरदम जिज्ञासु देखिन्छन् । मुरली सुनाउने क्रममा सोधेका प्रश्नहरु फट्टाफट दिन्छन् । सबै हँसमुख छन् । छिटोछरितो छन् । एकदिन नब्बे वर्ष कटिसक्नुभएका बाबाजीको पछि लाग्यौँ हामी दुईजना । उहाँको हिँडाइ यति छरितो थियो कि उहाँलाई भेट्टाउन कदापि सकेनौँ ।

मुरली सुनाउन आउने अधिकांश ब्रह्मकुमारीहरु बीस वर्ष मुनिकै देखिन्छन् । तर उनीहरुको वाक्पटुता प्रशंशनीय हुन्छ । मुरलीमा हिन्दी साहित्य र अंग्रेजी साहित्यका जटिल शब्दहरु समेत समावेश भएका हुन्छन् र तिनीहरुको अर्थ ती कलिली केटीहरुले फटाफट लगाइदिएको देख्दा जोकोही पनि छक्क पर्दछ । भर्खर क्याम्पस प्रवेश गर्ने उमेरकी ज्योति, आकृति, अनिशा लगायतका ब्रह्मकुमारीहरुलाई क्याम्पसमा राखिदिने हो भने उनीहरुले सर्वोत्कृष्ट स्थान हासिल गर्नेमा कुनै शंका हुँदैन । तर उनका आमाबाबु लगायत सबै परिवार नै लौकिक प्रगतिका सम्भावनाहरुलाई त्यागेर अलौकिक ज्ञानमा चलेको देख्दा आश्चर्य लाग्नु स्वाभाविकै हो । यी आश्चर्यहरुबीच भैरहवामा ठूलो आश्रम पनि रहेको र ज्ञानको विस्तारमा उक्त आश्रम अझ फलदायी हुने कुराहरु हुन्थे । सानै आश्रम यति अनुशासित देखेका हामीहरु ठूलो आश्रम कस्तो होला ? भनी कौतुहुल जागिरहन्थ्यो ।

हामीलाई ठूलो आश्रममा जान सल्लाह दिनेहरु प्रशस्तै हुनुहुन्थ्यो । ठूलो आश्रम शान्तिनगरमा रहेकोले पक्लिहवाबाट दिनहुँ जान सम्भव थिएन । एकदिन हामीलाई ज्ञान दिन आउने ज्योति बहिनीलाई ठूलो आश्रमका दिदीदाइहरुलाई भेट्टाउन आग्रह गर्‍यौँ । उहाँले भेटाइदिने वाचा पनि गर्नुभयो र शान्तिनगर पुग्ने नक्शा दिनुभयो । त्यसदिन बेलुका पाँचबजे सोध्दैखोज्दै शान्तिनगरस्थित ठूलो आश्रममा पुग्यौँ । झण्डै चाररोपनीजति क्षेत्रफलमा अवस्थित अस्पत्तालकै ढाँचामा बनाइएको रहेछ यो दुईतले भवन । वरिपरि फनक्कै फूलको बगैँचा छ । भवनका भित्ताहरु र भुइँ सबै सेतो मार्बलले गर्दा छुँदा मयल बस्लाजस्तो सफा र स्निग्ध छ । बगैँचामा फुरफुरफुरफुर गर्दै दुईचार सेता पुतलीहरु यताउता घुमिरहेका छन् । एउटा पुतली हामीलाई देख्नेबित्तिकै हाम्रो छेउमा आएर टुक्रुक्क बस्यो । यी त ब्रह्मकुमारी ज्योति पो रहिछन् । उनले हामीलाई पहिलो तल्लाको योगकक्षमा लिएर आराम गराइन् र एकछिन ब्रह्माबाबाका अगाडि ध्यान गर्न अह्राउँदै तुरुन्त बाहिर निस्किइन् । यो योगकक्ष ओम् शान्तिका अनुयायी लगायत सार्वजनिक प्रयोजनका लागि बनाइएको रहेछ । सफेद पोशाक नलगाएकाहरु पनि कोठाको अग्र भागमा ध्यानमा मस्त देखिन्थे । अगाडि ब्रह्माबाबाको विशाल तस्बीर थियो । तस्बीरको लाल पृष्ठभागमा ज्योतिर्बिन्दू शिवबाबाबाट प्रकाशपुञ्ज निस्किरहेको देखाइएको थियो । एकछिन ज्योतिर्बिन्दूलाई एकतमाश हेरेपछि मैले आँखा चिम्लिएँ ।
कसैको आवाजले मेरो ध्यान भङ्ग भयो । जब मैले आँखा खोलेँ म आश्चर्यचकित भएँ । अगाडिको ब्रह्माबाबाको तस्बीर साक्षात रुपमा मेरो अगाडि उभिइरहेको रहेछ । मलाई पत्याउनै मुश्किल भइरहेको थियो । मैले आँखा मिचिमिचि हेर्दैरहेँ । त्यो रुप धमिलिँदै गयो र ब्रह्मकुमारीको रुपमा परिवर्तन भयो ।यिनको नाम रहेछ ब्रह्मकुमारी सत्या बहिनी । यी बहिनीले हाम्रो संक्षिप्त जानकारी लिनुभयो । हामीले शान्ति दिदीलाई नै भेट्न चाहेको बतायौँ । उहाँ एकछिनमा यहीँ आउनुहुने विश्वास दिलाउँदै बाहिर निस्कनुभयो ।
सत्या बहिनी बाहिर निस्किएपछि मैले पत्नीलाई सोधेँ,“सत्या बहिनी कोठाभित्र पस्दा देखेकी थियौ ? के यस्तै रुपमा प्रकट भएकी हुन् ?”
“यस्तै थिइन् । हसिलो मुहारमै पसेकी थिइन् र हसिलै मुहारमा निस्किइन् । हाम्रो पीडाले कतै पनि यिनलाई पटक्कै घोचिएको देखिएन, उनको मुखमा कुनै विषादका चिन्हहरु देखिएनन् । अनौठो लाग्यो मलाई त ।“
मैले सोध्न खोजेको कुरा उनले नबुझेपछि मैले आफ्नो कुराको बेलिबिस्तार गरिन ।
हातमा पानीको जग दुईवटा गिलास तथा दुई कचौरा ल्याएर ज्योति बहिनी पुनः भित्र पसिन् । हामीले मनग्गे पानी पियौँ । कचौरा फलफूल र मिठाइका टुक्राहरुले भरिएको रहेछ । हामीले त्यो पनि मीठो मानीमानी खायौँ । यस्ता मीठाइ तथा परिकारहरु स्वपाक्य हुन् भन्ने बुझिसकेका थियौँ । खाइसकेपछि ज्योति बहिनीले हामीलाई अर्को कोठामा लिएर गइन् । यो कोठा बैठक कोठाजस्तै रहेछ । आगन्तुकहरुको विश्रामको लागि ।
त्यहाँ राजयोगिनी शान्ति दिदी हामीलाई नै पर्खेर शान्त मुद्रामा बसिरहनुभएको रहेछ । शान्ति दिदी पश्चिम क्षेत्रकै ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रकी क्षेत्रीय डाइरेक्टर हुनुहुन्छ भन्ने कुरा हामीलाई पहिल्यै बताइसकिएको थियो । नामसँगै विशेषतासँग मिल्ने आकृतिले हामी आश्चर्यचकित भइरहेका थियौँ । धार्मिक हिसाबले यति ठूलो पदमा आसिन व्यक्तिलाई प्रत्यक्ष भेट्न पाउँदा हामीलाई बेग्लै सन्तुष्टि मिलिरहेको थियो । उहाँ पनि ब्रह्मकुमारी नै हुनुहुन्थ्यो । उहाँको उज्यालो अनुहारमा हाम्रोजस्तो पारिवारिक बोझ तथा भविष्यको चिन्ताको एक लेष पनि बाँकी देख्न सकिँदैनथ्यो । सदा निश्चिन्त र निष्फिक्रि ।
गोलो तथा गोरो अनुहार, ठूलाठूला गाजले आँखा, स्याउजस्ता पुष्ट गाला, बुच्चे नाक, सामान्य मोटो जीउ, औसत उचाइको सफेद पोशाकमा सुसज्जित शान्ति दिदी हामीहरुले पूजा गर्ने साक्षात् सरस्वतीजस्तै देखिइरहनुभएको थियो । हामी अगाडि बढ्न हिच्किचाइरहेको बेला उहाँले मीठो मुस्कुराहटसहित हामीलाई हातैले डोर्‍याउनुहोला जस्तो गरी आफूसँगै बस्न लगाउनुभयो मानौँ हामीसँग वर्षौँ अघिदेखि चिनजान छ । हामीले हाम्रो परिचय दिनखोज्यौँ । तर उहाँले हाम्रो बारेमा सबै बुझिसक्नुभएको रहेछ ।
मेरो पत्नीले शुरुमै,“आफ्नो गुमेको सन्तानको आत्मा कसरी भेट्न वा कुरा गर्न सकिन्छ ?” भन्ने प्रश्न तेर्स्याइन् । उहाँले आत्माको लक्षण विशेषता आदि बताउनुहुँदै पुनःजन्म हुने कुरा सविस्तार बताउनुभयो र अहिलेसम्म बाबुको पुनःजन्म भइसकेको कुरामा विश्वास दिलाउन खोज्नुभयो ।
मेरी पत्नीले,“पुनः कहाँ जन्म भयो ? कसरी जन्म भयो ? भेट्न पाऊँ !” विलाप गर्न थालिन् ।
उहाँले ‘आफूले त्यो कुरा बताउन नसक्ने, तर बनारसकी ब्रह्मकुमारी दिदीले कुन क्षेत्रमा जन्म लिएको छ, बताइदिन सक्ने भन्दै घर भने बताउन नमिल्ने, घर नै बताइएमा समाजमा भाँडभैलो उत्पन्न हुनसक्ने’ भनी पन्छाउनुभयो । उहाँसँग विदावारी हुनेबेला भूपेन्द्र भाइजी पनि आइपुग्नुभयो । हाम्रो संक्षिप्त परिचय शान्ति दिदीले नै दिनुभयो । भूपेन्द्र भाइ शान्ति दिदीपछिका दोश्रो विशिष्ट अनुयायी हुनुहुँदोरहेछ ।
हामी केही छिनको भलाकुसारी गरेर फर्कियौँ । पत्नीले आजै बनारस जाऊँ भनी कर गर्न थालिन् । मैले ती दिदी विशेष कार्यक्रममा नेपालमै आउदै हुनुहुन्छ रे भन्दै केही समयसम्म टारिरहनुपर्‍यो ।

पवित्रा दिदीले पक्लिहवाको घर तथा ठूलो परिमाणको खाली जग्गा बेचेर भैरहवाको महामाया पथमा सर्नुभयो । उहाँ घर सर्ने दिनमा ब्राह्मणभोजन दिने भनी भैरहवास्थित सबै अनुयायीहरुलाई निमन्त्रणा गर्नुभएको रहेछ ।
हामीहरु मैत्रीपथमा थियौँ । त्यहाँबाट बीस पच्चीस मिनेट जति लाग्थ्यो महामायापथ पुग्न । निमन्त्रणा स्थलमा आमन्त्रितहरु सबैलाई पुर्‍याउन ब्रह्मकुमार तथा ब्रह्मकुमारीहरु खटिरहेका थिए । मैत्रीपथमा खटिने ब्रह्मकुमारी पार्वती र ब्रह्मकुमार भरत रहेछन् । भरत भाइको आफ्नै मोटरसाइकल भएकोले दुईदुईजनाको दरले भरत भाइले मैत्रीपथबाट महामायापथसम्म ओसारिरहनुभएको थियो । ब्रह्मकुमार र ब्रह्मकुमारीहरु सेवाको लागि हरदम लालायित भइरहन्छन् । सेवा भनेपछि हुरुक्कै हुन्छन् । सेवा गर्ने पालो आफ्नो नआएमा खिन्न हुन्छन् । कसैलाई सेवा गर्दा आफ्नो पुण्य खाता भरिँदै जाने विश्वासले गर्दा कसैलाई पनि सहयोग गर्नुपर्‍यो भने कोही पछि हट्दैनन् ।
हिड्न सक्ने जति हिँडेर पनि निमन्त्रणास्थलमा गइरहेका थिए । अन्तिममा म, पार्वती बहिनी र भरत भाइजी मात्र बाँकी रह्यौँ । पार्वती बहिनीले ‘आफूसँग आज पैँसा नभएकोले रिक्शा चढ्न नसकेको’ कुरा गरेको सुनेको थिएँ । भरत भाइ मोटरसाइकल लिएर हामी दुईजनाको बीचमा उभिनुभयो र लिफ्ट दिन खोज्नुभयो । बहिनीले मलाई मोटरसाइकलमा बस्न भन्नुभयो ।
मैले,“तपाईँ नारी मान्छे पो बस्नुस् म त पुरुष हुँ । हिँडेरै पनि जानसक्छु, रिक्सा आएमा रिक्सामा नै जाउँला !” भनेँ । उहाँले नारी भनेकोमा चित्त दुःखाउदै भन्नुभयोः “तपाईँ ज्ञानमा चलेर के सिक्नुभयो ? अझै नारी र पुरुष भनी विभेद गरिरहनुभएको छ ? आत्मा आत्मा भाइभाइ भन्ने थाहा छैन ?”
मैले जिद्दि गर्दै भनेँ,“सम्बन्धको हिसाबले पो त्यो मान्यता लागू हुन्छ । काम नै गर्दा त पुरुष नै सक्षम हुन्छ नि ।“
उहाँ मेरो जिद्दि देखेर झन्किनुभयो र आदेशात्मक लवजमा,“खुरुक्क मोटरसाइकल चढ्नुस्, मलाई गन्तव्य थाहा भएकोले म हिड्छु । तपाईँलाई गन्तव्य थाहा छैन । बुझ्नुभो ?”
मैले नाइनास्ती गर्न सकिन र मोटरसाइकल पछाडि बसेँ । उहाँ एक्लैएक्लै पैदलै हिडेर पछिपछ आइरहनुभएको थियो ।
हामी पवित्रा दिदीको घरमा पुग्यौँ । भरत भाइ पनि बाहिरै उभिनुभयो र म पनि बाहिरै उभिएँ । केही क्षणमै रिक्शा लिएर पार्वती बहिनी आइपुग्नुभयो । उहाँसँग पैँसा नभएको कुरा सुनिसकेको थिएँ । म पैँसा तिर्न अगाडि बढेँ । तर भरत भाइ पैँसा निकालेर रिक्शा नजिक पुगिसक्नुभएको थियो । मैले पैँसा तिर्न पाइन ।
कार्यक्रम सम्पन्न भइसकेपछि फर्कँदा एकजना भाइसँग भरत र पार्वतीले गरेको सहयोग बारे कुरा भयो । उनले बताए कि यिनीहरु त दम्पत्ति हुन् । दुवैजना ज्ञानमा चलेका छन् ।
वास्तविकता बुझेपछि म छक्क परेँ र अलिकति लज्जाबोध पनि भयो ।
………………………………………………..

(४)
हरेक बिहीबार ब्राह्मणभोजन हुने भएकोले त्यस दिन आशिर्वाद थाप्ने हेतुले पनि कक्षामा प्रायशः जानेगर्द्थ्यौँ । अघिपछि क्लास जाने कुरा रातमा खज्मजिएको निद्रा र मूडमा भर पर्दथ्यो । हामी ओम शान्तितिर आकर्षित भएको केही परिचित साथीभाइहरुलाई चित्त बुझेको थिएन । उनीहरुले भन्ने गर्दथे यो त इन्डियाले आफ्नो राष्ट्रप्रति बफादार तुल्याउन चालेको गोटी हो । यसका प्रचारक इन्डियन धनाढ्य भएकोबाट पनि बुद्धिमान मान्छेहरुले यो कुरा बुझ्नुपर्दछ ।
ती साथीभाइहरु आफूलाई हिन्दू धर्मका कट्टर समर्थक मान्थे । हिन्दू धर्मका अधिकाँश देवीदेवताहरु इन्डियाकै राज्यसञ्चालकका शक्तिसम्पन्न व्यक्तिहरु थिए भन्ने वास्तविकता उनीहरुले बुझ पचाउँथे । गौतम बुद्ध नेपालमा जन्मेर पनि यहाँ उनका अनुयायी थोरै छन्, जबकि चीन, इन्डोनेशिया, जापानमा बढी छन् । हामीले आफ्नै देशका नागरिकले देखाएको बाटो हिड्नुको सट्टा कहिलेकतै, कुनै देशले बुद्धलाई ‘आफ्नो देशको नागरिक’ भनिदियो भने इट्टाढुङ्गा लिएर टायर जलाउँदै नेपालबन्द गर्ने कर्तव्यसम्म निभाएर राष्ट्रियता प्रदर्शन गर्दछौँ ।

यस्तैमा एक दिन अकस्मात रामुभाइका बाबु तारा भाइजी बित्नुभएको खबर आयो । खबर सुन्नेबित्तिकै म छाँगाबाट खसेतुल्य भएँ र हस्याङफस्याङ गर्दै उनको डेरातिर कुदेँ । अब के गरी चल्छ ताराभाइको जहान ? मेरो चिन्ता यही थियो । उनका परिवारलाई सायद सम्हालिनसक्नुभएको होला । रामु भाइ साँच्चिकै विक्षिप्त नै भए कि । म पुग्नुअगावै डेरा बाहिर सफेद पोशाकधारी ब्रह्कुमार तथा ब्रह्मकुमारीहरु जम्मा भइसकेका रहेछन् । छिमेकीहरुको उपस्थिति शून्यप्रायः थियो । मेरो अनुमानको विपरीत रामु शान्त र स्थिर मुद्रामै देखिए । अकस्मात विधवा बन्न पुगेकी आफ्नी आमाका उम्लिएका आँशुका भुल्काहरु रामु भाइले नै थामथुम पारिरहेका थिए । रुवाबासी थिएन । अलापविलाप केही थिएन । शान्ति दिदी र भूपेन्द्र भाइजीले तारा भाइको सद्गतिको लागि उपस्थित व्यक्तिहरुलाई काम बाँडफाँड गरिरहनुभएको थियो । तारा भाइजीको आफ्नै परिवार बाहेक अरु आफन्तहरु दाङ तथा नेपालगन्जतिरै भएकोले कोही आइपुगेका थिएनन् । बेलुका ६ बज्न थालिसकेको थियो । आजै आर्यघाट पुर्‍याउने कुरा भइरहेको थियो । कार्यविभाजनअनुसार दाउरा लोड गर्ने जिम्मा मेरो भागमा पर्‍यो । एकजना अर्का भाइजीको मद्दतले चार क्विन्टल दाउरा गाडीमा अनलोड गर्दा झमक्क रात परिसकेको थियो । तारा भाइको पार्थिव शरीरलाई हिन्दू संस्कार अनुसार नै शान्तिनगरको उत्तरपूर्वतिर रहेको मसानघाटमा पुर्‍याइयो । शान्ति दिदी लगायत ओम् शान्तिको पूरै परिवार त्यहाँ उपस्थित भयो ।
चिता तयार भई पार्थिव शरीर जल्न पाँचछ घण्टा लाग्यो । त्यस महाबिछोडको बेला रुने जिम्मा मैले नै पूरा गरेँ । बत्तीको लाइन गएको हुँदा हामी बसेको ठाउँपछाडि चकमन्न अँध्यारो थियो भने चीताको ज्वालाको मुस्लोले हाम्रा अनुहारहरु कुनैकुनै बेला चिन्न मिल्ने हुन्थे । त्यही अँध्यारो र उज्यालोको बीचमा म भने चितामा जलिरहेका ताराभाइको पार्थिव शरीरलाई हेरेर एक्लैएक्लै मनग्गे रोएँ । मैले पहिलोपटक लास पूरै जलुन्जेल आँखा नझिम्काएर हेरिरहेँ । मैले दिवंगत छोराको पार्थिव शरीर जलिरहेको अनुभूति गरिरहेको थिएँ । मैले त्यही चीतामा आफ्नो बचेखुचेको प्रतिशोधका फिलिङ्गाहरु हालिदिएँ र आफू रित्तोरित्तो भएँ । फर्कँदा रातको बाह्र बजिसकेको थियो । सद्गतिको लागि हिन्दू संस्कारबमोजिम चाहिने सम्पूर्ण सामग्रीहरु ब्रह्कुमारी भैरहवा पश्चिमक्षेत्रले नै जुटाइदियो र करिब दशएघार बजेसम्म सबै ब्रह्मकुमारीहरु मसानघाटमै प्रतिक्षा गरिरहे ।

नेपालका पश्चिम क्षेत्रका सबै अनुयायीहरु र चासो राख्ने जोकोहीलाई यसरी सदाचार तथा पवित्रता सम्बन्धी अनुपम् शिक्षा दिने र आफूले समेत शिक्षा लिने गरी नेतृत्व गरिरहनुभएकी शान्ति दिदी तथा ब्रह्कुमारीहरुले गरेको त्याग तपस्याको वर्णन यो संक्षिप्त लेखमा अटाउने सम्भावना छैन । ती पाटाहरु क्रमशः उद्घाटन हुँदै जानेछन् ।
एक दिन मैले विष्णु भाइजीलाई शान्ति दिदीको बारेमा सोधेँ । उहाँले बताइदिएअनुसार पहिले पोखरामा किशोरी छँदा जानकी दिदी र शान्ति दिदी ओम् शान्तिको क्लास लिन जानुहुँदोरहेछ । त्यहाँबाट भैरहवास्थित ओम् शान्तिको सेन्टरमा आइपुग्नुभएको रहेछ । पछि भूपेन्द्र भाइजी पनि यहीँ आउनुभएछ । अहिले उहाँहरुकै पहलमा दिव्य शान्ति रिट्रिट सेन्टर नामको विशाल भवन खडा हुनुपुगेको छ र यस क्षेत्रका दुःखी, अशान्त र व्यस्त मनहरुलाई मलहम लगाउने मुख्य केन्द्र बन्न पुगेको छ ।

प्रिय मित्रहरु, यदि तपाईँहरुले धैर्यसाथ यहाँसम्म यो लेख पढिसक्नुभएको छ भने शान्ति दिदीको योगदानको समुचित मूल्याङ्कन र सर्वशक्तिमान परमात्माको स्मरणको लागि तल कमेन्टमा ‘ओम् शान्ति’ लेखिदिनुहोला ।
…………………….. …………………
(५)
माथिको वर्णन पढेर धर्म प्रचार गर्न थाल्यो भन्ने आरोप नलगाइहाल्नुहोला । म कुनै एउटा धर्ममा दिलोज्यान दिएर लाग्ने स्थिर खालको मान्छे होइन भन्ने कुरा माथि विभिन्न धर्मका धर्मग्रन्थहरुको अध्ययन गर्न खोजेको प्रसंगबाट बुझ्न काफी छ । अध्यात्मतिर मन चुर्लुम्म डुबाउने इच्छा हुँदाहुँदै बुद्धिले कारणहरु खोज्नतिर लागिहाल्छ । तसर्थ म बुद्धियोगमा एकदमै कमजोर छु । त्यही कारण खोज्ने सिलसिलामा अब म स्वर्ग तथा धर्मसम्बन्धी निजी अवधारणा बारे केही वैज्ञानिक तथ्य पस्कन गइरहेको छु ।

बिहान ओम् शान्तिको क्लासमा गएर कोठामा फर्किँदा अस्मिता र परिक्षीत दुवैले सधैँजस्तो त्यहाँको घटना सम्बन्धमा जिज्ञासा राख्दछन् । जिज्ञासा राख्नुको मतलब यो हुनसक्थ्यो कि कोठामा पनि बिहानका प्रसँगहरुतिर ध्यान डोलाएर पीडाको समय केही मात्रामा होलो होस् ।हामीले दुर्घटनासम्बन्धी पश्चात्तापका कुरा निकाल्ने बित्तिकै उनीहरुले धर्म र योगसम्बन्धी बहस चलाउँथे ।

उनीहरुकै सुझावअनुसार म विभिन्न प्रकारका योगविधिहरुको अभ्यास गर्ने गर्थेँ । पत्नीको भने मन एउटै कुरामा बस्दैनथ्यो । मन त मेरो पनि बस्दैनथ्यो । धार्मिक कुराहरु सबै अन्धविश्वास हुन् कि भन्ने संशय उत्पन्न भइहाल्थ्यो र कारणको खोजीमा लाग्दथेँ । कारणहरु चित्तबुझ्दा हुँदैनथे । योगका विधिहरु नेटमा जति खोजे पनि पाइन्थ्यो । नेटमा आत्मासँग कुरा गर्ने विधिहरु पनि खोजतलास गर्थेँ । नेटमा उपलब्ध जवाफअनुसार कहिले ऐनाको अगाडि घण्टौ बिताउँथेँ । कहिले रित्तो भित्तामा आँखा गाडेर समय बिताउँथेँ त कहिले सन्ध्यापछिको रित्तो आकाश हेरेर मात्र लामो समय बिताउँथेँ । मैले यसो गर्दा मानसिक शान्तिको सट्टा मानसिक गडबडी भयो कि भनी परिवारजनहरु चनाखा हुन्थे र मलाई यसो गर्नबाट रोक्दथे । फलस्वरुप राति सबै सुतिसकेपछि करिब बाह्रबजेदेखि तीनचार बजेसम्म दिमागलाई सक्दो शून्य बनाउने चेष्टा गर्दथेँ । तीनचार बजेतिर नित्य उठेर ब्रह्माबाबाको ध्यान गर्ने हो भने ब्रह्माबाबा आफ्नो यादकर्तासमक्ष उपस्थित भई गुनासा सुनी सुझाव समेत दिने विश्वास ओम् शान्तिका अनुयायीहरुमा रहिआएको हुन्छ । तर मैले जति प्रयास गरे पनि ध्यानमग्न अवस्थामा मेरो गुनासो सुन्न कोही मेरो सामू आएन । तसर्थ मैले शुरुमा वर्णन गरेजस्तै श्वैरकल्पनामा डुब्ने प्रयास गरिरहन्थेँ । यो कल्पना कोठामा, हिँडिरहेको बखत तथा ओम् शान्तिका कक्षाहरुमा पनि गर्ने गर्थेँ । कहिले योगमा केही सफलता मिलेको जस्तो पनि लाग्थ्यो त कहिले समय कटाउने एउटा उत्तम बहाना फेला परेझैँ पनि लाग्दथ्यो ।

एक दिन मैले अस्मिता र परिक्षीत दुवैलाई संगै राखी आफूले ठूलो आश्रममा देखेको ब्रह्माबाबाको साक्षात आकृति बारेमा बताएँ । विस्तारै त्यो रुप ब्रह्मकुमारीमा परिवर्तन भएको वास्तविकता पनि बताएँ ।
परिक्षीतले,“तस्बीर कस्तो थियो ?” भनी सोधपुछ गर्‍यो । मैले,“पृष्ठभूमि लालवर्ण भएको, अगाडितिर श्वेतभेषमा ब्रह्माबाबाको तस्बिर र त्यसको माथितिर श्वेतकिरणयुक्त बिन्दूस्वरुप परमात्मा भएको” कुरा बताएँ । परिक्षीतले एकछिन कम्प्युटरमा पेन्ट ब्रुसको माध्यमबाट मैले भनेजस्तै आकृति तयार गर्‍यो र लामो समयसम्म ध्यानपूर्वक आँखा नझिम्क्याएर हेर्न भन्यो । मैले त्यसै गरेँ । अनि आँखा चिम्लेर त्यस तस्बिरको चित्र सम्झन लगायो । मैले आँखा चिम्लनेबित्तिकै कम्प्युटरमा भएको तस्बिर बन्द आँखाभित्रै सचित्र देखिनपुग्यो । मैले जब आँखा खोलेर हेरेँ मेरो अगाडिको परिक्षीत पनि त्यस्तै कम्प्यूटरको तस्बिरजस्तै मिल्दोजुल्दो देखियो ! उसले पृष्ठभागको रङ तथा तस्बिरको रङहरु परिवर्तन गरेर पहिलेकै क्रियाकलाप दोहोर्‍याउन लगायो । लाल पृष्ठभागमा सेतो चित्रजस्तो स्पष्ट प्रतिरुप चित्र अरु रङमा देखिएन ।

त्यसपछि सपनाका कुराहरु सोचेका कुराहरु तथा भाकल गरेका कुराहरु पुग्ने गरेका सम्बन्धी हाम्रा छलफल र विचारविमर्शहरु आदानप्रदान भए र स्वर्गको विषयमा आएर हाम्रो कुरा अड्कियो ।

वास्तविक स्वर्ग हुने र नहुने भन्ने सम्बन्धमा पनि केही विचारविमर्शहरु भए ।
हाम्रो अवचेतन मनसँग यसको सम्बन्ध हुने बताउँदै परिक्षीतले एस्ट्रल प्रोजेक्शन (Astral projection) बारेमा संक्षिप्तमा बतायो । यो यस्तो वैज्ञानिक तथा व्यावहारिक विधि रहेछ जसको माध्यमबाट स्वर्गको प्रत्यक्ष अनुभूति हुँदोरहेछ । ध्यानमा लीन भएपछि शरीर चेतना शून्य हुँदोरहेछ र आत्मा अथवा चेतना देहबाट निस्केर स्वतन्त्र विचरण गर्दो रहेछ । देहरहित रुपमा चेतनाको विचरणले साँच्चिकै स्वर्गको अनुभूति दिलाउँदो रहेछ । परिक्षीतले नेटबाट पनि यस बारेमा थप सूचनाहरु उपलब्ध गरायो ।
मैले चासोपूर्वक आश्चर्यचकित हुँदै कल्पित स्वर्गको चित्र तथा वर्णनहरु मात्र हेर्ने सौभाग्य प्राप्त गरेँ ।
सबै प्राणीहरुको मृत्यू असम्भावी छ र देहत्याग गरिसकेपछिको यात्रा कहाँकहाँसम्म पुग्यो भनेर पुनः जीवीत भई यात्राअनुभव सुनाउनु असम्भव छ । नदेखेको कुरा कसैले कल्पना गर्न सक्दैन । देखेर नै गरिएको कल्पनाको सत्यता सहित मैले सैसारका प्रायः सबै धर्मग्रन्थहरुबाट वर्णित स्वर्गको बारेमा बुझ्ने मौका पाएँ ।
मैले यस लेखको शुरुवातमा गरेको कल्पना सीमित श्वैरकल्पना रहेछ भने एस्ट्रल प्रोजेक्शन असीमित श्वैरकल्पना रहेछ ।
ध्यानमा लीन हुनु सजिलो कुरा होइन । मनभित्र पैदा हुने सबै विकारहरु शून्य भएको अवस्था हो । जसलाई गीतामा र अन्य धर्मग्रन्थमा नष्टोमोहा, स्मृतिलब्धा वा यस्तै अर्थ खुल्ने अन्य शब्दहरु प्रयुक्त भएको पाइन्छ । यी विकारहरु भनेका काम, क्रोध, लोभ, मोह र अहंकार नै हुन् । यसलाई हटाउनको लागि कक्षाहरु नै सञ्चालन गरेर बारम्बार पुरुषार्थ गर्न लगाउने ओम् शान्तिका अनुयायीभन्दा अरु धर्मभीरुमा त्यस्तो अभ्यास आफ्ना अध्ययनहरु तथा भोगाइमा कतै भेट्टाइन । बरु विभिन्न धर्मकै नामबाट ठूलाठूला युद्धहरु छेडिए र साम्राज्यहरु खडा गरिएका इतिहासहरु साक्षी छन् ।
सायद सबै धर्मको मूल उद्देश्य आफ्ना अनुयायीहरुलाई ज्यूँदै स्वर्ग(परमानन्द) को अनुभूति गराउनु नै हो । मान्छेलाई विकारशून्य तुल्याउन हरविकारबाट सजग होउन् भनी मन्दिर तथा देवीदेवतारुपी चरित्रहरुको सिर्जना गरियो । मान्छेमा पलाउने पशुत्वको बली चढाउने आधार यिनीहरुलाई नै बनाइयो । तर परिष्कृत मान्छेले यसको महत्त्व बुझेन । मन्दिर र देवताहरुलाई फलफूल र वास्तविक पशुलाई नै बली चढाएर आफूमा पैदा हुने विकारहरुलाई अझै मलजल गर्दै लग्यो । धर्मलाई नै आफूअनुकुल व्याख्या गर्दै गयो र यी विकारहरुको मलजल गर्ने गरी धर्मलाई नै परिष्कृत गर्दै गयो ।

(६)
यो संसारको अर्थ आफ्नो पहुँचमा रहेका सूचनाहरुको आधारमाआआफ्नै ढङ्गले लगाउने हो । अन्तिम सत्य कसैलाई थाहा छैन । मसँग जे सूचनाहरु प्राप्त भए त्यसैको आधारमा मैले उल्लिखित आध्यात्मिक तथा भौतिक वर्ण गर्न सकेँ । योभन्दा छुट्टै सूचनामा पहुँच हुनेले छुट्टै वर्णन गर्न सक्तछ । मैले गरेको आध्यात्मिक व्याख्या देखेर भौतिकवादी मित्रहरु पेट मिचिमिचि हाँसिरहनुभएको होला । र यो पनि सम्भव छ कि मैले कारणहरुको खोजी गरेर भौतिक व्याख्या गरिरहेको बखत कुनै आध्यात्मिक शक्तिले मेरो चरम अज्ञानता देखेर गिज्याइरहेको पनि हुनसक्छ जसरी कि सत्यताको बाटोमा हिँडिरहेको कुनै बटुवा चिप्लेर भड्खालोमा परेपछि भड्खालोका भित्ताहरु मात्र रिङिरहेको देखिरहेको होस् ।

मैले यस लेखमार्फत कतिसम्म भूल गरिरहेको छु भने कतै भौतिक कुराहरुलाई आध्यात्मिक तराजुमा राखेर मूल्याङ्कन गरेको छु त कतै आध्यात्मिक कुराहरुलाई भौतिक तराजुमा राखेर मूल्याङ्कन गरेको छु । यिनीहरुको मूल गुणको हिसाबले यी दुवै एउटै रुखका फेदटुप्पाजस्तै पृथक कुराहरु हुन् । एउटाको मूल्याङ्कन अर्कोले गर्नै सक्दैन ।

हामी भौतिकवादी बन्न चाहन्छौँ भने त्यसको लागि जति पनि मनग्गे कारणहरु यही संसारमा पाउनसकिन्छ । ब्रह्माण्डको पारिपारिसम्म उत्खनन् गर्दै जानसकिन्छ । गर्न नसक्ने कुनै कुरा छैन । हरेक कुराको कारण छ र हरेकको उपाय पनि छ । यदि अध्यात्मवादी दृष्टिकोणबाट हेर्न चाहने हो भने रहस्यहरु झन्झन् गहिरा गहिरा बन्दै जान्छन् । त्यसको छेउटुप्पो भेट्टाउनै सकिँदैन । जस्तोकि बिलगेट्सले नै भनेका रहेछन्, ‘मैले सबै प्रकारका अन्तरिक्षका क्षितीजहरु उधिन्ने यन्त्रहरु सञ्चालन गर्नसक्ने सफ्टवेयरहरु बनाएँ तर मान्छेभित्रको मनको सफ्टवेयर त परै छाडौँ सामान्य रक्तकोषिकामा रहेको सफ्टवेयरको भाषा पनि बुझ्न मलाई मुश्किल भयो ।’

यसैले होला हिन्दी साहित्यका प्रसिद्ध कृष्ण भक्त तथा भक्तिकवि सूरदासले सबै विकारहरु आँखाबाटै मनमा प्रवेश गर्दा रहेछन् भन्ने निश्कर्ष निकाल्दै कठिन योगतपस्याहरुबाट पनि परमात्मा प्राप्त नभएको झोँकले आफ्ना दुवै आँखा आफैले चिम्टाले झिकी फ्याँकेको भन्ने भनाइ सुनिन्छ ।

उल्लिखित विरोधाभाषपूर्ण अवस्थारञ्जित नदीहरुले जता बगायो उतै बग्ने मजस्तो अस्थिर भुसुनाले परमात्मा प्राप्त गर्नसकेँ भन्नु ब्रह्मज्ञाताहरुको निम्ति हास्यास्पद कुरा नहोला र ?

2,968 Views

130 total views, 2 views today

Leave a comment

Your email address will not be published.

*