Free songs
Home / प्रवचन संग्रह / स्वउन्नतिको लागि विशेष पुरुषार्थ

स्वउन्नतिको लागि विशेष पुरुषार्थ

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

बाबाले भन्नुहुन्छ ‘बच्चाहरु हो, उड्ती कला प्राप्त गर, स्वउन्नति पाऊ ।’ उडती कला र स्व-उन्नति प्राप्त गर्नको लागि विशेष पुरुषार्थ जरुरी छ । बाबा भन्नुहुन्छ, ‘देवदूत बन, डबल लाइट बन, लाइट हाउस तथा माइट हाउस बन ।’ यसको लागि विशेष पुरुषार्थ गर्न जरुरी छ, ताकि संस्कारमा विशेष परिवर्तन आओस् र योगअग्निबाट विकर्महरु दग्ध होऊन् । पिता परमात्मालाई पाएर उहाँबाट ज्ञान, योग र यति दिव्य कुरा सिकेर पनि हामी अझै पनि पुरानो वजनले लादिएका छौँ, त्यसबाट निवृत्त हुनसकेका छैनौँ भने हामीले के गर्‍यौँ त ? बारम्बार बाबाले पनि यही भन्नुहुन्छ । जुन मान्छेहरुलाई हामीले निमन्त्रणा दिँदै आयौँ, चेतावनी दिँदै आयौँ, उनीहरुले नै हामीलाई देखेर हाँस्दै रहे, मजाक गर्दै रहे, परन्तु त्यस्ता मान्छेहरु पनि केही परिवर्तन हुन थालेका छन्, केही कुरा मान्न थालेका छन् । तर यसपछि पनि केही मान्छेहरुले हाम्रो कुरामा विश्वास गर्दैनन् । तिनलाई के भन्ने ? गीतामा पनि भनिएको छ कि ‘म साधारण तनमा आउने भएकोले मूढमति मानिसहरुले मलाई देखेर तुच्छ सम्झन्छन्, किनकि तिनीहरुसंग ज्ञान नेत्र नै हुँदैन । उनीहरु स्थूल नेत्रद्वारा हेर्दछन् र मायाको जंजीरमा परेको हुनाले बुझ्न सक्दैनन् । यसैले उनीहरु आखिरमा पछुताउनेछन् र रगतको आँशु बगाउनेछन् ।’ बाबाले भन्नुहुन्छ कि ड्रामाको भावी नै यस्तो बनेको छ र यति समय काम गर्दा पनि केही आत्मा यस्तै रहनेछन् । पछि यस्ता आत्माहरुको हाहाकार हुनेछ र तिमी बच्चाहरुको जयजयकार हुनेछ ।’ साथै बाबाले यो पनि भन्नुभएको छ कि ‘तिमीहरुमा पनि कुनै सुस्तताको कारण वा आलस्य वश् बाबाको याने टिचरको कुरा नसुनेपछि, नमानेपछि म नै पछि धर्मराजको रुपमा तिमीहरुसंग भेट हुनेछ । त्यस समय मैले कुनै सम्झौता गर्नेछैन ।’ त्यस समय त्यस्ता बच्चाहरुको हालत के होला ? आजसम्म पनि बाबाले मनुष्यको तनमा रातभर बसेर हामी बच्चाहरुको उन्नतिको लागि कति मेहनत गरिरहनुभएको छ, कति सेवा गरिरहनुभएको छ ।

बाबा कर्मको आदि-मध्य-अन्त्यको रहस्य सम्झाएर हामीलाई श्रेष्ठ कर्मधारी बनाइरहनुभएको छ । बाबाले यो पनि बताउनुभएको छ कि कुन कर्मको फल के हुन्छ । हामीले बाबाको आज्ञा सुन्छौँ र मान्छौँ पनि । फेरि पनि कति प्रकारका पद होलान् । महारथी होलान्, घोडसवार होलान्, प्यादा पनि होलान्, चढ्ती तथा उडती कला वाला पनि होलान् । बाबा हरेक कुरा धेरै मिहिन रुपमा बताउनुहुन्छ । उदाहरणको लागि पछिल्ला दिनमा हामीले एउटा मुरली सुन्यौँ, त्यसमा बाबाले बताउनुभयो कि पास कसलाई भन्ने ? फुल पास कसलाई भन्ने ? र पासविद् अनर कसलाई भन्ने ? बाबाले यी सारा कुरा यसर्थ बताउनुभयो ताकि हरेकलाई थाहा होस् कि हामी कति मार्क्स लिन खोज्दैछौँ । यस प्रकार बाबाले हरेक कुरा क्लियर गरिदिनुभएको छ ।

बाबाले मुख्य कुरा त यो भन्नुभएको छ कि हामीले पुरानो संस्कारको परिवर्तन गर्नुछ र योगाग्निद्वारा विकर्महरलाई दग्ध गर्नुछ, दैवी गुण धारण गर्नुछ । बाबाले भन्नुहुन्छ कि हाम्रो सम्बन्ध कस्तो छ । बाबाले भन्नुभएको छ कि मालाको लागि दाना पनि छन् र धागो पनि छ, परन्तु यिनमा समीपता छैन भने माला बन्न सक्दैन । बाबाको इशारा यो हो कि दैवी परिवारमा समीपता कस्तो छ । यसको अलावा बाबाको एक कुरा भन्नुभएको छ कि अष्ट शक्तिको अलावा अरु केही शक्तिहरु पनि छन्, जुन तिमीले धारण गर्नुपर्छ । अष्ट शक्तिहरु मुख्य पनि हुन् र मूल पनि हुन् । यी शक्तिहरु बाहेक अरु शक्ति पनि छन् । बाबाले भन्दै आउनुभएको छ कि ज्ञान-योगको पुरुषार्थ एकदमै सहज छ । एक राम्रो टिचरको विशेषता यस्तो हुनुपर्छ कि विद्यार्थीहरुलाई यस्तो पढाइ पढाउनुपर्छ, त्यो पढाइ उनीहरुलाई सहज लागोस् कठिन होइन । हाँस्दै-खेल्दै, खाँदै-पिउँदै, उनीहरुले पढाइ पढून् र उनीहरुलाई यस्तो पढाइ सहज होओस् । हामीले सम्झेको एउटा थियो, भयो अर्कै । बाबाको पढाइको विधि पनि यस्तै थियो कि यति सहज विधिबाट ठूलाठूला कुराहरु र धारणाहरु सिकाइदिनुभयो ।

बाबा भन्नुहुन्छ, ‘कुनै शक्ति यस्ता छन्, जो हरेकमा छन्, तर प्रयोगमा आएका छैनन् । प्रयोगमा आएको भए पनि ठीक तरिकाबाट प्रयोग भएका छैनन् ।’ मैले चिन्तन गर्दा महशुस भयो कि हरेकमा १६ शक्तिहरु छन् । हामी सबैमा पनि छन् र आम मान्छेमा पनि छन् । तर उनीहरुले उल्टो प्रयोग गरिरहेकोले उनीहरु पतनको मार्गमा छन् । परन्तु बाबाले हामीलाई राम्रोतिर लैजान बताउनुभएको छ र हाम्रो उन्नति भइरहेको छ । ती १६ शक्तिमध्ये केही शक्तिहरु र अन्य शक्तिहरुको प्रयोग कसरी गर्ने भन्ने देख्नुहुनेछ । बाबाले जे गर्नको लागि वा बन्नको लागि भनिरहनुभएको छ, यी १६ शक्तिको प्रयोग गरेमा त्यही सम्भव हुनेछ ।

एक हो, रोक्ने । हरेकमा रोक्ने शक्ति छ । तपाईँले चाहनुभयो भने कुनै काम गर्नसक्नुहुन्छ र चाहेमा रोक्न सक्नुहुन्छ । यो शक्ति सानासाना बच्चाहरुमा पनि हुन्छ । उनीहरु चाहेमा हिड्न सक्छन् र चाहेमा रोकिन सक्छन् । कर्मको प्रवृत्ति – गर्ने र बन्द गर्ने- यो योग्यता हरेकमा छ । तर यो योग्यताको कसैले सदुपयोग गरिरहेका छन् भने कसैले दुरुपयोग गरिरहेका छन् । बाबा यी शक्तिको प्रयोग गर्नको लागि भन्नुहुन्छ, त्यो हो व्यर्थ संकल्प रोक, लिकेज Leakage को बन्द गर । मुख्य पुरुषार्थ यो हो कि के गर्ने ? र के नगर्ने ? धर्मको सबभन्दा ठूलो प्रश्न पनि यही नै हो । आध्यात्मिकताले पनि बताउँछ कि के गर्ने  ? र के नगर्ने ? हरेकमा यो क्षमता छ कि सोचेर के गर्ने ? र के नगर्ने ? जब मनुष्य खराब संकल्प गर्छ, उसको भित्रैबाट एक आवाज आउँछ, यस्तो काम गर्नुहुँदैन भनेर । तब यस आवाज सुनेर उसले खराब काम गर्न रोक्यो भने ऊ राम्रो मान्छे कहलाउँछ । जसमा जति खराबीहरु रोक्ने शक्ति हुन्छ, ऊ त्यति नै असल कहलाउँछ र जो रोक्न सक्दैन, जो मनलाई नियन्त्रण गर्न सक्दैन, ऊ खराब व्यक्ति कहलाउँछ । यसैले बाबाले भन्नुहुन्छ, ‘तिमीभित्र यी सब शक्तिहरु छन्, तिनको प्रयोग गर ।’ पुरानो जमानामा मान्छेहरु धन जमिनमा गाडेर राख्दथे कि चोरले नचोरोस् भनेर । तर त्यसबाट कुनै फाइदा त हुँदैनथ्यो । आजकाल मान्छेहरु धनको प्रयोगमा ल्याउँछन्, बैंकमा मुद्दति खाता खोलेर राख्दछन्, कसैले व्यापारमा लगाउँछन् र त्यसबाट कमाइ गर्छन् । त्यसै गरेर हामीले पनि हाम्रो शक्तिलाई काममा लगाउनुपर्छ । यो रोक्ने शक्तिलाई पनि व्यर्थ कार्यहरु रोकेर, लिकेज रोकेर काममा लगाउनुपर्छ ।

बाबाले भन्नुहुन्छ, ‘सम्पन्नता नै सम्पूर्णताको निशानी हो ।’ जति जति लिकेज कम हुँदै जान्छ समाप्त हुँदै जान्छ र सम्पूर्णता नजिकिँदै गर्छ । समाप्ती कसरी हुन्छ ? जब तपाईँ नेगेटिभिटीलाई रोक्न शुरु गर्नुहुन्छ । व्यर्थ संकल्प तथा नेगेटिभ संकल्प वेगले चल्न थाल्छ, यसबेला नरोक्ने हो भने समाप्त कसरी होला ? यसैले हेर्नुस्, यो रोक्ने शक्ति कति जबर्दस्त शक्ति छ ! तर हामीले यसको प्रयोग नै गर्दैनौँ । कसैले भन्छ, ‘छोड्दिनोस् यी कुरा । मैले धेरै सहिसकेको छु । एकदमै दुःख दिएको छ, रिस उठाइराखेको छ । आज यसलाई पाठ नसिकाइ भएको छैन, तसर्थ म आफूलाई किन रोक्ने ?’ जस्तो हामीले कार चलाइरहेका छौँ, सामुन्ने कुनै चट्टान वा रुख वा खाल्डो छ भने पनि ‘छोड्देउ, सँधै म योदेखि हटिरहनु परेको छ । आज यसलाई पाठ नसिकाइ भएन,’ भनेर गाडी चलाउन रोक्नुभएन वा दिशा बदल्नु भएन भने के होला ? कसको शिर फुट्ला ? गाडी कसको फुट्ला ? यसैले पहिले पहिले हामीले रोक्ने शक्तिको प्रयोग ठीक रीतिबाट गर्नु आवश्यक छ ।

दोस्रो शक्ति हो, चलाउने । केही मान्छेहरुले भन्छन् ‘मेरो चिन्तन-मनन नै चल्दैन ।’ बाबाले भन्नुहुन्छः ‘विचार सागर मंथन गर ।’ बुद्धिनै नचलेपछि के गर्ने ? अभ्यास गरेपछि त चल्ने हो । कहिलेकाहीँ गाडी चलाउन धक्का पनि लगाउनुपर्छ । यस प्रकार हामीले विचार चलाउने अभ्यास गर्नुपर्छ, तब त बुद्धि चल्छ ।  यदि व्यक्ति ज्यादा समय चलेन भने अर्थात बोलेन भने जीवनमा कहिले पनि चल्न पनि पाउँदैन र बोल्न पनि पाउँदैन । बग्ने पानी पनि सफा हुन्छ । हवाइजहाज पनि पहिले चल्छ र त्यसपछि गति तेज गर्दछ र अनि उड्न शुरु गर्दछ । बाबाले भन्नुहुन्छ ‘बच्चाहरु हो, ज्ञानमा त चलिरहेका छौ, तर कुन गतिमा चलिरहेका छौ ? यसको पनि चेक गर । तीब्र पुरुषार्थ गरिरहेका छौ ? कि पुरुषार्थ मात्र गरिरहेका छौ ?’ पुरुषार्थ गर्नु भनेको चल्नु हो । जसको उन्नति भइरहेको छैन, गति रोकिइसक्यो यसको अर्थ हो ऊ चलिरहेको छैन, बसिरहेको छ, उसको पुरुषार्थ रोकिएको छ । यसैले खराब संकल्प रोक्ने मात्र होइन साथसाथै असल विचारलाई चलाऊ, सोच । बुद्धिमा जति असल विचार चल्छ, उति अगाडि बढ्न सकिन्छ । पुरुषार्थको गति तीब्र पनि गर, तब उडती कला प्राप्त हुनेछ जसरी कि हवाइजहाज पहिले चल्छ, त्यसपछि तेज चल्छ र अनि मात्र उड्छ ।

चलाउने शब्दको प्रयोग धेरै अर्थमा हुन्छ । कहिलेकाहीँ हामी कसैका कुनै कुरा पकडेर बसिदिन्छौँ कि उसले मलाई यसो किन भन्यो ? हामीले उसको के बिगारिदिएका छौँ ? त्यो हाम्रो पछि किन लागेको छ ? अनि यस विषयलाई हल्का बनाउन उसले भन्छ, ‘भाइ, कुरा पकडेर किन बस्छौ ? केही चलाउने पनि त गर । तिमी त कुरै पकड्छौ, अलिकति सरल त बन ।’ बाबाले भन्नुहुन्छः ‘इजि बन र बिजि बन ।’ असल संकल्पको लागि बिजि बन र खराब संकल्प छोड्नमा इजी बन । इजि बन्यौ भने बिजि बन्नेछौ । यदि कुरालाई छोड्दैनौ भने विस्तरामा लडिराख । अनि डाक्टर बोलाउनु पर्ला । उसले मुटु जाँच्न शुरु गर्ला । तिमीले यस्ता कुरा पकडेर बस्यौ भने यही हाल हुनेछ । यसैले जीवनमा केही चलाउने शक्ति पनि प्रयोग गर्नुपर्छ । परिवारमा सासु ठीक भए बुहारी ठीक हुँदिन । बुहारी ठीक भए सासु ठीक हुँदिन । कहीँ छोरा ठीक हुन्छ त बाबु ठीक हुँदैन, कतै बाबु ठीक हुन्छ त छोरा ठीक हुँदैन । कहीँ आमा ठीक हुन्छे त छोरी ठीक हुँदिन । त्यसैले हामीमा एडजस्ट हुने शक्ति अथवा चलाउने शक्ति हुनु आवश्यक छ । ‘बाबु नै ठीक भएन’, यस्तो सम्झेर तिमी कहाँ पुग्छौ ? हिसाबकिताब थियो, त्यसैले तिमी छोरा बन्यौ, ऊ बाबु बन्यो । अर्को बाबु कहाँबाट ल्याउँछौ ? जे छ त्यसैमा चल । के गर्छौ त ? कसैको गलामा ढोलक झुण्डिएको छ भने के गर्ने ? बजाऊ जसरी पनि । यसै प्रकार कसैलाई जस्तो प्रकारको व्यक्ति मिले पनि उसलाई चलाउन सिक, एडजस्ट हुन सिक । तिमीले त उसलाई परफेक्ट होस् भन्ने चाहेका थियौ । तर यस संसारमा कोही पनि व्यक्ति परफेक्ट छैन त के गर्छौ ? तिम्रो ईच्छा अनुसारकै व्यक्ति मिलोस् ? यो हुन सक्दैन । किनकि हरेकको योग्यता तथा शक्ति फरक फरक छ । यस्तो कुनै व्यक्ति मिल्दैन कि तिमीले जस्तो भन्छौ उसले शतप्रतिशत नै गरिदेओस् । त्यसैले जीवनमा जस्तोसुकै होस्, जेसुकै होस् अलिअलि एडजस्ट गर्नैपर्छ, सहन गर्नुपर्छ र चलाउनुपर्छ । योगी बन्ने हो भने केही चल्नुपर्छ, केही चलाउनुपर्छ, आफूलाई हल्का राख्नुपर्छ । बाबाले भन्नुहुन्छ, ‘पास्टलाई पास्ट गर, आफूलाई पास गराउने कोशिस गर । कुनै कुरालाई पकडेर बस्ने हो भने फेल भइहाल्नेछौ । सदा यही सम्झ कि मेरो परीक्षा भइरहेको छ, मेरो पेपर्स चलिरहेको छ ।’ परीक्षामा यो सोधिँदैन कि प्रश्न कसले निकालेको हो ? र किन निकालेको हो ? भन्ने कुरा । जस्तोसुकै प्रश्न आए पनि पास गर्नैपर्छ । असल विद्यार्थी परीक्षामा जे प्रश्न आउँछ उसमा पास हुने प्रयत्न गर्दछ । यसलाई पनि चलाउनु भनिन्छ । चिन्तन-मनन चलाऊ, पुरुषार्थ तेज गर, यादको यात्रामा चल, पोजिटिभ बिचार चलाऊ । यसलाई हामी भन्छौँ ‘चल र चलाऊ ।’ चल्दा चल्दै, चलाउँदा चलाउँदै पुरुषार्थ तेज गर र उडती कला प्राप्त गर ।

तेस्रो हो, सन्तुलनको शक्ति जसलाई बाबाले ब्यालेन्स भन्नुहुन्छ । हामी यसलाई नियन्त्रण शक्ति पनि भन्न सक्छौँ । ब्यालेन्स तब गर्न सकिन्छ, जब उसलाई कन्ट्रोल गरिन्छ । कतै ल (Law) ज्यादा युज गरिएको छ भने त्यसलाई कन्ट्रोल गर, तब त ब्यालेन्स हुन्छ । कतै लभ ज्याद युज गरिएको छ भने त्यसको कन्ट्रोल गर, तब ब्यालेन्स हुन्छ । नियन्त्रण गर र सन्तुलनमा राख । बाबाले भन्नुभएको छ ‘ल र लभमा, ज्ञान र योगमा, सेवा र स्वउन्नतिमा, बालकपन र मालिकपनमा सन्तुलन राख ।’ यो शक्ति सबैमा छ बच्चामा होस् कि बूढामा । जसरी बच्चाले कुनै गल्ती गर्‍यो भने बाबुले हप्काउँछ, फेरि नगर्न सावधानी दिन्छ । जब बच्चाले बाबुलाई रिसमा रहेको देख्यो भने बच्चा चुप भइहाल्छ, केही बोल्दैन । किनकि केही बोलेमा थप्पड खानुपर्छ भन्ने बुझिसकेको हुन्छ । यस प्रकार उसमा पनि नियन्त्रण गर्ने शक्ति हुन्छ र भन्छ ‘यस पटक म चुप रहनुपर्छ । योगी जीवनमा बाबाले जुन कुरामा सन्तुलन राख्न भन्नुभएको छ, त्यसमा सन्तुलन राख्नु एकदमै जरुरी छ, नत्र हामी आफ्नो घर प्राप्त गर्न सक्तैनौँ । बाबाले यो पनि भन्नुहुन्छ कि ‘बच्चा हो, कम बोल र धैर्यतापूर्वक बोल । कुनै व्यक्ति यति बोल्छन् कि जस्तो कथाकार अर्थात कीर्तनकार बोल्छन् । सुन्नेलाई पनि समझमा आउँदैन । भनिन्छ ‘बाह्र वर्ष रामायण परी सीता कसकी जोई ।’ किनकि कीर्तनकारले रामायण सुनाउँदा सुनाउँदा बीचबीचमा कथामा उपकथा र उपकथामा, अरु उपकथा जोड्दैजाँदा सुन्नेलाई मूल कथा नै समझमा आउँदैन । या त कथा सुन्नमा मग्न भयो या झुङ्दै गर्दा देखेर सोधियो होला सीता र रामको सम्बन्ध । अतः कुरा गर्दा पनि हामीले नियन्त्रण र सन्तुलन राख्नुपर्छ ।

यसको अलावा अरु दुई शक्ति हुन् हल्का गर्नु र जोड दिनु । कहिलेकाहीँ केही भयो भने केही मान्छेले भन्छन् ‘छोड यो कुरा ।’ कुरा ठूलै हुन्छ, तर केही मान्छे स्वयं ठूला हुन्छन् । उनमा यति ताकत र विशाल मन हुन्छ कि उनीहरु भनिहाल्छन्, ‘गरौँला नि के ठूलो कुरा भयो र ! सम्झनुहोस् कि कसैको १०००० रुपैयाँको नोक्सान भयो । त्यो व्यक्ति उदास भएर बिस्तरामा पर्दछ । घर परिवारले भन्दछन् ‘छोडदेऊ, दश हजार रुपैँया त गयो नि, ज्यान त बच्यो ।’ तर उसले भन्छ ‘तिमीलाई के थाहा ? कति मेहनत गरेर यो पैंसा कमाएको थिएँ ?’ यहाँ त्यस व्यक्तिले सोच्नुपर्‍यो कि कुन कुरालाई महत्त्व दिने ? र कुन कुरालाई नदिने ? पैंसालाई महत्त्व त दिनुपर्छ, तर जहाँ जति आवश्यकता छ त्यति मात्र । कम महत्त्व दिनुपर्ने ठाउँमा ज्यादा भयो भने र ज्यादा महत्त्व दिनुपर्ने ठाउँमा कम भयो भने नोक्सान हुन्छ । उदाहरणको लागि बाबाले भन्नुहुन्छ ‘ईश्वरीय महावाक्यहरुको महत्त्व जान र यूज गर ।’ हामीले सोच्नुपर्छ र ध्यान दिनुपर्छ कि यो कुरा कसले भन्दैछ । सर्वशक्तिवान त्रिकालदर्शी ज्ञानका सागरले यी वाक्य भनिरहनुभएको छ । त्यसैले यी महावाक्यबाट हामीलाई लाभ नै हुनेछ । कोही साधारण व्यक्तिले सुन्यो भने उसले भन्नेछ ‘छोड यी कुरा, कुन चाँहि ठूलो कुरा भयो र !’ हाम्रो बहुमूल्य समय चलिरहेको छ । यस प्रकार ज्ञानको महत्त्व जान्नु, यो हो जोड दिने शक्ति । कुनै व्यक्तिले तपाईँलाई गालीगलौज गरिरहेको छ र अनावश्यक टण्टा बर्साइरहेको छ भने उसलाई तपाईँ के गर्नुहुन्छ ? के उसको कुरालाई बढी महत्त्व दिनुहुन्छ ? ज्यादा महत्त्व दिनुको अर्थ हो जोड दिने शक्तिको युज गर्नु, यसले तपाईँको अवस्था नै खराब हुन सक्छ, अघि बढ्दा लडाइझगडा हुन सक्छ, त्यसबेला हामीले किन टकराव कायम राख्ने ? यहाँ हामीले हाम्रो हल्का गर्ने शक्ति प्रयोग गर्नुपर्छ र भन्नुपर्छ ‘छाड्देऊ, उसको संस्कार नै यस्तो छ । ऊ सबैसंग यस्तै बोल्छ ।’ यस्तो सम्झेर उसका कुराको ध्यान नै दिनुहुँदैन । यो हो हल्का गर्ने शक्ति ।

यसैगरी बाबाको मुरलीको महत्त्व दिने र हाम्रा दिदी अर्थात दादीजीहरुले हाम्रो हितको लागि केही भन्नुहुन्छ भने ती कुराको महत्त्व दिनुपर्छ । यस्तो बेला हामीले जोड दिने शक्तिको युज गर्नुपर्छ । यस प्रकार लौकिक जीवनमा कैयौँ कष्ट र परिस्थितिहरु आउन सक्छन् । यिनीहरुमध्ये कुनलाई बढी महत्त्व दिने र कुनलाई कम महत्त्व दिने हाम्रै हातमा छ, जसको पहिचान गरेर हल्का गर्ने शक्ति र जोड दिने शक्तिको उचित प्रयोग गर्नुपर्छ । कुनै पनि कुरालाई हल्का सम्झने कि भारी सम्झने भन्ने कुरा आफ्नै भरमा छ, आफ्नै बुद्धि वा आफ्नै समझमा भर पर्छ । ख्याल राख्नुहोस् कुनै समस्या कसैमाथि आइपर्‍यो भने ऊ एकदमै निराश र उदास हुन पुग्छ । कसैले सोध्यो भने ‘के गर्नु, यस्तो आइपर्‍यो’ भन्छ त्यही समस्या अरुलाई आयो भने ऊ निश्चिन्त रहन्छ र उसले सम्झन्छ कि ‘छोड्दिऊँ, यस्ता कुरा, आफूलाई त बाबा मिल्नुभयो कि सबै मिलिसक्यो । यो समस्या आएर के भयो त ? मेरो साथ मेरा संरक्षक त सर्वशक्तिमान बाबा हुँदैहुनुहुन्छ, मेरो जिम्मेवार उहाँ नै हुनुहुन्छ, मलाई के को चिन्ता ? म त बाबाको काखमा बसेको छु ।

हामीले यो ध्यान राख्नुपर्छ कि हामी आफ्नो कर्म ठीक राखौँ, श्रेष्ठ कर्म गरौँ । जो भगवद् शक्तिमा निश्चयवान हुन्छ, ऊ निश्चिन्त रहन्छ । अतः हामीले कुनै पनि कुरा हल्का गर्ने कि जोड दिने भन्ने कुरा सिक्यौँ भने पुरुषार्थले तीब्र गति लिन सक्छ ।

अन्य दुई शक्ति हुन् छोड्दिनु र धारण गर्नु । यी दुवै शक्ति हरेक व्यक्तिमा हुन्छ । मादक पदार्थ छोड्ने, चुरोट छोड्ने, मासु छोड्ने, ईत्यादि छोड्न सबै मानिसले जान्दछन् । कहिलेकाहीँ कुनै असल कुरा पनि कुनै व्यक्तिलाई असल लागेन भने छोड्दिन सक्छ, कसैले भने पनि असल चिज स्वीकार नगर्न सक्छ, किनकि उसलाई त्यो कुरा खराब लाग्न सक्छ । यसै प्रकार हामीलाई खराब चिजहरु, ईश्वरीय जीवनमा बाधा पार्ने चिजहरु छोड्नुपर्छ, त्याग्नुपर्छ र असल चिजहरु सदगुणहरु र शक्तिहरुको धारणा गर्नुपर्छ । तर आज मान्छेहरु जसलाई छोड्नुपर्ने हो त्यसलाई अपनाइरहेका छन् र जसलाई अपनाउनुपर्ने हो त्यसलाई छोडिरहेका छन् । शक्तिहरुको गलत प्रयोग गरिरहेका छन् । बाबाले भन्नुभएको छः ‘दैवीगुणहरु धारण गर्नुपर्छ, यिनलाई छोड्नुहुँदैन । काम, क्रोध, लोभ, मोह, अहंकार, आलस्य, अलबेलापन, ईर्ष्या र द्वेष त्याग्नुपर्छ । यिनलाई धारण गर्नुहुँदैन ।

जसरी हामी मोह (attachment) छोड्नुपर्छ र निर्मोह (detachment) लाई धारण गर्नुपर्छ । वस्तु व्यक्ति र वैभवको मोह त्याग्नुपर्छ र शरीरबाट भिन्न हुने विदेही बन्ने अभ्यास धारण गर्नुपर्छ । शरीरको मोह, ममता अर्थात देह-अभिमानलाई छाड्नुपर्छ र आत्मअभिमान धारण गर्नुपर्छ । यी सब मौलिक शक्तिहरु हुन्, यिनीहरुको सदुपयोग गर्नुपर्छ ।

अन्य शक्तिमध्ये अर्को हो लज्जा मान्ने शक्ति अर्थात संकुचन शक्ति । खराब काम गर्न हामीलाई लाज मान्नुपर्छ । कोही व्यक्ति भद्दा तरिकाबाट हाँसिरहेको छ वा कुरा गरिरहेको छ वा हाउभाउ प्रकट गरिरेहेको छ भने त्यसलाई देख्ने व्यक्तिले भन्छन् ‘तिमी आफ्नो कूलको लाज त राख !’ यस तरहबाट बाबाले भन्नुहुन्छः ‘बच्चा हो, आफ्नो लौकिक कूल मर्यादाको र लोकलाज त्याग र ईश्वरीय कूल मर्यादा र दैवी लाज राख । उदाहरणको लागि म ब्रह्मकुमार हुँ, ब्याच लगाएको छु, सेता कपडा लगाएको छु, सार्वजनिक यातायातमा चढिरहेको छु । कसैले मसंग गलत व्यवहार गर्छ वा सिटको लागि झगडा गर्छ भने के मैले त्यसै गर्न सक्छु ? ऊ त ब्रह्मकुमार होइन । म ठूलाभन्दा पनि ठूला बाबा शिव बाबा र ब्रह्मा बाबाको सन्तान हुँ, ईश्वरीय कुलको हुँ र देवता धर्मको हुँ । मैले एक आध्यात्मिक संस्थाको प्रतिनिधित्व गरिरहेको छु । यदि मैले पनि गलत व्यवहार गर्ने हो भने मान्छेले मलाई के भन्लान् ? यसबेला हामीले लज्जा मान्ने शक्तिको प्रयोग गर्नु आवश्यक छ । मलाई आफ्नो ब्राह्मण कुल मर्यादा र ईश्वरीय लोकलाजमा रहनु पर्छ । यसैले बाबाले धेरे पटक भन्नु भएको छः ‘यो बूढा बाको दाढीको त लाज बचाइदेऊ ।’ कुनै पनि बच्चाले गलत काम गर्‍यो भने समाजले के भन्छ ? यसका बाबु को हुन् ? यसलाई कुनै व्यवहार सिकाइएको छैन ? यस प्रकार बच्चाको व्यवहारबाट माँ बाबुको इज्जत पनि जान्छ । यसैले गलत काम खराब काम गर्ने समयमा हामीलाई लाज लाग्नुपर्छ अर्थात हामीले लाज मान्ने शक्तिको प्रयोग गर्नुपर्छ ।

नवौँ हो प्रयोग गर्ने शक्ति । कहिलेकाहीँ हामी भन्ने गर्छौँ यसलाई प्रयोग गरेर त हेर । कुनै पनि कर्म गर्नुभन्दा पहिले हामीले हेर्छौँ कि यो काम गरेर कसैले सफलता प्राप्त गरेको छ भने हामीले पनि त्यसै गर्छौँ । यदि कसैले नगरेको भए हामीले प्रयोग गरेर हेर्छौँ कि यसबाट हानी छ कि भलाइ छ ? पहिले हामीले यसलाई सानो स्तरमा प्रयोग गर्छौँ । प्रयोग गर्नु मनुष्यको सहज स्वभाव हो । यदि प्रयोगमा सफल भयो भने ऊ खुशी हुन्छ, उसलाई बल मिल्छ, उसको अन्य शक्तिको विकास पनि हुन्छ र अरु चार व्यक्तिहरुलाई प्रयोग गर्नको लागि बताउँछ, बुझाउँछ र प्रोत्साहन दिन्छ । तपाईँ योगमा बसेपछि भन्नुहुन्छ कि आज मलाई धेरै आनन्द आयो, बाबाले मेरो झोला नै भरिदिनुभयो, आत्मतृप्त भयो । बाबाले भन्नुहुन्छ ‘बच्चा हो, जे गर्यौ त्यसको प्रयोग गर ।’ सम्झ कि तिमीले क्लास हलमा बरफ लिएर राख्यौ र त्यसलाई कसैले नदेख्नेगरी छोपिदियौ भने त्यसको नजिक जो बस्छ उसलाई लाग्छ कि यतातिर ठण्डा अनुभव भइरहेको छ, अन्त यस्तो छैन । यता के छ त्यस्तो ? यसको अर्थ हो जे पनि वस्तु छ, त्यसले आफ्नो अस्तित्व देखाउँछ । आफ्नो प्रभाव पार्छ । कोठामा अगरबत्ती बालेमा आफ्नो बासना त फैलाउँछ नै । त्यसै गरी यदि तपाईँलाई योगमा शान्ति मिल्यो, आनन्द मिल्यो, शक्तिहरुको खजाना मिल्यो भने त्यसको प्रभाव वा अस्तित्व अरुलाई पनि थाहा हुनुपर्‍यो । तपाईँले आफ्नो योगको स्थिति यस्तो बनाउनोस् कि तपाईँबाट रेडियसन वा विकिरण फैलिरहेको छ । जसरी रेडियो स्टेशनबाट शब्दको प्रकम्पन फैलिन्छ, त्यसरी नै आत्माबाट शान्ति र आनन्दको प्रकम्पन फैलिनु पर्‍यो । जो तपाईँको आसपास बसेको छ उनीहरुलाई अनुभव हुनुपर्‍यो कि यतातिर किरणहरु र प्रकम्पन आइरहेको छ, हामीलाई यहाँ एकदमै आनन्द आइरहेको छ, मनको शान्ति मिलिरहेको छ । तपाईँको प्रकम्पन अरुलाई पनि अनुभव गराउन सक्नोस् र वातावरणलाई बदल्न सक्नोस् । किनकि हामीले आफ्नो मात्र परिवर्तन गर्ने होइन, प्रकृतिको पनि परिवर्तन गर्नुछ, नयाँ विश्व ल्याउनुछ, विश्वको नवनिर्माण गर्नुछ । केवल आफूमै सिमित नराखौँ, हामी विश्व नै बदल्नु छ ।

भक्तिमार्गको कथाहरुमा सुनाइन्छ, ‘कुनै राजा शिकार खेलेर आफ्नो राजमहलतिर फर्किरहेका थिए, जाँदाजाँदै बाटोमा घोडा रोकियो, अगाडि जानै मानेन । उनले कोर्रा लगाए, तर पनि त्यो अगाडि बढेन । राजालाई पनि त्यहाँ कुनै नौलो नौलो लागिरहेको थियो, मनमा आनन्द तथा शान्तिको अनुभव भइरहेको थियो । घोडाबाट उत्रेर अगाडि बढेपछि देखे कि त्यहाँ कुनै साधु महाराज तपस्या गरिरहेका थिए । उनको कुटीको छेउमा हिंसक जनावरहरु पनि प्रेमपूर्वक हिँडडुल गरिरहेका थिए । ती तपस्वीको तपश्चर्याको प्रभाव त्यो वायुमण्डलमा फैलिरहेको थियो । त्यसै प्रकार जब हामीले पनि तपस्या गर्छौँ, योग गर्छौँ भने हाम्रो स्थानको वायुमण्डल पनि उत्तिकै शक्तिशाली हुनुपर्‍यो । जो पनि यहाँ आउँछन् अथवा हाम्रो नजिकबाट जान्छन्, उनीहरुलाई अनुभव हुनुपर्‍यो कि यहाँ पवित्रता, आनन्द, शान्ति र शक्ति प्राप्त भइरहेको छ ।

यसै रीतबाट तपाईँलाई योगमा जे अनुभव भएको छ त्यो सारा दिनभर प्रयोग गर्नोस् । यसको लागि सारा दिनभर यही सोच्नुपर्‍यो कि ‘म आत्मा आनन्दस्वरुप हुँ, शान्त स्वरुप हुँ, शक्ति स्वरुप हुँ । मलाई त परमपृय बाबा मिल्नुभएको छ, बाबा आनन्दका सागर हुनुहुन्छ, शान्ति र शक्तिका सागर हुनुहुन्छ । बाबा मिल्नुभयो त सबै कुरा मिलिगयो । हाम्रो जीवनमा आनन्दै आनन्द छ । दुःख, कलह, क्लेशका दिन हाम्रा खतम भइसके । यो ड्रामा त धेरै कल्याणकारी रहेछ । अब कुन चिज मलाई अप्राप्त छ र ? म त सन्तुष्ट छु । मलाई अरु कुनै चिज प्राप्त गर्ने आवश्यक छैन ।’ यस तरीकाबाट सारा दिन हिँडडूल गर्दा यही अभ्यास गर्नुहोस्, यही योगमा प्रयोग गर्नुहोस् । फेरि तपाईँले कसैलाई दृष्टि दिनुहुन्छ भने उसलाई आत्मिकको अनुभव होओस् । तपाईँ उसलाई देखेर मुस्कुराउनुभयो भने तपाईँको मुस्कुराहटमा उसले अजीव प्रकारको अलौकिकताको अनुभव हुनेछ । ऊ खूद बोल्नेछ, ‘ओहो, हजुरलाई देखेर मलाई खुशीको शान्तिको अनुभव भइरहेको छ । के कारणले हो ?’ हामीले पनि उसलाई कारण बताइदिऊँ, हामी पनि उसलाई त्यो कला सिकाइदिऊँ । यसैले बाबाले भन्नुहुन्छ, ‘बच्चा हो, यस ज्ञानको योगको प्रयोग गर । तब मेरा र तिम्रा भक्त खोज्दै आउनेछन् कि हामीलाई पनि बाटो देखाइदिनोस् भन्दै ।’

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 

 

 985 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top