Free songs
Home / संस्मरण / स्मृतिको खाडलमा अँचेटिएको त्रिवेणी

स्मृतिको खाडलमा अँचेटिएको त्रिवेणी

बिनारामको स्टाटस हेर्छु प्रतिक्रियाविहीन बस्छु । योग्यता छ, क्षमता छ, औपचारिक पदसहितको भूमिका छ, आफ्नो गाउँठाउँको लागि केही गरिहालौँ भन्ने हुटहुटी पनि छ, सोअनुसारको योजना पनि छ, तैपनि आफूले अधिकारले पाउने जिम्मेवारीबाट पाखा लगाइएको दुखेसो पोखिरहेका छन् ।  उनका विविध प्रकारका क्षमताहरुलाई निस्तेज तुल्याउन कम्मर कसेर पछि लाग्नेको कमी छैन । कहिलेसम्म हुने हो यसप्रकारको धकेलाधकेल? कहिलेसम्म हुने हो अँचेटाअँचेट ?एउटा आउँछ अर्कोलाई बिचारको आडमा धकेल्न खोज्छ, अर्को आउँछ, आफ्नो स्वार्थविपरीतको मान्छे देखिनेलाई अँचेट्न खोज्छ । अर्को आउँछ उस्तै, अर्को आउँछ उस्तै ?
०००
स्मृतिका पाना पल्टाउँदै पल्टाउँदै धेरै परपर पुग्छु, माथि माथि उक्लन्छु, ३७ सालतिरको त्रिभुवन जनता व्यावसायिक माध्यमिक विद्यालय खलंगाको प्राङ्गणसम्मै उक्लिन्छु ।
आफ्नो १३ वर्षीय वाल्यावस्थादेखि (किशोरवय जानीजानी भनिनँ, किनकि त्यतिबेला म शारीरिक वा मानसिक दुवै हिसाबले दशवर्ष मुनिको बालकझैँ थिएँ ।) नै यो स्कूलका कोठाचोटाहरुमा दिनहुँ खेलेको हुँ । दिनमा पनि घण्टौँ खेलेको हुँ । भौतिक जन्म दिने आमापछि मलाई शैक्षिक जन्म दिने यिनै विद्यालय थिइन् मेरी । दुरुस्तै आमा झैँ लाग्दथ्यो । उनको काखमा बसेर चुलबुल गर्थेँ । चोलीका तुना फुकाली फुकाली दूधका लाम्टाहरु चुस्थेँ । घोर्थेँ पनि र गालामा म्वाइँ पनि खाइदिन्थेँ विद्यालयरुपी आमाको । 

एसएलसी पास गरेपछि पनि मलाई मेरी जन्मदिने आमा र शिक्षा दिने आमाले छोड्न सकेनन् । म फेरि क्याम्पसको वयमा उक्लिएकी आमाको वक्षस्थलमै मनग्गे खेल्न थालेँ । यिनकै छत्रछायाँमा हलक्कै हुर्किन पाएँ ।
जब यिनीसँगको विदाइपछि उच्च शिक्षा समेत प्राप्त गरेर फर्किएँ, मेरी आमा मदेखि पर भाग्न थालेको आभाष पाएँ । आमा आफै त के भाग्दी हुन् मामाहरुले आमाको कान भरिदिएः “यो त तिम्रो सन्तानजस्तो लाग्दैन ! यसलाई नजिक पर्न नदेऊ ।“ यस प्रकारको खासखुस गरेको सोच्थेँ म ।

मामाहरु मदेखि सधैँ परपर नै रहे । उनीहरुलाई रिझाउन नसक्नुको कारण मभित्र उनीहरुप्रति विरोध भावना भएर पटक्कै होइन । अहिलेसम्म पनि म ठूला मान्छेको अगाडि पर्दा बोल्न सक्दिनँ । ठूलो जमघटको अगाडि बोल्दा खुट्टा काँप्छन् र बोली लरबराउँछ । एउटा भन्न खोजेको अर्कै भन्न पुगिन्छ । साँच्चिकै भन्ने हो भने त्यतिबेला मलाई ठूलाहरुलाई व्यवहार त के ’नमस्कार’ पनि कसरी गर्नुपर्छ भन्ने पनि आउँदैनथ्यो । ठूला मान्छेको समिपमा पर्दा लज्जाबोध हुन्थ्यो र उनीहरुको नजरबाट छेलिन खोज्थेँ, भाग्न खोज्थेँ । मामाहरुलाई पनि यसरी नै आदरसत्कार गर्नबाट चुकेँहुँला । उनीहरुबाट छेलिनुको अर्थ उनीहरुले मलाई विरोधी भावनाको भनेर नै सोचे होलान् । यही कारण थियो म मेरी आमाको काखमा खेल्न ग्राह्य भइनँ । म उनको नजिक रहन वञ्चित तुल्याइएँ । यस्तै सोच्थेँ म ।

म डिग्रीको प्रमाणपत्र बोकेर भौँतारिरहेको चालपाएर तत्कालीन हेडसर गोपालसिँ केसीले मलाई आफूले खाइखेलेको स्कूलमै शिक्षकको नियुक्ति दिलाइदिए । मुरुका गङ्गालाल ओली, सेरीगाउँका जीवन मल्ललाई पनि त्यहीँ ल्याइयो । हामी अब जागिरेकै रुपमा आमाको काखमा खेल्न थाल्यौँ । हामी ज्यालादारी जस्तै अस्थायी दरबन्दीमा कार्यरत थियौँ । त्यो खुशियाली भने धेरै दिन टिकेन ।
जब स्थायी दरबन्दी आइपुग्यो, त्यसमा अर्कै व्यक्तिलाई खोजेर राखियो । काम गरिरहेका हामीहरु ज्यालादारी दरबन्दीमै सिमित रह्यौँ । बिस्तारै त्यो ज्यालादारी दरबन्दी पनि हाम्रो लागि खुम्चिँदै खुम्चिँदै जान थाल्यो । 
०००
त्यता टिक्न नसकेपछि मलाई कसैले चौरजहारीमा मा.वि. मा दरबन्दी रिक्त छ भनिदिएकोले लोट्दैपर्दै त्यहाँ जान तम्सिएँ । मुसिकोटबाट चौरजाहारी पुग्न त्यतिबेला पूरै एकदिनको म्याराथुन कुद्नुपर्थ्यो । त्यहाँ पुगेपछि तुरुन्तै फर्कन गाह्रो थियो । 

’नियुक्ति पाइहालेँ भने एकमहिनापछि मात्र आउँछुहोला’ भन्दै परिवारका सबै सदस्यलाई सम्झाउन थालेँ ।’ बरु जागिर नखा, त्यति टाढा नजा !’ भने ज्याबाले । भर्खरै बिहे गरेको थिएँ । दुईजिया स्वास्नी थिइन् । उनले पनि त्यति टाढाको स्कूलमा पढाउन जाने तम्सिएको देखेर विरोधस्वरुप दुई थोपा आँशु चुहाइदिइन् ।

मलाई पारिवारिक सानातिना अवरोधहरुले छेक्नेवाला थिएनन् । कात्तिकको जाडोको एकाबिहानै म चौरजहारीको लागि हानिएँ, माछ्मीसम्म मुग्लुखोलाका अनेक हङ्गाला तर्दै, लोरीबाङ(हाँसीबाङ(सिम्लीसम्म सानीभेरीको किनारको चीसो बालुवामा पाइताला चोब्दै, आमडाँडाको ठाडो उकालोमा पसिना पुछ्दै । जोगीनेटाको सिरेटोसँग हल्लिँदै । सर्केनाको ओरालोमा खुट्टा लडखडाउँदै । खोलागाउँ झरेपछि भर्खरै बनेको निकै लामो नहरको डिलैडिल लरेसिमल, नार्दी, मेलेनाउलीका बगरहरुमा उछिट्टिँदै । प्रत्येक पाइलामा डिलमा उत्रिएका आँशु खस्न नदिएर घुटुक्क घुटुक्क पिउँदै । 

विजेश्वरी उक्लिएपछि आफ्नै जिल्लाको गो-यानमा क्षितिजसम्म फैलिएको समथर विशाल चौरजहारीको फाँट देखियो  । त्यो दृश्यको सुखानुभूतिले आँखामा उम्लिरहेको आँशु ओभाइदियो । शरीरभर तरतर चुहिरहेको पसिना सुकाइदियो । बिहानैदेखि भोकोपेट कुद्दा निक्लिरहेको स्वाँस्वाँ मत्थर हुनपुग्यो । जे गरेँ ठीकै गरेछु जस्तो लाग्यो ।

चौरजहारीको स्कूलमा पुगेर आफ्नो इच्छा बताएपछि स्कूलका डिल्लीराज खनाल हेडसरले दशकक्षाको पहिलो पिरियड मलाई परीक्षणस्वरुप पढाउन दिए । म बीकमहोल्डर थिएँ तर मैले जान्ने वा सक्ने विषय भनेका नेपाली र गणित थिए । सबैभन्दा मन नपर्ने एवम् गाह्रो विषय भनेको सामाजिक नै थियो । एसएलसीसम्म बाहेक कतै सामाजिक शिक्षा पढेको पनि थिइनँ । तर पढाउन पठाइयो सामाजिक विषय । मेरो सातोपुत्लो उड्यो । सायद सामाजिक शिक्षककै दरबन्दी रिक्त थियो होला त्यस स्कुलमा ।

दशकक्षाको विद्यार्थीलाई सामाजिक शिक्षाको एउटा पाठ त जसोतसो पढाइयो, तर अफिसकोठामा फर्किँदा निलोकालो भएर फर्किएँ । हेडसरको प्रतिक्रिया नआउँदै पहिल्यै आफ्नो स्वर ठूलो बनाइहालेँ ः“मेरो विषय सामाजिक शिक्षा होइन । यो विषय त नपढाउँ क्यारे ?“

“ठीक छ, त्यो पछि मिलाउँदै जाउँला, अहिले तपाईँको नियुक्तिको आधार यही नै हो ।“ हेडसरले सामाजिक नपढाउने भए नियुक्ति नपाइने हिसाबले कुरा गरेजस्तो लाग्यो । उनले मेरो मनोदशा बुझेर होला बस्नको लागि डेराको प्रबन्ध बारे बताइदिए । खानपानको व्यवस्था ट्युशनबाटै चल्ने आश्वासन दिए । व्यवस्थापन समितिबाट अनुमोदन गराउने गरी मावि शिक्षकको नियुक्तिपत्र पनि हातमा थमाइदिए । स्थायी दरबन्दीमा नियुक्ति पाउँदा मैले सबै प्रकारका दुःखहरु बिर्सिएँ । यो खुशी घरसम्म तुरुन्तै पु¥याइहाल्न मोबाइलको जमाना भने थिएन ।

त्यसको भोलिपल्ट बेलुका मलाई जिल्ला शिक्षा कार्यालयबाट नियुक्ति समर्थन गराउन मुसिकोट जान काज मिलाइदिए । दुईदिनको होमसिकनेसले रुझेको बिरालोसरि भएको बखत घर जान पाउने गरी दिइएको अवसरले म बुर्लुक्कै उफ्रिएँ । पर्सिपल्ट म बिहानै सदरमुकामतिर हानिएँ, नहरको लामो बाटो, खोलागाउँको उकालो र आमडाँडाको ओरालो कटेको पत्तै भएन, सानीभेरीको किनारा पार गरेको पनि सुइँपत्तो भएन । 
०००
म सरासर जिल्ला शिक्षा अधिकारीको कोठाभित्र पसेँ । सायद माध्यमिक प्रअहरुको बैठक चलिरहेको थियो उनको कार्यकक्षमा । मैले चिनेका केही प्रअहरु त्यहाँ उपस्थित थिए । मैले आफ्नो नियुक्तिपत्र जिशिअको टेबुलसम्म पु¥याउन के आँटेको थिएँ, एकजना मोटेमोटे र ग्वाँचेग्वाँचे प्रअले मेरो नियुक्तिपत्र आफ्नो हातमा लिए र पत्रको ब्यहोरा पढ्न थाले । मैले उनलाई ठम्याइहालेँ, उनी थिए रुकुमकोट माविका प्रअ मस्तबहादुर श्रेष्ठ । जिल्लामा उनको खुप्पै बोलवाला थियो । सुनिन्थ्योः “जिल्लाका हाकिमहरु वा राजनीतिक नेताहरुले यिनले जे भन्यो त्यो रिठ्ठो नबिराई खुरुखुरु मान्छन् ।“
एकछिनसम्म उनले पत्रको व्यहोरा दोहो¥याइरहे र म अलमल्ल परेर घरि जिशिअ र घरि मस्तबहादुरको अनुहार जाँच्दै खडा भै रहेँ ।

उनले केही बेरपछि मेरो नियुक्ति पत्र जिशिअको टेबुलमा राखिदिँदै जिशिअलाई सुझाएः “जिशिअ साब यो नियुक्तिपत्रको बारेमा पुनःबिचार गरिनेछ । एउटा शर्तमा मात्र समर्थन गरिदिनुहोला । अहिल्यै कारवाही अगाडि बढाउनुपर्दैन ।“

म छाङ्गोबाट खसेतुल्य भएँ । दरबन्दीवाल मावि शिक्षक जागिरी भेट्टाएको जुन उमंग र उत्साह छातिभरि उम्लिएको थियो, स्वाट्टै सेलाउन पुग्यो । मेरा गोडा आशंकाले लगलगीकाँप्न थाले, मुख प्याक्प्याक्ति सुक्यो । अब  फेरि के शर्त पूरा गर्नुपर्ने हो मैले ? किन समर्थन रोकियो ?  प्रश्न सोध्ने आँट भने गर्न उनलाई सकिनँ । ठूलै मान्छे पनि हत्पत्ति उनको अगाडि जवाफसवालमा उत्रदैनथे ।

“अहिले बाहिर पर्खिनुहोस्, तपाईँसँग केही कुरा गर्नुछ !“ भन्दै उनले मलाई बाहिर पठाए । म बाहिर त निस्किएँ, तर पर्खने धैर्यता जुटाउने निकै गाह्रो भैरहेको थियो । हो न हो मेरो नियुक्ति अब रद्द हुनेछ । मेरो क्यारियरमा मस्तबहादुर खलनायक भएर उभिएको मैले महशुस गरेँ । अब मैले घरमा पुगेर आमाबा र पत्नीलाई के जवाफ दिऊँ ?

प्रअ मिटिङ सकिन आधा घण्टा पनि लागेको थिएन, तर मलाई त्यो पर्खाइ आधा जुग बिताएसरि औधि लामो र पीडादायी लाग्यो । बाहिर निस्किएपछि मस्तबहादुरले आफूसँग खलंगा जान भने । म लुरुलुरु उनका पछि लाग्नुको अर्को विकल्प देखिनँ । उनी भने अरु प्रअहरुसँग घेरिएर हात्ती हिँडेझैँ ठमठमती लम्किँदै उकालो लागे । बालमन्दिरको अगाडिपट्टि पुगेपछि एकजना सफेद सुरुवालभोटी र खैरो जुहारीकोटमा सजिएका अग्लाअग्ला मान्छे उनलाई भेट्न आइपुगे । 

मस्तबहादुरले उनलाई धाप मार्दै भनेः “तपाईँको आवश्यकता पूरा हुनेभयो !“
यो सुन्नेबित्तिकै ती हसिला रसिला मान्छे अर्धचन्द्रबाट पूर्णचन्द्रमा बदलिएसरि अकस्मात् ह्वात्तै उज्यालिए । उनको जिउ लकपकियो । उनको हर्षले स्वर कम्पित थियो, “हो ? को आउने भयो ? को आउने भयो ?“
“यी यिनी । यिनीसँग कुरा गर्नुहोस् ।“ मलाई औँल्याउँदै मस्तबहादुरले ती भर्खरै अनुहारमा चिल्लो घसेका जस्ता कल्साउँरा व्यक्तिलाई आश्वासन दिए ।
“तपाईँ जानुहुन्छ त मसँग ?“ उनले मलाई सोधे ।

म अर्कोचोटी चकित खाएँ । चिन्दै नचिनेको मान्छेले कहाँ जाने कुरा गर्दैछन् ?

“के कुरा हो ? कहाँ जानुपर्ने हो? मरिजाऊँ, मलाई त केही पनि थाहा छैन ।“ म अनकनाएँ ।
ती सुरुवालभोटीमा लपेटिएका मान्छेले आँखैले मस्तबहादुरसम्म मेरो अनभिज्ञता पु¥याइदिएः “तपाईँले कुरा गर्नुभएकै छैन ?“

“किन कुरा गर्नुप¥यो ? घरआँगनको जागिरी छोडेर नौडाँडा पारिको जागिरी खान्छु भन्ने को मुर्ख होला र ?“ ती अग्ला मान्छेलाई जवाफ दिइसकेपछि मतिर फर्किँदै भने मस्तबहादुरलेः “कुरा के हो भने तपाईँले शिक्षक जागिरी खान अब त्यति टाढा चौरजहारीसम्म जानुपर्दैन । चौरजहारीकै मा.वि. दरबन्दीमा रहेर तपाईँको घर नजिकैको सिम्रुतुमा पढाउनुपर्नेछ तपाईँले । सहमत हुनुहुन्छ हैन त ?“
“मलाई चौरजहारीको हेडसरले के भन्नुहोला ? नियुक्ति समर्थन गराउन आएको यतै बसिदिएपछि ??“
“त्यो चिन्ता छोडिदिनुहोस् । उनलाई मनाउने जिम्मा मेरो भयो । हिराचन्द्रजीलाई तपाईँ सहयोग गर्नुहोस् ।“

ती अग्ला मान्छेको नाम हिराचन्द्र पो रहेछ । ओहो नाम पनि कति सुन्दर ! हिरा पनि !! चन्द्र पनि !!! अनुहार र लवाइखवाइ  पनि हिरा र चन्द्र दुवै चम्किएझैँ चम्किइरहेको छ । हरघडी हाँसिरहँदा गालाका दुवैतिर खोबिल्टा पर्ने मनमोहक अनुहार ! उनको अनुहारले एकै नजरमा मोहित भैहालेँ । तर ’हुन्छ’ चाँहि भन्न सकिनँ ।
“आजैदेखि जानुपर्छ सिम्रुतु ।“ मस्तबहादुर र हिराचन्द्र दुवैको आदेशात्मक निर्णय थियो यो ।
मनमनै भनेँ, ’सिम्रुतु स्कूल पनि हेरुँ न त । हेर्दैमा के बिग्रिएला र ?’

मेरो पालो अब हिराचन्द्रको पछि लाग्नु थियो । पिपलनेटा हुँदै हामी सोलाबाङतिर झ-यौँ । हिराचन्द्रले सिम्रुतु स्कूलको स्थापना तथा जगेर्ना सम्बन्धी कुरा गर्दै गए । बल्ल थाहा पाएँ कि उनको स्वर खुशीले कम्पित भयो होला भनेको त हरघडी उनको स्वरमा एकप्रकारको सुमधुर कम्पन निस्किरहँदो रहेछ । त्यस कम्पनले उनको सर्वाङ्ग हल्लिँदो रहेछ । स्कूल जगेर्नाको लागि यति सारो दिलचस्पी भएको व्यक्ति पहिलोचोटी देखिरहेको थिएँ ।
पानेखोलाको कुलाको डिलैडिल हिँड्दा पनि हिराचन्द्र घरि अघिल्तिरबाट घरि पछिल्तिरबाट तानेर मलाई स्कूलको सम्बन्धमा घोकाइरहेका थिए । मैले टाउको मात्रै हल्लाइरहेँ । यस्तैमा हामीहरु मेरो घरको आँगनमा पुग्यौँ । मलाई देख्नेबित्तिकै आमाले सोधिन्, “चौरजहारीमा जागिर पाइने भो तो माइला ?“
“पाइने भो आमा ।“ मैले खुशी हुँदै आमा र बाको हात तानेर ढोगिदिएँ । 

“कति ज्याबाबाट अलग्गिएर टारा मात्रै बस्चै ? नजा भो जागिर खान चउरजारी ।“ आमाको यो कुरा सुनिरहेकी स्वास्नी ओठ पिलपिल पार्दै अघिल्तिर आइपुगेर मलाई ढोगिदिइन् । उनको पिलपिलाहटको अर्थ बुझेकै थिएँ ः“भो भर्खर विवाह बन्धनमा जोडिएका ढुकुरका भालेपोथीजस्ता हामी, धेरै टाढाको अनकण्टार जङ्गलमा एक्लाएक्लै नबसौँ !“

हिराचन्द्रले त्यो चीसो तर संशयपूर्ण अन्यमनस्कतालाई चिर्दै भनिहालेः “अब तपाईँको छोराले त्यति टाढा जागिर खान जानुपर्दैन । उहाँलाई हामीले सिम्रुतुमा नै जागिर दिने भैसक्यौँ ।“
“साँच्चै कि बलै ???“ आमा र स्वास्नी त दुवै डाँको छोड्लान् झैँ आँखाबाट हर्षाश्रु बगाउन थाले ।
०००
लहुँ खोलाको किनारै किनार हुँदै हिराचन्द्रसँग गफिँदैसिम्रुतु स्कूलसम्मै पुगेँ ।
जसलाई हामी लहुँखोला भन्थ्यौँ त्यो खोला त लहुँ नामको गाउँभन्दा धेरै माथिबाट आउँदोरहेछ । त्यो खोला सिम्रुतुमा त्रिवेणी नामले चिनिँदो रहेछ । त्रिवेणीको प्राकृतिक छटा नजरमा पर्ने बित्तिकै मन्त्रमुग्ध भैहालेँ म । दक्षिणतिरका रमणीय गाउँबाट निक्लिएर मुरुखोला कलकलाउँदै आइपुगेको छ, पूर्वतिरको सालघारीभित्र हुनहुनाउँदै खाराखोला आइपुगेको छ, उत्तरतिरका बाक्लो झाडीमा सुस्साउँदै रुँघाखोला आइपुगेको छ । सिम्रुतुमा यी तीनवटा खोला भेट भएपछि हातमा हात जोरेर, काँधमा काँध थापेर त्रिवेणी बनेका रहेछन् र अनि मात्र हातेमालो गर्दै तलतिर सुस्तसँग बगेका रहेछन् । 
त्रिवेणी बन्नको लागि भिन्न नदीहरु एउटै दिशाबाट मात्र आउनु जरुरी रहेनछ ! त्रिवेणी बनिसकेपछि भिन्नै दिशातिर पनि बग्न सकिँदो रहेछ !!!

तीनखोलाको त्रिवेणी संगमकै उत्तरी किनारको चारमानाजति बीउ जाने एउटा लामपाटीमा चारकोठे एकतले झुप्रो थियो । त्यस छाप्रोको अघिल्तिर छाप्रोको घडेरीभन्दा केही ठूलो अर्को लामपाटी थियो जसलाई त्यो घरका मान्छेहरुले आँगनको रुपमा प्रयोग गरेका रहेछन् । प्रवेशद्वारमा टाँगिएको बोर्डमा त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतु लेखिएको देखेकोले बुझेँ, ’यही नै हिराचन्द्रजीको सिम्रुतु स्कूल रहेछ !’
त्यतिबेला प्यूठानी मोहन गिरी त्यस स्कूलको प्रअको जिम्मेवारीमा रहेछन् । उनी विदामा रहेकोले कुलचन्द्र पौडेलले निमित्तको काम सम्हालिरहेका रहेछन् । नयाँ शिक्षक स्कूलमा आइपुगेको खबरले विद्यार्थीको एकएक झुण्ड घरिघरि अफिसकोठा आउँदै पुलुक्क मलाई चियाउँदै गरेको दृश्यले म रोमाञ्चित भैरहेको थिएँ ।

स्कूल स्थापना भएको त आधा दशक बितिसकेको थियो, तर शिक्षक तथा प्रअको निरन्तरता नहुँदा स्कूलको गति धरमरो देखिन्थ्यो । विद्यार्थीहरुको पढाइको स्तर पनि नाजुक अवस्थामा पुगेको थियो । एसएलसी परीक्षा निकट आइरहेको थियो, तर हरेक विषयको पढाइ पचास प्रतिशत पनि पुगेको थिएन । म शैक्षिक सत्रको अन्त्यतिर (२०४७ सालको कात्तिक २७ गते) सिम्रुतुमा पुगेको थिएँ । त्यतिबेला नयाँ शैक्षिक सत्र फागुनदेखि शुरु हुन्थ्यो । पुस र माघमा जाडो विदा हुन्थ्यो । 

मैले त्यसै दिन नियुक्ति पाएँ र पढाउन पनि त्यसै दिनदेखि शुरु गरेँ ।
एसएलसी रिजल्टमा निल हुने स्कूलको अनुमति खारेज गरिदिने जिशिअबाट चेतावनी आइरहन्थ्यो । मैले सदरमुकामको  खलंगा स्कूलमा राम्रै पढिरहेका भाइ प्रकाश र बहिनी निशालाई उताबाट छुटाएर सिम्रुतु स्कूलमा ल्याएर भर्ना गरिदिएँ । फलस्वरुप एसएलसी रिजल्टमा स्कूल निल हुनबाट जोगियो ।
०००
सिम्रुतुको गाउँमा बस्नेगरी यस अघि कहिल्यै गएको थिएन । दाङतिर झर्ने बाटो यही भए पनि बजारमा नअलमलिएर सिधै लार्दाको उकालो चढिहाल्थेँ । कहिलेकाँही उपचारको लागि मात्र सिम्रुतु हेल्थपोष्टसम्म जान्थ्यौँ । बाटो बजारवारिपट्टिबाटै जान्थ्यो । डाक्टरले (डाक्टरको जिम्मेवारी कहिलेकाँही अस्पत्तालको चौकीदारसम्मले पाउनसक्थ्यो ।)  सिफारिश गरेको औषधि किन्ने ठाउँ अस्पत्ताल नजिकै एउटा मेडिकल पसल थियो । त्यस मेडिकलमा लामालामा झुस्स दाह्रीजुङा पालेका राताराता डरलाग्दा राताराता आँखा  हुने सिङ्गै एउटै चेप्टे हाडले बनेका जस्ता अग्ला व्यक्ति कहिलेकाँही बसेका भेटिन्थे । उनको बोली त्यो डरलाग्दो शरीरभन्दा पनि भयानक र खस्रोखस्रो लाग्थ्यो । औषधि लिनजाँदा तिनी नभैदिए हुन्थ्यो भन्दै प्रार्थना गर्दै बिस्तारै उनको मेडिकल पसलतिर पाइला सार्दथेँ । जब प्रार्थनाविपरीत उनै मान्छे औषधि बेचिरहेका भेटिन्थे, मेरो सातोपुत्लो उड्थ्यो । कसैले यिनी त रुकुमका कम्युनिष्ट पार्टीका ठूलै मान्छे हुन् रे भन्ने कुरा सुनाइदिएको थियो । नाम विश्वेश्वर पोखरेल रे । त्यो सुनेदेखि यिनीप्रतिको मेरो डर झनै अक्कासिएको थियो ।

जब सिम्रुतुको स्कूलमा पाइला हालेँ, यिनी सिम्रुतुमा छन् भन्ने भुसुक्कै बिर्सिसकेको रहेछु मैले । सायद त्यसताका यिनी प्युठाननिवासी भएकोले उतैतिर वा बाहिरतिर पो थिए कि ?
त्यो हिउँदे विदापश्चात् शैक्षिक सत्रको शुरुवातीले प्रअ मोहन गिरीको प्रतिक्षा गरिरहेको बखत उनको राजिनामा आइपुगेकोले फेरि पनि स्कूलले अर्को शैक्षिक संकट भोग्नुपर्ने अवस्था आइदियो । 

फागुनको शुरुमा विद्यालयका विभिन्न शैक्षिक तथा भौतिक समस्या निवारणको लागि व्यवस्थापन समितिको बैठक बसाल्नुपर्ने भयो । त्योभन्दा अगाडि म आफैले बैठक डाक्नुपर्ने अवस्था आइपरेको थिएन । कसैले भनिदियोः ’यस बैठकमा विश्वेश्वर पनि आउँदै छन् ।’ मेरो सातोपुत्लो उड्यो कसरी गर्ने होला यी डरलाग्दा दारीवालसँग मुलाकाज ? ती मान्छे बैठकमा नआइदिए हुन्थ्यो जस्तो लागिरहेको थियो । 
तर जीउभरि झुसैझुस भएका ती मान्छे र हिराचन्द्र काँधमा काँध जोडेर तोकिएको समय अगावै स्कूलको अफिसमा आइपुगे । विश्वेश्वरको जीउ फागुनको चीसोमा पनि पसिनै पसिनाले निथ्रुक्क भिजेको थियो । बडेमानको जिउमा खुल्ला खालका लुगा भिरेकोले उनी सल्लाको सिँगै रुख नै कोठाभित्र पसेझैँ लाग्यो । मैले जसोतसो सास रोकेर परिस्थितिको सामना गर्न खोजेँ ।
व्यवस्थापन समितिका अधिकांश सदस्य उपस्थिति पश्चात् बैठक प्रारम्भ भयो । प्रअको खोजी नै पहिलो बैठकको पहिलो प्रस्ताव थियो । पढेर सुनाएँ मैले ।

“अब‘.. घरमै‘. भएको‘.सम्पति‘. छोडेर‘. जङ्गलमा‘. खोज्न‘. जानु भएन‘.. हाकहाकहाकहाकहाक ।“ व्यङ्ग्यमिश्रित मुस्कानसहित विश्वेश्वरले धोद्रो स्वरमा रोकिई रोकिई एउटै वाक्यको शब्दहरुलाई अनावश्यक रुपमा अलग्ग्याउँदै आफ्नो बिचार बैठकमा राखे ।

“के भयो त ? अब तपाईँले नै प्रअको जिम्मेवारी पूरा गरिदिनुहोस् ।“ मलाई इङ्गित गर्दै हिराचन्द्र बोले ।
“म त्यतिठूलो जिम्मेवारीको काम सम्हाल्न सक्दिन कि ?“ म अकमकाएँ ।

“हाऽऽऽ हाऽऽऽ हाऽऽऽ हाऽऽऽ हाऽऽऽ हाऽऽऽ“ विश्वेश्वरको गडगडाहट हाँसो यति भयानक थियो कि अफिस कोठाको भित्ता नै चर्किएला झैँ कुनाकाप्चाबाट बुङ्ङ धुलो पनि उड्यो । लामो हाँसो सकेपछि उनी बोलेः
“मान्छेलेऽऽऽ गर्नऽऽऽ नसक्नेऽऽऽ कामऽऽऽ केऽऽऽ होलाऽऽऽ रऽऽऽयोऽऽऽ संसारमाऽऽऽ? दुईचारऽऽऽ अक्षरऽऽऽ पढेकोऽऽऽ भएऽऽऽलहुँखोले वादीलेऽऽऽ नाइँऽऽऽ गरिदिन्थ्योऽऽऽ यो कामऽऽऽ ! हाऽऽऽ हाऽऽऽ हाऽऽऽ हाऽऽऽ हाऽऽऽ हाऽऽऽ हाऽऽऽ ।“
प्र.अ. चयनको निर्णय सर्वसम्मतले पारित भएपछि शैक्षिक प्रस्तावमा थियोः दक्ष शिक्षकहरुको आपूर्ति सम्बन्धमा । जिल्लामा चर्चा बटुलिरहेका उम्दा शिक्षकहरु जस्तो कि खलंगा स्कूलबाट गंगालाल ओलीलाई रुँघा स्कूलबाट जितबहादुर शाह र पहलबहादुर पुनलाई जसरी पनि लोभलालच सुविधा जे देखाएर हुन्छ सिम्रुतु स्कूलमा भित्र्याउने । बैठक सकियो र उसरी नै विश्वेश्वर र हिराचन्द्रको जोडी हल्लिँदै सिम्रुतु बजारतिर लाग्यो । मैले सजिलोसँग सास फेरेँ ।

बैठकको निर्णयअनुसार जितबहादुर र पहललाई सिम्रुतु स्कूलमा भित्र्याउन व्यवस्थापन समिति सफल भयो । हामी तीन शैक्षिक हस्तीको अनुपम् त्रिवेणी बन्यो । केही समयपछि गंगालाललाई पनि सिम्रुतुमा ल्याइयो ।
त्यसपछि योजनामुताबिक नै ल्याउन खोजिएका अरु शिक्षकहरु ओपेन्द्र शर्मा, डिल्ली मल्ल, छविलाल खडका, धनबहादुर ओली आदिलाई पनि स्कूलमा ल्याइयो । त्यसपछिका विभिन्न समयमा शिक्षकहरुबिच पनि रमाइलो त्रिवेणी बन्ने क्रम जारी नै रह्यो ।

विश्वेश्वर त्यसपछिका बैठकहरुमा नियमित आउन थाले । उनको तार्किक एवम् योजनावद्ध प्रस्तावहरु र निर्णयहरु कार्यान्वयन मात्र होइन सफलीभूत हुँदै जान थाले । कसैले भनिदिएको थियोः “हिराचन्द्र, विश्वेश्वर र पूर्णको त्रिवेणीले गर्दा मुर्झाइसकेको स्कूल पुनः पल्लवित हुँदै यसरी जाग्न थाल्यो ।“
०००
उता भने विश्वेश्वरको आकृतिले पैदा भएको डर मेरो मनबाट बिस्तारै भाग्दै गयो । उनको धोद्रो बोली मन पर्न थाल्यो, त्यो धोद्रो स्वरभित्र भिन्नै प्रकारको सुरिलो लय बजिरहेको हुन्थ्यो । उनको खरो व्यवहार मन पर्न थाल्यो जसभित्र निकै कामलाग्दा उपदेशहरु हुन्थे । उनको दारीजुङासहितको भीमकाय शरीर मन पर्न थाल्यो, जुनभित्र करुणा र दयाको महासागर नै देखिन थाल्यो । उनको समष्टिगत शरीरको भयानकता पनि मन पर्न थाल्यो ।
विश्वेश्वरको शरीरबाट जुन भयानकता र कठोरता झल्कन्थ्यो, व्यवहार त्यसको ठीक विपरीत थियो । उनी त अत्यन्तै साधारण, अत्यन्तै कोमल र अत्यन्तै मिलनसार पो रहेछन् ।

हिराचन्द्र वा विश्वेश्वर माओवादी पार्टीका कुन स्तरका कार्यकर्ता थिए मलाई कहिल्यै थाहा भएन, त्यतातर्फ मैले कहिल्यै बुझ्न पनि चाहिनँ । उनीहरुले आफ्नो सांगठनिक काममा पनि लाग् भनेर मलाई कहिले पनि उचालेनन् । स्कूलको जगेर्ना नै तिम्रो मुख्य काम हो भनेजसरी शैक्षिक काममा हातमा हात मिलाए, काँधमा काँध थापे । राजनीतिक आग्रह र पूर्वाग्रह कहिले पनि मेरो सामु उदाङ्गिन दिएनन् । मेरो त त्यस प्रकारको पूर्वाग्रह नै के थियो र ?
मैले प्रअको जिम्मेवारीमा रहुन्जेलसम्म विद्यार्थीहरुलाई,’राजनीतिमा लाग्ने उमेर यो होइन, पहिले एसएलसी पास गर, अनि मात्र राजनीति गरौला!’ भन्दै राजनीतिमा क्रियाशिल हुनचाहने विद्यार्थीहरुलाई राजनीतिबाट अलग राख्न प्रयत्न गरिरहन्थेँ । अत्यधिक रुपमा माओवादी समर्थक विद्यार्थी नै त्यहाँ हुने भएकोले मेरो बढी जोड पनि त्यस्तै विद्यार्थीहरुलाई राजनीतिमुक्त तुल्याउनुतिर उन्मुख भयोहोला । म सातवर्षसम्म पनि सिम्रुतुको आसपास हुने कुनै पनि राजनीतिक कार्यक्रममा कहिले पनि संलग्न भइनँ र चासो पनि कहिल्यै राखिनँ । राजनीतिमा अत्यधिक चासो राख्ने विद्यार्थी, अभिभावक वा अन्य राजनीतिक नेताहरुले पनि मलाई त्यतातिर प्रेरित कहिले पनि गरेनन् । मलाई स्कूलको व्यवस्थापन चलाउनको लागि स्वतन्त्रपूर्वक छोडियो । मैले देखेसम्म हिराचन्द्र र विश्वेश्वरको जोडी सिम्रुतु स्कूललाई कसरी उकास्ने भनी अहोरात्र खटिरहेको हुन्थ्यो । 

सिम्रुतु स्कूल भने त्यतिबेला मुख्य राजनीति र प्रशासनको वक्रदृष्टिमा परेको थियो । के कारणले थियो कहिले बुझ्ने प्रयत्न समेत गरिनँ । त्यतिबेला समष्टिगत राष्ट्रिय योजनाहरु नै सीमित रुपमा थिए, तीमध्ये आक्कलझुक्कल जिल्लामा आइपुगेका शैक्षिक कार्यक्रमहरु चुहेर पनि सिम्रुतुसम्म आइपुग्न कठिन थियो । आर्थिक तथा भौतिक सहयोगको लागि त्यतातिर आश गर्नु आकाशको फल जस्तै थियो । अतः विद्यार्थी तथा अभिभावकहरुलाई सकेजति दुहुनु नै स्कूल सञ्चालनको मुख्य आधार थियो ।

स्कूलमा जिल्लामै प्रवीण ठानिएका शिक्षकहरु व्यवस्था गरिएपछि विद्यार्थीहरुको भर्नादर ह्वात्तै बढ्यो । कोठामा अटेसमटेस हुन थाले विद्यार्थीहरु, जसले गर्दा अर्को भवन र अझै फराकिलो आँगनको आवश्यकता टड्कारो खड्कियो । भवनको लागि ढुङ्गा खोलाभरि नै थिए । सीमित मात्रामा खालि जग्गा पनि खोला किनारमा उपलब्ध थियो । मैले तिनै खेर गइरहेका श्रोतसाधनलाई उपयोग गर्न सकिने देखेँ । विद्यार्थीहरुलाई हरेक दिनको मध्यान्तरमा, हरेक शुक्रबारमा र हरेक प्रयोगात्मक परीक्षाहरुमा ढुङ्गा माटो ओसार्न एवम् जग्गा फराकिलो पार्ने काममा नै जोताउन थालेँ । हरेक तिहारमा शिक्षक तथा विद्यार्थीहरुलाई घरमा रमाउन नदिई देउसीभैलोको लागि गाउँ गाउँ खटाएँ र उठेको पैँसाले ज्यालादारी शिक्षकहरुलाई तलब वितरण गरियो । त्यसबेलासम्म प्रस्तावित माविको स्वीकृत दरबन्दी एउटा पनि थिएन । देउसीभैलोबाट उठेको पैँसाबाट दुईतले आठ कोठे भवन समेत निर्माण गर्न सफल भएको थिएँ । पछि बर्खेटाकुरा स्कूललाई समेत सिम्रुतुमै झारियो र ६ र ७ कक्षाको अनुमति लिन सफल भएर एककक्षादेखि दशकक्षासम्मको विद्यालय बन्न पुग्यो सिम्रुतु । स्कूलमा प्रस्तावित अस्थायी दरबन्दीहरु थपिँदै गए ।
०००
प्रअको जिम्मेवारीको अतिरिक्त मेरो अर्को भूमिका हुन्थ्योः चौतर्फी विषयगत शिक्षकको भूमिका । विद्यालयमा जुन विषयको शिक्षकको अभाव खड्कन्थ्यो त्यही विषय आफूले पढाउनुपर्थ्यो । गणित विषय त रुची र योग्यता(मिल्दो विषय छँदै थियो शिक्षकको अभाव हुँदा अंग्रेजी, विज्ञान, नेपाली सामाजिक लगायतका विषय शिक्षक बनिटोपलेर पनि पढाउनुपर्थ्यो । बाहिरतिर कुरा काट्नेको कमी थिएनः ‘शिक्षा नै नपढेको वा अंग्रेजी नै नपढेको विषयशिक्षकले पढाइदिँदा नै ती विषयहरुमा अनुत्तीर्ण दर बढेको हो ।‘

स्कूलको व्यवस्थापन समिति मरिमेटी शिक्षक खोज्न जुटेकै थियो तर भन्नेबित्तिकै शिक्षक पाइए पो ? अहिले मुलुकका कुनाकुनामा खुलेका नयाँ बोर्डिङ स्कूलजस्तै पाइएका शिक्षकलाई निरन्तरता दिलाउनु महामुश्किल हुन्थ्यो । पाइए भनिएका दक्ष शिक्षकहरु सिम्रुतु छोडेर अलिकति बढी अवसर मिल्ने अर्को स्कूलमा गइहाल्थे । आफैले नगरी उनीहरुको विषयगत रिक्तता कसले पूरा गरिदिने ? तर पनि ती कुरा काट्नेहरुको मुख थुनिदिन झण्डै प्रथम श्रेणीमा एकवर्षे बीएड गरेँ, त्यसको लगत्तै मेजर इङ्लिशमा ५३ प्रतिशत नघाएर बिए पनि सिध्याएँ । मसँग अब तीनवटा विषयमा स्नातक र अर्थशास्त्र विषयमा स्नातकोत्तर  प्रमाणपत्रहरु हात परे । ईख र आँखीदीखको फलस्वरुप हात लागेका प्रमाणपत्र थिए यी, जुन सिम्रुतु स्कूलको भित्तो पछाडिबाट कुरा काट्नेहरुको अमूल्य देन थियो । नत्र भन्न सकिन्नथ्यो ती डिग्रीहरु हासिल गर्न आजपर्यन्त सक्थेँ कि सक्दिनथेँ ? किनकि ती डिग्रीहरु पश्चात् आजपर्यन्त एउटा पनि डिग्रीको प्रमाणपत्र हासिल गर्न सकेको छुइनँ ।

शिक्षक, अभिभावक र व्यवस्थापन समितिको अथक प्रयासले गर्दा त्रिवेणी नजिकैको त्रिवेणी स्कूलका विद्यार्थीहरुमा पनि सुन्दर त्रिवेणीहरु देखा पर्न थालेका थिए । खीमा, कविता र ज्ञानीको त्रिवेणी । हर्कसिँ, लोकबहादुर र कृष्णको त्रिवेणी । बागसिँ, डाइमन र पविताको त्रिवेणी । हरिहर, बिनाराम र तुल्सिरामको त्रिवेणी । र यस्तै नाम छुट्न पुगेका थुप्रै त्रिवेणीहरु । 

सदरमुकाममा सञ्चालन हुने खेलकूद, साहित्य, साँस्कृतिक तथा जुनसुकै अतिरिक्त क्रियाकलापहरुमा यस स्कूलले दरो उपस्थिति देखाउन थाल्यो । उपस्थिति मात्र होइन कुनै न कुनै स्थान हत्याउन थाल्यो । फलस्वरुप जिल्लामा त्रिवेणी स्कूलको छवि पनि उँचो हुँदै जान थाल्यो ।

एकताका मुरु, खारा, रुँघा, भलाक्चा, खलंगा तथा छिवाङ गाविस समेतका ठाउँहरुबाट दश कक्षामा सयजनाभन्दा बढी विद्यार्थीहरु भर्ना हुन आएर दशम् कक्षाकोठा खचाखच भरिएको थियो । उनीहरुले सिम्रुतुबाट एसएलसी पास गरिछाड्ने सुन्दर सपना बोकेर आएका हुँदाहुन् । शैक्षिक प्रमाणपत्र हासिल गर्न प्रशस्त विद्यालय शुल्क एवम् रहनसहन खर्च गरे होलान् । उता जिल्ला शिक्षा कार्यालयबाट एसएलसी परीक्षामा तीस प्रतिशत नतिजा ल्याउन नसक्ने विद्यालयको अनुमति खारेज गरिदिने चेतावनी आइरहेको थियो । मैले सो कारवाहीबाट जोगिन सेन्टअप परीक्षामा सत्तरी प्रतिशत विद्यार्थीहरुलाई फेल गराइदिएँ । फलस्वरुप अपेक्षित नतिजा हासिल गरेर कारवाही हुनबाट त जोगिएँ, तर फेल गराइएका अनुहारहरु सम्झँदा अहिले पनि मुटु काँपिरहन्छ, छाति फाटिरहन्छ र पश्चात्तापले पोलिरहन्छ । कतिपय त फेल हुनुको पीडाले कालापार पसेका विद्यार्थीहरु अहिले पनि गाउँमा फर्किन सकेका छैनन् ।
०००
सिम्रुतु जागिरीको उत्तरार्द्धमा माओवादीले जनयुद्ध घोषणा गरिसकेको थियो । त्यतिबेला रुँघा माओवादीको अति प्रभावित क्षेत्र मानिन्थ्यो । सिम्रुतुमा सशस्त्र प्रहरीको पोष्ट बसेको थियो भने माओवादीको पोष्ट पनि नजिकै रहेको आभाष हुन्थ्यो । राता काला लुगा लगाएका युद्धपिपासुहरु गिद्धले ढाकेझैँ सिम्रुतुका खेतभरि र बर्खेटाकुरा आसपासको जङ्गलभरि छ्याप्छ्याप्ती छरिएका देख्दा शिक्षक तथा विद्यार्थीहरुका दिलदिमागमा भूकम्प सिर्जना हुन थाल्यो ।

प्रशासनिक वा पृथक राजनीतिक नजरबाट के देखिन्थ्यो भने सिम्रुतु स्कूल नै माओवादी उत्पादन गर्ने कारखाना हो । स्कूलको प्रमुख जो हो ऊ नै त्यसप्रकारको कारखानाको प्रमुख पनि हो । 
बिहान बेलुका स्कूल जाँदा आउँदा सिम्रुतु चौकीका इन्चार्जसाब सिम्रुतुदेखि सोलाबाङसम्मको कतै न कतै बाटोमा भेटिइरहन्थे र हरेक भेटमा अँगालो मार्ने बहानामा पूरै शरीर छाम्थे र हरेकपटक मेरो शरीरमा खोजेको कुरा केही नभेटाएपछि केरकार गर्थेः “कुन माओवादी कार्यक्रममा जाँदैछस् ?  कुन कार्यक्रम भ्याएर आइस्?“,‘म स्कूलको प्राङ्गण छोडेर कतै पनि ननिस्कएको’ भन्दै सफाइ पेश गरिरहन्थेँ, उनीहरु दिनहुँ एउटै प्रश्न सोधिरहन्थे । 
माओवादीहरुले विद्यालयमा कार्यक्रम सञ्चालन गरेको म सुइँपत्तो पाउँदिनथेँ । पाइहाले पनि त्यसको भोलि वा पर्सिपल्ट मात्र । चुकचुकाउनु र धारे हात लगाउनु बाहेक अर्थोक केही गर्न सक्दिनथेँ म ।

तर सशस्त्र प्रहरीहरु भने स्कूलमा केही विषय पढाइदिने निहुँले दिनभर स्कूल र हरेक कक्षाकोठाहरुमा बेरोकटोक पसिरहन्थे । जब बेलुका चार बजेको विदाको घण्टी बजेपछि विद्यार्थीहरु लाखापाखा लागिसक्थे र एकडफ्फा प्रहरी स्कूलबाट पारितिर फर्कन्थे त्यसपछि पारिबाट अर्को डफ्फा आइपुग्थ्यो र ‘आज किन स्कूल बन्द गरियो ?’ भन्दै मलाई नै बिडम्बनापूर्ण तवरले केरकार गर्थ्यो । अभिभावकहरुले प्रहरी वा माओवादीहरुलाई खुल्लेआम स्कूल प्रवेश गर्न दिएको भन्दै मसँगै रोष प्रकट गरिरहन्थे । मसँग उनीहरुलाई छेक्नसक्ने उनीहरुको भन्दा गतिलो हतियार के पो बाँकि थियो र ?

फलस्वरुप दिनदिनै स्कूलबाट क्रियाशिल वा निष्क्रिय विद्यार्थीहरु पनि पक्राउ परिरहेका थिए र विद्यालय छोडेर फरार पनि भैरहेका थिए । सो सम्बन्धमा माओवादी संगठन वा प्रशासनिक संगठनबाट मलाई विरोधी तत्वसँग मिलेमतो गरेको भन्ने मिथ्या आरोप र चेतावनी पनि आइरहन्थ्यो । उता भने प्रहरीहरुले माओवादीको सबै योजनाकार प्रअ नै भएको भन्दै स्कूलबाटै मलाई घरिघरि पक्राउ गर्दै कहिले सिम्रुतु चौकीमा थुनिराख्थे त कहिले सदरमुकाम पु¥याउने भन्दै लहुँको जङ्गलमा लगेर छोडिदिने गर्दथे । जब सदरमुकाम लगिने बहाना झिक्दै मलाई प्रहरीको डफ्फाले सिम्रुतुबाट हिँडाउँथ्यो मलाई प्रत्येक पटक लाग्थ्यो कि यिनीहरुले अब मलाई बाटोमै सिध्याइदिने छन् । म अब कदापि स्कूल वा घरमा कहिले फर्किन पाउनेछैन । यसरी बिचबाटोमै हत्या गरिएका शिक्षक तथा विद्यार्थीहरुको संख्यामा उल्लेखनीय वृद्धि भैरहेको खबर आइरहन्थ्यो । विभिन्न हत्याका खबरहरुले मानसिक तनाव दिनहुँ थपिरहन्थ्यो । सिम्रुतु नै किन पढाउन आइपुगेँ हुँला भन्दै आफैलाई धिक्कार्थेँ ।

मैले घरमा आएर स्कूलमा वातावरण प्रतिकूल हुँदै गएकोले निरन्तरता दिन नसक्ने कुरा प्रकट गर्न थालेँ । मैले मात्र होइन, छरछिमेकले पनि यस्तो परिस्थितिमा सिम्रुतुजस्तो जोखिम ठाउँमा नपढाउन सुझाव दिन थाले । देशभरिबाटै माओवादी वा प्रहरीबाट पहिलो तारो शिक्षकहरु नै भएको खबर आइरहेको थियो ।

अति नै भएपछि मैले आफ्नो प्राण र अस्तित्व रक्षाको लागि सातवर्षे प्रअको जागिरी त्यागिदिने निर्णय लिएँ । बाआमा र पत्नीका आँखामा उम्रिएको आँशुको भेलको नापजाँच गर्नेतिर लागिनँ । फलतः २०५४ सालको अन्तिम महिनाको अन्तिम एक रात त्रिवेणीको संगमस्थल सिम्रुतुबाट नफर्किने गरी पाइला उचालेँ । 

त्यसको केही महिनापछि त्रिवेणीका एक हँगाला विश्वेश्वरलाई लहुँको जङ्गलमा लगेर प्रहरीले सिध्याएको खबर आयो । म स्तब्ध भएँ । केही वर्षपछि त्यस त्रिवेणीको अर्को प्रमुख हँगाला हिराचन्द्र कालापार भागेको र उतै मृत्यू खबर भएको दुःखद खबर आयो । मैले खुल्ला रुपमा उहाँहरुलाई श्रद्धाञ्जली पनि भन्न पाइनँ ।
०००
स्कूल छोडे पनि स्मृति छोड्न सकिँदो रहेनछ । 
त्रिवेणीको त्यो संस्मरणलाई स्मृतिको गहिरो खाल्टोमा जति अँचेटपाँचेट पार्न खोज्छु त्यति नै फुत्तफुत्त उफ्रेर बाहिर निस्किहाल्छ ।

सम्झन्छुः त्रिवेणी बन्नको लागि एउटै दिशातिरबाट नदीहरु आउनुपर्दैन र उही आएकै दिशातिर फर्किएर पनि बग्नुपर्दैन । 
म बिनारामकै स्टाटसमा घोत्लिन पुग्छु ।

मान्छेको बिचार रहरले मात्र बनेको हुँदैन । बिचारमा विभिन्न अत्यास लाग्दा कहरहरु पनि मिसिएका हुन्छन् । बिचार बन्न जति आकर्षित गर्ने तत्वहरुको भूमिका रहेको हुन्छ त्योभन्दा बढी विकर्षित गर्न खोज्ने तत्वहरुको भूमिका रहेको हुन्छ । सायद प्रचण्ड पनि बीरेन्द्रको संरक्षणमा हुर्किएको भए रुक्माङ्गत कटुवाल नै बन्थे होलान् । वा युवराज दिपेन्द्र पनि प्रचण्डको संरक्षणमा हुर्केको भए कमरेड प्रभाकर नै बन्थे होलान् । कसले कुन बिचार लियो भनेर मिथ्यारोपित गर्नुभन्दा जीवनको उर्वर उमेरमा कसले कसलाई संरक्षण दियो भन्ने महत्त्वपूर्ण कुरा हो ।

कुन राजनीतिक व्यवस्थामा आउला त्यस्तो सुशासन, जसमा गाउँमै उपलब्ध दक्ष जनशक्तिले बिना राजनीतिक पूर्वाग्रह गाउँघरको मनग्गे सेवा गर्ने अवसर भेट्टाओस् ? म बिनारामलाई केही प्रतिक्रिया दिन सक्दिनँ ।

 42 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top