सुफ्लाको हवाइजहाजको एक ‘शरणार्थी’

‘समयको उत्ताउलो बाढीले
बगाउँदै ल्याइपुर्‍याएको छ जसलाई यो बगरसम्म
म त्यही अभागी रुख हुँ ।’
……..
अभाव, भोक, शोक, रोग, दुःख, वेदनाका पीडामय मुसलधारे समय-वर्षा निरन्तर वर्षिरहेको छ एकाबिहानैदेखि । थामिने कहीँ कतै लक्षण छैन, झन् झन् बाक्लिँदै छ । वर्षासँगै आँधी पनि चलिरहेको छ । उत्पात् आँधीवर्षाले खहरेहरु उत्पत्तिएर बैंस देखाउँदै जतापायो उतै सिँगौरी खेल्दै छन् । कमजोर धरातल थर्किएर पाखाका बस्तीहरुबाट जीव/अजीव अवयव सोहोर्दै पहिराहरु झरिरहेका छन् । खहरे र पहिराहरु मिश्रित खोला झन् झन् उत्ताउलिएर भयानक बाढीको रुप धारण गरिरहेको छ । किनार वरपरका गैह्रीखेतहरु बगरमा परिणत भैसकेका छन् । ती बगरहरुमा अस्तित्व लुटिएका प्राकृतिक अवयवहरु थुप्रिँदै छन् । ती अभागी अवयवहरुमध्ये केही रुखका गिँडहरु पनि छन् ।
ओहो यात्री ? तिमी ? कहाँबाट आइपुग्यौ मेरो समीपमा ? तिमीले मलाई चिनेनौ हगि ? म त तिमीलाई राम्रोसँग चिन्छु । झ्वाट्ट हेर्दा म नचिनिन सक्छु, किनकि ती दुर्घटित पहिचान गुमाएका गिँडहरुमध्ये म पनि एक हुँ ।
……..
‘यो अनियन्त्रित बगाइमा
ढुङ्गामा बज्रिएको छु धेरैपटक
र शरीरभरि घाउहरु बोकेर हिँडेको छु ।
भूमरीहरुमा फसेको छु धेरैपटक
र मष्तिष्कभरि रिङ्टाहरु बोकेर हिँडेको छु ।’
……….
बाढीको बगाइ अनियन्त्रित छ, आफ्नै दुई किनाराहरु समेत भत्काउँदै उर्लिएको छ । उसको मदबेहोशीमा मेरा बोक्राहरु लुछिइसकेका छन् । मेरा हाँगापातहरु क्रुर बाढीले छोक्रा मात्र बाँकी राखेर चपाइसकेको छ । भैगो, मलाई नउठाऊ ! भूमरीको निरन्तर घुमाइको निवर्तमान स्मरणले म सुतेको बगर र मैले ओढेको आकाश अझै फन्फनी घुमिरहेको छ । भैगो, मलाई नछोऊ ! यतिखेर जता छोयो त्यतै चहराइरहेको छ ।
ए, यात्री !
मलाई उखेलेर हेर्‍यौ भने माटोमुनि गाडिएका मेरा स्थायी जराहरु भेट्टाउने छैनौ । तिमीलाई भान भयो होला गिँडहरुमा कुनै भेद छैन । म कुन जातिको रुख थिएँ, तिमीले पहिचान्ने छैनौ, किनकि उन्मत्त भेलको बारम्बारको बलात्कारले गर्दा मेरो ज्यानको मौलिक वासना लुटिइसकेको छ । मेरो कापमा लागेका कोपिला र फूलहरुसँगै मेरो सौन्दर्य बाढीसँगै मच्चिएको आँधीले झारिसकेको छ ।
अब तः
………
‘मेरो खाली हाँगामा आएर
चराहरु गीत गाउन नबसेको धेरै भयो
जराकै ठेगान हराएको म
बीउको सपना नदेखेको धेरै भयो ।’
……..
हो, यात्री, तिमी त अहिले पनि तिम्रो टाउको अट्ने सानो छाता बोकेर आएका छौ । तिम्रो जीउमा चीसोतातो र लाज ढाक्ने लुगा छ । तिम्रो बाटो हेरेर कोही बसेको छ, किनकि तिमी कसैको आशाका केन्द्र बिन्दु हौ । तिमीभित्र भविष्यको बीउ यथेष्ट छ । तर तिमीसँग जे जे छन्, ती मसँग छैनन् र ती कुराहरको विपनामा त के सपना समेत देख्न म असमर्थ भैरहेको छु ।
यो वर्षातमा आफ्नो स्थायी र पक्की घर हुनेहरु बाहिर निस्किन मानेका छैनन् । वर्षादले भित्रैसम्म चीसो पसाएको होला । वर्षा रो्क्ने होइन मात्र चीसो धपाउने चातुर्यताहरु भित्रै बुनिँदै होलान् । आफ्नाहरुलाई अंगालोमा बेरेर राखेका होलान् । तर म अभागी ?
यात्री तिमी र ममा बिलकुल फरक छ । म कालीगण्डकी तिरमा उम्रिएर बाढीको चपेटामा परे पश्चात् बाढीमै हेलिँदै नारायणीतिरमा आइपुगेको भूपिन नामको एउटा कलिलो रुखको अवयव हुँ । म उम्रिएको भूगोल र बग्दै बग्दै आएको यो सुख्खा ठाउँमा नै एकदमै फरक छ । मेरो सपनाको जङ्गल र विपनाको यो उराठलाग्दो भूमिमा नै फरक छ । मेरा जन्मभूमिका स्मृतिहरु जुन बाँकी छन्, ती तिम्राभन्दा अलग छन् । नदी किनारमा भए पनि मेरा तृष्णाहरु र कहिले नमेटिने भोक भने अझै बाँकी छन् र ती तृष्णा र भोकहरु तिम्रोभन्दा आकाशपात्ताल फरक छन् । हो यात्री, मेरा भोगाइ र बगाइ तिम्राभन्दा नितान्त फरक छन् ।
….. ………… …………….
कल्पना मात्र गरौँ त, एउटा देशबाट जरा उखेलिएर अर्को देशको बगरमा ल्याइपुर्‍याएका हाँगाबिँगा चोइटिएका शरणार्थीको कथा ? कल्पना गरौँ त, एउटा सामन्तले घरबारविहिन तुल्याएर गाउँबाट लखेटेको एउटा निमुखा गरीबको कथा ? कल्पना गरौँ त एउटी सन्तानलाई माइतीले ‘यो घर तिम्रो होइन, पराइ घर जाऊ !’ भन्दै स्वामित्वविहिन तुल्याई जन्मघरबाट निकालिएकी चेलीको व्यथा ? वा कल्पना गरौँ त, सुप्लाको आड दिएर तामालाई बाँस तुल्याइसकेपछि खस्न पुगेका वृद्ध आमाबाहरुको व्यथा ? विभिन्न आर्थिक तथा सामाजिक उत्पीडनको भारी वर्षातले आफ्ना परिवारहरुसँग बिछुडिएर परदेश पुगेका परदेशीहरुको व्यथा ? सडक बालबालिकाका व्यथा ? यस्तै थुप्रै सामाजिक कथा व्यथाहरु ?
कल्पना गर्नुभयो ? उसोभए समयको बाढीले बगाएको रुखको कथा पुनः पढिदिनुहोस् । एक पटक फेरि, अर्कोपटक फेरि ! अनि दाँज्दै जानुहोस् त्यो परित्यक्त गिँडसँग । उसको बगाइ, भोगाइ र रिङ्टामा बगरमा सुतेको गिँडको अवस्थासँग एकएक गरी दाँजी हेर्नुहोस् । भावनामा कतै फरक पाउनुभयो ? अँहँ बिल्कुल फरक छैन । फरक छँदैछैन ।
….. ………… …………….
अब पीडा भोग्नेहरुले दाँज्नुहोस् कि कुनै पृयजन सधैँसधैँको लागि आफूबाट पर बगेर गएको कथा ! अब दाँज्नुहोस् उसको बिछोडको बाढीले बगाएको तपाईँ स्वयमको कथा !!
एकएक दाँज्नुहोस्, यात्री, जो आलो पीडामा बाँचिरहेका छन्, तिनीहरुको व्यथा पनि बुझिदिनोस् ! पृय यात्री । तपाईँले पो छाता बोक्नुभएको छ र ! अरुसँग त्यो छाता पाउने भाग्य कहाँ छ र ???
ए यात्री, तिमीलाई नै सर्वसम्पन के देखाइदिएको थिएँ, एकछिनमै फुर्किएर गर्वले यामानको छाति फुल्याइसकेछौ त ? तिमी जतिसुकै स्रोतसाधनले सुशोभित विवेकी सर्वोत्कृष्ट मानव किन नहोऊ, म सर्वस्व लुटिएको कङ्काल गिँड मात्र किन नहोऊँ, तिमी र म नितान्त फरक हुँदै होइनौँ । दुरुस्तै उस्तै पो रहेछौँ । हामी कहाँ थियौँ ? समयले बगाएर कहाँ ल्याइपुर्‍याएछ ? र बगरतुल्य यो पृथ्वीमा आइपुगेछौँ । रहँदाबस्दा यही बगरलाई नै सुन्दर बगैँचा ठानिरहेछौँ, नितान्त आफ्नै, मात्र आफ्नै ठानिरहेछौँ । भोलि यहाँबाट बगेर कहाँ पुग्नुछ कहाँ !! त्यो बगाइको बोध, न तिमीलाई थाहा हुनेछ, न त मलाई नै ।
…………. ………….. …………
यसरी भावनाको असिम गहिराइमा डुबुल्की मारेर समयलाई घाँटीमै च्याप्पै पक्रिँदै यो बगरमा कविताले बुनिएको जालबाट पछार्ने तिमी को हौ ? कतै तिमी कवि भूपीन त होइनौ ?
अवश्य ! उनी एक प्रखर कवि भूपिन खडका हुन् । उनको लहड पनि गजबको छ ! सुन्नचाहनुहुन्छ ? उनी बाँसको सुप्लाको हवाइजहाज चढेर चन्द्रमा छुन चाहन्छन् । वाह, कविजी वाह !


उनलाई एउटा नरम तामाबाट सशक्त कविरुपी बाँसको निकै अग्लो लिङ्गो तुल्याउने सुप्लाहरु को को हुन् ? कसरी सुप्लाहरु जम्मा गरेर हवाइजहाजका पुर्जाहरु तयार गर्छन् ? कसरी त्यसलाई उडाउँछन् ? उनको उडान स्मृति कस्तो छ ? कसरी त्यसलाई चन्द्रमाको सतहमा उतारिछाड्छन् ? भन्ने कल्पनाको रोमाञ्चक उठान, उडान र बैठानका रोचक मार्मिक र मनछुने वर्णनका केही सुकिला र केही दुःखिला कविताहरु सुप्लाको हवाइजहाज कविता संग्रहभित्रका यात्रीकक्षभित्र टम्म मिलाएर बसाएका छन् । त्यति मात्र होइन कविताहरुलाई सेफ्टिबेल्ट बाँधिदिएर सुप्लाको हवाइजहाज नउडे पनि कविताचाँहि उड्ने गरी तयारी हालतमा राखिछोडेका छन् ।

कविता क्रमलाई पनि श्रेणी विभाजन गरिदिएका छन् । शुरुको समय र देश श्रेणीमा  देब्रे हात, ट्रक ड्राइभर, एउटा नोटको जीवनी, लज्जा, ट्राफिक दाइ लगायत १४ कविताहरु छन् । आमाको लागि छुट्टै श्रेणी तोकेका छन् जसमा विश्व सुन्दरी लगायत ६ वटा नजरले आमालाई हेरेका छन् । बोध र प्रेम श्रेणीमा हल्ट, भगवान, सपना तथा सुफ्लाको हवाइजहाज लगायत २२ कविताहरु राखेका छन् । पुछार श्रेणीमा गाउँलाई राखेका छन् र ६ वटा दिशा निर्धारण गरी गाउँलाई प्रत्येक दिशाबाट हेरेका छन् । उक्त कविताहरु पढ्नेलाई प्रत्येक श्रेणीका प्रत्येक कविताहरुलाई को भन्दा को कमको हैसियतमा यत्नपूर्वक रचिएको आभाष हुन्छ ।

उनको कवितामय सुप्लाको हवाइजहाज कल्पनातीत भए पनि कवितामा उनिएका विषयवस्तु जम्मै धराततीय यथार्थताभित्र पारेका छन् । धरातल र आकाशलाई एकसाथ जोड्नसक्ने कवि भूपिनको कलम सशक्त छ ।

लाग्छः यो कविता उनको औसत कविता मात्र हो । त्यहाँ उनका उत्कृष्ट कविताहरु अरु थुप्रै छन् ।
माथिको मेरो लरतरो वर्णनबाट ‘यो त निराशावादी उडान भरिएको कविता रहेछ !’ भनी टुङ्गोमा पुग्नुभएको छ भने उनको यस कविताको निचोड पनि सुनिहाल्नुस् है तः
…… ……
यात्री
आँधीहुरीको यो दुनियाँमा
फेरि अर्को बाढी आउनसक्छ कुनै पनि समय
र बगाउनसक्छ मलाई दिशाहिन ।
म एउटा पीडाको तमसुक
बाढीको आदेशमा
अर्को जाली हस्ताक्षर गर्नबाट जोगिनुछ ।
अहिले त संघर्ष गरिरहेछु
जराहरु गाड्न यो बन्जर भूमिमा ।

32 total views, 3 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *