Free songs
Home / संस्मरण / सर्केनी माइजू

सर्केनी माइजू

‘सालाजु, तिमीलाई सर्केनी माइजुले भेट्न चाहन्छिन् ।’ बिहेको कामको चटारो, भिनाजुलाई पाहुनाहरुको स्वागत र बिदाइ गर्न भ्याइ नभ्याइ थियो । म भने उठ्न नसकी दिदीको घरको माथिल्लो तलामा ढलिरहेको थिएँ ।

म परार साल भान्जा भैरवको बिहेमा तुलसीपुर दाङ पुगेको थिएँ । त्यहाँ रुकुमबाट बिहेकै लागि आइपुगेका र बसाइसराइ गरी दाङमा आइपुगेका इष्टमित्रहरुसँग धेरै वर्षको अन्तरालमा भेट्ने अवसर जुटेको थियो । 

‘मलाई पनि माइजुलाई भेट्ने मन लागेको छ नि ! भेट्न माथि नै आए भैहाल्यो त । म अझै उठ्न सकेको छैन । चक्कर लागिरहेका छन् । भुइँ घुमिरहेको छ । उठेँ भने ढल्न बेर छैन । यस्तो अवस्थामा सकी नसकी उठेँ भने बान्ता हुन्छ । झनै गारो बनाउँछ ।’ मैली ढलीढली जवाफ दिएँ । मेरो बिमारको बारेमा भिनाजुलाई प्रष्टै थियो ।

‘के गरौँ त ?’ ‘आज जाऊ,  भेट्न भोलि मात्र आऊ’ भनौँ त तिनलाई ?’

‘भेट्न चाहनेलाई किन फर्काउनू ? म भोलिसम्म यहाँ नबस्न सक्छु । यहीँ माथि पठाइदिनू । म उठ्न नसके पनि आँखा चिम्लेरै ढलीढली कुरा गर्न त सक्छु ।’

भिनाजु मेरो खबर लिएर तल ओर्लिएपछि मेरा आँखा माइजुको प्रतिक्षामा ढोकातिरै तानिइरहे । 

त्यसपछि लामो समयसम्म पर्खिँदा पनि भिनाजु र सर्केनी माइजु दुवै माथि उक्लिएनन् । मलाई नजिकबाट चिन्ने र भेट्न चाहनेहरु प्रायशः माथि नै आएर मलाई भेटिरहेका थिए । दाङमा रहेका करिब करिब सबै इष्टमित्र साथीभाइसँग भेट हुँदा पनि माइजुसँग भेट हुन नसक्दा साह्रै चुकचुक्याइ लागिरह्यो । भिनाजुले नै खबर लगिदिएनन् कि उनी बोलाएर पनि माथि आइनन् ? मनमा अनेक आशंका उब्जिए । 

मेरो आँखा र स्मृतिपटलभरिको आँगन कब्जा गरेर सर्केनी माइजु भँवरी पारी पारी नाच्न थालिन् । 
0000
सर्केनी माइजु मेरी आमातुल्य थिइन् । मैले चाल नपाउँदै उनको काखमा कति सुतेँ हुँला । उनकै दूध कति चुसेँ हुँला । चाल पाउने भएदेखि पनि उनी मेरो प्रमुख संरक्षक थिइन् । मलाई भोकलाग्दा लुकाईलुकाई अर्नीपानी दिने उनै थिइन् । आमा मेलापात जाँदा मेरो सन्चो बिसन्चोको ख्याल गर्ने उनै थिइन् ।

मेरो आँखाको डिलमा माइजुको स्वरुप उक्लियो । बाक्लो र खस्रो छाला भएको मंगोलियन अनुहार । आँखाको कोष नजिकै आँखाको नानी जत्रो कालो तिलाकोठी । मोटीमोटी, डल्लीडल्ली  । खद्दरको चौबन्दी चोलो लाउने । घुँडादेखि थोरै तल झरेको छिटको गुन्यू । उभिँदा अलिकति पनि नझुकेर गोडाफाट अवस्थामा ठिङ्ग उभिने । हिँड्दा सुस्तरी कहिले नहिँडी लमकलमक लम्किने । जुङ्सो अनुहार । खरो स्वभाव । उनीदेखि गाउँका सानाठूला प्रायशः डराउँथे ।

मलाई भने उनी असाध्यै माया गर्थिन् । मभन्दा एकदुई वर्ष कान्छो उनको एउटा छोरा थियो । जसलाई ढोले भनी बोलाइन्थ्यो । सार्की मामा पनि थिए । मामाको नाम कमारो सार्की थियो । मामाले मेरो आमाबालाई आफ्नै दिदीभिनाजुतुल्य व्यवहार गर्थे । हाम्रो घरमा बारम्बार आइरहन्थे । उनी हाम्रो घरको संघार नाघेर ढिकमैरातिरै टुसुक्क बस्थे । तर माइजु सितिमिति हाम्रो घरतिर आउन्नथिन् ।

उनको र हाम्रो घरको करेसालाई कइनपानी खोल्साले छुट्ट्याएको थियो । कइनपानी परिवारका चार घरमध्ये उनको घर हाम्रो घरको उत्तर पश्चिमपट्टि थियो । पश्चिमपट्टि ठूलाबाको घर थियो । दक्षिणपट्टी मावली काइँला बाजेको । ठूलाबाका दुई छोरा र एक छोरी थिइन् । हामी चारभाइबहिनी थियौँ र दुई फुपूहरु । ठूली फुपू सानैमा बितिसकेकी थिइन् । सानी फुपू  हामी चारभाइबहिनीमध्ये दुईचारवर्ष जेठी भए पनि बचपनमा उत्रै थिइन् । हाम्रो धरालो सानीफुपूले गर्थिन् ।

हाम्रा घरहरुलाई छुट्ट्याउने ठीक बिचमा खन्न्योको ठूलो रुख थियो । त्यो ’पाक्च्या खन्न्यो’ थियो । पाकेर खान मिल्ने फललाई ’पाक्च्या’ र फल्ने तर नपाक्ने फललाई ’आक्च्या’ भन्ने गरिन्छ । त्यो खन्न्यो गाउँभरिमा बढी पाक्थ्यो र बढी मलो थियो । अरु खन्न्याभन्दा अगावै अर्थात् असारमै पाक्न शुरु गरेर असोजकात्तिकसम्म पाकिरहने पनि गाउँभरमा त्यही खन्न्यो मात्र थियो ।

जब त्यो पाक्न शुरु गर्थ्यो कइनपानी गाउँ खन्न्योको बासनामा हराउँथ्यो । हाम्रो बिहानबेलुकाको खाना त्यही खन्न्योको बास्ना सुँघेर टर्थ्यो । खन्न्यो पाकेको बासना फैलिनेबित्तिकै मौरी, अरिङाल, झिम्री र बच्छ्यूँका झुण्डका झुण्ड ओइरिन्थे । हामी  कइनपानीका केटाकेटीहरु पनि त्यो खन्न्योको वरिपरि झुम्मिरहन्थ्यौँ । आफ्नो पोलाको वरिपरि मान्छे पुग्दा ठाडै आक्रमण गर्ने ती अरिङाल जातका कीराहरुले खन्यो पाकेपछि हाम्रो बस्तीमा हुलका हुल आउँदा भने हामीउपर सुधो व्यवहार देखाउँथे । 

नचलाई टोक्दैनथे । एकले अर्कालाई नचलाउने हामीबिच गजबको अलिखित सम्झौता भएको हुन्थ्यो । न त हामीले ती किराहरुलाई धपाउँथ्यौँ, न त ती किराहरुले हामीलाई धपाउँथे ।

त्यो खन्न्योको नाउँ परपरसम्मका गाउँसम्म पनि फैलिएको थियो । साना ठूला मान्छेहरु झोला बोकेर कइनपानी गाउँसम्म आइपुग्थे र ढोले तथा सर्किनी माइजुसँग छोइनबाट तर्किँदै झोला भरुन्जेल खन्न्यो टिप्थे र लैजान्थे । उनीहरुले जति लगे पनि त्यही बिहान वा बेलुका खन्न्योका फल पाकिसक्थे । बरु उनीहरुले ढोलेले गिजोलेका फलहरु लगिदिएपछि ताजा फलहरु हाम्रो भागमा पर्थे ।

स्वामित्वको हिसाबले खन्न्योको रुख सर्केनी माइजुको थियो । त्यसैले ढोले दिनरात खन्न्योकै रुखमा झुण्डिएर पाकेका खन्न्याहरु गिजोलिरहन्थ्यो, जुठ्याइरहन्थ्यो । हामीहरुले उसैले जुठ्याएका फलहरु बेरोकटोक मिठो मानीमानी खान्थ्यौँ । त्यसो त बेरुला, भिमल, तिमिला, बेलौतीका फलहरु उनकै बारीमा बढी पाक्थे र त्यसको भागीदार ढोलेसँगै हामी पनि हुन्थ्यौँ । 

सार्की मामा गाउँमा जुत्ता सिलाउने काम छोडेर वर्षको दुईतीनचोटी इण्डियाको नासिकतिर जागिर खान पुग्थे । घरमा प्रायः सर्केनी माइजु एक्लै हुने भएकोले हामीले त्यो झुप्रो, त्यो ढोले र ती फलफूल सर्केनी माइजुकै भएको ठम्म्याउँथ्यौँ । खन्न्यो खाँदा माइजुले हामीलाई कुनै अवरोध गर्दैनथिन् ।

कहिलेकाँही सर्केनी माइजु रिसको आवेगमा आएर गाउँलेलाई काँचीभारी गाली गर्दै उफ्रिन्थिन्, ‘ओइ, पाजी खस्सेऊ ! चित्ता खस्सेऊ ! मले के खाइदेइछु तिमेर्का बाउको ?’ हुन पनि उनको खेतबारी हाम्रो सरोबरी थियो । उनी हाम्रो भर पर्नुपर्दैनथ्यो ।

माइजु त्यसरी किन रिसाकी हुन् भन्ने हामी केटाकेटीहरु बुझ्दैनथ्यौँ । उनले झ्यालको खिड्की खोल्थिन् वा आँगनमा ओर्लेर पाखुरा सुर्कँदै गुन्यू उचाल्दै गाली गर्न थाल्थिन् । अनि क्षेत्री परिवारका मर्दहरु ढोका थुनेर कापकापबाट उनको उग्ररुपको अवलोकन गर्थे । मर्दहरु कति नै थिए र हाम्रा बा र ठूला बा, दुईजना मामाहरु । अलिकति पर गाउँबुरा मामाहरु । अलिकति माथि बफेल्न्या साइँला मामा । कइनपानी गाउँमा जम्माजम्मी यति नै मर्द हुन्थे । दिउँसो त अधिकाँश काम गएका हुन्थे र गाउँमा त एकलदुकल मात्र हुन्थे । उनको रिस शान्त भएपछि मात्र मर्दहरु काममा निस्कन्थे ।

माइजु आवेशमा आएको बेला हामी खन्न्यो खान जान डराउँथ्यौँ । त्यतिबेला हामी उनका बारीमा पाकेका खन्न्या बेरुलामा अरिङाल र ढोलेलाई हेरेर चित्त बुझाउनुपर्थ्यो । टाढैबाट मगमगाउने खन्न्याको बास्ना सुँघेर थुक निल्नुको अर्को विकल्प हुन्नथ्यो ।
0000
कहिलेकाँही मध्यराततिर ठूलाबाको घरमा एउटा हृदयविदारक चित्कार सुनिन्थ्यो । बिहान थाहा हुन्थ्यो कि ठूलाबाले बिरालो छोपेर लिस्नोको ढुङ्गामा पच्छारी पच्छारी मारेछन् । बोक्सिनीले बिरालोको रुप धारण गरी घरघरमा पसेर जहानबच्चाहरुलाई कालको मुखमा पु¥याउने गरेको केही गाउँलेको अटल विश्वास थियो । अरुले सितिमिति बिरालोमा हात हाल्ने साहस गर्दैनथे, ठूलाबाले मात्र साहस गर्थे । बोक्सिनीप्रति विश्वास हुनेहरुले बिरालो मरेको खबर सुनेर केही दिन सन्तोषको श्वास फेर्थे । विश्वास नमान्नेहरुले भने ठूलोबालाई पिठपछि गर्नुसम्म गाली गर्थे ।

बिरालो मारिएको भोलिपल्ट बिहानैदेखि सानादेखि ठूलामान्छेसम्मले कानेखुशी गरिरहेका भेटिन्थेः “बिरालो मारिएपछि सर्किनी माइजु पनि बिरामी परिन् अरे !“ बिरालो र माइजुबिच साइनो के थियो मलाई भने कहिल्यै थाहा भएन । उनले भुटेर दिएका घोगा र भट्टका खाजा सबैभन्दा मीठा हुन्थे । उनले दिएको मोइ घरको भन्दा मिठो हुन्थ्यो । ज्याबाका आँखा छलेर उनको भान्छामा उक्लिएर चाखेका दालभात मासु सबैमा बिछट्टै मिठो स्वाद भएको चाल पाउँथेँ । त्यसैको आकर्षणले म घरिघरि उनको घरतिर तानिन्थेँ ।

कहिलेकाँही माइजुले भन्थिन्, ‘ओइ, भान्जा मेरो आङनमा खुट्टा टेक्यौ भने तिम्रा सिन्के खुट्टी ठस्लक्कै भाँच्दिन्चु । गाउँलेले मलाई बोक्सिनी भन्चन्, काचै खाइदिउँला होइ तिम्लाई ।’ म डराउँथेँ र फरक्क घरतिर फर्किन थाल्थेँ । उनले फकाउँदै भन्थिन्, ‘पख, भान्जा पख । तिमी त ती खस्स्याका शाखासन्तानजस्ता छैनौ ।’ उनले मेरो भोटीको गोजीभरि घोगा र भट्टका खाजा भर्दिन्थिन् । म खुशी हुँदै घर फर्किन्थेँ । आफ्ना ज्याबा र गाउँलेहरुलाई उनले खस्स्या किन भन्थिन् मैले बचपनमा थाहा पाउन सक्ने कुरै थिएन । खस्स्या शब्द कुनै आपत्तिजनक गाली होला भन्ठानी ठूला मान्छेसँग सोध्न पनि सक्दैनथेँ ।

म अक्सर बिरामी परिरहन्थेँ । म बिरामी पर्नुमा ठूलाबाले बोक्सिनी लागेको अड्कल काट्थे । धामीझाँक्री बसाल्दा पनि ठूलाबाकै शंकालाई मलजल गरिदिँदै भन्थे, ‘घरको पश्चिमपट्टि नजिकै बस्ने बोक्सिनीका आँखा लागे ।’ तर मेरा ज्याबा भने त्यो कुरा मान्न तयार हुँदैनथे । उनीहरुलाई प्रष्ट थाहा थियो कि बरु म सर्किनी माइजुको घरतिर जान पाइनँ भने बढी बिरामी पर्ने गर्थेँ ।

सर्किनी माइजुले अरुलाई जस्तो मलाई दुत्कार्न नसक्ने उनीप्रतिको मेरो व्यवहार अनौठो थियो । त्यो व्यवहार गाउँलेका अरु केटाकेटीसँग पटक्कै मिल्दैनथ्यो ।

अरु उनीदेखि चारहात पर भागिरहेको बखत म उनको हात तानेर ढोगिदिन्थेँ । घरमा ज्याबालाई खुट्टामा ढोगेको दिन सर्किनी माइजुको पनि खुट्टा तानेर ढोगिदिन्थेँ । गाउँमा ज्याबालाई तँ कार्ने चलन थियो । हाम्रो घरमा मात्र ज्याबालाई तिमी भन्थ्यौँ र सार्की मामा र माइजुलाई हामीले ’तिमी’ नै कार्थ्यौँ । पछि एसएलसी पास गरेपछि ज्याबालाई आमाबा भन्न थाल्यौँ र ’तपाईँ’ कार्न थाल्यौँ । जुन दिन आमाबालाई तपाईँ भन्न थालेँ, त्यसै दिनदेखि मैले सार्की मामा र सर्केनी माइजुलाई पनि तपाईँ भन्न थालेँ । यस्तो थियो कि गाउँभर कामी, सार्की, दमाइ र गाइनलाई मैले मात्र ’तपाईँ’ कार्थेँ, हातमा ढोगिदिन्थेँ । 
अरुले त्यसो गर्नुको साटो उनीहरुलाई अछुत भन्दै ’तँ’ कार्ने, छिःछिः र दूरदूर गर्ने जमाना थियो त्यो ।

गाउँलेले अछुत भनी औँल्याइनेहरुलाई समान व्यवहार गर्न भनेर मलाई कसैले भनेको चाल पाइनँ । मैले सार्की मामामाइजुप्रति देखाएको सम्मानित व्यवहार देखेर मेरो आमा छक्क पर्नुहुन्थ्यो । मुसुक्क हाँस्नुहुन्थ्यो । बच्चाहरुलाई यसो र्ग नभने पनि उसले गरेको उचित व्यवहारप्रति अभिभावकले मौन समर्थन जनाएपछि त्यो व्यावहारिक शिक्षा बन्दोरहेछ ।
मैले सानैदेखि नै समाजका हरेक वर्ग समान भएको सपना देख्न थालेको थिएँ । मेरो सपनामा कुनै दुःखी गरीब थिएन, न त कुनै अति नै धनी । न उँच, न निच । न विविध जात, न विविध धर्म । न कोही शासक, न कोही शासित 

यति अनौठो सपना मलाई कसले देखाएको थियो थाहा छैन । लेखपढ गर्न थालेपछि विपिलाई पढियो, पुष्पलाल पढियो र राहुल साँकृत्यायनसम्म पढियो । उनीहरुको सपना पनि मेरोसँग मिल्दोजुल्दो देखेकोले खुशी भएथेँ म । अरु त अरु राजा मविवि शाहको सन्तान थरिथरिका भन्ने गीती कवितामा समेत मेरैजस्तो सपना लुकेको पाएको थिएँ ।

गाउँलेले अड्कल काट्थे रे, ‘खड्कबहादुरको भान्जा भएकोले यसलाई मामाको व्यवहार सरेको हो । खड्कबहादुर कालीबहादुरका छोरा थिए । कालीबहादुर त्यतिबेलाका काँग्रेसका नेता थिए रे । खड्कबहादुर खडका र गोपालजीजङ शाह पञ्चायतका प्रधानपञ्च र उपप्रधानपञ्च थिए । यिनीहरुकै गुण भान्जामा पनि स¥यो ।’

मेरा मावली बाजे कालीबहादुर इन्डियन लाहुरे थिए । गाउँमा पाठशाला नखुल्दा पनि उनले आफ्ना छोराछोरी सबैलाई सुशिक्षित तुल्याएका थिए । उनले आफ्नी ठूली छोरीको नाम योगमाया राखिदिएका थिए । सानो छँदा योगमाया नाम अत्यन्तै मिठो लाग्थ्यो । किनभने त्यो नाम मेरी आमाको थियो । आफ्नी आमाको नाम जस्तो राखिए पनि कसलाई पो मिठो लाग्दैन र ? बाको नाम यज्ञबहादुर पनि कम्ता मीठो थियो र ?

तर लेखीपढेर ठूलो भैसकेपछि थाहा पाएँ कि योगमाया नाम त नब्बेसालभन्दा पहिल्यै सामाजिक कुप्रथा विरुद्ध आजन्म लडेर जीवन उत्सर्ग गर्ने संघर्षशील नेपाली महिलाको नाम पो रहेछ । यो  रहस्य जानेपछि मलाई मेरो मावली बाजेप्रति गौरव महशुस भयो । मेरो बाजे सामाजिक कुप्रथाका बिरोधी रहेछन् भन्ने कुरा आमालाई उतिबेलै शिक्षित तुल्याउनु र नाम योगमाया राखिदिनुबाट प्रष्ट भएँ । सायद बाजेले छोरीलाई पनि ती संघर्षशील नारीजस्तै संघर्षशील बनाउन चाहन्थे होला । 

बाजेभित्र सामाजिक चेतनाको प्रस्फुटन काँग्रेस पार्टी नजन्मिँदैको कुरा थियो । जय पृथ्वीबहादुर चन्द, बाल ब्रह्मचारी षडानन्दले शिक्षा प्रचार र सामाजिक कुप्रथा अन्त्यको लागि जीवन उत्सर्ग गरेको इतिहास नेपालमा कुनै पनि पार्टी नजन्मँदैको कुरा थियो ।

मैले बचपनदेखि नै गर्ने गरेका व्यवहारहरु मेरो बाजेका सपनाअनुरुपका थिए रे ।
0000
हामीहरु सानैदेखि स्कूलको वार्षिक जन्मोत्सवलाई एउटा ठूलै पर्वको रुपमा मनाउँथ्यौँ । स्कूलको वार्षिक जन्मोत्सवलाई नाटक भनिन्थ्यो । बरु दशैँतिहारको त्यति परवाह हुँदैनथ्यो तर कुन स्कूलको नाटक कहिले आउँछ भनी औँला भाँचिरहन्थ्यौँ । नाटकको दिउँसो विभिन्न खेलहरु खेलाइन्थ्यो र राति सांस्कृतिक कार्यक्रममा गीत नाच, हस्यौली, नाटक आदि प्रदर्शन हुन्थ्यो । हामी नाटक हेर्न खलङ्गातक पुग्थ्यौँ । हाम्रो गाउँको नाटक घटस्थापनाको दिनमा हुन्थ्यो भने खलङ्गा हाइस्कूलको नाटक असोज एक गते ।

नाटकको रातमा गाउँमा फलेका काँक्राहरु चोरिने जोखिम हुन्थ्यो । काँक्राचोरहरु अक्सर गरेर नाटक हेरेर फर्किने अल्लारे केटाहरु हुन्थे ।

एक रात खलङ्गाको नाटक हेरिसकेर गोविन्द, लटेदाइ, ठूलदाइ र म रातिराति घर फर्कँदै थियौँ । खलंगाबाट सेरिगाउँ, चाँफा, कोट, बोरागाउँ हुँदै घना जङ्गल कटिसकेर  सोलाबाङ फाँटको केही माथि डाँरामाथि साइँलामामाको घरको आँगनमा ओर्लियौँ । 

त्यस घरको करेसाका काँक्रा चोर्ने सल्लाह भयो । नाटकको रातमा काँक्रा चोरिन्छन् भन्ने थाहा पाएर मामाले दिउँसै काँक्रा टिपिसकेछन् । करेसामा पसेर छामछुम पार्छौँ त हाम्रो भाग थुक निल्नु मात्र भयो । त्यहाँबाट बाग्दुले कान्छाबाजेको घरको काँक्रा चोर्ने सल्लाह भयो । त्यहाँ त हामी आएको चाल पाएर कान्छाबाजे आँगनमै उभिइरहेका  पो रहेछन् । 

जब हामी आःपाः केही नलागेर आफ्नै घरको आँगनको केही माथि आइपुगेका थियौँ, जुनेली रातको उज्यालोमा सर्केनी माइजुको घरकरेसामा लामालामा हरिया काँक्राहरु लब्र्योल झुण्डिएका देखिए ।

 हाम्रो मुखपेट रसाइहाल्यो । दाइहरुले तिनै काँक्रा चोर्नुपर्ने सल्लाह गरे । जुन घरको काँक्रा चोर्ने गाउँका कुनै केटाहरुले पनि आँट नगरेर आजपर्यन्त ज्यूँकात्यूँ बचिरहेका थिए त्यही घरमा जोखिम उठाउने सल्लाह दाइहरुको हुनथाल्यो । 

मैले मानिनँ किनभने सर्केनी माइजु आमातुल्य थिइन् र कैयौँपटक खुट्टी ठस्लक्कै भाँचिदिने चेतावनी दिएको पटक्कै बिर्सन सकेको थिइनँ । लटेदाइले पनि मानेनन् उनलाई त्यस घरको काँक्रा चोरेमा बोक्सी लागेर मरिने डर थियो । गाली र चड्कनीले माइजुको एकै फाँक पारिने डर थियो । भाइ गोविन्द अलि हठी नै थियो । उसले सबै डर त्यागेर सर्केनी माइजुकै काँक्रा चोर्नै जिद्दि गरिरह्यो । 

रातिराति खलंगाबाट घना जङ्गल हुँदै गाउँ झर्दासम्म नलागेको डर हाम्रो घर र सर्केनी माइजुको घरलाई छुट्ट्याउने सानो खोल्सामा लाग्थ्यो । त्यही खोल्सो भएर मध्यराति सेतो भूत घोडामा चढेर हिँड्छ रे भन्ने सिलोक सुन्दै आएका थियौँ । अतः न लटे दाइले खोल्सो तर्ने आँट गरे, न त मैले नै । ठूलदाइ यस्ता आँटिला कुरामा पछि पर्दैनथे । सर्प देख्यो कि ट्याप्पै टाउको समातिहाल्थे । हाम्रा यी विविध डर र आँटले गोविन्दले प्रस्ताव गरेको काँक्रा चोर्ने योजनामा हाम्रो पनि सक्रिय सहभागिता हुने भई सफल हुने देखियो ।

गोविन्द ढिला नगरी काँक्रालाई हालिएको ठ्याँक्रामा फुत्त चढिहाल्यो । ठूलदाइ काँक्रा छोप्न ठ्याँक्राको फेदमा टुक्रुक्क बसे । म र लटेदाइ माइजुको करेसामा लेपास्सिएर लुक्यौँ । गोविन्द ठ्याँक्रो चढ्दै गर्दा समातिएको ठ्याँक्रोको हाङ्गो भाँचियो र ’सो¥याम्म’ आवाज निक्लिनेबित्तिकै सर्केनी माइजुको खिड्की खुलिहाल्यो । खिड्की खुलेको स्वर सुन्नेबित्तिकै गोविन्दले ठ्याँक्राबाट झ्वाम्मै हामफालेर घरको घारिकरेसा लुकिहाल्यो । ठूलदाइले पनि तिब्रगतिमा गोविन्दलाई पछ्याउन सफल भए । लटेदाइ र म हलचल गर्न सकेनौँ खुट्टामा पिसाब चुहिएलाजत्तिकै भो । अब सर्केनी माइजुका तथानाम काँचीभारी गाली सुन्न कान ठाडा पा¥यौँ र सम्भावित चिर्पटको मार सहन पिठ्यूँ थापेर पर्खियौँ ।

‘अइजेइ बाबै नि, चोर को हुनन् भन्याउ ता माइला भान्जा पो रैचन् गरै ! तल काँरा हालेइछु होस् ग¥या है भान्जा !’ खितितिति हाँस्दै सर्केनी माइजु बोलिन् ‘दिउँसै मसित माङ्याभया पनि आफ्ना भान्जलाई दुईचारोटा काँक्रा त त्यसै देल्दाऊँ गरै ! क्यार्न रातबिरात चोर्नै आइत्यौ ?’ माइजुले गाली र चिर्पटको सट्टा हामीउपर दया पो देखाइन् । तर गालीभन्दा कम्ता चोटिलो थिएन उनको दया । म चोटको मारवश् लाजले मरेतुल्य भएँ । यतिबेलासम्म माइजुका आँखा छल्दै खोल्सामा फालहालेर गोविन्द र ठूल्दाइ लटेदाइको घरभित्र छिरिसकेका थिए । लटेदाइ र म पनि घोसेमण्टो लाउँदै खोल्सो तर्ने आँट ग¥यौँ र लटेदाइकै घरभित्र छि¥यौँ । घरको ओटामै च्याद्दर ओछ्याएर चार भाइ त्यही च्याद्दरमुनि डल्लो प¥यौँ । गोविन्द र ठूल्दाइ मरिमरि हाँस्दै थिए । तर लटेदाइ र म भने डरले निस्सास्सिएका थियौँ ।

लटेदाइले निष्कर्ष निकालेः ‘ठूलो कालबाट बचियो आज । अरु भैदिएको भए के के हुन्थ्यो के के । यही माइलाभाइले बचायो हामीलाई । सर्केनी माइजुले माइलाभाइलाई भस्मेइ माया गर्ने भएकोले नै हामी यो कालबाट जोगिएका हौँ ।’ यति भनिसकेपछि तीनै भाइले मलाई ग्वाम्लाङ्ग्गै अँगालो मारे ।
0000
आफू जान्नेबुझ्ने भैसकेपछि ढोलेलाई पनि राम्रोसँग पढाउनुपर्छ भनेर मैले सर्किनी माइजुलाई अनुरोध गरिरहेँ । फलस्वरुप उनले ढोलेलाई सोलाबाङ स्कूलमा भर्ना गरिदिइन् । ढोलेको स्कूलको नाम लोकबहादुर रहन गयो । एसएलसी पास गर्ने बित्तिकै म रातामाटाको स्कूलको शिक्षक जागिरे भएँ । लोकबहादुर मसँगै रातामाटा पढ्न जानथाल्यो । ऊ बेलुका झर्को वा खोटो बालेर मसँगै सिक्न मेरो घरमा पनि आउँथ्यो । घारिमैरा उसको लागि बन्देज

भए पनि ढिकमैरा खुल्लै हुन्थ्यो । आमाबा नभएको बखत त उसलाई फकाई फकाई घारिमैरासम्म पनि छिराउँथेँ ।
यतिबेलासम्म सर्केनी माइजुले एक छोरीको जन्म दिइसकेकी थिइन् । उनको नाम काली राखिएको थियो । काली सानैदेखि असाध्यै रुपसी थिई । पढ्ने उमेर भएपछि उसलाई पनि पढ्न पठाइदेऊ भन्दा सार्कीमामा र माइजुले मानेनन् । किनभने अब ढोलेको भाइ पनि जन्मिसकेको थियो र कालीको काम भाइको धरालो गर्नुथियो । 

काली युवती भैसकेपछि पहिले खन्न्या बेरुलामा झुम्मिने बच्चाहरु तन्नेरी भएर नाचगानमा झुम्मिने भैसकेका थिए । नाचगान गर्न आउनेहरु सर्केनी माइजुको घरमै लुकीछिपी खानपिन पनि गर्थे । सार्कीको घरमा खाएको केही गरी गाउँमा थाहा हुन गएमा भने खानेले गाउँमा मुख देखाउनै लाज मान्थे । कोही कोही त त्यो लाजवश् कालापार फस्किन्थे ।

पछि कालीको बिहे स्यालापाखातिर भयो । त्यसको केही समयपछि उसको मानसिक सन्तुलन बिग्रन गयो र त्यही रोगले पिडित भई केही समयमा उसले प्राण त्याग गरी । उसको त्यो दुरावस्था हुनुमा अशिक्षा नै प्रमुख हो भनेर मुटु कुटुकुटु खान्थ्यो प्रकटमा केही भन्न सकिनँ ।

मैले आइए पढ्दै गर्दा हामी कइनपानीबाट सोलाबाङको ढिकको फाँटमा बसाइ स¥यौँ । अब सार्की मामामाइजु हामीदेखि अलिकति टाढा भए । तर पनि म फुर्सद हुनेबित्तिकै सर्केनी माइजुलाई भेट्न पुगिहाल्थेँ ।

बीए पास गरेपछि केही समय बेरोजगार हुँदा मैले सोलाबाङका बच्चाहरुलाई खेरेर बेलुका निशुल्क होम ट्युशन पढाउन शुरु गरिदिएँ । त्यतिबेला भर्खरै छयालीस सालको लोकतन्त्र पुनर्बहाली भएको थियो ।

ट्यूशन सेन्टर ससुरालीको गोठलाई कायम गरियो । गोठको भुइँमा घोगाको पोख ओछ्याइएको हुन्थ्यो । बच्चाहरु कख सिक्नेदेखि तीनचार कक्षा पढ्नेसम्मका थिए । साना बच्चाहरुलाई उनका अभिभावकहरुले नै बोकेर ल्याएका हुन्थे । मैले एकएक गरी सिकाइसकेपछि अन्तिममा पौराणिक कथाहरु सुनाइदिन्थेँ । जसले गर्दा बच्चाहरु अत्यन्तै प्रभावित भएका थिए । पढ्न आउनेको संख्या दिनदिनै बढ्न थाल्यो ।

एक बेलुका खाइवरी पढाउन जाने तरखर गर्दै थिएँ यो कुरा चाल पाएर बाले मलाई हप्काउँदै भन्नुभयोः ‘भैगो, छोड्दे अब । तोले गाउँलेलाई नचाइने कुरा सिगाइकिन मशाले बनाउँदै छै गरे । मलाई सप्पैको अग्गेट ’मशालेका बा’ भनेर कत्रो बेइज्जत गरे आज खलङ्गामा ।’ बाको मुख अङ्गारभन्दा कालो भएको थियो ।

मलाई अनौठो लाग्यो । त्यतिबेलाका मशालको नेतृत्व तहमा जनार्दन पनि थिए । जनार्दन मेरा दाइ र साथीको भूमिकामा थिए । मशाल कम्युनिष्ट पार्टीकै एक हाँगो भएकोले मेरो सपना र उसको सपनामा पनि तालमेल त अवश्य थियो नै । तर न उनले मलाई गाउँलेका केटाकेटी पढाएर मशाल बना भनेका थिए, न त गाउँलेका केटाकेटी पढाउनु भनेको मशाल जन्माउनु हो भनी मैले बुझेको थिएँ । 

‘गाईको बाच्छो जन्मिनेबित्तिकै दूध चुस्न कसैले सिकाउनुपर्छ ? गङ्गटोका बच्चाहरुलाई आफ्नी आमाको प्राणपखेरु उत्रुन्जेल काख रित्त्याउन कसैले मच्चाएको हुन्छ ? यी सब स्वतः प्रक्रिया हुन् । कख सिकाउनु कहाँ मशालको काम हो र बा ? त्यसोभए स्कूल नै बन्द गरे भैगो नि । के भन्ठान्लान् अभिभावकहरुले ? बच्चाहरु आइसकेहोलान्, म त जान्छु ।’ त्यस बेलुका ट्युशन सेन्टरमा केही बच्चाहरु घटेका देखिए । खलंगामा चलेको हल्ला केही अभिमावकले मलाई पनि सुनाए । बाबाट पहिल्यै सुनिसकेकोले तीनछक परेको अभिनय गरेँ मात्र । केही भन्न सकिनँ ।

भोलिपल्टबाट पढ्न आउने बच्चाहरु दिनदिनै घट्दै गए र अन्तिममा सालासाली र भदाहाहरु मात्र मेरा प्रशिक्षार्थीको रुपमा कायम भए । त्यसको एकदुई दिनमै मेरो सपनाको टयूशन सेन्टर भताभुङ्ग भैहाल्यो ।
अर्को दिन सर्केनी माइजु बाटोमै भेटिइन् । मैले हात तानेर ढोग्न खोजेँ, उनी तर्किइन् । मैले टाढैबाट “नमस्कार माइजु !’ भनेँ उनले मेरो नमस्कार फर्काइनन् । मैले सोचेँ कुनै ’खस्स्याहरु’ले उनको चित्त दुखाउने केही काम गरे कि ?
अर्को दिन उनले आफ्नै कम्दमा घाँस काटिरहेकी थिइन् । उनको कमद माथिपट्टि र हाम्रो तलपट्टि थियो । म पनि आफ्नै कम्दमा घाँस काट्दै थिएँ । मैले माइजुलाई नमस्कार गरेँ उनले सुनेको नसुनेइ गरिन् । म घाँस काटिसकेर घर जान के खुट्टा उचालेको थिएँ उनले छेड हानेको सुनिहालेँ, ‘राजाउ खेत खान्चन्, राजाकै विरोद गर्चन्, चित्ता मस्साल्याहरु !’
उनले आफैलाई भनिहोलिन् भनी पटक्कै पत्याइनँ मैले । 

त्यसको केही दिनपछि पानी चार्ने पालो थियो । उनले आफ्नो कम्दमा पानी चारिरहेकी थिइन् । उनले सकेपछि आफ्नो कम्दमा पानी भाँच्ने उद्देश्यले म उनी भएतिर गएँ ।
‘नमस्कार माइजु ! पानी चारिसकियो कि सकिएन ?’ मैले आफूलाई सक्दो सहज र नरम तुल्याउँदै सोधेँ ।

उनी त एकहातले कोदालो नचाउँदै अर्को हातले औँला नचाउँदै मैउपर पो खनिइन्, ‘राजाले ल्याइदेको कुलोले पानी चार्ने लाज मान्दैनौ ? आफै अर्को कुलो खनेर ल्याउ र पानी चार भान्जा । यो कुलो त हाम्रा राजाले ल्याइदेको हो, म दिन्नँ । कुलो मात्र होइन तिमीहरुलाई राजाले बनाइदेको सरबाटोमा पनि हर्न दिन्न म । राजाले दियाउ कलधाराउ पानी खान पनि पनि दिन्न । पख ।’

अब भयो त ?  म छकदङ्ङै परेँ । उनले मेरो नमस्कार नफर्काउनुको कारण त अर्कै पो रहेछ । बच्चैदेखि उनको काखमा खेलेको, उनले दिएको खाजा बुकाएको, उनलाई आमाजत्तिकै आदर सत्कार गरेको कुन अर्थले बुझिन् उनले ?
उनी छुत वर्गमा जुरुक्कै उक्लिएकी थिइन् । विद्यमान सामाजिक सुविधाहरु कुनै पनि छुन नपाउने गरी म नै उनको नजरमा अछुत वर्गमा ओरालिएको थिएँ । यस्तो कमाल  पनि हुँदोरहेछ प्रजातान्त्रिक व्यवस्थामा ।
मैले सर्केनी माइजुले लगाएको वचन घरमा नभन्ने बिचार थियो तर सकिनँ । भनिहालेँ । बा ममाथि नै खनिएः ‘नगर भन्दा मान्दैनौ । अब के के भएको देख्नुपर्ने हो !’

भोलिपल्ट सोलाबाङको आकाशमा दर्जनौँ काला हेलिकप्टरहरु घुम्न थाले । सयौँ सैनिकहरु ओरालिए । खैरा पोशाकधारी सैनिकहरुले गाउँको ढिकढिकै परेड खेल्न थाले । दुईचार घर बाहेक पूरै गाउँ त्राहिमाम हुँदा शून्यजस्तो देखिएको थियो । बहुदल आएपछि पनि यस्तो अवस्था आउला भनी कसैले चिताएकै थिएन । बाले मलाई भने, ‘जा माथिको जङ्गलमा गएर लुकेर बस् । अब यिनीहरुले सबै मसालेहरुलाई भुटकुट पारिदिनेछन् ।’

म असमञ्जसमा परेँ । तर मैले जे गरेको थिएँ त्यो व्यवहार कसैले त्यतिबेला र्ग भनेर मलाई सिकाइएको थिएन । कसैको निर्देशन वा परिपत्र थिएन । मेरा व्यवहारहरु बहुदलका उपज थिएनन् । ती मेरा जन्मँदैदेखिका व्यवहारहरु थिए । त्यो कुरा सर्केनी माइजु, मेरो आमाबा र छिमेकीहरु सबैलाई प्रष्ट थाहा थियो । 

सर्केनी माइजुलाई यी कुराहरु केही पनि थाहा थिएनन् । न त राजनीतिको र नै  । उनलाई कसैले उचालिदिएको थियो । कसैले नराम्ररी कान फुकिदिएको थियो । माइजुभान्जाको साइनो रेट्ने एउटा गतिलो हतियार बनाइएको थियो । 

मैले त उनको मन दुख्ने केही पनि गरेको थिइनँ । जे गरिरहेको थिएँ, उनकै भलाइको लागि गर्दै थिएँ । मेरो मन मस्तिष्कमा आमाकै छेउमा थिइन् उनी । बरु मलाई सम्झाकै भए के बिग्रन्थ्यो र ? तर उनलाई जसले हाकाहाकी बोक्सिनी भन्थे उनैको कुरा उनले पत्याइन् । उनीप्रति जसले बचपनदेखि नै जुन सम्मानित व्यवहार देखाइरहेको थियो उसैलाई नै उनले अविश्वास गर्न पुगिन् । अरु त अरु मेरो नमस्कार फर्काउनै छोडिन् ।
रुकुममा ओरालिएका शैनिकहरु दुई दिनमै फिर्ता भए । गाउँमा कुनै प्रकारको अपृय घटना घटेन ।

‘यो बहुदलको हावा नचलिदिएको भए माइजु नामकी आमारुपी ऐना ढलेर यसरी झ¥यामझुरुम् चकनाचुर हुने त थिएन ।’ मैले बहुदललाई नै धारे हात लगाएँ ।

लगत्तै केही समयपछि म गाउँ छोडेर शहर पसेको थिएँ । त्यसपछि गाउँ आँखामा मात्र नाचिरह्यो मेरो हातमा ओर्लिएन ।
0000
मैले यी कुराहरु माइजु  मकहाँ नआइदिएकोले मनमा तुथाएको मात्र थिएँ । खासमा मैले यी सबै घटना बिर्सिसकेको थिएँ । माइजुले पनि माइजुभान्जाबिचको सम्बन्धमा दरार उत्पन्न गराउने यस्ता खालका घटनाहरु चटक्कै बिर्सिसकिछन् र त मलाई भेट्न खोजिछन् । मलाई यो कुराले औधि खुशी तुल्यायो ।

भैरवको विहेमा आएका सबै पाहुनाहरु भोज खाइवरी फर्किसकेका थिए । विहेघर रित्तोरित्तो हुँदै थियो । माइजु मलाई भेट्न माथि नै आउँछिन् कि त भन्ने झिनो आशा बाँकी नै थियो तर यसबेलासम्म पनि आइनन् । उनी साँच्चिकै फर्किसकेकी रहिछन् । नभेटेरै फर्कनुथियो भने भेट्न आउँछु नभनेको भए पनि हुने । उफ् ।

मलाई लाग्यो कि त आफूले लगाएको वचन सम्झिएर उनी फर्किइन्, कि त माथि उक्लिन हिचकिचाएर फर्किइन् । 

मैले अझै मनमा अनेक कुराहरु तुथाउँदै गएँ ।

‘संविधानमा समतामूलक समाज निर्माण गरिने भनिए पनि व्यवहारमा पटक्कै निर्माण हुनसकेको छैन । एकातिर पिछडिएको वर्गले नै आफूउपरको विभेद बुझ्दैनन् अर्कोतिर विभेद कायमै रहेको देख्न चाहनेहरुले विभिन्न दुर्घटनाहहरुको रचना गर्छन् वा आफूखुशी व्याख्या गरिदिन्छन् ।

यतिबेला उनी भिनाजुको घरको माथिल्लो तल्ला उक्लिएको भए पनि कसैले रोक्न वा छेक्न सक्दैनथ्यो । कसैले केही भन्ला कि भन्ने घबराहटले एक्काइसौँ शताब्दीमा पनि चपक्कै समातेर यो अछुत मानसिकताले डो¥याइरहेको रहेछ उनलाई । अर्कोतिर आफूलाई उपल्लो जातका ठान्ने मान्छेहरु पनि विभेदको मानसिकताभन्दा माथि उठ्न सकेका छैनन् । उनीहरुले माइजुलाई डो¥याएरै मकहाँ ल्याइदिएको भए पनि हुन्थ्यो । 

विभेदका मुद्दाहरुलाई लोकपृयता आफ्नो दुनोमा मात्र पार्ने हिसाबले राजनीतिक संरक्षणको विषयवस्तु बनाइन्छ । जब दलीय संरक्षणको कुरा आउँछ, त्यो दलगत स्वार्थमा खण्डित हुनपुग्छ । एउटा दलको स्वार्थ अर्को दलसँग बाझिन्छ । एउटाको विरोध अर्कोले गर्छ । दलितहरु पनि दलीय कोपभाजनमा फस्न पुग्छन् । दलभित्र समेटिएका उँचनिच जातिका सबै खराबीहरुले स्वतः संरक्षण पाइहाल्छन् । अझ राजनीतिक अपराधीकरणले संरक्षण पाउँछ । यही कारणले समाजमा पछि परेका र अछुत ठानिएका वर्गले अद्यापि न्याय पाइरहेका छैनन् । अकल्पनीय घटनाहरु दिनहुँ दोहोरिरहनुमा यिनीहरु उत्तिकै दोषी छन् ।

नराम्रो मान्छे कुनै दल वा वर्ग विशेषको संरक्षणमा रहनुहुँदैन । त्यो सबै दलको लागि नराम्रो नै हुनुपर्छ । त्यो कसैको पनि हुनुहुँदैन । राम्रो मान्छे कुनै दल वा वर्ग विशेषको संरक्षणमा जानै पर्दैन । त्यो सबै दल वा वर्गको लागि राम्रोमै दरिनुपर्छ ! राम्रो मान्छे हाम्रो भन्ने भावना नपलाएसम्म यस्ता कुरीति, कुसंस्कारहरु एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण भइनै रहनेछन् । एउटाको खुट्टा अर्कोले तानेर न आफू उँभो लाग्नेछन्, न अर्कोलाई उँभो लाग्न दिनेछन् । उफ् !’

यस्तै तर्कनाहरुको हुरी चलेर पुनः ढलिएलाजस्तो हुन थाल्यो ।

म आफैलाई सम्हालेर मनलाई डो¥याउँदै अझै अगाडि बढेँ । आफ्नै बिचारको उकालो चढेँ । माथि नेटोमा पिपल चौतारी भेटियो । त्यहाँबाट बाटो ओरालो लागेको थियो । उकालोले असिनपसिन भैरहेको बखत सिरसिरे बतास चल्यो । शितलताको अनुपम स्वाद चाखियो । अगाडि बढ्दै नबढेको भए यस्तो शितलताको अनुभव गर्न कहाँ पाउनु ?

सर्केनी माइजुले लगाएका वचन तत्कालीन अवस्थामा असाध्यै तीतो लागे पनि समय बित्दै गएपछि भने कता कता मीठो लाग्दै गएका थिए । हामी आफूलाई कट्टर विपिवादी मान्छौँ, तर विपिकै बाटो हिँड्दैनौँ, उनले देखाइदिएको समाजवादको ’स’ सुनेबित्तिकै एलर्जी हुन्छ । पुष्पलालको बखान गर्छौँ, पुष्पलालले देखाएको बाटो हिँड्दैनौ । बुद्धलाई कसैले आफ्नो भनिदिएमा तीनबित्ता उफ्रन्छौँ, तर उनले देखाएको बाटो के हो ? पटक्कै थाहा छैन । 
सर्केनी माइजुले भनेका कुरा ठीकै त थिए नि ! राजाले बक्सेको खेत किन खाने ? राजा हिड्ने बाटो किन हिड्ने ? सरबाटो छोडेर मोटरबाटो हिँड्ने अवस्था आएकै छ त । राजाले लगाइदिएको कुलोमा किन बग्ने ? म पनि त सार्वभौम जनता हुँ । म पनि पौरखी नेपाली हुँ ।

तर राजा शब्दमा के छ र ? प्रियतमाले आफूलाई ’मेरो राजा’ भनी बोलाएमा ‘शासक पो भनी यल्ले ! पख् तँलाई’ भन्दै तीनबित्ता उफ्रिने ? कि प्रेमको प्रतिमा भन्ने बुझी सोहीअनुरुपको व्यवहार प्रदर्शन गर्ने ? उसो त राजा पृथ्वीनारायणले जोगाड गरिदिएको विशाल नेपाललाई सोही विशालता कायम राख्नै मुश्किल परिरहेको छ । राजा महेन्द्रले तर्जुमा गरिदिएकै कानुन र संरचनाहरुमा टेकेर नयाँ नेपालको परिकल्पना गरिरहेका छैनौँ र ?

हरेक व्यक्ति मनको राजा हो । संसारमा हरेक सिर्जनाका गुण पनि छन् र दोष पनि छन् । गुण र दोषको पारस्परिक विरोध र सम्मिलनको शक्तिले संसारको अस्तित्व कायम छ ।

यत्ति सुद्धि फिरेपछि माइजुका तीखा वचनहरु मीठा वचनमा बदलिए । सर्केनी माइजु झनै सुन्दर लाग्न थालिन् । सोचेँ सर्केनी माइजु जत्तिकै निडर भैदिने हो भने आधाउधी विभेदहरु त्यत्तिकै पाखा लाग्न सक्छन् ।
अनि त एउटै घरमा हुँदाहुँदै पनि आमातुल्य माइजुलाई भेट्न नपाउँदा मलाई थक्क थक्क झनै बढ्न थाल्यो । अरु सबैसँग भेट हुन पाउँदा पनि माइजुसँग भेट हुन नपाउँदा कसैलाई पनि नभेटेसरि भैरह्यो । आत्मग्लानीले छाति पोलिरह्यो । 

‘कस्ती मान्छे तिनी  माइजु पनि ! आफ्नै सन्तानजस्तै व्यवहार गरिरहेको बच्चोलाई यस्ता कुइयारगुइया कुराको पछि लागेर बिर्सन मिल्छ ?’
0000
बेलुकातिर मलाई रिङ्टा लाग्न कम भयो । म उठेर बसेँ । भिनाजु मेरो छेउमा आइपुग्नुभयो ।

‘ठीक भयो साला अब ?’

‘अँ ठीक होला जस्तो छ अब । तर किन सर्किनी माइजुलाई माथि बोलाइदिनुभएन ? उनीसँग भेट्न नपाउँदा निकै पछुतो भैरहेको छ ।’

‘कहाँ फर्केकी छिन् र तिनी ? तिनी त माइला भान्जासँग भेट नभएर जाँदै जान्न भनी अड्डी कसेर तलै कुरेर बसिरहेकी पो छिन् । तपाईँलाई रिङ्टा चलिरहेकोले पो माथि नआएकी हुन् त ।’

‘हो ? मलाई पहिल्यै भन्नुपर्दैन ? म नानाथरी शंका तुथाएर बस्दैनथेँ नि !’ म खुशीले बुर्लुक्कै उफ्रिएँ, ‘उसोभए म आफै भेट्न जान्छु मेरी आमातुल्य माइजुलाई ।’ म जुरुक्कै उठेँ र लिस्नोबाट तल्लोतला झर्न थालेँ । उनी पनि मलाई भेट्न माथि उक्लँदै रहिछन् । बिच तल्लामै भेट भइहाल्यो । म जति खुशी थिएँ, उनी पनि उत्तिकै खुशी देखिन्थिन् ।

‘नमस्कार माइजु । सन्चै हुनुहुन्छ ?’ मैले जम्लाहात जोडेँ । 

उनले धक मानी मानी नमस्कार फर्काइन्, ‘सन्चै छु, भान्जा बाबु ।’

‘घरमा काङ्रा फलाउनु भा छ छैन माइजु ?’

‘छन्, छन् । लाइछु, लाइछु ।’

‘काङ्रामा काँरा हाल्नुभा त छैन नि ? माइजुका काँङ्रा चोर्ने धित अझै मरेको छैन ।’

‘चोर्न आउनै पर्दैन भान्जाबाबु । म एक झोला त्यत्तिकै दिम्ला । घोगा र भट्टा खाजासँग मीठो मोइ पनि दिम्ला । जाम् हाम्रो घर ।“ उनी आँखाबाट आँशु झर्ने गरी मलाई हेरेर खितखित हाँसिरहिन् । उमेरले सत्तरी कटिसके पनि तन्नेरी हुँदा जस्ती थिइन्, दुरुस्तै उस्तै थिइन् अहिले पनि । पटक्कै नझुकेर गोराफाट अवस्थामा मेरोसामु ठिङ्ग उभिएर मरिमरी हाँसिरहेकी थिइन् ।

म पनि उनलाई हेरेर हाँसेको हाँस्यै भएछु ।
0000

 30 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top