समयका साथी

“तँ माथि कोठामा जाँदै गर्, म यो ठाँडोलाई थन्क्याएर एक सेकेनमै आइहाल्छु है त ।” उनी गाडी ग्यारेजमा थन्क्याउन पट्टि लागे ।
अकस्मातको ‘तँ’ सम्बोधनले म झसङ्गै झस्किए पनि केही नभएजस्तो गरी म हल्का ढप्काइएको ढोका उघारेर मूलद्वारबाट भित्र पसेँ । अनचिनारु अकस्मात भित्र पसेको देखेर मेकअपमा व्यस्त बैठक कोठा झसङ्ग तर्सिई । मैले उसको नितम्बतिर हेर्न नसकी भुइँतिर क्वार्क्वार्ति हेर्न थालेँ ।
भित्तातिर अडेस लागी काखमा टेबुल अड्याउँदै झुङिरहेको एकथान रित्तो सोफा सेट । टेबुलमा दुईतीन कलात्मक सिसाका गिलासहरु घोप्टो परेर सुतिरहेका । छेउतिर पारदर्शी प्लाष्टिकको बोत्तल रित्तो पेट प्रदर्शन गर्दै ठिङ्ग उभिएको । वश् योभन्दा वरिपरि मैले नजर डुलाउने साहस गरिन ।
शिशिर सर फिट्फिट्फिट्फिट् भर्याङका खुड्किला बजाउँदै एकै सासमा कोठाभित्र छिरे, मानौँ, यो अन्तरालमा मैले उनका केही बहुमूल्य वस्तुहरु चोर्न भ्याइसकेँ ।
“आरामसँग बस् न, सोफामा, के लजाउँदै ठिङ्ग उभिराको ?” मेरा दुवै कुम समातेर उनले मलाई सोफामा थचारे र आफूचाँहि दायाँतिरको कोठाको पर्दा सार्दै भित्रतिर बिलाए । मैले देब्रेपट्टिको कोठातिर नजर फ्याँकेँ जो खुल्लै थियो र भित्रभित्रसम्म बच्चाका खेलौना र कापीकिताब छरपष्ट थिए ।
उनी एउटा निलो लामोलामो बोत्तल ल्याएर तुरुन्तै टुपुल्किए । बोत्तललाई टेबुलमा अड्याएपछि जीउबाट लुगाको पत्रहरु उतार्दै कुनातिर मिल्काउँदै गर्न थाले । यो क्रम उनको शरीरमा कट्टू र बनेन मात्र बाँकी रहुन्जेल चलिरह्यो ।
“खै त भाउजु र केटाकेटी ? अनि तपाईँ एक्लै ?” मैले सोधेँ ।
“केको ‘तपाईँ’ सम्बोधन गर्छस्, यार्, तँ पनि लाष्टै बज्रस्वाँठ छस् के, मैले ‘तँ’ भनिसकेपछि तैँले पनि मलाई ‘तँ’ भन् भनी सिकाइराख्नुपर्ने हो, उल्लु ?”
उनी अफिसियल सचिव । म निम्नस्तरको कारिन्दा,,उनलाई कसरी झ्वाट्टै ‘तँ’ सम्बोधन गरुँ ? दिमागमा ज्वरो घुसेझैँ तात्तिन थाल्यो ।
“थाप् !” उनले नीलो बोत्तलको बिर्को खोल्न भ्याइसकेछन् । उनले एउटा गिलासमा तुर्क्याएर अर्को गिलास मतिर सार्दै आदेश जारी गरे । गिलासको कलात्मकता नै आँखै तिरमिराउने खालको थियो ।
म अक्मकाएँ, “मैले त लिने गरेको छैन यो !”
“तँ मेरो गिदी नचाट् न यार” गिलासहरु सुल्ट्याएर तुरुरुरुरु तुर्क्याउँदै भने, “कैले पनि चाखेको छैन भनी किरिया खाएर देखा !”
यस्सो किरिया खान तयार के भएको थिएँ मगजको शब्दभण्डारमा किरियाको शब्द नै फेला पार्न सकिन । त्यहाँबाट किरिया खाने शब्दहरु नै लोप भैसकेछन् ।
एकपटक त्यस्तो पनि उमेर थियो किरिया खाने शब्दहरु जति पनि पाइन्थे । अझ पढ्ने निहुँले स्कूलमा टाइमपास गर्न आउने साथीहरु त किरियाका विशाल भण्डार नै हुन्थे र माग्नेबित्तिकै जति पनि दिन्थे त्यस्ता आलाकाँचा शब्दहरु । गाईदेखि माईसम्मका गुलिया बाहेक टर्रा, अमिला, चर्का, पिरा, तीता आदि विभिन्न थरिका हुन्थे ।
कन्दै र कथ्दै गर्दा बल्लतल्ल एउटा शब्द दिमागमा आयो र त्यसलाई जतनपूर्वक नाक, कानी, घाँटी हुँदै जिब्रोसम्म के ल्याइपुर्याएको थिएँ झ्वाट्ट एउटा घटना सम्झन पुगेँ ।
……… …………… ………………
हामी रातको पहिलो प्रहरतिर तपिलालको घरको बुइँगलमा खेरिएका थियौँ । त्यो घरको जम्माजम्मी एउटा प्रवेशद्वार थियो र त्यसलाई पनि ढोका ढप्काएर बाहिरबाट चोथ्रा र ऐसेलुको गतिलै बार लगाइसकेका थियौँ । सहभागी हुन किरिया खाइसकेकालाई मात्र त्यो बार नाघ्ने विधि अवगता गराइएको थियो त्यही बेलुकाको झुसमुकमा नै । बुइँगलमा यताउता सर्नलाई चारहातखुट्टा टेक्दै गतिशिल हुनुपर्थ्यो । मुख्य कारण अन्धकार र उचाइ भए पनि सहायक कारणहरु अरु पनि थिए । चुक घोप्ट्याइएसरि अँध्यारोलाई अलिकति चिर्न बियरको बोत्तलमा मट्टितेल राखी बत्ती बालिएको थियो र त्यसको प्रकाशले पनि एकहात पर जान अल्छी गरिरहेको थियो । झिनो उज्यालोले पाखिराम, रविलाल, मनबहादुर, बलबहादुर सहित मेरो अनुहार र अनुहार अघिका रित्ता बटुकाहरु केही चिजको प्रतिक्षामा रहेको मात्र देख्न सक्थ्यो । अदुवा, लसुन र खोर्सानी, नुनको ढिकासँग पिँधी बनाइएको ‘सितन’ सबैले चाट्दाचाट्दै सिद्धिन आँटेको थियो र थप्ने जाँगर कसैको चलेको थिएन ।
त्यस्तो एकरसता र अन्धकारलाई च्वार्रै चिर्ने गरी एक्कासी “आइपुग्यो ! आइपुग्यो !!” भन्ने स्वर गुन्जियो चारैतिर । कसले पहिले भट्ट्याएथ्यो यकिन नै भएन । उपस्थित कसैका आँखा तन्किए, कसैका नाक तन्किए, कसैका कान तन्किए, तर एकमुष्ठ रुपमा घाँटीहरु भने सबैका तनक्क तन्किए ।
“को ? जीतबहादुर ?” भन्दै मैले पनि आँखा तन्काएँ ।
“जीतबहादुर होइन, ‘सर्वजीतबहादुर’ !” पाखिराम फट्को लाग्ने गरी भुरी थिच्दै हाँस्न थाले । अनि त कसैको पनि हाँसो थामिएको भए मरिजाऊँ ।
नभन्दै ध्वाँसोले पुरिएको एउटा पाँचमाने जर्किन हल्लाउँदै विजयभावसहित लालसिं आइपुगे । जर्किन देख्नेबित्तिकै सबैले ‘घुटुक्घुटुक्’ ‘घुर्लुक्घुर्लुक्’ थुक निलेको आवाजले वातावरण नै सनसनीपूर्णमा परिवर्तित भैहाल्यो ।
त्यसबेला मदिरा प्रतिबन्धित क्षेत्र घोषणा भएको थियो त्यता । गाउँले तथा प्रहरीप्रशासनबाट उति डर नभए पनि बाँकीबाट बहुत जोखिम थियो । त्यसैले त्यो जिल्लाको सीमापारिको सल्यानको दुर्गम गाउँबाट बडो सुरक्षापूर्वक ल्याउने बन्दोबस्त मिलाइएको थियो ।
ढिला नगरी नवप्रवेशी जर्किनबाट त्यो जल हुत्हुति बटुकोमा खन्याउँदै चाख्ने अधिकार पाखिरामलाई दिइयो । सालको पातको बुजो खोल्दा नै कोठा सिनो गन्हाएजस्तै गन्हाइसकेको थियो र त्यसलाई यताउता धकेल्ने हावा कमजोर मात्र होइन छँदैथिएन भन्दा हुन्छ ।
जस्तोसुकै जिनिस पनि ठाडो घाँटी लाइदिन सक्ने बीरतामा ख्याति कमाइसकेका पाखिरामको अनुहार त्यो जिनिस चाख्दै गर्दा सबैको सातोपुत्लो उडाउने गरी बिग्रिन पुग्यो । त्यो चिजलाई जबर्जस्ति भित्र हुलेपछि मलाई छेड हान्दै भनेका थिए पाखिरामले, “अरुले त यो ‘सिर्को’ घाँटीभित्र छिराउन सक्लान्, तर उहाँले मरिकाटे छिराउन सक्नुहुन्न ! ल बाजी थापम् !!”
“ल बाजी ठोकम् !!!” भन्दै लालसिँले खितखिताहट छाड्दै सबैको बीचमा हजारको नोट हुत्त्याइदिए । यताभने उनले सुटुक्क मलाई एउटा प्लास्टिकको मिनिपोको थमाइदिए ।
‘मिनि’ खोलेको चिनी रहेछ । मैले मेरो रित्तो बटुकामा पोको खन्याएको अरुले देखिहाले ।
हत्पति त्यो पोका खोस्दै रविलालले बाँकीलाई चिनी प्रयोग गर्न निषेधाज्ञा जारी गरिदिए ।
सबैले पालैपालो बहुप्रतिक्षित जल बटुकाहरुमा तुर्क्याउँदै सकीनसकी मुखमा जोत्न थाले । आफूले चिनी राखेपछि अलि राहत होला भनेको केको हुन्थ्यो ! जिब्रोदेखि घाँटीसम्म पोल्दै लग्यो र पेटमा फनफनी नाच्नथालेपछि छाद्नु न छेर्नु बनाइहाल्यो !! महिनौँ होइन, वर्षौँ बासीसरि कुहिएको जाँडको झोल थियो त्यो । जसोतसो त्यो बाजीमा जित लालसिँकै बनाइदिएँ मैले ।
केही बेरमै त्यो जिनिसले आफ्नो करामत देखाउन थालिहाल्यो । बलबहादुरको अंग्रेजी फुर्न थालिहाल्यो । लालसिँका मुखबाट गीतहरु ओइरिन थाले । मनबहादुरले सबैलाई तान्दै टुटे फुटेको हिन्दी गानामा काभ्रे डान्समा कम्मर मर्काउन थालिहाले । रविलालले भने झगडाको निहुँ खोज्न थाले । मैले पालैपालो सबैको भूमिकाको सहयोगी भूमिका निभाउँदै थिएँ ।
मनोरन्जन उत्कर्षमा पुग्दै थियो । कोही सुरक्षा घेरा तोडेर दगुर्दै माथि उक्लियो । सबैको मुटुले ढ्याङ्ग्रो ठोकेको थियो होला त्यतिखेर ।
निज्याएर हेरेको, हरिराम रहेछन् । उनले स्वाँस्वाँ गर्दै भनेः “बाहिर प्रभाकर आएका छन्, तपाईँहरुलाई भेट्न चाहन्छन् ।”
उनले सुस्त स्वरमा व्यक्त गरेको समाचारले हुरीबतासकै रुप धारण गर्यो र चट्याङ जस्तै चड्किँदै सबैको घटघटमा बज्रिन पुग्यो । फलतः अंग्रेजी बन्द भयो । गीत बन्द भयो र नाच बन्द भयो । सबैका गला बन्द भए । सबै टाउको हत्केलाले अड्याउँदै थुचुक्थुचुक् बसे भने लालसिँले भाँडाहरु बुइँगलका भित्ताहरु तोपताप पार्न थाले । सबैको तनमनबाट त्यो जिनिस एकाएक गायब भइदियो । धड्कनले जिउमा तरतरी निकालेका पसिना मात्रै थामिएनन् ।
“मारिगो नि ! चौपट्टै भएन ? यत्रो महिनौँदिनको प्रोग्राममा भाँजो हाल्न त्यो प्रभाकरलाई पनि अहिल्यै आउनुपर्ने ?” पाखिराम गुनासो गर्दै सरकसरक सर्दै अगाडि अगाडि सर्न लागे र हामीहरु पनि सकेको चुकचुकाउँदै र गाँठामुठा टेक्दै लुरुलुरु पछिपछि लाग्यौँ, यसरी कि कसैले केही चाखेकै छैन र कसैलाई केही लागेकै छैन ।
…………. ……………. ………….
“कहाँ हराइस् तँ ?”
“म किरिया खाने शब्द सर्च गर्न सर्चइन्जिन प्रयोगमै थिएँ कि, कहाँ पुगेछु कहाँ…, सरी… सरी…. ।”
“तँ पनि लाष्टै मूर्ख छस् यार् । किरिया खा भन्ने बित्तिकै खाइदिनै पर्छ त ?”
“उसो भए यो पनि त तपाईँले ‘खा’ भन्ने बित्तिकै खानैपर्ने बाध्यता त छैन होला नि ?”
“फेरि औपचारिक सम्बोधनतिर लाग्यो यो मूला !” भन्दै उनले अरिङ्गालले चिलेसरह मेरो पिँडुलाको मासुनै चोइट्याइदिए, “यो रक्सी होइन के, बुद्दू !”
“रक्सी नभए बियर त होला ? वाइन नभए पनि अल्कोहोलिक ड्रिङ्क्स त अवश्य होला नि ? अर्थात चाख्नेबित्तिकै लाग्ने चिज ?”
“तँ गँवारलाई रक्सी र रक्सीको जातमात्रै था रैछ, नसकिने भयो तँसँग पनि ।” खुइए सुस्केरा हाल्दै प्रष्ट्याए उनले, “लाग्न त क्लिन पानी बाहेक सबै थोक लाग्छ नि ! तर यो अल्कोहोलिक लागू पदार्थको जस्तो लग्वाइ होइन के ! छुट्टै हो ! एकदमै छुट्टै !! चाखेपछि मात्रै था पाउँछस् ।”
एक्कासी बिजुली गतिमा घोप्ट्याइएका गिलास सुल्ट्याएर “ल चाख् ।” भन्दै एकचौथाइ पेगजतिको गिलास मेरो मुखमै हुल्ने छाँट देखाए उनले । मैले प्रतिरोधस्वरुप दाँत किटे पनि त्यो तरल पदार्थको बुँदबुँद दाँतको छिद्रबाट जिब्रोसम्मै पुग्यो ।
जब त्यहाँ पुग्यो, त्यस बुँदको स्वादले गर्दा मेरो अनुहार चमक्क चम्केको देख्ने त्यहाँ शिशिर बाहेक कोही थिएन । नभन्दै बिछट्टै फरक र स्वादिष्ट थियो त्यो । म तुरुन्तै आफै गिलास समात्ने परिस्थितिमा परिवर्तित भैसकेको थिएँ ।
“देखिस् त ? मैले त्यत्तिकै लखेटेको रैछु पृयजनहरुलाई माइतितिर ? तँप्रति म कति डिभोटेड छु भन्ने कहिल्यै बुझिनस् यार् तैँले त । यो शेक्सपियरको गाउँबाट ल्याइएको अमूल्य उपहार हो । सिर्फ तेरैलागि । मरिहत्ते गरेको थिइस् नि अस्ति म बेलायत छँदा ? ‘शेक्सपियर’ भनेको अर्कै ‘…पृय’ बुझ्लास् नि फेरि ?” उनी चोसो बिगारेर बनावटी हाँसो हाँस्न थाले ।
पिउने बित्तिकै म असामान्यीकरणमा परिवर्तित हुँदै गएको थिएँ कि शिशिरको पीठमा धाप मार्दै भनेँ “तँ पनि कति दयालु छस् यार्…., बहुत दयालु….. बहुत मायालु….. ! तर… यति मीठो स्वाद उत्पादन गर्न जान्नेले त्यो बोत्तल ?, त्यो रङ ?, त्यो गिलास ?, त्यो वस्तु ? किन चेन्ज गर्न नसकेको होला ? तरल पदार्थको सट्टा वाफयुक्त बनाइदिएको भए पनि हुने !” म अब खुलिसकेको थिएँ । अफिसियल सहसचिवलाई ‘तँ’ ‘तँ’ ‘म’ ‘म’ पार्ने स्तरमा उक्लिसकेको थिएँ म ।
“वाफ पनि त झन् पुरानो हो नि ! गाँजाको धुवाँ ठानेको होइनस् मूला ? बल्ल ठीक साइजमा आइस् तँ ।” गुलाफ खुले झैँ मुस्कुराए उनी ।
“वाफ रे वाफ ! ल चियर्स !!!” चुस्की लिइसकेपछि मात्र हाम्रा गिलासका टाउकाहरु जुधे ।
“तँलाई त कता कता देखेजस्तो लाग्यो यार् ?” अर्को चुस्की लाउँदै मैले शिशिरको अनुहार पढ्न थालेँ ।
ऊ मेरै प्रश्नको जवाफ लेख्नमै मग्न थियो । मानौँ अहिलेसम्म उसले पास अङ्क ल्याउने गरी जवाफ दिएकै छैनः “धुवाँ, तरल र ठोस पदार्थ अब पुराना भैसके । टचलेस डिजिटल टेक्नोलोजी हो यो !” नभन्दै ऊ पनि मासुको डल्लोबाट डिजिटल हुँदै गइरहेको थियो ।
“तैँले जे पिउँदै छस्, त्यसको नाम नै सोधिनस् यार् !” बोत्तल बोलेको हो कि शिशिर बोलेको हो पत्तो नै पाइन मैले ।
“तैँले खुवाएपछि तेरै कर्तव्य नै हो नि त्यसको नाम बताउने त ! मैले अनुमति दिएँ रे, ल ! भन् न भन्, के हो यसको नाम ?”
“यो ? यो टाइम्स-एप हो ।” ऊ त्यत्तिकै गललल हाँसिदियो ।
“न्वारानको नाम नै ?”
“न्वारानको नाममा पुगिसकिस् शुरुमै ? गर्भाधानको नाम सुन् न पहिले । अँ के भन्दै थिएँ रे मैले ? ए… अँ, अँ, त्यतिखेरको नाम यसको ‘टाइम-स्याप’ हो, अर्थात ‘कालजल’ ! कालजल भन्दा डराउँछस् भने समयजल भनेर बुझे पनि भयो तैँले । नेपालीमा कालजलको संयुक्त शब्द काजल भएजस्तै यो पनि ‘टाइम्स-एप’ हुन पुग्यो । अंग्रेजीमा ‘साप’को अर्थ ‘जल’ हुने भए पनि वास्तवमा ‘जल’ चाँहि हैन यो । प्रोटोनलाई फन्को मारिरहेका इलेक्ट्रोनको सिर्फ झुण्ड हो ।”
“अनि, त्यो तिरतिर आवाज ? त्यो पेग ? त्यो रङ ?”
“त्यो सब बोत्तलले दिएको छनक मात्र हो, जे छ बोत्तलमै छ । त्यहाँ गिलासभित्र केही पनि छैन ।”
मैले गिलासको पिँधमा छामेर हेरेँ । सुँघेर हेरेँ । रङ हेरेँ । अँहँ केही पनि थिएन त्यहाँ ।
बोत्तल गिलासमा घोप्ट्याएँ । तिरिरिरि आवाजसहित तरल पदार्थ गिलासमा झरेको देखियो । गिलास बाहिर पोखेँ, अँहँ केही पनि झरेन । फेरि गिलासमा पोखेँ त्यहाँ भने पुनः पोखिएझैँ गर्यो तिरिरिरिरि…… ।
गिलासको बिट चुसेँ । अपूर्व स्वाद मुखमा ओइरियो । मुखभरि वाफ भरिएजस्तो भयो । पेटभरि कपास भरिएजस्तै भयो । आफू हलुङ्गो हलुङ्गो हुँदै जान थालेँ ।
“तैँले थप्दैमा थपिइरहने चिज होइन यो फेरि । तेरो पाचनशक्तिको फोटो लिएर एनालाइसिस गरेपछि यो आफै बन्द हुन्छ । हाम्रो क्रियाकलापहरु बोत्तलममा कैद भैरहेका छन् यतिखेर । यसरी बुझ् न यो एक सिसि क्यामेरा जस्तै पनि हो ।” उसले त्यस जिनिसको विशेषता बखान गरी भ्यायो ।
“यता हेर् अब !” शिशिरले भित्तातिर औँला सोझ्यायो । हेर्दा त त्यता न बैठक कोठा थियो, न त कोठाको भित्तो नै ।
…….. ……… …………..
हामी दुईजना त एक विशालकाय मनोरम बगैँचामा थियौँ । पश्चिमतिर चराको चिर्बिरसहित बिहानी हुँदै थियो भने पूर्वतिर सन्ध्याकाल छाउँदै थियो । उत्तरतिर अँध्यारो थियो । दक्षिणतिर हामी बसेका थियौँ र चकमन्न मध्यान्ह थियो ।
“उत्तरतिर किन अँध्यारो नि ?” मैले यथास्थितिमा आउने प्रयत्न गर्दै जिज्ञासा पोखेँ ।
“किनकि मेरी पृयषी मेरो एक शब्दमै छोरो बोकेर माइति हिँडिदिई । त्यहाँ ताल्चा मारेर गएकी छे कि ऊ !” उसले सहज जवाफ त दियो तर आफूलाई निकै असहज लाग्न थाल्योः ‘हैन कुन चाँहि पृयषीको कुरा गर्दै छ यो ? यसलाई साँच्चिकै लाग्यो कि क्या हो ?’
त्यसो त हामी दुवैजनालाई पटक्कै छोएको थिएन । अँहँ पटक्कै लागेकै थिएन । हाम्रो आँखा तेज नै थिए । जिब्रोदेखि खुट्टासम्म कुनै अङ्ग लर्बराएको थिएन । होश पनि ताजा नै थियो ।
बरु हामी चार सय वर्षअगाडिको युगमा पुगिसकेका थियौँ । अर्थात् सन् २०१८ बाट सोह्रौँ शताब्दीको दोस्रो दशकतिर ।
“कहाँ आइपुग्यौँ हामी ?” परिस्थितिले १८० डिग्रि फन्को मारेकोले मैले अत्तालिँदै सोधेँ ।
“यो बेलायतको ‘स्टेटफोर्ड-अपन-एभन’ शहर नजिकैको स्थल हो । उता बगिरहेको त्यो एभन नदी हो र हामी बसेको चाँहि विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरको बगैँचा हो ।”
“तपाईँ नै हो शेक्सपियर ?” मैले आफूसँग गफ मारिरहेको आकृतिलाई ठम्याउन खोजेँ ।
“म शेक्सपियर त होइन, तर उनकी पत्नी ‘एनी हाथवे’को पूर्व प्रेमी भने अवश्य हुँ । ऊ मलाई छोडेर आफूभन्दा ८ वर्ष कान्छो शेक्सपियरको पछि लागी । फलस्वरुप ऊ, म र उनीहरुबाट जन्मेका सन्तान बीचमा विकसित अन्तर्द्वन्द्वबाट उनका संयोगान्त र वियोगान्त गरी ३८ नाटकहरु झन्डै १५४ सोनेटहरु र दुईवटा लामा कथा जन्मे होलान् भन्ने लाग्छ मलाई ।”
म वाल्ल परेर उसलाई हेरिरहेँ ।
“ऊ.. त्यता हेर् ” मैले उसले इङ्गित गरेतिर हेरेँ । नजरले नसमेट्ने गरी क्षितिजसम्मै फैलिएको रुखहरुको बगैँचा थियो त्यो । कुनै फुल्दै थिए, कुनै फल्दै थिए । उसले मलाई डोर्याउँदै उतै लग्यो ।
अब हामी बगैँचाको भित्रतिर छिर्दै थियौँ, “यी शब्द फल्ने रुखहरु हुन् देखिस् ?” देख्ने मात्र होइन प्रत्यक्ष भोग्दा म खुशीले चङ्गाजस्तै फिरफिर आकाशमा नाचिरहेको थिएँ ।
“रुख पनि विभिन्न प्रजातिका रहेछन् । उचाइ, मोटाइ, रङ, पात, काण्ड सब फरक फरक छन् त ?”
“हो त, कुनैमा गुलिया शब्द फल्छन्, कतै टर्रा, तीता र अमिला शब्दहरु फल्दछन् । अलग अलग स्वाद फल्नको लागि अलग अलग रुख हुनुपरेन, बुद्दू ? यहाँ शेक्सपियर आफैले रोपेका १७०० प्रजातिका शब्दहरु फल्ने रुखहरु छन् ।”
“यी फलहरु कसैले टिप्दैन ? पाकेर झर्दासम्म पनि कसैले टिपेको देखिँदैन ? बारबेर पनि कतै छैन ? चोर समेत पस्दैन कि क्या हो ?” मैले भावविभोर हुँदै सोधेँ ।
“किन नटिप्नु, टिप्छन् नि । तर यी नेपाली शब्दका रुखहरु जस्तै खण्डीकृत छैनन् । आफ्नो आफ्नो नाममा दर्ता छैनन् प्रत्येक रुखहरु । नेपाली शब्दमालिकहरुले एउटा शब्द चोरी भए सर्वनाश होला भन्ठान्छन् । तर यहाँ भने एउटा शब्द चोरिए चारवटा शब्द फल्छ भन्ने सिद्धान्तले काम गर्छ । तसर्थ बारबेर्न गर्न आवश्यक नै छैन । सक्दो बढी चोरी होस् भन्ने यिनीहरुको लक्ष हुन्छ ।”
“कस्तो अनौठो चलन रैछ बाइ ह्याँ त !” म चकित परेँ ।
“ऊ त्यो शब्दबाट काव्य उत्पादन गर्ने कारखाना हो । त्यता जाऊँ अब ।” शेक्सपियरको जारमा परिवर्तित भैसकेको शिशिरले मलाई उतै डोर्याउन थाल्यो र भन्दैगयोः
“तर मलाई यति बोर लाग्छ कि म गजलको पारखी छु भन्ने बुझेरै मेरो प्रतिशोध लिन एउटा पनि गजल कारखाना खोलेन त्यो शेक्सीले ।….. थाहा छ ? इन्डियामा थापना हुनलागेको गजल कारखानामा मैले पनि शेयर हालेको छु नि ।”
“हालेको मात्र छस् कि परिसक्यो ?” मैले अलिकति शंका पोख्न भ्याएँ ।
“शेयर हालिसकेपछि शेक्सपियरको पनि जारलाई शेयर नदिने पनि कोही जन्मेको होला त त्यो जाबो हिन्दुस्थानमा ?” ऊ फितफिताउँदै हाँसिदियो ।
हामी अब ती कारखानाहरुको कम्पाउन्डभित्र घुसिसकेका थियौँ । त्यहाँ विभिन्न ब्लकहरु थिएः नाटक उत्पादन ब्लक, सोनेट उत्पादन ब्लक, कथा उत्पादन ब्लक, बिचार उत्पादन ब्लक आदि ।
हामी शुरुमा नाटक ब्लकको बाहिर पुग्यौँ । ब्लकका भित्ताभित्तामा फनक्कै सिसाका झ्यालहरु भएकोले भित्रतिर चियायौँ हामीहरुले । म अद्भूत कारखाना देखेर अविभूत भैरहेको थिएँ ।
भित्र शब्दका पोकाहरुको विशाल भण्डार थियो । शब्दहरु स्वचालित रुपमा खुरुरुरु दगुर्दै एउटा बडेमानको भाँडोमा पसिरहेका थिए । सायद त्यो भाँडोमा शब्दहरु पेलिन्थ्यो । अलि पर शब्दको रस झरिरहेको थियो । रस थाप्न नौवटा भाँडाहरु राखिएको थियो ।
“यही रसको ‘नस’ हो, अगाडि हामीले गिलासमा लिएको ।” उसले मेरो कानैनेर खुसखुस गर्यो ।
अलि पर अलंकार, विम्ब, प्रतिक आदि अंकित भाँडोमा शब्दका छोक्राहरु खसिरहेको थिए ।
त्योभन्दा परको एउटा नलीबाट सिनित्त परेका रङ्गीबिरङ्गी आकारप्रकारका शब्दहरु फुत्तफुत्त निस्कँदै सलबलाइरहेका थिए । त्योभन्दा पर शब्दबाट खसेको रस छोक्रा र शब्दहरु सानासाना मेशिनहरुमा गएर मिसिन्थे । ती मिनिमिशिनहरु थिएः शिर्षक छान्ने, प्लट छान्ने, पात्र छान्ने, शैली छान्ने, परिवेश छान्ने, उद्देश्य छान्ने आदि मेशिनहरु । त्यताबाट प्रशोधित शब्दहरु गएर पुनः अर्को अर्थात् अन्तिम मेशिनमा पुग्दथे र परिणामतः सिङ्गो नाटक तयार भैरहेको थियो ।
म तीनछक नपर्ने कुरै थिएन त्यहाँ ।
मलाई कथातिर रुची भएकोले कथा उत्पादन ब्लकतिर कुदेँ । साथीले भन्दै थियोः “पर्खी, पर्खि, रुक्, रुक्, त्यता नजा, त्यता नजा ।”
मेरो पालो मोबाइल झिकेँ र कथा उत्पादन भैरहेको भित्रको दृश्य मोबाइलमा कैद गर्न खोजेँ ।
‘आहा ! आफ्नो गाउँमा पनि यस्तै मेशिन तयार गर्न पाए कसले दिमाग खियाउने टण्टा गरोस् । यस्तो रचना चाहियो भनी अह्रायो, आफू बस्यो, हेर्यो वश्, एकछिनमै चाहिएकै स्वादमा रचना तयार ! क्या काइदा !’
शेक्सपियरले कतै दिक्क लागेर यी कारखानाहरु बेच्न पो खोजेका छन् कि भनी जान्ने जङ पनि चल्यो । तर मोटामोटी हिसाब गरी ल्याउँदा आफ्नो घरखेत त के सिङ्गो दक्षिण एशिया बेचे पनि नपुग्ला भनी चुप बसेँ ।
मोबाइलमा दृश्य कैद हुन सकेन । मैले प्रवेशद्वार खोजेँ र भित्रबाट बन्द गरिएको द्वारलाई बलजफ्ती घुचेटेँ । ढोका बिस्तारै खुल्यो । मैले भित्र पस्ने बित्तिकै कोठाको परपरसम्म सयौँ प्रोसेसहरुमा प्रोसेसिङ हुँदै निस्किरहेको एउटा सुन्दर कथा मोबाइलमा कैद गर्न शुरु गरिहालेँ ।
स्टार्ट थिच्न नपाउँदै कोही पछिल्तिरबाट बुर्लुक्क उफ्रेर आएर मेरो गर्दन समात्दै भन्योः “स्साला.. चोर !”
म फरक्क फर्किएर हेरेँ, त्यहाँ त विलियम शेक्सपियर दाह्रामुङ्ग्रा टोक्दै आफै उपस्थित थियो । मैले उसको कसिलो पन्जा आफ्नो गर्दनबाट फुत्काउने कोशिस गर्दै भनेँ: “सोध् न तेरै जारलाई, मैले आफै हो र ? उसले ‘यहाँ चोरेको पनि अपराध लाग्दैन’ भन्दै उक्सायो त !”
“शब्द चोरेको पो अपराध लाग्दैन त । उत्पादन नै चोरेपछि बाँकि छोडिन्छ ?” उसले मलाई घचेट्दै ढोकाबाहिर हुत्त्याइदियो । म ढुनमुनिँदै भुइँमा पछारिएँ ।
…………… …….. ………..
त्यहीँ ढुनमुनिँदै शिशिर पनि आइपुगेछ । मैले ठानेँ त्यसका जारले त्यसलाई पनि लखेटेछ । ऊ एकहातले अघि मिल्काइएका लुगाहरु हतार् हतार् लगाउँदै र अर्को हातले मलाई थपथपाउँदै भन्दै थियोः “प्लिज अब पुग्यो, तँ निस्किदे । तँ झट्टै निस्किदे ।”
म उठेर बसेँ र वरिपरि हेरेँ । म शेक्सपियरको बगैँचाबाट शिशिर सरको कोठामा झरिसकेको थिएँ ।
“किन के भयो र ?”
उसले मेरो कानमै दुई शब्द मात्रै फुसफुसायो ।
मैले अत्तालिँदै चिच्याएछु, “प्रभाकर…. ?????”
उसले मलाई घुचेट्दै पछाडिपट्टिको ढोकासम्म पुर्यायो ।
“न धकेल् न यार्, आफ्नै साथीलाई आफ्नो कोठाबाट निकाल्न धकेल्नै पर्छ र ? जा भने त खुरुक्क गैहाल्छु नि । म आफै गैदिन्छु के, गैदिन्छु । अघि त खुब फकाई फकाई कोठैसम्म ल्याइपुर्याएको थिइस् र फकाई फकाई चखाएको थिइस् नि ?”
उसले कठालो खुकुलो पारेपछि ऊतिर फर्कँदै सोधेँ, “बरु मलाई यति मात्र बताइदे कि यहाँ तेरो कोठासम्मै ‘प्रभाकर’ कसरी आइपुग्यो ?”
“ह्याँ आफूलाई यत्रो टेन्सन् भैराबेला किच्किच्किच्किच् नगर् न यार् ? झ्याम्म गाला पड्काइदिन्छु अनि ?….. म ‘प्रभा’ भनिराछु र त फेरि कहाँको ‘प्रभाकर’ सुन्छ ? मूला कहीँको ?………… मेरी बूढी प्रभा के… !! ‘प्रभा आइपुगी’ भनेको !!!” यति भन्दैगर्दा मलाई चोर ढोकाबाट बाहिर पारेर आफूले भित्रबाट छेस्किनी लगाइसकेका थिए शिशिरले ।
ढोका ढकढकाउँदै एकछिन् कराएँ: “ए शिशिर ? ए शिशिर ? मेरो त रुमालै छुटेछ यार् ।” भित्रपट्टि कुनै सुनुवाइ नभएपछि लामो श्वास फेरेर त्यतै उभिएँ ।
म अब शिशिर तथा कालजल र ती दुईले सिर्जना गरेको कोलाज दृश्यबाट पूर्णतः बाहिरपट्टि परिसकेको थिएँ । तर त्यसबाट परेको प्रभावबाट भने अझै मुक्त हुन सकेको थिइन ।
उत्कर्षमा पुगेको नाटकीयतालाई फिका तुल्याइदिएको ‘प्रभाकर’ शब्दले एक प्रकारको चीसो तर्सो बढाइदिएको थियो र तत्कालै उक्त शब्दबाट ‘कर’ घटिसकेकोले ठूलो राहत महशुस गरिरहेको थिएँ मैले ।
“अब शिशिरले मात्रै बूढीबाट रामधुलाई खाने भयो ! बिचरा !! यतिबेरसम्म ढोका नखोलेपछि र कोठाको अस्तव्यस्तता देखिसकेपछि कल गर्लसँगै सल्किएको कसो नठान्लिन् उसकी बूढीले ?” यति गम्दै गर्दा यो मध्यरातमा कुनै सवारीसाधनबिना कसरी भक्तपुरको आफ्नो कोठासम्म पुग्ने भन्ने कुनै तर्सोसम्म थिएन मलाई ।
“जीउ कपासको पुतली सरी छ केरे, म त फुर्र-फुर्र, भुर्र-भुर्र गर्दागर्दै पुगिसक्छु कोठामा । खुच्चिङ शिशिर !, खुच्चिङ शिशिर !!” भन्दै मैले दुवै कुम उचाल्न थालेँ ।
…………………… ………………..
“कस्तोखालको निद्रा हो यो ओलीजी तिम्रो ? कुम जुरुकजुरुक उचालिरहेका छौ, घरि हाँस्छौ ? घरि आक्रोसित हुन्छौ ? आफू भने मस्त निद्रामा छौ ? लोकन्थली आइपुग्यो ! देखेनौ ? अब झर के ।” सँगै बसिरहेका शिशिर सरले मलाई घचघच्याइरहेका रहेछन् ।
म यथास्थितिमा आइपुगेको थिएँ । तीनकुनेदेखि नै गाडी जाममा फसेकोले मैले तन्द्रामा डुबुल्की मार्ने अवसर भेट्टाएछु । अहिले शिशिर सरकै गाडीभित्र मस्तसित तन्द्रामा डुबिरहेको पो रहेछु ।
तन्द्राबाट ब्यूँझिएपछि गाडीबाट झर्ने अनकाउँदै शिशिर सरलाई स्मरण गराएँ: “तपाईँले बेलायतबाट ल्याएको उपहार आजै चखाउँछु भन्नु भएको होइन र ? खोइ त ? मैले पनि मेरी बूढीबाट आज एकदिनलाई काज स्वीकृति गराइसकेको छु के !”
“कहाँ मानी त मेरी बूढीले ? आजै माइत जान ? कम्ताकी बाठी छ त्यो ! कागकै फूल चोर्ली जस्ती !! ‘माइति जाउ न त, तिमी, माइतीतिर नगएको हप्तौँ भइसक्यो, तिम्रा बाआमा दिन गनेर तिमीलाई पर्खिरहेका होलान्’ भन्नेबित्तिकै अब कुन चाँहि जँड्याहा साथी ल्याएर उपद्रो मच्चाउने हुन् भनेर लख काटिहाली । ऊ जाँदै गैन त म के गरुँ ? भैगो, आजलाई हुन्देऊ, अर्को कुनै दिन चखाउँला अब ।” शिशिर सर दिक्क मानिरहेका प्रष्ट देखिन्थे ।
म गाडीबाट झर्नेबित्तिकै उनको गाडी लोकन्थलीको भित्री बाटोतिर हुँइकियो । म भने बस स्टपमा उभिएर अड्कीअड्की मरीमरी हाँसिरहेको थिए । सायद बेप्रसङ्ग एक्लै हाँसेको देखेर ‘यसको दिमाग सड्क्यो कि ?’ भन्दै वरिपरिका मान्छेहरु पनि हाँसिरहेका थिए होलान् ।
“आ.. बाल मतलब ! जोसुकै हाँसून् ! यति मीठो कल्पनामा यिनीहरु डुबुल्की मार्न जाने पो ?”
 
२०७५।०७।०४
भैरहवा

158 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *