सत्तुर्नी

1 + 1 = 1
1 – 1 = 1
यो हो एउटा कविताको दुई हरफ ।
यो कविता हेर्नेबित्तिकै तपाईँहरुमध्ये ५०% को दिमागको सर्च इन्जिनले तुरुन्त पत्ता लगाउनेछ कि यो कुनै नौलो कविता होइन तसर्थ यसलाई पढिरहनु आवश्यक छैन । तपाईँहरुले यतिसम्म भन्न भ्याउनुहुनेछ कि यसले पाठकहरुलाई झुक्क्याउँदै महाकविको कपिराइटको चोरी गरिरहेको छ । तपाईँहरुको शंका आक्षेपमा परिवर्तन हुँदै मुद्दामा रुपान्तरित भएर न्यायदाताको इजलासमा पुग्न गएमा त न्यायमनले भन्नेछन्: फलानो ऐनको फलानो दफाअनुसार यस्तो कार्य अपराधिक कार्य ठहर्नेभएकोले फलानोलाई यति वर्ष जेल सजाय र यति रुपैँया दण्डजरिवाना हुने ठहर्दछ ।
यस्तो सम्भावित आरोपबाट बच्न मैले कोशिस गरेको हुँ म अर्कै कविता रचूँ । जस्तैः
A + Y = XY
A – Y = X
यो मेरो नितान्त मौलिक कविता हो । कुनै पनि सर्च इन्जिन प्रयोग नगरेर रचेको कविता हो ।
तथापि तपाईँको सर्च इन्जिनले मान्नेछैन । भन्नेछः यो पनि नौलो कविता होइन । यो कि त महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको रुपान्तर हो कि त कान्तिपुर दैनिक समाचारपत्रको दिनांक २०७३ साल ७ महिना ६ गते प्रकाशित राजा पुनियानीको ‘फोर-डी’ कविता वा यस्तै अन्य कुनै डिजिटल रचनाको चोरी गर्न खोजिएको हो ।
प्रसंग यस्तै थियो रुकुम ठूलीदह यात्राको एकजना साथीले मेरा रचनाहरुको प्रसंग कोट्याउँदै भनेका थिए आजभोलिको डिजिटल दुनियाँमा रचिएका कसैका रचना पनि मौलिक भनी पत्याउन गाह्रै पर्छ । मलाई भित्रैसम्म चसक्क घोचेको थियो यस आरोपले । उनले यो ठोकुवा गर्नुपूर्व म डिजिटल विधि प्रयोगमा सुदूर पछाडि थिएँ । डाक्टर कृष्णहरि बरालले पनि भनेका थिए म आफैले स्वयं रचेको एकदमै मौलिक रचनाको शीर्षक गुगलमा खोज्दै जाँदा एकदुई वटा उस्तै उस्तै रचना फेला पारेँ ।
म भन्नेछु, ‘ए बाबा ! मैले थोरै कविता लेखिरहेको छु र ? मैले त आत्मकथा पो लेखिरहेको छु त । त्यसो पनि होइन कविता र कथाको रेमिक्स हो यो । यो रेमिक्स कविता हो ।’, तपाईँहरु मान्नुहुनेछैनः जुनसुकै विधामा उल्थाइए पनि यो चोरी नै हो, चोरी नै हो, चोरी नै हो, कसको चोरी ? महाकविको ? ‘फोर-डी’ कविताको ? कसैको न कसैको । चोरी जसको भए पनि चोरी नै हो ।
फसादको कुरा छ । मान्छेको दिनचर्या मात्र होइन मान्छेको दिमाग र भावना पनि डिजिटाइज्ड हुँदै गइरहेको छ । डिजिटल बाहेक अरु सोच्नै छाडेको छ मान्छेले । तसर्थ मैले लेख्न केही पनि भावनात्मक शीर्षक बाँकी छैन अब । सर्च इन्जिनले सबै उत्खनन गरिसकेको छ । तसर्थ म पनि डिजिटाइज्ड नभईनहुने बाध्यता छ । मेरो पनि अरुको जस्तै दिलचस्पी अक्षरमा होइन, अंकतर्फ बढ्दै गइरहेको छ हिजोआज ।
जस्तैः
मेरो वास्तविक कथा हेरेर रुनेहरुको संख्याभन्दा मेरा काल्पनिक कथाहरु पढेर रुनेको संख्या धेरै हुनेछ । यो त डिजिटाइज्ड दिमागको कमाल हो कि ? भावनात्मक दिलको कमाल हो ?
अरुहरुलाई त यो कुराको कुनै चासो नै छैन । सिर्फ सामाजिक सञ्जालमा आवद्ध व्यक्तिहरु जसले यतिखेर मेरो रेमिक्स डिजिटल कविता पढ्दै हुनुहुन्छ ती व्यक्तिहरुको लागि मैले यस्तो कविता कोरेको छुः

जसको earnings अहिले यतिखेर एक digit वा सोभन्दा कमको छ,
उसको संसारमा यो पुग्ने नै छैन ।
जसको earnings यतिखेर २ digit को छ, तीमध्ये २५% मा पुग्नेछ ।
जसको earnings यतिखेर ३ digit को छ, तीमध्ये ५०% मा पुग्नेछ ।
जसको earnings यतिखेर ४ digit को छ, तीमध्ये १०% मा पुग्नेछ ।
जसको earnings यतिखेर ५ digit को छ, तीमध्ये १% मा पुग्नेछ ।
जसको earnings यतिखेर ६ digit वा सोभन्दा बढीको हुनेछ,
तिनीहरुमा यो पुग्ने नै छैन ।
त्यसैले मैले जसलाई लेख्ने गर्छु, त्यसकहाँ यो पुग्छ कि पुग्दैन !!!

कविता मन पर्योे ? अवश्य मन परेन । रेमिक्स गीत मन पराउनेहरुलाई रेमिक्स कविता मन पर्दैन । कौतुहलता पनि जागेको छैन होला । कौतुहलता जागेकै भए तपाईँको डिजिटल दिमागले यो कविता अर्थ्याउन पट्टि लाग्यो भने यो कुन स्तरको मान्छे हो भन्ने अड्कल गरिसक्योहोला या त यसका कस्ता प्रकारका साथीहरु छन् भनेर ।
कसैको दिमागभने अहिलेसम्म शुरुवाति कवितामै अल्झिरहेको हुनुपर्छ । साँच्चिकै महाकविले पागल कविता किन लेखे होलान् ? त्यो जमाना त 1+1=2 को थियो । बाइनरी सिस्टम अर्थात् 0101000110 को त थिएन । 1-1=1 कसरी हुनपुग्यो ? के शीर्षकअनुसार मिल्दोजुल्दो उनी पागल नै थिए ? वा यो कविताको शीर्षक पागल राख्नु उपयुक्त थियो ? तपाईँहरुमध्ये धेरैले त यो उपयुक्त नै थियो भन्नुहुनेछ ।
तर त्यसो होइन । महाकविले मान्छे कसरी डिजिटाइज्ड हुँदै गइरहेको छ भन्ने कुराको छनक दिइरहेका थिए यस कविताको माध्यमबाट ।
त्यति मात्र होइन । उनले यस कविता लेखेर आफू पागल बन्नबाट जोगिएका थिए ।
किनकि पागल बन्नबाट जोगिनुको रामवाण ओखति हो आफूलाई डिजिटाइज्ड तुल्याउन सक्नु । यसै सूत्रले गर्दा व्यापारीहरु कमै मात्र पागल हुन्छन् । यसै सूत्रको आधारमा मात्र सरकारले न्यायदाताहरुको नियुक्ति गर्दछ र ठान्दछ उनीहरु भावनातिर बग्दैनन् । तर सूत्रभित्र अर्को उपसूत्रः उनीहरु हिसाब गर्न थाल्छन् मेरो यतिखेरको आम्दानी कति हुनुपर्नेहो र कति भइरहेको छ !
तपाईँहरुमध्ये धेरैको सर्च इन्जिनले भन्नेछ यो मिथ्या आरोप हो ।
वाहः सर्च इन्जिन वाहः जसले किन मान्छे पागल हुन सकेन ? भन्ने फाइन्डिङ गर्न सक्दैन, उसैले यसलाई मिथ्या आरोप भनिरहेको छ ।
एकको मूल्य अन्य सबै अङ्कहरुको जोडभन्दा धेरै बढी हुन्छ । तसर्थ 1+1=1, 1-1=1 भनिएको हुनुपर्छ । एकबाट नै बाँकी सबै संख्या बन्ने हुन् ।
1 “म” जस्तै हो । “म” को हो ? “म” के हो ? “म” को हुँ ? आखिर “म” हो के ? म शीर्षकको कतैबाट चोरी गरी प्रतिस्थापन गरिएको अर्को डिजिटल कविता यस्तो छः

or म = तँ
or म2 = म×तँ (दुवैतिर म ले गुणन गर्दा)
or म2 – तँ2 = म×तँ – तँ2 (दुवैतिर तँ2 घटाउँदा)
or (म + तँ) × (म – तँ) = म × (म – तँ) (कविताको लाइनबाइ लाइन अर्थ्याउने नियम नहुनेहुँदा अब आफै बुझ्नुहोस् ।)
or (म+ तँ) = तँ
. .
आजको दुनियासँग मिल्दो कति सान्दर्भिक मीठो कविता । म यस्तै कविताहरु लेखिरहन्छु । हाइस्कूलमा पढ्दादेखि नै सिकेका यस्ता धेरै कविताहरु मैले भुलिसकेँ ।
म लेख्छु र फेसबुक वालमा राख्छु । चाहिएजति Likes पनि पाउँछु र मेरो सेन्टिमेन्टल मुटुले अलिकति शान्तिको महशुस गरे पनि डिजिटाइज्ट मुटुले पटक्कै शान्ति महशुस गर्दैन ।
सोध्छु, सरकारी उच्चपदका कानुनतर्फका कर्मचारी साहित्यमन सुशिल कोइरालालाई, कि यस्तो किन हुन्छ ? जीवराज बुढाथोकीलाई मात्ने खालका कविता फेसबुक भित्तोमा टाँस्दा पनि सुशिल कोइरालाले जम्माजम्मी ९ लाइक पाउँदा जीवराज बुढाथोकीले किन ९०० भन्दा धेरै लाइक कमाउछ भनेर । उनको जवाफ जे भएपनि अर्थ उही हुन्छ म न त डिजिटाइज्ड हुन सकेको छु, न त सेन्टिमेन्टल ।
तसर्थ मैले आफ्नो अकल्पनीय पीडामा पनि चाहेजति आँशु बगाउन सकिन ।
नजान्नेले उइलाई भन्छु………………
अर्थात्
म दुईपटक दोहोर्यानउँदैछु । यो कुरा लेख्दा पाठक कोही धेरै अगाडि बढिसक्दा पनि केही भने शुरुवातिमै अल्झिन सक्नुहुन्छ । दुईपटक भने त पुगिहाल्यो नि, किन दोहोर्यानउनुपर्योे ?
ठ्याक्कै अर्थ दिन गाह्रो छ । कारण एउटै मात्र हो, म पूर्ण रुपमा डिजिटाइज्ड हुन सकिन । तसर्थ म डिजिटल तवरले लेख्न कोशिस गर्छु । तसर्थ मलाई देखावटी तथ्याङ्कको आवश्यक पर्छ ।
जसले जे लेखे पनि शुरुमा एउटैको कथावस्तुको कल्पना गर्छ र त्यही कुरालाई शब्दमा उतार्छ । अङ्कमा होइन । एउटै चरित्र, एउटैको कथा, एउटैको कथावस्तु । वश् एउटा मात्रको ।
मैले पनि त्यही गर्छु जस्तो अरुले गर्छन् । एउटैको लागि लेख्दछु । मेरा कविताहरु एउटैका लागि लेखिएका थिए र हुनेछन् । मेरा कथाहरु एउटैका लागि लेखिएका थिए र हुनेछन् । त्यो एउटाको यति महत्त्व छ कि घटाए पनि एकै बाँकी रहन्छ र जोडे पनि एकै हुन आउँछ ।
तर बिडम्बना त्यही एउटाले मेरा रचनाहरु पढिदिँदैन । जति लाइक पाए पनि वाहियात हुनजान्छन् बाँकी लाइकहरु । मैले धेरै सुनेको छु मधुमालती श्रुतिसम् कथाहरु । प्रेमले मान्छेलाई पागल बनाउँछ कि पागल हुनबाट जोगाउँछ ? प्रेमले मानिसलाई आर्यघाट पुर्या उँछ कि आर्यघाट पुग्नबाट जोगाउँछ ?
३०५१६०००
……………….. ?
तपाईँहरुमध्ये धेरैको सर्च इन्जिनले यो पढीनभ्याउँदै यो त २००८ साल ३ महिना ८ गते आएको नेपालको पहिलो सार्वजनिक बजेट पो हो भन्नेछ र प्रमाण सोझ्याउनेछ अर्थमन्त्रालयको अभिलेख वा गुगल सर्च । म त भन्छु, नपत्याए कृष्णहरि बास्कोटालाई सोध्नुहोस् । उनलाई २००८ सालदेखि हालसम्मका सबै बजेटको आम्दानीखर्च कम्प्यूटरभन्दा छिटो बताइदिनसक्छन् । यसको अर्थ सबै उच्च पदासिन व्यक्तिहरु डिजिटाइज्ड हुन्छन् भन्न खोजेको होइन, न त तिनीहरुमा कुनै सेन्टिमेन्ट नै छैन भनी भन्न खोजिएको हो । यसको नमूना परीक्षणको लागि म लखेटिएँ गल्लीहरुमा । आफ्नो चरित्र निभाउनु थियो । हतारिएर ओहोरदोहोर गरिरहेकाहरुलाई चिमोट्नुपर्थ्यो, नजिकैबाट छोएँ मात्र, अनि अनुभूतिएँ: डिजिटाइज्ड । डिजिटाइज्ड भैसकेपछि छोए पनि चिमोटे पनि तात्पर्य एउटै हुन्छ । मानौँ सबैले ८ सालको बजेट आ-आफ्नो गोजीबाट झिकेर भाषण गर्नमा याने अबेरबाट कुबेर हुन कुदाकुद गरिरहेकोले धक्क्याएपनि उनीहरुलाई फरक पर्दैन । चीरकालीन कुबेर हुन प्रयासरत ।
८ सालदेखि यता आएका बजेटले कति करोड मान्छेहरुको विचल्ली तुल्यायो भनी न्यायदाताहरुले आजका मितिसम्म कुनै कुबेरलाई जेल सजाय तोकेको जानकारीमा आएको छैन । बरु यस्ता न्यायदाताहरुविरुद्ध नै कहीँ पनि पुनरावेदन हुनसक्नेछन् । यहाँ नसके पनि उहाँ । आखिर छताछुल्ल हुनेछन् डिजिटाइज्ड न्यायका अँधेरीखोलाहरु ।
अनि शुरु हुन्छ सत्तुर्नीको कथा ।
म सानै छँदाका केही अमीट घटनाहरु फन्फन्ती मानसपटलमा घुम्न थाल्छन् । जब शिशिरलाई विदा दिएर वसन्त हाम्रो आँगनमा पाइला चाल्थ्यो सँगसँगै काफल चरीहरु वनमा सुरिलो भाका लिएर गाउँघरमा झुल्किन्थे । न्याउली चरीहरु न्याहो न्याहो र पख् पख् को स्वर उरालेर डालीहरु चहार्न थाल्थे । त्यसबेला मेरी आमा भने एकान्त कुनामा पसेर रुन थाल्नुहुन्थ्यो । मैले बालसुलभ प्यारले आमाको कपाल मुसार्दै सोध्थेँ के भयो आमा किन रुनु भाको ? अनि म पनि आमासँगै क्वाँ क्वाँ रोइदिन्थेँ ।
आमाले एक हातले मेरा आँशु र अर्को हातले आफ्ना आँशु पुछ्दै शिशिर वसन्तको कथा मधुमालतीका कथा या लालहीराको कथा या यस्तैखाले पौराणिक कथासँगै एउटी कुनै अभागी आमाकी सत्तुर्नीको कथा पनि सुनाउन थाल्नुहुन्थ्यो ।
यी कथाहरुले मेरो मुटु भक्कानिन्थे । कलेजो छियाछिया हुन्थ्यो । मन भतभती पोल्न थाल्थ्यो । उहाँले गाउँका अरु सत्तुर्नीहरुका कथाहरु पनि सुनाउनुहुन्थ्यो । सत्तुर्नीको कथाले मलाई औधि छुन्थ्यो र म आँखाबाट छचल्किन्थेँ । विरोधाभाषपूर्ण कुरा हो सत्तुर्नीका कथा सुन्दा रिस उम्लनुपर्नेमा आँशु उम्लिएर पोखिन्थे ।
तीमध्ये एउटी सत्तुर्नीको मोटामोटी संक्षिप्त कथा यस्तो हुन्थ्योः
एउटा अनकन्टार पहाड । एकजोडी दम्पत्ति र केही दूधे लालाबालाहरु । प्रमुख पात्रको रुपमा एउटी कलकलाउँदी उमेरकी छोरी ।
ऊ सर्वगुण सम्पन्न लाग्छे उसका बाबुआमालाई । उसका कहीँ कतै पनि खोट देखिँदैनन् । घरायसी काम र व्यावहारिक कार्यमा निपुण एक प्रौढासरी । ऊ आफू बाँचुन्जेल आमाबाबु र छरछिमेकको लागि सेवामा सदा तत्पर हुन्छे । सबैप्रति अगाध श्रद्धा हुन्छ, अमीट प्यार हुन्छ । सर्वगुण सम्पन्न सन्तान पाएर उसका आमाबाबुको हर्षको सीमा नै हुँदैन । कुनै पनि दम्पत्तिको लागि सन्तानसुखभन्दा उत्तम सुख संसारमा अर्को पाउन मुश्किलै होला । चुलोचौको मेलापात गोडमेल आदि आमाले गर्नुपर्ने सबै कुराहरुमा सघाउँछे उसले । ऊ भाइबहिनीको पनि पाको अभिभावकको जिम्मेवारी लिइसकेकी हुन्छे । त्यस्तैमा कलिलो उमेरमा नै उसको विहे हुन्छ । विहे भैसकेपछि पनि फर्किफर्की ऊ दिनहुँ माइती आइरहन्छे र भन्छे, बाआमा कि तपाईँहरु भाइबहिनीमा मेरो घरमा बस्नुहोस्, कि म तपाईँहरुकै घरमा बसिरहन्छु ।
हिजोसम्म आफ्नै घर भनिरहेको घरलाई आइन्दा तपाईँको घर भन्नुपर्दा ऊ बेसरी भक्कानिन्छे र आफ्नी आमालाई ग्वाम्लाङ्ग अँगालो हाल्दै आँशुको खोलो बगाउँछे ।
उसको नारी प्रकृतिले नै नौ महिनापछिको प्रसव पीडाले छुनुपूर्व अनेकौँ मानसिक र सांसारिक पीडा सहन्छे । प्रसव पीडाले गाँज्दै ल्याउँदा कालसँग नै उसले पौँठेजोरी खेल्नुपर्नेहुन्छ । आफन्तहरुलाई बिन्तिभाउ गर्छेः अकाल कालबाट केही गरी मलाई बचाउनुहोस् । मलाई अझै बाँच्ने रहर छ, दीर्घायु बाँच्ने आशिष दिनुहोस् भन्दै अलापविलाप गर्छे । धामी झाँक्री वैद्य बाहेक उसका आमाबासँग अरु विकल्प छैन त्यतिबेलाको विकट गाउँमा । कालसँग लड्दालड्दै उसले नै आखिर हार्छे । आमाकै काखमा ऊ निष्प्राण हुन्छे । उसको पीडालाई काखमै खेलाएर हेरिरहेकी उसकी आमालाई भाउन्ने हुन्छ । बचाउने भनी आएका व्यक्तिहरु नै मलामी बनेर हेर्दाहेर्दै उनको काखबाट प्रियतम् सन्तानलाई खोसेर लाँदा वरिपरिका सबैको हृदय चिर्नेगरी रुन्छिन् उसकी आमा । रुँदारुँदै आँशु सुक्छन्, अलापविलापले घाँटी सुक्छ र प्राणसँगै शरीर पनि सुक्दै जान्छ । आमाका आत्महत्याका श्रृङखलावद्ध प्रयासहरु जारी रहन्छन् । प्राणपखेरु उड्नुपूर्व विक्षिप्त अवस्थामा पुग्छिन् सत्तुर्नीकी आमा ।
यस्तै अवस्थामा कसैले आमाको कानमा भरिदिन्छ कि ऊ त तिम्री सत्तुर्नी (शत्रु) हो । त्यस सत्तुर्नीले तिमीलाई धेरै दुःख दिई । त्यसलाई भुल । सत्तुर्नीलाई सम्झनुहुँदैन । सत्तुर्नीलाई बिर्सनैपर्छ बिर्स ।
सत्तुर्नीका आमाका दूधे बच्चाहरु पनि चारजना पुगिसकेका थिए । ती चारजनाका लागि पनि बाँच्नैपर्नेहुन्थ्यो सत्तुर्नीकी आमा । ती लालाबालाका लागि भए पनि एउटीलाई सत्तुर्नी नमानी सुखै भएन, ती दुःखारी आमालाई । अनि अर्धविक्षिप्त आमाले जपिरहन थालिन्:- “सत्तुर्नी”, “सत्तुर्नी”, “सत्तुर्नी” । अनि सत्तुर्नीका यथाहरु कथाहरुमा बदलिए । ती रुपान्तरित कथाहरु सुनाउन थालिन् हामीहरुलाई सत्तुर्नीकी आमाले । सत्तुर्नीका धेरै सत्तुर्नीहरु थिए रे । सत्तुर्नीका सत्तुर्नीका पनि धेरै सत्तुर्नीहरु थिए रे । सबैका उस्तै उस्तै लाग्ने यथाहरु तर एकदमै फरक लाग्ने कथाहरु ।
आह ! कति विरोधाभाषपूर्ण नियति ! एकातिर प्राकृतिक र मानवीय अन्यायमा उसले असामयिक ज्यान गुमाउनुपरेको छ अर्कोतिर उसैलाई सत्तुर्नीकी दर्जा दिएर जन्म दिने आमाले नै भुल्नुपरेको छ । आफ्नै प्रियतम् सन्तानलाई शत्रुको दर्जा दिएर बाँच्नुपर्ने कस्तो बिडम्बनापूर्ण नारकीय संसार हो यो !!

1+1=1
A-Y=X ।।
………………….
मैले सत्तुर्नीकी आमालाई हेरेँ । म चकित भएँ । चकित होइन दुःखित भएँ, ती सत्तुर्नीकी आमा नै मलाई जन्म दिने आमा थिइन् । ती मेरी आमाकी सत्तुर्नी मेरी सहोदर दिदी थिइन् ।
दिदीले उपचार पाएको भए बाँच्न सक्ने प्रशस्त सम्भावनाहरु थिए । त्यो विकट युग, त्यो विकट स्थान, ती विकट मान्छेहरु र त्यो विकट रुढीवादिताकी शिकार हुने मेरी दिदी आज मेरी आमाकी कथाकी सत्तुर्नी बनेर मरेर पनि बाँचेकी छिन् ।
र अरु सबैको लागि निकट युग, निकट स्थान, निकट मान्छेहरु र निकट आधुनिकता हुँदाहुँदै पनि मेरो लागि यो निकटता त्यो विकटतामा परिवर्तन भएको छ यतिखेर ।
तपाईँहरुको सामू उही कथा दोहोर्‍याउन सक्ने साहस छैन ममा । यसैमा म मेरो नितान्त अर्को आफ्नै कथा गाँसेर सुनाउन सक्दिन । दुईपटक हुबहु त्यही कथा कसरी दोहोर्या।ऊँ म ?
तसर्थ मलाई प्यारो लाग्दैछ डिजिटल दुनियाँ । डिजिटल शत्रुहरुलाई म सजिलै कपी गर्न सक्छु । सजिलै डिलिट गर्न सक्छु । सजिलै अन्डू र रिडू गर्न सक्छु ।
तर भावनात्मक यथार्थतालाई अन्डू गर्न समर्थ हुन सकिन । म किन समर्थ हुन सकिन ?
00 = 0
?? = ???????????????????????????????????????????????????????????????????????????????
र मलाई बयानको क्रममा यसरी सोधिन्छ । यसरी सोधिन्छ कि मेरो मुटु फुट्ने अवस्थामा पुग्दछ । सायद एउटा मान्छे भएर जन्मेको मान्छेले सोध्न नमिल्ने राक्षसी प्रश्न, तिमीले ज्यानको मूल्य कति बुझ्यौ हँ ? आह ! डिजिटाइज्ड मुटुको कमाल । एउटा पाषाण हृदयको पराकाष्ठा ! अनि ज्यानको मूल्यको हिसाबकिताब गरेर न्याय गरिन्छ । थुइक्क ! न्यायमन !
अनि अर्को ठाउँमा अर्को मान्छे मेरो मनोदशा देखेर गललल हाँस्छ र भन्छः संसारै यस्तो छ किन रुन्छौ ? यी यसरी हाँसः गललललललललल ।
मलाई भकुण्डोसरी दबाउँदा प्रतिक्रियास्वरुप म उफ्रन्छुः हे भगवान् मलाई पनि उसलाई यस्तै पीडा पर्दा उसको अगाडि पुगेर दुई थोपा आँशु चुहाउने अवसर जुटाइदेऊ ।

(म + तँ) × (म – तँ) = म × (म – तँ)
A-Y=X
XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX !!!!!!

मलाई कसैको वेदनाको कपिराइट चोरेको आक्षेप लगाउन त्यति सजिलो छैन । कसैको वेदना पनि दोहोरिँदैन र दोहोरिनुहुँदैन । वेदनाको कपिराइट हुँदैन । कि हुन्छ ? सबै डिजिटल प्रविधि एक वा शून्यबाटै बन्ने हुँदा तिनीहरु दोहोरिन्छन् । तर वेदना भन्ने कुरा अनुभूति हो । कसैसँग मिल्दैन । आकार दाँज्न सकिन्छ । भावना दाँज्न सकिँदैन । अब आउने बजेटहरु कसैले कण्ठ गर्न सक्ने छैनन् । अब आउने फैसलाहरु न्यायदाताको जोडघटाउमा हुने छैनन् ।
1‍+1=1
A+Y=XY
(म+ तँ) = तँ

PROVED !!!!!!!!!!
Approved ??????

305 total views, 1 views today

Leave a comment

Your email address will not be published.

*