संयोग परका संयोगहरु

त्यो गृष्मान्तको एक साँझ थियो । महिनौँ सुख्खा रहेको आकाशमा कालाकाला बादलका धब्बाहरु एकाएक सलबलाउन थाले । बादल गडगडाउँदै बिजुली चम्कन थाल्यो । फाट्टफुट्ट झरेका पानीका ठूलाठूला थोपाहरु जमिनमा पर्दा तातिएको कराहीमा पानी हालेसरि झ्वाइँए गर्दै धुलो उड्दथ्यो र थोपा बिलिन हुन्थे । कोठाभित्र गुम्सिएर रहेको उष्णतालाई यताउता सार्न पनि सिलिङ पङ्खा तथा टेबुल पङ्खालाई धौधौ भइरहेको थियो । जीउ रातदिन हरघडि चर्को उष्णताले असिनपसिन भइरहन्थ्यो ।

सगरमा बादल र नगरमा सिरसिरे शितल हावा नदेखेको महिनौँ भैसकेको बखत अकस्मात बादलको मादल सुन्दा मन त्यत्तिकै प्रफुल्ल भइरहेको थियो । बाहिर पानीका थोपा सहित चीसो हावा चल्न थालेकोबेला बाहिर निस्कन को नचाहँदो हो ? तसर्थ बिरलै प्राप्त हुने त्यो अवसर छोप्न म कसैलाई जानकारी नदिई छाता बोकेर म पनि बाहिर निस्किएँ ।

बाहिर निस्कने बित्तिकै आकाशबाट जोडतोडका साथ पानीको फोहरा नै झर्न थाल्यो । हावाहुरी सहितको पानीले छाता सम्हाल्नै गाह्रो हुन थाल्यो । रुख र बिजुलीका पोलहरु हल्लन थाले । वरिपरि बलिरहेका बिजुलीबत्तीहरु सबै झ्याप्झ्याप्ति निभे । टाउकोमा नै पर्लाझैँ कान फुटाउने गरी चट्याङ पर्दै थियो । यति हुँदा पनि मलाई सडकसम्म पुगिछाड्ने रहर भयो । कोठाबाट सडकको दुरी पचास मिटरभन्दा बढी थिएन । अरुहरु पनि त बाहिर निस्किरहेका थिए ।

कोठाबाट अलिकति पर पुगेपछि अस्पत्तालको भित्ता शुरु भैहाल्थ्यो । भित्ताको पूर्वपट्टि नयाँ पर्खाल उठ्दै थियो । भित्ता र पर्खालको बीचमा साँघुरो गल्ली थियो । बाटोसँगै अस्पत्तालको नाली बगेको थियो । बन्दै गरेको पर्खालको निम्ति डण्डी सिमेन्टका बोरा गिट्टी बालुवा र इँटा बाटोभरि छरिएका थिए ।

बत्ती निभे पनि हातमा मोबाइल टर्चको उज्यालोले म अगाडि बढ्न छोडिन ।

पानीको धारोले गर्दा बाटोमा पानीको भल बग्न थालिहाल्यो । भलको बाक्लोपनले गर्दा बाटोमा रहेका इट्टागिट्टी छल्न नै गाह्रो हुनथाल्यो । त्यतिखेरै हावाको झोँक्काले एकहातले कसेर समातेको छाता उल्ट्याइदिने मात्र होइन खोसेर पर्खाल पारि पुर्‍याइदियो । अब मोबाइल भिज्ने डरले मैले मोबाइललाई दुवै हातको मुठ्ठी भित्र पारेर जोगाउन खोजेँ ।

अब अगाडि बढ्नु उपयुक्त नहुने ठानी म भित्तामा लेपास्सिएर कोठातिर फर्कन थालेँ । त्यतिखेर नै बाटोमा तेर्स्याइरहेको डण्डीमा एउटा पाइताला अड्किन पुग्यो र म लटपटिएँ, टाउको भित्तामा बजारियो, म ढुनमुनाउँदै गिट्टी र इँट्टाको थुप्रोमा पछारिन पुगेँ । मुठ्ठीबाट मोबाइल फुत्केर पर उछिट्टियो । जीउ र टाउकोको असह्य चोटले गर्दा आकाश र पृथ्वी फननन घुम्नथाल्यो । चेत गुम भइसकेको थिएन र मुख्य चिन्ता महंगो मोबाइलको थियो जुन केही महिना अघि मात्र धेरै महिनाको तलबको अंश जोगाएर किनेको थिएँ ।

मनमा मलाई नै सजाय दिनको लागि प्रकृतिले ममाथि यत्रो प्रपञ्च रचेको निश्कर्ष निकालेँ । खुशी प्राप्त हुँदा बिर्सिने सर्वशक्तिवानलाई दुःख बर्सँदा सत्तोसराप गर्न थालेँ, ‘यदि ईश्वर छन् मान्छेलाई सताउनको लागि र चेताउनको लागि मात्र उपस्थित हुन्छन् ।’

आफ्नो मुर्खताप्रति पनि रिस उठ्यो । गृष्मान्तमा बादल आउनु स्वाभाविक थियो, बादलसँगै हुरी चल्नु स्वाभाविक थियो, हुरीसँगै ठूलो वर्षा हुनु स्वाभाविक थियो, वर्षासँगै बाटो चिप्लो हुनु स्वाभाविक थियो, र त्यस्तो अवस्थामा बाहिर निस्किएपछि दुर्घटनामा पर्नु पनि स्वाभाविक नै थियो ।

हाँसो उठ्यो, मान्छेले स्वाभाविक कुराहरुको संयोगहरुलाई बिर्सेर किन अस्वाभाविक अस्तित्वको शरणमा पर्न खोज्छ ?

टाउको चहराउन थाल्यो । जीउ दुख्न थाल्यो । खुट्टा छामेँ रगत भलभल बगिरहेको थियो । म फेरि भगवानलाई गाली गर्दै मोबाइल खोज्न थालेँ । कमिज र पाइन्ट  निथ्रुक्क भिजेका र फुस्केको अवस्थामा थिए । सायद लड्दा च्यातिए होलान्, वास्ता गरिन । पानीको भलमा मोबाइल हराएकोले भेटिए पनि काम लाग्दो अवस्थामा हुने छैन भन्ने जान्दाजान्दै पनि खोजी हेर्ने इच्छा पटक्कै मरेन ।

दुईचार पाइला अगाडि नबढ्दै इँटाको थुप्रोको कापमा उज्यालो देखियो । इँट्टा पल्टाएर हेरेँ मोबाइल रहेछ अझै लाइट अफ भएको थिएन । हत्तपत्त मोबाइल हातमा लिएर लाइटले यताउता हेर्नेबित्तिकै छाता पनि फेला पर्‍यो । हराएको वस्तुहरु फेला पर्दा चकित परेँ । खोज्नेबित्तिकै कसरी भेटिए हराएका वस्तुहरु ? म प्रफुल्लित भएँ ।

एकछिनमै फेरि टाउको रिङ्न थाल्यो । प्रफुल्लता सेलाउँदै जानथाल्यो । सोचेँ, हर्षित भैहाल्नुपर्ने कुरै कै थियो र त्यहाँ ? आफ्नै मूर्खतावश् हराएका मोबाइल भेटिनु र छाता भेटिनु कुनै अनौठो संयोगका कुरा थिएनन्, स्वाभाविक नै थिए । गल्लीमा खसेको मोबाइल गल्लीमै भेटिने हो । हुरी चलेको बखत निस्किए छाता उड्ने नै भयो ।  उडेको छाता त्यहीँ वरिपरि नै भेटिने हो । म पनि स्वाभाविक कुराहरुलाई अस्वाभाविक तुल्याउन माहिर नै छु भन्दै आफैउपर व्यङ्ग्य कस्न थालेँ ।

यस्तै सोच्दै म कोठामा पुगेँ । मूर्खता र शरमवश् केटाकेटी र पत्नीलाई आफू चिप्लिएर लडेको घटना बताउन सकिन । बाथरुममा छिरेँ । जीउ धोइपखाली गरेँ । कपडाहरु फेरेँ ।

अलि अलि टाउको अझै घुमिरहेको थियो । जीउ दुखिरहेको थियो । आराम गर्न बिछ्यौनामा पल्टिएँ । टाउ कोमा ऐना घुमाई घुमाई हेरेँ । केही देखिन । पत्नीलाई बोलाउँदै टाउकोतिर देखाएँ र सोधेँ, “यता घाउ छ कि ?”

“के भयो र ?” हेर्दै उनले भनिन्, “केही पनि छैन !”

“टुटुल्को पनि छैन ? राम्रोसँग हेर न !”

“केही छैन के, केही छैन ।”

“अनि पिठ्यूँ फर्काउँदै भनेँ, “यता हेर घाउ छ कि ?”

“के भएको होला अकस्मात ? दिउँसो कतै लड्नुभाको थियो र ?” उनले पिठ्यूँ छाम्दै भनिन्, । अनि हातले बलगरी थिच्दै भनिन् “दुख्छ ?”

मैले मुस्कुराउँदै भनेँ, “त्यहाँ त दुख्दैन त !” म मुस्कुराउनुको मतलब अर्कै थियो । अर्थात् भर्खरै चहराइरहेको घाउ किन दुखेन भनी । उनले अर्कै शंका गरिछन् ।

“खै, कपडा खोल्नुस् । तेल घसाइमाग्ने निहुँ त होला ।” उनी तेल ल्याएर अगाडि बसिन् ।

“होइन के कुरो अर्कै छ ।” भन्दै मैले उठेर हात हेरेँ खुट्टा र पाइतालाहरु फर्काइ फर्काइ हेरेँ । अँहँ कतै एक धर्सा कोरिएको पनि छैन । भरखरै घटेको दुर्घटना मेरो आँखामा आलै छ । म नराम्ररी छाँटिएको थिएँ र खुट्टाबाट रगत बगेको महशुस गरेकै थिएँ ।

“यो हुनै सक्तैन ।” म जुरुक्क उठेँ, “के भर्खर अघि हुरी चलेकै थिएन ? पानी नै परेको थिएन ?”

“पानी एकछिन ठूलै परेर रोकिएको हो ।” उनले घटनाको वातावरणको पुष्ट्याँइ गरिन् ।

“त्यही पानीपानीमा म बाहिर निस्किएको थिएँ र अस्पत्तालको आँगनसम्म पुगेको थिएँ ।”

“हो र ? तपाईँ त बाहिर बसेर शितल खाँदै हुनुहुन्छहोला भनेर हामीले वास्तै गरेनौँ । फेरि तपाईँ तुरुन्तै आइहाल्नुभयो ।”

“भर्खरै म अस्पत्तालको पूर्वपट्टि चिप्लिएर ढलेको थिएँ ।”

“आम्मै नि ! राम्रोसँग हेरेर हिड्नुपर्छ नि ? भनेर त निस्कनुपर्छ ? यस्तै गर्नुहुन्छ तपाईँ पनि ।”

“टाउको भित्तामा बजारिएको थियो र जीउ इँट्टाका टुक्राहरुमा पछारिएको थियो ।”

“हो र ? खै खै हेरौँ ?” उनले पुनः मेरो टाउको आफ्नो काखमा राखिन् र टाउको छाम्न थालिन् । पिठ्यूँ र हातखुट्टातिर जताकतै निरीक्षण गरिन् ।

उनले मलाई उठाउँदै भनिन्, “साँच्चिकै कतै केही पनि घाउ छैन । कहिलेकाँही संयोगले लडिन्छ र दुर्लभ संयोगले चोटपटक लाग्दैन पनि ।”

“त्यतिसम्म त म मान्छु, तर मोबाइल नि, मोबाइल ?”

“के मोबाइल ?”

“त्यत्रो पानीमा मेरो हातबाट मोबाइल फुत्कियो र नालीमा झर्‍यो ।”

“मोबाइल पानीमा डुब्यो भने तुरुन्तै बिग्रिहाल्छ नि ! के यो मोबाइल पानीभित्रै खस्यो ?” उनले मोबाइल ओर्काइफर्काइ हेर्न थालिन्, “धन्न बिग्रिएको रहेनछ ।” उनले खुशी व्यक्त गरिन् ।

“चारैतिर पानी नै पानी थियो र म चिप्लिएँ । तर यो मोबाइल पानीको सतहभित्र परेनछ । पानीमा डुबेको इँट्टाको चाङभित्र यो सुरक्षित थियो र बत्ती बलिरहेकै अवस्थामा थियो । पानी परिरहेको बखत हातबाट उछिट्टिएको मोबाइलको बत्ती ननिभ्नु, पानीमा नभिज्नु र इँटाको बीचमा गएर अड्किनु कसरी संयोग हुन सक्छ ?”

म फेरि बिछ्यौनामा पल्टिएँ ।

उनी नजिकै बस्दै भनिन्, ” सायद तपाईँ पानीमा निस्कँदै निस्कनुभएन होला । तपाईँ कथाहरुको कल्पना गरिरहनुहुन्छ । त्यही कल्पनाको परिणाम होला यो ! ”

“हो, मैले कल्पना गरेको थिएँ आज हल्का पानी परोस् !”

“त्यो कल्पना त यस्तो गर्मी ठाउँमा कसले गर्दैन र ?”

“सबैको कल्पना शक्तिले मुसलधारे पानी परेको होला त ?”

“खै ?”

“मेरो कल्पना थियोः आज सामान्य हावा चलोस् ।”

“सबैको कल्पनाको योगले हुरी चल्यो, भन्नखोज्नुभएको ?”

“खै ? के भनौँ ??”

“यो जीवन संयोगै संयोगको योग रहेछ । संयोगले कोही बाँचिरहेको छ र संयोगले कोही मरिरहेको छ ।”

“म यो घटनालाई संयोग मान्न तयार छैन ।” मैले बिछ्यौनामा हातखुट्टा फैलाउँदै भनेँ “दशवटा घटनामा एकवटा अस्वाभाविक घटना घटे त्यसलाई संयोग मान्न सकिएला । तर दशवटा घटनामा दशवटै अस्वाभाविक घटना घट्न पुगे कसरी संयोग भन्ने ?”

“जस्तै ?”

“अहिले भर्खरैको घटना म चिप्लिएँ र टाउको बजारिँदा पनि इँटा र डण्डीको थुप्रोमा लटपटिएर जीउ पछारिँदा पनि कतै चोटपटक नलाग्नू, मोबाइलको बत्ती ननिभ्नू, नभिज्नू, आदि, आदि ?”

“के भन्ने त ? अधियोग भन्नुस् न त उसोभए ।” उनी खितिखिति हाँसिन् । उनले मेरो घटना अझै काल्पनिक ठानिरहेकी छिन् । उनी जुरुक्क उठेर बाथरुमा पस्छिन् । यस्ता सांयोगिक घटनाहरु सुनाउँदा सुनाउँदा उनले मलाई पत्याउनै छोडकी छिन् ।

म अध्यात्मवादीहरुले गरेको तर्क सम्झन्छुः “देहवान व्यक्ति सर्वशक्तिमान विदेहको समिप पुग्ने चेष्टा नै योग हो ।”, उसोभए संयोग भनेको के हो ? वियोग भनेको के हो ? म अलमलमा परिरहेको छु । के विपत्ति देख्दादेख्दै बाहिर निस्कन खोज्नु मेरो योग थियो ?

उनी एकछिनमै मेरा कपडाहरु अँगालोमा बेरेर मेरो अगाडि प्रस्तुत हुन्छिन् र मेरो जीउमा फाल्दै भन्छिन्: “यिनै हुन् बाथरुममा तपाईँले छोडेका कपडाहरु ?”

मैले भर्खरै बाहिर निस्कँदा लगाएका आफ्ना लुगाहरु चिन्दछु र सकारात्मक टाउको हल्लाउँछु ।

“खै ? यी लुगामा हिलो लागेको यिनी त पटक्कै भिजेकै छैनन् ? त्यत्तिकै तर्साउनुहुन्छ अर्कालाई तपाईँ पनि !”

यो अर्को संयोगले म झसङ्गै तर्सन पुग्छु । जीउ ढक्क फुल्न थाल्छ । मुटुको ढुकढुकी एक्कासी तेज भएर आउँछ ।

“हँ ? हँ ? हो र ? यो कसरी सम्भव भयो ?” म आश्चर्यले द्रविभूत हुन्छु । अद्यापि केही सोच्न सकिरहेको छैन मैले ।

31 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *