Free songs
Home / संस्मरण / संयोग परका संयोगहरु-२

संयोग परका संयोगहरु-२


मलाई यस्तो अनुभूति भैरहेको थियो कि म कसैको न्यानो एवम् मुलायम काखमा लेटिरहेको छु । म त सबथोक बिर्सिएर परमानन्दमा पो लिप्त भैरहेको रहेछु ।
०००
देवकुमारी “के भयो ? के भयो ??” भन्दै चिच्याकोलो गर्दै छेउमा आइपुगेपछि त्यो आनन्दानुभूति मबाट एकाएक हराएर गयो । कसैको साविकको काखबाट ओर्लँदै छु भन्ने आभाष कायमै रहेकोले वरिपरि जब नजर घुमाएँ कि म आश्चर्यविभोर भइहालेँ । मैले त आफूलाई दशकौँ पुरानो पारदर्शी प्लास्टिकपातामा थुचुक्क बसेको अवस्थामा अड्किरहेको पाएँ ।
जस्तापाता यति मक्किइसकेको थियो कि हातले छुँदा पनि धुलिने अवस्थामा पुगेको थियो । मेरो भार यो प्लास्टिकले कसरी थाम्यो ? भर्खरै काखमा राखेको अनुभूति दिलाउने को हुन् ? यिनी देवकुमारी को हुन् ? केही बेरसम्म विविध अनुभूतिजन्य विरोधाभाषको अलमलमा परिरहेँ ।
माथिल्लो तल्लामा जतिसुकै ठूलो हल्लाखल्लामा पनि बेपर्वाह भैरहने स्वस्तिका म्याम्, जो मेरै घरको भुइँ तलामा बस्नुहुन्छ, उहाँ पनि अत्तालिँदै माथिल्लो तल्ला आइपुग्नुभयो । ती दुवैजना नारीको मुखाकृति बेसरी बिग्रिएको थियो । अचानकको धपेडीले सास जोडजोडले फेरिरहेका थिए । उनीहरुको एकजोडा मुटु पनि उसरी नै उफ्रिरहेको थियो होला, उनीहरु मुख बायका बायै थिए ।
०००
उनीहरुको सन्मुख उपस्थितिले ज्ञात हुँदै गयो कि म केही बेर अगाडि मात्र घरको माथिल्लो छतमा उक्लिएको थिएँ । दायाँबायाँपट्टि आफ्नो सिमाना टाँसेर झ्यालविहिन बनाइएको घर भएकोले छतबाट उज्यालो ल्याउन प्रत्येक तलामा ४x४ फिट साइजको प्वाल छोडिएको थियो । बैशाखमा उर्लिएको दिनहुँको बर्खेझरिले घरको छतमै भेल सिर्जना भई त्यही प्वालको माध्यमबाट घरभित्रका सबै कोठामा पानी पसेर दुःख दिइरहेको थियो । त्यही प्वाललाई त्रिपालले ढाक्नको लागि प्वालमा काठहरु मिलाउँदै थिएँ । काठमाथि फ्ल्याकहरु जोडजाड पारिरहेको थिएँ । काठलाई भित्तातिरको भागमा अड्काउनको लागि पहिले राखिसकेको प्वालमाथिको काठमा देब्रे खुट्टा राखेँ । खुट्टाको भारले काठ अलिकति लत्कियो । भाँचिन सक्छ भन्ने अनुमानले एउटा हातले भित्ता समातेँ र आफ्नो शरीरको भार दायाँ खुट्टामा पारेँ ।
कागहरु छतको कुनाकुनामा जम्मा भएर कर्कश स्वरमा कराइरहेका थिए । कालोबादलले डम्मै भरिएको ध्वाँसेच्वाँसे सगरले हुरीको झोँक्का र चट्याङका झिलिकमिलिक प्रदर्शन गरेर झरी बर्साउन हतार गरिरहेको थियो । वातावरण नै एकदमै उराठिलो र तमतमाइलो जस्तो भैरहेको थियो । चेतावनीस्वरुप छतमा उक्लनुपूर्व नै दुईतीन चोटी रिङ्टा पनि चलिसकेकोले थियो ।
काठ भित्तातिर अड्काउँदै गर्दा देब्रे खुट्टा अलिकति घस्रियो । भित्तामा अडेस लागेको हात र जीउको पूरै भार थामिरहेको दायाँ खुट्टाले एक्कासी सन्तुलन गुमाए । मलाई यति मात्र चेत थियो कि तेस्रो तल्लामाथिको छतबाट अब म सिधै भुइँतल्लामा बज्रिन पुग्दै छु ।
०००
देवकुमारी र स्वस्तिकाजीले म थेचारिएको ठाउँबाट मलाई उठाउन प्रयास गर्दै थिए । माथिल्लो प्वालमा मिलाउन राखिएका काठहरु र फ्ल्याक तल्लो तल्लाको सतहमा र र केही आफ्नै जीउमा टुक्राटुक्रा भई छरपष्ट थिए । बनाउँदा बनाउँदै छोडेको घरको बिचको तलामा खिया लागेका तिखातिखा ठाडा फलामे रडहरु भित्तामै लत्किएर बाङ्गिएका थिए । धारिला इँट्टाका टुक्राहरु मेरा हातखुट्टामा जोतिएका थिए । मैले माथितिर हेरेँ करिब दश फिट उचाइको साँघुरो प्वालबाट फुत्किएर म बिच तल्लाको प्वालमा आइपुगेर अड्किएको रहेछु ।
उनीहरुले मलाई उठाउन खोजेपछि उनीहरुको आडले म प्वालछेउको सतहमा उभिएँ । जिउमा लगाएका कपडाहरु भित्री बनेनसम्म धुजाधुजा च्यातिएका थिए । यो देखेर देवकुमारी फेरि अत्तालिइन् । सबै कपडा उतारेर टाउकोदेखि पाइतालासम्म हेर्दै चिच्याइचिच्याइ सोध्न थालिन्, “के तपाईँलाई ठीक त छ ?”
स्वस्तिकाजीले ठूलै बिस्फोट भएजसरी आवाज निक्लिएकोले अवश्य पनि कुनै ठूलै अनिष्ट भएको अनुमान गरी हत्तपत्त माथि उक्लिएको बताइरहनुभएको थियो ।
मैले सहज अवस्थामा आउँदै भनेँ, “मलाई त केही भएकै छैन ।” बरु म भर्खरै अघिको न्यानो काखको परमानन्दमा घरिघरि हराइरहेको थिएँ ।
उनीहरुले मेरो टाउको काँध, पिठ्यूँ, पेट, हातखुट्टातिर ओर्काइफर्काइ हेर्न थाले । खुट्टाको गोलीगाँठानेर सामान्य रुपमा छाला मात्र खुइलिएको मात्र थियो । अरु कतै केही चोटपटक लागेकै थिएन ।
उसोभए कसरी भित्तामा गाडिएका डण्डीहरु भाँचिए ? कसरी ममाथिका र मेरो मुनिका काठहरु भाँचिए ? माथिबाट मसँगै झरेका काठहरुले किन मेरो जीउमा कतै पनि घाउ पारेनन् ? सबैभन्दा अनौठो कुरा आधा इन्चि प्लाइउडमाथि राखिएका मक्किएका पारदर्शी प्लास्टिकपाताहरुले दशफिट माथिबाट हुत्तिएको साठीकिलो भन्दा बढीको जिउ र करिब त्यति नै वजनका काठ र फ्ल्याकहरुलाई कसरी बिचमै अड्याइराखे ??
र, को थियो त्यो जसले भर्खरै अगाडि मलाई न्यानो काखको परमानन्दको अनुभूति दिलाइरहेको थियो ?
माथिल्लो तल्लाबाट खसेर बन्दाबन्दै छोडेको घरभरि छरपष्ट निर्माण सामग्रीहरुमा बज्रिनपुगेपछि सम्भवतः बाँच्नै मुश्किल थियो ! बाँचे पनि गम्भीर घाइते हुनु पक्का नै थियो !!
उनीहरुलाई आफ्ना च्यातिएका लुगालत्त जिम्मा लगाइसकेपछि म हत्तपत्त तल्लो तलामा आएर ऐना अगाडि उभिएँ । मलाई जान्नु थियो कि कतै मलाई मरिसकेर पनि बाँचिरहेको भ्रम त भैरहेको छैन ? मसँग मेरो भौतिक शरीर छ कि छैन ?
मेरो नाङ्गो भौतिक शरीर ऐनाअगाडि दुरुस्तै हाजिर भयो । मैले अझै पत्याउन सकिनँ । आफ्नो कोठाका बिछ्यौना, लुगा पुस्तकहरु र स्वयम् प्रयोग गरिरहेका सरसामानहरु एकएक गरी जाँचेँ । सबै कुरा दुरुस्तै थिए ।
मैले यसरी जाँच्नुको कारण थियो ।
बिहानभरि देवकुमारी र मैले ‘मृत्युपछि मान्छे कहाँ जान्छ ?’ भन्ने जिज्ञासाहरु युट्यूब सर्च गरी गरी मेटिरहेका थियौँ । त्यही सर्च गर्ने क्रममा ‘टाइम ट्राभल’ र ‘प्यारेलल युनिभर्स’को बारेमा पनि थप रहस्यमय जानकारीहरु बटुलेका थियौँ । त्यसैको धङधङीले हुनुपर्छ म दुर्घटनापूर्व प्यारेलल युनिभर्समा विचरण गरिरहेको थिएँ ।
कि म केही मिनेट अगाडिको दुर्घटनाले गर्दा साविकको युनिभर्सबाट विदा लिएर अर्कै युनिभर्समा पुगिसकेँ ?
मलाई यो कुरा पनि जाँच्न मन लाग्यो । हत्तपत्त केही क्षण अगाडिको आफ्नो सामाजिक सञ्जालको क्रियाकलाप हेर्न थालेँ । दशमिनेटजति अगाडि ‘बुद्धको उपेदश देखाउनको लागि मात्र नभई अनुसरण गर्नुपर्ने’ व्यहोरा फेसबुकमा पोष्ट गरेको थिएँ । त्यो पोष्ट सबुत छ कि छैन भन्दै मैले त्यसका प्रतिक्रियाहरु हेर्न थालेँ ।
मलाई यो जान्नु थियो कि अर्कै युनिभर्समा पुगिसकेको भए त्यहाँ त उही नेट सुविधा र फेसबुक मित्रहरु त नहोलान् । दश मिनेट अगाडि नै दोस्रो युनिभर्समा पुगेर त पक्कै साविककै पोष्ट गरिनँ होला !
नभन्दै मैले गरेको बुद्ध सम्बन्धी पोष्ट फेसबुक भित्तामा दुरुस्तै थियो र त्यसको मुनि केही दर्जन चीरपरिचित एवम् वास्तविक मित्रहरुकै लाइक तथा ताजा कमेन्टहरु पनि झुल्किरहेका थिए । अब विश्वस्त भएँ कि म उही युनिभर्समै छु र सांयोगिक ढङ्गले म एउटा ठूलो दुर्घटनाबाट सकुशल बाँचेकै हुँ ।
अस्पत्ताल पुगेर एक्सरे गर्नैपर्ने देवकुमारीका अनुनय विनयलाई इन्कार गरिदिएपछि उनी तेल बेसार ल्याएर मेरो शरीर मर्मत गर्न तम्सिरहेकी थिइन् । मैले मनाही गर्दागर्दै पनि उनले छोरी अस्मिता र छोरा परिक्षितलाई खबर गरिहालिन् । हेटौँडा र भैरहवाबाट उनीहरुले अस्पत्ताल नपुगे पनि टिटानसको सुइ लगाउनै पर्ने करबल गर्न थाले । छोराछोरी र देवकुमारीको जिद्दीबाट हार खाएपछि नजिकैको मेडिकलमा पुगेर टिटानसको खोप लगाइदिएँ । एक्सरे लगायतका शारीरिक जाँचको लागि अस्पत्तालमा नपुग्ने मेरै जिद्दीले जित्यो । बेलुका मेरो शरीरमा खोपको दुखाइ बाहेक अरु कुनै प्रकारको दुखाइको लेश पनि बाँकी थिएन ।
०००
कि म अद्यापि भ्रममै त छैन ? त्यो घटना घट्दै नघटेको पो हो कि ? उसोभए देवकुमारीले घरिघरि किन विलाप गरिरहेकी छन् कि “चिन्ता गर्छन् भनेर तपाईँले दुखाइ लुकाइरहनुभएको होला ? बाहिरी चोटपटक नलागे पनि त्यति माथिबाट तल मुण्टो टेक्न आइपुग्दा जीउ त बेसरी थुर्रिएको होला ।” भन्दै । उता भर्खरै अगाडि च्यातिएर काम नलाग्ने भएपछि कोठाबाहिर टङ्गाइएका कपडाहरुले यो भ्रम हुँदै होइन भन्दै किन प्रमाण बकिरहेका छन् ?
उसोभए को थियो त्यो जसले मलाई कुनै पनि चोटपटक लाग्न नदिई बिचमै छोपेर आफ्नो न्यानो काखमा समेटी सम्भाव्य दुर्घटनाबाट बचाइदियो ? बचाउन उसको उपस्थिति थियो भने आखिर किन ? यो कल्पना नभई सत्य हो भने हामी सिर्फ कुनै सुप्रान्याचुरल महाशक्तिका खेलौना त होइनौँ ? जो अरुबाटै सञ्चालित भइरहेका छौँ ? जसको जस प्राप्त भएमा आफूले गरेको भन्छौँ र अपजस पाए अरुलाई नै भिराइदिन्छौँ ??
ठीक दुई वर्षअघि भैरहवा बसाइको क्रममा पनि एकसन्ध्यामा यस्तै घटना घटेको थियो । ठूलो झरीले बनाएको पोखरीमा चिप्लिएर बजारिँदा लुगा हिलाम्मे भएर भिजेका थिए, तर शरीर भिजेकै थिएन, चोटपटक लागेकै थिएन । पोखरीमा झरेको मोबाइलले मतिर उज्यालो फालेर बाटो देखाइरहेकै थियो । जुन सत्य घटनालाई फेसबुकमा शेयर गर्दा मीठो मिथक भन्ने प्रतिक्रियाहरु प्राप्त भएका थिए ।
२०७७।१।२५
चाँगुनारायण

 132 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top