संगम चिन्ह (+)

 

काम, क्रोध, लोभ, मोह, अहंकार + त्याग्ने ।
……………………
कर्मेन्द्रीयहरुलाई + वशमा राख्ने ।
…………………………
मैले अभिव्यक्त गर्न गइरहेको कुराको सम्बन्धमा तपाईँ के अनुमान गरिरहनु भएको छ ?

तपाईँसँग उपलब्ध समय तथा धैर्यताको सीमितताले वा मेरो अभिव्यक्तिलाई परीक्षण मात्र गर्ने उद्देश्यले तपाईँले माथि उल्लिखित जोड चिन्ह (+) भन्दा अघिको भनाइ मात्र पठन गर्नुभयो भने तपाईँले, “यसको दिमागमा काम, क्रोध, लोभ, मोह, अहंकार, अत्याचार, कलीयुग कुसंस्कार, कालो, दाग बाहेक अरु केही छँदैछैन !” भन्ने खालको दृष्टिकोण बनाउन सक्नुहुन्छ ।

वा तपाईँले निश्कर्ष मात्र हेरौँ न त भन्ने चासोले जोड चिन्ह (+) भन्दा पछिका भनाइ मात्र हेर्नुभयो भने, “त्याग्ने, समाप्त गर्ने, भष्म पार्ने” शब्दहरु मात्र भेट्टाएपछि के भन्ठान्नुहोला ? “यो मान्छे नकारात्मक सोचको डल्ला सिवाय अर्थोक केही हुँदै होइन ?”

अतः शुरुदेखि अन्त्यसम्म नपढ्दा वा जोड चिन्ह (+) भन्दा अघि र पछि नपढी मैले भन्न खोजेको कुरा तपाईँ किमार्थ बुझ्नसक्नुहुनेछैन । सबै पढेपछि न थाहा हुन्छ कि त्यहाँ नकारात्मक होइन सकारात्मक कुरा पो छ भन्ने कुरा ।

पछिल्लो समयमा सूचनाप्रविधिको नविन सन्तान सामाजिक सञ्जाल सबैको आआफ्नो छाद ओकल्ने ‘खिड्की’ बन्न पुगेको छ । मैले ‘भाँडो’ किन भनिन भने भाँडो आफैसँग सुरक्षित रहन्छ र भाँडोभित्रको छाद सजिलै व्यवस्थापन गर्न सकिन्छ, तर खिड्कीबाटै छाद हुत्त्याइयो भने त्यो कसैको टाउकैभरि पर्न सक्छ वा सार्वजनिक स्थलमा पर्न पनि सक्छ वा फोहरको नालीमा गएर मिसिन पनि सक्छ, जसको व्यवस्थापन तपाईँको नियन्त्रणभित्र नहुनसक्छ ।
शुद्ध तथा स्वतन्त्र अभिव्यक्तिलाई ‘छाद’ भनिदिँदा केही सामाजिक विश्लेषकहरुको चित्तमा काँडा घोपिन पनि सक्छ, किनकि एकाध व्यक्तिहरु बाहेक बाँकीले सामाजिक सञ्जालमा आफ्नो धारणा पोख्दा त्यसको व्यवस्थापन पक्षलाई सतर्क र सुझबुझपूर्ण रुपमा ख्याल राखेका पनि हुन्छन् । उनीहरुले यसरी सामाजिक सञ्जाललाई अत्युत्तम सदुपयोग गरेका हुन्छन् कि साप पनि मरोस् लठ्ठी पनि नभाँचियोस् ।
यी कुराहरु बुझ्न अभिव्यक्तिको झिनामसिना पाटाहरुको पृथक-पृथक अध्ययन होइन कि सपाट अध्ययनको धैर्यताको खाँचो पर्दछ । जसले जसरी लेखोस् जुनसुकै बिचार बोकोस्, तर त्यस बिचारको मूल ध्येय समाजलाई सकारात्मक बाटोमा डोर्याउने हेतु देखिन्छ । यस्ता विचारकहरु तथा नैतिकताका अभियन्ताहरुको परिश्रमको जोडबलले विगतभन्दा हाम्रो समाज नैतिकता, अनुशासन र सत्यताको बाटो समात्न थालेको हो कि भन्ने अनुभूति पनि गर्न सकिन्छ ।
मैले एक हप्ता अगाडि ‘कन्डक्टर्स अफ कन्साइन्स’ शीर्षक दिएर तीनचार दर्जन फोटोहरु समेत अपलोड गरी एउटा यात्रा संस्मरण यस्तै सामाजिक सञ्जालमा पोष्ट गरिदिएँ । मैले के अनुमान गरेको थिएँ भने अभिव्यक्ति पक्षलाई नहेरी फोटो मात्र हेरेर चासो दिनेको संख्या करिब १५० को हाराहारी हुनेछ । त्यसैको तीन दिन पछाडि एउटा अपुष्ट तथ्यको सम्बन्धमा बढाइचढाइ गरेर अर्को नितान्त व्यक्तिगत घटना राखिदिएँ फलतः त्यसमा चासो दिनेको संख्या बीस पनि पुगेन । यसले पाठकहरुको गुणस्तरको अनुमान सहजै लगाउन सकिन्छ ।
लेखकका आफ्नै कित्ताका पाठकहरु हुने भएकोले मैले सोही पाठकहरुको कुरा गरेको हुँ । त्यसो त न मैले प्रसिद्ध विचारकहरुका पाठकहरुको ध्यान खिच्न सक्छु न त पढ्दै नपढेका वा सामाजिक सञ्जालमा मित्रता नै नगाँसिएकाहरुको ध्यान खिच्न सक्छु । मैले मसरहकै अल्पज्ञानीहरुको पाठकहरुको ध्यान तथा मन खिच्नसक्ने हो र उनीहरुलाई कुनै प्रवेशद्वारबाहिरसम्मको बाटो देखाउन सामर्थ्य हुनेखालको पहलकदमी लिने हो । मैले कुनै धार्मिक बिचारमा हात हालेँ भने ध्यानलीन तपश्वीहरुको ध्यान भङ्ग गर्न सक्ने कुरै भएन वा त्यतातिर चासो नभएकाहरुको रौँ नै हल्लाउन सक्दिन ।
फर्केर हेर्नुभयो भने उक्त यात्रा संस्मरण जसले दिलचश्पि दिएर पढ्नेहरुमध्ये करिबकरिब सबैले सकारात्मक टिप्पणी नै गरेका छन् । ती टिप्पणीहरुमध्ये सर्वाधिक अर्थपूर्ण रुपमा चन्द्रशेखर केसीले लेख्नुभएको छः “धैर्यतापूर्वक मिहिन ढंगले पुरै पढेँ । केवल यात्रा वृत्तान्त मात्र नभई गहिरो जीवन दर्शन लाग्यो । पढ्दा धेरैपल्ट भावुक भएँ ।”
यो यात्रा संस्मरण कुनै स्वार्थप्रेरित भई वा अल्पज्ञानको कारणले लेखेको कसैले पनि भनेका छैनन् । बरु धेरैले, “नपुगे पनि मधुवन पुगेकै स्मरण दिलाइदिनुभयो । मधुवन कसरी पुग्न सकिन्छ ? जसरी पनि हाम्रो पनि नाम टिपाइदिनुहोला” भन्नेहरु दर्जनौँ छन् ।
म आफूलाई आफैले एउटा गतिलो लेखक त ठान्दिन, तर मेरा पाठकहरुको गुणस्तर भने मलाई एकदमै गतिलो लाग्दछ । मेरो दृष्टिमा मात्र होइन हर्कसिँ के.सी., चन्द्रशेखर के.सी., समीर गौतमहरु (माफ पाऊँ समय र स्थानअभावको कारणले केही पाठकहरुको मात्र नाम लिनुपरेकोमा, सबै पाठकहरुको मेरो लागि बराबर मूल्यका हुनुहुन्छ ।) मेरा नियमित पाठकहरु हुन् । यिनीहरु कुनै ताका कुनै विद्यालयका सर्वोत्कृष्ट छात्रहरु थिए ।
सर्वोत्कृष्ट भन्नासाथ तपाईँमध्ये कसैको नाक खुम्चिएको हुनसक्छ । एकपटक त्यस्तै भएको थियो मलाई पनि । म आफ्नै उदाहरण दिँदैछु । मेरा तीनवटा बच्चाहरुलाई लिएर म भक्तपुरको एक प्राइमेरी बोर्डिङ स्कूलमा भर्ना गर्न भनेर पुगेँ । पढाइ शुल्कमा छुट पाउने हेतुले मैले व्यवस्थापकलाई भनेँ, “यी मेरा तीनवटै बच्चाहरु आआफ्ना कक्षाका सर्वोत्कृष्ट हुन् ।” यो सुनेर प्रिन्सिपलले नाक बङ्ग्याउँदै मरीमरी हाँसे र सोधे: “कति जनामा ? बेनाम सरकारी स्कूलका पाँचजनामध्ये ?” तर उनको हाँसोलाई नै उडाउँदै त्यही वर्ष उनकै विद्यालयमा तीनैजना आआफ्ना कक्षामा सर्वोत्कृष्ट भइदिए । फेरि मैले काठमाण्डौको अर्को विद्यालयमा सार्दा पुनः त्यही भनाइ र हेपाइ खेप्नुपर्यो् । बच्चाहरु भने जता लगे पनि सर्वोत्कृष्ट भइ नै रहे, भइ नै रहे ।
त्यस्तै ठान्छु म मेरा उल्लिखित पाठकहरुलाई । ती मेरो मात्र होइन जता लैजानुहोस् सबैका सर्वोत्कृष्ट पाठक बन्ने सामर्थ्य राख्दछन् । पाठक मात्र होइन सानै उमेरमा गरेको उनीहरुको प्रगति प्रशंशनीय र लोभलाग्दो छ । तिनीहरुमध्ये एकजनाले गरेको टिप्पणी हो माथिको ।
कुरा गर्दै थिएँ मैले संगम चिन्हको । शुरुवात र अन्त्यभन्दा संगम चिन्हले वृहत सार्थकता बोकेको हुन्छ । त्यो संगम चिन्हभित्रै हुन्छ के ? किन ? कहाँ ? कसरी ? कसले ? कसलाई ? का यावत जवाफहरु । आदि, मध्य र अन्त्यको रौँचिरा विश्लेषण गरिएको हुन्छ ठीक बीचमा । जुन कुरा छेउतिर खोजेर मरिगए पाउनै सकिँदैन । एकजना लेखकको लेखाइभित्र छिर्दा ‘कसले लेखेको हो ?’ ‘त्यो कहाँ बस्छ ?’ ‘कति उमेरको छ ?’ ‘कति पढेको छ ?’ ‘के बिचार राख्छ ?’ आदि सतही कुराहरुतिर नै भौँतारिरहनुभयो भने त्यो लेख तपाईँलाई अक्षरको थुप्रो सिवाय अर्थोक केही लाग्नेछैन । तपाईँ हराउन सक्नुहुन्छ, अक्षरको जङ्गलमा । हराउन त हराउनुभयो, जङ्गलबाहिर निस्कनु पनि पर्योउ नि ? बाहिर निस्कनको लागि जङ्गलभित्रका रुखका टुप्पाहरु हेर्ने ? कि अक्षरका पाइलाहरुले बनाएको डोरेटो पहिल्याउने ? अक्षरको रसहरुमा पौडी खेल्न खोज्नेले पौडिने कला पनि हासिल गर्नुपर्दछ । त्यो कला हासिल गर्नुभएको छ भने मात्र थाहा हुन्छ अक्षरको रसताल कति गहिरो हुन्छ, कति आनन्ददायक हुन्छ र कति सुन्दर तथा सहज हुन्छ भन्ने कुरा !
सत्यम्, शिवम्, सुन्दरम् । कहिलेदेखि संरचित भयोहोला यो वाक्यांश ?
श्रवणमा जति मधुरता छ, अर्थमा त्यति नै विशालता छ । यसलाई गणितीय पद्धतिबाट विश्लेषण गरी हेर्ने हो भने सत्यम् भनेको तेस्रो रेखा हो र सुन्दर भनेको उर्ध्व रेखा हो । ती एकापसमा काटिँदा संगम चिन्ह (+) बन्न पुग्दछ । दुवैले काटेको ठीक बीचको बिन्दु भनेको शिव हो । जो निराकार छ र सारा शक्तिको केन्द्रबिन्दु बनेको हुन्छ । तपाईँको ध्यान बिन्दूबाट बाहिरतिर गयो भने चार दिशामा फैलिएका चारवटा ठाडाठाडा काँडाहरु सिवाय अरु केही देख्नुहुन्न, तर जति ध्यान केन्द्रित गर्दै जानुहुन्छ त्यति त्यति सत्यम्, शिवम् र सुन्दरम् को महत्त्वको अनुभूति गर्दै जानसक्नुहुन्छ ।
तर यही संगम चिन्ह (+) लाई गलत दिशामा बसेर हेर्नुभयो वा सही दिशामा बसेर पनि यसलाई अलिकति बङ्ग्याएर हेर्नुभयो भने के देख्नुहुन्छ व्यर्थ चिन्ह (×) ? अवश्य । व्यर्थ चिन्ह (×) लाई नै दर्शनशास्त्रमा माया भनिन्छ । मायाले सत्यलाई सधैँ गुमराहमा राखिरहन्छ ।
शुरुमा दिइएका चारवटा भनाइहरुको अर्थ स्पष्ट गर्नसकिन, किनभने समयको अन्तराल लामो भयो । जब शब्दहरुको उच्चारणसँगै समयको अन्तराल बढ्दैजान्छ अर्थको अन्तराल पनि बढ्दै जान्छ । समयको लम्बेतानले लेखिएका कुरा बोधगम्य र सार्थक हुँदाहुँदै पनि निरर्थक बन्न पुग्दछन् । ओमशान्तिका प्रतिपादक ब्रह्मबाबाका अनुसार पनि कलियुग र सत्ययुगको बीचमा रहेको यो एक संगम युग हो । यो एकदमै थोरै छ । यसको आजैदेखि अहिल्यैदेखि भरपूर सदुपयोग गरौँ भन्ने नै हो ।
मैले कुरा गर्दै थिएँ: हर्कसिँ र चन्द्रशेखरको । यी दुवै मेरा समकालीन सशक्त पाठकहरु हुन् । यी दुवैले पृथक र आमपाठकहरुको विशेषता बोक्दछन् । म दुवैलाई उत्तिकै आफ्नो ठान्छु र आदर गर्छु । मैले लेखेको लेखाइमा यिनीहरुको ध्यान गएन भने मैले आफ्नो लेखलाई अपूरो ठान्दछु । तर दुवैको बिचार पृथक छ । एउटा सत्यम् सिधा तेस्रो छ र अर्को सुन्दरम् सिधा ठाडो छ । दुवै जब एकापसमा काटिन्छन् अनि मात्र संगम चिन्ह (+) बाट शिव आविर्भाव हुन पुग्दछ र त्यस शक्तिको भरपुर लाभ मैले उठाउँछु ।
ओम् शान्तिको दिनहुँको मुरलीहरुमा पनि शुरुमा देहका कर्मेन्द्रीयहरुको खराबीहरुको वर्णन गरिन्छ र अनि मात्र ती खराबीहरु कसरी समाप्त गर्ने भन्ने जुक्ति दिइन्छ । नकारात्मकलाई काटेपछि नै सकारात्मक परिणाम निस्कने हो । ‘माइनस इन्टु माइनस इक्वेल्स टू प्लस’ भन्ने सिद्धान्त हजार वर्ष पुरानो हो । वर्तमानमा नै सबै कुरा सकारात्मक मात्र छ भने किन सत्ययुगको लागि पुरुषार्थ गर्नुपर्यो् ? लेखाइको कुरा गर्ने हो भने त झन् सकारात्मक कुराहरुको बखान मात्र त ‘भक्ति’ हो त्यो लेख नै होइन । यात्रा संस्मरणमा राम्रो र नराम्रो दुवै देखाउनु कला हो । तर नराम्रा कुराहरु जतिलाई उल्ट्याउँदै राम्रो कुरामा लगेर टुङ्ग्याइएको छ कि छैन त्यो हेर्न सक्नुपर्छ औसत पाठकले ।
पछिल्लो घटनाको विषयमा हर्कसिँ केसी र कृष्ण ओली दुवैको प्रतिक्रिया प्राप्त भयो । फेरि पनि भनूँ: यी दुवै आआफ्ना कक्षाका सर्वोत्कृष्ट विद्यार्थीहरु थिए र मेरा छात्रहरु थिए । अतः मैले उनीहरुको प्रतिक्रियास्वरुप मैले दुवैलाई ‘पुरातात्विक विद्यार्थी’को उपमा दिएँ । पुरातात्विकको अर्थ हो- जति पुरानो हुँदै गयो त्यति महत्त्व बढ्दै गएका ।
कहिलेकाँही व्यर्थका कुराहरु खोतल्न थाल्दा त्यहीभित्रबाट पनि अर्थ निस्कन पुग्दछ । यिनीहरु सबैलाई थाहा थियो कि म त्यसताकाको एक अंग्रेजी शिक्षक थिएँ । उनीहरुलाई लागेको हुँदो हो ‘सरकारी जागिर खान थालेपछि यो साविकका क्रियाशिलताहरुबाट समाप्त भइसक्यो कि ?’ तर जब एउटा अंग्रेजी सिक्ने एप्समा पनि दिलचश्पी लिइरहेको देखे, यो देखेर यिनीहरुको खुशीको सीमा नै रहेन । सर्वोत्कृष्टहरुको खुशी र सीमाभित्र पनि प्रशस्त अर्थ पाउनसकिन्छ । जसमा कतिसम्म अथक परिश्रमको खाँचो पर्छ जो उक्त एप्स सिक्नेहरुलाई मात्र बोध होला ।
त्यसो त म धेरै वर्षसम्म एक निकम्मा जागिरे बाहेक अर्थोक केही बन्ने छाँटकाँट देखाइन । जब परिस्थितिले लात हान्यो तब चेत खुल्दै गए । यहाँनिर चेत खुल्नुको अर्थ एकमुष्ठ बुझ्नुपर्ने हुन्छ । जस्तो कि मलाई देख्दा नजिकका आफन्तहरुले सोच्दछन्: ‘यसले पूरै समय परिवारलाई दिइरहेको छ र उनीहरुको दिलमा लागेको आलो घाउमा मलहमपट्टि गर्दैछ अरुतिर ध्यान नै दिन सक्दैन ।’ अलिकति धर्मप्रति झुकाव राख्नेहरुले सोच्दछन्, ‘यो आफ्नो धर्म छोडेर ओम् शान्तितिर लाग्योः यसको दिनचर्या ध्यान र योग तथा धार्मिक यात्राहरुमा खुम्चँदै गइरहेको छ अब यससँग भेट नै दुर्लभ हुनेछ ।’ कोलेनिकाले सोच्छः ‘यो चौबीसै घण्टा अफिसमा बस्छ र अफिसका कागजपत्रको थुप्रोमा डुबेर भुक्तानी आदेश र आर्थिक प्रतिवेदनहरुको खोलो बगाउनु बाहेक अरु के पो गर्छ होला र ?’ आम पाठकहरुले सोच्दाहोलान्, ‘यसले दिनमा चौधपन्ध्र पेज नानाभाँतिका कुराहरु लेखेरै बिताउँदो रहेछ अरु त कामै केही छुँदैन होला !’ बजारतिर भेटिनेले सोच्दा होलान्, ‘यो त बिहान-दिउँसो-बेलुका लुखुरलुखुर बाटोघाटोतिर मात्र देखिन्छ, कोठामा त बस्दै बस्दैन कि ? अनि अंग्रेजी सिक्ने एप्समा दिलचश्पी राख्नेहरुले अरुभन्दा धेरै अगाडि यो मनुवा कुदिरहेको देख्दा के सोच्छन् होला ? अनि जिब्रो नकाढ्ने कुरै भएन मेरा पुरातात्विक छात्रहरुले ।
के एउटै व्यक्तिले यी कुराहरु गर्न सम्भव छ ? पाँच दशक पुगिसकेको एक औसत मनुवाबाट पनि सम्भव त रहेछ त ।
म किन गर्दैछु यी सबथोक ? के सबैतिरबाट वाहवाही बटुल्नलाई हो ? होइन त्यसरी नबुझिदिनुहोला ।
मैले गर्न खोजेको के हो भने- ‘अब यो चेतको ढोका कहिले बन्द नगर्ने !’
मैले एकपटक भतिज भुषणको किताब हेरिरहेको बेला त्यो किताबको बिचमा एउटा फोटो देखेर झस्किएँ । त्यो फोटो आफ्नै थियो । किन राखेको भनी सोध्दा ऊ भन्थ्यो ‘माइलाबा, म तपाईँजस्तो बन्न चाहन्छु !’ अनि म चकित परेको थिएँ ।
अर्को पटक त्यस्तै फोटो भाइ प्रकाश र भदाहा सुशिलको किताबभित्र पनि भेट्टाएँ । उनीहरुले मलाई नै ‘नमूना’ व्यक्ति बनाइरहेका थिए । तर म कहिले उनीहरुले सोचेजस्तो हुन सकेन । फलतः उनीहरु सिधा पथबाट दायाँबायाँ हुन पनि पुगे होलान् । कसको कारणले ? मेरै कारणले । किन ? मलाई दाँजेर !
मान्छेको सबभन्दा तुच्छ भने पनि सबभन्दा ठूलो भने पनि कमजोरी भन्नु अरुसँग दाँजिनु हो । राम्रो कामको लागि दाँजिए त ठीकै भयो, नराम्रो कामको लागि ‘उसले त त्यस्तो गर्छ, मैले किन गर्न नहुने ?’ भनेर मेरा नराम्रा कुराहरु अपनाउन थाल्यो भने ? त्यसरी सिर्जना भएको त्यो नराम्रो वातावरणको भागीदार म हो कि होइन ? तसर्थ भनिँदो रहेछ शिक्षकहरुलाई, ‘विद्यार्थीहरुलाई सिकाउनुपूर्व पहिले आफ्नै आचरणमा सुधार गर ।’
हो म पनि एकताका शिक्षक नै थिएँ । त्यसबेला मैले जानीनजानी गरेका गल्तीहरु सम्झँदा अहिले छाति पोल्दछ । मलाई नै नमूना बनाएर वातावरण नै धुमिल पनि त बनेको हुन सक्छ ।
पेशाको हिसाबले अहिले शिक्षक नभए पनि अझै मलाई शिक्षक देख्नेहरु प्रशस्तै छन् । तसर्थ मर्नेबेलामा प्वाँख कार्ने भनेर जोसुकैले जेसुकै आरोप लगाउन् अब म एक असल शिक्षक बनेर देखिन चाहन्छु ।
– मैले धुमपान मादक पदार्थ सेवन गरेको देखासिकी गरेर अरु त्यसको शिकार नबनून् ।
– म मांशाहारी भएको देखासिकी गरेर अरु अल्पायु नबनून् ।
– म बिनाकामै बरालिएको देखेर अरु पनि काम छोडेर नहिडून् ।

बरु मैले दिनहुँ पन्ध्र पाना लेखिरहेको देखेर दिनमा २० पाना लेख्नेहरुको प्रतिष्पर्धा चलोस् । मैले परिवारलाई सहजतापूर्वक अगाडि बढाएको देखासिकी गरेर पारिवारिक मेलमिलापमा प्रतिष्पर्धा होस् । मेरो कामप्रतिको कर्तव्यनिष्ठता देखेर सुकर्म गर्नेहरुको बाढी उर्लियोस् । मैले प्रतिष्पर्धा गरेको देखी ज्ञान सिक्ने कुरामा उमेरले पनि छेक्दोरहेनछ भन्ठान्दै पछ्याउन खोज्नेहरुले मलाई उछिनेर अघिअघि बढून् ।
त्यसको शुरुवात मैले मदेखि नै गर्न उपयुक्त ठानेर म दिनरात नभनी खटिरहेको छु ।
आऊ, मेरो पदचाप पछ्याउन चाहनेहरु हो, मेरो अघिपछि आऊ । सँगसँगै आफूलाई परिवर्तन गरौँ र समाजलाई परिवर्तन गरौँ ।

यो लक्ष नै मेरो संगम चिन्ह हो ।

48 total views, 1 views today

Leave a comment

Your email address will not be published.

*