Free songs
Home / श्रीमद्‍भागवतगीता सार / श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप पन्ध्रौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप पन्ध्रौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

 

अध्याय – पन्ध्र

पुरुषोत्तम योग

 

श्रीभगवानुवाच

ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम् ।

छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् ॥१॥

(भगवान्‍ले भन्नुभयो – माथितिर फेद वा जरा भएको, तलतिर हाँगाहरू फैलिएको र वेदका ऋचारूपी पातहरू भएको एउटा अविनाशी पीपलको रूख छ, यस्तो रूखलाई जसले राम्रोसँग चिन्दछ, त्यसैलाई वेदको ज्ञाता भनिन्छ ।)

 

अधश्चोर्ध्व प्रसृतास्तस्य शाखा

गुणप्रवृद्धा विषयप्रवालाः ।

अधश्‍च मूलान्यनुसन्ततानि,

कर्मानुबन्धीनि मनुष्यलोके ॥२॥

(यस वृक्षका हाँगाविँगाहरू माथि र तलतिर फैलिएका छन् । प्रकृतिका तीनवटा गुणहरूद्वारा यो वृक्षको पालनपोषण भएको छ । इन्द्रियका विषयहरू यसका हाँगाविँगा हुन् । यो वृक्षका जराहरू पनि तलतिर फैलिएका छन् र ती मानव समाजका सकाम कर्मद्वारा बाँधिएका छन् ।)

 

न रूपमस्येह तथोपलभ्यते

नान्तो न चादिर्न च सम्प्रतिष्ठा ।

अश्वत्थमेनं सुविरूढ मूल-

मसङ्गशस्त्रेण दृढेन छित्त्वा ॥३॥

ततः पदं तत्परिमार्गितव्यं

यस्मिन्गता न निवर्तन्ति भूयः ।

तमेव चाद्यं पुरुषं प्रपद्ये

यतः प्रवृत्तिः प्रसृता पुराणी ॥४॥

(यस रुखको वास्तविक स्वरूपको अनुभव यो जगतमा गर्न सकिँदैन । यसको आदि कहाँ हो ? अन्त कहाँ छ ? र आधारशिला कता छ ? भन्ने कुरा कसैलाई थाहा छैन । तैपनि मानिसले सङ्कल्पका साथ विरक्तिरूपी हतियारद्वारा बलियोसँग जरा गाडेको यो रुखलाई ढलाउनै पर्छ र त्यसपछि उसले यस्तो ठाउँको खोजी गर्नुपर्छ, जहाँ पुगेपछि फर्कनुपर्दैन । त्यस्ता ठाउँमा पुगेर मानिस भगवानका शरणमा पर्दछ, जहाँबाट अनादिकालदेखि प्रत्येक वस्तुको प्रारम्भ र विस्तार पनि हुँदै आएको छ ।)

 

निर्मानमोहा जितसङ्गदोषा

अध्यात्मनित्या विनिवृत्तकामाः ।

द्वन्द्वैर्विमुक्ताः सुखदुःखसंज्ञै-

र्गच्छन्त्यमूढाः पदमव्ययं तत् ॥५॥

(जो झुठो प्रतिष्ठा, मोह वा कुसंगतिबाट मुक्त छन्, जसले भौतिक वासनालाई नाश पारेका छन्, जो सुख र दुःखो द्वन्द्वबाट मुक्त छन् र जो मोहरहित भएर परमपुरुषका शरणमा पर्न जानेका छन्, तिनीहरूले नै शाश्वत पद प्राप्त गर्न सक्दछन् ।)

 

न तद्भासयते सूर्यो न शशाङ्को न पावकः ।

यद्‍गत्वा न निवर्तन्ते तद्धाम परमं मम ॥६॥

(त्यो मेरो परमधाम न सूर्यद्वारा न चन्द्रमाद्वारा न त अग्नि वा विद्यूतद्वारा नै प्रकाशित हुन्छ, जो त्यहाँ पुग्छन्, तिनीहरू फेरि कहिल्यै यस धर्तीमा फर्केर आउँदैनन् ।)

 

ममैवांशो जीवलोके जीवभूतः सनातनः ।

मनः षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ॥७॥

(यस बद्ध जगतका सबै जीवहरू मेरै शाश्वत अंश हुन् । बद्ध जीवन पाएका कारणले तिनीहरू मन लगायत छवटा इन्द्रियहरूसँग कठोर सङ्घर्ष गरिरहेका छन् ।)

 

शरीरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वरः ।

गृहीत्वैतानिसंयाति वायुर्गन्धानिवाशयात् ॥८॥

(हावाले सुगन्धलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याए झैँ यस संसारमा जीवात्माले पनि आफ्नो देहात्म बुद्धिको अवधारणालाई एक शरीरबाट अर्को शरीरमा पुर्‍याउँछ । यसरी नै जीवले एउटा शरीर धारण गर्दछ र त्यसलाई त्यागेर फेरि अर्को शरीर ग्रहण गर्दछ ।)

 

श्रोत्रं चक्षु स्पर्शनं च रसनं घ्राणमेव च ।

अधिष्ठाय मनश्चायं विषयानुपसेवते ॥९॥

(यसरी दोस्रो स्थूल शरीर धारण गरेर जीवले मनका वरिपरि रहेका विशेष प्रकारका कान, आँखा, जिभ्रो, नाक तगा स्पर्श इन्द्रियहरू प्राप्त गर्दछ ।यस प्रकार उसले विशेष किसिमका इन्द्रियविषयहरूलाई भोग गर्दछ ।)

 

उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणान्वितम् ।

विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुषः ॥१०॥

(मूर्खहरू जीवले कसरी आफ्नो शरीर त्याग्छ भन्ने कुरा बुझ्दैनन्, न त तिनीहरू प्रकृतिको गुणका अधीनमा रहेर कस्तो प्रकारको शरीर जीवले उपभोग गर्दैछ भन्ने नै बुझ्दछन् तर ज्ञानको प्रशिक्षण पाएका आँखाले भने यी सबै कुरा देख्‍न सक्छन् ।)

 

यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवस्थितम् ।

यतन्तोप्यकृतात्मानो नैनं पश्यन्त्यचेतसः ॥११॥

(आत्मसाक्षात्कार गरेका प्रयत्‍नशील योगीहरूले यी सबै कुरा स्पष्ट रूपमा देख्‍न सक्दछन् । तर जसको मन विकसित भएको छैन र जसलाई आत्मसाक्षात्कार पनि भएको छैन, तिनीहरूले प्रयत्‍न गरे पनि कहाँ के भइरहेको छ भन्ने देख्‍न सक्दैनन् ।)

 

यदादित्यगतं तेजो जगद्भासयतेखिलम् ।

यच्चन्द्रमस यच्चाग्नौ तत्तेजो विद्धि मामकम् ॥१२॥

(सम्पूर्ण विश्वको अन्धकार नाश गर्ने सूर्य मबाटै प्रकाशित हुन्छ र त्यसै गरी अग्नि र चन्द्रमामा हुने तेज पनि मबाटै उत्पन्न हुन्छन् ।)

 

गामाविश्य च भूतानि धारयाम्ययहमोजसा ।

पुष्णामि चौषधीः सर्वाः सोमों भूत्वा रसात्मकः ॥१३॥

(म प्रत्येक लोकमा प्रवेश गर्छु र मेरै शक्तिले सबै लोकहरू आ-आफ्नो कक्षमा स्थित छन् । म चन्द्रमा भएर प्रत्येक वनस्पतिहरूलाई जीवनरस प्रदान गर्दछु ।)

 

अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रितः ।

प्राणापानसमायुक्तः पचाम्यन्नं चतुर्विधम् ॥१४॥

(म समस्त जीवका शरीरमा रहने वैश्वानर वा पाचन अग्नि हुँ र मैले नै स्वास प्रश्वासयुक्त प्राणवायुमा मिलेर चार प्रकारका खाद्यहरूलाई पचाउने काम गर्दछु ।)

 

सर्वस्य चाहं हृदि सन्निविष्टो

मत्तः स्मृतिर्ज्ञानमपोहनं च ।

वेदैश्‍च सर्वैरहमेव वेद्यो

वेदान्तकृद्वेदविदेव चाहम् ॥१५॥

(म प्रत्येक जीवको हृदयमा अवस्थित छु । मबाटै स्मृति, ज्ञान र विस्मृतिहरू आउँछन् । म नै वेदहरूद्वारा जान्न योग्य छु । निश्‍चय नै म वेदको सङ्कलनकर्ता हुँ र म नै समस्त वेदको ज्ञाता पनि हुँ ।)

 

द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च ।

क्षरः सर्वाणि भूतानि कूटस्थोक्षर उच्यते ॥१६॥

(जीव दुई प्रकारका छन् । एक च्युत र अर्को अच्युत । भौतिक जगतमा प्रत्येक जीव च्युत हुन्छ भने आध्यात्मिक जगतमा प्रत्येक जीव अच्युत कहलाउँछ ।)

 

उत्तमः पुरुषस्त्वन्यः परमात्मेत्युदाहृतः ।

यो लोकत्रयमाविश्य बिभर्त्यव्यय ईश्वरः ॥१७॥

(यी दुवैका अतिरिक्त एउटा सर्वश्रेष्ठ अविनाशी परमपुरुष परमात्मा हुनुहुन्छ, जो तीनै लोकमा प्रवेश गरी ती सबैलाई पालन गरिरहनुहुन्छ ।)

 

यस्मात्क्षरमतीतोहमक्षरादपि चोत्तमः ।

अतोस्मि लोके वेदे च प्रथितः पुरुषोत्तमः ॥१८॥

(म सर्वश्रेष्ठ तथा दिव्य भएकाले च्युत र अच्युत (क्षर र अक्षर) दुवैभन्दा पर छु, तथा यस संसारमा र वेदमा पनि परमपुरुषको रूपमा विख्यात छु ।)

 

यो मामेवसम्मूढो जानाति पुरुषोत्तमम् ।

स सर्वविद्‍भजति मां सर्वभावेन भारत ॥१९॥

(जसले संशयरहित भएर मलाई नै पुरुषोत्तम भगवानका रूपमा जान्दछ, त्यसले सबै कुरा जानेको ठहर्छ, हे भारत, त्यस्तो व्यक्तिले आफूलाई सधैँ मेरै पूर्ण भक्तिमा संलग्न गराइ राख्छ ।)

 

इति गुह्यतमं शास्त्रमिदमुक्तं मयानघ ।

एतद्बुद्ध्वा बुद्धिमान्स्यात्कृतकृत्यश्‍च भारत ॥२०॥

(हे निष्पाप, यो ज्ञान वैदिक शास्त्रको सबैभन्दा गोपनीय अंश हो, जसलाई अहिले मात्र मैले प्रकट गरेँ । हे भरतपुत्र, जसले यसलाई राम्ररी बुझ्दछ, त्यो बुद्धिमान ठहरिन्छ र उसका सबै प्रयासहरू पूर्ण भएको मानिन्छ ।)

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत पुरुषोत्तम योग शीर्षक पन्ध्रौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

 

 

 1,287 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top