Free songs
Home / कथा / वर-पीपल

वर-पीपल

“तिमी पनि आइपुग्यौ ?” हातखुट्टा लोलिएर नियास्रो अनुहार पारेको थकित वरलाई आफू नजिकै ठिङ्ग उभिएको देखेपछि पिपलले सोधी । उसो त वरलाई पिपलले दिउँसै देखिसकेकी थिई, मान्छेहरु चौतारीबाट फर्कने मौका कुरेर मात्र बसेकी मात्र हो ।
“तिमी त झन् पहिल्यै आइपुगिछौ नि !” पसिना पुछ्दै वरले खुइय सास फेर्‍यो ।
“अँss, म आएको त त्यस्तै एक वर्षजति भयो होला ।”
“कस्तो छ यो ठाउँ ?”, वरले जीउ तनक्क तन्कायो र लत्रिरहेका पातहरुबाट छारो टकटक्यायो ।
वरको दयनीय अवस्था देखेर उसको मनोबल उकास्ने हेतुले पिपलले भनी, “ठीकै छ । सबैभन्दा अग्लो डाँडाको नेटामा रल्लिन पाउनु, सधैँ शितल बताससँगै हल्लिन पाउनु, टाढाटाढाका डाँडापाखा हेरेर मस्किन पाउनु, अग्लो ठाउँका अग्ला वृक्षको रुपमा सानमानसहित जीवन बिताउन पाउनु जोसुकैको भाग्यमा कहाँ लेखिएको हुन्छ र ? मान्छेको जात त हाम्रो लागि भगवान् साबित भएको छ ।”
पिपल आभूषणमा ठाँटिएर गमक्क बसेकी जस्ती देखिन्थी । जिउ चिल्लो र सुलुत्त परेको थियो । पिपलको नारी सुगन्ध हर्हरी वरसम्म पुगिरहेको थियो । कलकलाउँदी सुन्दरी पिपललाई वरले निज्याएर हेर्‍यो । प्रकटमा भने ओठ लेब्य्राउँदै भन्योः
“हुन्छ भगवान ! आफूलाई भाग्यमानी महसुस गरेकी छ्यौ ? ठीकै होला तिम्रो हिसाबले त । तर हेर्नैपर्ने कुराहरुबाट विमुख तुल्याइएर फोकट कुराहरु हेर्नु मात्र त कहाँ हो र जीवन ? भोग्नु पो असली जीवन हो त ! आफ्नै परिवार र आफ्नै समाजको नजिकै बसेर हेर्नु र जीवन भोग्नुको मज्जा अर्कै हुन्छ । मलाई त एक्लिएर यो ठाउँमा बस्न पटक्कै मन छैन । फर्केर उतै जान पाए हुन्थ्यो ।”
“हुन्थ्यो नि ! चराजस्तै भुरुरु उड्न पाए ! जीवजन्तुजस्तै टुकुटुकु हिँड्न पाए ! खोलाजस्तै कलकल बग्न पाए ! तर हामी पर्‍यौँ वनस्पति, एकै ठाउँमा ठडिएर घामपानी झेल्नु नै हाम्रो जिन्दगी हो । जङ्गलका अरु रुखहरु हेर न, उनीहरु त्यहीँ जन्मन्छन्, जङ्गलभित्रको अँध्यारोमा पूरै जीवन बिताउँछन् र त्यहीँ कुहिन्छन् । हामी त कम्तीमा त्यो ठाउँ छोडेर अर्कै संसार त आइपुग्यौँ । यति खुल्ला ठाउँमा । परपरसम्मका अनेक कुरा देख्न पाइएको छ । यसैमा रमाउन सिक्नुपर्छ ।”
“जन्मभूमिबाट उखेलेर ल्याइएपछि अन्य विकल्प बाँकी नरहे के गर्छ्यौ त अरु ?” पिलपिलाउन खोजेका आफ्ना ओठलाई बलजफ्ती टोक्दै वरले पिपललाई नै गिज्याउन खोज्यो ।
“किन त्यसरी ओइलाएको अनुहार लगाएको ? हुन त टेकी सकिएका जरा समेत उखेलिएर यहाँसम्म आइपुग्दा तिम्रा जरा दुखिरहेका होलान्, पात दुखिरहेका होलान्, पूरै जीउ दुखिरहेको होला । ठाउँठाउँमा छाला खुइलिएको छ, त्यहाँ असाध्यै चहराइरहेको होला । उखेलिँदा कोमल जराहरु चुँडिएर कति असह्य भयो होला ! धेरै दिनसम्म पानीको घुट्कोसम्म नपाएर आँत सुकिरहेको होला ! उखेलिएपछि दुईचारदिन मान्छेको आँगनमा थन्किँदा भोकले इन्तु न चिन्तु भयौ होला । अब यहाँ ल्याएर तिमीलाई रोपिसकेका छन् । शुरुमा सहज हुन निकै कठिन हुन्छ । बिस्तारै बानी पर्दै जान्छ । नहड्बडाऊ । मनसँगै जराहरु कठोर तुल्याऊ । पातसँगै छातीलाई हल्का तुल्याऊ । यो बन्जर जमिनबाट खानपिन सोस्न सक्षम हुनु छ । त्यो सुख्खा आकाशबाट हावा र घाम खिच्न जान्नु छ ।”
“आहा नभन्दै शितल हावा त चल्यो नि !” सर्र हावा चलेपछि अलिकति दुखाई कम भएझैँ वर उज्यालियो, हावा बन्द हुनेबित्तिकै अँध्यारिँदै सोध्यो, “मैले त केही पनि बुझ्न सकेको छैन मलाई ल्याए आखिर किन यहाँ ?”
वरको कुरा सुनेर पिपल बेसरी खिलखिलाई ।
“किन त्यसरी गिज्याउने पाराले हाँसेको नि ?” वाल्ल परेर हेर्‍यो वरले ।
“तिम्रो र मेरो बिहे गरिदिनको लागि रे क्या !” शरमले लजाएजस्तै गरी सानी पिपल, “तिमीलाई मान्छेले धुइँधुइँती खोज्न थालेको महिनौँ भयो । कता भेटाएछन् र बल्ल यहाँ ल्याइपुर्‍याए । मलाई पनि असल साथी पाएकोमा कम्ता खुशी भएकी छु !”
“छ्याः म त तिमीजस्ती रुप न रङकी कालीसँग गर्दिनँ बिहे सिहे !” नाकमुख खुम्च्याउँदै वरले मुन्टो भाँच्यो ।
“बिहेकै लागि ल्याइएपछि नमानी सुख्ख ? मसँग नगर्ने भए कससँग गर्छौ त बिहे ?” हातले परपर औँल्याउँदै जिस्क्याउने पारामा बोली, “यी झारपातसँग गर्छौ ? ऊ त्यो ऐसेलुको बोटसित गर्छौ ? कि यी सल्लाका रुखसँग गर्छौ ? यो डाँडोका दर्जनौँ जातका वनस्पतिहरुमध्ये एकलाई छान न त उसोभए । म कुरा मिलाइदिन्छु ।” पिपल आफ्नो पूरै जीउ हल्लाउँदै जोडतोडले हाँस्न थाली ।
“छियाछिया भएको मुटुमा व्यङ्ग्यवाण प्रहार गरेर अझै नदुखाऊ है तिमी ! अहिले झड्याम्म गाला पड्काइदिन्छु अनि ।” आँखा तर्दै चेतावनी दियो वरले ।
“छोएर हेर त ? आउनसक्छौ यहाँसम्म ? आएर देखाइदेऊ न त ! एकैठाउँमा गाडिन अभिशप्तको हेर न खरो बोलीचाली ! हेर न बेफ्वाँकको चुरीफुरी ! नियास्रो मानेका होउला भनी टिठाएको त अझ उस्सै…! अनि आफ्नो थुतुनो हेरेका छौ कहिल्यै ? तिमीजस्तो भद्दा जीउ र खस्रो पात हुनेसँग कसैले बिहे गर्न मरिहत्ते गर्दैन के ! खुच्चिङ !” पिपलले प्याच्च थुक्दै अर्कोतिर मुन्टो भाँची ।
आफैँ थकानले चुर भैरहेको वरको पिपलसँग जवाफसवाल गर्ने धैर्य हराउँदै थियो । ऊ पनि अर्कोतिर फर्कियो र दुवै हातले चिउँडी अड्याएर घोसेमुन्टो लगायो । जरा र जीउका करङहरु दुखेर होला, घरीघरी बरक्कबरक्क गरिरहेको दुखित वरलाई पिपलले फर्किएर हेर्न छाडिन । सोची, ‘उसले यो अपरिचित भूमिमा खानपिन पकाउन समर्थ छैन । केही दिनसम्म हावा र घामको मद्दतको सहायताले स्वास फेर्न पनि सक्नेछैन । बिचरोले आफ्नै ओइलाएको जरा, पात र जीउमा बाँकी रहेको हावापानी चुसेर प्राण अल्झाइरहेको होला । तन र मनको त्यो चरम दुखाइ कसरी सहिरहेको होला ? दुःखको गहिराइ बेहोर्नेलाई मात्र थाहा हुन्छ । ‘उसले केही वर्ष पहिले यस्तै पीडा भोगिसकेकी थिई ।
पिपलले वरको लागि आफूले गर्नसक्ने पनि केही थिएन । वर पन्ध्रबीस हात परै थियो, तसर्थ वरको कपाल मुसारिदिन न त उसका हाँगा वरसम्म पुग्थे, न त जरा नै ।
पिपल त्यस्तै सातआठ वर्षकी हुँदी हो, छसात हात अग्ली मात्र भएकी थिई । उसले गर्नसक्ने भनेको मीठो वचन र पातको सहायताले वरको जीउसम्म हावा चलाउनु थियो । अतः जन्मेदेखिको बल लगाएर आफ्नै श्वास तान्न थाली, त्यही श्वासलाई पात हल्लाएर वरसम्म पुर्‍याउँदै शितलता दिने काममा जुटिरही । वरले अलिकति शान्तिको सास फेरेको चाल पाएपछि सक्दो कोमल र मीठो वचन बनाउँदै वरलाई बोलाई,
“ए वर कान्छा, सुन त ?”
वरले कानै फटफटाएन ।
“नरिसाऊ न त्यसरी । भेट भएकै दिन किन झगडा गर्न खोज्छौ ? ल ल यता फर्केऊ । मर्द त्यसरी रोएको सुहाउँदैन । आँशु पुछेर यता फर्क ।”
“फर्किन्नँ म । अर्काको मुटु दुख्ने गरी तिमी जे पायो त्यही बोल्छ्यौ,” आँशु त बर्बर्ती झरेर थाम्ने मुश्किल भैरहेको बेला पिपलले मायालु स्वरले फकाउन थालेपछि आफूलाई थाम्नै सकेन । स्वर निकालेरै घुँक्कघुँक्क गर्न बाध्य भयो ।
“मैले के बोलेँ र त्यस्तो तिम्रो मुटु घोचिने गरी ? तिमीले नै यस्ती कालीसित बिहे गर्दिनँ भनी वचन लगायौ, अनि पो जवाफ फर्काएकी हुँ मैले ।”
“अनि, थोरै मेरो बिहे गर्ने उमेर भाको छ त मोरी ? जम्मा सात वर्षको त भएँ नि म !”
“अनि, मेरो भएको छ त बिहे गर्ने उमेर ? म पनि त यही वसन्तमा भर्खर सात पुगी आठ लाग्दै छु नि ।”
“अनि, उस्सै किन जिस्क्याको त ?” रुन्चे हाँसो हाँस्यो वर ।
“मैले जिस्क्याको हो त ? मान्छेले कुरा गरेको सुनेर पो भनेकी मैले त !”
“उसोभए अहिले यो उमेरमा हाम्रो बिहे हुँदैन त पिपलु कान्छी ? पक्का हो ?”
“तिमीलाई म बच्चो भनौँ कि मुर्ख भनौँ ?” पेट मिचिमिची हाँस्न थाली पिपल।
“ऊss ऊss हेर न फेरि होच्याउन थालेकी । आफू त कत्ति न वयस्क भएझैँ ! तिमीले यस्तैगरी गिज्याउन छोडिनौ भने म तिमीसँग मरिगए बोल्नेछैन ।”
“नरिसाऊ न त्यसरी । तिमीलाई यति सामान्य कुरा पनि थाहा रहेनछ कि अहिले मात्र होइन तिम्रो र मेरो बिहे यो पृथ्वीलोकमा कहिल्यै पनि सम्भव छैन ।”
“किन र ?” अचम्म मान्यो वरले ।
“तिम्रो जात वर हो । मेरो जात पिपल हो । प्राकृतिक नियम नै यस्तो छ कि वरको वरसँग मात्र बिहे सम्भव छ र पिपलको पिपलसँग मात्र सम्भव छ ।”

पिपलको कुरा बल्ल बुझ्यो वरले । ऊ पनि गडगड हाँस्न थाल्यो । पिपल अरु हाँसी, खिरिलो खिलखिल हाँसो । कलिली सुन्दरीको यति मीठो हाँसोले मन्त्रमुग्ध हुँदै झन् गडगडाहट हाँस्यो वर । तिरिरिरिरी मुरली बजेसरि हाँसी पिपल । त्यो देखेर जन्मेदेखिको जोर चलाएर वर यसरी हाँस्न थाल्यो कि आफू उखेलिएको र नयाँ ठाउँमा गाडिएको दुखाइ सप्पै बिर्सियो, उखेलिएदेखिको भोकप्यास बिर्सियो । आफ्नो जन्मभूमि बिर्सियो । आफू कहाँ आइपुगेको छु भन्ने पनि बिर्सियो । आफूलाई समेत स्वाट्टै बिर्सियो ।
वरले उसको सप्पै दुखाइ बिर्सेको देखेर पिपलले पनि आफूलाई सर्लक्कै बिर्सिदिई ।
डाँडोको नेटोमा दुवैजना हल्लीहल्ली मस्कीमस्की हाँसिरहे ।
०००
करिब तीन महिनापछि ।
वरले बन्जर जमिनमा खुट्टा टेक्न सक्षम भैसकेको थियो । जमिनबाट खानपिन सोस्न सिक्दै थियो । पातबाट हावा र घामबाट स्वास फेर्न थालेको थियो । काप कापमा कलिला पात र काण्डका नयाँ मुना देखाउन थालेको थियो । उसले अब आफ्नो पहिलेको घाउ करिबकरिब बिर्सिसकेको थियो । कहिलेकाहीँ जराहरु ढुङ्गामा ठेस लाग्दा मात्र चसक्कचसक्क दुख्थ्यो ।
पिपलले पनि उसलाई सहज अवस्थामा ल्याउन जे गर्न सक्थी त्यो सबै गरी । शितल हावा हम्किएर । मीठो गीत सुसेलेर । वरकै अगाडि छमछम नाचिदिएर ।
वरले खुट्टा टेक्न र नयाँ वातावरणमा अभ्यस्त हुन सफल भैरहेको देखेर ऊ औधि खुशी भैरहेकी थिई । यस बीचमा दुवैले आआफ्नो जन्मघरको कुराहरु गरे । आफ्ना आमाबाको छेउमै जन्मिएर उनीहरुको छत्रछायाँमा हुर्किँदाबखतका अविस्मरणीय आनन्दका कुराहरु गरे । छरछिमेकहरुका बानीबेहोराका कुराहरु गरे । पिपल बेँसीको चौतारीबाट आइपुगेकी थिई । वर भने तराईतिरको जङ्गलबाट आइपुगेको रहेछ । वरपिपलका जन्मघरतिरका कुराहरु सुनेर वरिपरिका झारपात, बुटा, पोथ्रापोथ्री र रुखहरुले अच्चम्म मानिरहेका थिए ।
मान्छेहरु वर र पिपललाई पूजा गर्न बिहानबिहान झुम्मिन थालेका थिए । उसो त बढी पुजिनेमा पिपल नै थिई । उसको शरीरभरि मान्छेहरुले पानी, दूध, अक्षता र अबिर लतपत पार्थे । पानी पिउन पाउँदा त तिर्खाइरहेको पिपलको प्यास थोरै भए पनि मेटिन्थ्यो । चढाइएका फूल तथा अक्षताहरु केही कमिला चरा र अरु किटपतङ्गले बोकेर लैजान्थे, जीउभरि किटपतङ्ग रगरग घुमिरहँदा पिपललाई सिकसिक लाग्थ्यो । छोडिएका फलफूलहरु केही कुहिएर जमिनमा सोसिन्थ्यो । यसले भने खानपिन बनाउन पिपललाई फाइदै भैरहेको थियो । पिपलको तुलनामा वरले यस प्रकारको सजाय कमै खेपेको थियो । उसको जिउ पिपलको भन्दा बढी नै सफासुग्घर रहन गएकोले गहुँगोरो र खाइलाग्दो देखिन्थ्यो । पिपलको पालो पछाडि मान्छेको हातमा अबिर र मगजमा विवेक बच्यो भने वरले पनि अबिर घसाइमाग्थ्यो ।
जीउभरि अबिर पोतेको भने वर र पिपललाई पटक्कै मन पर्दैनथ्यो । अबिरले जीउ पोल्थ्यो । छाला खुइलिन्थ्यो । यस्तो नगर भनेर बुझाउन उनीहरुसँग मान्छेको भाषा र स्वर उपलब्ध थिएन ।
मान्छेहरुबाट आफूलाई जे प्राप्त हुन्थ्यो, त्यो उनीहरुले अक्सिजनमा परिवर्तन गरिदिन्थे र वर लगायत वरिपरिका वनस्पतिहरुलाई बाँडिदिन्थे । बचेखुचेको अक्सिजन कीटपतङ्ग र जीवजन्तुहरु झुम्मिएर लुटपात मच्चाउँथे ।
०००
वर र पिपल लगाइएका जमिन वरपर खनीखोस्री मान्छेले फराकिलो चौतारी बनाइसकेका थिए ।
एकदिनको बिहानैदेखि चौतारीमा मान्छेहरुको भिडभाड बढ्न थाल्यो । विभिन्न थालीहरुमा रङ्गीन जाले रुमालले छोपेर फलफूलहरु ल्याइएका थिए । शंखघण्टका चर्का ध्वनिहरु बजिरहेका थिए । बच्चादेखि वृद्धसम्मका मान्छेहरुको कोलाहल थियो । पञ्चेबाजा घन्किरहेका थिए । वर र पिपलको जरामाथि विभिन्न खानेकुरा पाक्न थालेकोले आगोको धुवाँले कुइरीमण्डल थियो । पण्डितहरुले मन्त्र पाठ गर्न थाले । वर र पिपल जोडिने गरी दर्जनौँ तोरणहरु बाँधिए । तोरणमा दुबोपाती र फूलहरु उइनिए । वातावरण झकिझकाउ हुँदै गएको थियो ।
“के भैरहेछ आज ? मान्छेले त उत्पातै मच्चाउन थालेको जस्तो पो छ त !” वरले पिपलसँग संशय पोख्यो ।
“मैले पहिलो दिन नै भनेकी थिइनँ ? बिर्सियौ तिमीले ? आज यिनीहरुले तिम्रो र मेरो बिहे गरिदिँदै छन् !”
“हाम्रो बिहे ?” लामो लेब्रो तान्यो वरले ।
“बिहे भन्नेबित्तिकै किन त्यसरी तर्सिएको ? यो त मान्छेको नजर र विश्वासमा मात्र बिहे हो । थोरै हामीले चाहेको बिहे हो र ?”
“तर, संस्कार र विधि पूरा गरेर गरिदिँदैछन् यो बिहे त !”
“हामी वनस्पतिको संस्कार र विधिअनुसारको थोरै हो र यो ? हाम्रो विधि र संस्कार के हो भन्ने बुझेको छ र मानव जगतले ?”
पिपलको तार्किक कुराले वरको चित्त बुझ्यो र मरीमरी हाँस्न थाल्यो । वर हाँसेको देखेर पिपलले पनि हाँसो थाम्न सकिन । उता मान्छेले आफ्नो विधि पूरा गरी वर र पिपलको बिहे सम्पन्न गरिदिए । वरका हाँगा भाँचेर पिपलमा जोडिदिए । पिपलका पातहरु निमोठेर वरका पातमा खुन्टिदिए । वरको हाँगाले पिपलको जीउमा सिन्दुर दलिदिए । शंख फुकियो । दमाहाहरु बजाइयो । सो उपलक्ष्यमा भव्य भोजको आयोजना गरियो । मान्छेको अद्भूत क्रियाकलाप देखेर चौतारी वरपरका अरु वनस्पतिहरु ट्वाल्ल परेर हेरिरहे । भोजको गन्धले कीटपतङ्ग र चराचुरीहरु पनि वरिपरि झुम्मिइरहेका थिए ।
सिन्दुरले पूरै जिउ भतभती पोलिरहेकोले पिपल दुखित हुँदै जीउ कन्याइरहेको हृदयविदारक अवस्था सजल नेत्रले टुलुटुलु हेर्दै वरले भन्योः
“माफ गर, तिम्रो यति सारो दुःखमा पनि मैले कुनै सहयोग गर्न सकिनँ ।”
०००
वरपिपलको बिहेपछि बिहानबिहान पूजा गर्न आउने मान्छेहरु उल्लेख्य बढ्न थाले । जल र फलफूलको साथै अबिरको धुलो घसाउने कार्यमा उल्लेख्य वृद्धि हुँदै गयो । पिपलको जरा समेत खुन्टिएर धुपबत्ती जल्न थाले । हाँगाबिँगा र पातहरुमा डोरीहरुले टनक्कै कसिन थाले । यसले पिपललाई असह्य त हुन्थ्यो तर वरको अगाडि दुखेको प्रकट गर्न सक्दैनथी । पिपलको पूजा गर्न आउनेमध्येका कसै कसैले वरको पनि पूजा गर्दथ्यो । वरले पनि अबिर घसाइमाग्थ्यो र धुप चढाइमाग्थ्यो । यसबेला दुखाइ सहन नसकी बरक्क बर्कन्थ्यो तर ऐया स्वर भने निकाल्न सक्दैनथ्यो । किनकि उसलाई पिपलले गिज्याउली भन्ने डर थियो । हुन पनि धेरै दुःखहरु त पिपलले नै सहिरहेकी थिई, पिपलको लेखा त आफ्नो दुखाइ केही थिएन ।
“त्यसरी मान्छेको मुर्ख बन्धनमा परेकी छ्यौ ! बन्धनमुक्त हुन छटपटाइरहेकी हौली ! तिम्रो त्यो अवस्थाले मेरो मन दुखाएको छ ।”
“त्यसरी मन दुखेको भए आएर बन्धन खोल्दिए भैहाल्यो त !” पिपलले ओठ लेप्राउँदै वरलाई छेड हानी ।
“म चलमल गर्न अभिशप्त छु । के गरुँ टुलुटुलु हेर्न विवश छु । हात पुग्दैन, लौरी छैन पहरामा दुःख छ ।”
“ज्यानलाई आफ्नो अवस्थाको जानकारी राम्रै रहेछ त ! किन चेपारे पार्नुपरेको त ?” पिपलले आँखा तरी ।
“के गर्नु त, तिमीले मलाई यो बन्जर जमिनमा जरा टेकाउन कम्ति ज्यान अर्पिएकी छ्यौ ? त्यो त यही ज्यानलाई मात्र थाहा छ ।”
“दुःखमा दुखेको कुरा गरिरहँदा झनै घाउ दुख्न जान्छ । केही गर्न नसकेपछि नदेखेझैँ हुनुपर्छ ।”
“चित्तले मान्दैन, के गरुँ ?”
“जबर्जस्ती मनाउँदै जानुपर्छऽ” बन्धनयुक्त पिपलले नै वरलाई सन्त्याउन कोसिस गरी ।
०००
यसरी नै वर र पिपलको भेट भएको दुई वर्ष नाघिसकेको थियो । उनीहरु बढ्न प्रतिष्पर्धा गरिरहेका थिए । वरले त आफूलाई मजबुत तुल्याउन हाँगाबिँगाहरुबाट समेत कैयौँ जराहरु निकालेर भुइँमा टेकाउँदै थियो ।
“मैले त आज अर्को अग्लो पहाड देखेँ,” एक हात बढेपछि पिपलले भन्थी ।
वरलाई पनि त्यो पहाड हेर्न मन लाग्थ्यो र भोलिपल्ट दुईहात बढ्दै वर भन्थ्यो, “मैले पनि तिमीले हिजै देखेको त्यो पहाड आज देखेँ । बरु तिमीले नदेखेको उपत्यका पनि देखेँ मैले त ।”
यसै तरहले पिपल अरु बढ्थी र आफूले देखेको नदीको गहिराइ र लम्बाइको बयान गर्थी । वर अरु बढ्थ्यो र आकाशको रङ र चौडाइको बखान गर्थ्यो । यसरी नै उनीहरुले नेटोको घामपानी, सिरेठो र हुरीले बल्झाइदिएका दुःखहरु भुल्दै गएका थिए ।
अब वर र पिपलका हाँगाहरुमा चराहरु आएर गीत गाउन र नाच्न थालिसकेका थिए । उनीहरुको छायाँ चौतारीको परपरसम्म फैलँदै गइरहेको थियो । थकित बटुवाहरु उकालो चढिसकेपछि उनीहरुको काखमा आएर थपक्क बसिदिन्थे र पसिना ओभाउँथे । कहिलेकाहीँ मायालु जोडी आइपुग्थे र पिरतीका सुनूँसुनूँ लाग्ने मीठा बातचित गर्थे । बच्चाहरु आउँथे र वरपिपलको वरिपरि लुकामारी खेल्थे । आफ्नो काखको आश्रय लिएर मान्छेले आफ्ना सबै दुःख बिर्सँदै सन्तोषको सास फेरेको देखी वरपिपल औधि खुशी हुन्थे । वरपिपल मान्छेको क्रियाकलाप हेरिरहन्थे र गफगाफ चुपचाप सुनिरहन्थे । उनीहरुलाई त मान्छेहरुलाई छहारी दिनसकेकोमा घोर सन्तुष्टि पैदा हुन जान्थ्यो । बदलामा जन्मेदेखिको बल लगाएर शितलता छरिदिन्थे । वरपिपललाई लाग्थ्यो कि यी मान्छेहरु बेलुकापख आफ्नो घरमा फर्कनुभन्दा एकरात यतै बास बसे पनि कति हुँदो हो !
अर्को दिन वर अझै अग्लो भयो । फलस्वरुप मन्टो तानीतानी परपरसम्म हेर्‍यो । जब कुनै कुरामा उसका आँखा ठोक्कियो । ऊ झस्कियो । झस्कनु के थियो । बलिन्द्रधारा आँशु बगाउन थाल्यो ।
“किन रोएको त्यसरी ? के देख्यौ र ?” पिपल आशंकित हुँदै सोधी ।
“मेरी आमालाई देखेँ,” वरले आफूलाई थाम्न सकेन । क्वाँ क्वाँ रुन थाल्यो ।
“हँ ? धत् लाटा, जन्म दिने आमालाई देख्नु त भाग्य पो हो त रुन्चे कहीँको ? हाँस बरु ।”
“कसरी हाँसूँ म ? कुरै नबुझी त्यत्तिकै बहकिन्छ्यौ तिमी पनि !” हिक्क हिक्क गर्दै बोल्यो वर ।
“किन र ?”
“मेरी आमाको हातखुट्टा सबै काटिदिएछन् मान्छेहरुले । उनी वेदनाले छटपटाइरहेकी थिइन् । मेरी आमाको त्यो अवस्था देखेर कसरी सहूँ म ? म त्यहाँ पुगेर मलहम पनि लगाउन सक्दिनँ ! मूर्ख मान्छेसँग प्रतिशोध पनि लिन सक्दिनँ ! हरे कस्तो भाग्य मेरो ?” वर छाति पिटिपिटी आलापविलाप गर्न थाल्यो ।
“छोड्देऊ तिम्रो यो नाटक ! मैले नभनेर मात्र हो, मसँग झन् दुःखको भारी कति छ ! मलाई हेर यता !” वरले पिपलले औँल्याएको दिशातिर हेर्‍यो । पिपल भन्दै गई, “ऊss तलको त्यो चौतारीमा मेरी आमालाई मैले दिनहुँ देखिरहेकी हुन्छु । तर कस्तो अवस्थामा ? थाहा छ ? उनका पातहरु टिपेर पूजाको स्वार्थ पूरा गर्ने उद्देश्यले मान्छे हाँगाबिँगा लुछिरहेका हुन्छन् । परपर फैलिएका उनका हातखुट्टाहरु अग्गअग्ग पारेर काटिरहेका हुन्छन् । एकदिन होइन, दुईदिन होइन, दिनहुँ । मैले कहिले गुनासो गरेँ तिमीसित ? मलाई पनि कति असह्य हुँदो हो त्यो हृयदविदारक दृश्य देख्दा !” पिपलले आँखाको कोष-कोषमा आँशु उमारी ।
“हरे कस्तो ढुङ्गाको रैछ तिम्रो मन पनि ! आखिर किन सहन्छ्यौ तिमी ? केही गर्न नसके पनि हामी उनीहरुका सुखदुःखका कुरा गर्न त सक्छौँ, कुरा गरेर हाँसो वा रोदनको संवेदना पोख्न त सक्छौँ । दुःखको भारी घोप्ट्याएर आफूलाई हल्का पार्न त सक्छौँ ।”
पिपल गम्भीर बन्दै भनी, “किनकि त्यो पीडा हामी स्वयंले पनि बेहोर्नुछ । ढुङ्गाको मन नपारे आफूलाई पर्दा कसरी सहुँला हामीहरुले ?”
पिपलको जवाफले वर विलखबन्द परेर पिपललाई क्वार्क्वार्ती हेरिरह्यो ।
०००
त्यसको भोलिपल्ट नै केही मान्छेहरु डोरी र खुकुरीहरु बोकेर चौतारीमा झुल्किए । उनीहरुको कुराबाट वरले बुझ्यो कि एउटा ठूलै पूजाको लागि पिपलको पात नभई नहुने रहेछ । पिपलको सुलुत्त परेको शरीरलाई एकपटक नियालेपछि तिनीहरु खुकुरी कम्मरमा स्यूरेर पिपलको रुखमा चढे ।
उनीहरुको चालामाला देखेर वर बेसरी झस्कियो ।
उनीहरुले पिपलको मोटो हाँगामा अडेस लागेर सानासाना हाँगाबिँगाहरु लुछ्न थाले ।
वर चिच्यायो, “छोड्देऊ मेरी पिपलुलाई ! नकाट ! नमार त्यसलाई त्यसरी ! बरु मलाई मार तिमीहरु ! बिन्ति छ, तिमीहरु त्यसो नगर !”
वरको विलाप बुझे पो मान्छेले ! उनीहरु एकध्यान भएर आफ्नो स्वार्थ पूरा नहोउन्जेल पिपलको जोवनउपर लुटपाट मच्चाइ नै रहे ।
वरले हारगुहार गर्यो, वरिपरिका झारपातलाई, पोथ्रापोथ्रीसँग, रुखहरुसँग, चराचुरुङ्गीसँग । सबैले अमूक भएर हेरिरहे । सङ्गै हुर्किएको वर स्वयंले नै पिपलुका लागि केही गर्न नसकेको अवस्थामा अरु झिनामसिना रुखपातले के सहयोग गर्थे ?
चिच्याउँदा चिच्याउँदा वरको घाँटी नै सुकिसकेको थियो । मान्छेले पिपलको आधा वस्त्र उतारेपछि बल्ल छोडिदिए । जीउको दुखाई असह्य छँदै थियो, वरिपरिका वनस्पतिको अगाडि नाङ्गिनुपर्दा लज्जाबोधले पिपल मुर्झाएर बसी ।
“सुन त ?” वरले फकाउन खोज्यो ।
“किन ? ” नाङ्गा हातहरुले वक्षस्थल ढाक्दै कर्के चिहाई पिपलले ।
“तिम्रो त्यस्तो अवस्थामा पनि म टुलुटुलु हेरेर बस्नुपर्‍यो । मलाई माफ गरिदेऊ है ?”
“हुन्देऊ । तिमीलाई मान्छेहरुले यसरी नै लुछे भने म पनि के नै गर्नसक्नेछु र ? हेर न ऊ त्यताको घाँसपात, तिनीहरु महिनौँ लुटिइरहेका छन् । ऊ तिनी सल्लाका पोथ्राहरु हेर, कलिलै उमेरदेखि दाउराको लोभले काटिइरहेका छन्, जन्मँदै मारिइरहेका छन् । कुनै वनस्पति मान्छेको लागि नचाहिने भन्दै उखेलिएका छन्, कुनै वनस्पति चाहिने भन्दै उखेलिएका छन् । केही गर्न सक्यौँ हामीले ? मेरो यो पीडा त्यसैको बदला सम्झ । हुन्देऊ ।”
त्यस दिनपछि पिपलको हाँगा र पात लुछ्नेको संख्या झनै बढेर गयो । गोर्‍यानमा पिपलको पूजा हुन्थ्यो भने शिरानमा लुटपाट । पिपल दिनहुँ पलाइरही, मान्छेले उसका पात र हाँगा भाँची नै रहे । मान्छेले नबुझ्ने भाषाको माध्यमले वरले गरेको प्रतिरोधका बाबजुद पनि शीरबाहेक अरु सबै लुछेर मान्छेले पिपललाई नाङ्गै तुल्याइदिए ।
त्यही वर्ष उन्मत्त बैँस भरिएपछि वर लटरम्म फल्यो । पिपल भने थोरै मात्र फली । जवानीमा फुल्ने फल्ने खालका मुनाहरु नै कहाँ बाँकी थिए र पिपलसँग ?
“असत्ती मान्छेको जातले गर्दा, कठै, तिमी त यो बैँसमा राम्रोसँग फल्न पनि सकिनौ,” वरले आँशु झार्‍यो ।
“हामी फलेर पनि के काम ? हामी आफ्नै फल आफैँ उपभोग गर्नसम्म पाउँदैनौँ भने ? हाम्रा फलहरु त मान्छेले त्यति मन पराउँदैनन् र हाम्रो छातिभरि नै रहन्छन् । हेर त केराका बोटहरु, सुन्तला र स्याउका बोटहरु । ती बोटले आफ्नो जीउमा फलाएका लटरम्म मीठा फलहरु कहिल्यै आफैँले चाख्न पाएका छन् ?”
पिपलले पेश गरेका उदाहरणहरु वरले बुझ्यो र मन हल्का तुल्यायो । अनुहार थोरै उज्यालो तुल्यायो ।
०००
समय बग्दै गयो ।
चराहरुले विभिन्न ठाउँमा रहेका पिपल र वरको पराग यताको उता उताको यता पारिदिए । फलस्वरुप वर र पिपलको आआफ्नै जातिको बीउमा परागसेचन सम्पन्न भयो । केही महिनापछि वर र पिपल दुवैले आफ्नो काखमै आफ्ना एकएक सन्तान जन्मिएको पाए । जसले गर्दा उनीहरुको हर्षको सीमा नै रहेन । सन्तान आआफ्नै भए पनि जुम्ल्याहा जस्तै थिए ।
आआफ्ना बच्चाहरुलाई सकभर आफ्नो छायाँभन्दा बाहिर नपर्ने गरी बडो जतनसाथ हुर्काउन थाले । एक वर्षको के पुगेका थिए मान्छेको नजर पिपलको सन्तानमा परिहाल्यो । मान्छेले कुटोकोदालो ल्याएर पिपलको बेर्नोलाई बलजफ्ती उखेल्न थाले ।
पिपलको सन्तान उखेलिन थालेपछि वर अत्तालिन थाल्यो । हारगुहार गर्न थाल्यो । पिपललाई नै गाली गर्न थाल्यो, “आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई किन देखी देखी उखेल्न दिइस् ?” पिपल भने मुटुबाट उर्लिएको आँशुको भेललाई आँखासम्म उत्रन नदिएर नीच मारेर बसी । वेदना भित्रभित्रै पिएर बसी । बरू प्रार्थना गरी, “मेरो सन्तानले अर्को डाँडा ढाकोस् । त्यहाँ वरपरका जीवजन्तुलाई शितलता प्रदान गरोस् !”
अर्को हप्ता वरको सन्तानमा पनि मान्छेको नजर परिहाल्यो र पिपलको सन्तान उखेले जसरी नै उनीहरुले कुटोकोदालो प्रयोग गर्दै वरको दूधे बेर्नो उखेल्न थाले । त्यो देखेर वर अत्तालियो । पिपलसँग सहयोग माग्यो, अरु भएभरका वनस्पति र जीवजन्तुसँग पनि हार गुहार गर्‍यो । सबैले टुलुटुलु हेरिरहे । सबै आआफ्नै ठाउँमा उभिन अभिशप्त थिए । कोही पनि डेग चल्ने सकनेनन् । वर आफैँलाई धिक्कार्दै आलापविलाप गर्न थाल्यो ।
पिपलले वरलाई सम्झाई, “हुन्देऊ । प्रकृतिको रीत नै यस्तै छ हामी रोईकराई केही हुने वाला छैन । बरु उखेलिएको सन्तानलाई आशिष देऊ कि उसले संघर्ष गर्न सिकेस् । जस्तै दुःखमा पनि हरेस नखाएस् । डाँडाकाँडा ढाकेस् ।”
वरले पिपलका पाल्सी कुरा सुन्नै चाहेन । ऊ आलापविलाप गर्दागर्दा इन्तु न चिन्तु भइरहेको थियो ।
०००
महिना दिनसम्म सन्तान गुमाउनुको वेदनाले वर छटपटाइरह्यो । पिपलसँग मनको बह पोख्न पनि छोडिदियो । पिपलले वरलाई फकाउन सम्झाउन अनेक प्रयत्न गर्दा पनि विफल भैरहेकी थिई ।
पिपलले वरलाई बोलाई, “ए वर कान्छु, सुन त !”
वर झोक्राइ नै रह्यो । पिपलको कुरा सुनेको नसुन्यै गरिरह्यो ।
“मतिर हेर भनेको होइन के ! उता हेर त, उता !” पिपलले कर गरिरही ।
के रहेछ भन्दै पिपलले औँल्याएतिर वरले हेर्‍यो । कुनै मान्छे त्यहाँ हलचल नगरी ठिङ्ग उभिइरहेको थियो ।
“राक्षस कहीँको ! तिमीले भगवान् ठानेको त यो त हाम्रो काल रहेछ । सन्तानलाई त लुछलाछ पारेर लगिदियो, अब उसले मारोस् मलाई पनि के फरक पर्छ र ?” वर जिद्दीवाल थियो ।
“उसको हातमा कुनै हतियार बाँकी भए पो तिमीजस्तो अजङ्गको रुखलाई मास्न सक्छ ! ऊ त अब अस्त्रविहीन भैसक्यो ।” पिपलले वरसामू रहस्य पेश गरी ।
“यो मान्छे अस्त्रविहीन कहिल्यै हुँदैन । उसोभए बेला न कुबेला के खान उभिएको त त्यो त्यसरी ?” मानव आकृतिलाई नै खाउँला जसरी लाललाल नेत्र बनाउँदै वरले हेर्‍यो ।
पिपलले खितखित हाँस्दै भनी, “ऊ त अब हावा, घामपानी र माटोको आधारमा मात्र बाँच्ने हामीजस्तै स्थिर रुख भइसक्यो ।”
“कसरी ?” कुरा बुझेन वरले र पिपलसँग जिज्ञासासूचक आँखाले सोध्यो ।
“ऊ अब कतै पनि हलचल गर्न सक्तैन । एउटा महामारीले गर्दा ऊ हरेक भोज्य चिजसँग डराउँदै भोकै हिँडिरहेको छ । ऊ समाज त के आफ्नै परिवार र आफ्नै सन्तानदेखि पनि डराउँदै हिँडिरहेको छ । देखेकै छौ नि, त्यो पूजा गर्न समेत चौतारीमा नआएको पनि कति दिन भैसक्यो । देशदेशावर उत्पात मच्चाउँदै हिड्ने उसका चञ्चल खुट्टाहरु नचल्ने भैसके । उसका निर्बाध उड्ने पखेटाहरु काटिइसके । उसले ठड्याएका भवनहरु रुखसरह जर्जर भैसके । आफूलाई अझै सुविधा र शक्तिसम्पन्न तुल्याउन उसले गरेका सबै नवीनतम् आविष्कारहरु बिस्तारै स्थिरोन्मुख छन् । उसले ठड्याएका विभेदका पर्खालहरु पनि ऊ स्वयंको लागि पर्खाल भैसके । उसले सिर्जना गरेका पिछलग्गू र सहयोगीहरु उसकै मद्दतको लागि अघि बढ्न सक्दैनन् । उसका देखावटी संस्कारहरु सबै स्थिर भैसके । अरु त अरु आफ्नो अन्त्य हुँदा पनि उसका निकटतम् आफन्तहरु पनि संवेदना प्रकट गर्न उसको अगाडि उपस्थित हुन सक्दैनन् । ऊ नितान्त एक्लो भैसक्यो । दुरुस्तै घनाजङ्गलको अन्धकार बीचको एउटा वनस्पतिजस्तै । हामी वनस्पति जगतको लागि अविवेकी पहिल्यै थियो, अब विवेकशून्य भैसक्यो । मानवीयता मरेर संवेदनाहीन स्थिर वनस्पतितुल्य बाँचिरहेको छ । दुरुस्त तिमी र म जस्तै । जसरी हामी नजिक हुँदाहुँदै पनि नभएसरि छौँ, त्यस्तै त्यो मान्छे नामको प्राणी पनि हाम्रो अगाडि हुँदाहुँदै पनि नभएतुल्य भैसक्यो । उसलाई गाली गर्नु वा माया गर्नुको कुनै अर्थ छैन ।
तर अझै उसको छातिभित्र संवेदना सुषुप्त अवस्थामा छ । हाम्रो संवेदना भनेको पानी मनतातो पारे झैँ हो, जो एकैछिनमा चिसो भैहाल्छ, उसको संवेदना तेल उमालेसरि हाम्रोभन्दा हजारौँ गुणा तप्त छ । त्यही भकभकी उम्लिरहेको संवेदनाको कराइमा चुर्लुम्म डुबेर असह्य पोलाइमा छटपटिँदै ऊ अद्यापि बाँचिरहेको छ ।
पिपलले छाँटेको दर्शनले वरलाई पीरको गहिराईबाट माथि उतार्न सहयोग गर्‍यो । तैपनि संदिग्ध हुँदै वरले सोध्योः
“त्यसरी पनि बाँच्न सकिन्छ र ?”
“सकिँदोरहेछ त ! त्यसरी मान्छेलाई बचाउन उसको छातिभित्र आशा नामको अजम्मरी त्यान्द्रो छ । अजम्मरी भन्नाले मान्छेले अन्तिम श्वास फेर्दासम्म पनि उसभित्रको आशाको दियो जसोतसो धिपधिप बलिरहन्छ, जसले मान्छेलाई ऊर्जा दिएर बचाइरहेको हुन्छ ।”
पिपलले अरु दर्शन थपी । उसलाई यी कुरामा विश्वास पटक्कै थिएन तथापि वरलाई फकाउन, सम्झाउन र यथाअवस्थामा ल्याइपुर्‍याउनको लागि कथा बुन्नु नै थियो ।
वरले यस्तो ठान्यो कि आफूले लिन नसकेको प्रतिशोध प्रकृतिले नै मान्छेसँग असूलउपर गर्दैछ । वर अब पिपलको कुराले पूर्ण सन्तुष्ट देखियो । वरमा पलाएको सन्तोष देखेर पिपल पनि सन्तोषले पल्लवित भई ।
०००
अँध्यारो हुँदै थियो । वरपिपलले घाम छँदै बेलुकाको खानपिनको काम सकिसकेका थिए । ती सहयात्रीबीच राम्रोसँग कुराकानी हुन नपाएको महिनादिन भैसकेको थियो । उनीहरु अब साविककै जस्तै हल्लिँदै, रल्लिँदै र मस्किँदै मनोभावना साट्नमा डुब्दै गए ।
वरपिपल कुरामै मस्त थिए । स्थिर मान्छेको पछिल्तिरबाट हातमा एकएकवटा खुकुरी भिरेका अस्थिर मान्छेहरुको एउटा जुलुस नै निस्कियो । त्यो समूह चौतारीतिर लम्कियो । उनीहरुको रात परेपछिको चालामाला देखेर वर र पिपल सतर्क भए ।
ती मान्छेहरु चौतारीमा नअडिएर वर र पिपलका रुखमा धमाधम चढ्न थाले । वर र पिपलले तर्सिँदै एकअर्कालाई हेरे मात्र । मान्छेहरुले वर र पिपलको जीउबाट एकएक पातरुपी वस्त्रहरु उतार्न थाले । पातहरु टिपिसकेपछि भुइँमा ओर्लिए र चौतारीमाथि ती पातहरु बिछ्याएर ओछ्यान बनाए । केही पातहरु जीउ ढाक्ने स्याउलो बनाए । किंकर्तव्यविमूढ वरपिपलले आँखाको भाषाले नै आआफ्नो वेदना साटासाट गरे ।
मान्छेहरु वर र पिपलको रुखमा फेरि चढे । मोटामोटा हाङ्गाबिङ्गाहरु छानी छानी खुकुरीले रेट्न थाले ।
वर र पिपललाई ऐया आत्थु गरेर एकअर्कालाई गुहार्नु बेकार थियो । दुवैको घाउ बराबर थियो । दुवैको दुखाइ उस्तै थियो । दुवैको भोगाइ एउटै थियो ।
मान्छेहरुले ती हाँगाबिँगाको एकएकवटा कटेराको खाँबो बनाए, डाँडाभाटाहरु बनाए । घसेटा र पातपतिङ्गरले छानो छाए ।
वर र पिपलको गिँड मात्र बाँकी रहेको थियो । उनीहरु फेरि ती गिँडतिर लम्किएर अन्धाधुन्ध बोक्रा ताछ्न थाले । धेरै दिनसम्म भोका रहेका मान्छेहरुले वरपिपलका बोक्राहरु अघाउन्जेल बुत्याउन थाले । अघाइसकेपछि बाँकी रहेको वरपिपलका कङ्काल र जरा समेत गिँडेर आफ्नो न्यानोको लागि आगो सल्काएर ताप्न थाले ।
जीउको केही भाग बिनसित्ती पोलिइरहेको र बाँकी भागले मान्छेको ओतको लागि डाँडाभाटा बन्न पुगेको आफ्नो जीवनलीलाप्रति धिक्कार्दै वरले अन्तिम स्वास फेर्न थाल्यो ।
पिपलले वरलाई सम्झाउन छोडिन, “केही छैन । अब हामी अझै नजिक भएका छौँ । एकअर्कालाई छुने अवसर पाएका छौँ । खरानी भएर भए पनि एकअर्कामा मिसिन पाएका छौँ । यही नै हाम्रो प्रेमको उपलब्धि भयो । हामी एकाकार भएर यिनीहरुलाई अन्तिमसम्म बचाउन योगदान गर्‍यौँ । यो कुरा यिनीहरुका बचेका सन्ततिले बुझून् ।”
यति भनेर पिपल पनि वरसँगै बेरिएर चीर निद्रामा निदाउन पुगी ।

 51 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top