Free songs
Home / संस्मरण / लोककथा

लोककथा

“आज अर्को सिलुक हाल्दिन्चु, नघोरिकिन नामरी खाऊ है !” आमाले भन्थिन् ।

आमाको आश्वासनले हामीमा कमाल गर्थ्यो । हत्तपत्त मुछेर फालिसकेको दालभात सप्र्‍याकसुप्रुक खान थाल्थेँ म । तिउन मिठो भएन भनेर लात्तीले पर हुत्त्याइसकेको थाली वर तान्दै दाइले मुठीभरि भात पारेर मुखमा बुकाउन थाल्थे । मन दिदीले “तेसोभया अरु भात थप्देऊ जेई !” भन्दै थालीमा भएको खानाको थुप्रोमा अरु भात थप्न लगाउँथिन् ।

आमा सन्तोषले मुसुक्क हाँस्थिन् । केटाकेटीहरुलाई केही काम गराउनुपर्यो  वा घोर्दाघोर्दै वा रुँदारुँदै चुप लगाउनुपर्योन भने आमाले सिलुक हालिदिने आश्वासन दिन्थिन् । सिलुकको आश्वासनमा यति ताकत हुन्थ्यो कि आमाले अह्राएका कुराहरु हामीहरु खुरुखुरु मान्थ्यौँ । बेलुकाको खाना झटपट खाइसकेपछि कोठापट्टि आमालाई घेरेर बस्थ्यौँ ।

घरको तल्लो तलामा गाईभैँसी बाँधिएका हुन्थे । माथिल्लो तलामा दुईवटा कोठा थिए । एउटा अलि ठूलो थियो जसमा खाना पकाउने तथा अन्य सामान भण्डारगर्ने पाहुना बसाल्ने लगायत विविध काममा आउँथ्यो । अर्को अलि सानो कोठा थियो जसमा पूजाआजा र सुत्ने प्रयोगमा आउँथ्यो । यही सुत्ने कोठालाई हामी कोठापट्टि भन्थ्यौँ । कहिले नजिकै दियो बलेको हुन्थ्यो त कहिले अँध्यारै हुन्थ्यो । अँध्यारोको सिलुकमा भूतप्रेतका कुरा आइदिए भने असाध्य डर लाग्थ्यो र आमाको काखमा टाउको घुसार्न चारभाइबैनीको तँछाडमछाड चल्थ्यो ।

आमा सिलुककी भकारी नै थिइन् । त्यतिबेला आइमाइले पनि पढेको देख्दा जिब्रो टोक्ने समाज थियो । मेरो मावली हजुरबा नयाँ चेतनाका अगुवा भएकोले छोरा र छोरीलाई राम्रैसँग पढाइदिएछन् । फलस्वरुप आमाले रामायण, महाभारत, कृष्ण चरित्र पढ्ने मात्र होइन, श्लोकहरु मुखमै सारिसकेकी थिइन् । एउटै महाभारतका एकएक कथा सुनाउने हो भने एकजना बालकले बाल्यकालका हरेक रात हरेक नयाँ कथा सुन्नसक्थ्यो ।

जस्तोसुकै परिस्थितिमा पनि आमाले हामीलाई सिलुक सुनाउन तत्पर हुन्थिन् । त्यो कसरी बुझ्थ्यौँ भने कहिलेकाँही आमाका आँखाबाट आँशु चुहिइरहेको हुन्थ्यो, कहिले मुखबाट उहुँ उहुँ को वेदनामिश्रित स्वर चुहिइरहेको हुन्थ्यो । तैपनि हामीलाई काखमा हालेर कुनै न कुनै कथा सुनाउन छोड्दिनथिन् । हामी पनि त सिलुक नसुनी रातभर निदाउन सक्दैनथ्यौँ । सिलुक यस्ता हुन्थे कि कुनैले धुरुक्कै रुवाइदिन्थे । कुनैले उत्पात हँसाउथे । हामी हाँस्दाहाँस्दै वा रुँदारुँदै आमा र बाको बीचमा मीठो निद निदाउँथ्यौँ ।

एकपटक यस्तो समय आइदियो । आमाले हामीलाई सिलुक हालिदिन सकिनन् । यो कुरा मैले भन्दा दिदीहरुले बढी बुझ्थे । म कान्छो भएकोले आमाको काखको हकदार थिएँ । त्यो हकबाट अकस्मात काखाधिकारबाट च्यूत गराइएको थिएँ । आमा हामी केटाकेटीको अगाडि पर्दैनथिन् । कहिलेकाँही एक कुनामा रोइरहेकी हुन्थिन् र कहिले डोको बरियो काँधमा राखेर रुँदै निस्किन्थिन् । दिदीहरु अर्को कुनामा रोइरहेकी हुन्थिन् । बा मुड्को समाएर रोइरहेका हुन्थे । सबै परिवार रोएको देखेर दाइ र म पनि क्वाँ क्वाँ रुन्थ्यौँ । त्यो रुवाइ सिलोकबिनाको रुवाइ थियो । त्यो रातको निद मीठो पटक्कै हुन्नथ्यो र मस्त निदाउनै गारो हुन्थ्यो । 

मेरो ठूल्दिदीको बिहे भैसकेको थियो । उनी साउनपानी भिनाजुकै घरमा बस्थिन् । हाम्रो टोललाई कयनपानी भनिन्थ्यो । एक रात सिकिस्त बिरामी ठूल्दिदीलाई घरमा ल्याएको झुलुक्क देखेको थिएँ । पछि देखिनँ । भिनाजुको घरमा गइहोलिन् भन्ठानेँ । चालपाउने उमेर भैसकेपछि मात्र बुझेँ कि ठूल्दिदी सुत्केरीमै बितेकी रहिछन् । आमाबा तथा दिदीहरु रुनु र धेरै समय सिलुक सुन्न नपाउनुको कारण त्यो पो रहेछ । त्यो कुरा मबाट लुकाइएको रहेछ ।

पछि पनि केही समय सिलुक सुन्न बञ्चित भयौँ हामी । एउटी बहिनी थिइन् । तीन वर्षकै उमेरमा बितिछन् । मैले थाहा नपाउँदै एकजना दिदी दुई महिना नपुग्दै बितिछन् । सन्तान गुमाउनुको अकल्पनीय पीडाबाट अलिकति हल्का भयो कि आमाले हामीलाई सिलुक सुनाउन थालिहाल्थिन् । हामीलाई सिलुक सुनाउँदा हाम्रा उज्यालिएको अनुहार हेरेर आमाले आफ्नो अतल गहिरो पीडा भुल्थिन् होला ।

ती सिलुकहरुको अमिट छाप मभित्र बसेको थियो । जब म पढ्न लेख्न थालेँ सिलुकहरु लोककथामा बदलिए । आमाले हालिदिएका सिलुक पनि सुन्थेँ र कोर्सका किताबहरुमा भएका कथाहरु पनि पढ्थेँ । मामाघरमा कथा, कविता, नाटकका पुस्तकहरुको सानोतिनो पुस्तकालय नै थियो । ती पुस्तकको थुप्रोबाट पातला किताबहरु छानी छानी पढ्ने अवसर पाएको थिएँ । कथा भनेकै पौराणिक कथा मात्र हुन् भन्ने लाग्थ्यो।

कयनपानी टोलमा हामी चार घर मात्र थियौँ । हाम्रो घरको पछाडिपट्टि ठूलाबाको घर थियो । माथिपट्टि सार्कीमामाको घर थियो र तलपट्टि मावली काइँला बाजेको घर थियो । यी घरहरुलाई हाम्रा आँगनका डिलले छुट्ट्याउँथे ।

काइँलाबाजेका तीनभाइ छोराहरु थिए । जेठामामा सानै उमेरमा इन्डिया गैसकेका थिए । कान्छामामा हामीभन्दा माथिल्लो कक्षामा पढ्थे । माइलामामाले पढाइ सकेर गृहस्थी जीवन बिताइरहेका थिए । 

माइलामामा लामपातीजस्तै सलक्क परेका थिए र रछाएको बेलौँतीजस्तै तेजिलो अनुहार थियो । माइलामामा गाउँमा मिलनसारिता र व्यावहारिकताका प्रतिमूर्ति थिए । गाउँमा नछिनेका न्यायनिसाफ उनको अगाडि प्रस्तुत हुन्थे र सजिलै न्यायपूर्ण हिसाबले छुट्याइदिन्थे रे । उमेर भने पच्चीस जतिको मात्र थियो । चौखाबाङतिरबाट बिहे भएको थियो । माइलामामाको जोडी गाउँमा नमूना जोडी मानिन्थ्यो । उनीहरुको कञ्चन एवम् मधुर स्वर र प्रेमिल क्रियाकलापहरु हामी केटाकेटीहरु बार्दलीमा लुकेर हेर्थ्यौँ ।

यता आमाले भाइ जन्माइदिइन् । हामी नयाँ पाहुना आगमनको खुशीको बहारमा चुर्लुम्मै डुबेका थियौँ । भाइ गोरो तथा डोलो अनुहारको थियो । भाइको नाम प्रकाश राखिदियौँ । बढ्दै गएपछि गोरो प्रकाश गहुँगोरोमा परिवर्तन हुँदै गयो ।  भाइ जन्मेको एकहप्तासम्म हामीले आमाको मुखारविन्दबाट लोक कथाहरु सुन्न पाएनौँ । प्रकाश भाइ जन्मिएपछि आमाको अनुहारबाट दुःखका दागहरु सर्लक्कै मेटिएझैँ लागेको थियो । आमाको मुखबाट अँध्यारो पुछिनु जत्तिको खुशी सन्तानलाई अरु के हुन सक्ला र ?

त्यसको केही समयपछि माइलामामाको पनि छोरा जन्मियो । गोरोगोरो,डल्लेडल्ले सुकोमल, पहिलो छोरो पाएर माइलामामाको परिवार हर्षोन्मादले पुलकित थिए । कयनपानी टोलमा त्यस बच्चाले आफ्नो घरमा मात्र नभई छरछिमेकमा समेत खुशीका बाछिटा छरिदिएको थियो । त्यस बच्चाको नाम लोकबहादुर राखियो ।

लोकबहादुर जन्मिएपछि शुरु हुन्छ कयनपानी टोलको असली लोककथा । कानले सुनेको नभई आँखैले प्रत्यक्ष देखेको कथा । उसको अनुहारमा उम्रिएको हाँसो देखेर टोल नै उन्मुक्त हाँसेको कथा । उसका परेलीमा उर्लिएको आँशुको भेल देखेर गाउँ नै धर्धरी रोएको कथा ।

यता प्रकाश उता लोकबहादुर प्रतिष्पर्धा गर्दै एउटै आँगनका दुई काखमा हुर्किन थाले । केही समयको अन्तरमा काइँला बाजेकी माइली छोरी अर्थात मेरी माइलीआमाको पनि छोरा जन्मियो,उसको नाम डिल्ली रहन गयो । माइलाकाकाले छोरा जन्माउने चाहका साथ सातवटी बिहे गरिसकेका थिए । सातवटीमध्ये माइलीआमाको तर्फबाट डिल्ली मात्रै छोरा जन्मियो ।

अलग अलग भाइबहिनीबाट जन्मिएको भए पनि मेरी आमाले यी तीनभाइको नामराम, लक्ष्मण र भरत राखिदिइन् । यिनीहरु एउटै आँगनमा खेल्थे । कहिलेकाँही त एउटै काखमा खेल्थे । एउटी आमाको दूध अर्कोले चुस्थे । सँगै सुत्थे, सँगै उठ्थे । रामायण मैले पनि पढ्न थालेको थिएँ र जानीनजानी आमाको ठाउँमा आफै सिलोक हाल्न तम्सिन्थेँ । रामायणमा वर्णित रामलक्ष्मणहरु यिनै हुन् कि भनी म झुक्किन्थेँ पनि ।

दुई वर्षपछि मेरी आमाले बहिनी निशालाई जन्म दिइन् । तल्लो घरमा माइलीमाइजुले पनि छोरी जन्माइन् । करेसा जोडिएको घरमा जन्मिएका यी दुईबहिनीले गङ्गा-जमुनाको उपनाम पाए । कयनपानीका झुप्राहरुलाई ताकेर बग्ने खुशीको भेल राम्रैसँग उर्लिन थाल्यो । मानौँ हामी रामराज्यमा छौँ जसरी ।

एकरात आमाबा अत्तालिँदै हामीलाई छोडेर तल्लो घरमा गए । त्यो रातभर उनीहरु घरमा फर्किएनन् । तल्लो घरबाट हल्लाखल्ला र रुवाबासीको आवाज आइरहेको थियो । हामी केटाकेटीहरु ओछ्यानमै सुतेर कहाली लाग्दो अवस्थाको सामना गरिरहेका थियौँ । भोलिपल्ट सखारै आमा हतारिँदै घरभित्र पसिन् । दिदीहरुको कानमा कानेखुशी गरिन् । छिटोछिटो रोटी हालिदिइन् र हामीलाई दिदीसँगै स्कूल लखेटिदिइन् । गाउँबाट धेरै टाढाको सेरिगाउँ स्कूलमा चारकक्षा भर्खर पढ्दै थियौँ । ठूलदाइ र म अलि सानै थियौँ, तैपनि आमाको अनुहारमा पलाउने खुशी र विषादका रङहरु चिन्ने भैसकेका थियौँ ।

“दिदै, भन क्या, किन ज्या त्यस्तोरो अत्तालिएकी हुन् ?” हामीले दिदीहरुसँग निधिखुदी गरिरह्यौँ । हाम्रो धेरै करकापपछि बल्ल ठूल्दिदीले रहस्य खोलिन्,”हाम्रा माइलामामाको काल भयो!” उनी भक्कानो छोडेर रुन थालिन् । त्यो अनपेक्षित खबरले हाम्रो कलिलो हृदय पनि धुजाधुजा भएर च्यातियो । फलस्वरुप हामी केटाकेटीमा रुवाबासी शुरु भैहाल्यो । त्यो दिन स्कूल जान नसकेर हामी आधा बाटोबाटै घरमा फर्कियौँ ।

त्यसको केही हप्तासम्म न त आमाले लोककथा सुनाउन सकिन् । न त हामीहरुले सिलोक हालिदिन जिद्दि गर्न नै सक्यौँ । यतिसम्म कि लोकबहादुरको अनुहार हेर्न समेत सकेनौँ । त्यतिखेर तीन वर्षको मात्र थियो लोकबहादुर । एक वर्षकी थिई उसकी बहिनी । एउटा उदाहरणीय प्रेमिल संसार अकस्मात खरानी भइसकेको थियो र त्यसको उराठिलो धुवाँ नजिकैबाट पुत्ताइरहेको थियो । माइलीमाइजु आर्तनाद गर्दै एकोहोरो चिच्याएको स्वरले हाम्रा रातहरु असजिला हुँदै गएका थिए ।पाखातिरबाट स्याल र हुचिलले माइजुको रोदनमा संगीत भरेझैँ लाग्थ्यो । यो उराठिलो समयक्रम महिनौँसम्म ताजै रह्यो ।
आमाबा र छरछिमेकले माइजुलाई सम्झाउँथे,”धैर्य गर् बुहारी । यी कलिला दुई बच्चाहरुको मुख हेरेर भए पनि चित्त बुझा ।”
माइजुसँगवेदनाले छट्पटाउँदै चित्त बुझाउनुको अर्को कुनै विकल्प पनि त बाँकी थिएन ।

मैले प्रकाशलाई काठको पाटीमा खरीले लेख्दै कख सिकाउन थालेको थिएँ । लोकबहादुर कहिलेकाँही हाम्रो घरमा उक्लिन्थ्यो र भाइलाई सिकाउँदा छेउमै आएर हेरिरहन्थ्यो । “बस् न बाबु, तो पनि सिक् !” भन्दै उसलाई तान्थेँ म । ऊ केही बोल्दैनथ्यो । मेरो हात फुत्काउँथ्यो र दगुर्दै आफ्नो घर गएर आफ्नी आमाको काखमा घुस्रेर क्वाँ क्वाँ रुन्थ्यो । सायद उसको मनले भन्थ्यो’मलाई पनि त्यस्तैगरी क ख सिकाइदेऊ है जेइ !’माइलीमाइजु अनपढ थिइन् । ऊ आफ्नी आमाले आफूलाईसिकाउन किन जान्दिनन् भन्ने बुझ्दैनथ्यो, विकल्पमा आफ्नी आमासँग बाबुको सोधखोज गर्दथ्यो । त्यसको बनीबनाउ शाब्दिक जवाफ उसकी आमाले दिन सके पो ! बरुउनी कहाली लाग्दो रोदनमा विस्फोट हुन पुग्थिन् । आफूले बाबु खोज्नेबित्तिकै आमा रोइहाल्ने भएकोले बाबुलाई सोध्नै छोडिदिएको थियो लोकबहादुरले ।

निशा खुट्टा टेक्ने भएदेखि नै प्रकाशको टोलीसँगै खेल्थी । केही पछि लोकबहादुरकी बहिनी पनि त्यो बालसमूहको सदस्य बनी । पाँचजना बाल खेलाडीहरुको आँगनभरिको मनोरञ्जक खेल र खितखितले हाम्रो टोल गुन्जायमान हुन थालेको थियो ।

 ६ वर्षको उमेर पुगेपछि प्रकाशलाई हामीले स्कूल पठाउने निर्णय गर्यौँम ।प्रकाश स्कूल जाने भएपछि माइजुले पनि लोकबहादुरलाई स्कूल पठाउन तम्सिइन् । यो थाहा पाएर माइलीआमाले पनि डिल्लीलाई पछि लगाइन् । तीनजना नै स्कूल जाने भएपछि निशासँग खेल्ने साथीहरु कोही भएनन् ।उसले पनि ‘दाइसँग जाने !’ भन्दै जिद्दि गर्न थाली । घरमा उसको लागि छुट्टै धरालो कोही थिएन । तसर्थ उसलाई पनि स्कूलमै पठाउनु सुविधापूर्ण थियो । एउटै आँगनमा खेल्ने फुच्चेहरुको रहर लाग्दो लर्को अब स्कूलसम्मै पुग्ने भयो । लोकबहादुरकी बहिनी भने अझै सानी भएकोले आफ्नै आमासँग बस्ने भई । हामीहरु ती फुच्चाफुच्ची स्कूल जाँदा र फर्कँदाको दृश्य हेरेर मन्त्रमुग्ध हुन्थ्यौँ ।डिल्ली केही समयपछि आफ्ना बाबुआमासँग दलाखेततिर लागेकोले पढाइ छोडिदियो ।

सोलाबाङ स्कूलका हेडसर द्रोण पुन थिए । स्कूलको शुरुकै दिनमा प्रकाशले हेडसरलाई एकलाइनको चिठ्ठी लेखेर बुझाएछः “मेलो घलमा आम छन्, खान आऊ ।”
त्यो बेलुका प्रकाशको चिठ्ठी बोकेर हेडसर आँप खान घरमै आइपुगे । प्रकाशको चमत्कारको हामीसँग खुशियाली बाँडचुँड गर्दै यी केटाकेटीहरु तिक्ष्ण दिमागकारहेछन् भन्दै बढाइचढाइ गरे । मैले प्रकाशको अनपेक्षित प्रगतिको खुशीको मारवश् उसलाई अँगालो मारेँ । लोकबहादुर भने आँखामा आँशु उमारेर यो दृश्य हेरिरह्यो । “तँ पनि आइज !” भन्दै लोकबहादुरलाई तान्दा पनि मेरो काखमा आउन मानेन, बरुआफ्नो घरतिर खुर्र दगुर्योश ।आफूलाई अँगालो मार्ने बाबुको खोजीमा दौडियोभन्ने चाल पाएर म तर्सिएँ,अब माइजु पक्का अलापविलाप गर्दैरुनेछिन् ।

आफ्नो घरमा आफूलाई सिकाउने कोही नभएको बुझेपछि लोकबहादुर मसँग झ्याम्मिन थाल्यो । मेरो काखमा बसेर प्रकाशसँगै लेख पढ् गर्न सिक्न थाल्यो । माइजु लगायत कयनपानी टोलको खुशीका दिन फर्किए । बेलुका आमाले सिलोक हाल्न थालिन् । लोकबहादुर पनि राति हाम्रै घरमा आउने र सिलोक सुन्दै प्रकाशसँग सुत्न थाल्यो । 

यसरी उर्लिरहेको खुशीले कयनपानी टोलको एक किनारा अकस्मात् भत्काइदियो । हामी अर्को बज्रपातको खबरले कहालिनुपर्योथ । एउटा सामान्य बिमारका कारणले लोकबहादुरकी बहिनीको ज्यानै गएछ । भर्खरै पतिवियोगबाट तङ्ग्रिन नपाउँदै अर्कोअकल्पनीय प्रहार खेप्ने त माइजु स्वयम् थिइन् । उनका अलापबिलाप र चित्कार नजिकैबाट हामीलेआफ्नो घरबाटै सुन्थ्यौँ । आमाबा र गाउँभरका मानिसहरु माइजुलाई सम्झाउँथे । त्यो कहाली लाग्दो स्वर हाम्रो कानमा नपरोस् भनीकन आमाबाले ढोका थुनेर हामीलाई कोठाको एक कुनामा थुपार्थे । तर माटोको घरका टेढिएका र खाप रहेका झ्याल ढोकाबाट माइजुको टड्कारै चिच्याहट आइहाल्थ्यो र हाम्रो कानबाट छिरेर कमलो छातिमा बज्रन पुग्थ्यो ।

“तेरो एक मात्र सहारा यही छोरा हो । सर्वस्व यही हो चित्त बुझा । तँले नै मन बाँधिनस् भने यो लख्याको के हालत होला ?”हिक्का छोड्दै परपर भागिरहेको लोकबहादुरलाई ल्याएर गाउँलेहरुले अर्धमुर्छित माइजुको काखमा बसालिदिन्थे । माइजुको आवाज त बन्द हुन्थ्यो तर हिक्का केहीगरी बन्द हुँदैनथ्यो । थप बज्रपातको मारवश् माइजु चिन्ताले गर्दा धाइरोको काठसरि सुक्दै जान थालिन् । कान्छामामा सानैमा मानसिक रोगले पिडित थिए । उनको खान बस्नको ठेगान हुन्नथ्यो । त्यो परिवारलाई सम्हाल्ने थला परिसकेका काइँला बाजे मात्र थिए । 

हाम्रा आँखा जतिसुकै छोपिदिए पनि हामीले त त्यो विजोग दिनहुँ देखिरहेकै थियौँ । आमाले हामीलाई भुलाउन कथा हाल्न शुरु गर्थिन् । हामीमा ती कथाको रस घट्दै गएको थियो । आमाले अब दुःखका कथाहरु सुनाउन छोडिसकेकी थिइन् । हामी केटाकेटीमा पनि हाँसो उठ्ने कथा बाहेक अरु सुन्ने जाँगर मरिसकेको थियो । बिस्तारै कथा सुन्न लोकबहादुर हाम्रो घरमा उक्लन थाल्यो । हाम्रो घरमा खुशीका मुनाहरु पलाउन थाले । समस्या के भैदियो भने माइजु सुकेका हाँगातुल्य भैसकेकी थिइन् जसका कापहरुबाट खुशीका मुना कदापि निस्कन नसक्ने भएका थिए । माइजु झन् झन् कमजोर हुँदै जान थालिन् । यो कुरा कलिलो दिमागको बच्चो लोकबहादुरले के बुझोस् !

आफ्नो अवस्था नाजुक हुँदै गएको देखी माइजु गाउँलेहरुसँग अनुनय विनय गर्थिन्,”मलाई जसरी पनि बचाऊ । म नै सक्किएँ भने यो जाइनले के गर्ला ? यो टुहुरालाई हेर्ने यो संसारमा कोही पनि हुनेछैन ।” 
आमाहरु सम्झाउँथे,”तँ चिन्ताले नै मर्दैछेस् । तैँले आफूलाई आफै मारिरहेकी छेस् । छोराको माया छ भने चिन्ता छोड्दे बाबु । उठ् बुहारी उठ् । छोरालाई हेर् बाबु ।”
“मके गरूँ ? यो चिन्ता हट्ने कुनै ओखती छ भने म जे पनि खान तयार छु । तपाइँहरुले हगेकै गु खान तयार छु । मलाई केही न केही बचाउने ओखती गर । म बाँच्दिन कि ?” माइजुको यस प्रकारको अलापविलापले गाउँलेहरुको हृदय छियाछिया बनाइदिन्थ्यो ।

लोकबहादुर दिउँसो प्रकाश र डिल्लीसँगै स्कूल जान्थ्यो र बिहान बेलुका थला परेकी आमाको छेउमा बसेर टुलुटुलु आमाको अनुहार हेर्थ्यो । ऊ स्कूल जान बिर्सन थालेको थियो । उसलाई फुलाईफस्ट्याइ स्कूल पठाउँथ्यौँ हामीहरु । ऊ आमालाई हेर्ने भन्दै भागेर घरमा आइहाल्थ्यो । मामाको घरमा दिनहुँ धामी झाँक्री बसालिइरहेको थियो । झारफुक गर्नेहरु फेरिई फेरिई आउँथे । भएभरकादेवीदेउताहरुलाई धजा चढाइँदै थियो । बाले उक्राउन्-पुक्राउन् गर्थे । जिल्लामैअस्पत्ताल थिएन । माइजुलाई बचाउनको लागि गाउँलेहरुले गरेको हरेक प्रयत्न खेर गैरहेको थियो ।बिरामीभेट्न आउने छरछिमेक र टाढाटाढाका आफन्तहरु उल्लेख्य बढ्न थालेका थिए । सबैको अनुहार चैते आकाशजस्तो फुस्रो न फुस्रो हुन्थ्यो । यसरी हुन्छ कि उसरी हुन्छ कि भन्दै हरेकलेमाइजुलाई बचाउन सकिने जुक्ति सुझाउँथे । तर कुनै सुझावले पनि काम गरिरहेको थिएन ।
यस्तै समयमा सोलाबाङकोस्कूलमा वार्षिक परीक्षा चल्यो । लोकबहादुरलाई डोर्याएरै म स्कूल पुर्यालउँथेँ र परीक्षा नसकिउन्जेल लोकबहादुरलाई भाग्न नदिनसरहरुसँग अनुरोध गर्दै म आफ्नो घर फर्कन्थेँ । मेरो स्कूलको परीक्षा सकिएकोले मलाई फुर्सदै थियो ।

परीक्षा सकिएपछि केही दिनमा रिजल्ट पनि भयो । रिजल्टको दिनमा तीनभाइबैनी नै स्कूल गए र बेलुका सबै भाइबैनी अबिरले पूरै जीउ रङ्गिएर घर फर्किए । कक्षा एकको परीक्षामा प्रकाश प्रथम भएछ । लोकबहादुर दोस्रो भएछ । यो प्रगति देखेर हामीहरु खुशीको मारवश् उफ्रियौँ । मलाई लाग्यो छोराको यो खुशी देखिन् भने माइजुलाई पक्का पनि अलि हल्का हुनेछ भन्ठान्दै लोकबहादुरलाई डोर्याोउँदै म माइजुकहाँ पुगेँ । माइजुलाई भित्री मैरोबाट बाहिर ओटामा सारिइसकेको रहेछ । आफ्नो अन्त्यहेर्न आउने आफन्तहरुबाट माइजु घेरिएकी थिइन् ।”माइजु ! माइजु !!!” मैले बोलाएँ । माइजुलाई आँखा खोल्न निकै गाह्रो भयो । बल्लतल्ल आँखा खोलिन् ।

“माइजु लोकबहादुरले त कमालै गरेछ । सेकेन भएछ ।”, म चिच्याएँ । उनले लोकबहादुरलाई आफ्नो छेउमा आउन इशारा गरिन् । माइजुको स्वर समेत बन्द भैसकेछ । लोकबहादुर आफ्नै आमाको नजिक जान डराएजस्तै गर्योो । मैले उसलाई उठाएर सुतिरहेकी माइजुको काखमा बसालिदिएँ । माइजुले लोकबहादुरलाई तानिन् र आफ्नो अँगालोमा बेरिन् । उनको आँखाबाट बर्बर्ति मोटामोटा आँशु लोकबहादुरको गालामा खस्न थाले । माइजु बेहोस् हुन्छिन् कि भन्ने डरले वरिपरिका मान्छेहरुले माइजुको बाहुपासबाट बल्लतल्ल लोकबहादुरलाई फुत्क्याए । लोकबहादुर हिक्का छोड्दै घरको घारी करेसातिर दगुर्योम ।

मैले लोकबहादुरले स्कूलमा गरेको प्रगतिको कुरा त्यहाँ भएभरका गाउँलेलाई सुनाइदिएँ । सबैले अच्चम्म मान्दै जिब्रो टोके,”यस्तो विपरीत परिस्थितिमा पनि स्कूलमा सेकेन आउनु चानचुने कुरा थिएन ।यति तेज छोरोले अनुकूल अवस्था भैदिए कति प्रगति गर्दो हो ! हे भगवान्, यसकी ज्यालाई केही पनि नहोस् ! यही टुहुराको लागि भए पनि यसकी ज्या बाँचोस् !” गाउँलेले पुकारा गर्न थाले ।
मलाई भने तीनै भाइबैनीले सर्वोत्तम पोजिशन ल्याएकोमा औधि सन्तोष लागिरहेको थियो । म घर फर्किएँ र प्रकाश र निशासँग रमाउन थालेँ ।

आमाबा त्यो रात लोकबहादुरको घरमा गए । आज एउटा खुशीको सिलोक सुन्न मन थियो आमाको मुखबाट । तर आमाले सुनाउन नसक्ने भइन् । उनी त्यस रात माइजुकहाँ जानैपर्ने भयो ।

एकाबिहानै माइलामामाको घरमा एकोहोरो शङ्ख बज्यो । दिदीहरु आत्तिए र चिच्याकोहोलो गर्न थाले । मैले अनुमान गरेँ अब माइलीमाइजु यो संसारमा रहिनन् । सातवर्षे लोकबहादुरलाई यो संसारमा नितान्त एक्लै पारेर उसकी आमा पनि हिँडिन् । हे भगवान् यो कस्तो प्रकारको न्याय हो तिम्रो ! दिदीहरुजस्तै म पनि छाति पिट्दै घोप्टो परेँ ।

लोकबहादुरको फुच्चे मुटुको लागि लगातारको आफन्तवियोगको घाउ भयानक थियो । निष्ठुरी दैवले त्यो अनजान बच्चालाई उठ्नै नदिने गरी लगातार कोर्राले हिर्काइरहेको थियो ।उसको घाउ निको पार्ने यो संसारमा कोही पनि सक्षम थिएनन् । 

त्यसको केही समयपछि सल्लेमा जिल्ला अस्पत्तालको स्थापना भयो । क्षेत्र क्षेत्रमा स्वास्थ्य चौकी बस्न थाले । गाउँघरमा सानातिना डाक्टरहरु देखिन थाले । तर उनीहरु लोकबहादुरको लागि एक कौडीका थिएनन् । जे जति लुट्नु थियो दैवले लोकबहादुरबाट लुटेर लगिसकेको थियो । महाप्रलय पछिको जिउँदो लासजस्तै थियो लोकबहादुर । त्यति सानो छातिले दैवको त्यत्रो बज्र प्रहार कसरी थेगिरहेको होला ? मलाई सम्झँदा पनि भाउन्न हुन्थ्यो । केही सम्झन सक्दैनथेँ । उसको निन्याउरो अनुहार देख्यो कि मुटु भक्कानिएर आउँथ्यो र आँखाबाट आँशुको फोहरा फुत्किहाल्थ्यो ।लोकबहादुरलाई रातदिन सम्हाल्नको लागि अब ओछ्यान परेर आज हो कि भोलि हो भन्ने भैसकेका काइँलाबाजे मात्र बाँकी थिए । छन त फुपूहरु, कान्छाबाहरु पनि थिए तर उनीहरु आआफ्नै थातथलोमा बाँधिएका थिए ।

माइलीआमा डिल्लीलाई ल्याएर माइतीमै बस्न थालेकी थिइन् । त्यो कठोर प्रहारको घाउ बिसाउँदै गएपछिलोकबहादुर पनिबाल्यसमूहमा मिसियो । यसले हामीमा औधि सन्तोष पैदा गरिदियो । उसको घाउको त कुनै लेखाजोखा नै थिएन । त्यतातिर सम्झियो कि जिउ नै घलघली काम्थ्यो । 

प्रकाश निशासँग डिल्ली पनि स्कूल जान थालेको थियो । मुटुको घाउ केही विसेक भएपछि लोकबहादुर पनि स्कूल जान थाल्यो । ऊ हाम्रो नजिक पनि पर्न थाल्यो । हामीसँगै बसेर खाना खान थाल्यो । राति भाइबहिनीहरुसँग बसेर आमाले हालेका सिलोक सुन्नऊ प्रकाशकै छेउमा टुसुक्क बस्न थाल्यो । म भने सिलोक नै सुन्न नसक्ने भैसकेको थिएँ । यस्तै प्रकारका दुःखहरु आमाले बारम्बार खेपेरमुटु दरो पारिसकेकी थिइन्, उनलाई कथा भन्न कुनै गाह्रो थिएन । उनी जब कथा भन्न शुरु गर्थिन् म सिरकमा गुटीमुटी हुन्थेँ । त्यहीँभित्र लोकबहादुरको दयनीय अवस्था कल्पिएर रुन थाल्थेँ ।

त्यस घटनाको केही महिनापछि लोकबहादुर झोला बोकेर प्रकाशसँगै लुरुलुरु स्कूल जान थाल्यो । दिउँसोको अर्नी चारै भाइबैनीलाई आमाले बनाइदिन्थिन् । कहिले माइलीआमाले पनि बनाइदिन्थिन् । केही समयपछि उनीहरुको वार्षिक परीक्षा पनि आइपुग्यो । यो वार्षिक परीक्षामा लोकबहादुर भागेर आउनुपर्ने आवश्यकता थिएन । किनकि घरमा उसका निकटतम परिवार कोही पनि पर्खिबसेका थिएनन्,स्वर्गलोकको अस्तित्व भए त्यहीँबाट लोकबहादुरको दीनहीन अवस्था हेरिरहेका थिए होलान् ।

रिजल्टमा म पनि उनीहरुको स्कुलमा पुगेँ । प्रकाश स्कूलकै होलफस्ट भयो । डिल्ली तल्लो कक्षामा फस्ट भयो । लोकबहादुर भने कक्षामा चौथो स्थानमा झर्न पुगेछ । जे भए पनि प्रकाश, डिल्ली, लोकबहादुर र निशाले बराबर अबिर घस्न पाए । अबिरले पूरै रङ्गिन पाउँदाचारभाइबैनी औधि खुशी देखिए । मैले भने आफूलाई थाम्नै सकिनँ, फलस्वरुप आँशुको दहमा पौडिन थालेँ । हेडसर भूपेन्द्रले अच्चम्म मान्दै मलाई सोधे,”के भयो ?”
उनले के बुझून् बरा ? लोककथाको प्रत्यक्षदर्शी त म पो थिएँ । जवाफमा भक्कानिँदै म अरु रोइदिएँ ।

अब लोकबहादुर हाम्रै घरमा बस्न थाल्यो । मैले प्रकाशभन्दा बढी माया उसैलाई गर्न थालेँ । उसैलाई बढी सिकाउन थालेँ । ऊ पनि दिउँसो स्कूल जाने र बिहान बेलुका मेरै वरिपरि बस्न मन पराउन थाल्यो । स्कूलमा कुनै प्रतियोगिता हुने भयो भने भन्थ्योः “दाइ, मलाई कविता लेखिदिनू न !”

मैले भन्थेँ,”तिम्रो पढाइ त्यति राम्रो छ । मेरो भन्दा त तिमी नै राम्रो लेख्न सकौला ।”

ऊ भन्थ्यो,”म हजुरजति सक्दिन दाइ ।” यसो भनिरहँदा उसको अनुहार निकै अँध्यारिन्थ्यो । उसको अँध्यारोपनले मलाई विगतको धारिलो पत्थरमा बजारिदिन्थ्यो र म रक्तमुच्छेल हुन्थेँ । सतर्क हुँदै भन्थेँ,”ल ल, म लेखिदिन्छु तर राम्रोसँग वाचन गर्न जान्नुपर्छ नि । जतिसुकै राम्रो लेखिदिए पनि वाचन गर्न जानेनौ भने तिमी पुरस्कार जित्न सक्दैनौ ।”

“वाचन गर्न त सक्छु दाइ । वाचन गर्दा मेरो ध्यान अन्त नगई कापीको पानामै हुन्छ ।” उसले बुझाउन खोजेको कुरा आँ गर्दै बुझ्थेँ म कि उसमा किन कथा कविता लेख्ने सामर्थ्य छैन भन्ने कुरा । मुटु भक्कानिएर आउँथ्यो । सकीनसकी लोकबहादुर समेतको दुखको भारी आफ्नैमा खप्ट्याएर बोकिदिन्थेँ ।

यस्तैमा उनीहरु गाउँको स्कूलमा पढाइ सकेर माध्यमिक तह अध्ययन गर्न खलंगा हाइस्कूल उक्लिए । त्यो वर्ष स्कूलको वार्षिकोत्सवमा कथा प्रतियोगिता राखिएको रहेछ ।
वार्षिकोत्सवको अघिल्लो दिन बेलुका मकहाँ आएर लोकबहादुरले मलाई फस्ट्याउन थाल्योः “दाइ, मलाई एउटा कथा लेखिदिनु न ।”

“कस्तो कथा लेखिदिऊँ भाइ ?”, आफै लेख भन्न सक्दिनथेँ म ।

उसले भन्यो “लोककथा भए पनि हुन्छ ।” म फेरि अरर्रिएँ । यसकै वास्तविक लोककथा लेखिदिएँ भने यसले किमार्थ वाचन गर्न सक्ने छैन ।

कनीकुथी पौराणिक कथा लेखिदिएँ । त्यो अलि छोटो थियो । 

“यो धेरै छोटो भयो दाइ । यसले पुरस्कार जित्न सकिँदैन । अर्को कथा लेखिदिनू ।” ऊ त मलाई घोर्न पो थाल्यो ।

“लोककथा छोटै त हुन्छन् नि !”, मैले जिद्दि कसेँ ।

“नाइँ के दाइ । अलि लामो लेखिदिनू ।”, ऊ मसँग ‍औधि लाडिन्थ्यो । उसको जिद्दिउपर मैले हार खान्थेँ ।
मैले एउटा सामाजिक भन्न सुहाउने कथा लेखिदिएँ ।

उसलाई त्यो पनि चित्त बुझेन । रात खर्लङ्गै कटिसकेको थियो । ऊ भने कथाको लागि ढिपि गर्दै थियो । 

उसको जिद्दी अगाडि म सधैँ हार्न पुग्दथेँ । त्यो उसलाई राम्रैसँग थाहा थियो र त मसँग जिद्दि गरिरहन्थ्यो ।

मैले कनीकुथी अर्को कथा पनि लेखिदिएँ । यति गर्दा बिहान नौ बजिसकेको थियो । उसले खाना खाएकै थिएन । प्रतियोगिता त्यसै दिन रहेछ ऊतीनवटै कथाका पानाहरु आफ्नो झोलामा कोच्यो र नखाएरै खलंगातिर कुदिहाल्यो ।
मलाई लागेको थियो कि यो पटक लोकबहादुर पक्का निराश हुनेछ । यस्ता कमजोर र हतपतमा लेखिएका कथाहरुले कदापि पुरस्कार जित्न सक्नेछैनन् । यस्तैमा दुईतीन दिन बित्यो । उसलाई कुन कथा वाचन गरिस् भनेर सोध्ने उत्साह पनि थिएन ममा ।

एकदिन म घट्ट पिँध्न खोला झरेको थिएँ । पालो अलि पछि नै आएकोले खोला बगेको र घट्ट घुमेको हेरेर दिन कटाइरहेँ । बेलुकातिर पालो आएकोले घट्टको छाप्रोमा घुस्रिएर मकै पिँध्नमा मग्न थिएँ ।

“माइलादाइ ! माइलादाइ !!” कसैले बाहिरबाट ठूलै डाँकोले बोलायो । पानीघट्टको घट्घट् र कुलोको कलकल आवाज जित्नको लागि झन् ठूलो स्वरमा कराउनुपर्थ्यो । घट्टको प्वालमा मकैको ‌ओइरो हाल्दै मैले बाहिरतिर हेरेँ। त्यसरी कराउने लोकबहादुर थियो । ऊ त स्कूल ड्रेसमै आइपुगेको रहेछ । पछाडी झोला बोकेको थियो । अनुहार यति उज्यालो थियो कि जीवनमा पहिलोचोटी उसको सुन्दरताको असली रुप देख्न पाएको थिएँ । म घट्टबाट बाहिर निस्किँदै उसको खुशियालीमा सामेल हुन चाहेँ,”के भयो ? किन यसरी घोक्रो सुक्ने गरी कराको । अलि सानै स्वर पनि सुनिहाल्छु नि म ।”

उसले झोला झिकेर मोटामोटा कापीहरु झिकेर देखाउँदै भन्योः “मैले पुरस्कार जितेँ दाइ ।”

मैले ती कापीको मोटाइ र संख्या नापेँ । छवटा कापी र तीनवटा कलम थिए । अच्चम्म मान्दै सोधेँ

“कसरी यति धेरै पुरस्कार पायौ त ? अरु खेलमा पनि भाग लिएका थियौ ?”

“कहाँ हुनु दाइ ? हजुरका तीनवटै कथाले पुरस्कार जिते नि !”

कसरी एकैजनाले तीनवटा कथाको पुरस्कार कसरी पाउनसक्छ म अल्मलिएँ । मलाई त एउटै कथाले पनि पुरस्कार जित्दैन जस्तो लागेको थियो ।

“अरु साथीलाई पनि बाँडेर वाचन गर्न लगाएँ नि दाइ । उनीहरुले पुरस्कार पाएपछि मलाई नै दिए ।”

म खुशीले तीनबित्ता उफ्रिएँ र आवेशमा आएर उसलाई गालामा झ्याम्मै हिर्काएछु । 

ऊ एकातिर घोप्टिएर रुन थाल्यो, म अर्कोतिर घोप्टिएर रुन थालेँ । हाम्रो आँशुको मूल एउटै थियो । हाम्रा परेली र गाला मात्र फरक फरक थिए । 
००० 
त्यसपछिका दिनहरुमा पनि उसको जीवनमा आँधीबेहरीहरु आइरहे । त्यो आँधीमा मैले नजिकैबाट उसलाई टुलुटुलु हेरिरहेँ । कहिले उसले जुटाउने गासमा हुरी पस्थ्यो । कहिले उसको छाना छाउनै नमिल्ने गरी भत्कँदै गएको बासमा हुरी पस्थ्यो । कहिले जग्गाको किचलो बल्झन्थ्यो । 

ऊ ठूलो हुँदै गइरहेको थियो । सायद पीडा त ऊबाट बग्दा बग्दा रित्तिइसकेथ्यो होला । अब आफ्नै दयनीय अवस्थाप्रतिउसले उदेक मान्न थाल्यो । गाउँलाई मुख देखाउन पनि लाज मान्न थाल्यो । स्वार्थी गाउँले उसलाई कुनै सहयोग गर्न सकेन । जनकल्याणको लागि उफ्रिने र कुनै कुरा नछुटाएरर घोषणापत्र तयार गर्ने कुनै पनि राजनीतिक दलका प्राथमिकतामा उसको वेदना सम्बोधित हुन सकेन । 

नयाँ व्यवस्थाहरु फेरिइरहेका छन् । सामाजिक समावेशीकरणका नारा नउराल्ने कोही छैन । गाउँका विभिन्न वर्ग तथा समूहले केही फाइदा पनि लुटिरहेका छन् । तर ती वर्गभित्र पनि अर्को पीडित वर्ग छ भन्ने कुरा कसैको चासोमा पर्दैन । लोकबहादुरजस्ता पीडितहरुले निरन्तर पीडा भोगिरहेका छन् । उनीहरु कसैको प्राथमिकतामा पर्दैनन् । लोकबहादुर गाउँको लागि असहाय भइ नै रह्यो । 

फलस्वरुप लोकबहादुर एक रात घरबाट लामै समय हराइदियो । गाउँमा विभिन्न अड्कलबाजीहरु भए । केही समयपछि प्युठानतिर सेभ द चिल्ड्रेनमा ओभरसियर काम गरिरहेको प्रमाण आइपुग्यो । त्यसको केही वर्षपछि गाउँमा सानमानसहित अनुहारमा नयाँ खुशी बोकेर गाउँमा आइपुग्यो । तर गाउँले उसको खुशी आफ्नो खुशी मान्न सकेन । गाउँमा उसको पीडा बल्झिनै रह्यो । जसको मारवश् ऊ फेरि गाउँबाट बेपत्ता भयो । पछि नेपालगंजतिर जागिर खाइरहेको खबर आयो त्यतैबाट उसले बिहेसमेत गरेको खबर गाउँमा आयो । उसको परिवारको मलामी मात्र भइरहेको गाउँ उसको खुशियालीमा जन्त जाने निम्तो भने पाएन । 

केही समयपछि ऊ पनि काठमाण्डौ आइपुग्यो र म पनि काठमाण्डौ आइपुगेँ । हाम्रो आक्कलझुक्कल भेट हुन थाल्यो । उसको अनुहारमा पुराना घाउहरु मेटिए पनि नयाँ नयाँ पीडाका घाउका डोबहरु स्पष्टै देख्न सकिन्थ्यो । ऊ आफ्ना पिडा मलाई सुनाउन चाहँदैनथ्यो । मैले सोध्न पनि सक्दैनथेँ । शुरुदेखि अहिलेसम्मका उसका पीडा जोडजाड पारे महाभारतजत्तिकै लामो हुनसक्ला भनी अनुमान मात्र गर्न सक्थेँ । फेरि हामी दुईभाइ एकअर्कोबाट लामै समय हरायौँ ।

अस्ति मात्र उसको सम्झना आएकोले मैले नै फेसबुक सर्च गरेर उसको फोन नम्बर मागेँ । उसले मेरो पनि माग्यो र मलाई फोन गर्यो ।

“दाइ, म त तपाईँको नियमित पाठक नै हुँ । केही प्रतिक्रिया दिन सक्दिन र मात्रै ।” ऊ स्थानीय सडक पूर्वाधारमा काम गर्दै रहेछ । अपितु फोनमा पहिलेकै घाउ उप्काइरहेको जस्तो लाग्यो ।

ऊसँग कुरा हुँदा मलाई अलिक समय चाहिन्छ । घाँटीमा अड्किरहेका हिक्कासँग आँशु मुछेर निल्नु मेरो बाध्यता नै हुन्छ । यही अवस्थामा झन् पीडाले आक्रान्त देवकुमारी हाम्रो वार्तालाप सुनेर आँशु झारिरहेकी छिन् । यो कुरा उसलाई पनि थाहा छ । एकछिन फोन होल्डमा राखेर सहज भैसकेपछि जवाफ दिएँ मैले :

“हो भाइ ? पहिले तिमी लेख्न सक्दैनथ्यौ । अहिले म लेख्न सक्दिनँ ।” यो कुरा उसलाई थाहा छ । तसर्थ ऊ पनि फोन होल्डमै बसिदिन्छ र प्रतिक्रियाविहीन भैदिन्छ । केही बेरपछि सोध्छः
“मन दरिलो बनाउनुपर्छ दाइ,यी मलाई हेर्नुहोस् ।”

फोन होल्डमा राख्ने पालो अब मेरो हुन्छ ।देवकुमारी अरु भक्कानिन्छिन् ।

“त्यो त हो भाइ….., म तिम्रो बारेमा केही लेख्ने सोच्दैछु ।”

फेरि ऊ होल्डमा बस्छ र भन्छः “दाइ, तपाईँको पनि कथा बेग्लै छ नि । थोरै छ, तर निकै गहिरो छ ।”

म अब लामै समय होल्डमा बसिदिन्छु । मलाई थाहा छ उसको लोककथाको एकपाटो लेख्न मैले सयौँ हिक्का आँशु पिउनुपर्नेछ । तर असली लोककथाको पूरै भाग लेख्न मरिगए सक्नेछैन म । 

उताबाट केही बेरसम्म हातबाट तल खसेको फोनमा “हेलो ! हेलो !!” को आवाज आइरहन्छ । फोन उठाउने ताकतसम्म छैन ममा । लामो समयपछि फोन आफै सम्पर्क विच्छेद भैदिन्छ ।

म आफ्नो कथा आफै लेख्न सक्षम छैन । मेरो पूर्णकथा लेखिदिनको लागि अरु कसैले पर्याप्त मात्रामा आँशु र हिक्काको सञ्चय गरेजस्तो लाग्दैन मलाई ।

 40 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top