लेखकको गर्भ

हर्कभाइ

हो, यो चिठी मैले तिमीलाई नै लेख्दैछु । चिठी तिम्रै एउटा कमेन्टको विषयमा हो । जब रुकुमसँग एकहप्ते संसर्गको परिणामस्वरुप गर्भधारण गरेर अश्विनी कोइरालाले मंशिर १५ गते अनलाइन खबरको एउटा पानामा छुनुमुने छोरो जन्माइदिए, तिमी झसङ्ग झस्कियौ । आफू कोता नआएकोले त्यो छोरा मेरो होइन भन्यौ ।

म तिम्रो भावनाको उच्च कदर गर्छु । तिमी एक सशक्त प्रजनन क्षमता राख्ने बाबु हौ । यदि यो शंका अरु कुनै प्रजनन क्षमता नै ह्रास भैसकेका हनुमानहरुले गरेको भए मेरो सरोकारको विषय नै हुँदैनथ्यो । तर तिमीमा बाबु हुने क्षमता पनि छ र अहिले आमा बन्ने भूमिकामा जोडतोडका साथ लागेको बुझिरहेको छु ।

यो पनि नसोच कि तिम्रो शंका उपर मेरो विमति छ । तिमी जसरी मेरा तर्कहरुलाई तीनसय साठी डिग्रीका प्रत्येक कोणबाट घुमीघुमी हेर्छौ, म पनि त्यसरी नै तिमीलाई हेर्छु र अहिले एउटा कोणबाट विमतिजस्तो लागे पनि अर्को कोणबाट सहमतिमै पुग्दछु ।

सोही सन्तानको विषयमा नरेन्द्र केसीले पनि सन्तान आफ्नैजस्तो लागे पनि गर्भपात भएको हुनसक्ने अनुमान गरेका थिए । तिमी दुबैजनालाई म स्याबासी दिन चाहन्छु किनकि आफैले गर्भ बोकाएकी स्त्रीबाट सन्तान जन्मँदा त्यसलाई आफ्नो पनि स्वीकार्न नसक्ने र अस्वीकार गर्न पनि नसक्ने लोग्नेहरु के को बाबु ?

तर यो तिमीले कस्तो सन्तान चाहेका थियौ र अश्विनीले कस्तो सन्तान जन्माइदिए भन्ने कुराको विश्लेषण गर्न लेखिएको चिठ्ठी होइन । यो त लेखकहरुले कसरी गर्भधारण गर्छन् र कसरी सन्तान जन्माउँछन् भनी प्रजनन प्रोसेस बुझाउन खोजेको चिठ्ठी मात्र हो । अतः तिमीले नानाथरी सोच्न आवश्यक छैन अब ।

म लेखकहरुलाई आमाकै उपमा दिन चाहन्छु । उनीहरु विभिन्न समय, परिस्थिति, स्थान र परिवेशबाट गर्भधारण गर्दछन् र एक निश्चित अवधिसम्म गर्भाशयमा राखेपछि मात्र त्यसको जन्म दिन्छन् । उनीहरुको गर्भाशय भनेको दूध उम्लेझैँ उम्लिरहने मगज हो । त्यो गर्भाशयको अवधि अन्य प्राकृतिक गर्भधारणजस्तो कुनै निश्चित अवधि र विकासजस्तो होइन । उम्लिरहेको मगजमा समय र परिवेशका हजारौँ शुक्रकिटहरु नाचिरहेका हुन्छन् । लेखकको मगजमा पनि हजारौँ डिम्बहरु ती शुक्रकिट आकर्षण गर्न उम्लिरहेका हुन्छन् । प्राकृतिक प्रोसेसजस्तो यहाँ पसेका शुक्रकिटहरुमध्ये एउटा डिम्बमा छिरिसकेपछि अरु मरिजाने भन्ने नसम्झ । एउटै गर्भाधानमा थुप्रिएका शुक्रकिटहरु गर्भधारक बाँचुन्जेल बाँचिरहन्छन् । चाहेको बखत अर्को डिम्बको प्रयोग गरेर अर्को सन्तान जन्म दिनसक्छन् ।

केही भ्रुणहरु गर्भाशयमा तुरुन्तै हलक्क बढ्छन् र लेखकहरुलाई प्रसववेदना पैदा भैहाल्छ, फलस्वरुप तुरुन्तै जन्माउने परिस्थिति निम्तिन्छ । कुनै भ्रुण गर्भाशयमा यति सुस्तरी विकसित हुन्छ कि त्यो जन्मन दशकौँ लाग्न पनि सक्छ ।

अश्विनिले जन्माइहाले अब उनको रुकुमेली आमाको रोल समाप्त भैसक्यो भन्ने दृष्टिले पनि हेर्न हुँदैन । उनले रुकुमको संसर्गमा, अनुकूल समयमा, अनुकूल गर्भधारण गरेका छन् र उनले त्यस्ता सन्तानहरु अरु हजारौँ जन्माउन सक्दछन् । आशा गरौँ तिमीले चाहेकै जस्ता सन्तान पनि जन्माइदिनसक्छन् । भविष्यमा उनले जन्माउने कुनै पनि सन्तान तिमी कोता आएनन् भने तिमीले शंका गर्नैपर्छ, औँला उठाउनैपर्छ । तर गर्भवतीलाई शुरुबाटै लखेट्न थालियो वा आफ्ना शुक्रकीटहरु फिर्ता माग्न थालियो भने आमाको भूमिकामा रहेका लेखकहरुले सन्तान तुहाइदिने प्रबल सम्भावना रहन्छ ।

कुरा अश्विनिको मात्र होइन । त्यहाँ युवराज नयाँघरे, नयनराज पाण्डे, भूपीन खडका र कमल ढकालले पनि गर्भधारण गरेर आएका छन् ।
हामी सोच्छौँ पसलेलाई एउटा हातले एक रुपैँया दिएर अर्को हातमा एउटा चक्लेट प्राप्त भएजस्तै तुरुन्तै प्रतिफल आइहालोस् । तर लेखनकलामा त्यस्तो किमार्थ हुँदैन । मैले केही कार्यक्रममा भनेको थिएँ यसको प्रभाव दशकौँ पछिसम्म देखिनेछ ।

जस्तै अश्विनीले एउटा सन्तान एकहप्ता नपुग्दै जन्माइहाले । तर नयनराजलाई यसपटक गर्भ रहेको सन्तान जन्माउन बीस वर्ष वा सोभन्दा बढी पनि लाग्नसक्छ । युवराज नयाँघरेलाई एकमहिना लाग्न सक्छ भने भूपीनलाई पाँच वर्ष पनि लाग्नसक्छ । उनीहरु पनि जन्माउनको लागि उपयुक्त वातावरणको खोजीमा हुन्छन् र मात्र जन्माउन पुग्छन् ।

अतः गर्भवतीको भूमिकामा रहेका लेखकहरुलाई उपयुक्त वातावरण दिनको लागि बाबुहरुले पनि आफ्नो जिम्मेवारी निभाइदिनुपर्छ । उनीहरुलाई विभिन्न सूचना तथा सही तथ्यको खाँचो परेको हुन्छ । गर्भाधानको समयमा आकाशको तारा टिपेर ल्याइदिउँला भन्ने खालका कुरा मात्र गर्ने लोग्नेहरुसँग संसर्ग भयो भने उनीहरुले पनि आकाशकै तारा जस्ता सन्तान जन्माइदिने हुन् । धरातलीय यथार्थताका सन्तानको आशा गरेर कहाँ पाउनु ?

यो अभियान सञ्चालन गरिसकेपछि मैले प्रशस्तै बधाइ पनि पाएको छु र त्यतिकै मात्रामा गाली पनि खाएको छु । मलाई लाग्छ त्यो दुवै प्रतिफल प्राप्त गर्ने बेला अझै भैसकेको छैन ।
गर्भाधानको क्रममा लजाएर कुनामा लुकेर बस्ने लोग्नेहरुले जन्मिसकेको सन्तानलाई यसो भयो, उसो भयो भनी लाञ्छना लाउनुको कुनै तुक छैन । हिम्मतदार बाबुले अर्कैको सन्तानलाई पनि आफै पालीपोषी माया दिँदै हुर्काएर आफैजस्तो तुल्याउन सक्दछ । लाछी बाबुले आफ्नै सन्तानलाई पनि आफ्नो होइन भनी सधैँ शंका मात्र गरेर आफ्नैलाई पराइ तुल्याइरहेको हुन सक्छ । अतः स्वामित्व लिने तौरतरिकाले पनि सन्तानको भूमिका निर्धारण हुनसक्छ ।

यो जमाना बिचारको स्वतन्त्रताको युग हो । बिचारलाई साङ्लोले बाँध्न सकिँदैन । उनीहरुको आँखाले जे हेर्न खोजे, त्यही देखे । जे देखे, त्यही लेखे । यदि यथार्थतासँग मेल खाएन भने स्वस्थ बहस गर्न सकिन्छ । त्यसको तार्किक खण्डन गरेर देखाउन सकिन्छ ।
यस्ता कार्यक्रमहरुले अब गति लिनेछन् । बरु गर्भाधान गर्न आएका आमाहरुको आँखामा कालोपट्ट बाँधिदिनुभन्दा हाम्रा कमजोरीहरु कता के छन् ? कसले सुधार गर्नुपर्ने हो ? त्यो सुधारको जिम्मेवार व्यक्ति को हो ? सबैले हातेमालो गर्दै सुधारका गुञ्जायस रहेका ठाउँहरुमा सुधार गरौँ । यसरी जिल्लामा आउनेहरुलाई धरातलीय यथार्थताले आकर्षित गरौँ यसरी कि उनीहरुले धरातलीय यथार्थकै सन्तान जन्म दिउन् ।

तिमीलाई लेखेको पत्रबाटै रुकुमवासी तर हाल अन्यत्रै जागिरीको सिलसिलामा रहनुभएका भरतकुमार शर्माजीले गर्भधारण गर्न खोजेका एक हुल चराहरु कान्तिपुरीबाट उडेर रुकुमका सिमसारहरुमा पुग्दैछन् है भन्ने जानकारी पाउनासाथ यसरी गहिरो चासो लिइदिए कि कार्यक्रम सफलताउन्मुख भयो । यसरी जिम्मेवार व्यक्तिहरु अरुले पनि चासो लिइदिएको भए सन्तान पनि घोर्ले नै जन्मने पक्कापक्की थियो ।

तिम्रो शंका गराईमा ओज छ । शुरुमा आक्रामक रुपमा प्रस्तुत भएका तिमी पुछारमा आउँदा अझै आशा राख्न छोडेका छैनौ । अन्य नजरबाट हेर्न पनि सुझाव दियौ र अन्त्यमा अतिथिदेवो भवः भन्दै आम रुकुमेली भावनाले लेखकलाई ओतप्रोत तुल्याइदियौ ।

साहित्यिक कार्यक्रममा मैले भन्ने गरेका शब्दहरु पुनः दोहोर्‍याउँदैछुः
• कुनै ठूलाठूला कुराको महत्त्व सानो हुन्छ । कुनै सानासाना कुराको महत्त्व ठूलो हुन्छ ।
• भाषण होइन भाषालाई जोड दिऊँ ।

आशा छ यो चिठ्ठी तिमीले पनि प्राप्त गर्नेछौ र एउटा नजरबाट मात्र नहेरी धेरै कोणहरुबाट हेर्नेछौ भन्ने कामना साथ पत्रको बिट यहीँ मार्दछु ।

तिम्रो शुभचिन्तक
पूर्ण ओली

167 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *