Free songs
Home / प्रवचन संग्रह / लाइट हाउस कसरी बन्ने

लाइट हाउस कसरी बन्ने

  • ब्रह्माकुमार जगदीश चन्द्र

जब पहिले पहिले बाबालाई शिव बाबाको साक्षात्कार भयो, त्यसबेला हामीले उहाँलाई सामुन्ने राख्यौँ र याद गर्‍यौँ । त्यस समय बाबाको मुखारबिन्दबाट के निक्लियो ? बाबाले भन्नुभयो ‘एक लाइट थी, एक माइट थी । वो कहती थी तुम्हेँ एक नयी दुनियाँ बनानी है ।’ बापदादाको यो शब्द सुन्दा हामीलाई कस्तो अनुभव हुन्छ ? बृजेन्द्रा दादीले जब हामीलाई यो अनुभव सुनाउनुहुन्थ्यो, क्लासमा सन्नाटा छाउँथ्यो र सबै यस दुनियाँबाट हराएझैँ यस्तो अनुभव गर्थे कि हामी पनि त्यस लाइट र माइटको दुनियाँमा छौँ । सारा कोठा त्यस लाइटले भरिएको हुन्थ्यो ।

त्यस लाइटले के लक्ष्य दियो भने एक नयाँ दुनियाँ बनाउनु छ । यदि त्यस लक्ष्य हाम्रो सामुन्ने छ भने लाइट हाउसको स्थिति के छ ? र त्यसको कर्तव्य के हो ? भन्ने कुरा हाम्रो सामुन्ने आइहाल्छ । धेरै पटक बाबाले हामीलाई सम्झाउनुभएको छ कि ‘बच्चा हो, एक आँखामा मुक्ति र अर्को आँखामा जीवन मुक्ति हुनु पर्‍यो । यसबाट हाम्रो आँखा शुद्ध हुनेछन् र हाम्रो आँखाबाट अरुको साक्षात्कार हुनेछ । यो कहिले होला ? जब एक आँखामा मुक्ति र अर्को आँखामा जीवन मुक्ति होला । संसारमा कसैको दृष्टि कसैको देहको सुन्दरताप्रति, कसैको दृष्टि कसैको पैंसाप्रति, कसैको दृष्टि कसैको देहको सम्बन्धप्रति हुन्छ । तर कसैको दृष्टिमा पनि ‘यो एक आत्मा हो, यो ज्योति स्वरुप हो, यो आत्मा ज्योतिर्लोक परमधामबाट आएको हो, यो संसार एक यात्रालय हो, आखिर यो आत्मा एक दिन यहाँबाट उहाँ जानुछ’ भन्ने कुरा हुँदैन । हामीले पनि यी सारा कुराहरु भुल्ने भएकोले त्यो लाइटलाई भुलिहाल्छौँ । अतः हाम्रो एक आँखामा मुक्ति र अर्को आँखामा जीवन मुक्ति हुनुपर्छ ।

भागवतमा आउँछ कि श्रीकृष्णले आफ्नो मुख खोल्दा त्यो मुखमा उनकी आमालाई त्रिलोकको दर्शन भयो । यसको भाव हो कि हामी जो ज्ञानवान छौँ, योगको अभ्यास गर्छौँ, मन-बुद्धि र दृष्टि परमात्माले बताएको कुराहरुमा लगाइरहेका छौँ, हाम्रो मुखबाट पनि मान्छेहरुलाई त्रिलोकको दर्शन होओस् । हामीहरु यसरी कुरा गरौँ कि मान्छेहरुलाई तीन लोकको र तीन कालको परिचय मिलोस् । हाम्रो मुखबाट यस्तो ज्ञानरत्न निकालौँ । हाम्रो नेत्रमा लाइट नै लाइट देखियोस् । यो त्यसबेला सम्भव हुनेछ जुनबेला हाम्रो आँखामा मुक्ति र जीवनमुक्ति रहनेछ । लाइट हाउस को कर्तव्य हो कि समुन्द्रमा जहाजलाई बाटो देखाउनु र यहाँ बन्दरगाह छ, यहाँ यस्ता यस्ता सुविधाहरु छन् भनी बताउनु । समुन्द्रमा फलानो स्थानमा चट्टान छ, फलानो ठाउँमा खतरा छ, त्यहाँबाट जहाज गुज्रिएमा जहाज टुक्रिन सक्छ, डुब्न सक्छ । यसैप्रकार संसार सागरमा यात्रा गर्नेहरुलाई लाइट हाउसको काम गर्ने वाला हाम्रो स्थिति पनि यस्तै हुनुपर्छ । हाम्रो बोली, हाम्रो कर्म अरुलाई यस कुराको साक्षात्कार गराउने वाला हुनुपर्छ, परिचय गराउने वाला हुनुपर्छ कि ती अशान्त, दुःखी र दिशाहिन मान्छेहरुलाई दिशा र सुखशान्तिको मार्ग दर्शन होओस् । यति मात्र होइन हाम्रो जीवन नै उनीहरुलाई प्रकाश दिने वाला होस्, जब कि उनीहरु खतराबाट बचून् । हामीसंग कसैले परामर्श गर्दा वा राय सल्लाह सोध्दा उसको जीवन डुब्नबाट बचाउने अर्थात हाम्रो जीवनबाट मान्छेहरुको कर्म, अकर्म, विकर्मको गतिको थाहा होस् । जसरी आफ्नो मुखबाट त्रिलोकको दर्शन हुनुपर्छ र दृष्टिमा मुक्ति र जीवनमुक्तिको साक्षात्कार हुनुपर्छ, उसरी नै हाम्रो कर्मबाट मान्छेहरुलाई कर्म दर्शन गराउने वाला होस् । कर्म सिद्धान्त के हो ? बाबाले कर्म सिद्धान्तको बारेमा आफ्नो वचनबाट कमै बताउनुभयो र उहाँको प्राक्टिकल लाइफ नै त्यो कर्म सिद्धान्त बताउन सक्षम थियो । कर्म श्रेष्ठ के हो ? खराब कर्मबाट कसरी बच्ने ? यो कुरा बाबाले बच्चाहरुलाई कर्म गरेर नै देखाउनुभयो र सिकाउनुभयो । बाबाको सामुन्ने कैयौँ यस्ता परिस्थितिहरु आए । जस्तो कि कसैले बाबालाई अपमान गरे, निन्दा गरे, तापनि बाबा मुस्कुराइरहनु भयो । सहनशील बन्नुभयो र उनीहरुको साथ मधुर व्यवहार गरिराख्नुभयो । उनीहरुसंग कहिले पनि घृणा गर्नुभएन । सम्झनुभयो होला यिनीहरु नादान हुन्, अज्ञानी हुन्, बेसमझ हुन्, ड्रामामा यिनीहरुको पार्ट यही नै हो । योभन्दा ज्यादा कर्म सिद्धान्तको दर्शन कसले गराउन सक्छ ?

कसैले गलत काम गर्‍यो भने फस्छ, दिन प्रतिदिन गिरावटमा गइरहन्छ । तपाईँ कसैलाई क्रोध गर्नुहुन्छ भने अर्कोले झनै क्रोध गर्नेछ, फेरि तपाईँले अरु क्रोध गर्नुपर्नेछ । यसले अरु समस्या थुपार्छ । फेरि पतनतिर तीब्र गतिमा अघि बढ्दै जानुपर्छ । यस खतराबाट बच्ने उपाय के छ ? मधुरता अपनाउँ, सहनशीलता अपनाउँ, मित्रता अपनाउँ र असल कर्म अपनाउँ । जसरी जहाजलाई चट्टानमा टक्कराएर चूरचूर हुनबाट लाइट हाउसले बचाउँछ, त्यसरी नै तपाईँ पनि गलत व्यवहाररुपी चट्टानबाट टाढा रहेर असल व्यवहारबाट अरुलाई मार्गदर्शन गर्दै लाइट हाउसको काम गर्नुहोस् ।

कहिलेकाहीँ के हुन्छ, समुन्द्रमा कुनै जहाज गइरहेको छ, कुनै कारणले छिद्र परेमा पानी भित्र पसिरहेको छ भने अथवा यंन्त्रमा कुनै खराबी भएर डुब्न थालेको छ भने उसले टेलेकम्युनिकेशनबाट अरुलाई संकट सन्देश दिन्छ र मदद माग्छ । अन्य जहाज आफ्नो यात्रा रोकेर उसको मदद गर्न आइहाल्छन् । डुब्न थालेको जहाजलाई मदद गर्नु अन्तर्राष्ट्रिय नियम हो । यसैले अर्को जहाजले मदद गर्छ । जो लाइट हाउस हो, उसमा करुणा हुन्छ । दोस्रोप्रति दया भाव, कृपा भाव, अनुग्रह भाव र स्नेह भाव हुन्छ, यदि कोही अशान्तितिर, पतनतिर गइरहेको छ भने उसको मन चुप रहन सक्दैन । उसलाई बचाउनको लागि ऊ कुदिहाल्छ, आफ्नोतर्फबाट जति हुन्छ बचाउनको लागि कोशिस गर्छ । उसको पर्सनल जरुरी काम भए पनि त्यसको त्यहीँ रोकेर जीवन बचाउनको लागि प्रयत्न गर्छ । जो लाइट हाउस हुन्छ, ऊ आफै हल्का हुन्छ र अरुको मनमा भएको बोझ अँध्यारोलाई ज्ञानको रोशनीले प्रज्वलित गरेर हल्का गराउँछ ।

बाबा भन्नुहुन्छ, ‘हामी कहीँ गए पनि आसपासका लाई लाग्नुपर्छ कि त्यो को होला ? जो देवदूतझैँ लाग्थ्यो एक लाइट थियो, जो एक माइट थियो, एक अलौकिक व्यक्ति थियो, यस्तो अनुभव होओस् ।’ त्यस व्यक्तिको अनुभव एक संस्मरण होस् । जस्तो कुनै व्यक्ति महात्मा गान्धीका साथ रहेको होस् अथवा केही समयको लागि पनि उनको सम्पर्कमा आएको होस्, उसले हमेशा त्यस स्मृतिको याद गरिरहेको हुन्छ र अरुलाई आफ्नो अनुभव वा संस्मरण अरुलाई सुनाइरहन्छ कि म महात्मा गान्धीका साथ फलानो समयमा फलानो जेलमा थिएँ भनेर । म एक पटक एथेन्समा र एक पटक ब्राजिलमा बैज्ञानिकहरुको कन्फ्रेन्समा गएको थिएँ । त्यहाँ एक वैज्ञानिक आएका थिए, जो धेरै वृद्ध भइसकेका थिए । उनले कैयौँ पुस्तकहरु पनि लेखेका थिए र केही रिसर्च पनि गरेका थिए । उनले आफ्नो परिचय दिँदा हमेशा यही बताउँथे कि ‘मैले आइन्स्टाइनका काम गरेको थिएँ अथवा फलानो पुस्तक लेखेको थिएँ, त्यसको प्रस्तावना आइन्स्टाइनले लेखेका थिए अथवा फलानो विषयमा आइन्स्टाइनसंग पत्रव्यवहार गरेको थिएँ ।’ उनलाई आइन्स्टाइन बारम्बार याद आउँथे, ‘यस आधुनिक युगका धेरै ठूला मानिएका वैज्ञानिक जो थिए, म उनको निकट थिएँ ।’ त्यसैले यो एक संस्मरण बन्न पुग्यो र उनीसित आफूलाई जोड्नु धेरै ठूलो शौभाग्य थियो ।

बाबाले हामीलाई यति अनमोल खजाना दिनुभएको छ कि ज्ञानको योगको दैवी गुणको बारेमा हाम्रो साथमा जति समय बिताए पनि उसको लागि त्यो क्षण, संस्मरण क्षण बनोस् जसबाट उसले अरुहरुलाई पनि आफ्नो अनुभव सुनाओस् कि फलानो व्यक्तिसंग म थोरै समय कुरा गर्दा मलाई यस्तो अलौकिक अनुभव भयो । कहिलेकाहीँ रेडियोवाला टिभीवाला जब कसैको इन्टरभ्यू लिन्छ, उसले सोध्छ कि ‘तपाईँलाई सबैभन्दा ज्यादा कुन घटना या अनुभव याद आउँछ ? तपाईँको जीवनमा अति सुख वा अति वेदनाको कुन समय अथवा कुन घटना थियो ?’ यसप्रकार कसैले पनि हामीसंग परामर्श गरेको भए वा हामीसंग केही समय बिताएको भए, उसको त्यो क्षण संस्मरणीय होओस् । यो लाइट हाउस आत्माको केही कर्तव्य र लक्षण पनि हो ।

 

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 1,019 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top