Free songs
Home / कथा / लघु कथा / लघुबसाइका लघुकथाहरु

लघुबसाइका लघुकथाहरु

आजकै दिनको हिसाबले मेरो जन्मस्थल रुकुममा निजामती जागिरेको रुपमा पाइला टेकेको ठीक दुई वर्ष पार भएको छ । यतिखेरै जिल्लामा साहित्यिक मनका नयाँ प्रमुख जिल्ला अधिकारीको आगमन पनि भएको छ । उहाँसंगको पहिलो भेटमै उहाँको प्रकाशित कृति ‘काला सर्पको खोजी’ शीर्षकको लघुकथा संग्रह पढ्ने अवसर जुट्यो । प्रायः जीवजन्तुहरु नै कथाका पात्रहरु रहेका यो लघुकथा संग्रहमा सटिक कथावस्तु छनौट, सरल तथा सरस भाषा, तार्किक उपमाको माध्यमबाटै सामाजिक विकृतिप्रति तीखो व्यङ्ग्य गर्दै समाजसुधारको सन्देश दिने हेतुले प्रायः सबै कथाहरु रचिएका पाइन्छन् ।

उक्त कथाहरु पढेपछि सामान्य घटनालाई टिपेर पनि आलंकारिक कथा तयार गर्न सकिँदो रहेछ भन्ने विश्वास बढ्न जाँदो रहेछ र त म जबर्जस्ती लघुकथा लेख्न बसेको छु । तर कथा शुरुवात गर्न र त्यसलाई निश्चित दिशामा अघि बढाउन कठिन देख्छु । दिनमा घट्ने हज्जारथरी दीर्घताभाष् दिलाउने घटनाहरुमध्ये कुन घटनाको कथा लेखूँ ? सोचेँ धेरै लेख्नूभन्दा थोरै लेख्नू वेश् । अतः यी दुई दर्जन महिनाहरुको बीचमा घटेका लघुताभाष् दिलाउने कथाहरुमध्ये छिटफुट एक दर्जन लघुकथाहरुः

 

लघुकथा १

वृद्ध आमाबाको व्यथालाई नजिकैबाट नियालेर उहाँहरुको उत्तरोन्मुख जीवनकथा पढ्न म आएको थिएँ यहाँ । असीको नजिक पुगेर पनि फूर्तिसाथ सोलाबाङ-खलंगा-सोलाबाङ कुदिरहेकी आमा र त्यस्तै उमेरका बाबा जो चौबीसै घण्टा मदपानमा झुङेर पनि घर, परिवार र समाजको काममा अहोरात्र खटिरहेका छन् । चाहन्थेँ मैले, कि उहाँहरुको काममा म केही मद्दत गर्न सकूँ । तर हप्तादिनमा पनि आमाबाको निवासमा पुग्न मलाई धौधौ पर्यो । चारपाँचहजार जाने विदेशी सोमरस पिउन मलाई लोभ लागेन, तर आमाबाको मुख हेर्ने दिनमा समेत चालीसपचास रुपैंया पर्ने जुस किनेर कहिले पनि आमाबालाई पिलाउन सकिन ।

 

लघुकथा २

जब म सदरमुकामबाट वृद्ध आमाबालाई भेट्न विदाको दिनमा घर झर्थेँ । धेरैका धेरै प्रकारका नजरले मलाई पिछा गरिरहेको पाउँथेँ । गाउँमा झरिरहनुको तात्पर्य के हो भन्ने सम्बन्धमा स्पष्टीकरण पनि दिनुपर्थ्यो कहिलेकाँहि कसैकसैलाई ।

 

लघुकथा ३

म गाउँका बाग्दुले बाजेको निधन भएपछि जीवनमै पहिलो पटक मलामी गएँ । आफ्नै जीवनीलाई पहिलो अध्यायदेखि सर्सर्ती पढेँ, आजसम्म लामखुट्टे बाहेक कुनै जीवको पनि यी आँखा अगाडि हत्या भएको देखेको रहेनछु । आफ्नै मलामी कमाउनुपर्ने यस उमेरमा बाजेको चीता जल्दा मन असाध्यै जल्नपुग्यो ।

 

लघुकथा ४

केही आफन्तहरु अत्यन्तै मीतव्ययी भइसकेको पाएँ । उहाँहरुको मप्रतिको हरेक व्यवहारलाई तराजुमा तौलेर हेरेर आफूलाई अलिकति बढी फाइदा पुग्ने भए स्वागत गर्ने र कम फाइदा हुने देखिए दुत्कार गर्ने बानीको विकास भएको रहेछ । स्मरण रहोस्, मैले उहाँहरुसंग सम्बन्ध गाँस्दा कुनै नाफाघाटा केलाएको थिइन ।

 

लघुकथा ५

लेखनी पानी जस्तै हुँदोरहेछ । जुन भाँडोमा पस्यो, त्यस्तै देखिने । लेखनी पनि लत नै रहेछ, दिनमा धेरै पटक यस कार्यलाई छोड्ने प्रतिज्ञा गर्यो, फेरि केही न केही कुराहरु लेख्न तलतल लागि हाल्ने । हावा लेखियो, पानी लेखियो तर जसलाई लक्षित गरी लेखिएको हो उसले बुझ्दै बुझेन !

 

लघुकथा ६

जिल्लामा एकजना प्रखर विद्वान आइपुगे । सिद्धान्त र व्यवहारलाई सामञ्जस्यपूर्ण तुल्याउन सक्ने खुबी भएका यी व्यक्तिको मानवीय सद्गुणहरुलाई अवलम्बन गर्न कोही पनि तम्सिएन, बरु भेटघाट गर्न जानेहरुलाई चाकडीबाजको बिल्ला भिडाइयो । न्याय, ज्ञान, मिलनसारिताको कुशल संयोजन एकै व्यक्तिमा पाइनु दुर्लभ कुरा थियो । मानवीय स्वभावलाई कुनै तपस्या ठानी इन्द्रको आसन डगमगाइरहेको छ र उनको सातोपुत्लो उडिसक्यो । अब इन्द्रले कुनै न कुनै षडयन्त्र रच्ने सम्भावना छ ।

 

लघुकथा ७

एक परिवारको वास्तविक घटनालाई उतार्दै मैले ‘दाजुलाई एक बहिनीको चिठ्ठी’ लेखेर फेसबुक वालमा पोष्ट गर्नपुगेछु । एकदुई मिनेटकै अवधिमा पचासौँजना मित्रहरुबाट सो चिठ्ठीलाई ‘लाईक’ आयो । तर एक मित्रले ‘यो चिठ्ठी अरु केही नभई आँफैलाई व्यङ्ग्य गरेको हो’ भनी केही छिनमै त्यसको विरुद्धमा ‘कमेन्ट’ गर्नपुगे । एकछिन पछि ‘लाईक’को संख्या हेरेँ, मैले चीत खाएँ किनभने यस अघिकै लाईक गर्नेको संख्या अकस्मात् स्वात्तै घटिसकेछ!

 

लघुकथा ८

कुनै एक व्यक्तिले हिसाबकिताब बाँकि रहेकोले चुनावपछि असुल गरिने प्रतिबद्धता व्यक्त गरे । कसैको हिसाबकिताब बाँकि राख्ने खालको मान्छे म होइन भन्ने कुरा उनीहरुलाई बुझाउन मैले सक्दैसकिन । विभिन्न निहूँमा हिसाबकिताबको खोजी अहिले पनि भैरहेको छ । कूटनैतिक व्यापारको युगमा व्यापारीहरुले आफ्नो नाफाको लागि उधारो खातामा त्यत्तिकै हिसाब चढाएका पनि हुनसक्छन् । यस्तो मिथ्या हिसाब तिर्नु नपरोस्, तर वास्तविक हिसाब बाँकि भए देखाइयोस् भन्ने कामना गरेको छु ।

 

लघुकथा ९

जिल्लामा पाइलो टेक्दानटेक्दै छापकाण्डले पहिलो गाँसमै ढुङ्गा लगाइदियो । सूचीकरण हटाउँदा अर्को गाँसमा पनि ढुङ्गा भेटियो । भ्याटको अनिवार्यताले भागभरि ढुङ्गैढुङ्गा भेटिए । यी कुराहरु जानीजानी कसैको हित बिरुद्ध वा आफ्नो स्वार्थ अनुकूल गरिएका थिएनन् भनी बुझाउन अझै केही वर्ष लाग्ने देखिएकोले त्यो दिनको आगमनसम्मको लागि भागको गाँस हातमा लिएको छु, तर मुखमा हुल्न सकेकोछुइन ।

 

लघुकथा १०

खोला बगिरहेको ठाउँमा भवन निर्माण गर्दा उत्पन्न हुने सम्पूर्ण दोषहरु टाउकोमा थुप्रिरहेका छन् र पनि भवन निर्माणमा ढिलाई भैरहेको छ । प्राविधिक सहयोगीहरु, ठेकेदारहरु, तालुक निकाय, सामान आपूर्तिकर्ताहरु, सयथरी अनुगमन निकायहरु, सरोकारवालाहरु, गाउँलेहरु, संधियारहरु, अन्य कामका ठेकेदारहरु, बाटो हिँड्ने बटुवाहरु, मिस्त्रीहरु, ज्यामीहरु, खेल खेल्न जान्नेहरु, खेल खेल्न नजान्नेहरु, हुरीबतास, घाम, पानी, पशुपन्छीहरु सबले भवन निर्माणमा ढिलाई हुनुको दोष देखाउन कम्मर कसेर लागिपरेका छन्, तर के गर्दा निकास निस्कन्छ भनी सुझाउने र समस्याको गाँठो फुकाउन कोही पनि तयार छैनन् ।

 

लघुकथा ११

तालुक निकायले अजबको व्यवहार प्रदर्शन गर्दैछ । तलबमा पैंसा थप्दैन, अन्य सेवामा पैंसा थप्छ । उसको प्राथमिकतामा जेष्ठ तथा स्थायी कर्मचारीहरु पर्दैनन् ।

 

लघुकथा १२

उल्लेखित कथाहरुको भोगाइबाट पागल बन्नपुगिने सम्भावित खतरादेखि जोगाउने भूमिका सहकर्मी तथा शुभेच्छुक मित्रहरुले निर्वाह गरिरहेका छन् । उनीहरुकै सामिप्यताले गर्दा सबै समस्या, पीर, अभाव, पेलाई, दूर्गमको पीडा भुल्न सकिएको छ । छियाछिया भएको हृदयको परावर्तन आँखाबाट आँशुको रुपमा होइन, ओठबाट हाँसोको खित्काको रुपमा छोड्न सकिएको छ ।

 942 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top