नियात्रा १ः रुक्मिणी

भदौका प्रारम्भिक दिनहरु ।

मलाई हर्कसिंको सम्झनाले सताइरहन्छ । ऊ समय उब्र्यो कि पारिवारिक अवस्था, स्वास्थ्यस्थिति वा जागिरीको अवस्था वा समसामयिक राजनीतिक सरगर्मीको सम्बन्धमा सोधपुछ गरिरहन्छ । मलाई पनि यस्तै प्रश्न गरिरहून् भन्ने लाग्छ साथीभाइहरु ।

मलाई पनि अलिकति बोर भयो कि ऊसँग कुरा गर्न तलतल लागिहाल्छ । ऊ मेरो पुरानो विद्यार्थी, अहिले कोरियातिर भौँतारिरहेको छ । उसले रुक्मेली केसीको नामबाट फेसबुक चलाउँछ । मैले त्यही अकाउन्ट सर्च गरेँ र मेसेज पठाएँ: “कता गायब हो ? मेरो लागि दिल ओछ्याउन आफै अघि सर्दैनौ है तिमी ?”

हरेक साँझ आफ्नो काम सकिने बित्तिकै ऊ नै हाजिर हुन्थ्यो आफ्ना कुरा ओइर्‍याउन । आज मैले नै हतार गरेको थिएँ ।

“ओ मिस्टर मलाई जिस्क्याएको मन पर्दैन है । म त मान्छेसान्छे कुटिदिन्छु नि फेरि !” उताबाट जवाफ आयो ।

उसको जवाफ हेरेर म झसङ्गै झस्किएँ । मेरो अघि ऊ यसरी प्रस्तुत हुने खालको मान्छे पटक्कै थिएन । हदैसम्मको अनुशासित र इमान्दार विद्यार्थी थियो । अद्यापि ऊ मलाई आदर गर्नमा कतै चुकेको थाहा छैन । अहिले एक्कासी के भयो यसलाई ? मैले पुनः उसलाई सम्झाउन कोशिस गरेँ: “म पूर्ण ओली के, तिम्रो भूपू गुरु । तिमी अरुसँगै च्याटमा व्यस्त हो कि क्या हो ?”

“अनाहकमा जिस्क्याउनेलाई म गुरुशुरु भन्दिन है भन्द्याछ । कुट्नै परे कसैले बाँध्न सक्दैन मेरा हात ।”

“तिमी रुक्मेली केसी होइनौ र ?” मैले फेसबुक अकाउन्टकै नामले सम्बोधन गरेँ ।

“राम्रोसँग बुझेर कुरा गर । म रुकुमेली त हुँ, तर रुक्मेली होइन ।”

म बरक्क अर्को पटक बर्किएँ र हत्तपत्त चश्मा लगाएर आफूले सर्च गरेको अकाउन्ट हेरेँ । गल्तिवश् ‘रुक्मिणी केसी’ को मेसेज बक्स अन हुन पुगेछ । “थुइक्क होश् !” मैलै बस्दै गएका आँखा र गुम्दै गएको चेत दुवैलाई एकैचोटी धिक्कारेँ ।

“सरी है, जानीजानी जिस्क्याएको होइन ।” मैले क्षमा मागेँ ।

उताबाट क्षमा दिए/नदिएको कुनै रिप्लाइ आएन ।

भोलिपल्ट फेसबुक खोलेर हेर्दा उसैको मेसेज आएको भेट्टाएँ ।

“सरी । मबाट पनि गल्ति हुन पुगेछ ।”

“यो सामाजिक सञ्जालमा यस्तो त सामान्य हो । एउटालाई मेसेज गर्न खोजेको, नितान्त व्यक्तिगत मेसेज पठाउनै नहुने, अर्कोतिर पुग्छ कहिलेकाँही । तपाईँ रुकुम कुन ठाउँको हो र ?” उनले आफूलाई रुकुमेली बताएको हुँदा उनको विषयमा जान्न खुल्दुली बढेर आएको थियो ।

जवाफ पर्खिएँ तर उताबाट कुनै जवाफ आएन । त्यस दिन मात्र होइन त्यसपछिको तीनचार दिनसम्म पनि मेरो प्रश्नको जवाफको नामनिशानै आएन । मेरो लागि पनि त्यो घटना विस्मृतिको थुप्रोभित्र परिसकेको थियो ।

 

पुस्तकको करामत

असोज पहिलो हप्ता । एक दिन झुलुक्क रुक्मिणीकै नामबाट मेसेज आएर इन्बक्समा लुकिबसेको रहेछ ।

“नुवाकोट । तपाईँको नि ?”

अब मैले केही प्रश्न सोध्दा छोटकरीमा जवाफ दिन थालेकी थिइन् उनले । हामीबीचको वार्तालापको दूरी अङ्कगणितीय श्रेणीमा बिस्तारै घट्दै थियो ।

“के गर्दै हुनुहुन्छ ?” सोधेको थिएँ मैले

“पुस्तक पढ्दै छु ।” जवाफ आएको थियो । मेरो सोधाइको अर्थ थियो, ‘कुन पेशामा संलग्न हुनुहुन्छ’ भन्ने तर जवाफ थियो तत्क्षणको क्रियाकलापतिरको । म दायाँबायाँ सोध्न डराउँथेँ, किनकि रुक्मिणी भन्यो कि उनको पहिलो जवाफ ‘मान्छेसान्छे कुटिदिन्छु’ भन्ने धम्कीले तर्साइहाल्थ्यो ।

हामीबीचका थोरै थोरै कुराहरुबाट पनि उनको बारेमा धेरैभन्दा धेरै बुझ्दै गएको थिएँ मैले । उनको साहित्यमा ठूलो शोख रहेछ । नेपालगंजको बहुमुखी क्याम्पसबाट नेपाली साहित्यमा स्नातकोत्तर गर्दै रहिछन् ।

हामीबीच अब पढ्दै गरेका पुस्तकको विषयमा कुरा हुन थालेका थिए । चेतन भगतका उपन्यासहरु नबिराएरै खुब पढ्दिरहिछन् । मन भने तसलिमा नसरिनको लज्जाले सुटुक्कै खिँचेको रहेछ । रारा तालको भ्रमणमा निस्कँदा पनि हातमा प्रेमालय हुन्थ्यो । मतलब कतै निस्कँदा पनि कुनै न कुनै पुस्तक बोक्ने र सिध्याउने ध्याउन्न हुँदो रहेछ उनको ।

तर पहिलो चिनजानको क्रममा उनको जवाफको अड्बाङ्गे जवाफ मेरो दिमागबाट अझै बढारिन सकेको छैन । पुस्तकको चर्चा परिचर्चा सकिएपछि प्रत्येक पटक म उनलाई सोध्न बिर्सन्नः

“आखिर तिमी किन कुट्न चाहन्छ्यौ मान्छेहरुलाई ?”

“तपाईँ किन बारम्बार एउटै प्रश्नले झिज्याइरहनुहुन्छ हँ ? यो अहिलेको कुरा हो र ? जब म दश बाह्र वर्षकी थिएँ त्यसबेलाको कुरा पो हो यो । त्यसबेला धेरै केटाहरुले मेरो झापडको स्वाद चाखिसकेका छन् । कतिको त थुतुनो नै चिथोरिएका घाउका खतहरु अझै हराएका छैनन् । मेरै हातबाट कतिका कलम भाँचिएका थिए, कतिका कापीकिताब च्यातिएका थिए । मलाई मेरो गाउँमा अझै बिग्रेकी केटीको उपनामले चिन्छन् । उनीहरु अब म धेरै सुध्रिसकेकी छु भनेर पत्याउँदैनन् ।”

“साँच्चिकै हो र ?”

“साँच्चिकै हो । अब कुट्दिन के नडराउनू ।”

“तिम्रो संयमता र व्यवहार हेर्दा तिमीले मान्छे कुटेकी थियौ भनेर विश्वासै लाग्दैन मलाई । कुटेकै भए आखिर कुट्थ्यौ किन ?”

“म मेरो बालाई असाध्यै श्रद्धाको दृष्टिले हेर्थेँ । जसले मेरो बालाई हेपेको जस्तो लाग्थ्यो उनीहरु मेरो कुटाइमा पर्थे । ४५ वर्ष नाघेका वयोवृद्धसम्मले समेत मेरो कुटाइ खाएका छन् । मलाई पनि एकजना शिक्षकले कुटेका थिए । तर त्यो कुटाइलाई म प्रतिशोधको दृष्टिले हेर्दिन ।”

मैले प्रसङ्ग बदल्दै सोधेँ ।

“तिमी त्यसरी मान्छे कुट्दै हिड्ने मान्छे । तिमीमा के त्यस्तो घटना आइपर्‍यो ? र त्यसले तिमीलाई सवक सिकायो त सुध्रनलाई ?”

“त्यस्तो घटनासटना केही होइन । जब कोर्स बाहेकका पुस्तकहरु पढ्दै जान थालेँ, भित्रैबाट सुध्रनुपर्छ भन्ने ज्ञान पलाउन थाल्यो । सायद कोर्सका मात्र पुस्तक घोकाइएको भए म किमार्थ सुध्रिन्नथेँ होला ।”

म अवाक भएर उनका मेसेजहरु हेरिरहेको थिएँ । उनका मेसेज अंग्रेजी रोमन अक्षरको रुपमा फुत्तफुत्त ओइरिइरहेका थिए । शुरुशुरुमा पढ्न गाह्रो लाग्थ्यो । अब उनका अक्षरहरु शब्द वा वाक्य पूरा नहुँदै अनुमान गर्न गाह्रो पर्दैन मलाई । पुस्तकभित्र खाँदिएर रहेका अक्षरहरु अहिले मेसेजमा सल्याङबल्याङ गर्दा औधि आनन्द दिन्छ ।

“पुस्तक ? कुन पहिलो पुस्तक थियो जसले तिम्रो आँखा उघार्न मद्दत गर्‍यो ? जसले तिमीलाई लरबराएको कदम सही बाटोमा स्थिर गर्न मद्दत गर्‍यो ? जसले तिम्रो मनमष्तिष्कमा रश्मीको बिजारोपण गरिदियो ?”

“नयनराजजी पाण्डेको ‘उलार’ ले अहिले पनि आँधी मच्चाइदिन्छ दिलमा । जीवनका अर्थहरु बुझ्न त्यहीँबाट शुरु गरेजस्तो लाग्छ । युवराज नयाँघरेका यात्रा संस्मरणहरु सकभर नछुटाई पढ्ने गरेकी छु । ती नियात्राहरुले जीवनका यात्राहरुको दिशाबोध गराइदिए । अश्विनीजी कोइरालाको जुकरवर्ग क्याफेभित्रका कथाहरुले पनि जीवनका आधारहरु के कस्ता हुन्छन् भनी परिचित गराइदिए । मलाई यिनीहरुको पुस्तक गजब लाग्छ । असाध्यै मन पर्छ ।”

मेरा लागि यी लेखकहरु पूर्व परिचित नै थिए । घोष्टराइटिङ नेपालले सञ्चालन गरेको सिर्जनशिल कक्षाको दोस्रो ब्याजीको रुपमा मैले भाग लिँदा यी लेखकहरुसँग भेट्ने अवसर जुटेको थियो ।

छोटाछोटा संवादमै च्याटमा बङ्क हान्ने रुक्मिणी आज अलि लामोबेरसम्मै हाजिर भइन् । उताबाट एउटा कौतुहलता मिश्रित सोधनी आयोः “यी लेखकहरुलाई प्रत्यक्ष भेट्न पाए !”

यो प्रश्न उनको थियो, तर मेरै प्रश्नजस्तो लाग्यो र एक्कासी मथिङ्गलको चारै कुनामा यो प्रश्न घुमीघुमी उफ्रन थाल्यो ।

257 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *