Free songs
Home / संस्मरण / रातिका साथी (भाग ३)

रातिका साथी (भाग ३)

“अब के गर्ने ? अगाडि बढ्ने अर्को बाटो पनि छैन !”

“मलाई के सोध्नुहुन्छ त ? म कहिल्यै यो बाटो आको भए पो ? यतै बाटोमै बसौँ !”

“यस्तो चिसोमा बाटोमै कसरी बस्ने ? बाटोमा बसेर पनि हामी सुरक्षित त छैनौँ । कस्तो संकटमा फँसियो । उफ् !”, प्रेमको दिक्दारीको सुस्केरा निकै परसम्म पुगेको हुनुपर्छ ।

मैले झट्ट कतै पढेको याद आयो र प्रेमको मनोबल बढाउने हेतु भए पनि भनेँ, “मुसेउला भए डराउनुपर्दैन । त्यो भूतप्रेत केही होइन । लासका सुकेका हड्डीहरूबाट निस्किएको फस्फोरस हो । फस्फोरस हावामा घर्षण हुँदा रातमा आगो बलेको जस्तो देखिन्छ रे ।”, मैले सकभर जिब्रो नकँपाएर प्रेमलाई सुनाएँ । मेरो वैज्ञानिक पुष्ट्याइँबाट न प्रेम विश्वस्त भए, न त आफ्नै मनलाई बुझाउन सकेँ । हातगोडा लगलगी काँपिरहे । मुटुले ढ्याङ्ग्रो ठटाइरह्यो ।

“फर्के पनि जोखिम नै छ । जे पर्ला पर्ला, जाऊँ अगाडि । जिउँदो मान्छे जत्तिको दुष्ट मरिसकेको प्रेत हुँदैन । बरु हामी कसैगरी जिउँदा मान्छेहरूबाट बच्नुछ ।”, प्रेम पछि लागेर मलाई अगाडितिर घचेट्न थाले ।

“मलाई घचेट्नुभन्दा तपाईँ अघि लाग्नोस् न !”, अगाडि बढ्नको लागि मेरा खुट्टाहरू लुला भइसकेका थिए ।

“कस्तो डरपोकको साथ गरिएछ !”, भन्दै प्रेमले मलाई अगाडितिर घचेटिरहे । म अघिअघि लड्खडाइरहेँ । अब हामी बगरमा ओर्लिसकेका थियौँ ।

नदी किनारको चिसो सिरेटोले हत्तपत्त हाम्रो स्वागत गर्यो । हामीले परैबाट देखेका भूतजस्ता काला थुप्राहरू मान्छे पोलेर रहेका मुढाहरू रहेछन् । हामी जति जति नजिक पुग्यौँ मुसेउला उति उति देखिन छाडे । नजिक पुग्दा मुसेउला देखिँदैनन् भनेको हो रहेछ । डर मान्नुपर्ने कारण नहुँदा नहुँदै पनि हामी भरसक सास रोकेर घिस्रिरहेका थियौँ । ढुङ्गा, रूख, पात जे देखे पनि बरक्क बर्किने अवस्थामा पुगिसेका थियौँ हामी । बगरै बगर अगाडि बढेको पन्ध्र मिनेट जति भएथ्यो होला ! पन्ध्र मिनेट कटाउन पनि पन्ध्र घण्टा कटाउनु जस्तै महामुस्किल भयो ।

भेरीको गड्गडाहट अचानक बढेर गयो । म फेरि तर्सिएँ, “भेरीमा भल उर्लियो कि ? हामी अझै बगरमै छौँ ।”

“आउन पनि सक्छ । तर चार पाँच दिन यता पानी परेको जस्तो छैन । यो स्वर भलको भने होइन ।”

“आँधी चलेर आवाज चर्केको हो त ? हावा पनि बढेको त छैन ।”

मेरो डर देखेर प्रेम मतिर फर्किए र जिउ हल्लाउँदै खित्खिताए । उनको हाँसोले मेरो आधा डर उडाइदियो ।

उनी अघि लागेर हिँड्दै मलाई बेलिबिस्तार लगाउन थाले, “तलसम्म दुईवटा भेरी मिसिएको अवस्था थियो । अब दुई भेरी छुट्टिँदै छन् । यो रिम्ना दोभान हो । ठूली भेरी उतापट्टिबाट जाजरकोट र रुकुमको सिमाना हुँदै आएर यहीँ मिसिन्छ । सानीभेरी भने रुकुमको बीच भएर बगेको छ । सानीभेरी एक्लै बग्दा चर्को स्वर निकाल्छ ।”

“किन नि ?”

“बूढापाकाहरूले के भन्छन् भने सानातिना वस्तुहरूले ठूलो स्वर निकालेर अहंता प्रदर्शन गर्छन् । ठूलाहरू संयमित देखिन्छन् । सानै स्वरमा धेरै कुराहरू भन्छन् । तर वैज्ञानिक कारण के हो भने ठूलीभेरीको भन्दा सानोभेरीको भिरालोपन बढी छ, तसर्थ सानोभेरीको ठूलो आवाज निस्किएको हो ।”

केही परबाट बाटो उकालो लाग्यो । अनि मात्र आँट उकालो लाग्यो र डर ओरालो । हामीले उकालो बाटोलाई अरू हिम्मतका साथ पछ्याउन थाल्यौँ । कुकुरहरू हामी गाउँ छिरेको सुइँको दिँदै स्वागतार्थ भुक्न थाले, हामीमा झन् आँट थपियो ।

“अब त गाउँ आइपुग्यो । डराउनु पर्दैन । छाड्नोस् म अघि लाग्छु ।”, प्रेमले बल्ल हिम्मत देखाए ।

“कुन गाउँ हो र यो ?”, मैले सोधेँ ।

“गीठाकोट ।”

“गीठाकोट ? यहाँ त मेरो दश कक्षाका साथी शिवप्रसाद पुनको घर पनि छ । यतैतिर साथी आकाशगङ्गा बिसीको घर पनि छ । जाऊँ उनीहरूको घर खोज्दै । उनीहरूले हामीलाई स्वागत सत्कार गरी बास दिनेछन् ।” मैले उत्साहसाथ प्रस्ताव राखेँ ।

“यत्रो बस्यौ बास ? यहाँ त मेरा पनि सय जनाभन्दा बढी साथीहरू छन् । गङ्गा बिसीको घर त पुर्तिमकाँडातिर हो जो भर्खरै काटिसक्यौँ । साथी भएर पनि के गर्नु ? भोलि जङ्गलगाउँमा चोर पसेको हल्ला यहीँसम्म आइपुग्नेछ । त्यहाँका मान्छेहरू उज्यालो हुनेबित्तिकै सोधखोज गर्दै यहीँसम्मै आइपुग्नेछन् । उनकै कुरा पत्याए भने के भन्लान् साथीहरूले ? अब धेरै छैन । दश पन्ध्र मिनेटमै सिम्ली आइपुग्नेछ ।”

“कति बज्यो र ?”

“साढे बाह्र भए छ ।”, प्रेमले समय बताएपछि भन्न मन लागेको थियो, “पाँच घण्टामै मुसिकोट पुगिन्छ भन्दैथ्यौ नि, सात घण्टामा आधाबाटो पनि पुगेनौँ त ? यत्रै जितियो त जनार्दनलाई ?”, तर रातिका साथीको मन दुखाउनु उचित थिएन । ओठमा निस्कन बल गरिरहेको जवाफलाई घाँटीमाथि निस्कन दिइनँ ।

हामी तेर्सैतेर्सो हिँडिरह्यौँ । बाँधिएका कुकुरहरू जोर जोरले घर घरबाट भुकेर हामीलाई सजिलो बनाए । नबाँधिएका कुकुरहरू हाम्रा नजिकसम्म आउँथे । हामीले ढुङ्गाले हानेर धपाएझैँ गथ्र्याैँ तर कुकुरहरू अझै नजिकै आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।

आधा घण्टा हिँडेपछि फेरि जङ्गल सुरु भयो । उत्तिसको सानो जङ्गल । अलि पर पुगेपछि प्रेम फेरि बरक्क बर्किँदै टक्क रोकिए । बेटरी भने हामी जाने बाटोतिरै देखाइरहेका थिए ।

जिउ नचलाई मन्टो बटारेर मेरो कानमा फुसफुसाए, “उता हेर्नुस् त !”, बेटरीले फालेको उज्यालोतिर हेरेँ । हाम्रै बेटरीतिर फर्किएका त्यहाँ दुई वटा अरू नीला बेटरीहरू देखिए ।

“कुकुर होला ! हामीलाई अघिदेखि नै कुकुरले पछ्याइरहेका छन् ।”, मैले अड्कल काटेँ ।

“कुकुरका आँखा नीला हुँदैनन् । कि त बनबिरालो होला, कि त बाघ ।”, प्रेमले स्वर निकै घटाए ।

“बिरालो नै होला उसो भए ।”, मेरो जिउमा फेरि काँडाहरू उम्रिए । मैले पनि स्वर घटाएँ ।

“बिरालाका आँखा त्यति ठूला हुँदैनन् । बाघ नै हुनुपर्छ ।”

“के गर्ने त अब ?”

“बाघको आँखा नधिप्किने गरी बेटरी बिस्तारै यही बाटोमै छोड्ने । हामी पछि सर्दै तीन चार कान्लामाथि उक्लने ।”, उनले सासले मात्र बोले ।नभन्दै त्यो विशालकाय जन्तु पनि बेटरीतिर झम्टियो र ढुनमुनिँदै धेरै तल खसेको आभास भयो ।

उनले आफैँले सुझाएअनुसार अत्यन्तै सावधानीपूर्वक बेटरी बाटोमै राखेर पछि सर्न थाले । मैले उनलाई चपक्कै समातेर उनकै पछिपछि घिस्रिएँ ।
हामी केही हात पछि सरेर एक कान्लामाथि त उक्लियौँ, तर त्योभन्दा अगाडि बढ्ने ठाउँ नै थिएन । कान्लामा छुपुक्क लेपास्सिएर त्यो जन्तुको चाल हेर्न थाल्यौँ । केहीबेरपछि जन्तु हाम्रो बेटरीको नजिक नजिक सर्न थाल्यो ।

प्रेम मेरो कानमा फुसफुसाए, “त्यो जन्तु बेटरीसम्म आइपुगेपछि आफू झुक्किएको चाल पायो भने गन्ध सुँघ्दै आएर हामीलाई नै आक्रमण गर्नसक्छ ।”

“के गर्ने त ? तपाईँ नै भन्नू न !”

“बेटरीलाई ढुङ्गाले हानेर कान्लामुनि पुर्याइदिने !”

यति भनी नसक्दै ठूलै ढुङ्गा उठाएर प्रेमले आफ्नै बेटरीमा प्रहार गरे । हामीलाई अहिलेसम्म बाटो देखाइरहेको बेटरी उज्यालैसँग तलतिर ढुनमुनियो । तलपट्टि भीर थियो । नभन्दै त्यो विशालकाय जन्तु पनि बेटरीतिर झम्टियो र ढुनमुनिँदै धेरै तल खसेको आभास भयो । हामी उतिखेरै बाटोमा ओर्लेर अँध्यारोमा अगाडितिर फालहाल्न थाल्यौँ । हामीलाई यति लामो रात्रियात्रामा साथ दिएको बेटरी गुमाइसकेका थियौँ ।

केही टाङ्ग मात्रै पर के पुगेका हुँदा हौँ हाम्रो अगाडि फेरि अर्को विशालकाय जन्तुले फ्वाँककक गरेर आफ्नो उपस्थिति जनायो । हाम्रो होसहवास गुम भयो । त्यो बाघ त फर्केर हाम्रो बाटो छेक्न यहीँ पो आइपुगेछ !

एकअर्कालाई अङ्गालो हालेर हामी थुचुक्क बाटोमै बस्यौँ । यताउति गर्ने विकल्प नै थिएन ।

अलिकति पर गाईहरूले बाँबाँ बुँबुँ गरे । तर त्यो जीव हामीमाथि आक्रमण गर्नुको साटो हामीलाई नजिकैबाट सुँघेर फरक्क पो फर्कियो । बल्ल थाहा पायौँ कि त्यो त पाटा बाँध्न ल्याइएको बडेमानको ’बल्ल’ (गोरु) पो रहेछ जो दाम्लो चुँडालेर चर्दै अलिकति अगाडिसम्म आइपुगेको रहेछ ।

अलिकति पर धिपधिपे आगोको उज्यालोमा परालको सानो छाप्रो देखियोे । छाप्रोको छेउमै मुढा सल्काइएको रहेछ । हामी छिटोछिटो छाप्रो छेउमा पुग्यौँ र गह्रौँ हुँदै गएका झोलाहरू एकातिर मिल्काएर चिसिएर दुखिरहेका हातगोडाहरू मुढाको आगोमा सेकाउन थाल्यौँ । छाप्रोभित्र झिरको भारी नै रहेछ । पाटा बस्ने मान्छेको खोजतलास ग¥यौँ । परालको ओछ्यानमाथि दरी र च्यादर मात्र भेटियो । मान्छेहरू भेटिएनन् । प्रेमले अड्कल गरे, “तन्नेरीहरू छोट्टी बस्न गए होलान् ।”

“छाप्रो पनि छ, आगो पनि छ, ओढ्ने ओछ्याउने पनि छन् । आगोको मुढो अगाडि कुनै जन्तु नआउने भएकोले सुरक्षित पनि हुने भयौँ । यति भए अरू के चाहियो र हामीलाई ? थकानले चूर परिएको छ । यतै सुतौँ उसो भए ।”, मैले आगोको मूढा छेउमा चौरङ्गे पर्दै प्रेमलाई आफ्नो अवस्थाको जानकारी गराएँ । प्रेमको अवस्था पनि त मेरोभन्दा कहाँ कम्ता थियो र ?

“काँ होला त्यस्तो ? अब चौतारा पुग्न आधा घण्टा पनि लाग्दैन । यतिसम्म आइसेकपछि घर नपुगी काँको बाटै बस्नू ?”, उनले मेरो आग्रह मान्ने छाँट देखाएनन् ।

बरु मलाई बोक्न दिइएको झोला प्रेमले आफैँले लिए र मलाईचाहिँ त्यहाँ रहेको एक बिटो झिर बोक्न लगाए । उनले एकमुठो झिर मुढोको आगोमा सल्काएर मेरो हातमा पारे । आगोको राँकोले धेरै परपरसम्मको बाटो देखियो । न्यानो उत्तिकै । उज्यालोको सहायताले हामीमा अपूर्व उर्जा थपियो । बाटो देख्न निकै सहज भयो । अब रात्रिकालीन सबै जोखिमहरू आगोको उज्यालोले नै टर्ने कुरामा ढुक्क भयौँ । आधा घण्टाको हिँडाइपछि पर अर्को गाउँ आइपुग्यो । प्रेमले आँफै चिनाए, सहरे । फेरि अर्को आधा घण्टामा अर्को गाउँ भेटियो, उनले भने “फुक्रू हो यो ।”

फुक्रूपछि एउटा खोला आइपुग्यो । खोला तर्दै मैले भनेँ, “सिम्ली आइपुग्यो ! यहाँबाट जोगीनेटाको बाटो हुँदै धेरै पटक म चौरजहारी पुगेको छु । पारिपट्टि गराइलाको ठूलो फाँट छ ।”

“अब आधा घण्टामै हामी चौतारा पुगिसक्ने छौँ ।”, प्रेमले फूर्ति लगाए पनि मलाई थाहा थियो कि अझै कस्सिएर हिँडे पनि डेढ घण्टाभन्दा अघि चौतारा मरिकाटे पुगिँदैन ।

“चौतारा पुगे भइहाल्ने ? सोलाबाङ पुग्नु नपर्ने ?”, मैले विरोध जनाएँ ।

“चिहानै चिहानहरू भएको मुग्लुखोलाको किनारैकिनार भएर एक्लै जान्छु भन्नुहुन्छ भने म बाटो छेक्दिनँ । तर भूतप्रेतहरू जागेर यताउता हिँड्नेबेला बिहानपख नै हो ।”, डरको भारी नबिसाउँदै प्रेमले अड्कलेर ममाथि अरू डर थोपरिदिए ।हातमा आगोको राँको हुने हो भने जस्तै रातमा पनि डर नलाग्दो रहेछ । झिर सकिएकोले ममा फेरि चीसो पस्यो, “के गर्ने अब ?”

हामी सिम्लीपछि सानीभेरीको किनारैकिनार हुँदै सुलीहाले पुग्यौँ । सुलीहालेपछि केहीबेर सानीभेरीको किनार पछ्याएर हल्का उकालो चढेर हाँसीबाङ पुग्यौँ । हाँसीबाङसम्म मैले बोकेको झिरको बिटो पनि सकियो । हातमा आगोको राँको हुने हो भने जस्तै रातमा पनि डर नलाग्दो रहेछ । झिर सकिएकोले ममा फेरि चीसो पस्यो, “के गर्ने अब ?”

“अब केही नगर्ने । सबै कुरा मलाई छोडिदिने । यहाँदेखि मलाई कुनै उज्यालोको आवश्यकता छैन । अँध्यारोमा आँखाको काम मेरा खुट्टाले नै गर्छन् ।” प्रेमले फेरि फूर्ति लगाए । मैले अड्कल काटेँ, यो बाटो हजारौँचोटि प्रेमले नापिसके होलान् । त्यसैले आँखा चिम्लेर खुट्टैको भरले हिँड्नसक्छु भनेका होलान् ।

हाँसीबाङमा प्रेमले ठूलो स्वर झिकेर हल्ला गर्दै घर घरका साथीभाइलाई बोलाउँदै हिँड्न थाले । “ए आइते ? ऐलेसम्म के सुतेको, उठ् ! ए चैते के गर्दैछस् ? बाहिर निस्की ! ए कात्तिके, भित्र छस् कि छैनस् ? ए ठाइँला, ए सोल्टी !” आदि आदि । उनको स्वर पारिपट्टिको ज्यामिरे लेकमा ठोक्किएर प्रतिध्वनित भइरहेको थियो ।

हाम्रो अघि पछि लागेर आएको डर र थकान प्रेमको हल्लीखल्लीले हामीदेखि चुपभान भाग्यो । मलाई सोलाबाङ पुगे जत्तिकै हाइसुख्ख भयो । उनले बीच बीचमा ठारीभाका गीत पनि झिके र मलाई मिस्याउन लगाए । प्रेमको घर नजिक पुग्दै गर्दा हामी दुई बीच दोहोरीसमेत चल्यो ।

यस्तै गर्दै जाँदा बाटुलेचौर हाम्रो नजिक आइपुग्यो । त्यसपछि लोरीबाङको समथर फाँट पनि देखियो । अँध्यारोका घरहरूका आकृतिहरू देखिए । घर घरबाट कुकुरहरू भुक्न थाले । लोरीबाङदेखि प्रेमको हल्ला कम हुँदै गयो । दोहोरी रोके । केही बेरमै चौतारा पनि आइपुग्यो । चौतारा पुगेपछि प्रेमको स्वर बसिसकेको थियो ।

मलाई घरआँगनमा पुगे जत्तिकै आनन्द भयो । मैले प्रेमको अगेनाको ढिकमैरा पल्टिएर दुखिरहेको पिठ्युँ सेकाउने सपना बुनिरहेको थिएँ । सायद ताततातो भात नै फेला पर्नसक्छ भन्ने कल्पना गर्नेबित्तिकै पेटमा मुसा दौडन सुरु गरिहाले । यतिबेला बिहानको साढे तीन बजिसकेको थियो ।
“ऊ त्यै हो मेरो घर । तपाईँ यतै बाटोमा उभ्भिइराख्न्नुस् । म घर जान्छु ।”, गाउँको सबैभन्दा ठूलो घरतिर औँल्याउँदै झन् भयानक जङ्गलीजन्तु देखेजसरी प्रेम मेरो कानमा फुस्फुसाए ।

“तपाईँको घरमा आइपुगेपछि म किन बाटोमै उभिने ?”, सधैँ बाङ्गो बोल्ने प्रेमले बाङ्गै बोलेको होलान् भन्ने लाग्यो मलाई ।

“त्यस्तै छ कुरो ।”, प्रेमले आफ्नो घरमा जाऊँ नभनेपछि म उनको पछि लाग्ने कुरै भएन । मुसिकोटको डाँडोबाट ब्यानतारो निस्कने बल गरिरहेको थियो, पश्चिमपट्टि तीनआँख्ले अस्ताउने बल गर्दै थियो । त्यसैको अलिअलि उज्यालो हाम्रो बाटोमा पोखिएको थियो । म मूलबाटोमै बिलखबन्द परी उभिँदै उनी घरतिर गएको कालो छायाँ हेरिरहेँ । प्रेम आफ्नो बार्दलीमा पुगेर झोलाहरू थन्क्याए । बार्दलीमा सुकाइराखेका केही लुगाहरू झिके र फर्किएर मेरो छेउमा आइपुगे ।

“जाऊँ उता !”, मुसेउला र बाघसँगको जम्काभेट हुँदाको बखतको कुराको भन्दा पनि झन् मसिनो स्वर पार्दै उनले मलाई तान्न थाले । मैले पनि उनलाई पछ्याउन थालेँ । उनी घर नजिकैको परालको टौवामुनि पुगे र परालका मुठा तानेर भुइँमा बिछ्याए । हातमा बोकेको कम्मल परालमा फिँजाए । एउटा सिरक मलाई दिए र अर्को आफूले ओढेर गुटमुटिए ।

“त्यहीँनेर तपाईँको बडेमानको घर छ, तपाईँचाँहि परालको टौवामा किन सुत्ने ? मलाई घरभित्र लानुहुन्न भने मलाई मात्र यहाँ छोड्नोस्, कम्तीमा तपाईँ त घरभित्र जानूस् ।”

“कस्तो तपाईँ पनि ? कुरै बुझ्नुहुन्न !”

“के कुरा बुझ्ने मैले ? रातको बखतको कठिन यात्राको सँगसँगै मान्छे नामका राक्षस, भूतप्रेत, बाघसमेतको जोखिम टारेर आइएको छ । तर घरमै आइपुगेपछि पनि किन परालको टौवामा सुत्नुपर्ने हामी ?”

“स्वास्नीमान्छेहरूलाई कुरा बुझाउन सकिएन भने भूत र बाघ–भालुभन्दा पनि खतर्नाक हुन्छन् । दिनको बेलामा भन्दा रातको बेलामा उनीहरूलाई कुरा बुझाउन गाह्रो हुन्छ । मेरो घरमा अहिले स्वास्नीमान्छेहरू मात्र छन् ।”

“हँ ? हँ ? किन ? किन ?”, प्रेमले मेरो जिज्ञासाका कुनै जवाफ दिएनन् ।

को स्वास्नीमान्छेका कुरा गरेका हुन् यिनले ? यिनकी पत्नीलाई त म चिन्दिनँ, किनकि कहिले देखेकै छैन । यिनकी बहिनी भने महिला संगठनकी जिल्ला सभापति थिइन् रे भन्ने सुनेकोसम्म हुँ । प्रेमकी आमा पनि होलिन् घरमा ।

“अब जनार्दनलाई जित्नु नपर्ने ? उनीहरू पनि रातारात हिँडेको भए मुसिकोट पुग्न थालिसके होलान् ! जाऊँ बरु सुत्न मेरै घरमा । आधाघण्टामै पुगिन्छ ।”, मैले प्रेमलाई व्यङ्ग्यमिश्रित घुर्की पेश गरेँ ।खोलालाई ठाउँ ठाउँ थुनेर माछा छोप्ने तालहरू बनाइएको रहेछ । थापिएका ढरियाहरूमा माछा परे नपरेको हेर्न आउनेहरू मात्र थिए खोलाभरि ।

“मैले उनीहरूसँग कहाँ हारेको छु र ? मेरो घरमा आइपुग्न अझै थप एक दिन लाग्नेछ उनीहरूलाई ।”, सुस्तरी बोले उनी ।

“उनीहरूलाई जित्न त उनीहरूको गाउँ सेरिगाउँसम्म नै पुग्नुपर्यो नि त ?”

केहीबेरसम्म उनको कुनै जवाफ नआएपछि मैले उनलाई झक्झक्याएँ, उनी त गाढा निद्रामा फ्वाँ फ्वाँ गर्न थालिसकेछन् ।

मलाई भने निद्रै आएन । बाक्लो पराल थियो र उत्तिकै बाक्लो सिरक भएकोले जाडो थिएन । घरनजिकै भएकोले मनमा डेरा जमाएको सबै प्रकारको डर हराइसकेको थियो । तर पनि निद्रा मेरो नजिक पर्न डराइरह्यो । कोल्टे फेर्दैमा दुई घण्टा बित्यो । छ बजेपछि मात्र झुसमुक उज्यालो भयो । प्रेम निद्रामै घुरिरहेका थिए । उनलाई उठाउन उपयुक्त ठानिनँ । जुरुक्क उठेर टोपी खोजेर लगाएँ । जिउमा लागेको परालको झुस र धुलो झारझुर पारेँ । आफूसँग बोक्ने समाउने कुरा केही थिएन । उठेर लुरुलुरु सान्चौरतिर लागेँ । सान्चौरबाट मुग्लुखोला झरेँ । मुग्लुखोलाको पानीमा खुट्टा चोबल्दो हिउँ जत्तिकै चीसोले सलक्कै पोल्यो । खोलालाई ठाउँ ठाउँ थुनेर माछा छोप्ने तालहरू बनाइएको रहेछ । थापिएका ढरियाहरूमा माछा परे नपरेको हेर्न आउनेहरू मात्र थिए खोलाभरि ।

अब मेरो जन्मघर मतिर नजिक नजिक सर्दै ममा अपूर्व जाँगर थपिरहेको थियो । म अब स्वतन्त्र भएर खोलामा एक्लै फालहाल्न थालेँ । प्रेम सँगै भइदिएको भए जनार्दनलाई जित्नकै लागि फालहालेको सोच्दा हुन् । कतै स्याँकू तर्दै, कतै ढुङ्गामा फड्कँदै, त कतै चीसो पानीमा जाकिँदै काउलेचौर पार गरेँ । केहीबेरमा भूम पनि आइपुग्यो । भूमको वाल्नोपट्टि क्षरा थियो । मलाई सोलाबाङ उक्लिने जाँगरभन्दा पनि जनार्दन आइपुगे पुगेनन् भन्ने जान्न बढी जाँगर चलेको थियो । सोलाबाङ नउक्लिएर तल्नोसोलाबाङको मुनि हुँदै ठाँटीतिर उछिट्टिएँ ।

मलाई साँख खोलाको वारिपट्टि देख्नेबित्तिकै बहिनी जमुना ठाँटीबाट दौडिँदै मेरो सामुन्ने आई र मलाई खाम दिँदै भनी, “दाइ, यो चिठी ठूलीआमालाई दिनू गरे । बेल्साँज आया मान्छहरूले छोरेका हुन् ।”

त्यो चिठ्ठी अस्तिको रातभर लगाएर मैले आफैँ लेखेको थिएँ । खामको मुख च्यातिएको थियो । के लेखेछ भनी खोलेर पो हेरे कि ? कस्ता ओपेन्द्र दाइ पनि ! मैले धारे हात लगाएँ र कुनै जिज्ञासाबिना खल्तीमा हालेँ । जमूनाले म काठमाडौँ पुगेको समेत पत्तो पाएकी रहिनछ । पिठ्युँमा झोला भइदिएको भए अड्कल गर्दी हो !

बरु त्यो चिठ्ठीबाट के थाहा भयो भने जनार्दनहरू पनि हिजो साँझ मात्र ठाँटी आइपुगेछन् । उनीहरूलाई जित्नको लागि प्रेमसँग गरेको रातारातको संघर्ष कुनै काम नलागेकोले शरीरभरि उर्लिरहेको जाँगर एकाएक सेलाउन पुग्यो । ठाँटीबजार जाने जाँगर अब खुत्रुक्कै मरिहाल्यो । म ठाँटीतिर नलागी फरक्क फर्किएँ । गाउँ उक्लने बाटोमै हिमालको पानीघट्ट घट्ट…. गर्दै चलिरहेको थियो । तिहारको बेला आधारातदेखि यी पानीघट्टहरूले पटक्कै विश्राम पाउँदैनन् । त्योभन्दा अझै तलको घट्टतिर हेरेँ । त्यहाँ गैराघर मामाको जुम्लेघट्ट पनि लगाइसकेको देखेँ । त्योभन्दा तल बिरौटामा आफ्नै ससुराको घट्ट चल्दै थियो ।

फेरि गैराघरकै घट्टतिर आँखा तानिए । घट्टको छाप्रोबाट एउटी नवयुवती फुत्त बाहिर निस्किई र घट्टेकुलो छामछुम पारी अनि खुररु…. भित्र पसी । फेरि निस्किई । वारिपारि हेरी । फेरि भित्र पसी ।

निज्याएर हेरेँ मैले । आम्मई नि, त्यो त आफ्नै नवदुलही पो रहिछ ! जोसँग गत जेठ ११ गते मात्र मेरो बिहे सम्पन्न भएको थियो । जिउमा करेन्ट प्रवाह भएजस्तै भयो । म लल्याकलुलुक परेँ ।बिचरी ! आधारातदेखि यतै होली ऊ पनि । उसको पेटमा त चार पाँच महिनाको बच्चो पनि छ ! छोरा होला कि छोरी त्यो ?

त्यो युवती घट्ट पिस्न माइतीतिरबाट आएकी होली कि घरतिरबाट ? म काप्रिवासको ठूलो जुर्किलामा बसेर केही महिनाअघि मात्र आफ्नी बनाइएकी त्यस युवतीलाई आँखा नधिप्क्याई हेरिरहेँ । मलाई हेर्ने सजिलो हुने गरी ऊ घरि भित्र घरि बाहिर गरिरहेकी थिई । उसले मलाई भने देखेकी थिइनँ । आफ्ना दुलाहा यसरी एक हप्तामै फर्केर आउलान् भन्ने उसलाई के थाहा ? बिचरी ! आधारातदेखि यतै होली ऊ पनि । उसको पेटमा त चार पाँच महिनाको बच्चो पनि छ ! छोरा होला कि छोरी त्यो ?

म अब लोग्नेको पदबाट बढुवा भएर बाबुको पद प्राप्त गर्दैछु भन्ने कल्पिएर रोमाञ्चित हुन पुगेँ ।

मैले एउटा जित त पहिल्यै जितिसकेको रहेछु । जनार्दनलाई प्रगतियात्राको दौडमा जित्नुभन्दा मेरो लागि धेरै ठूलो जित थियो यो । कसैसँग कुनै संघर्ष नगरी प्राप्त हुने प्राकृतिक जित, ईष्र्यारहित जित । मैले काठमाडौँबाट निस्किएर रातारात कुदेर ठीकै त गरेछु । मैले आफ्नो जित आफैँले मनग्गे नियाल्न पाउने भएँ । आफूले आफैँलाई मनलागी पुरस्कार दिन पाउने भएँ । आहा कति महत्त्व छ यस जितको । जति नजिक रहेर जति हेर्न सक्यो उति प्रफुल्लित भइने । यस प्रकारको खुसी अरू कुन जितमा होला ? मेरो मन भरिएर आयो । रात्रियात्राका सबै दुःख, संकटहरू र शरीर दुखाइहरू भरिएको मनपछाडि ओझेल परे ।

मैले यस्तै यस्तै कल्पिरहेको बखत कोही मान्छे सोलाबाङको गाउँबाट म बसेको बाटोतिर झरिरहेको चाल पाएपछि म लाजले कुक्रुक्क डल्लो परेँ ।पूर्ण आलीरातिका साथी

 38 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top