Free songs
Home / संस्मरण / रातिका साथी (भाग २)

रातिका साथी (भाग २)

तीनबजेपछि बल्ल प्लेन आउने खबर आयो । यात्रुका झोलाहरु पुलिसले खोलेर एकएक गरी जाँच्न थालेकोले अब भने प्लेन आउँछ भन्ने पक्का भयो । प्रेम विष्टको सामान काठमाण्डौबाटै एकझोलाभरि आएको थियो । अर्को दुई झोला तुलसीपुरमा थपिएका थिए । म भने रित्तै थिएँ । भए पो मेरो झोला जाँचोस् पुलिसले १ प्रेमकै एउटा झोला आफ्नै हो भनी जचाएँ । अघिसम्मको प्लेन नआउला कि भन्ने अत्यास सामसुम भयो । म बढ्तै खुशी भएँ । अब चारबजे नै उडे पनि हामी सवा चारबजे रुकुमको एरपोर्ट चौरजहारी पुग्ने भयौँ ।
“बीरेन्द्र शिल्डमा म्याराथुन दौड मैले तीनचोटी जितिसकेको छु । जान्नुहुन्छ ? चालीस किलोमिटरको दुरी सिर्फ पैँतालीस मिनेटमा मात्र । चौरजहारीबाट मुसिकोट तीस किलोमिटर पनि छैन । दोब्बर समय लागे पनि डेढ घण्टा । तपाईँले सक्नुभएनछ भने पनि दुई घण्टा नै भयो रे । हामी र उनीहरु सोलाबाङ सँगसँगै पुग्नेछौँ तर हामी नै दुईपाइला अगाडि हुनेछौँ ।“ जनार्दनलाई जितिछाड्ने प्रेमको हुटहुटी पटक्कै सेलाएको छैन ।
“मैले त सय मिटर दौडमा पनि भाग लिएको छैन । त्यतिविधि कुद्न त सक्दिनँ म ।“
“म अगाडि लागेर कुद्न थालेँ भने तपाईँलाई नकुदी सुख्ख ? कुद्ने भनेको ज्यानै फालेर फालहाल्ने होइन केरे । बिस्तारै एउटै गतिले छिटो हिड्ने भनेको । मरिहत्ते गरी कुद्न खोज्नेले म्याराथुन हारेको देख्नुभएकै होला ।“
चारबजे प्लेन उड्दैन कि भन्ने डर थियो, भुर्र उडी हाल्यो । दाङबाट पाँच मिनेटमै टुइनेटर प्लेन अक्कासिँदै धनबाङको लेक काट्यो । देब्रेपट्टि सल्यानको खलंगा बजार र दाइनेपट्टि सिस्ने हिमालको मुनिझैँ नागबेली आकारको शारदा खोला देखियो । प्रेमले भनेः “जनार्दनहरु यतै अल्झिएका पनि हुनसक्छन्, निज्याएर हेर्नु त ।“ तलका मान्छेहरु कमिलासरह देखिन्थे । कुन जनार्दन ? कुन भिमप्रकाश अब ? अर्को पाँच मिनेटमा प्लेनले कुपिण्डे ताल काट्यो र देब्रेपट्टि निलोकालो भेरी नदी देखियो । अर्को पाँच मिनेट नबित्दै मध्यपहाडको विशाल उपत्यका चौरजहारी आँखा सामुन्ने देखियो । कात्तिकसम्म पनि फाँट हरियै थियो । कतै कतै पहेँलपुर धान झुलिरहेको पनि देखियो । मेरी आम्मै नि आकाशबाट त चौरजहारी झण्डै दाङ्ग जत्रो पो देखियो । केही बेरमै प्लेन बत्तिँदै चौरजहारी काटेर जहारी खोलाको सिधा माथि हुँदै खोलागाउँसम्म पुग्यो । जोगीनेटा र आमडाँडा सामुन्ने देखिए । प्रेमले भने, “यतै झरुम् कि क्या हो ? आमडाँडाबाट त एकघण्टामै पुगिन्छ चौतारा !“
उनले ठट्टा गरिनसक्दै प्लेन फनक्क मोडिएर जहारी खोलाको माथिमाथि हावामा ढुनमुनिन थाल्यो । प्लेन एक्कासी हुत्तिँदा यात्रुहरु प्लेनबाट खसिएलाझैँ निस्सास्सिँदै कालानीला भए । मेरो पनि सातोपुत्लो उड्यो । भेरीमै लगेर बजार्छ कि बजियाले ? सोचिनभ्याउँदै प्लेनले चौरजहारीको घाँसे मैदानमा खुट्टा टेक्यो र यात्रुहरुलाई लतार्दै केही परसम्म पुग्यो । प्लेन रोकिन पनि नपाउँदै हामी अरु यात्रीलाई उछिन्दै पहिल्यै झरिहाल्यौँ ।
प्लेनबाट झर्नेबित्तिकै प्रेमले लामालामा टाङ हाल्दै चौरजहारीको समथर जमिनमा सकेसम्म फाल हाल्न थाले । यसरी नै म्याराथुन दौडमा जिते होलान् भनि अड्कल काटेँ । मैले मरिकाटे उनलाई पछ्याउन सकिनँ । उनको एउटा सानो झोला मेरै काँधमा थियो ।
“म त सक्दिनँ । भो । जानुस् तपाईँ एक्लै ।“ मैले धेरै पर पुगिसकेका प्रेमलाई सुन्ने गरी चिच्याएँ ।
उनी टक्क रोकिए र म नजिक पुगेपछि भनेः “यसरी त कसरी जित्न सकिएला लामखुट्टे जनार्दनलाई ?“
“नसक्किए नसक्कियोस् । जित्नै पर्ने भन्ने के छ र ?“
“त्यसो भनेर काँ होला ? कुनै हालतमा जित्नुपर्छ । जितिन्छ पनि । आँट गर्नुपर्छ, आँट ।“
“आँटले मात्र पुगे पो । मेरो शरीरले धान्दै धान्दैन त के गरुँ ?“ मैले प्रेमलाई दिएको जवाफ मसँगै रह्यो । उनी फेरि धेरै पर पुगिसकेछन् ।
अघिअघि पछिपछि गर्दैगर्दै दाङजत्तिकै चौडा फाँट सकी नसकी काटेर हामी बल्लतल्ल विजेश्वरी पुग्यौँ । विजेश्वरीबाट तल झरेर खोलागाउँतिरबाट अल्छी मान्दै आएको जहारी खोला त¥यौँ । जहारी खोलाको वारिवारि किनारै किनार उँभो लाग्नुपर्नेमा प्रेम पारिपट्टि सोझिए ।
“त्यतापट्टिबाट जाने हो र ?“
“सर्केनापट्टिबाट जाने हो भने शुरुमै जोगीनेटाको उकालोले फतक्कै गलाइहाल्छ । भोलि त के पर्सि भाइटीकासम्म पनि हामी मुसिकोट पुग्नेछैनौँ । यही बाटो मज्जाले तेर्छैतेर्छो तिर्पायाँ हिड्न सकिन्छ । थकाइ पनि लाग्दैन । धेरै लामो पनि छैन यो बाटो ।“
कोटजहारीको उकालोमा केही बेरसम्म प्रेमलाई पछ्याएपछि तेर्सो बाटो आइपुग्यो र प्रेम र मबिचको दुरी पुनः फराकिलो बन्न थाल्यो । हामी कोटजहारी कटेपछि बुकीचौर पुग्यौँ । हाम्रो हिँडाइ देखेर अघिदेखि छक्क परेका सुर्जे जाजरकोटको लेकको सियाँलपट्टि लुक्न पुगे । एकैछिनमा घामले कोटजहारीको डाँडा चढेर अलप भयो । जङ्गलमा चराचुरुङ्गी र वनकीराहरु बास्न थाले । वातावरण उराठिलो बन्दै गयो । अँध्यारोले बिस्तारै गोरेटो बाटो समेत पहिल्याउन गाह्रो हुँदै जान थाल्यो । जङ्गलगाउँ नपुग्दै झमक्कै रात प¥यो । औँसीको रात भएकोले उज्यालोको कुनै विकल्प थिएन । जङ्गलको बिचमा रहेको गाउँका झुप्राहरुमा दाउराको आगोको धिपधिप उज्यालो देखिन्थ्यो तर त्यसको उज्यालो उनीहरुकै आँगनमा निस्कन पनि मानिरहेको थिएन । अँध्यारो हुन थालेपछि प्रेम र मेरोबिचको दुरी घटेर समाप्त हुन पुग्यो । अब घरि उनी, घरि म अघिपछि हुँदै लेकाली उकालो गोरेटोमा कनीकुथी घस्रिन थाल्यौँ ।
“आत्तिनुपर्दैन, मैले अँध्यारो भगाउने उपाय पनि गरेको छु ।“ प्रेमले आफ्नो झोलाबाट बेटरी (टर्चलाइट) झिके । दुवैजना बिहानदेखिकै भोक र थकानले लखतरान भएका थियौँ । एरपोर्टमा कुर्दा अर्नीपर्नी त परै जावस् पानीले समेत ओठ भिजाउन पाइएको थिएन । चौरजहारी ओर्लनेबित्तिकै म्याराथुन दौड शुरु भैसकेको थियो । कात्तिकको चीसो महिनामा पनि हाम्रो शरीरभरि पसिनाको मूल उम्लिरहेको थियो । लगाएका लुगा पसिनाले निथ्रुक्कै भिजेका थिए ।
“भयो अब, अब यसो गरौँ !“ प्रेमले नै यात्रा बिसाउने बहाना खोजे ।
“कसो गरौँ ?“ उनको भाव बुझीबुझी पनि मैले उनलाई प्रतिप्रश्न गरेँ ।
“ऊ त्यो बाटोको छेवैको घरमा गएर गासबास मागौँ । बिहान छकालै उठेर कुदम्ला ।“
“आठ घण्टा यतै सुतेर बिताए कसरी जनार्दनलाई जित्न सकिएला र ?“ मैले प्रेमकै थेगोले प्रेमलाई झटारो हानेँ ।
“उनीहरु पनि रातारात हिड्ने होइनन् क्यारे ! उनीहरुको फलामको जिउ होइन, हाम्रोजस्तै हाडछालाकै जीउ त हो नि । कतै बिसाए होलान् उनीहरु पनि ।“
प्रेमको भन्दा त बढी म नै थाकेको थिएँ हुँला । खासमा मलाई त जनार्दनलाई जित्ने इरादाभन्दा घरका आफ्नी नवदुलही, भाइलाई पर्खिएकी दिदीबहिनी र आमाबाको अनुहारले तानिरहेको थियो ।
घरबेटीले बास माग्दा हाम्रो तीनपुस्ते विवरण माग्यो । तृषित नजरले हाम्रो शरीर र झोलाहरुको नापजाँच लियो । अनि मात्र हामीलाई बास दिने भयो र आफ्नो आँटीतिर देखाइदियो ।
आँटी उनको घरसँगै जोडिएको थियो । आँटीको तल्ला घोगाका पोखले ढाकिएको थियो । त्यहीँ जम्मा भएर उसका परिवारका सदस्यहरुले घोगा उदारिरहेकोले हामीले पनि उनीहरुलाई साथ दिन थाल्यौँ । खुट्टाका औँलाले दुःख पाएकै थिए हातका औँलाले पनि सुख्ख पाएनन् ।
केही बेरपछि वरपरका मान्छेहरु त्यस घरमा जम्मा हुन थाले । घर जाँडको अमिलो गन्धमा डुबेको कुरा पहिल्यै चालपाइसकेका थियौँ । आउनेहरु एकएक गरी जाँडको बटुकोमा डुब्न थाले । उनीहरु जाँडमा डुबुल्की मार्दैगर्दा हरेकलाई तीनपुस्ते विवरण दिनु हाम्रो कर्तव्य हुन गयो । अगेनामा दाउराको आगो गज्योर परेर बलिरहेको थियो । आगोको राप आँटीसम्मै आएर हामीलाई तताइरहेको थियो । केही बेरपछि हामीलाई खाना खान बोलाइयो । खाना खाँदा जाँडसभा गरिरहेकाहरुले सोधेः “तपाईँहरु पढ्न जानुभएको हुँदै होइन । इण्डिया वा विदेशतिर कमाउन गएर फर्किएको हुनुपर्छ ।“ हामीले होइन भने पनि मरिगए पत्याएनन् । भर्खरै इण्डिया बाहेकको विदेश पनि छ भन्ने कुरा गाउँमा खुल्दै थियो । प्रेम विष्टले ल्याएका पोटिला झोलाहरुले सायद त्यो अड्कल काट्न पुगे होलान् उनीहरु ।
खाना खाएर हामी आँटीमा फर्कियौँ । हामीलाई धुले कम्बल र धुइँसो गन्हाउने सिरक दिइयो । हामी दुवैजना एउटै सिरकमा गुटमुटियौँ । भित्र हल्लाखल्ला बढिरहेको थियो । प्रेमले मेरो कानमा फुसफुसाएः “यिनीहरुको चाला राम्रो छैन । हामीलाई लाहुरे ठानेका छन् । तल भेरी सुस्साइरहेको छ । मेरो सामानको लोभले यिनीहरुले हामीलाई भेरीमा घुचेटिदिन के बेर ?“
उनको यो अनुमानले मेरो मुटुमा डरले ढ्याँक्रो ठोक्न थाल्यो । हातखुट्टा लगलगी काँप्न थाले । प्रेमले छातिमाथिको भाग सुस्तरी उठाएर उनीहरुका कुरातिर कान थाप्न थाले ।
अनि मेरो कानमा फुसफुसाएः “मैले अनुमान गरेको पक्का हो । तर त्योभन्दा पहिले उनीहरु अरिङ्गाल पोल्न जान थालेका छन् । हामी यही मौकामा यहाँबाट भाग्नुपर्छ ।“
नभन्दै जम्मा भएका मान्छेहरु झिर र झर्कोको राँकोहरु बालेर जङ्गलतिर लस्करै उक्लिए । घरमा आइमाइ र अलिअलि जाइनहरु मात्र बाँकी रहे । केटाकेटीहरु समेत हल्ला गर्दै उनीहरुका पछि लागे ।
प्रेमले झोलाहरु जम्मा गरे । घोगाको पोखको मुठो पारेर मान्छे सुतेझैँ बनाई सिरक ओढाइदिएपछि आँटीको चिप्लो र साँगुरो लिस्नोबाट तल ओर्लिए । उनको आडले म पनि तल ओर्लिएँ । मुटुले ढुकढुक गरिरहेको थियो । घाँटीमै बुज्जिरहेका सास झन् ठूलो स्वर निकालेर बाहिर निस्कन जोडबल गरिरहेको थियो । हाम्रो बेटरीको भन्दा बढी उज्यालो उनीहरुले बोकेको झर्कोकै थियो जो हाम्रो बाटोमा पनि पोखिइरहेको थियो ।
“हामी भागेको चाल पाए भने ? उनीहरु अझै पनि हाम्रो नजिकै छन् । उनको उज्यालोमा हामी पनि प्रस्टै देखिएका छौँ । चोर भनेर समात्न आए भने के होला हाम्रो हालत ? हामीलाई भेटाउनेबित्तिकै साँच्चिकै भेरीमा खसालिदिने छन् ।“ मैले प्रेमको कानमा सुस्तरी मुख राखेँ ।
“चकमन्न रातमा उनीहरुको उज्यालोले उनको वरपरको मान्छेलाई मात्र देख्न सक्छन् । उज्यालो यहाँसम्म आइपुगे पनि हामीलाई देख्न सक्दैनन् ।“ उनी झन् चालो गरी बोले, “हामी उनीहरुकै उज्यालोको सहायताले हिड्नुपर्छ । अहिल्यै बेटरी बाल्नुहुँदैन ।“
प्रेम बिरालोको चालले अघि लागे । चकमन्न अँध्यारोमा उनलाई पछ्याउँदै गएँ म । उनीहरुको उज्यालो हाम्रो बाटोमा मधुरो हुँदै गयो ।
“अब बेटरी बाल्नोस् !“
“काँको बेटरी बाल्नु ? उनीहरुले भागेको चाल पाइहाल्छन् नि । अहिल्यै बाल्नुहुन्न ।“
हामी हिँडिरहेको बाटो हो कि पाटो हो अँध्यारोले केही थाहा हुन सकेन । केही परसम्म हामी हातखुट्टाले बाटो छाम्दै अगाडि बढ्यौँ ।
हामीभन्दा माथिको जङ्गलमा ठूलो हल्लाखल्ला भयो र त्यो हल्ला हाम्रो नजिकै आएजस्तै भयो । मेरो मुटुले ठाउँ छोड्न थाल्यो ।
“के को हल्ला हो यो ? हामीलाई खेद्न आए कि ?“ मैले पछाडि नफर्कीकनै प्रेमलाई सोधेँ ।
“होइन, होइन । ऊ त्यो पारिको रुखमा उनीहरुले अरिङ्गालको गोलो आगो लगाइदिए नि । तल आगोको मुस्लो बालेका छन् । गोलो आगो लगाउँदा अरिङ्गालहरु त्यही आगोमा खनिन्छन् । त्यसैको उज्यालो र अरिङ्गालउपर उनीहरुको विजयको शंखध्वनि हो यो ।“
“अरिङ्गाल यहीँसम्म आएर हामीलाई टोके भने नि ?“
“त्यो ज्यानले जिन्दगीमा कहिले पनि अरिङ्गाल पोलेको छैन कि क्या हो ? रातमा आगोको उज्यालोमा बाहेक अरिङ्गाल अन्त जान सक्दैनन् भन्नेसम्म थाहा रहेनछ । त्यसैले त रातमा अरिङ्गालको शिकार गर्न सजिलो हुन्छ ।“ प्रेमले खितखिताउँदै मउपर व्यङ्ग्य कसे ।
म अरिङ्गालले नटोक्ने कुरामा विश्वस्त भएँ ।
हामी तेर्छैतेर्छो अगाडि बढिरहेका थियौँ । जति अगाडि बढे पनि हामी बास बसेको घर र आगोको उज्यालो हाम्रै पछिपछि आइरहेको जस्तो लाग्यो । उनीहरुको जोखिमबाट पटक्कै टाढिइसकेका थिएनौँ ।
केही बेरपछि फेरि हल्लाखल्ला चल्यो ।
आवाज हाम्रो कानमै प¥यो, “चोर १ चोर १ चोर भागे है गाउँलेउ ! समात ! समात !! तिनीहरुलाई नछोड ।“
“हामी भागेको चाल पाएजस्तो छ । अब त हामीलाई साँच्चिकै सिध्याउने भए ।“ हम्मेसी डर नदेखाउने प्रेमले डराएको स्वर निकाले । “ऊ यता जाम् । छिट्टो छिट्टो ।“ प्रेमले पहाडको तीनचार कान्ला तल हाम फालेर एउटा परालको टौवाभित्र छिरे मैले पनि उसैगरी उनलाई पछ्याएँ । टौवाभित्र पुगेपछि परालका मूठाले आफ्नो जीउ छोप्यौँ ।
उनीहरुको त्यो आवाजले वरपरका घरहरुबाट पनि उज्यालाका राँकाहरु निस्कन थाले र गाउँको वरपर घुम्न थाले । स्वरहरु झन् झन् थपिन थाले । मानौँ हामी नै अरिङ्गालका गोला हौँ र गाउँलेहरु हामीलाइै नै पोल्न जम्मा भएका छन् ।
“उनीहरु चारैदिशा छरिएर हामीलाई खोजिरहेका हुनुपर्छ ।“
आगोको एउटा राँको हामीले भर्खरै तताएको बाटोतिर आयो । हामी अरु सतर्क भयौँ । सास समेत नफेरेर हलचल नगरी परालको मुठोमा लेपास्सियौँ । त्यो आगो बाटैबाटो हामीभन्दा केही अगाडिसम्म पुग्यो । केही बेरसम्म त्यतै रोकियो । त्यसपछि फर्किएर हाम्रो सामुन्ने माथिल्लो कान्लामा आएर गफिन थालेः
“चोर होलान् भन्ने के थाहा भयो र ? रातका पाहुना ठानी बास दिइहालियो । हामी अरिङ्गाल पोल्न गएको मौका छोपी स्वान्चरीका नाककान बुचै पारिदिएछन् । तामाका ताउला, हुन्ना, थाल, बटुका केही बाँकी छोडेनछन् । भेटियून् मात्रै गर्दन छप्काउन नसके त के ।“ यो हामीलाई बास दिने घरबेटीको आवाज थियो । चेतावनी सुनेर प्रेम र म एउटै डल्लो प¥यौँ ।
अर्को गाउँलेको बोली सुनियोः “गर्दन छप्काउनुभन्दा छाला कारेर नूनचूक लगाइकन गाउँ घुमाउनु नाम्रो ।“
“यतै परालको टौवामा पो लुकेका छन् कि चोरहरु ?“ तेस्रो गाउँलेको अनुमानले मेरो सातोपुत्लो उड्यो । खङ्ग्र्ररङ्गै भएँ म ।
“परालको टौवामा सापसप्यौला हुन्छन् भन्ने थाहा पाएर त्यता गएनन् होला । बिनसित्तै आगोले टौवा टिप्ला । भो त्यता नजाम् ।“ अर्कोले उन्मुक्ति दिने छाँट देखायो ।
नभन्दै उनीहरु बहादुरीका कथा सुनाउँदै हामी बास बसेको घरतिर लागे र त्यही घरको कान्लाको तलमाथि वरिपरि खोज्न थाले ।
यही मौकामा हामी परालको टौवाबाट निस्किएर लुसुक्क अगाडि बढ्यौँ ।
केही छिनको निष्पट्ट अँध्यारोको छामछामछुमछुम पछि डाँडोको कुइनेटा आइपुग्यो । हामी कुइनेटाको उतापट्टि लाग्यौँ । हामीबाट गाउँ छेलियो । झुप्राहरु छेलिए । झुप्राका आगाहरु छेलिए । बास बसेको घरलाई केन्द्रबिन्दू बनाएर फैलिएको हल्लाखल्ला पनि छेलियो । प्रेमले ढुक्कसित बेटरी बाले । हामी उन्मुक्त भयौँ । मुटु ठेगानमा आइपुग्यो ।
“अझै केइ भन्न सकिन्न । उनीहरु पछ्याउँदै हामीलाई भेट्टाउन आइपुग्न पनि के बेर । हाम्रो सामानमा लोभिएर बिनसित्तिका आरोपहरु लगाइरहेका छन् । ढिला गर्नुहुन्न । अलि छिटो कुद्नुहोस् ।“
मैले कुद्न प्रयास गरेँ । जत्ति बल गरे पनि प्रेमलाई भेट्टाउन सकिनँ । प्रेम मभन्दा धेरै पर पुगे । उज्यालो पर पुग्यो । अँध्यारोमा प्रेमलाई पछ्याउन झनै गारो हुन थाल्यो । भेरी तलपट्टि नजिकै सुस्साइरहेको थियो । अड्कल गरेँ पक्का पनि भेरी र हामीबिच छाङ्गो भीर मात्र छ । औँसीको रातमा त्यो भीर कति भयानक छ, देख्न सकिएको छैन, अड्कल मात्र काट्न सकिन्छ । स्याँलापट्टि भएकोले बाटो असाध्यै चिप्लो थियो । हातले कान्ला नसमाती हिड्नै गाह्रो ।
“छिटो आउनू न ! जानीजानी बैरीको मुखमा पर्नुहुन्न । आँट र बल गर्नोस् ।“ प्रेम सासले मात्र बोले ।
जनार्दनलाई जित्ने लक्ष्यबाट बिच्किएर अब जङ्गलगाउँका मान्छेबाट बच्नुपर्ने लक्ष्यमा आइपुगेका थियौँ हामी ।
“बेटरी यता देखाए पो आउन सकिएला त । अँध्यारोमा आफ्नै पाइताला पनि देख्न सकेको छैन । कता टेक्ने ? बाटो हुनुसम्म चिप्लो छ । कसरी छिटो आऊँ ?“ मैले पनि सासैले जवाफ दिएँ ।
“त्यता बेटरी देखाउनुहुन्न, हामीले फर्काएको बेटरीको उज्यालो डाँडोको नेटो काटेर उनीहरुको गाउँसम्म पुग्छ । हामी हिँडेको बाटो उनीहरुले था पाउँछन् । चारहातखुट्टाले छाम्दै आउनोस् । “
म हातखुट्टाले छाम्दै छाम्दै प्रेमको नजिक पुगेँ । उनले मलाई अघि लगाएर आफू पछिपछि लागे । हामी निशब्द धेरै पर पुग्यौँ । हामीलाई कसैले पछ्याउन पाएनन् ।
हामी केही पर के पुगेका थियौँ । पर एउटा आगोको राँको देखियो ।
“हामीलाई छेको हालेर यतै आइपुगे कि तिनीहरु ?“
“होइन होला ।“ प्रेम मेरो काँधमा बलपूर्वक समात्दै टक्क रोकिए ।
“किन ?“ म तर्सिएँ
“त्यता हेर्नोस् त १“
उनले औँल्याएतिर हेरेँ । केही पर गाढा अन्धकारभित्र झन् काला काला दर्जनौँ थुप्राहरु देखिइरहेका थिए । मेरो जीउभरि काँडा उम्रिए । फेरि मुटु ढुकढुक गर्न थाल्यो । कालो थुप्रोबाट आगोको राँको निस्किरहेको थियो । त्यो आगोको राँको एकबाट दुई भयो । दुईबाट चार भयो । चारबाट दोब्बर हुँदै जान थाल्यो । कुनै कुनै राँकाहरु चारबाट दुई र दुईबाट एक हुँदै जोडिन थाले ।
“के हो त्यो ? अर्को गाउँका मान्छेहरु अरिङ्गाल पोल्न जम्मा भएका हुन् कि ?“
“के को गाउँ हुन्थ्यो ? यहाँ त एउटा पनि घर छैन । यो त च्यानबगर हो । मरेका मान्छे पोल्ने ठाउँ !“
“त्यसो भए त्यो के हो त ? कालो थुप्रो ? त्यो राँको ?“
“मुसेउला ।“
“मुसेउला ?“ मेरो मुटूले फेरि ठेगान छोड्न थाल्यो ।

 29 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top